कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

कमानको पुष्पन–पन्छी 

भजनकीर्तन माहोलमा माझिएको पुष्पन–आवाज डुर्वसबाट लुसुक्क नेपाल पसेको थियो । अकबरे सुनलाई कसी लगाउनुपरेन, कुनै हल्लाखल्ला गर्नैपरेन । जब सुर हाले, उनको आवाज नेपाली मनमनमा पस्यो ।
चियाबगानका चियाका पात फगत पात थिएनन्, पुष्पनकी आमाका निम्ति ती थिए– भोकाएका छोराछोरीको भोजन, भुटन, नुन र बेसार ।
दीपक सापकोटा

गायक पुष्पन प्रधानको आवाज शुद्धबुद्ध क्रान्तिकारी आवाज हो । भजनकीर्तन माहोलमा माझिएको त्यो आवाज करिब १२ वर्षअघि भारतको डुर्वसबाट लुसुक्क नेपाल पसेको थियो । अकबरे सुनलाई कसी लगाउनुपरेन, कुनै हल्लाखल्ला गर्नैपरेन । कृपा अन्प्लग्डमा जब पुष्पनले सुर हाले, उनको आवाज नेपाली मनमनमा पस्यो ।

कमानको पुष्पन–पन्छी 

उनको गायकीलाई कुनै प्रधान विधामा सीमित राख्दा सायद न्यायोचित हुँदैन । ‘पन्छी फर्केर आऊ’ उनको सर्वाधिक लोकप्रिय गीत हो । तर, उनले गाएका सुन्नैपर्ने ‘ए बूढा बा’, ‘बाबुको जुंगो’, ‘कोदोको बालाले’, ‘धिनधिना’, ‘ठूल्दाजु’ जस्ता अनेकन गीत छन् । ‘काली’ र ‘एउटा सपना छ’ ले उनका प्रशंसकहरूको विविधता बढायो । ‘पैताला’ ले उनको गायकीको सीमामाथि प्रश्न गर्‍यो । कसैले सुन्ला वा नसुन्ला, वास्ता नगरीकन गाइएका गीतहरू अर्गानिक हुन्छन् । त्यसैले पुष्पन अर्गानिक गायक हुन् । आउनुस्, यी अर्गानिक गायकका केही गीत–कथामा प्रवेश गरौं, जहाँ देखिन्छ छाया–छवि उनका ज्युँदा सपनाहरूको ।


डुर्वसको चियाबगानका ‘दुई पात एक सुइरो’ फगत पात थिएनन्, पुष्पनकी आमाका निम्ति ती थिए– भोकाएका छोराछोरीको भोजन, स्कुल जाने छोराको फिस, अलिकति भुटन, नुन र बेसार । पुष्पनले सम्झिँदा सूर्योदयसँगै बगानमा चिया–पात टिपिरहेकी उनकी आमा मानौं, एउटी निश्छल परी हुन् । उनको मस्तिष्कमा एउटा छवि आउँछ आमाको– चिया–बगान गइरहेकी, चिया–बगानबाट आइरहेकी, जो मैलो–मैलो नीलो बर्को ओढेकी हुन्थिन्, जसको जीवन सधैं हस्याङफस्याङमै बितिरहेको हुन्थ्यो ।

अन्तजस्तै चिया–बगानमा पनि घाम उदाउँथ्यो आफ्नै लयमा । तर, पुष्पनलाई लाग्छ, उनकी आमा र त्यहाँका अरू आमाहरूको जीवनमा भने कहिल्यै घाम उदाएन । डुर्वसको चिलाउने चियाबारीमा जन्मिएका हुन्– गायक पुष्पन प्रधान । र, डुर्वस भन्नु नै चियाबारी, जहाँ ८० प्रतिशत मानिसको गुजारा त्यहि चियाबारीबाटै चल्छ । उनका बुबा–आमा दुवै त्यही चियाबारीका श्रमिक !

त्यहाँ श्रमिक हुनु एउटा लयको जिन्दगीतिर डोरिनु हो । चियाबारीभित्र खोज्ने हो भने असंख्य दुःखसुखका गाथा भेटिन्छ । त्यही चियाबारीको विशाल ब्याक–ड्रपमा हुर्किएका पुष्पनले तिनै चियाबारी–गाथाबाट एउटा गीतको पात टिपेर गाएका छन्– ‘कमाने आमा’ । गीत तयार भयो उनकै ब्यान्ड ‘पुष्पन अनि सारथि’ बाट । यसअघि पुष्पनले धेरै अर्थपूर्ण गीत गाएका छन् । तर, केही वर्षयता ब्यान्ड खोलेपछि त्यही गीत नै बनेको छ ब्यान्डको पहिलो कोसेली ।

‘कमाने आमा’ को पछाडि लामो अनुभव–यात्रा छ । त्यसलाई खोतल्दा पुष्पन बालापनका स्मृति–तलाउलाई चलाउँछन् । भन्छन्, ‘यो मेरी आमाको दिनभरिको कथा हो । मेरी आमा र अरू आमाहरूको कथा ।’ ती दिनहरूमा घडीले बिहान ४ बजेको घण्टी बजाएपछि वा भालेको डाकमै ओछ्यान छोड्नुपर्थ्यो उनकी आमाले, उठ्नैपर्थ्योर् र ७ बजेसम्म कमानमा सिट्ठी लाग्दा पुगिसक्नुपर्थ्यो । ४ बजे उठेर, नानीहरूका लागि खाना पकाएर, घरको काम सिध्याएर हाजिर हुनैपर्थ्यो । ७ बजे काममा उपस्थित हुन नसके त्यस दिनको तलब काटिन्थ्यो, हाजिरा जान्थ्यो । छोराछोरीलाई भगवान् भरोसा छाडेर कमानमा जानुपर्थ्यो– बुबाआमा दुवै ।

पुष्पनकी आमाले कहिल्यै बिसन्चो छ भन्न पाइनन् । एक दिन काममा नजाँदा उनको ठूलै सपना खोसिन्थ्यो । गाली खानुपर्थ्यो सरदारको– किन ढिलो ? हावा आउँथ्यो, पानी पर्थ्यो, चट्याङ बर्सिन्थ्यो, तर छुट्टी हुँदैनथ्यो । चट्याङ परेर कत्ति मानिस बिते पनि, तर आमाहरू र बाहरूको जीवनको लय उस्तै रह्यो । दिउँसो ३ बजेको सिट्ठी लागेपछि उनीहरू टिपेको पत्ती लिएर कारखाना पुग्नुपर्थ्यो । घर फर्किंदा ४ बज्थ्यो । कत्ति घरहरूमा सँगै काम गर्ने श्रीमान् रक्सी खाएर आउँथे । आमाहरूको दुःख थपिन्थ्यो– खाना बनाउ, रक्सी खाएको श्रीमान्सँग पनि जुध । फेरि भोलिपल्ट उही दैनिकी । उनकी आमा र डुर्वसका कमाने आमाहरूको प्रत्येक दिनको डायरीको पाना पल्टाए एउटै दैनिकी लेखेको फेला पर्नेछ ।

त्यसबेला दैनिक ६० रुपैयाँ ज्याला आउँथ्यो । पुष्पनको गीतमा सारा कमानका आमाको कथा छ र बाबुको कथा पनि । कमानका मान्छेको जिन्दगी र संघर्ष सुनाउँदा एउटा उदास कथा बन्छ । तिउनको उधारो, किरानाको उधारो, छोराछोरीको स्कुल फि सबै तिर्दातिर्दा महिनाभरिको कमाइले पुग्दैनथ्यो । कमाने–आमामा यसको पनि उल्लेख छ ।

र, चियाबारीसँग अहिले पनि पुष्पनको उस्तै सम्बन्ध छ । आफ्नो जीवन–चित्र चियाका हरेक बुटाहरूले बनाएको हो भन्ने लाग्छ उनलाई । भन्छन्, ‘आजको म त्यही चियाबारीको पातले निर्माण भएको हुँ । मालिकहरूका लागि त्यो चियाको पात नगद हो, तर हाम्रा आमाहरूका लागि छोराछोरीको सपना । एक दिन काममा नजाँदा छोराछोरीको सपना नै छोडिपठाउँछु कि लाग्थ्यो आमाहरूलाई । आमा–बाहरू अहिले पनि चियाबारीमै छन् । श्रमिकको जिन्दगी परिवर्तन भएको छैन ।’ तर, पुष्पनले देखेका छन्– छोराछोरीको जिन्दगी थोरै बदलिएको । केही विदेश गएका छन्, पढेका छन् । उनको गीतले भन्छ –

बिहानीपख मिच्दै ती आँखा पुग्दछिन् चुल्होमा

सातको साइरनसँगै लौ साइँली पुग्नु छ मेलोमा ।

यही गीत पुष्पन फेरि गाउनेछन्, भन्नेछन् आमाको र कमानको कथा– पन्छी ‘कथा भन्ने, गाउने’ पन्छी कन्सर्ट, मन्डला थिएटरमा, ३ असारमा । उनको ब्यान्ड ‘पुष्पन अनि सारथि’ ले आयोजना गरेको कार्यक्रम हो यो । कल्पनामा डुबेर लेखिने–गाइने गीत छाडेर उनको भोगाइ, गाउँ र आफ्नो कथा अरूलाई सुनाउने रहरको परिणाम हो यो कन्सर्ट ।


सानै छँदादेखि नै गाउन रुचि थियो, पुष्पनलाई । स्कुलमा टेबल ठटाएर गीत गाउँथे । घरमा पनि गाइरहन्थे, के–के गुनगुनाइरहन्थे । तर, कुमुदिनी होम्सबाट सुरु भएको हो गायन–यात्रा । याकुब भन्ने साथीले त्यहाँको स्कुल दिवसमा घोक्र्याएर गीत गाउन लगेपछि । दुई दशकभन्दा ज्यादा संगीतमै समय उत्सर्ग गरेपछि गीतप्रति उनको बुझाइ बदलिएर गयो । फलस्वरूप उनको गायन–कथा सुरु भयो । सानो छँदा उनी सोच्थे– रेडियोभित्रै मान्छे हुन्छ र पो गाउँछ त ! त्यही सोचाइ–बुझाइले बुझ्ने भएपछि ‘पन्छी’ गीत जन्मियो । त्यो गीत उनको बिलौना हो, वियोगको कथा हो ।

असलमा रेडियो मात्रै त थियो, गीत सुन्ने माध्यम । नेपाली गीतहरू सुन्थे उनी, तर ती प्रियजनजस्ता प्रिय गायक/कलाकारहरू विदेश पलायन भएको खबर पनि सुन्थे । अनि सोच्थे– अब कसरी सुन्ने त गीतहरू सबै कलाकार पलायन भए भने ? अनि कसले गाउला र बज्छ त गीतहरू रेडियोमा ?

‘के नपुगेर पो विदेश जानुभो तपाईंहरू ? फर्किदिनुस्’ भन्ने आग्रहमा, तिनलाई बोलाउन ‘पन्छी’ गीत लेखे उनले । अगाध सम्मान–प्रेमले गाए– ‘पन्छीजस्तै जानुभयो नि’ भनेर । ‘तपाईंहरूलाई नसुने कसरी बाँचुला म भन्ने भयले पनि त्यो गीत गाएँ । त्यही गीतले मलाई चिनायो कि भन्ने पनि लाग्छ,’ पुष्पन भन्छन् ।

पहिलोपल्ट पुष्पनले त्यो गीत अर्थात् ‘पन्छी’ गाएका थिए– अमनप्रताप अधिकारीको कृपा अन्प्लग्डमा । उनलाई बेलाबेला लाग्छ– म गायक होइन होला, गीताङ्गे मात्रै हुँ कि ?

पहिले पहिले उनले रेडियोमा सुनेका गीत मात्रै रटे । पछि पछि लाग्न थाल्यो– अहो, मैले त आफ्नो कथा पो लेख्नुपर्छ ! किन नलेख्नु आफ्ना कथा ? त्यसैले उनले लेख्न थाले, कविता–गीत । र, सोचे– आफ्नै आवाजको मौलिक स्वरूप हुनुपर्छ । ‘ईश्वरले मभित्र केही चिज हालिदिनुभएको छ, त्यहीकारण गाउन सिकें,’ गायन यात्राबारे पुष्पन भन्छन्, ‘ईश्वरले दिएको त्यो चोखो बरदान हो । तर, रियाज गर्दै गएपछि मात्रै त्यो आवाज माझिने रै’छ ।’ जिन्दगी र गायनबारे उनको एक हरफको टिप्पणी छ– बगिरहनु र गाइरहनु नै रै’छ जिन्दगी पनि ।


बुबा बिरामी भएपछि उनको घरको अवस्था खराब भयो, संगीत गुरुले भने– यस्तो तनावबीच संगीत सिकिँदैन । त्यसपछि उनले सोचे– म मान्छेलाई गुरु थापेर संगीत सिक्नेछैन । अनि उनले ईश्वरसँग संवाद गरे– जति सक्छु, त्यति नै र त्यसैगरी आफ्नो कुरा भन्नेछु । र, उनी गीतमार्फत आफ्नो कथा संसारलाई सुनाइरहेका छन् ।

संगीतका ठूल्ठूला शास्त्रीय बहसहरूमा अल्झिँदैनन् पुष्पन । ‘म्युजिकल अनुशासनको कुरा र विमर्शबाट भाग्छु म त्यसैले,’ उनी भन्छन् । बेलाबेला घोरिन्छन्– त्यसैले म गायक पनि होइन होला, तर आफ्नो कथा भन्न पाउनु त मेरो अधिकार हो । ‘मलाई सुन्दिनँ भन्नेले नसुने पनि भयो । म कथाकार हुँ, संगीतमार्फत आफ्नै कथा भनिरहेको छु,’ उनको आत्मकथ्य छ ।

उनीसँग उसबेला संगीत सिक्ने भोक कतिसम्म थियो भने दैनिक ५० रुपैयाँ तिरेर सारेगम र आरोह–अवरोह सिक्थे । श्रोताहरूमाझ उनको अर्थपूर्ण उपस्थिति छ । तर, लाग्दैन उनलाई– उनी सर्जक भइसके । यस्तो पनि सोच्छन्– सर्जक बन्न सकेको दिन सायद गायक बन्नेछु कि ! एक दिन कोही साथीले उनलाई भन्यो, ‘किन गीत खोज्दै छौ ? तिम्रो जिन्दगी नै गीत हो । गीत तिम्रो गाउँमै छ । तिमी लडेका, उठेका, हिँडेका, दुःख पाएका दिनहरू र भोगाइ नै तिम्रा गीत हुन् । अरूको कुरा किन गाउन चाहन्छौ, जुन भोगेकै छैनौ ? आफ्नै कथा गाऊ ।’

त्यसपछि नै पुष्पनलाई बोध भएको हो– मैले मेरै कथा गाउनुपर्छ, आफ्नै कथा भन्नुपर्छ । त्यो चेतनापछि नै ‘संगीतमा आएको हुँ,’ भन्छन् उनी, ‘मैले भोगेको कथा अरूबाट सुन्न मलाई मज्जा पनि लाग्दैन होला । सुफी कमर्सियल भएर आएपछि थाहा पाएँ– म्युजिक यस्तो पनि हुँदोरै’छ । सुफी त्यति सजिलो पनि होइन । तर, मभित्रका संगीतका अनेक सवालहरूमाझ नेपाली लोक परम्परा सिक्नै म नेपाल आएको हुँ । यहाँको परम्परा र लोकसंगीतले निकै प्रभाव पार्छ मलाई । बाउल म्युजिकमा समर्पण र आनन्द पाउँछु । यी सबैलाई मिसाएर नेपाली गीत गाउँछु । बाङ्ला फोक, नेपाली फोक मिसाएर आफ्नो गीत गाउँछु ।’

मन्डला थिएटरमा हुने कन्सर्टमा १३ वटा गीत लाइभ गाउनेछन् पुष्पन । भन्छन्, ‘पहिलो कन्सर्ट हो यो मेरो । कन्सर्टमा म कथा भन्दै गाउँछु गीत । थिएटरको शैलीमा कथा भन्नेछु । जस्तो कमाने आमाको कथा भन्दा यसरी– कुखुरी काँ, आज आमालाई सन्चो त छैन, तर आमा ७ बजे मेलोमा पुग्नैपर्छ । बूढा बाको कथा यसरी भन्छु– परिवर्तनको पोको बोकेर म जाँदै गर्दा मेरा बूढा बाले मेरो बाटो छेक्छन्, छेकेजस्तो गर्छन् ।’

कन्सर्टमा उनी विप्लव प्रतीकको ‘बडो चिसो छ सहर’, कुमार नगरकोटीको ‘ओ फकिरा’, श्रवण मुकारुङको ‘सुन रे सियाराम’ देखि मनोज बोगटीसम्मका गीत गाउनेछन् । पुष्पन भन्छन्, ‘मलाई लाग्दै छ– अब बल्ल मेरो म्युजिक करिअर सुरु भयो । म्युजिक प्योर हुनुपर्छ । आफैंलाई, आफ्नो आत्मालाई सम्बोधन गर्नुपर्छ त्यसले । आफूभित्रको ईश्वरलाई सुनाउन सकिन भने म प्योर गीत गाउन सक्दिनँ ।’ कुनै समय आफैंले गाएका केही गीतमाथिको टिप्पणी छ उनको– ‘नगाएको भए हुने...।’ ती अनुभवले पनि उनको सोच बदलिदियो ।

पुष्पनकी आमा नीरकुमारी खुब सुन्छिन् छोराको गीत, तर पैसा कमाएको हेर्न चाहन्छिन् । डाक्टर बनोस् भन्ने थियो, टन्नै पैसा कमाएन छोराले भन्ने चिन्ता छ आमालाई ।

१० कक्षापछि उच्च शिक्षा नेपाली भाषामै किन पढ्न पाएनन् उनले ? खिन्न मन लिएर ‘मेरो प्यारो नेपाली भाषा’ भन्ने गीत बनाए, गाए । त्यो गीत ‘नेपाली भाषाप्रतिको अगाध प्रेमले गाएको’ भन्छन् उनी । ‘अंग्रेजी माध्यमका स्कुलका विद्यार्थीले झुक्किएर नेपाली बोल्दा नपिटिदिनुस्, बिन्ती जरिवाना नलिनुस् नेपाली सन्तानले नेपाली बोलेकोमा,’ शिक्षकहरूलाई उनको बिन्ती छ ।

डुर्वसका दुःखी साँझहरू नै उनका गीतका गुरु हुन् । जिन्दगी त दुःख मात्रै रै’छ भन्ने लाग्छ उनलाई आमा–बाको संघर्ष सम्झिँदा, जसले दुःख पाएर पनि आफ्नो सन्तानलाई दुःख हुन दिएनन् । दुःखका विभिन्न स्वरूप हेर्न उनलाई घुम्न मन लाग्छ । भन्छन्, ‘संसार यस्तै रै’छ भन्ने बुझ्न पनि घुम्नैपर्ने रै’छ ।’

आफ्ना सिर्जनाबाहेक सुफी र वैराग्य संगीत सुन्छन् उनी, जसले उनको हृदयको तार सुम्सुम्यायो । संगीतमाथिको भक्तिले उनलाई गाउन प्रेरित गर्‍यो । भनिरहन्छन् पुष्पन, ‘ईश्वरको भक्ति नै मेरो संगीत । भक्ति संगीत मेरो मार्ग ।’

प्रकाशित : जेष्ठ २६, २०८१ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×