कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

आख्यानको खडेरी

स्थापित–प्रतीक्षित लेखक ‘ओथारो’ मै बसे । कवितामा नवोदित लेखकको आगमन स्वागतयोग्य भए पनि ‘नयाँलाई नपत्याउने’ पाठकीय मनोविज्ञानले ती ओझेलमै रहे ।
आख्यान–कवितामा नयाँ पुस्ताको जबर्जस्त प्रवेश सुखद संकेत हो । आञ्चलिक सौन्दर्यसहित सांस्कृतिक पहिचानका मुद्दा र स्थानीयता नै अहिलेको मूल स्वर बनिरहेको छ । 

प्रकाशन संस्था बुकहिलले मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान’ को परिमार्जित संस्करण–कभर हालै सार्वजनिक गर्‍यो । ‘२०८० को पहिलो किताब, जो ६ महिनामै दोस्रो संस्करण छापियो,’ बुकहिलले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘पहिलो संस्करणमा भएका त्रुटि सच्याई आवरणको टाइपो परिवर्तनसहित चाँडै आउँदै छ ।’

आख्यानको खडेरी

साहित्य बजारमा यो सकारात्मक खबर हो भने लेखकहरूका लागि उत्साह । लामो समय खोज पत्रकारितामा संलग्न मैनालीले इतिहास–लेखनलाई पनि सरल भाषामा बखान गरेकाले पुस्तक पाठकका आँखामा जँच्यो । यो वर्ष (२०८०) साहित्य बजारमा ‘मुकाम रणमैदान’ सहित केही गैरआख्यानको दबदबा रह्यो । जबकि आख्यानमा खडेरी छायो । कविताका पाठक उति उत्साहित हुन सकेनन् ।

अघिल्लो वर्ष नवराज केसीको ‘शून्यको मूल्य’, सुविन भट्टराईको ‘इजोरिया’, उज्ज्वल प्रसाईंको ‘एक बागी’ जस्ता पुस्तक निरन्तर चर्चामा थिए । बिडम्वना, यो वर्षैभरि त्यस्तो अवस्था देखिएन । स्थापित र प्रतीक्षित लेखक ‘ओथारो’मै बसे । बुद्धिसागरले ‘एक्लो’ जन्माएको ६ महिनापछि ‘उसले दिएको उमेर’ त कोरले, तर यसले पाठकको स्याहार पाउन सकेन । विशेषगरी कवितामा नवोदित लेखकको आगमन सुखद भए पनि ‘नयाँलाई नपत्याउने’ पाठकीय मनोविज्ञानले उनीहरू ओझेलमै रहे ।

गैरआख्यानमा भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’ ले पनि राम्रै पाठक कमायो । उनले नेपालको कूटनीति, शासन–प्रशासन, वैदेशिक सम्बन्धलगायतका विषय समेटेका छन् । उमाकान्त पौडेलको ‘बुद्धकालीन समाज’ पनि पाठकको रोजाइमा पर्‍यो । बुद्धकालीन समाजका विविध पक्षको उद्घाटनका साथै त्रिपिटकका आधारमा प्रामाणिक जानकारी दिने उनको मिहिनेतलाई पाठकले रुचाए ।

निरोज कट्टेलको ‘२०२८ : झापा विद्रोहको अन्तर्कथा’ ऐतिहासिक राजनीतिक घटनाको सांगोपांग दस्तावेजका रूपमा आयो । ‘झापा विद्रोह’ सुन्दै हुर्किएका पुस्ताका लागि यो पुस्तक इतिहासको आँखीझ्याल हो । अमृता लम्सालले ‘मिडिया महिला र म’ पुस्तक ल्याइन् । खासगरी २०४६ सालयताका अनुभव र महिला अधिकारका सवाल पुस्तकले उठाएको विषय हो ।

विशेषगरी शास्त्रीय संगीतको इतिहाससहित ध्रुवेशचन्द्र रेग्मी ‘नेपाली संगीत दरबार’ लिएर आए । नेपालमा शक्ति–राष्ट्रको बढ्दो सक्रियतामाथि पत्रकार बाबुराम विश्वकर्माले लेखेको ‘भूराजनीतिको भार’ प्रति पनि पाठकको चासो देखियो । अर्का पत्रकार नेत्र पन्थीले ‘लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’ राजनीति’ ले बौद्धिक वृत्तमा प्रशंसा कमायो ।

नेपाली भाषामा अरुण गुप्तोले पहिलो पुस्तक सार्वजनिक गरे ‘संस्कृति चिन्तन’ । विषयवस्तुका हिसाबले गहन भए पनि अपेक्षित चर्चा पाउन सकेन । जीवजन्तुका आनिबानीबारे अध्ययन गरिबस्ने ददि सापकोटाले ‘जीवगाथा’ लिएर आए भने अर्की पत्रकार दीपा दाहालले कोभिड महामारीको अवस्थालाई ‘कोभिड : नसोचेको–नभोगेको संकट’ शीर्षकमा पुस्तकाकार दिइन् ।

कृष्णविक्रम नेम्बाङको ‘लिम्बू इतिहास : तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ पनि यसै वर्ष आयो । अरुण–कोशीपूर्व बस्ने याक्थुङ/लिम्बू जाति र लिम्बूवानको इतिहाससँगै पुस्तकमा लिम्बू जातिको तिब्बती, सेन, भुटान, सिक्किम र रायबीचको सम्बन्ध केलाइएको छ । ‘काली–कर्णालीको लोकसाहित्य’ माथिको गहकिलो अनुसन्धानात्मक कृतिसहित यज्ञराज उपाध्याय आए । कविता शेरचनको ‘भूपी : अ डटर्स मेमोयर’, विवेक शाहको ‘दरबारबाट देखेको नेपाल’, शंकर तिवारीको सम्पादनमा ‘बीपीको जेल डायरी’, जीवन क्षेत्रीको ‘नुन–तेल : विगततिर पदयात्रा’, कटक मल्लको ‘न्याय–अन्याय’, नरेन्द्रजंग पिटरको ‘बकपत्र’, पुरुषोत्तम शमशेर जबराको ‘जंगबहादुर र राणाकालीन दर्पण’, खगेन्द्र संग्रौलाको ‘आफू आफैतिर फर्केर’ जस्ता गैरआख्यान यसै वर्ष सार्वजनिक भए ।

बिक्रीका हिसाबले ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ चर्चामा आयो । पत्रकारद्वय अर्जुन उप्रेती र जसकुमार राईले पञ्चायती शासकद्वारा इलाममा मारिएका रत्नकुमार वान्तवाको संघर्ष र बलिदानको वृत्तान्त ‘नेपालमा सुरुङ युद्ध’ ल्याए । यो राजनीतिक–इतिहासको खोजमूलक पुस्तक हो ।

निबन्धमा प्रकाश थाम्सुहाङको ‘शब्दथुम’ ले राम्रै बौद्धिक विमर्श गर्‍यो । नारायण ढकालको ‘अन्तिम पात’, ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’ र भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’ पाठकले रुचाए । नियात्रा समाजले ‘नेपाली प्रतिनिधि नियात्रा’ जस्तो महत्त्वपूर्ण पुस्तक यसै वर्ष सार्वजनिक गर्‍यो । मोमिलाको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ वर्षान्ततिर आएकाले पाठक र बजारमा यसको चर्चा हुनै बाँकी छ ।

लेखक तथा समीक्षक हरि अधिकारी यो वर्ष कुनै पनि विधामा उल्लेख्य कृति आउन नसकेको बताउँछन् । तर, लेखनमा विषय विविधता राम्रै गरी आएको उनको भनाइ छ । ‘दुईतीन वर्षयता नछोइएका विषय, फरक चरित्र र कथानक आउन थालेका छन्, आञ्चालिकताको फरक स्वाद छ,’ उनले भने, ‘पश्चिमका थारूका विषय हुन् वा पूर्वमा सन्थालका जीवन लेख्ने क्रम सुरु भएको छ । भर्जिन इलाकामा लेखकको प्रवेश प्रशंसनीय छ तर गुणस्तरका हिसाबले त्यस्ता लेखन माझिन सकेका छैनन् ।’ कतिपय पुस्तकले विषय उठान ठिकै गरे पनि शैलीगत संरचना र भाषामा पकड गुमाउँदा ती कमजोर बन्न पुगेको उनको मूल्यांकन छ ।

इन्डिगो इन्कका प्रमुख विष्णुकुमार पौडेल पाठकले समाज–इतिहासका विषय बढी पढ्न चाहेको बताउँछन् । ‘पहिलेजस्तो उपन्यासको लहर देखिएन, किनकि पाठक मनोरन्जनका लागि मात्र नभई पढेर केही गुदी लिन सकियोस् भन्ने चेतनासहित आएका छन्,’ उनले भने ।

आख्यानको ऐँठन

यस वर्ष आख्यानले पाठकको मन जित्न सकेनन् । कुमार नगरकोटीले वर्ष ८० मा दुई पुस्तक–कोसेली दिए । मंसिरमा संस्मरणात्मक कृति ‘जोगियाना’ लिएर आएका उनी चार महिनापछि ग्राफिक नोभल ‘जे थर्टी थ्री’ लिएर आए । फिक्सनका ‘डिजाइनर’ नगरकोटीको यो उपन्यास नेपाली साहित्यमा पहिलो प्रयोग पनि हो ।

पुस्तक वितरकहरूका अनुसार, प्रोल्लास सिन्धुलीयको उपन्यास ‘भग्न भैरव’ (भैरव अर्यालको जीवनीमा आधारित) पाठकको छनोटमा पर्‍यो । साहित्यमा कमै लेख्ने गरिएको लैंगिकता र यौनिकताको विषयमा रमेश सायनले ‘अन्तर’ उपन्यास ल्याए । तर, अपेक्षित चर्चा पाउन सकेन । राजनीतिक विश्लेषक विष्णु सापकोटा उपन्यासकार अवतारमा उदाए, ‘अडिएका पाइला’ लिएर । ‘पीपला’ मा पत्रकार विमल नेपालले माओवादी ‘जनयुद्ध’ को विषय उठान गरे । वर्षको अन्तिमतिर राजव ‘क्रूर पृष्ठमा जो थिए’ लिएर आइपुगे भने चिरञ्जीवी वाग्ले ‘बहादुर शाह’ उपन्यासमा देखिए । राजवले उपन्यासमा २०२८ सालको बारा, पर्सा, रौतहटमा हिन्दु–मुस्लिम समुदायबीच भएको साम्प्रदायिक दंगाको विषय लेखेका छन् ।

राणाकालीन पात्र गोपी च्यामेको जीवनीमाथि विश्व कुइँकेलले ‘गोपीचा’ उपन्यास ल्याए भने कृष्ण गौतम दार्शनिक उपन्यास ‘अद्वैत’का साथ देखापरे । नवलेखक सागर खड्काको उपन्यास ‘राइपाली भन्ज्याङ’, जीवन जीवन्तको ‘चरैवेति’, गोविन्द कुसुमको ‘भृकुटी’ यसै वर्ष आए । विषयवस्तु र मुद्दाका हिसाबले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’ पाठकको रोजाइमा पर्‍यो । तामाङ समुदायको सांस्कृतिक पहिचान उनका कथाले बोकेका छन् भने खेम बतासको ‘बुढीपोल्ली’ ले सुदूरपश्चिमको समाज–सस्कृंतिलाई उजागर गरेको छ । मनीषा गौचनको ‘प्रतिवहन’ र प्रवासको परिवेश, समाज–मनोविज्ञानका कथा संकलित कृष्ण कुसुमको ‘पार्श्वधुन’ पाठकको औसत रोजाइमा परे ।

यो वर्ष आख्यानको उपस्थिति कमजोर देखिए पनि इतिहास, संस्मरण र जीवनाख्यानले सुखद संकेत गरेको लेखक तथा समीक्षक महेश पौड्यालको मूल्यांकन छ । ‘पाठकको स्वाद फेरिएकाले प्रकाशकले यतातिर अब सोच्नुपर्छ,’ उनले भने, ‘आख्यानमा पहिलेजस्तो बाढी आएन । केही नयाँ कविले राम्रै उपस्थिति देखाए । सामान्य मान्छेको जीवन संघर्ष, उचारचढाव र सफलताको आफ्नै कथा बेच्न देश दौडाहामा लागेकाले महावीर पुनले भने धेरैको ध्यानाकर्षण गराए ।’ हिमाल आरोहीका जीवनाख्यानमा नयाँ काम भएको पौड्याल बताउँछन् । ‘पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाको आत्मकथा ‘हिम्बु’, पर्यटन प्रवर्द्धक मिङ्मा शेर्पाको ‘सगरमाथाको शेर्पा म’ जस्ता पुस्तकले हिमालको कथा विश्वसनीय तरिकाले भनेका छन्,’ उनले भने ।

चितवनस्थित सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाको अनुभवमा पाठकले आख्यानमा बलियो कन्टेन्ट खोज्न थालेका छन् । ‘अलिअलि मायाप्रेमका कथा मिसाएर लेखे बिक्छ भन्ने मानसिकता अब लेखकले हटाउनुपर्छ, किनकि पाठक नयाँ विषयको खोजीमा छन्,’ उनी भन्छन्, ‘आख्यानमा पनि सामाजिक मुद्दा वा कसैको जीवन लेखियो भने त्यसले राम्रै बजार पाउँछ । योगमाया जस्ता आख्यान पाठकले रुचाउने रहेछन् ।’ अघिल्लो वर्षभन्दा यसपालि पुस्तक बजार केही चलायमान रहेको उनको अनुभव छ । ‘मुकाम रणमैदान, राष्ट्र–पराष्ट्र, बहादुर शाहजस्ता पुस्तकको बिक्री ठिकै रह्यो,’ उनले भने ।

सालाखाला कविता

कवितामा भने राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ यसपालि बढी चर्चा पाउने पुस्तकका रूपमा देखापर्‍यो । वर्षान्तमा कवि विप्लव प्रतीकको हाइकु–किताब ‘शाडेनफ्रोएडा’ छापिएर आयो । स्थानीय काव्यिक सुगन्धका हिसाबले गगन योक्पाङ्देनको ‘केवाफुङ्को गीत’ लाई कवि–पाठकले रुचाए । नयाँ पुस्ताका सुमिना (बागी स्त्रीको आत्मकथा), देवव्रत (अस्वत्थामाको निधारबाट बागमती बग्छ), गीलु रातोस (सिलीदुङ), निर्भीकजंग रायमाझी (त्यसरी त कहिल्यै सोचिएन), मिथोच (आगोको पिदार) सम्भावनासहित काव्यिक दुनियाँमा देखिए ।

चर्चित कविता ‘साला पहाडमें क्या है’ शीर्षककै संग्रहसहित आएका मीनबहादुर विष्टको सार्थक उपस्थिति रह्यो । न्याय, समानता, वर्ग–वर्णभेदविरुद्धका कवितासहित अभय श्रेष्ठ ‘लहना र तीर’ लिएर आइपुगे । भूपिनले छानिएका कवितासहित ‘भूपिनका कविता’ सार्वजनिक गरे । प्रकाश रम्घालीको ‘साँझको संगत’, विमल वैद्यको ‘युगको तटमा उभिएर’, रेशम विरहीको ‘प्रतिरोधको लय’, एलबी क्षेत्रीको ‘को हो त्यो मान्छे ?’, छविरमण सिलवालको ‘डोरम्याट’ यसै वर्ष प्रकाशनमा आए । कवि एवं हेटौंडास्थित किताबघरका सञ्चालक छवि अनित्य वर्ष ८० मा आख्यान बजारबाटै बेपत्ता भएको टिप्पणी गर्छन् । ‘गैरआख्यानमा बढी रुचि देखियो, आख्यानले पाठकको मन राख्न सकेन,’ उनी भन्छन्, ‘बिस्तारै आत्मकथाहरू पनि आत्मा कम र कथा ज्यादा हुन थाले । मुकाम रणमैदान र राष्ट्र–परराष्ट्रले थोरै इज्जत धानेका छन् ।’ कवितामा भने राम्रै पुस्तक आएको उनको मूल्यांकन छ । ‘लहना र तीर, बागी स्त्रीको आत्मकथा, त्यसरी त कहिल्यै सोचिएन, साला पहाडमे‌ं क्या है लगायत पुस्तकको बिक्रीले थोरै आशा जगाएको छ,’ उनले भने ।

बेला पब्लिकेसन्सकी अध्यक्ष बन्दना ढकाल समाजमा जुध्नुपर्ने एकखालको समस्या भए पनि लेखन धार निराशा र पलायनवादी भइदिँदा साहित्य सतही हुने गरेको बताउँछिन् । भन्छिन्, ‘अहिले देखाउनेभन्दा छोप्ने प्रवृत्ति बढी छ । ३०–४० वर्षको कालखण्डमा मध्यममर्गीय साहित्य धेरै लेखिए । बढी समस्यामा गुज्रिएका सहरी मजदुर वा निम्नवर्गका आख्यान लेखिएन ।’

आख्यानले नयाँ परिवेश निर्माण गर्न नसकैकै कारण पाठकको दूरी टाढिँदै गएको उनको भनाइ छ । हामीकहाँ अनुवादका काम कमै हुने गरेका छन् । यद्यपि थोरै अनुवाद चर्चामा रहे । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको ‘सत्यको जगमा उभिएर’ (दि ट्रुथ वी होल्डको अनुवाद, विप्लव प्रतीक), प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ (ल्यान्ड ह्वेर आई फ्लीको अनुवाद, विभु लुइँटेल) विश्वका चर्चित लेखक–विचारकको सामयिक आलेख संग्रह ‘२१औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ (रोहेज खतिवडा) जस्ता महत्त्वपूर्ण पुस्तक आए ।

नेपाली साहित्यमाथिका गम्भीर समीक्षा–समालोचना यस वर्ष झनै भुत्ते देखियो । यद्यपि, भेषबहादुर थापाको ‘राष्ट्र–परराष्ट्र’ माथि पत्रकार जेबी पुन मगरले लामो समालोचना लेखे ‘नेपालखबर’ मा । ‘निरंकुश राजा महेन्द्रको मुहारमा भेषबहादुरले पोतेको ‘प्रजातान्त्रिक’ रङ’ शीर्षकमा उनले तीन दर्जनभन्दा बढी सन्दर्भ सामग्रीसहित मिहिन आलोचना गरेका छन् ।

यस्तै, मोहन मैनालीको ‘मुकाम रणमैदान’ माथि इतिहासकार महेशराज पन्तले ‘मुकाम रणमैदान नियाल्दा’ शीर्षकमा ‘हिमालखबर’ मा टिप्पणी लेखे । लगत्तै मैनालीले प्रत्युत्तर शैलीमा हिमालमै लेखे ‘मुकाम रणमैदान नियालेको समीक्षा नियाल्दा’ । उनले यसमा पन्तले खुट्याएका कमजोरीमाथि आफ्ना तथ्य–तर्क पेस गरेका छन् । बेला पब्लिकेसन्सकी अध्यक्ष ढकाल अहिलेका लेखकमा विचारधारात्मक संघर्षको अभाव देख्छिन् । ‘पहिले लेखक निर्माण गर्ने समूह नै सक्रिय हुन्थे । मार्क्सवादी शिविर होस् या गैरमार्क्सवादी, उनीहरू समूहमा विमर्श गर्थे । राजनीति नै विकृत बन्दै गएपछि त्यस्ता शिविर भत्किए,’ उनी भन्छिन्, ‘राजनीति नै निराशाजनक भएपछि त्यसको प्रभाव साहित्यमा पर्ने हो, जुन अहिलेको देखिएकै छ ।’

यद्यपि, आख्यान र कवितामा नयाँ पुस्ताको जबर्जस्त प्रवेश भने देखिन्छ । आञ्चालिक सौन्दर्यसहित सांस्कृतिक पहिचानका मुद्दा र स्थानीयता मूल स्वर बनिरहेको छ । राजनीतिक बेथिति, बेरोजगारी, विदेशिनुको पीडाका साथै पर्यावरणीय चिन्तनमा पनि कलम चलेको छ । तर, हतारको लेखन र प्रसिद्धिको मोहले नवोदित लेखकप्रति ठूलो आशा नरहेको समीक्षक अधिकारी बताउँछन् । ‘साहित्य गम्भीर साधना हो, भाषाशिल्पमा काम गर्नुपर्छ, लगातार लेख्नुपर्छ र अध्ययन जरुरी छ भन्नेमा लेखकको चासै भएन,’ उनले भने, ‘कतिपय पहिचानवादी र नारीवादी लेखकहरू बढी मनोगत भइदिँदा, बढी क्रान्तिकारी बन्न खोज्दा साहित्यको मूल मर्म नै छोपिने गरेको पनि देखिन्छ ।’

प्रकाशित : वैशाख ८, २०८१ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×