तिनीहरू जब नारी भए 

इरानी निर्देशक मार्जे मेस्किनीको फिल्म ‘द डे आई बिकेम अ वमन’ ले नारी स्वाधीनतासम्बन्धी नसुल्झेका धेरै सवालको अर्थपूर्ण जवाफ दिन्छ 
अभय श्रेष्ठ

स्वतन्त्रताको हुटहुटी
सन् २००० मा बनेको फिल्म ‘द डे आई बिकेम अ वमन’ लाई समीक्षकहरूले आधुनिक क्लासिक्सको दर्जा दिएका छन् । इस्लाम राज्यमा महिला स्वतन्त्रताको कल्पना गर्न मुस्किल छ । इरानी सन्दर्भ जोड्दै निर्देशक मार्जे मेस्किनीले कलाको गहिरो तहमा पुगेर महिला स्वतन्त्रताको मुख्य आधार आर्थिक स्वतन्त्रता हो भन्ने तर्क गरेकी छन् ।

तिनीहरू जब नारी भए 

यसमा बेग्लाबेग्लै जस्ता लाग्ने तीन नारीका तीन थान कथा छन्, तर तिनलाई स्वतन्त्रताको हुटहुटीले जोडेको छ ।

‘द डे आई बिकेम अ वमन’ को पहिलो भागमा हवा नामकी ९ वर्षे बालिकाको कथा छ । एक बिहान एउटा केटो आफूसँग भएको पैसाले आइसक्रिम किनी हवासँग बाँडेर खान चाहन्छ । हवाकी हजुरआमा बालकलाई हकार्दै भन्छिन्, ‘ऊ आजबाट ९ वर्षकी भई । उसले अब केटाहरूसँग खेल्न हुँदैन । कपडाले टाउको छोपेर हिँड्नुपर्छ ।’ बूढीको कुराले दुवै बालसखा दुःखी हुन्छन् । हवाका लागि बजारबाट टाउको छोप्ने सल ल्याइन्छ । कौसीमा गएर ऊ हसनसँग बोल्न थाल्छे । ऊमाथि फेरि आदेश बर्सिन्छ, ‘छतमा पनि जान हुँदैन । केटाहरूसँग त झन् बोल्नै हुँदैन ।’ हवा मध्याह्न नहुन्जेल केटाहरूसँग खेल्न मिल्ने तर्क गर्छे । यसरी ऊ बाँकी रहेको थोरै समयको पनि जतिसक्दो उपयोग गर्न चाहन्छे । हजुरआमा उसलाई एउटा लट्ठी दिँदै भन्छिन्, ‘यसलाई एक ठाउँमा गाड्नु । लट्ठीको छाया हराएपछि मध्याह्न भएको सम्झनू र तुरुन्त घर आउनू ।’ हवा खुसीले उफ्रँदै हसनलाई भेट्न जान्छे । त्यस क्रममा हसनका दुई साथीलाई ऊ सल थमाउँछे । उनीहरू हवाको सल खेलौना डुंगा तान्न प्रयोग गर्छन् । यस दृश्यले प्रकृतिमा डोरीको काम गर्ने एउटा मामुली चिजलाई कृत्रिमताको झिल्के मखुन्डो भिरेको समाजले नारीलाई बन्धनमा बाँध्ने अस्त्रका रूपमा दुरुपयोग गरेको गम्भीर अर्थ दिन्छ ।

हसनलाई उसकी दिदीले स्कुलको गृहकार्य गर्न भनी बाहिरबाट ताल्चा मारेर कतै गएकी हुन्छे । प्रकृतिलाई कृत्रिमताले छेकेर छेकिन्न । हवा बालुवाको थुप्रोमाथि हजुरआमाले दिएको लट्ठी गाड्छे र ती दुई झ्यालभित्र र बाहिर बसेर निर्दोषितापूर्वक कुरा गर्छन् । छेकाबारबीच पनि उनीहरू खानेकुरा आधा–आधा टोकेर खान्छन् । सिनेमाका हरेक दृश्यले गम्भीर अर्थ प्रवाह गरेको छ । यसले प्रकृतिमा नारी–पुरुष दुवै कति स्वतन्त्र र सहअस्तित्वमा थिए जसलाई सामाजिक चलनले बाधा दिइरहेको छ भन्ने मार्मिक सन्देश दिन्छ । मध्याह्नमा लट्ठीको छाया हराएपछि कालो सल ओढेर हवा तुफानझैँ हुत्तिँदै घर फर्कन्छे । अब उसको बन्दी जीवन सुरु भयो । हवा यहाँ आदिनारीको प्रतिरूप, मानव समाजकी आदिमाता हो । आदिमातालाई समाजले बन्दी बनाएको छ ।

दोस्रो भागमा विवाहित युवती आहुको स्वाधीन बाटोको वर्णन छ । समुद्री किनारमा कालो सल ओढेका युवतीहरू साइकल कुदाइरहेका हुन्छन् । घोडचढी एक पुरुष आहुलाई पुकार्दै पछिपछि आइरहेको हुन्छ । ऊ आहुको नजिक आएर अनेक चेतावनी दिन्छ । साइकलबाट तुरुन्त ओर्लन आदेश दिन्छ । आहु त्यसलाई वास्ता नगरी निरन्तर साइकल कुदाइरहन्छे । घोडचढी पुरुष अरू महिलालाई पनि हकार्छ र आहुलाई साइकलबाट नओर्ले परिणाम धेरै नराम्रो हुने चेतावनी दिन्छ । आहुले नटेरी साइकल चलाएर अगाडि बढेपछि केही छिनमै मुल्लालाई लिएर घोडचढी आउँछ । मुल्ला आहुलाई रोकिन आग्रह गर्छ । ‘नत्र तिम्रो लोग्नेले तलाक दिन भनी मलाई बोलाएको हो’ भन्छ । घोडचढी मुल्लालाई पारपाचुके प्रक्रिया तुरुन्त थाल्न आदेश दिन्छ । आहु ‘तलाक देऊ’ भन्दै साइकल कुदाउन जारी राख्छे । अब आहुको लोग्ने मात्र होइन, बाबु र दाजु पनि सम्बन्ध विच्छेद नगर्न र माइतीको इज्जत राख्न उसलाई आग्रह गर्छन् । आहुका लागि कथित इज्जत र अर्थहीन झ्याउलोभन्दा स्वतन्त्रता धेरै प्यारो छ । ऊ निरन्तर साइकल कुदाउँछे । कसैको केही नलागेपछि समाजका सारा टाउकेहरू घोडामा सवार भएर आहुलाई घेर्छन् र चोरलाई झैँ पक्राउ गर्छन् । एउटी नारीको स्वाधीन इच्छामाथि सिंगै पुरुष सत्ता खनिन्छ ।

तेस्रो अध्यायमा ह्वीलचेयरमा बस्ने एउटी वृद्धा आफूले चाहेका सारा सामान किन्छिन् । बितिसकेका श्रीमान्को सारा सम्पत्ति उनले पाएकी हुन्छिन् । श्रीमान् हुन्जेल उनले मनले चाहेको केही किन्न पाएकी थिइनन् । श्रीमान् सहयात्री नभई मालिक हुँदा महिलाको जीवन बन्धित हुन्छ र श्रीमतीहरूले श्रीमान्को अनुपस्थितिमा बल्ल स्वतन्त्रता उपभोग गर्न पाउँछन् । मान्छेको प्राकृतिक स्वभावमाथि समाजका नियमले बाँध्दा मानव सभ्यता नै धसिन पुग्छ । समुद्री किनारमा उनी फ्रिज, ग्यास चुलो, सोफा, भाँडाकुँडा सजाएर प्रदर्शन गर्छिन् अनि प्रफुल्ल मुद्रामा डुङ्गामा सयर गर्छिन् । श्रीमान्हरू श्रीमतीको स्वतन्त्रताको सहयोगी र सहयात्री नबन्दा हुने यही हो । श्रीमतीहरू समाजको नियममा बाँधिए पनि आखिर स्वतन्त्रता चाहना गरिरहन्छन् र श्रीमान् नहुँदा मात्र मिल्छ भने उनीहरू त्यही कामना गर्न बाध्य हुन्छन् । पुरुषवादी समाजले गहिरेर मनन गर्नुपर्ने कुरा यहाँ छ । यता समुद्री किनारमा उभिएर टाउकोमा कालो सल बाँधेका हवा र आहु ती वृद्धालाई आसलाग्दो नजरले हेरिरहेका हुन्छन् । उनीहरू पनि त्यस्तै स्वतन्त्रताको प्रतीक्षामा छन् ।

प्राकृतिक चाहना

स्वतन्त्रता मान्छेको प्राकृतिक चाहना हो । मान्छे र चौपायामा यही फरक छ । चौपायामा बाँच्ने चाहना, त्यसका लागि खाना र समयअनुसार यौनबाहेक अरू सोच्ने क्षमता हुँदैन । हरेक प्राणीमा भाले यौनप्रति आक्रामक हुन्छ, तर मान्छेबाहेक कुनै पनि प्राणीमा पोथीले नचाहेसम्म यौन सम्बन्ध सम्भव हुँदैन । त्यसकारण पशुपन्छीमा बलात्कार हुँदैन भनिन्छ । मान्छेमा विचार, भावना, संवेदना र विवेक हुन्छ । यौन उसको पनि जैविक आवश्यकता हो । तर प्रेम र भावना सम्मिलित नभए यही प्राकृतिक चाहना पनि उसका लागि यातना हुन्छ । १८ वर्ष नपुगेका महिलाको यौन अंग सम्भोगका लागि विकसित नहुने भएकाले सहमतिमै भए पनि यस्तो सम्बन्ध बलात्कार ठहरिने (स्टाच्युटरी रेप) लगभग विश्वव्यापी मान्यता छ । बलात्कार र प्रेममा यही फरक छ ।

सिनेमामा तीनै पात्रमा स्वतन्त्रताको असीम हुटहुटी छ । हवाको बालसुलभ स्वतन्त्रतासमेत धर्म र परम्पराका नाममा पुरुष सत्ताले खोसेको छ । तर, ऊ सीमित समयलाई पनि अधिकतम उपयोग गर्न पछि पर्दिन । आहु त बुताले भ्याएसम्म स्वतन्त्रतामा आइलाग्ने सबै बाधा र झ्याउलो पन्छाउँदै अघि बढ्छे । उसले कसैलाई बाधा दिएकी छैन, उसलाई पनि कसैले नदेओस् भन्ने चाहन्छे । दाम्पत्य जीवन खण्डित हुने मूल्यमा समेत ऊ स्वतन्त्रता उपभोग गर्न चाहन्छे । तर, सिंगै समाजले घेराबन्दी गरेर उसलाई बन्दी बनाउँछ । अनि यस्तो बाधा भोगेको मान्छेले स्वतन्त्रताका लागि श्रीमान्को अनुपस्थितिको कामना गर्नु के नौलो कुरा भयो त ? त्यो स्वतन्त्रता वृद्धाले उपभोग गर्न पाएकी छन् । हवा र आहुले किनारमा मोहित भएर वृद्धालाई हेरिबस्नुको अर्थ हो, उनीहरू कुनै पनि मूल्यमा वृद्धाको जस्तै स्वतन्त्र र स्वाधीन जिन्दगी जिउन चाहन्छन् । तर, चाहनाले मात्रै स्वतन्त्रता दिगो रहँदैन ।

लहडमा स्वतन्त्रता

यता भारत वर्षमा नारी स्वाधीनताको कुरा गर्दा धेरैले सम्झने पौराणिक पात्र हो– माधवी । वैदिककालीन कथाकी पात्र ‘माधवी’ माथि मदनमणि दीक्षितले उपन्यास र भारतीय लेखक भीष्म साहनीले नाटक लेखेका छन् । मदनमणिको उपन्यासमा भन्दा साहनीको नाटकको उपकथा र प्रस्तुति केही फरक छ । माधवी गालबलाई असीम प्रेम गर्छिन् । विश्वामित्रले मागेको आठ सय अश्वमेध घोडा गालबलाई जुटाउन उनी कस्ता–कस्ता राजासँग आफूलाई सुम्पिन्छिन् र तिनका लागि चक्रवर्ती राजकुमार जन्माइदिन्छिन् भन्ने कथा मर्मभेदी छ । नवजात सन्तानको माया चटक्क मारेर हिँड्नु एउटी नारीका लागि कति कठिन विषय हो ! माधवी यही गर्न बाध्य छिन् किनभने, उनी प्रेमी गालबलाई ८ सय घोडा जुटाउन वचनबद्ध छिन् ।

दुई–दुई सय अश्वमेध घोडा भएका तीन राजाका चक्रवर्ती राजकुमार जन्माइसकेपछि माधवीलाई थाहा हुन्छ, आर्यावर्तमा अब कसैसँग अश्वमेध घोडा छैन । यस्तो स्थितिमा गालबले फेरि आत्महत्या गर्ने स्थिति आउँछ । गालबबाट प्राप्त ६ सय घोडा तबेलामा बाँधेका विश्वामित्रबाटै माधवी छोरा जन्माउँछिन् र गालबलाई बाँकी २ सय अश्वमेध घोडा जुटाएर आत्महत्याबाट जोगाउँछिन् । प्रेमका लागि यतिसम्म गरेकी माधवीलाई गालब अब बूढी देख्न थाल्छ । गुरुपत्नी रहिसकेकी उनलाई स्वीकार्न नसक्ने बताउँछ । जब गालब प्रेमको बदलामा प्रेम दिन सक्दैन, त्यसपछि सारा पुरुषले शिर झुकाउनुपर्ने स्थिति आउँछ । आफैंलाई बेचेर पनि माधवीले प्रेमीलाई आत्महत्याको स्थितिबाट जोगाइदिइन् । तर, गालबका लागि अब माधवीको प्रयोजन सकियो । यही स्थितिमा माधवी भावी महारानी पदको लोभ त्यागेर स्वाधीनताको बाटोमा हिँड्छिन् । पिता ययातिको दरबार, उनले आयोजना गरेको स्वयंवर र गालबलाई समेत छाडेर गएपछि माधवीको भविष्य के होला ? हुन सक्छ, उनी जंगलमा बाघभालुको सिकार हुन्छिन् । कि त नगरबधू भएर उनले दिन बिताउनुपर्ने हुन्छ । नर्वेली नाटककार हेनरिक इब्सेनको ‘पुतलीको घर’ की नायिका नोराको सवाल पनि यस्तै छ । झन्डै ५ हजार वर्षअघिको वैदिक युगकी माधवी र २ सय वर्षअघिकी युरोपेली नारीको हालत उही हुन्छ जब उनीहरू स्वाधीनताको बाटो अँगाल्छन् । नोराको नियतिबारे चिनियाँ साहित्यकार लु सुनले भनेका थिए, ‘नोरासामु दुई मात्र विकल्प छन् । झन् खराब हुनु वा पतिकै घर फर्कनु ।’

अन्त्यमा

माधवी र नोराको भविष्यबारे उठ्ने सवालको सटीक जवाफ मार्जे मेस्किनीको फिल्मले दिन्छ । मान्छेलाई स्वतन्त्रताको चाहना हुनु स्वाभाविक हो । तर त्यसलाई टिकाउन ऊसँग आर्थिक अधिकार हुनुपर्छ । उत्पादनमा सहभागिताले मात्रै खास अर्थ राख्दैन, आर्थिक अधिकारबिनाको स्वतन्त्रता लहड वा जगबिनाको घरजस्तै हुन्छ । हवा बालकै छे । ऊसँग आर्थिक स्वतन्त्रता हुने कुरै भएन । उसलाई सामाजिक चलनले ९ वर्ष पुग्नेबित्तिकै बन्धनमा पारेको छ । आहुलाई पनि समाजले जबर्जस्ती बन्दी बनाएको छ । तर ऊसँग पनि आर्थिक स्वतन्त्रता छैन । आर्थिक अधिकार भएको भए ऊ कानुनी लडाइँबाट भए पनि स्वतन्त्र हुन सक्थी । समुद्री किनारमा सामान सजाउने वृद्धा किन स्वतन्त्र छिन् ? लोग्ने नभएर होइन, आर्थिक अधिकार पाएर उनी स्वतन्त्र भएकी हुन् । लोग्ने नहुँदा पनि आर्थिक अधिकार नभए इच्छाअनुसार उनले सामान किन्न सक्ने थिइनन् । मार्जे मेस्किनीको सन्देश दिने तरिका अनुपम छ ।

प्रकाशित : चैत्र १७, २०८० ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?