कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

न सोचेको, न चिताएको !

‘शाडेनफ्रोएडा’ हाइकु संग्रह हो । हाइकु अक्षरको समूह होइन, भावनाको आरोह–अवरोहयुक्त तीव्र यात्रा हो । 
विप्लव प्रतीक

हाइकु लेखन जापानमा उदय भएको हो, सोह्रौं शताब्दीमा । हाइकुमा अक्सर प्रकृतिको छवि देखिन्छ या यसले शब्दमार्फत छवि निर्माण गर्छ । सरलता, गहिराइ र स्पष्ट अभिव्यक्ति यसको चारित्रिक विशेषता हो । मेरो हाइकुसँग कुनै साइनो थिएन । न पढ्ने मौका जुरेको थियो, न चासो नै थियो । हाइकुसँग मेरो परिचय सन् २००६/०७ तिर जब लेखक भूषिता वशिष्ठसँग भेट भयो, तब भयो । 

न सोचेको, न चिताएको !

म भक्तपुरमा आयोजित न्यातपोल नजिकै खुल्ला स्थलमा हुन लागेको एउटा कार्यक्रममा कविता सुनाउन जाँदै थिएँ । कोटेश्वर कट्नै लागेको थियो । प्रसङ्ग हाइकुकै थियो । नेपाली कलालाई अर्थपूर्ण आयाम दिने आर्ट क्युरेटर संगीता थापा र मोमिलासँग थिएँ म । एकछिन गम खाएँ, यौटा हाइकु फुराएँ :

सुख्खा पोखरी,

छुप्लुङ्छुप्लुङ् म,

बिना वर्षात् ।


सबैजना हाँसे, थाहा छैन के कुराले हँसायो । ख्यालख्यालमा हाइकु फुर्‍यो र त्यहीं मेरो हाइकु यात्रा टुङ्गियो– मलाई त्यस्तै लागेको थियो । भक्तपुरमा कविता पढ्ने पालो कुर्ने क्रममा म भूषितासँगै थिएँ । मैले उनलाई बाटोमा फुरेको ‘हाइकु’ सुनाएँ । उनले प्रतिक्रिया दिइनन्, बरु हाइकुको महत्त्वबारे अर्थपूर्ण कुरा गरिन् । अनि अन्त्यमा उनीरचित एउटा हाइकु सुनाइन्, जसले मेरो संवेदनालाई निमेषमै स्पर्श गर्‍यो । अर्थपूर्ण कुरा दिमागले टिपेन, हाइकु भने सम्झनामा कुँदियो ।

एक दिनको कुरा हो, ठमेलस्थित जनकवि दुर्गालाल श्रेष्ठको घरमा थिएँ म । मैले भूषिताको हाइकु सुनाएँ उहाँलाई । स्पर्शी काव्य सुन्दा हृदयबाटै त्यसैत्यसै गद्गद् हुने उहाँको बानी छ । दङ्ग पर्नुभयो उहाँ । ‘बांला’ (राम्रो) भन्नुभयो । र, हाइकुको महत्त्वबारे आफ्ना विचार सुनाउनुभयो । भन्नुभयो, ‘ए, भाइ । जसले हाइकु, माने पाँच–सात–पाँच अक्षरका तीन हरफमा, जम्मा सत्र अक्षरमा आफूलाई, आफ्नो दर्शन र जीवनलाई अभिव्यक्त गर्न सक्छ, उसले कविता, कथा, निबन्ध वा उपन्यास लेख्दा के होला ?’ उहाँका अनुसार किफायत गरेर लेख्ने अभ्यास भयो भने शब्दलाई हिफाजत गर्न सिकिन्छ । र, जसले शब्दलाई हिफाजत गर्न जान्यो, उसले अभिव्यक्तिको शक्ति महसुस गर्छ र किफायती तरिकाले शब्द खर्च गरेर भावको स्पर्शी चित्र कोर्छ, लाभान्वित पाठक हुन्छन् ।

दाइसँग त्यस दिन भएको सत्सङ्गपछि घर पुगुञ्जेल मलाई ज्वरो आइसकेको थियो– हाइकुको जरो । त्यतिखेर म कापीमै लेख्थें, ल्यापटप वा कम्प्युटरमा होइन । एउटा हाइकु लेखेर सुत्ने योजना सम्पन्न भएन, पहिलो बसाइमै पचास वटा पुग्यो । त्यसपछि मगजमा रहेका भएभरका भाव, कल्पनाशीलता र अनुभव रित्तिएको भान भयो । यहाँसम्म कि शब्दहरू समेत निख्रिएको महसुस भयो । अभिव्यक्तिका सारा सम्पत्ति गुम भए । अनि मानौं शारीरिक परिश्रमको थकाइले म चुर भएँ । उपायरहित म चुपचाप सुतें । भोलिपल्ट दिनभरिको दौडादौड पछि घर फर्किएँ र फेरि सुरु भयो नयाँ हाइकु थप्ने अभियान । तेस्रो दिनमा एक सय पाँच हाइकु पुगे । मसँग अब थप हाइकु लेख्ने जाँगर थिएन, त्यसको ज्वरो उत्रिइसकेको थियो र म हाइकु सपनाबाट पनि ब्युँझिसकेको थिएँ ।

सन् ०८ मा म अमेरिकामा थिएँ । हस्तलिखित हाइकु ल्यापटपमा बसाइँ सरिसकेका थिए । कहिलेकाहीं फुर्सदमा शब्द फेर्ने क्रम या भनें सम्पादन चलिरहेको थियो । हटाउने र थप्ने क्रममा हाइकुको संख्या १२० पुगिसकेको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ड्यालसका संस्थापक अध्यक्ष भीम कार्कीसँग मेरो मित्रता थियो । उहाँले मेरा केही हाइकु सुन्नुभएको थियो । सन् २०१० मा उहाँले संग्रह छापिदिने हुनुभयो । अनुगृहीत भएँ म, तर मेरो हाइकु उस्ताद भूषिताको आज्ञाबिना छाप्ने कुरै थिएन । उनले मलाई इमानदार सुझाव दिनेमा म ढुक्क थिएँ । इमेल गरें । अपशोच, भूषिताले ‘हुन्न’ भनिन् । फसाद पर्‍यो । तर, फसादको राँकोमा धन्य म खिस्रिक्क भइनँ । बरु, छाप्ने कुरा बिर्सिदिएँ । मेरा निम्ति वाङ्मयविशेषज्ञले भनेको नाइँलाई मैले सहर्ष स्वीकार गरें । छाप्ने कुरा यसरी टारियो । तर, आफ्ना हाइकुहरूसँगको संगत चाहिँ रहिरह्यो । मेट्ने, सोच्ने र थप्ने काम जारी रह्यो । सन् २०१० देखि सन् २०१५ सम्म बेलाबखत फुर्सद भएको बेला आद्योपान्त सम्पादन गर्ने र थन्क्याउने काम जारी रह्यो ।

केही कण्ठस्थ हाइकुहरू जमघटमा सुनाउनेबाहेक हाइकु छाप्ने कुरा मेरो मनबाट गायब भइसकेको थियो । अचानक सन् २०२१ हुनुपर्छ, ‘करोडौं’ वर्षपछि भूषिताले फोन गरिन् । पब्लिकेसन नेपा–लयबाट मेरो हाइकु संग्रह छाप्ने प्रस्ताव थियो उनको । यहाँबाट फेरि सुरु भयो टुङ्गिसकेको यात्रा । १२० वटा हाइकु घटेर १०१ भए । फेरि बढे १२७ पुगे, हुँदाहुँदै १७० पुगे । समय निकै खपत भयो र छापिन जानुअघि १५० मा सीमित हुन पुग्यो । कभर र लेआउटमा निकैपल्ट फेरबदल भयो । बल्लबल्ल कभर र डिजाइनको टेम्प्लेटमा हामी सबै जना सहमत भयौं । अनि, तयारी लिपिको साटो मेरै हस्ताक्षरमा किताब डिजाइन गर्ने प्रस्ताव आयो । यसमा पनि समय अझै खपत भयो । कुल मिलाएर साढे तीन या चार वर्ष यसमै चढ्यो ।

सोच्दछु, पुस्तक पाठकको हातसम्म पुगुञ्जेलको कहानी पनि रोचक र आश्चर्यले भरिएको संयोग हुने रहेछ । बिल्कुल मानिसको जीवन जस्तै एउटा पुस्तकको जन्मकथा ! कहाँ सोचेको थिएँ र मैले कुनै दिन म हाइकु लेख्नेछु, जमिनको कुनै कोणबाट एञ्जेलझैं भूषिता आउनेछिन् र हाइकुका बीज छाडेर जानेछिन् ? कहाँ सोचेको थिएँ र मैले, मेरो मगजमा रोपिएको हाइकुको फसल पाकिसकेपछि त्यसलाई पाठकहरूको हातमा उनैले भित्र्याउने चाँजो मिलाउनेछिन् ?

भन्छन् नि, तँ चिता म पुर्‍याउँछु । मैले चिताएको थिइनँ, तर दयालु कस्मसले पुर्‍याइदियो । कृतज्ञ छु कस्मससँग । अनि भन्न मन लाग्छ– लाइफ इज फेयर, एन्ड इट् इज् ब्युटिफुल ।


प्रकाशित : चैत्र १७, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x