अभि सर : कालक्रमको एउटा कथा 

पेसागत जीवन होस् वा सामाजिक परिवेश, हामी सबैको कसै न कसैसँग खास सम्बन्ध हुन्छ– खास दृष्टिकोणसहित । व्यक्तिमाथिको दृष्टिकोण आफैंले देखेको र अनुभव गरेको आधारमा तय हुन्छ, जसलाई संसारको अन्य दृष्टिकोणले फेरबदल गर्न सक्दैन । ‘समदृष्टि’ त्यही स्तम्भ हो, जहाँ एकको दृष्टिमा अर्कोको जीवन–चित्र लेखिनेछ ।
अरुण गुप्तो

शनिबार बिहान–बिहान अभि सरसँग चिया खाने क्रम सुरु भएको ३० वर्ष पुग्नै लाग्यो । लाग्छ, सरसँगका अन्तरंग कुरा मात्रै लेखे पनि त्यो एउटा बृहत् प्राज्ञिक ग्रन्थ बन्ला । सांख्य दर्शनदेखि ज्याक डेरिडा अनि नदी रंगमञ्चदेखि विश्वविद्यालयसम्मका हाम्रा ती विमर्श नबिर्सिने दिनहरू बनेका छन् ।

अभि सर : कालक्रमको एउटा कथा 

स्कटिस गीत गाउनु, आन्दोलनका क्षणदेखि नागार्जुन यात्रासम्मका अवसरमा कविता वाचन गर्नु, बगैंचामा राखेको मेरो मोटरसाइकलमा बस्नु, सर रुँदा म हाँस्नु आदि धेरै कथा छन् हाम्रा । यो एउटा कालक्रमको कथा हो । यी लामा वर्षहरूतिर फर्केर हेर्दा मलाई मेरा गुरु श्रीधर सर, सञ्जीव र सजगजस्ता साथीहरू उपन्यास र कविताका पात्रजस्ता लाग्छन् ।

स्मृतिमा उजागर गरी हेर्दा आख्यानका पात्रजस्ता भएर आउँछन् मेरो बगैंचा अनि मोटरसाइकल । त्यहाँ अभि सुवेदी सरको पराजय र दुःखका केही पनि रङ पनि देखिँदैनथे । यो सन् २०००–२००१ को कुरा हो– मेरो परिवार अभि सरको गोंगबु निवासको भुइँतलामा बस्थ्यो । भुइँतलामा घाँस भएको फूल अनि मोटरसाइकलको शृंगारमाथि सरको जेठो छोरा सलिलको चासो हुन्थ्यो । अभि सरलाई हेर्ने–चिन्ने दृष्टिकोण अनेक छन् । उहाँका लेख, कविता र सम्भाषणलाई लिन सकिन्छ । एउटा सत्य कुरा के हो भने मान्छेभित्र मिथकीय संरचना हुन्छ, ऊभित्र ग्रामीण मन हुन्छ । सरको निश्चलता, मुक्तिबोध एक मिथकीय मन हो, जुन मैले देखेजानेका कथा र घटनाबाट भित्र बोध गरेको छु । सरको ग्रामीण मनले दुःख–दृष्टि निर्माण गर्छ । तर, श्रीधर सरलाई मैले चिन्ने उपाय उनको हिँडाइ हो । त्यो हिँडाइको कथा अरू कुनै समय भन्नुपर्ला ।

अभि सरले मलाई कीर्तिपुरमा पढाउनुभएको हो । सरको विनोदीपन एक प्रकारको रूपक हो । मात्रै हाँसिरह्यौं भने पनि हामी उहाँले भनेका तथ्यबाट टाढा हुन्थ्यौं । ‘सरले खुब हँसाउनुहुन्छ,’ हामी भन्थ्यौं । ‘मेरा लागि हँसाउनु रूपक हो’, सर भन्नुहुन्थ्यो । लाग्थ्यो, सरको बोलाइमै हास्य उपकरण छ । अनेकौं घटना छन्, एउटा सम्झिन चाहन्छु । सायद २५–३० वर्षअघि, म सरको मोटरसाइकल पछाडि बसेर उहाँको कुरा सुन्दै–हाँस्दै कीर्तिपुर गइरहेको थिएँ । सर अगाडि कुरा गर्दै, म पछाडि हाँस्दै, यस्तै क्रम थियो । बल्खुमा अडिएर अभि सरले भन्नुभयो, ‘अरुण, पख पेट्रोल लिनुपर्‍यो ।’ पेट्रोल पम्पमा हेल्मेट झिक्दा देखें, सरका आँखामा अरू कोही नाचिरहेका थिए । उहाँ दक्षिण भारतीय एक अत्यन्त प्रिय साथीको क्यान्सरबाट भएको मृत्युको कथा सुनाउँदै हुनुहुँदोरहेछ । म त्यसै हाँसिरहेको रहेछु । जोडले हाँस्दै सरले भन्नुभयो, ‘मुटु विशाल छ भने मात्रै हामी रुन सक्छौं ।’

हामी सरसँग वर्डस्वर्थ र टैगोरका कविता पढ्न नागार्जुनका पहाड चढ्थ्यौं । ‘हामी प्राकृतिक मान्छे हौं, तर हामीमा प्रकृतिमाथिको चिन्तन छैन । त्यो चिन्तन गर्ने समय नै छैन,’ सर भन्नुहुन्थ्यो । कुराका अवसर यसरी नै बनिन्छन् । हाम्रो चिया पिउने समय त्यस्तै अवसर हो, जुन जहिल्यै सुन्दर हुन्छ, त्यो बेला हामीबीच कुनै नकारात्मक राजनीतिको कुरा हुँदैन, हामीलाई धार्मिक उन्मादले छुँदैन, तर गाजा–द्वन्द्वमा फसेका मानिसका पीडा र हाम्रो विवशता, जोन मिल्टनको महाकाव्य ‘पेराडाइस लस्ट’ को मम्मोन सैतानको देउताप्रतिको विरोध र उसको अन्यायप्रतिको चिन्ता, कवि लर्ड बाइरनको ‘रात्रिको सुन्दरतामा हिँडाइ’ जस्ता विषयमाथि चिन्तन हुन्छ । यसलाई विलिअम वर्डस्वर्थ ‘शोभनीय मन्दता’ भन्छन् । चिया खाने समय सरको धीर र स्थिर समय हो ।

कुनै बेला चिया खाने यो धीर र स्थिर समयमा सर र म मोटरसाइकलमा बसेर खोला–गल्लीहरू हिँडेका थियौं । त्यो यात्राको परिणति सुन्दर थियो । त्यसबाट हामीले नाटक मञ्चन गर्‍यौं । त्यो यात्राले नै हो, मैले एक गुरुलाई साथी बनाएको समय । त्यो थियो सरसँगको नदी रंगमञ्चको समय । अभि सरले लेखेका छन् :

‘मलाई वाग्मती नदीसँग नाट्यमञ्च जोडिएको बोध भयो । लाग्यो, नदीमा गएर, यसका लहर समातेर नाटक गर्न सकियो भने हामीले वाग्मतीको विषय उजागर गर्न सक्छौं । मैले कविताहरूका कोलाजमा वाग्मती र नदी चेतनाको कलेबर तयार पारें । अरुण गुप्तोले निर्देशन गरेर वाग्मतीको कुनै भँगालोमा नदी नाटक प्रस्तुत गर्ने योजना गरेर उपत्यकाभरि वाग्मतीका किनारा घुम्यौं । आखिर २५ भाद्र २०५६ को दिन नदी रंगमञ्चको दृष्टिबाट गुह्येश्वरी नजिकै वाग्मतीको पानीमा पस्यौं र वाग्मतीको नाटक गर्‍यौं । यसमा पाठहरू वैदिककालदेखि अहिलेसम्मका राख्यौं । मेरा नाटकीय कविता बढी थिए । नेवार भाषाका गीत राख्यौं, जुन मैले पानीमा पसेर गाएँ । किरण मानन्धरले पानीमा रंग फ्याँकेर जलक्यानभासका रचना गरे । नारी र दलितले वेद पढ्नु हुँदैन भन्ने सामाजिक प्रतिबन्धको विनिर्माण गर्दै अरुण गुप्तोको निर्देशनमा अहिले भियना विश्वविद्यालयकी संस्कृत शिक्षक अलका आत्रेय चुडाल र अमेरिकी विश्वविद्यालयमा पढाउने पुष्पलाल दमाईंले पानीमा उभिएर वेद उच्चारण गरे । मेरो यात्रा जारी रह्यो ।’

सरबाट सिक्ने कुरा धेरै हुन्छ, तर मेरो समय विश्वविद्यालयको समय हो, मैले किताब लेख्नु विश्वविद्यालयप्रतिको श्रद्धा हो । अरु केही कारण छैन । अध्ययन गर्नु र विद्यार्थीलाई क्लासमा भेट्नु, फेरि चिया खाँदै श्रीधर लोहनी वा अभि सुवेदी सरहरूसँग कुरा गर्नु र अन्त्यमा फेरि लेख लेख्नुले मलाई साहस दिन्छ । अभि सर यस्ता समयलाई, ‘भेल अफ् सोल् मेकिङ’ अथवा मनको सृजनाको कन्दरा भन्नुहुन्छ । मारथा नसबम अनि रवीन्द्रनाथ ठाकुर र ब्रोनसोन एल्कटले भनेका छन्, ‘सोल’ मानव निर्माण गर्ने चिन्तन र कल्पनाको त्यो ‘फ्याकल्टी’ हो, जसले सम्बन्धहरूलाई मानवीय समय निर्माण गर्न सहयोग पुर्‍याउँछ, न कि उपयोगिता ...। कवि सिद्धिचरण श्रेष्ठको कविता होस् अथवा मैथिली कला, मनलाई शान्त राख्न समय निर्माण गर्नैपर्छ ।

नेपाली लेखनमा मेरो रुचि छ । तर, सञ्जीव र अभि सरका नेपाली लेखहरू पढ्दा आफूलाई नेपाली भए पनि आगन्तुक हुँ लागिरहेको हुन्थ्यो । नेपाली भाषा–संस्कृतिको पाहुना हँॅु जस्तो । म सांस्कृतिक–निमन्त्रकको सम्भावनाको कुरा गर्दै छु– नेपाली भाषाको सांस्कृतिक निमन्त्रकको । यो आगन्तुक र निमन्त्रकको कुरा नेवारी, राई, मैथली, हिन्दी, अवधी, गुरुङ कुनै पनि भाषा लेखनको संवेदनाको विषय हो ।

म यहाँ ‘आगन्तुक’ शब्द प्रयोग गर्दै छु, ‘अतिथि’ होइन । अतिथि त घरमा पसिसकेको आगन्तुक हो । ऊ निमन्त्रकको स्वीकारोक्तिको अतिथि क्रिया र सत्कारमा परिसकेको हुन्छ । अभि सरको लेखनले मलाई धेरै उत्साहित गर्थ्यो । नेपालीमा लेख्ने मन बनाइदिन्थ्यो । नेपालीमा लेख्दा आफूलाई यो भाषाको माध्यमद्वारा नेपाली सांस्कृतिक निमन्त्रक जस्तो आभास हुन थाल्यो । निमन्त्रकको भाषा प्रयोग गर्दा अतिथिबाट आफैं निमन्त्रक बन्न सकिन्छ । बंगलादेशका प्राध्यापक मन्जुरुल इस्लामलाई फोनमा भनेको थिएँ, ‘मैले नेपालीमा पनि किताब लेखेको छु ।’ उनको उत्तरले म र मेरी श्रीमती सोमा अति आनन्दित भयौं । उनले भनेका थिए, ‘अरुण अब तिमी गृहस्थ भयौ ।’

मेरो प्राज्ञिक रुचिमा खास आकर्षण साहित्यिक सिद्धान्तमा छ । यो विधामा मेरो प्रशिक्षण धेरै दशक लामो छ । अभि सरको कविता पढ्दा मनमा धेरै विचार आउँछन् । ‘नदी रंगमञ्च’ नाटक यस्तै विचारको प्रतिबिम्ब हो । सरको कविता पढ्दा, सरसँग कुरा गर्दा मलाई पेरिसको संस्कृति र कलाको सम्झना हुन्छ, जुन मैले किताबबाट अध्ययन गरेको छु । त्यहाँ क्लोद पिचिओले लेखेका छन्, ‘कला नै सहरको भाग्य थियो ।’ मेरो विचारमा त्यस्तो सहर अभि सरको कवितामा जीवन्त हुन्छ ।

अभि सर काठमाडौंलाई मिथकका रूपमा हेर्नुहुन्छ । त्यसमा सहरलाई चलायमान बनाउने, गति दिने कार्य नदीले गर्छ । यो सरको दृष्टिकोण होइन, सरले आफूलाई बोध गर्ने चेष्टा हो । मेरा लागि यही मिथकीय पक्ष हो, जसले गर्दा म सरलाई गुरुरूपी बन्धुका रूपमा हेर्छु । धर्म संस्था अनि समाजलाई हेर्ने दृष्टिकोणबाट सरलाई म एउटा दूरत्त्वमा अवस्थित भएको पाउँछु । तर, त्यो दूरत्त्वले नै हामी सहकर्ममा आबद्ध छौं । सरको नदी रंगमञ्च मैले निर्देशन गरेर मञ्चन गर्नु त्यही रूपक हो, त्यही लय हो र सहकर्म हो । त्यसबाट एउटा उद्धरण प्रस्तुत गर्छु :

नदी / मान्छेको पसिना पिएर मात्तिन्छ

नदीको आकाशमा / हाम्रा पसिनाको बादल जम्छ

नदी / मान्छे—मात पिएर/ समयको धारैधार कुद्छ / किनारै

भरि/ भिजेको लुगाका अनन्त आकारहरूमा

अभि सरसँग अनन्त कथाहरू छन्, मिथकका अनि नदीका । यो प्रवाहको कथा बुझियो भने एक गुरु साथी हुन सक्छन् । त्यही अर्थमा मेरा विद्यार्थीहरू मेरा साथी हुन् अनि म सरको विद्यार्थी नै हुँ । हामी गोंगबुबाट २००४ तिर गल्फुटार सर्‍यौं । सरले भन्नुभयो, ‘बाबा (मेरी छोरी पल्लवी) बिना के बस्नु !’ यही कुराले गर्दा सरको परिवार पनि उतै सर्‍यो । गोंगबु र गल्फुटारका दिन हाम्रो अस्तित्वमा कलाको कथाका दिन हुन् । कलाका अनेक रूप छन् । एक दिन पल्लवीले उसको कथा–वाचन गर्दा उठेको गिरीश (सरको कान्छो छोरा) को गिटार वादनको नाद, सलिल र मेरो घरभित्रको नाटक मञ्चन, सरको स्कटल्यान्डको गीत गायन, टाइप राइटरको आवाज– ताल, बिन्दु दिदीका विदेशका संस्मरण लेखाइ, सोमाको टैगोरका कविताका व्याख्या र जाई दिदी (सहयोगी) ले दिने ‘ब्रेकिङ न्युज’ ! ती सबै त्यो जीवनका लय र सिम्फोनी थिए । यसैबाट सर कुनबेला गुरु, कुनबेला साथी र कुनबेला संरक्षक भएर चिया खान आउनुहुन्छ, थाहा हुँदैन । यो कलाको परिवारमा नेपाल, अमेरिका र भारतबाट छोरीमान्छे र केटाहरू जम्मा भएका थिए । सम्बोधनको एउटा उदाहरण दिन्छु । पल्लवीले सरलाई अङ्कल भन्छिन् भने गिरीशले मलाई दाइ भन्छन् । सर र मेरो सम्बन्ध कुनै परिभाषाको परिधिभित्र पर्दैन ।

मैले बुझेको कुरा के हो भने परिवार सांस्कृतिक हुन्छ भने सम्बन्ध काव्यिक हुन्छ । एउटा सानो उदाहरण ल्याउँछु । धेरै वर्ष पहिले केन्द्रीय अंग्रेजी विभागमा आगो लाग्दा हामी साथी र शिक्षकहरू साधारण अर्थमा धेरै बोल्दैनथ्यौं, तर पनि वाचाल थियौं । जस्तो कि श्रीधर सरले दर्शनको कुरा सधैं गरिराख्नुहुन्थ्यो र अभि सर टैगोरका गीत गाइराख्नुहुन्थ्यो, सजगले नाटक रचना गर्थे भने सञ्जीवको नाटक खेल्ने रुचि थियो । यो सांस्कृतिक परिवारको एउटा रूप हो । देशको राजनीतिक अवस्था सुन्दा, हेर्दा सांस्कृतिक परिवार कमजोर भएको देखिन्छ । लाग्छ, त्यो संघर्ष र द्वन्द्वको संस्कृतिमा परिवर्तित हुँदै छ कि ! अभि सर अघिल्लो शनिबार चिया खान मेरो घर आउनुभएको थियो । यसरी आउँदा मेरा अंग्रेजी र नेपाली लेखहरू आफैं पढेर सुनाउनुहुन्छ ।

आगामी शनिबार पनि सर मेरो घर आउनुहुन्छ होला । सरलाई ‘समदृष्टि’ को यो लेख कस्तो लाग्ला ? प्रश्नहरू उठिरहेका छन् मनमा ।

प्रकाशित : चैत्र १७, २०८० १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?