निश्चल अर्थात् ट्वीस्ट !

पेसागत जीवन होस् वा सामाजिक परिवेश, हामी सबैको कसै न कसैसँग खास सम्बन्ध हुन्छ– खास दृष्टिकोणसहित । व्यक्तिमाथिको दृष्टिकोण आफैंले देखेको र अनुभव गरेको आधारमा तय हुन्छ, जसलाई संसारको अन्य दृष्टिकोणले फेरबदल गर्न सक्दैन । ‘समदृष्टि’ त्यही स्तम्भ हो, जहाँ एकको दृष्टिमा अर्कोको जीवन–चित्र लेखिनेछ ।
मनोज पण्डित

काठमाडौँ — लुट शब्द सुन्नेबित्तिकै घृणा, डर र आक्रोशको भाव आउँछ सबैको मानसपटलमा । तर, नेपाली सिनेमाका लागि ‘लुट’ प्रिय बनेको छ, एक गर्विलो शब्द । ‘लुट’ लाई ऐतिहसिक बनाउने श्रेय जान्छ– निश्चल बस्नेतलाई । ‘लुट’ फिल्म सम्झिनेबित्तिकै एउटा 

निश्चल अर्थात् ट्वीस्ट !

ट्वीस्टको स्मरण हुन्छ– हाकु कालेको त्यो ट्वीस्टको । वास्तवमै भन्न सकिन्छ, निश्चल बस्नेतलाई स्थापित गर्‍यो एउटा ट्वीस्टले । अब त निश्चललाई सम्झिनेबित्तिकै अचानक ‘ट्वीस्ट’ शब्द आइहाल्छ दिमागमा । हो ट्वीस्ट अर्थात् निश्चल बस्नेत !

नेपाली फिल्ममा ट्वीस्ट शैली भित्र्याउने नै निश्चल हुन् । ०६३ को परिवर्तनले ०४६ को परिवर्तन पछि स्थापित भएकाहरूलाई विस्थापित गर्दै थियो, यो अवस्थामा नेपाली सिनेबजारमा संकटकाल लगाउने तयारी हुँदै थियो । कसैले पनि नाम नसुनेको एक

केटोले स्थापित नभएका युवाहरू लिएर बनाएको फिल्म ‘लुट’ मार्फत् बजारमा हङ्गामा व्यापार गरिदियो र नयाँ उत्साह जगाइदियो । यो सिनेमामा सबैभन्दा शक्तिशाली कथातत्त्व त्यही हकु कालेको ट्वीस्ट थियो, जसले दर्शकलाई सकारात्मक स्तब्ध बनाइदियो र ‘वाह’ भन्न बाध्य पारिदियो । एउटा ट्वीस्टले नेपाली सिनेमाको संकटकाल टारिदियो ।

‘लुट’ भन्दा अगाडिका प्राय: नेपाली सिनेमा क्लासिकल मेलोड्रामाको संरचनामा दर्शकलाई सीधा रेखामा भावहरूभित्र समायोजन गर्ने प्रयत्नमा निर्माण हुन्थे भने ‘लुट’ ले बक्ररेखामा भावको संरचना बनायो, जसले दर्शकलाई पात्रको योजना र रणनीतिभित्र रोमाञ्चकता महसुस गराउन सफल भयो । ‘लुट’ ले दर्शकहरू सिनेमाभित्र आफूलाई समाहित गर्न खोज्छन् भन्ने दर्शनबाट निर्देशित मन्यतालाई चुनौती दियो । र, दर्शकहरू आफूलाई पात्रभित्र नराखी बाहिरै राखेर त्यो पात्रको जीवन अवलोकन मात्रै गर्छन् भन्ने मन्यता स्थापित

गर्‍यो । यो एकदमै ठूलो प्रयोग थियो नेपाली सिनेमाका लागि । कथा असलमा निर्देशक र दर्शकबीचको खेल हो र खेलमा निर्देशकले दर्शकलाई स्तब्ध पार्नुपर्छ भन्ने मनोविज्ञानमा निश्चलले यस्तो ट्वीस्टलाई जन्म दिए कि दर्शक खेलमा स्तब्ध हुनुपर्‍यो र तिनीहरूले नै निर्देशकलाई विजेता घोषणा गरिदिए ।

‘लुट’ पछि दीपेन्द्र के. खनालले पनि त्यही ट्वीस्ट शैली अपनाए र ‘चपली हाइट’ सिनेमा बनाए । त्यो फिल्मले पनि दर्शकलाई ट्वीस्ट गराउन सफल भयो । अरू सिनेमाले पनि ट्वीस्ट शैलीको जादु गर्न खोजे, तर आफैं थला परे । त्यो शैली सही तरिकाले प्रयोग भयो भने दर्शक ट्वीस्ट हुने हुन्, नत्र फिल्म मेकर आफैं ट्वीस्ट भएर बजारिनुपर्छ । त्यसैले ट्वीस्ट एक यस्तो डरलाग्दो शैली हो फिल्मका लागि, जसको जस र अपजस सबै निश्चललाई नै जान्छ ।

तर, ट्वीस्टले नै उनलाई सफलताको सगरमाथाको चुचुरो चढाइदियो, उनैलाई ट्वीस्टको गलत प्रयोगले जमिनमा पनि पछारिदियो । निश्चलले ‘लुट’ को सफलताको काँधमा टेकेर ‘लुट–२’ निर्माण गरे र ट्वीस्ट शैलीलाई नै पुन: प्रयोग गरे । किनकि उनलाई लागेको थियो होला यो शैली आफ्नो बलियो हतियार हो । तर, यसपालि त्यो हतियारको प्रयोग अलि अहम् मनोविज्ञानमा भइदियो । ‘लुट’ को बम्पर सफलताले यसपालि निश्चलभित्रै ट्वीस्ट गरिदिइसकेको थियो । ‘लुट’ बनाउँदा कसैले चिनेको थिएन उनलाई, रोमाञ्चक सिनेमा बनाउने हुटहुटी मात्रै थियो । आफूलाई प्रमाणित गर्ने भोक थियो र उनी त्यो बेला शुद्ध फिल्म मेकर मात्रै थिए, तर ‘लुट–२’ बनाउने समयसम्म त सफल, मालामाल र मसिहा फिल्म स्टार भइसकेका थिए ।

‘लुट’ मा ट्वीस्ट नै कथाको मूल तत्त्व थियो र त्यसले दर्शकमा बलियो प्रभाव छाड्न सकेको थियो । तर, दोस्रो ‘लुट’ मा भने निर्देशकको अहम्को हिस्साका रूपमा कथामा जबर्जस्ती ट्वीस्ट घुसाइएको थियो र त्यही नै निश्चलका लागि विष बनिदियो । अमृत नै त हो विष बन्ने । यो असफलताले निश्चलभित्र डर जगाइदियो र उनले धेरै वर्षसम्म फिल्म बनाउने आँट नै गर्न सकेनन् । निश्चलको जीवनमा एउटा ट्वीस्टले सफलताको शिखर चढायो भने अर्को ट्वीस्टले उनलाई शिखरबाट झारिदियो । अब उनको जीवनमा तेस्रो ट्वीस्ट आउनेवाला थियो । किनकि निश्चलले मात्रै ट्वीस्टलाई पिछा गर्ने होइन, ट्वीस्टले पनि निश्चलको पिछा गर्ने रहेछ । र, यसपालि उनको जीवनमा म त्यो टुइस्टका रूपमा टुप्लुक्क आइपुगें ।

थुप्रै वर्षको तयारीपछि निश्चल एउटा सिनेमाको निर्माणमा जुटेका रहेछन्– ‘दिमाग खराब’ । खगेन्द्र लामिछाने, जो हामी दुवैका अत्यन्त शुभचिन्तक हुन्, उनको जिदमा मैले निश्चलको सिनेमाको स्क्रिप्टका लागि ‘स्क्रिप्ट डाक्टर’ का रूपमा आबद्ध हुनुपर्ने स्थिति बन्यो । त्यो निश्चलका लागि बाध्यात्मक अवस्था थियो किनकि ‘निश्चल ग्रुप’ मसँग त्यति धेरै नजिक हुन नचाहने ग्रुप थियो । म जतिखेर पनि कथामा ‘कन्फ्लिक्ट’ हुनुपर्छ भनेर सबैलाई भनिरहने हुँदा उनीहरूलाई त्यो कन्फ्लिक्ट भन्ने शब्दले धेरै दिक्क बनाउँदो रहेछ । मलाई देख्नेबित्तिकै ‘कन्फ्लिक्ट म्यान’ आयो भनेर चार कोस टाढा हुने गर्थे निश्चल । तर, खगेन्द्रले ट्वीस्ट हालिदिए निश्चलको जीवनकथामा । भने, ‘यसपालि जसरी पनि स्क्रिप्ट मनोज पण्डितबाट उपचार गराउनैपर्छ’ । खगेन्द्रलाई मैले हिरो बनाएँ, उनले मलाई स्क्रिप्ट डाक्टरका रूपमा स्थापित गराए । अनि सुरु भयो ट्वीस्टहरूको शृंखला, जो मेरा लागि रमाइलो थियो, तर निश्चलका लागि अत्यन्तै कठोर ।

पहिलो ट्वीस्ट त तब भयो, जब उनीहरूले वर्षौं लगाएर बनाएको स्क्रिप्ट पहिलो रातमै डम्प गर्नुपर्ने अवस्था बन्यो । यो ट्वीस्ट ‘लुट–२’ को असफलता जत्तिकै पीडादायक थियो निश्चलका लागि, तर फिल्म बन्नुअघि नै उनले यो पीडा भोग्ने अवसर पाए । फिल्म रिलिजपछिको पीडाभन्दा त फिल्म नबन्दैको पीडा फाइदाजनक छ भनेर सिनेमा ‘जात्रा’ मा प्रदीप भट्टराईले पनि यस्तै अवस्था भोगेको उदाहरण दिएर सम्झाएँ मैले उनलाई । तर, अब त उनको हातमा स्क्रिप्ट थिएन जबकि एक महिनापछि फिल्म सुटिङको तयारी भइसकेको थियो, डेटहरू लिइसकिएको थियो ।

दोस्रो दिन नयाँ कथाको खोजी प्रारम्भ भयो । र, रातिसम्म कथा तयार भइसकेको थियो । त्यो दिन निश्चलले बुझे– कन्फ्लिक्टको महत्त्व के हो ? र, त्यसले कथा कसरी सजिलै निर्माण गर्छ ? निश्चललाई यो बुझाएर र फिल्म सफल बनाएर देखाउनु मेरा लागि आनन्दको विषय थियो । तर, अब यो नयाँ कथाको ट्वीस्टले निश्चललाई ठूलो मूल्य चुकाउनुपर्ने स्थिति आइलाग्यो । त्यो हो, दीपकराज गिरीसँगको सहकार्य रोक्नुपर्ने अवस्था । अनि कथामा फेरि ट्वीस्ट आयो– खगेन्द्रले त्यो मुख्य पात्रमा खेल्नुपर्ने अवस्था आयो । बाहिर बजारमा खगेन्द्रले ट्वीस्ट गरे भन्ने हल्ला चल्यो बेस्सरी । तर, वास्तवमा ट्वीस्ट त त्यो एउटा फोटोले गरिदियो, जो निश्चलको हृदयमा टाँस्सिएर बसेको रहेछ । त्रिभुवन विमानस्थलमा विदेश जान हिँडेको एउटा गरिब नेपाली, जसको खुट्टामा चप्पल मात्रै थियो । र, त्यो फोटो एक पत्रिकामा छापिएको रहेछ अनि निश्चलको मनमा त्यसले पीडा दिएको रहेछ ।

निश्चल जब मसँग हृदय खोलेर कुरा गर्न थाले, सिनेमाको पटकथा तयार हुँदै गयो । तर, निश्चललाई ट्वीस्टले कहाँ छोड्छ र ! अबको ट्वीस्टले निश्चल र मेरोबीच भयङ्कर विवाद सुरु भयो । निश्चलले ‘दिमाग खराब’ भित्र पनि ट्वीस्ट हाल्न खोजे । म यो प्रस्तावको विपक्षमा थिएँ किनकि व्याकरणले कथामा कुनै ट्वीस्टको सम्भावना नै दिएको थिएन । हामीबीच यति लामो बहस भयो कि अन्त्यमा मैले केही सर्तहरू राखें र उनको क्लाइमक्स ट्वीस्टलाई स्विकारें । यो बहसका क्रममा मैले निश्चललाई राम्ररी बुझ्ने मौका पाएँ । वास्तवमा कन्फ्क्लिट भएन भने कुनै पनि व्यक्तिलाई बुझ्नै सकिँदैन ।

असहमतिभित्र नै एकअर्कालाई बुझ्ने हो, तर हाम्रोमा असहमतिदेखि भाग्ने चलन छ । मलाई त्यो ट्वीस्टसँग धेरै डर थियो, तर सिनेमा रिलिजपछि दर्शकले त्यसलाई सहज रूपमा स्विकारे र रोमञ्चित बने अनि सिनेमाले सय दिन मनायो । ‘लुट’ पछि निश्चल फेरि बक्स अफिसमा सफल भए । यसपालि निश्चलका लागि सबै ट्वीस्टहरूले काम गर्‍यो र मेरा लागि पहिलो सय दिनवाला सिनेमा हात पर्‍यो । ‘लुट’ को सफलता अगाडि निश्चल केवल निश्चल थिए, ‘लुट– २’ बनाउने बेलासम्म आइपुग्दा निश्चल प्रदूषित भइसकेका थिए अनि ‘दिमाग खराब’ बनाउने बेला उनी फिल्टरेसनको प्रक्रियामा होमिए ।

‘दिमाग खराब’ का दौरान मैले ट्वीस्ट मनोविज्ञानलाई नजिकैबाट बुझ्ने अवसर पनि पाएँ । किन निश्चल ट्वीस्ट सोच्छन् त ? यो विषय निकै महत्त्वपूर्ण भयो मेरा लागि ।

वास्तवमा निश्चल मात्रै होइन, निश्चल–पुस्ता नै ट्वीस्ट गर्न चाहन्छ यो देशको स्थिति, समाजको मान्यता र चिन्तनलाई । उनीहरू दिक्क छन्, निराश छन् अनि आक्रोशित पनि । उनीहरू विद्रोह गर्न चाहन्छन् । रियालिटीमा गर्न चाहेका सोचहरूलाई कथा वा कला–संगीतमा भए पनि प्रस्तुत गर्न चाहन्छन् । निश्चलले पनि त्यही चाहना राखे र सिनेमामा ट्वीस्ट भित्र्याए । अब स्थितिलाई ट्वीस्ट गर्नुपर्छ भन्ने उनको मनोविज्ञान हो । मेरो पुस्ता आदर्शवादी चिन्तनबाट निर्देशित थियो र हामीले सिनेमामा आदर्शवादलाई स्थापित गर्ने कोसिस गर्‍यौं । तर, हाम्रो आदर्शवादले दर्शकलाई त्यति मनोरन्जन दिएरहेको थिएन । त्यसैले निश्चलहरूले आधुनिकतावाद भित्र्याएपछि नयाँ दर्शकको जागरण भयो, जुन त्यसअघि सम्भव भएको थिएन ।

०६२/०६३ को परिवर्तनपछि नेपाली जनतामा धेरै उत्साह थियो । त्यही उत्साहमा मैले ‘ग्रेटर नेपाल’ जस्तो डकुमेन्ट्री बनाएँ, ‘दासढुंगा’ जस्तो फिल्म बनाएँ । त्यसले तत्कालीन दर्शकको मनोविज्ञानलाई सन्तुष्टि दियो, तर बिस्तारै नेपाली समाजले अनुभूति गर्दै गयो– ‘हामी त भ्रममा पो रहेछौं, हाम्रा सपनाहरूलाई त कसैले ट्वीस्ट गरिदिइसकेको रहेछ ।’ परिवर्तनको योजनाकारले नै परिवर्तनलाई टुइस्ट गरेर हाइज्याक गरिसकेको पाएपछि नेपाली समाजमा एउटा नयाँ कथ्य स्थापित हुन थाल्यो । त्यो हो– यो सब सुन्दर योजना बनाउनेले गरिब–दु:खीलाई सम्पन्नताको सपना देखायो, प्रयोग गर्‍यो, लडायो अनि पुरानोबाट सत्ता खोस्यो र त्यसपछि त्यही योजनाकारले आफ्ना सहकर्मीबाट सबै उपलब्धि लुट्यो । यही सामाजिक र राजनीतिक कथ्यले ‘लुट’ मार्फत आफूलाई प्रस्तुत गर्न निश्चलको काँध थाम्यो । ‘लुट’ तत्कालीन राजनीतिमाथिको रोमाञ्चक र प्रतीकात्मक आरोपको बिम्ब थियो । त्यो तत्कालीन युवा मनोविज्ञानको प्रस्फुटन पनि थियो ।

त्यो ‘लुट’ बनाउने केटो ‘काले केटो’ हुँदै ‘साली मनपर्‍यो’ भन्दै त्यही भासमा भास्सिँदै थियो । देश ‘दिन चौगुना रात आठगुना’ भ्रष्टाचार, अराजकता, अस्थिरतामा भास्सिँदै थियो । र, सबै नेपालीको दिमाग खराब भइसकेको अवस्था थियो अनि यो पीडा कुनै न कुनै रूपमा आउनु थियो । समयले म र निश्चललाई भेट गरायो । म भर्खरै काभ्रे क्षेत्र नं–२ बाट चुनाव लडेर, सानदार हारेर फर्केको समय थियो । निश्चलभित्र पनि आक्रोशको ज्वाला दन्किइरहेको थियो । पेट्रोल मसँग थियो, निश्चलसँग आगो । त्यसपछि डढेलो लाग्नबाट कसले रोक्ने ? देशका गरिब जनताको दिमाग खराब भएर देश छाड्नेहरूको लर्को एअरपोर्टमा दिनदिनै बढ्न थालेको थियो । अनि त्यही भीडभित्र निश्चलले एउटा चप्पल नलगाएको केटो सम्झिए आफूलाई । र, यो देशका भ्रष्ट नेतालाई गालामा चप्पल हन्ने आँट गरे, सिनेमामार्फत । तर, वास्तवमा आज प्राय: नेपाली हातमा चप्पल लिएरै बसेका छन् ।

केही त बन्दुक पनि बोकेर बसेका छन्, आफ्नो दिमाग खराब गर्नेहरूको दिमाग खराब गर्न । देशमा कुनै न कुनै दिन ठूलै विद्रोह हुने अवस्था छ र निश्चल त्यो भीडको अग्रखण्डमा सिनेमाको क्यामरा र स्क्रिप्ट बोकेर लड्न र परे मर्न पनि तयार भएर हिँड्नेछन् भन्ने मेरो विश्वास छ । उनको आह्वानमा धेरै युवा त्यो क्रान्तिको मैदानमा उत्रनेछन् किनकि उनले धेरैको दिमागलाई प्रतिनिधित्व गरेका छन् । निश्चल केवल एक व्यक्ति होइनन्, अब त उनी सिनेम्याटिक आवाज पनि हुन् । जब–जब देशलाई ट्वीस्ट चाहिन्छ, तब–तब निश्चल ट्वीस्ट बोकेर सिनेमामार्फत आउँछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित : चैत्र १०, २०८० १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?