१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लिभरपुलको हेभिमेटल फुटबल

लिभरपुलले खेल जित्नेबित्तिकै भन्न सुरु गरियो– पैसा हुँदैमा फुटबल जितिन्न । यही सिजनमा चेल्सीले नयाँ खेलाडीका लागि करोडौं डलर खर्चेको छ, तर हात लाग्यो शून्य !
हिमेश

फुटबल कसरी खेल्नुपर्छ ? हेभिमेटल संगीतजस्तै, योर्गन क्लोप यस्तै भन्थे । हेभिमेटल संगीत कस्तो हुन्छ त ? रक संगीतको सबैभन्दा सफल विधा हो, यो । अलिकति तीव्र, त्यत्तिकै शक्तिशाली र आक्रामक, यसका विशेषता हुन् ।

लिभरपुलको हेभिमेटल फुटबल

भनेपछि फुटबल पनि यस्तै पारामा खेल्ने हो भने यसमा तीव्रता चाहियो । शक्तिशाली र आक्रामक पनि हुनुपर्‍यो । खेल सकिँदा खेलाडीको जर्सीमा अलिकति पनि चोट र हिलो लागेन भने के मज्जा ?

तिनै जर्मन फुटबल प्रशिक्षक क्लोपले महिना दिन अगाडि एउटा ‘बमसेल’ फ्याँके । भनेका थिए, ‘अब त साह्रै थाकें । यो सिजनको अन्त्यदेखि लिभरपुल छाड्दै छु ।’ हो र ? होइन कि ? लिभरपुल समर्थकदेखि विरोधीले यस्तै प्रतिक्रिया दिए, सुन्नेबित्तिकै । हो नै रहेछ । क्लोपको भनाइ थियो, ‘मलाई लिभरपुल सबै मन पर्छ । अझ मन नपर्ने भनेकै छैन । तर, एक दिन न एक दिन, त्यस्तो पनि आउनुपर्छ, जति बेला कोही कसैले पनि कहीं न कहींबाट बिदा त लिनु नै पर्छ ।’

त्यसैले उनले निर्णय लिए, इंग्लिस फुटबलको सबैभन्दा ठूलो, सफल र लोकप्रिय क्लब छाड्ने । त्यसका लागि सिजनको अन्त्यसम्म भने उनी कुर्न तयार थिए । त्यसपछि के हुनेछ त, त्यो कसैलाई थाहा छैन । किनभने क्लोपले पनि आफ्नो निर्णय सुनाएका छैनन् । उनको भित्री मनमा के छ, त्यो बुझ्ने कुरा भएन । खालि सबैको ध्यान यसमै केन्द्रित भएको छ, क्लोपको अन्तिम सिजन लिभरपुलको प्रदर्शन कस्तो हुने होला ? धेरैको आशा छ, यो राम्रै होस् ।

यसको एउटा खुड्किलो भने मज्जाले पार भइसकेको छ । एक–दुई दिन अगाडिजस्तै मात्रै हो, लिभरपुलले दसौंपल्ट लिग–कप उपाधि जित्यो । इंग्लिस फुटबलको दोस्रो ठूलो कप प्रतियोगिता हो यो, एफएकप पछि । वेम्बलीमा भएको फाइनलमा लिभरपुलले चेल्सीलाई हराएको थियो । स्कोर १–० मात्रै रह्यो । कप्तान भर्जिल भान डाइकले अतिरिक्त समयको खेल सकिँदै लाग्दा निर्णायक गोल गरे । अधिकांश अरू बेला जस्तै उनले कर्नरमा हेड गरे र बल पोस्टतिर गयो ।

लिभरपुलले यो खेल जित्नेबित्तिकै भन्न सुरु भयो, पैसा हुँदैमा फुटबलमा जित्न चाहिँ सकिन्न । चेल्सीले यो सिजनकै लागि भनेर करोडौं डलर नयाँ खेलाडीमा खर्चेको छ । तर हात लाग्यो शून्य ! वेम्बलीको त्यो फाइनलमा पनि प्रशिक्षक मउरिसो पोचेटिनाले आफ्ना केही युवा खेलाडीलाई उतारेका थिए । तर, यसपल्ट चेल्सीले त्यस्तो केही छनक देखाउन सकेको छैन, जस्तो केही वर्ष अगाडि चेल्सी भन्नेबित्तिकै हाम्रोसामु एउटा छवि तयार हुन्थ्यो ।

त्यही फाइनलमा लिभरपुलले भने सक्दो नयाँ र युवा खेलाडी उतारेको थियो । ती पनि कस्ता भने भर्खर किशोर उमेरमा पुगेका, टिनएजर्स भनौं । चेल्सीलाई हराएरलगत्तै लिभरपुल एफएकपको क्वाटरफाइनल पनि पुगेको छ । अर्को महिना हुने यसको खेलमा लिभरपुलले आफ्नो सबैभन्दा ठूलो शत्रु क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्दै छ । त्यहाँसम्म पुग्न भने लिभरपुलले साउथह्याम्पटनलाई पन्छाएको थियो– स्कोर रह्यो, ३–० ।

त्यसमा दुई गोल जेडेन डान्सको रह्यो भने एक लेविस कोमास । यी दुवै भर्खर १८–१९ वर्ष लागेका ठिटा हुन् । क्लबको एकाडेमीबाट मैदान छिरेकाहरू छन्, अहिलेका खेलाडी । केही त बल ब्वाईहरू पनि थिए । प्रश्न हुन सक्छ, लिभरपुलले किन यस्तै नयाँ–नयाँ खेलाडीलाई खेलाइरहेको छ त ? तिनको उमेर पनि छिप्पेको छैन । यो त क्लोपका लागि बाध्यता पनि हो, किनभने टिमका अधिकांश पहिलो रोजाइका खेलाडी घाइते छन् । कहिले मैदानमा फर्कने हुन्, त्यो पनि टुंगो छैन ।

घाइते पनि कति धेरै भन्दा पहिलो रोजाइका १२ खेलाडी आराम फर्माइरहेका छन्, चोटबाट मुक्त हुन् । तर, क्लोपले जतिलाई विश्वास गरे, तिनले राम्रै पनि गरिरहेका छन् । फेरि प्रश्न हो, अब के त ? लिभरपुलले लिगकप त जित्यो जित्यो, अझै तीन ठूला उपाधि जित्ने अवसर छ, उसको सामु । त्यसमा एक त एफएकप नै भयो । बाँकी दुईमध्ये एउटा भयो, इंग्लिस प्रिमियर लिग । अर्को भयो, युरोपा लिग । भनेपछि एकै सिजन चार उपाधिको सम्भावना ।

साँच्चै यस्तै भयो भने त त्यो गज्जब नै हुनेछ । अद्वितीय नै भनौं । क्लोप आफैंले यत्तिको बिदा पाउने सम्भावना त सोचेकै पनि छैनन् । त्यसमध्ये पनि भने सबैभन्दा महत्त्वपूर्ण चाहिँ प्रिमियर लिग नै हुनेछ र यसपालि जत्तिको उपाधिका लागि होड कहिल्यै देखापरेको छैन पनि भनिएको छ । अझ त्यो पनि त्रिकोणात्मक । छ त लिभरपुल नै लिग अंक तालिकाको शीर्षमा छ । उसको २६ खेलबाट ६० अंक छ । उसको ठीक पछाडि म्यानचेस्टर सिटी छ, ५९ अंकमा ।

अनि उसको पनि पछाडि आर्सनल छ, ५८ अंकमा । सिटी र आर्सनलले पनि खेलेको भनेको उत्तिकै २६ नै खेल हो । त्यसको अर्थ एकै खेलको नतिजा तलमाथि हुनेबित्तिकै सबथोक फेरिन सक्नेछ । खुबै रोमाञ्चकता र सनसनी छ, यसपल्टको लिगमा । अबको तीन साता जतिको समयमा लगभग चित्र स्पष्ट हुनेछ, कसले के जित्छ भनेर । सम्भवतः अबका चार–पाँच खेलले लिभरपुलको भाग्य निर्धारण गर्नेछ । त्यसमध्ये एफएकपमा लिभरपुलले युनाइटेडको चुनौती काट्नु पर्नेछ ।

युनाइटेड आफैं जत्तिकै खराब लयमा भए पनि लिभरपुलको सामना गनैपर्छ, कुरै अर्को हुन्छ । प्रिमियर लिगमै लिभरपुलको ठ्याक्कै अर्को खेल नटिङ्घम फरेस्टविरुद्ध रहेको छ । खेल हुनेछ, फरेस्टको सिटी ग्राउन्डमा । विश्वास नहुन सक्छ, लिभरपुलले सन् १९८४ यता यो मैदानमा लिगको जितेको छैन । त्यो भनेको १३ खेल भइसक्यो, लिभरपुलले फरेस्टलाई उसकै घरमा नहराएको । खालि एउटै कुरा के भने अचेल फरेस्ट लयमा छैन्, खराब खेलिरहेको छ, यो टिमले ।

युरोप लिगको अन्तिम १६ मा लिभरपुलको अबको प्रतिद्वन्द्वी हो, स्पार्टा प्राग । लिभरपुल इंग्लिस माथिल्लो डिभिजनको शीर्षमा छ भने प्राग पनि कम्तीको होइन । चेक लिगको शीर्षमा छ, यो । यो सिजन प्रागले एकै खेल मात्र गुमाएको छ । त्यसको अर्थ लिभरपुलका लागि यो खेल भने सजिलो हुने छैन । र, यसपछि आउँछ, लिभरपुलका लागि सबैभन्दा कठिन र महत्त्वपूर्ण खेल । प्रिमियर लिगमा पेप ग्वार्डिओलाको सिटीविरुद्धको भिडन्त । सके यसलाई लिगकै फाइनल भन्दा हुन्छ ।

खेल हुनेछ, एनफिल्डमा । भनिन्छ, लिभरपुलको यो घरेलु मैदान विपक्षी टिमका लागि नरक हुने गर्छ । किनभने यहाँ क्लबका समर्थकले प्रतिद्वन्द्वी खेलाडीलाई कसरी अप्ठ्यारोमा पार्ने हो, त्यो सबथोक गर्छन् । रंगशालाभित्र यी दर्शकले कति धेरै आवाज गर्छन् भने खेलाडीले नजिकै एकआपसमा कुरा गर्दा पनि सुनिन्न । यो त त्यही हेभिमेटल संगीत जस्तै हुन्छ । त्यसैले एनफिल्डमा खेल्न आउने सबैलाई गाह्रो छ । लिग जित्ने हो भने लिरभपुललाई यो खेल नजितेर सुख छैन ।

त्यसपछि लगत्तै लिगमा एउटा यस्तै अर्को खेल छ, जसमा लिभरपुललाई गाह्रै हुनेछ । यो खेल हो, एभरटनविरुद्ध । युनाइटेड लिभरपुलका लागि घरबाहिरको शत्रु हो भने एभरटन घर भित्रको । खेल हुनेछ, गुडसन पार्कमा । एउटै सहरका दुई क्लबको घरेलु मैदानबीच एक माइल मात्रै छ । एनफिल्डबाट हिँडेरै एकैछिनमा पुगिन्छ त्यहाँ, खालि बीचको स्टाय्नली पार्क पार गर्नुपर्छ । तर, दुई क्लबबीचको मनको दूरी भने लाखौं माइलजत्तिकै छ, त्यसैले एभरटनले लिरभपुललाई सजिलो पार्नेछैन नै ।

के साँच्चै लिभरपुल यति धेरै चुनौतीका चाङ पार गर्न सक्छ त ? एकपल्ट फेरि इतिहासमा फर्कौं न । सन् २०१५ मा क्लोप लिभरपुल आएका थिए र त्यतिबेला क्लबको खस्दो हालत थियो । एनफिल्ड छिर्ने समर्थक घटिरहेका थिए । खेलाडी जत्ति बूढा भइसकेका थिए । सिंगै टिम नै पुनर्निर्माण गर्न आवश्यक थियो । क्लोपले यही काम गरे । त्यसको चार वर्षमा लिभरपुलले युरोपेली च्याम्पियन्स लिग जित्यो । अनि लिभरपुलले प्रिमियर लिग पनि पहिलो पटक जित्यो ।

लिभरपुलले ३० वर्षपछि इंग्लिस फुटबलको माथिल्लो डिभिजन जितेको यही थियो । भनेपछि दस वर्ष जतिको समयमा क्लोपले लिभरपुललाई त्यहीं ल्याइपुर्‍याएका छन्, जहाँ यो क्लब पहिला थियो । त्यो भनेको इंग्ल्यान्डकै सबैभन्दा सफल र लोकप्रिय क्लब । इंग्ल्यान्ड मात्रै होइन, त्यसको बाहिर पनि यो उत्तिकै लोकप्रिय छ । क्लोप के आए, लिभरपुलले साँच्चै हेभिमेटल फुटबल खेल्न थाल्यो । खेल आफ्नो नियन्त्रणमा राखेर खेल्न लिभरपुलले सक्यो, अहिलेको आधुनिक फुटबलको शैलीमा । यसमा बलमाथि सक्दो आफ्नो पकड राखिन्छ, आत्तिनु हुन्न जस्तै परिस्थितिमा पनि । डिफेन्समा पनि उत्तिकै ध्यान दिने । अनि एकाएक अचम्मले काउन्टर एट्याक चलाउने । पछिल्लो दस वर्षमा लिभरपुलले दर्शकको मन जित्ने खालकै फुटबल खेलेको छ । क्लोपले साधारण खेलाडीलाई स्टार बनाउन मद्दत गरेका छन् । स्टार जति छन्, तिनको प्रदर्शन अझ तिखारेका छन् । एलिसन, भान डाइक, मोहमद सलाह, साडियो माने, ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड, एन्ड्र्यु रोबर्टसन यस्तै केही नाम भए ।

क्लोपले आफ्नो प्रशिक्षकको जीवनमा १३ ठूला उपाधि जितेका छन्, त्यसमध्ये आठ भने लिभरपुलका लागि रह्यो । अरू जर्मनीको बोरुसिया डर्टमुन्डका लागि हो । त्यसमध्ये पछिल्लो भनेको त्यही लिगकप भयो । त्यही उपाधि जितेपछि क्लोपले भनेका छन्, ‘यो साह्रै महत्त्वपूर्ण उपाधि हो, किनभने फुटबलमा जित्न सजिलो छैन ।’ जित्नै सकिन्न, उपाधिहरू । त्यसैले त लिभरपुलले एकैपल्ट मात्रै प्रिमियर लिग जितेको छ । क्लोप आएयता लिभरपुलले फेरि जित्न जानेको भने छ ।

अबको महिना दिनमा लिभरपुलको भाग्यले जे–जस्तो कोल्टे फेर्नेछ, क्लोपले यो क्लबका लागि जे जति गरे, त्यो आफैंमा ऐतिहासिक छ । मानौं, लिभरपुलले चुनौती बाँकी रहेका तीन उपाधि धेरै नजिक पुगेर पनि नजित्न सक्छ । तर, क्लोपको योगदानमा कुनै फरक पर्ने छैन । त्यसलाई कम्ती मान्न सकिन्न । हो, एक थोक भए साह्रै मज्जा हुने थियो, लिभरपुलले बाटोमा आएजत्तिको खेल र उपाधि यस सिजनमा जिते । यो जत्तिको मीठो बिदाइ अरू हुनै सक्दैन विश्व फुटबलमा ।

प्रकाशित : फाल्गुन १९, २०८० ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?