१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

के ‘अर्को विश्व’ सम्भव छ ?

आकाशले ढाकिएको, पहाडले घेरिएको विशाल पिँजडा हो– पृथ्वी जहाँ विभेदको जालोमा थुनिएको छ मान्छे
सुशील विके

हिउँदमासको चिसोले कठ्यांग्रिएको काठमाडौं खाल्डो ‘अर्को विश्व बनाउने’ अठोटसाथ संसारैबाट जुटेका आन्दोलनकारीका चर्का नारा, जुलुस र बहसले गर्मार्यो ।

के ‘अर्को विश्व’ सम्भव छ ?

आफूले भोगेका विभेद, असमानता, शोषण, दमन र पीडाका पोया बोकेर विश्व सामाजिक मञ्चमा भेला भएका उनीहरूले ‘म सबै किसिमका विभेदको अन्त्य गरी विभेदमुक्त विश्व निर्माण गर्न प्रतिबद्ध छु’ भन्ने ब्यानरमा हस्ताक्षर गरे । तर, प्रश्न छँदै छ– ‘के अर्को विश्व सम्भव छ ? के त्यस्तो विश्व विभेदमुक्त होला ?’

अमेरिकामा गोरा पुलिसले घाँटी थिचेर हत्या गरेका जर्ज फ्लोइड, त्यही समयमा गैरदलित गाउँलेले चारैतिरबाट घेरा हालेर निर्मम हत्या गरिएका रुकुमका नवराज विक र उनका साथीहरूको तस्बिर झलझली आँखामा आइरहन्छ । यस्ता विभेदले अर्को विश्वको आवश्यकता मात्रै होइन, त्यो अनिवार्य नै लाग्छ र अब विभेदका कुरूप चित्र देख्नु नपरोस् । तर, प्रश्न भने उब्जिन्छ नै– विज्ञान, सूचना, प्रविधिको विकासले चामत्कारिक फड्को मारेको यो एक्काइसौं शताब्दीमा के विभेदमुक्त विश्व सम्भव छ ? जन्मिँदा स्वतन्त्र रूपमा जन्मे पनि मानिस पछि अनेक प्रकारका हिंसा, विभेद, असमानता र वञ्चितीकरणको जालोमा पारिन्छ । यस्तो लाग्छ– पृथ्वी आकाशले ढाकिएको र पहाडले घेरिएको एक विशाल पिँजडा हो, जहाँ लिंग, जात, धर्म, वर्ग, भाषा, रंग, शारीरिक अवस्था, भूगोलका आधारमा चरम विभेदमा पारी मानिसहरूलाई थुनिएको छ । उनीहरूलाई चैनको सास फेर्न कठिन छ । एक हिसाबले भन्दा मानिस ‘विभेदकै बीचमा जन्मिन्छ, विभेदमै हुर्किन्छ र बढ्छ अनि विभेदकै बीचमा मर्छ । हजारौं वर्षदेखि चलिरहेको यो पीडादायी दुष्चक्रले एक्काइसौं शताब्दीमा पनि अनगिन्ती मानिस प्रताडित छन् ।

मानव सभ्यताको इतिहासको लामो शृंखलाको अध्ययन गर्दा मानिस समानताबाट असमानतातिर, अविभेदबाट विभेदतर्फ, स्वतन्त्रताबाट बन्दतर्फ, एकताबाट विभाजनतर्फ गएको देखिन्छ । हामीले विज्ञान, सूचना र प्रविधिमा चामत्कारिक विकास गर्‍यौं भनेर गर्व त गर्ने गर्छौं, तर यसले विभेद अन्त्य गर्न नसकेको मात्र होइन बरु मानव जीवनमा सुखभन्दा दुःख बढी ल्याएको छ । यस्तो परिवेशमा मानव सभ्यता किन उल्टो दिशातर्फ अगाडि बढ्यो ? किन मानव समाज समानता, स्वतन्त्रतातर्फ थप उचाइमा पुग्नुपर्नेमा झन् पृथ्वीरूपी पिँजडामा थुनिन पुग्यो ? अहिलेको परिवेशमा पिँजडामा थुनिएका यी मानवको मुक्ति सम्भव छ ?

विद्वान्हरू परिवारको विकास, निजी सम्पत्तिको विकास र राज्यको उत्पत्तिसँगै एक किसिमको विभाजन र विभेदको सुरुवात भएको विश्लेषण गर्छन् । यो एक हिसाबले उचित विश्लेषण हो । तर, राज्य र परिवारको विकास हुँदैमा त्यहाँ विभेद, असमानता, द्वन्द्व हुनैपर्ने कारण त थिएन । किन यस्तो भयो ? यसको मूल कारण मानव जातिले विकास गरेको धर्म, संस्कार, दर्शन नै हो । यस्तो दर्शन, जुन तत्कालीन शासकले आफ्नो वर्चस्व गुम्न नदिन आफ्नो स्वार्थमा तयार पारेका थिए । ‘म नै ठूलो, सर्वश्रेष्ठ’ को भावना मानिसहरूमा विश्वव्यापी देखियो ।

विश्वव्यापी रूपमै पहिलो विश्व, दोस्रो विश्व र तेस्रो विश्वको अवधारणा तयार गरी देशहरूबीच श्रेणी विभाजन र असमानता सिर्जना गरिएको छ । यो व्यवस्था नेपालमा वर्ण र जात व्यवस्थासँग ठ्याक्कै मिल्छ । साम्राज्यवादी नीतिका माध्यमबाट संसारभर उपनिवेश बनाएर त्यहाँका स्रोतसाधनको चरम शोषण र दोहन गरी अहिलेका पहिलो विश्वका देशहरूले आफूलाई स्वर्ग बनाएको र तेस्रो विश्वका देशहरूलाई नर्क बनाएको इतिहास हाम्रासामु छ । यसरी चरम दमन र शोषण गरी बनाएको शक्तिका आधारमा अहिले पहिलो विश्वका देशले दोस्रो र तेस्रो विश्वमाथि हैकमवाद लागू गरेका छन् । नेपालमा पनि वर्ण र जात व्यवस्थाका आधारमा शुद्र वा आजका दलितमाथि चरम दमन, शोषण, वञ्चितीकरण र विभेद गरिएकै छ ।

सारमा यो संसार मुट्ठीभरका धनाढ्य र शासक वर्गका लागि स्वर्ग होइन, महास्वर्ग हो । यस्ता संरचनालाई ध्वस्त पार्नुपर्ने होइन र ? यस अर्थमा पनि अर्को विश्वको आवश्यकता खड्किन्छ ।

पहिलो, दोस्रो र तेस्रो विश्व व्यवस्था र नेपालको वर्ण तथा जात व्यवस्था र अन्य विभेदकारी संरचनाले नै अहिलेको समाजलाई चरम व्यक्तिवादी, स्वार्थी, उपभोक्तावादी, क्रूर र अमानवीय बनाएको छ । यस्तो परिवेशमा के मानव मुक्तिको कुरा सम्भव छ ? के विभिन्न कारणले पृथ्वीरूपी पिँजडामा थुनिएका मानिसलाई पिँजडाबाट मुक्ति सम्भव छ ? के त्यस्तो कुनै सोच, विचार, दर्शन र बाटो छ ?

अब संघर्ष र विद्रोह गर्नु नै पृथ्वीरूपी पिँजडाबाट मानवलाई मुक्त गर्ने ठोस बाटो हो । आजका दिनमा संघर्ष र विद्रोहको झलक विश्व सामाजिक मञ्चमा देखिन्छ । यसलाई विभेदमा पारिएका, शोषित, पीडितहरूको आवाज गुन्जने थलोका रूपमा चर्चा गरिएको छ । तर, यसको इतिहास र वर्तमान हेर्दा केही प्रश्न जन्मिन्छ– यसले साँच्चै ती समुदायको हितमा काम गर्छ ? यसले मानव मुक्तिको लक्ष्य राख्छ ? यसको यात्रा मानव मुक्तिको दिशामा केन्द्रित छ ? ‘वर्ल्ड इकोनमिक फोरम’ धनीहरूको ‘इलाइट क्लब’ भएजस्तै ‘वर्ल्ड सोसियल फोरम’ पनि केही टाठाबाठा, मध्यमवर्गीय, बोल्न–चल्न सक्नेहरूको थलोमा विकास हुने त होइन ?

नेपालका सन्दर्भमा कुरा गर्दा नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरियो । संविधानले सबै किसिमका विभेदलाई वर्जित गरेको छ । तर, मानिस किन हरेक ठाउँमा विभिन्न नाममा विभेदमा पर्छन् ? यो प्रश्न गम्भीर छ ।

अर्को विश्वको खोजीमा काठमाडौं खाल्डोमा जुटेका संसारभरका आन्दोलनकारीले विभेदबाट मुक्ति वा मानव मुक्तिका चर्का नारा लगाए । साथै उनीहरूले घोषणापत्र जारी गरी संसारका विभिन्न किसिमका विभेद अन्त्य गर्न आह्वानसमेत गरे । हुन पनि मानव अधिकारको विश्वव्यापी घोषणापत्रले अविभेदको कुरा गर्छ । सबै किसिमका विभेद अन्त्य गर्नका लागि विभिन्न महासन्धि पनि छन् । नेपालका सन्दर्भमा संविधानले विभेदलाई वर्जित गरेको छ भने नेपाल छुवाछूतमुक्त राष्ट्र पनि हो । यी सबै कानुनी प्रावधानका बाबजुद विश्वमा विभेदले मानिसहरूलाई आक्रान्त पार्नुमा अहिलेकै विश्व व्यवस्थाको दोष रहेको देखिन्छ । धनाढ्यहरूमा मात्र ध्यान केन्द्रित गर्ने र विभेद अन्त्यका लागि ठोस पहल नगर्ने प्रवृत्ति मानव जातिका लागि घातक छ ।

तथ्यहरूले के प्रस्ट हुन्छ भने विभेदकारी सोच बोकेर, विभेदको साङ्लो र जालोमा जेलिएर अर्को विश्व सम्भव छैन । न्याय, समानता, स्वतन्त्रता, मानव मर्यादासहितको विश्व, विभेदरहित विश्व, मानव मुक्ति भएको विश्व अर्थात् पिँजडा जस्तो नभएको विश्व नै अर्को विश्व हो । विभेद र असमानता, धार्मिक सत्ता, जातीय सत्ता, पितृसत्ता, रंगभेदी सत्ता र असमावेशी आर्थिक सत्ताको अन्त्यबिना अर्को विश्व सम्भव छैन । यसका लागि अहिलेको संसारभन्दा बाहिर पनि संसार छ वा बनाउन सकिन्छ भन्ने नबुझेका, चरम विभेदको सिकारमा परेका र अहिलेको राज्यले पस्केर दिएका सबै किसिमका चिज बिनाप्रश्न स्वीकार्दै आएका मान्छेलाई जगाउनु आवश्यक छ । अब प्रण गर्नुपर्छ– ‘म सबै किसिमका विभेदको अन्त्य गरी विभेदमुक्त विश्व निर्माण गर्न प्रतिबद्ध छु ।’

प्रकाशित : फाल्गुन १९, २०८० ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?