१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

पहिलो दार्शनिक थेल्स कि कपिल ?

के दर्शनको सुरुवात थेल्सबाटै भएको हो ? होइन, कपिलवस्तुका कपिलमुनि वा महर्षि कपिल संसारकै प्रथम दार्शनिक हुन सक्छन् । सांख्य दर्शनका प्रणेता कपिलले ब्रह्माण्ड–जीवनको रहस्यलाई ईश्वरको गुजुल्टोबाट बाहिर निकाले र पहिलो पटक तर्कसंगत व्याख्या गरे ।
रोहेज खतिवडा

दर्शनशास्त्रमा रुचि राख्नुहुन्छ भने तपाईंलाई एउटा नाम पक्कै थाहा हुनुपर्छ– थेल्स अफ माइलेटस । भनिन्छ– ग्रिक दार्शनिक थेल्सले विश्वमै पहिलो पटक संसारको सृष्टिको तर्कसंगत व्याख्या गर्दै यसलाई धार्मिक विश्वास र मिथकिय कथाबाट बाहिर झिक्ने प्रक्रिया सुरु गरे । उनले भने, ‘संसारका सबै कुराको सुरुवात र अन्त्य पानीमा हुन्छ ।’

पहिलो दार्शनिक थेल्स कि कपिल ?

र, भनिन्छ– उनले देखाएको बाटोबाटै मानव सभ्यता बिगव्यांगको सिद्धान्तसम्म पुगेको छ । यसैका लागि थेल्सलाई दर्शनशास्त्रका जन्मदाता वा संसारका प्रथम दार्शनिक मानिन्छ । एकाध भिन्न दाबी पनि छन्, तर थेल्सले नै दर्शनको जग हालेका हुन् भन्ने कुरा अहिलेसम्म सर्वस्वीकार्य छ ।

‘फस्ट फिलोसफर अफ् द ब्लर्ड’ किवर्ड राखेर गुगल सर्च गर्दा अनेकौं पेजसम्म थेल्स अफ माइलेटससँग सम्बन्धित नतिजा प्रकट हुन्छ । यसको अर्थ इन्टरनेटमा उपलब्ध सामग्री तयार पार्ने अधिकांश लेखक थेल्सलाई संसारका प्रथम दार्शनिक मान्छन् । अहिलेसम्म प्राप्त प्रमाणका आधारमा झन्डै सिद्धार्थ गौतमकै समयका थेल्सले नै प्राचीन ग्रिसमा दर्शनसम्बन्धी तर्कसंगत चिन्तनको शिलान्यास गरेका थिए । थेल्स अफ माइलेटस किन प्रथम दार्शनिक हुन् भन्ने पुष्टि गर्न ‘दी हिस्ट्री अफ फिलोसफी’ पुस्तकमा लेखक एसी ग्रेलिङ लेख्छन्, ‘ब्रह्माण्डको उद्गम र प्रकृतिबारे व्यवस्थित चिन्तन गर्ने पहिलो व्यक्ति थेल्स हुन् भन्ने हामीलाई निश्चित रूपमा थाहा छ । उनले यसबारे चिन्तन मात्रै गरेनन्, धार्मिक वा मिथकीय नभएर विशिष्ट रूपमा दार्शनिक विशेषतायुक्त विचार पनि राखे ।’

मुख्य रूपमा दर्शनले जीवन र जगत् दुवैको अर्थ खोज्ने काम गर्छ । यसमध्ये सृष्टिको सुरुवात कसरी भयो भन्ने प्रश्न दार्शनिकहरूको रुचिको विषय हो । ग्रिक परम्परामा थेल्सले यसमा नयाँ बाटो सुरुवात गरे, जुन गोरेटो आज दर्शनको राजमार्ग भएको छ ।

थेल्सको दर्शन थियो– पानीबाटै संसारको सृष्टिको सुरुवात भएको हो । थेल्सबारे हामीलाई धेरै थाहा छैन । उनका रचना के–के हुन् र उनले कुन कुन विषय लेखेका थिए भन्नेबारे विवाद छ । उनीबारे पछिका दार्शनिक एरिस्टोटल लगायतको लेखनबाट थाहा हुन आएको हो । अहिलेसम्म इतिहासकारले जे–जे प्रमाण भेटेका छन्, त्यसका आधारमा थेल्स युनानी दर्शन परम्पराका संस्थापक हुन् भन्ने निश्चित छ । तर, अगाडि युनानी नजोडी दर्शनका संस्थापक भन्नु ‘उनी विश्वकै प्रथम दार्शनिक हुन्’ भन्नु हो र यसलाई अहिलेसम्म धेरैले सहजै स्वीकार गरेका छन् ।

के ‘फिलोसफी’ को सुरुवात थेल्सबाटै भएको थियो ? होइन, बरु वर्तमान नेपालको कपिलवस्तुका कपिलमुनि वा महर्षि कपिल संसारकै प्रथम दार्शनिक हुन सक्छन् । पूर्वीय दर्शनका ६ प्रमुख धारामध्ये सांख्य दर्शनका प्रणेता कपिलले ब्रह्माण्ड–जीवनको रहस्यलाई मिथक अनि ईश्वरको गुजुल्टोबाट बाहिर निकाले र पहिलो पटक तर्कसंगत व्याख्या गरे ।

कपिलको जीवनकाल कहिले हो ? ठ्याक्कै यकिन हुन सकेको छैन । तर, उनी थेल्स वा बुद्धभन्दा करिब तीन शताब्दी पहिलेका थिए भन्नेमा धेरै इतिहासकार सहमत छन् । उनको समय इशापूर्व दसौं शताब्दीदेखि आठौं शताब्दीबीच थियो भन्ने करिब निश्चित छ । कतिपयले इशापूर्व छैटौं वा पाँचौ शताब्दी दाबी गरेको भए पनि त्यो मिल्दो देखिँदैन ।

कपिल र सांख्य दर्शनमाथि गहन अध्ययन गरेका इतिहासकार रिचर्ड गार्वेले लेखेका छन्, ‘भारतको उपनिषद्, पुराण, बौद्ध दर्शन र लोकायत दर्शनको सार सांख्य दर्शनमा पुगेर टुंगिन्छ ।’ सांख्य दर्शन नै अन्य प्रमुख भारतीय दर्शनको मुहान थियो भन्ने गार्वेको तर्कले सांख्यको प्राचीनता दर्शाउँछ । वेदान्त दर्शनका मुख्य ग्रन्थ ‘उपनिषद्’ मा कपिलको सांख्य दर्शनको प्रशस्त प्रभाव देख्न सकिन्छ । यस्तै, लोकायत र बुद्ध दर्शनमा पनि सांख्यको प्रभाव छ ।

यी सबै दर्शनमा कपिलको सांख्य दर्शनबारे आफूअनुकूल व्याख्या छ । कपिलको समयमा भारतवर्षमा लेखन परम्परा स्थापित भइनसकेको हुँदा सांख्य दर्शनबारे उपनिषद् र बौद्ध ग्रन्थहरूबाट मात्रै थाहा हुन्छ, जसरी थेल्सबारे एरिस्टोलटलको लेखनबाट मात्रै थाहा हुन्छ । त्यसैले, सांख्य दर्शनको वास्तविकता सार के थियो भन्ने पुनर्ज्ञान प्राप्त गर्न आधुनिक इतिहासकारले ठूलै कसरत गरेका छन् । यसमध्ये इतिहासकार रिचर्ड गार्वे र देवीप्रसाद चट्टोपाध्यायको मिहिनेत हाम्रा लागि ठूलो स्रोत बनेको छ ।

कपिललाई किन आधुनिक परिभाषा अनुसारको दार्शनिक मान्ने ? त्यो खुट्याउन सांख्य–सार हेनुपर्छ । विभिन्न स्रोतमा सांख्य दर्शनबारे भएको चर्चालाई आधार बनाउँदा सांख्य दर्शन सार तीन बुँदामा खिच्न सकिन्छ ।

पहिलो, सांख्य दर्शनको ध्येय मानव जातिको दुःखको कारण पत्ता लगाउनु र त्यसको निदान खोज्नु थियो । यो नितान्त दर्शन वा ‘फिलोसफी’ को विषय हो । दुःखलाई दार्शनिक अवधारणाका रूपमा बुद्धले यही दर्शनबाट प्राप्त गरेका थिए ।

दोस्रो, कपिलको सांख्य दर्शनमा संसारको सृष्टिको तर्कसंगत व्याख्या छ । थेल्सभन्दा तीन सय वर्ष पहिलेका कपिलको सिद्धान्त थेल्सको भन्दा निकै जटिल छ । कपिल भन्छन्, ‘संसारको सृष्टि प्रकृति र पुरुष (वा प्रधान) को अन्तर्क्रियाबाट भएको हो ।’ प्रकृति र पुरुषको व्याख्या कसरी गर्ने भन्नेमा इतिहासकारको भिन्न मत छ । यसमा अधिकांशले प्रकृतिलाई पदार्थ (म्याटर) र पुरुषलाई प्राण (कन्सियसनेस) को अर्थमा व्याख्या गरेका छन् । अर्थात्, संसार पदार्थ र जीवन वा चेतनाको गठजोड हो । अर्थात् सुरुमा पदार्थ थियो, त्यसले विभिन्न स्वरूप लिँदै गयो र त्यसमा चेतना थपिएपछि संसार आजको स्वरूपमा आयो । यो व्याख्या आज पनि गलत हुँदैन । यसले ब्रह्माण्डको सृष्टिलाई ईश्वर वा मिथकीय कथाबाट झिकेर तर्कसंगत व्याख्यामा ल्याएको छ । आजसम्म प्राप्त जानकारीअनुसार संसारको सृष्टिको यस्तो तर्कसंगत व्याख्या गर्ने कपिल नै संसारको पहिलो दार्शनिक हुन् र सांख्य नै सबैभन्दा पुरानो दर्शन हो ।

तेस्रो, कपिलले सांख्य दर्शनमा अघि सारेका अन्य दुई सिद्धान्त गतिशीलता र कारण–परिणाम सम्बन्धको सिद्धान्त अधिकांश आधुनिक दर्शनले पनि स्विकारेका छन् । दुवै सिद्धान्तलाई बौद्ध दर्शनदेखि आधुनिक समयको मार्क्सवादी दर्शनले समेत स्वीकार गरेको छ । गतिशीलताको सिद्धान्त संसारका सम्पूर्ण चिज परिवर्तन भइरहन्छन् र अपरिवर्तनीय केही पनि छैन भन्ने हो । कारण–परिणाम सिद्धान्तलाई सजिलो भाषामा भन्दा कुनै पनि घटनाको कारण (पृष्ठभूमि) हुन्छ र त्यसको परिणाम (प्रभाव) हुन्छ, यस्तो परिणाम फेरि कारण बन्छ र अर्को घटना हुन्छ । यसरी यो चक्र चलिरहन्छ भन्ने हो ।

ब्रह्माण्ड सृष्टिबारे कपिलको सिद्धान्त आधुनिक दर्शनशास्त्रको परिभाषाअनुकूल छ भने गतिशीलता तथा कारण–परिणाम सम्बन्धबारे कपिलको सिद्धान्त त आधुनिक दर्शनले नै अपनाएका छन् । कपिलको दर्शन थेल्सको पानीवादभन्दा धेरै तर्कसंकत, परिपक्व र उच्चस्तरको छ । आज थेल्सको पानीवाद गलत प्रमाणित भइसकेको छ, तर सांख्यको सान्दर्भिकता पुनर्पुष्टि ।

भारतीय दर्शन परम्परामा कपिललाई ‘आदिविद्वान्’ मानिन्छ । उपनिषद् र पुराणहरूमा कपिललाई प्रस्ट शब्दमा आदिविद्वान् भनिएको छ । आज न सांख्य दर्शनको प्राचीनतामाथि प्रश्न छ, न प्रणेता कपिल हुन् भन्नेमै शंका । त्यसैले आधुनिक परिभाषाले ‘दार्शनिक’ पुष्टि सकिने प्रथम व्यक्ति कपिल हुन् ।

त्यस्तै, आज न त कपिल थेल्सभन्दा सदीयौं पुराना हुन् भन्नेमा शंका छ, न आधुनिक परिभाषाले कपिललाई दार्शनिक पुष्टि गर्छ भन्नेमा विवाद । जुनजुन मापदण्डले थेल्स दार्शनिक हुन्छन्, ती सबै मापदण्डले कपिल पनि दार्शनिक (फिलोसफर) नै हुन् भन्ने प्रमाणित गर्छ । तर, कसरी थेल्स संसारका प्रथम दार्शनिक र कपिल प्रथम भारतीय दार्शनिक भए ? यो युरोपकेन्द्रित ज्ञानचंगुलले निर्माण गरेको गलत धारणा हो, जसले हरेक युरोपीय कुरालाई संसारको देख्छ र युरोप बाहिरकोलाई क्षेत्रीय देख्छ । फिलोसफीको इतिहास ग्रिसेली दार्शनिक परम्पराबाट सुरुवात हुन्छ भन्ने भ्रमपूर्ण अवधारणाका कारण नै थेल्स संसारका प्रथम दार्शनिक र कपिल भारतीय आदिविद्वान्मा सीमित रहन्छन् ।

संसारको ज्ञानपरम्परा एकअर्काबाट कहिल्यै अलगथलग थिएन । आदिमकालदेखि नै युरोप–एसिया र अफ्रिकाबीच ज्ञान आदानप्रदान भइरहन्थ्यो । कपिलभन्दा हजारौं वर्षपूर्व सिन्धु सभ्यताका व्यापारीहरू व्यापारका लागि मेसोपोटामिया पुग्थे । मेसोपोटामियन, इजिप्सियन, चिनियाँ र सिन्धहरूबीच ज्ञान र प्रविधिको प्रशस्त आदानप्रदान हुन्थ्यो । यसैमध्ये मेसोपोटामियन ज्ञान परम्परा ग्रिक दार्शनिक परम्परामा विकसित भयो भने सिन्धु नदीको सभ्यता भारतीय दार्शनिक परम्परामा विकसित भयो । तर, यसमा प्रमुख भूमिका खेल्ने मानिस भने यम्नय सांस्कृतिक क्षेत्रबाट भारत र युरोपमा बसाइँ सरी आएका मानिस थिए, जसलाई सजिलोका लागि आज इन्डो–युरोपियन भाषा बोल्ने मानिस वा आर्यन भनेर चिनिन्छ । त्यसैले, हामीले थेल्स र कपिललाई अलग–अलग ग्रहका दार्शनिक मानिरहनु उपयुक्त हुन्न । उनीहरू अफ्रो–युरो–एसियन भूगोलको साझा ज्ञानपरम्पराका दुई दार्शनिक थिए । यी दुई ज्ञान परम्पराका आ–आफ्ना विशेषता हुनु स्वाभाविक भए पनि अलगथलग भने थिएनन् ।

यसमा अर्को प्रश्न उठ्न सक्छ– कपिल कपिलवस्तुकै थिए ? सांख्य दर्शन र कपिलको ऐतिहासिकताका लागि यो धेरै महत्त्वपूर्ण प्रश्न नहोला, तर मानव कुतूहलताले सधैं यसको समाधान चाहन्छ । विभिन्न इतिहासकारका अनुसार, कपिलकै नामबाट आज कपिलवस्तुको नामकरण भएको हुनाले उनी कपिलवस्तुकै थिए । यस्तै, यजुर्वेदमा उल्लेख भएको ‘कपिल शाखा’ नै सिद्धार्थ गौतमको ‘शाक्य’ वंशका पूर्ववर्ती हुन सक्ने देखिन्छ । कपिलले कपिलवस्तुमा बस्ती बसाएको भन्ने कथाको केही न केही आधार हुनैपर्‍यो । यसले पनि कपिल कपिलवस्तुकै थिए भन्ने दाबीलाई बल पुर्‍याउँछ ।

कपिल कपिलवस्तुका थिए भन्ने दाबीलाई बलियो बनाउने अर्को तर्क बुद्धमा सांख्य दर्शनको प्रभाव पनि हो । बुद्धभन्दा केही शताब्दीअघिका कपिलको सांख्य परम्परा कपिलवस्तु आसपासमा सिद्धार्थ गौतमको समयसम्म अविच्छिन्न र जीवन्त थियो । त्यसैले, सांख्य दर्शनको सोझो प्रभाव सिद्धार्थ गौतममा परेको छ । बुद्ध दर्शन सबैभन्दा बढी सांख्य दर्शनबाटै प्रभावित छ । जसरी कपिलले सांख्यमा दुःखको दार्शनिक अवधारण निर्माण गरेका छन्, यही परम्परालाई बुद्धले पछ्याएका छन् । बुद्धको अहिंसाको सिद्धान्तको स्रोतसमेत सांख्य नै थियो । सांख्य दर्शनको गतिशीलताको सिद्धान्त र कारण–परिणाम सम्बन्धको सिद्धान्त बुद्धले कपिलबाट पाएका थिए भन्नेमा शंका गर्न‘पर्ने देखिँदैन किनभने यी सिद्धान्तको अर्को कुनै स्रोत देखिँदैन ।

सिद्धार्थ गौतमले दरबार परित्याग गरी संन्यास ग्रहण गरेपछि विद्यार्जनार्थ शरण लिएको पहिलो मठ वा आश्रम अलारा कलामको आश्रम थियो, जो सांख्य परम्पराका गुरु थिए । अलारा कलामले कपिलभन्दा थुप्रै पुस्तापछि कपिलको ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गरिरहेका थिए । गौतम बुद्धमा सांख्य दर्शनको यति धेरै प्रभाव पर्नुको कारण कपिलवस्तु क्षेत्रमा सांख्य ज्ञानपरम्पराको जीवन्त प्रभाव नै हुनुपर्छ । बुद्धले सनातन धर्मको पटकपटक उल्लेख गरेका छन्, जुन परापूर्वबाट चलिएको धर्म भन्ने हुन्छ । कपिलवस्तु क्षेत्रको सनातन धर्म सांख्य नभएर अरू कुनै नभएको भए बुद्धको दर्शन सांख्यभन्दा नितान्त भिन्न हुनेथियो ।

त्यसैले, कपिललाई नेपालले आफ्नो राष्ट्रिय विभूति मान्न अन्कनाउनुपर्ने कुनै कारण छैन, तर यो धेरै महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण त कपिलबारे थप अनुसन्धान गर्न र उनको दर्शन उजागर गर्न हामीले गर्नुपर्ने प्रयास हो । यसमा राज्यका निकाय र विश्वविद्यालयले समेत काम गर्न सके र संसारका प्रथम दार्शनिकको मतलाई उपनिषद्, बौद्ध दर्शन र लोकयतको प्रभावबाट छानेर विशुद्ध रूपमा हेर्न सके दर्शन र इतिहासको क्षेत्रमा संसारमै नौलो आयाम थपिन सक्थ्यो ।

कपिलबारे थप अनुसन्धान गर्न‘पर्ने चाखलाग्दो पाटो के छ भने श्रीमद्भागवत महापुराणलगायत कतिपय संस्कृत ग्रन्थले उनलाई असुर भनेको छ । यस्तै, कपिलका प्रमुख शिष्य आसुरी हुन् । यसले संकेत गरेको विषय के हो भने कपिल वैदिक आर्य परम्पराका थिएनन् । सांख्य दर्शनले जुन दार्शनिक मान्यता अघि सारेको छ, त्यो पनि ऋग्वैदिक परम्पराभन्दा नितान्त भिन्न छ । प्राचीन भारतीय इतिहासमा गम्भीर काम गरेका इतिहासकारहरूले असुर शब्दको अर्थ खुट्याउने निकै प्रयास गरेका छन् । यसमध्ये एउटा मत उनीहरू सिन्धु सभ्यताका मानिस थिए, अर्थात् त्यसबखतका भारतीय आदिवासी थिए भन्ने छ । प्राचीन डीएनए अध्ययन गरिरहेका वैज्ञानिकहरू सिन्धु सभ्यताका मानिसहरू द्रविड जातिका पूर्वज थिए र उनीहरू वैदिक आर्यभन्दा हजारौं वर्षअघि यहाँ आएका थिए भन्नेमा सहमत छन् । यसले कपिल वैदिक आर्य नभएर द्रविडियन पूर्वज थिए भन्ने संकेत गर्छ । यदि कपिल द्रविडका पूर्वज थिए भन्ने प्रमाणित भए यसले भारतीय ज्ञान परम्परा वैदिक आर्यको एकलौटी नभएर सम्पूर्ण दक्षिण एसियाली मानिसको साझा थियो, यसमा सबैको योगदान छ भन्ने प्रमाणित गर्न सक्छ । यसमा थप अनुसन्धान र विश्लेषणको आवश्यकता छ ।

कपिल आर्य भए पनि द्रविड, अस्ट्रो–एसियाटिक वा टिबेटो–बर्मन भए पनि, उनको सांख्य दर्शनको प्रभाव आजसम्म छ । भारतीय दर्शन परम्परामा मात्रै होइन, युरोपेली दर्शन परम्परामा पनि त्यो प्रभाव छ । उनीबारे हामीले थप खोज्नु, बुझ्नु र बताउनुपर्ने दायित्व हाम्रै हो । युरोपकेन्द्रित ज्ञान चंगुल तोड्न यो एउटा महत्त्वपूर्ण कोसेढुंगा हुन सक्छ भने विश्वकै दर्शनका लागि नेपालको महत्त्वपूर्ण उपहार हुन सक्छ । कपिलवस्तु बुद्धको जन्मस्थल मात्रै नभएर दर्शनको सुरुवात भएको ठाउँ र संसारका प्रथम दार्शनिकको जन्मस्थलका रूपमा पनि चिनिन सक्छ ।

प्रकाशित : फाल्गुन १९, २०८० ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?