१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

फाकदिङका सबै घर बन्द छन्

एउटा चकमन्नता छ यहाँ, पसलहरूमा ताल्चा लागेको छ । अभाव हुर्किरहेको छ– यो हिमाली सहरमा ।
युवराज नयाँघरे

थाको पो म त ! ’
आङ कामीले मलाई फाकदिङ कटेलगत्तै भनेथे । ए अचम्म आजसम्म कुनै शेर्पाले मलाई थाकें–गलें भनेका छैनन् । उनीहरू नै कमजोर भए मेरो हालत के होला ?

फाकदिङका सबै घर बन्द छन्

‘त्यसो नभन्नु न,’ शेर्पालाई मैले भनेँ ।

फाकदिङ ! मैले यो नाउँ सुनेको उहिल्यै–उहिल्यैदेखि । यो नामसँग मेरो मन किन–किन एउटा बेग्लै खालको नजिकले टाँसिएको छ ।

सगरमाथा आरोहणपछि उतै विलिन भएकी पासाङ ल्हामु शेर्पाको संघर्ष चक्रमा यो फाकदिङको नाउँ खुबै सुनेको सम्झना छ मलाई । लुक्लाबाट कुइरेका बथान लाने र लैजाने मुख्य नाका भएकैले फाकदिङ धेरैका मुखमुखमा झुन्डिएको हो कि ?

दूधकोशीको पुल तरेपछि फाकदिङ भेटियो । तेर्छो र गढतीर–गढतीरमा बसेको रहेछ– फाकदिङ । कति राम्रो र सुन्दर रहेछ यो त । साना–साना चिटिक्क परेका घरको ताँती । बाटोभरि ढुंगा छापेर सफा पनि त्यत्तिकै । राता, हरिया, नीला भित्तोका एक तल्ले घरहरू । छानाहरू सुकिला र राम्रा । बाटोका देव्रे–दाहिने टुप्लुकिने ढुंगाभरि बुद्ध मन्त्र लेखिएका ।

हरेक घर– हरेक पसल । हरेक कोठा– हरेक व्यापार । हरेक ढोका– हरेक पाहुनाका लागि कुरिबसेको । फाकदिङ टेक्ने बित्तिकै यही सम्झें ।

उकालो–ओरालो गर्दै फाकदिङ नापिरहेका छौं । उत्तरपट्टि पाखो भित्तो छ । दक्षिणपट्टि दूधकोशीको छङछङ छ अटुट । सफा लहरमा खुम्बुका कथा बगिरहेका छन् । सेता छालमा खुम्बिलाका ढुकढुकी बगिरहेका छन् । सुकिला तरंगमा त्याङबोचे गुम्बाका पवित्र भाव छङछङाइरहेका छन् । हामी ढुंगेनी सिँढी चढेर अलिक तेर्छोमा पुग्यौ ।

‘तपाईंलाई थकाइ, मलाई भोक,’ कुरो मिलाएर फेरि आङ कामीलाई भनें ।


फाकदिङका सबै घर बन्द छन् । सबै पसलमा ताल्चा लागेका छन् । घरैपिच्छेका लज, होटल, रेस्टुराँ, क्याफे, रिसोर्ट र लङहरूका मूल ढोका ढप्केका छन् । एउटा चकमन्नता छ । एउटा अभाव हुर्किरहेको छ– यो हिमाली सहरमा ।

कुनै बेला नेपालीले बास पाउँदैनन् भनिन्थ्यो यता । अहिले नेपाली खाना, नेपालीलाई स्वागत भनिएका, नेपाली भान्सा, नेपाली खाजा, नेपाली स्वादको ढिँडो, नेपाली पाराको पक्कु–भुटन लेखिएका सूचना बोर्ड यहाँ मनग्गे पढिरहेको छु । फाकदिङमा पर्दा लगाएका कोठामा आलु फिँजाएको देखिन्थ्यो । आलु सुकाएर कोठा भरिभराउ देखिन्थे ।

‘पर्यटकहरूले हैन– आलुले मान पाएछन्,’ म बोल्दै आइरहेको छु ।

‘समय–समयको कुरो यो,’ आङ कामीले सघाए ।

मन्जोका वाङ्दीले बिहानै भनेथे निकै कुरा– ‘थामसेर्कु हिमाल चढ्न धेरै कुइरे आउँछन् । तिनलाई आफ्नै बारीको स्याउको जुस खुवाउने मेरो इच्छा थियो । ५० बोट त रोपो पनि । तर फल लागेदेखि नै रुङ्दाको हैरान । कागले ठुँग्ने त्यत्तिकै । त्यसबाट जोगायो, भालुले फेरि हैरान लाउने ।’

‘केही सीप नलागेर म फेरि छोडेको काममै फर्किएँ– ट्रेकिङमा ।’

यो पनि समय–समयको कुरो रै’छ... ।


खोला छेउमा ढुंगाको ओदान । तीन चोके चुलोमा खाना पकाएछन्– रेविका र अमरले । अघिल्लो दिन मन्जोमा पनि भान्सामा यिनै दुईले घुँडा जोतेर पकाएथे ।

‘बाटो लामो छ नि । तपार्इंले भने जत्ति खाने हो भने एउटा खुट्टा, एउटा हात, एउटा आँखा, एउटा कान, एउटो आँखा मात्र चल्छ । जिन्दगीले मात्र चल्छ र ?’

‘दुवै थप्नुपर्छ । नत्र ज्यान कुत्दैन । ज्यान नकुदेपछि बाटो कसरी कट्छ ?’ अमरले महाभारतै सुनाए ।

बाटोमा जुरेको अन्नपात यै । भतेर यै । अर्नी यै । चौरासी मिष्ठान यै । अब सन्तोष मानेर नखाई सुखै भएन । यसोउसो गर्दै गए । उकालो, ओरालो, तेर्पे र ढुंगेनी छाँगाछुर भीर सम्झेर ग्वाम्म निलें ।


‘यी कहाँ जान लागेका ?’ हूलका हूल नेपालीहरू नाम्चेतिर लर्किएको देखेँ ।

खसखस निकै भएथ्यो– अघिदेखि । यस्तो हूल हिजैदेखि खुबै देखेथें । हँसिया, नाम्लो, डोरी, डोको पनि छ धेरैका हात–हातमा । यो ताँती कता उक्लेको होला ? अब त झन् जाडो बढिरहेको छ । यो जाडोमा पातला लुगा, नाङ्गा खुट्टा र यस्तो कन्तबिजोगको हविगतमा कहाँ लागेको यो लस्कर ?

बीरुलाई फेरि सोधें– ‘को हुन् यी ?’

खुम्बुमा आलु खन्ने, लसुन रोप्ने, घाँस काट्ने, दाउरा काट्ने समय भएको रहेछ । साइत हेरेर गाउँपिच्छे यी काम गरिने भएकाले कामका लागि यी हूल गएको रहेछ । खुम्बु वरपरका गाउँका शेर्पाहरू धेरै त काठमाडौंमै छन् । अझै कतिले मान्छे राखेर, घरकुरुवालाई छोडेर अमेरिका, जापान, युरोपका धेरै देशतिर पुगेकाले त्यता काम गर्नेको खाँचै छ ।’

‘कुइरेका भारी बोक्नेले दाउराको घाँस बोक्दैनन् ।’

‘कुइरेका अक्सिजन बोक्नेले घाँसको भारी उचाल्दैनन् ।’ ‘कुइरेका जुत्ता–चप्पल बोक्नेले आलुको ड्याङ खोस्रिँदैनन् ।’ ‘कुइरेका ओछ्यान बोक्नेले लसुनको बिटो बाँध्दैनन् ।’ बीरुले भाका मिलाएर भट्याए ।

अनि पो तल सल्लेरीतिरका बाउन, क्षेत्री, दलितहरूको लर्कन उकालिएको रै’छ खुम्बुतिर । मन कस्तो चिसो–चिसो भयो मेरो । माथि लागेका ती जोधाहा ज्यानहरू पातला ज्यानका, छरिता, फुर्तिला, राता गाला भएका, लामा हातखुट्टा भएका र चंख बोली भएका लाग्थे ।

आङ कामी हाम्रा कुरा सुनेर रमाइरहेथे । उनले थपे– ‘पहिला–पहिला राईहरू मास्तिर जाँदैनथे । अचेल त पाङबोचेसम्म पुग्छन् । पैला त खुबै डराउने उनीहरू । अचेल त उल्टा पो भयो ।’

हामी छुटाहा पुगेछौं ।


घाट टुप्लुकियो । घाटमा दुई वटा खोला मिल्दा रहेछन् । हिमालतिरबाट आएको अर्को छङछङ आएर मिसियो दूधकोशीमा । रमाइलो बस्ती रै’छ घाटमा ।

‘यता त स्वादिला माछा पाइँदा हुन् नि !’ मैले भनें– सङला खोला हेर्दै । ‘हो तर बौद्धमार्गीको गाउँमा काटमार चल्दैन । भए पनि खोलै धनी ।’ बीरुले त्यसो भनेर अलिक परतिर गएर उभिए ।

अलिक ओरालो बाटो भेटियो । सबैतिर हरियोपरियो छ । हरियालीका माझमा त्यस्तै देखियो । घरहरूले अझै आँखा रमाए । ठाडो कोशी पुगेपछि खोला तर्‍यौं । वारिभन्दा पारि अझै मलिलो, रसिलो र भरिलो ठाउँ लाग्यो मलाई । बस्ती सानै भए पनि उज्यालो र रमाइलो ठानें मैले । तेर्छोपछि ढुंगेनी बाटोमा लुइँलुइँ लम्किन्छु । पानी रोकिने र पर्ने गति भइरहन्छ । दिन ढल्केर घाम लुकेको छ । छेप्लुङ गाउँ आयो । दूधकोशी किनारका घर, बस्ती र बारीहरू लोभलाग्दा देखिन्थे । बेला–बेलामा तलबाट बटारिएर आएका भुइँ कुइराको मुस्लोले हामीलाई बोलाउँछ । हरिया पहाडका थुम्का लुक्दै, हराउँदै गरिरहन्छन् ।

बाटो एकोहोरो पूर्व गइरहेको छ । हरिया बुट्यान र पोथ्राहरू बाटैभरि भेटिन्छन् । कति बिरुवा म चिन्छु, कति चिन्न दिमागको गिदी घोलघाल गर्नुपर्छ । धेरै तलै भेटिएको थियो– छेप्लुङ गाउँ । मनग्गे बाटो छिचोलेपछि पनि बाटोका पाटीमा उही छेप्लुङ लेखेको देख्छु ।

‘तलका माथि सरेका हुन् कि ? माथिका तल झरेका हुन् ?’ छेप्लुङ गाउँमा लामै लर्को देखेर सोधें ।

‘बाटो तन्कियो, अनि गाउँ पनि फैलियो ।’ बीरुले पानी खाँदै भने ।

अघि जंगल नाघे लगत्तै यसो एकमुठी अँधेरो छरिएथ्यो । कतिखेर–कतिखेर घ्वाप्पै भइसकेछ । यता टेक्यो, उता पुगिन्छ । उता पाइला सार्‍यो, यता फर्किन्छ । जंगल लामै भयो । उकालो पनि ज्यान थकाउने खालको छ । बेला–बेलामा छाता थन्क्याएरै सास फेर्छु । घरी नाक, घरी मुख– सास फेर्न आलोपालो नगरी भएन । उकालीले छातीमा दख्खल पार्ला–पार्ला गर्न खोजिरहेको छ । पानी र हावाको मिसमास छँदै छ । अझ अँध्यारोमा कुइरो घ्वाप्प घ्वाप्प आइरहन्छ । अँध्यारोमा कुइरो कुदेको अद्भुत लाग्दै छ ।

अगाडि जानेका टाउकोमा टोपी बत्ती छन् । म त मोबाइलको उज्यालो बाल्दै नियाल्दै गरिरहेको छु । पानीले पखालिएका ढुंगा स्वात्त–स्वात्त चिप्लिन्छन् । कता समाउनु, कता टेक्नु । धेरै पटक भयो यस्तो । बाटो लामै भएछ आज । जति हिँडे पनि नसकिने जस्तो । अगाडि हेर्‍यो पछाडि फर्कियो । जति नो पनि आत्मैले हो, मुटुले हो । खुट्टाले ननापेसम्म अरूको कुनै दैया चल्दैन ।

सर्लाङ–सर्लाङ बजेका छन् जंगलमा पात । बर्खाको संगीत कति हो कति रिउँरिउँ झ्याउकिरीको स्वर । गाइने कीराको बोली– र्‍याउँ... र्‍याउँ... र्‍याउँ... र्‍याउँ... । नाक, कान भएर हावाले सुइँय–सुइया फन्को मारिरहेकै छ ।

ऊ देखियो— लुक्ला । झिलिमिली... झिलिमिली... । अँध्यारोमा बोल्नेहरू आवाजमा ठूलै खुसी ओर्लेको देखिन्थ्यो । त्यो बोली मेरो पनि सन्तोष जोडिन्छ ।

खाङरीमा झोला बिसायौं । नौ बजे मैले चस्मा खोलेछु । किनभने अब कुनै बाटो ठम्याउन पर्ने हैरानी थिएन । मैले आँखा चिम्लेर आफूले हिँडेको बाटो सम्झें– यो एउटा सरदारकै हिँडाइ भएछ । मनसँगै हाँसे आँखाहरू ।

प्रकाशित : फाल्गुन १९, २०८० ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?