१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रेडियोमा बोल्ने पुतली दिदी

पिँढीको खोपामा टुक्रुक्क बसेर वा पालीमा झुन्डिएर गाउँघर घन्काउने रेडियोको आवाज अब मलिन भइसकेको छ । म सोध्छु आफैंलाई– ती दिन त फर्किएर आउँदैनन्, तर त्यस्तै दिन फर्केलान् कि नाइँ ? 
सबिता आचार्य

दिदी...ए पुतली दिदी..अघि रेडियोमा बोलेजस्तै बोल न...अघि समाचारमा भनेकी थियौ नि– नमस्ते बिहान साढे छ बजेको प्यूठान खबरमा स्वागत छ...एकफेर भन न दिदी !’ बाटोघाटोमा हिँडेको देख्यो कि उनीहरू प्रेमले यसो भन्थे मलाई ।

रेडियोमा बोल्ने पुतली दिदी

स्यानी पुतलीजस्तै देखेर मेरो नाम ‘पुतली दिदी’ राखिदिएका रे ! अनि खुस्स चोकतिर निस्कँदा मलाई देखेर बोलाइहाल्थे– ए पुतली दिदी...! बाटोमा हिँड्दा अघिपछि लाग्दै रेडियोमा बोल्न कर गर्ने ती साना भाइबहिनी अहिले कत्रा भए ? कल्पिन्छु उनीहरूबारे । पक्कै ठूला भइसके, जीवनमा सही–गलत छुट्याउन सक्ने भइसके, लक्ष्य—उद्देश्य पहिल्याउन सक्ने भइसके । तर, म भने यतिबेला ती दिन सम्झिरहेकी छु– रेडियोमा आवाज सुनेकै भरमा आउने चिठी, फोन अनि ‘ए यिनी पो रैछिन् अघि बोल्ने त’ भन्दै रेडियो स्टेसन बाहिर कुरिबस्ने सहृदयीहरू ! बककमम आफ्नै उमेरका, साना र बुवाका उमेरका, जो रेडियोकी पुतली दिदी हेर्न कुरिरहन्थे । उबेला रेडियोमा बोल्ने मान्छे जत्रो होस्, छोरी भए ‘दिदी’ सम्बोधन गर्ने चलन थियो ।

रेडियो भन्नेबित्तिकै ममा छुट्टै तरङ्ग पैदा हुन्छ, जुन रेडियोको आवाज जत्तिकै तीव्र हुन्छ । स्टुडियोमा ‘नमस्कार म फलानो’ भन्दै गर्दा कसैको घरमा बजेको रेडियोमा पनि सँगै ‘नमस्कार म फलानो’ पुगेको हुन्छ । त्यति नै तेजमा मभित्र पनि रेडियो प्रेम, अझ भनौं अडियो प्रेम जागृत भएर आउँछ । झन्डै १५ वर्षअघि, जुन बेला सदरमुकाम र ससाना सहरमा रेडियो खोल्ने होडबाजी थियो ।

फलानो रेडियो...मेगाहर्ज/परीक्षण प्रसारण/रेडियोकर्मी बन्ने सुनौलो अवसर ! यस्तै आवाजले घर–टोल घन्किन्थे । मलाई पनि रेडियोप्रति मोह जागिसकेको थियो । त्यसैले यस्ता विज्ञापनले झट्ट आकर्षित गरे । कतै तालिम खुल्यो भने दुगुरिहाल्थें । आफू सहभागी भएका तालिममा आफूलाई अब्बल साबित पनि गर्थें । २०६५ तिर प्यूठानमा पनि एफएम रेडियो खुल्न सुरु भएका थिए । दसैंमा घर गएको बेला प्यूठानमा खुलेका रेडियोबारे थाहा पाएँ । आफूलाई रोक्न सकिनँ अनि सपनाले प्वाँख फैलाइहाले !

पहिलो पटक रेडियोमा बोल्ने अवसर सामुदायिक रेडियो प्यूठानले दियो । परीक्षण प्रसारण सुरु गरेको केही समय भएको थियो, म त्यहाँ पुग्दा । स्टेसन म्यानेजरले एक दिन भनेछन्, ‘तुरुन्तै यो विज्ञापन भनिहाल्नुपर्‍यो ।’ रेडियोमा भर्खर काम सुरु गरेका एक कर्मचारी महिला आवाज खोज्दै मसम्म आए, खै कताबाट ! आफूलाई त आवाज सुनाउनु थियो ।

म स्टुडियोभित्र गएँ । स्टुडियो त के भन्नु ! प्लाइउडमा सिरकको खोल हाल्ने कपडाले बेरेर बनाइएको बारजस्तो केही ! माथिल्लो तलामा कोही हिँडे तल बोलिरहेको ठाउँमा माटो ह्वार्र खस्थ्यो । त्यस्तो थियो मैले पहिलो पटक देखेको रेडियोको स्टुडियो ।

विज्ञापन, त्यो पनि लाइभ ! बोलेर फर्केपछि कसैको फोन आयो, ‘अहिले बोल्ने नानीको आवाज मिठो रैछ ।’

मेरो आवाज सुनेर कसैले प्रशंसा गर्दै थियो । म खुसीले बुरुक्कै भएँ । अञ्जान व्यक्तिको फोनले मलाई रेडियोमा जागिर दिन ठूलै भूमिका खेल्यो । त्यसमाथि बुटवल र काठमाडौँबाट गएका प्रशिक्षकले ‘औपचारिक तालिममा सहभागी नभए पनि यो मान्छेको आवाज ठीक छ है’ पनि भनेका थिए ।

रेडियो प्यूठानमा काम गर्ने सिलसिलामा निकै मीठा अनुभव हासिल गरें, केही तीता पनि छन् ।

एक दिन लोडसेडिङले दुःख दियो । घर फर्किन रातै पर्‍यो, चाउचाउको प्याकेटमै तातो पानी हालेर खाएँ र रात बिताएँ । रुघाले ग्रस्त भएका बेला समाचार पढ्दापढ्दै बोली नै निस्किएन । ब्रेकिङ न्युज पढ्न जाँदा मृतकको लिस्टमा आफ्नै मान्छेको नाम देख्दा ह्वाँह्वाँ रुन मन नलागेको होइन, तर आफैंलाई सम्हाल्दै नाम उच्चारण गरेँ । सम्झिँदा जिरिङ्ग हुन्छु । ती बेला यी कुरा कष्टपूर्ण थिए, अहिले याद बनेर मस्तिष्कमा अटाएका छन् । अञ्जान ठाउँमा बाटो देखाएर गुन लगाएका बटुवाझैं मानेकी छु ती दिनलाई ।

रेडियोमा काम थालेको केही समयमै श्रोताले मलाई चिन्न थाले । बाटो हिँड्दा साना नानीहरूले ‘अघिजस्तै समाचार भन न दिदी’ भन्दै जिस्क्याउँथे । ‘कति सानी पुतली दिदी’ भन्दै पछिपछि लाग्थे केटाकेटी, ती लस्कर बनेर मसँगै डुल्थे । कति फुसफुसाएको सुन्थें, ‘केटी त फुच्ची रैछे, तर बोल्न राम्रो बोल्दी रैछे ।’

काठमाडौं आइसकेर ‘साथीसँग मनका कुरा’ मा काम गर्न थालिसकेकी थिएँ । मानिसहरू मलाई आवाजले मात्रै पनि चिन्न सक्थे ।

एक पटक अचम्म भयो । अफिसबाट डेरा फर्कंदै थिएँ । जाडो थियो, गुटुमुटु परेर बसको सिटमा बसेकी थिएँ, मास्क पनि लगाएकी । मतिर हेर्दै नहेर सहचालक भाइ बोले, ‘भाडा दिनुस् कहाँसम्म हो !’

‘बबरमहलसम्म, कति हो ?,’ मास्कका मसिना पर्दाबाट आवाज फ्याँकेँ । भाइले अचानक आँखा ठूलो बनाएर मतिर हेर्‍यो र भन्यो, ‘ओहो सबिता दिदी हैन ?’

हैट ! कसरी चिनेको मास्क लगाउँदा पनि ? अवाक भएँ । भाइ बोल्यो, ‘साथीसँग मनका कुरा सधैं सुन्छु दिदी । तपाईंहरूले मेरो जीवनमा ठूलो गुन लाउनुभएको छ...!’ मलाई भेट्नुको खुसीमा उसले भाडा लिएन । त्यही दिन बुझें, आवाजको शक्ति कस्तो जब्बर !

काठमान्डु आउनुअघिकै दिनतिर फर्कौं । अर्घाखाँचीबाट एकजना अंकल भन्न सुहाउने उमेरका श्रोता रेडियो स्टेसन आएर मलाई खोजेछन् । म दिउँसो ३ः५५ को बुलेटिन भन्न हतारहतार घरबाट आउँदै थिएँ, स्टेसन पस्नेबित्तिकै न्युज चिफले भने, ‘ल ल गइहाल भित्र ।’ म समाचार लेखिएको कापी बोकेर स्टुडियो छिरेँ । विज्ञापन बजेका बेला चिफले टेक्निकल रुमबाटै भने, ‘सबितालाई भेट्न एक जना आउनुभएको छ, धेरैबेर भयो ।’ म समाचार पढेर बाहिर निस्कें । न्युज चिफले ती मान्छेसँग ‘ऊ नै सबिता हो’ भनेर चिनाए । उनले पत्याएनन् । मैले जुक्ति लगाउँदै आवाज निकालें, ‘३ः५५ को प्यूठान बुलेटिनमा सबिताको नमस्कार...!’ सुनेर उनी अलमलमा परे । भने, ‘छोरीको उमेरकी हुनुहुँदो रैछ नानी । मैले त ठूली हुनुहुन्छ भनेर दिदी भनेको, नमस्कार छ है ।’ उनी मसँग धेरैबेर कुराकानी गरेर निस्किए । आज पनि रेडियो–श्रोताको कुरा आउँदा उनको अनुहार सम्झन्छु । रेडियोले दिएको असली प्रेम थियो त्यो ।

अर्को प्रसंग, रेडियो प्यूठानले हामी कर्मचारीका लागि रेडियो पत्रकारिता तालिम आयोजना गरेको थियो । पहिलो दिन औपचारिक कार्यक्रम भएको थियो । बोल्ने वक्ता टन्नै थिए । कार्यक्रममा मैले धन्यवाद ज्ञापन गर्नुपर्ने थियो । लिस्टमा थिए, तत्कालीन जिल्ला न्यायाधीश (नाम बिर्सें) लाई शुभकामना मन्तव्य राख्न समय दिइएको । तर, उनी बोल्दा बोल्दै हडबडाए र कार्यक्रम सकिएको घोषणा गरिदिए ।

उपस्थित सबैमा अलमल भयो । कार्यक्रम सञ्चालकले जसोतसो कुरा मिलाए । अनि मेरो पालो आएपछि धन्यवाद ज्ञापनसहित टुटेफुटे भाषण गरेँ । केही दिनपछि उही जिल्ला न्यायाधीशसँग बाटोमा भेट भयो । त्यो दिन कार्यक्रम नसकिँदै ‘कार्यक्रम सकिएको घोषणा गरेको’ कुरा मनमै गढेको रहेछ । तिनले भने, ‘मलाई त अस्ति निकै लाज भयो । तर, तपाईंले गज्जब गर्नुभयो सबिताजी, तपार्ईं त नेता बन्नुपर्ने मान्छे । कहाँ रेडियोमा अल्झिनुभएको !’ सम्झन्छु ती मीठा संयोग रेडियो करिअरका फ्युल थिए, जसले मलाई हरपल कुदिरहन ऊर्जा दिन्थे ।

रेडियो प्यूठानमा काम गरेको केही समयपछि नेपालका युवामाझ लोकप्रिय रेडियो कार्यक्रम ‘साथीसँग मनका कुरा’ मा काम गर्ने अवसर मिल्यो । हिजोआजका पुस्तालाई त्यो कार्यक्रबारे सायद थाहा छैन । तर, मध्य ८० देखि ९० को दशकमा जन्मेको पुस्ताले त्यो कार्यक्रम अवश्य सुने । रेडियोको साम्राज्यको बेला थियो त्यो । युवालाई मनपर्ने कथा, प्रस्तुति र भाष्यसहितको ‘साथीसँग मनका कुरा’ ले धुम मच्चाएको थियो । मैले पनि त्यहाँ आवाज भर्न पाएकी थिएँ । त्यो कार्यक्रममा आबद्ध भएपछि देशका करिब ६५ जिल्ला घुम्न पाएँ । स्थानीय रेडियोबारे बुझ्न पाएँ । त्यसमाथि म आबद्ध संस्थाले नै रेडियो म्यापिङको काम पनि गरेको भएर अझै धेरै रेडियोबारे जानकारी पनि मिल्यो । लगभग एक दशक काम गरेपछि म त्यसबाट अलग्गिएँ ।

एक दशकमा रेडियो धेरै परिवर्तन भयो । तर, मलाई रेडियोको तिर्खा मेटिएन । त्यसैले रेडियो कार्यक्रमभन्दा अलि फरक विषयमा केन्द्रित भएर साथीहरूसँग सहकार्य गर्दै पडकास्ट ‘गुलाबी संवाद’ चलाउँछु, जुन मलाई पहिले बोल्न सिकाएका एफएमसहित देशभर करिब ६० रेडियोमा बज्छ । कार्यक्रम रेकर्ड गर्न स्टुडियोमा बस्दा मलाई अझै देउता चढेजस्तो हुन्छ । जब बोल्न थाल्छु, ध्यानस्थ अनुभव हुन्छ । लाग्छ, त्यो पनि रेडियोले सिकाएको भङ्गीमा हो । यसप्रकार, मध्य साठीको दशकबाट सुरु भएको यो यात्रा रोकिएको छैन, भलै माध्यम फरक किन नहोस् !

बेलाबेला रेडियोबारे हुने बहसले तानिन्छु । बहसको केन्द्रमा एउटै प्रश्न हुन्छ— के रेडियोका श्रोता घटेका हुन् ? पक्कै हुन् । कारण प्रस्ट छ, जमाना इन्टरनेटको भइसक्यो । हप्ता दिनसम्म उकुसमुकुस भएर आफूलाई मनपर्ने कार्यक्रम भन्दैमा त्यो पर्खन नसक्ने ‘फास्टेस्ट जनरेसन’ वा ‘फाइभ जी’ पुस्ताले समय प्रतिस्थापन गरिसके ।

सन् २०१२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन सुरु गरिएको रेडियो दिवस अझै पनि भव्यताका साथ मनाइन्छ । तर, दिवस मनाउँदै गर्दा रेडियोको लोकप्रियतामा भने समय–समयमा प्रश्न उठ्छ । के साँच्चै रेडियोको लोकप्रियता घटेकै हो ? या हामीले समयसँगै आफूलाई परिमार्जन–परिष्कृत गर्दै गएका हौं ? यसको अर्थ रेडियो निकै पुरानो प्रविधि भएको हो त ? त्यो पनि होइन होला । समयअनुसार रेडियो सुन्ने परिपाटीलाई फरक तरिकाले प्रस्तुत गरिएको हुन सक्छ । रेडियोबारे यही बहसको सन्दर्भमा एक पुराना सहकर्मीलाई सोधेकी थिएँ, ‘रेडियोको क्रेज पहिलेजस्तै छ कि के छ ?’ रेडियो चलाइरहेको उसको जवाफ सटीक थियो, ‘छैन ।’

‘त्यसो भए तिमी किन रेडियो चलाइरहेको छौ ?’

‘जानी नजानी सुरु गरियो, अब बोकेर हिँड्नै पर्छ, छोड्न कहाँ सकिन्छ र ?’ लाग्यो, ऊ पनि रेडियो–लतमा परेछ । अनि के यसैगरी नै चलिरहेका छन् त स्थानीय रेडियो ? जानी–नजानी सुरु गरेकै कारण अहिले पनि जबरजस्ती चलाइएका हुन् त ? त्यो पनि पक्कै होइन होला ।

सामुदायिक रेडियोको सञ्जाल ‘सामुदायिक रेडियो नेटवर्क’ सीआईएनका सम्पादक लक्ष्मण कार्कीलाई पनि मैले सोधेको थिएँ, ‘रेडियोका श्रोता घटेका हुन् ?’ उनको जवाफ थियो, ‘रेडियोका श्रोता त घटेकै हुन्, तर अडियो सुन्ने श्रोता घटेका छैनन् ।’ मलाई यो कुरामा दम छ जस्तो लाग्यो ।

धेरै विषयको सनातन परिभाषा भत्किँदै गएका बेला रेडियोका परम्परागत बुझाइ छन्, त्यसका धेरै आयाम बदलिएका छन् । कार्की भन्छन्, ‘कान हुने बेलासम्म सुन्ने कुरा मर्दैनन्, कानलाई सुन्ने कुराहरू चाहिन्छ नै । कानले केही न केही सुन्न खोजिरहेको हुन्छ । तर, सुन्नका लागि उसले कुन माध्यम रोजेको छ भन्ने महत्त्वपूर्ण हुन्छ । अडियो सुनिरहेकै छन्, तर रेडियोबाट सुनेका छन् कि के छ, विमर्श हुनुपर्छ । सबै माध्यमको स्वरूप–शैली बदलिइरहेको बेला रेडियोको स्वरूप र शैली पनि बदलिएकै हो ।’ उनको सारमा रेडियो अहिले पडकास्ट हुँदै गएको छ ।

तर, ताप्लेजुङको स्थानीय रेडियो काबेलीमा कार्यरत एलिना दियालीको विचार फरक छ, ‘कन्टेन्ट राम्रो हुँदासम्म मानिसले रेडियो सुन्न छोड्दैनन् । त्यसमाथि हाम्रो जस्तो इन्टरनेटको सहजै पहुँच नहुने जिल्लामा त रेडियोको विकल्प छैन । सूचनाको महत्त्वपूर्ण माध्यम भनेकै रेडियो हो । त्यसैले अझै समाज परिवर्तन गर्न, समाजलाई सुसूचित गर्न रेडियो भरपर्दो माध्यम हो ।’ हुन त उनलाई लाग्छ पनि, ‘रेडियोलाई अनलाइन र आज भोलिको युट्युबलगायतका सामाजिक सञ्जालले उछिनी रहेको अवस्थामा पुरानै तरिकाले चलाउने हो भने कठिन हुन्छ, केही परिमार्जन गर्नु आवश्यक छ ।’

त्यसो त कोरोना महामारीका बेला सेयरकास्ट इनिसियटिभ नेपालले गरेको राष्ट्रिय सर्वेक्षणमा सहभागीमध्ये करिब ८० प्रतिशतले रेडियो सुन्ने बताएका थिए । नेपाल मिडिया सर्वेक्षण २०२२ को तथ्यांकअनुसार, करिब ४५.२ प्रतिशतले रेडियो सुन्ने बताएका थिए । यी दुई तथ्यांक हेर्ने हो भने पनि रेडियोका श्रोता कम भएका हुन् कि भन्न त सकिन्छ । तर, सम्पादक कार्कीले भनेझैं सिधै रेडियो सुन्ने श्रोता कम भए पनि अडियोका श्रोता कम नभएका हुन सक्छन् । किनभने, जुनै प्रविधि आए पनि अडियो सधैं सबैका लागि प्रिय छ ।

अघिल्लो साता कान्तिपुर ‘कोसेली’ मा लेखक सुबिन भट्टराईले चालीसको अन्त्य वा पचासको दशकको सुरुमा रेडियो–प्रेम र त्यसका यादहरूबारे लेखेका थिए । त्यो बेला रेडियो भन्नु नै रेडियो नेपाल थियो । मसम्म आइपुग्दा समय थोरै बदलिएर रेडियो भन्नु एफएम रेडियो भए । ती रेडियाले थुप्रै ‘पुतली दिदी’ जन्माए । हिजोआज धेरै कुरा बदलिएका छन् । पिँढीको खोपोमा टुक्रुक्क बसेर वा पालीमा झुन्डिएर गाउँघर घन्काउने रेडियोको आवाज मलिन भइसकेका छन् । ती दिन त फर्किएर आउँदैनन्, तर त्यस्तै दिन फर्केलान् कि नाइँ ? म नोस्टाल्जिक हुन्छु र आफैँलाई सोध्छु :

— के मध्य साठीको दशकमा रेडियोका श्रोताले ‘पुतली दिदी’ भेट्न पाउँदा उज्यालिएको अनुहारको आभा पुस्तान्तरण होला ?

— रेडियोले पनि आफूलाई माया गर्ने ‘पुतली दिदी’ हरू भेटेर मक्ख पर्ने दिन फिर्ला ?

प्रकाशित : फाल्गुन ५, २०८० ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?