कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

आइभरीकोस्टको यो स्वर्णिम पुस्ता

अब उपाधिका लागि हात्ती टिम भिड्नेछ चिल टिमसँग । फाइनलको नतिजा जस्तो भए पनि आइभरीकोस्टलाई सन्तुष्टि मिल्नेछ– आखिर जे गर्‍यो, फुटबलले गर्‍यो !
हिमेश

अफ्रिकी देशका फुटबल टिमको उप–नाम पनि गज्जब गज्जब हुने गर्छ । विशेषतः जनावरसँग जोडिएर यस्ता नाम हुने गर्छन् । जस्तो बेनिनको लोखर्के, बोत्स्वानाको जेब्रा । क्यामरुनको सिंह त सेन्ट्रल डीआर कन्गोको चितुवा । यस्तै, ग्याबोनको कालो चितुवा । अनि आइभरीकोस्टको हात्ती । अझ लेसोथोको त गोही । नाइजेरियाको भने चिल । अफ्रिकी कप नेसन्स २०२४ को फाइनल आइभरीकोस्ट र नाइजेरियाबीच हुनेछ । 

आइभरीकोस्टको यो स्वर्णिम पुस्ता

यो भयो, हात्ती टिम र चिल टिमबीचको खेल । सुन्नमै मज्जा आउँछ । यहाँनिर हामीले कुरा गर्न लागेको भने हात्ती टिमको हो । त्यो भनेको आइभरीकोस्ट । यसको औपचारिक नाम भने कोट डे’ भ्वा हो । यो भयो फ्रान्सेली शब्द । यसको अर्थ लगभग हात्तीसँग जोडिन्छ । फेरि आइभरीकोस्टमा सबैभन्दा बढी पाइने जनावर भनेकै हात्ती हो । त्यसैले आइभरीकोस्टले हात्तीलाई आफ्नो प्रतीकका रूपमा मान्छ । त्यसैले पनि यसको फुटबल टिमलाई पनि हात्ती टिम भनिन्छ ।

आइभरीकोस्टका लागि हात्ती मात्र होइन्, फुटबल पनि एकताको प्रतीक हो । यस्तो किन त ? यसको एउटा बेजोड कथा छ । कुनै देशका लागि फुटबलको महत्त्व कति धेरै हुन सक्छ, यसका लागि यही कथा दोहोर्‍याएर भन्ने गरिन्छ । यो भन्ने क्रम टुट्ने पनि छैन् । कथा यसरी सुरु हुन्छ । सन् २००२ मा आइभरीकोस्ट गृहयुद्ध सुरु भएको थियो । यसले पूरा देशलाई दुई चिरा बनाएको थियो । एकातर्फ थिए, राष्ट्रपति लरेन्ट ग्याबाग्याबो । अकोतर्फ गुलिमो सोरोको नेतृत्वमा रहेका विद्रोहीहरू । सरकारको नियन्त्रणमा देशको दक्षिणी भाग थियो । उत्तरी भागमा विद्रोहीको कब्जा थियो । सरकारी पक्ष ईसाइ थिए । विद्रोही भने मुस्लिम । भाषा र समुदायले देश थप विभाजनमा थियो । गृहयुद्ध रोकिने कुनै छाँट थिएन । खुबै डरलाग्दो स्थिति थियो ।

सन् २००५ पुग्दा नपुग्दा यो गृहयुद्ध आफ्नो उत्कर्षमा थियो । त्यही बेला अफ्रिकामा विश्वकप छनोट चलिरहेको थियो । अक्टोबर आइपुग्दा छनोट अन्त्यतिर पुगिसकेको थियो । त्यसमध्ये एउटा खेल क्यामरुन र इजिप्टबीच थियो । यो खेल क्यामरुनले जिते, सिधै विश्वकपमा छनोट हुन्थ्यो । यसको अर्थ आइभरीकोस्ट बाहिरिन्थ्यो । त्यो खेल क्यामरुनले जित्न सकेन भने आइभरीकोस्टको भाग्य खुल्थ्यो । त्यतिबेलाको आइभारीकोस्टको टिम आफैंमा उम्दा थियो । खेलाडी को–को भने डिडिएर ड्रोग्बादेखि कोलो टोरे, याया टोरे, इमानुल इबोइ आदि आदि । यो टिमलाई अझै पनि आइभरीकोस्टको स्वर्णिम पुस्ता मानिन्छ ।

सबैका सबै यो पुस्ताका खेलाडीले युरोपमा खेले, नाम र दाम दुवै कमाए । जति बेला क्यामरुन र इजिप्टको खेल भइरहेको थियो, ठीक त्यही समय आइभरीकोस्ट र सुडानबीचको खेल पनि चलिरहेको थियो । यो खेल भने चाँडै सकियो, आइभरीकोस्ट ३–१ ले विजयी रह्यो । अर्को खेल भने १–१ को बराबरीमा चलिरहेको थियो । खेल सकिन केही सेकेन्ड मात्रै बाँकी छँदा क्यामरुनले पेनाल्टी पायो । यो थियो, दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा ।

खासमा यो पेनाल्टी दिनैपर्ने स्थिति पनि थिएन्, तर दिने काम भने भयो । क्यामरुनी खेलाडी खुसीले नाच्न पनि थालेका थिए । तर, क्षणभरमै स्थिति फेरियो । पिएरे ओमाको प्रहार पोस्टमा लागेर बाहिरियो । क्यामरुनी खेलाडी अब भने रुन थाले । खुसी हुने पालो आइभरीकोस्टका खेलाडीको थियो । यिनै नतिजाका कारण आइभरीकोस्ट पहिलो पटक विश्वकपमा छनोट भएको थियो । यो खबरले पूरा आइभरीकोस्टमै खुसीयाली छायो ।

ठीक यहीबेला सबैको ध्यान आइभरीकोस्टको ड्रेसिङ रुममा थियो । टीभीमा लाइभ चलिरहेको थियो । खेलाडीहरू घेरा बनाएर एकले अर्कोलाई अँगालो मारिरहेका थिए । यसबीच ड्रोग्बाले भने, ‘उत्तर, दक्षिण, मध्य र पश्चिम आइभरीकोस्टका सबै पुरुष तथा महिला । आज हामीले प्रमाणित गर्‍यौं, हामी सबैको सह–अस्तित्व छ । हामी सबैले मिलेर खेल्यौं र आइभरीकोस्टलाई विश्वकपमा छनोट गरायौं । हामीलाई विश्वास छ, यो खुसीयालीले फेरि एकपल्ट आइभरीकोस्टलाई एकजुट गर्नेछ ।’

त्यसपछि सबै खेलाडी घुँडाले टेकेर बसे, अनि ड्रोग्बाले थपे, ‘कृपया सबैले बन्दुक बिसाऔं र चुनाव गरौं ।’ लगतै सबै खेलाडीले गीत गाए, ‘हामी खुसी हुन चाहन्छौं, बन्दुकको गोलीलाई रोक ।’ ड्रोग्बा पक्का ईसाइ दिए । टोरे दाजुभाइ भने मुस्लिम । पूरै टिम यस्तै थियो । त्यो रात त्यसै बित्यो । भोलि विहान भयो । देश शान्त थियो, माहोल खुसीले भरिएको थियो । यसरी नै केही दिन बिते । तर, परिवर्तनको संकेत मिल्न सुरु भइसकेको थियो, युद्ध गरिरहेका दुवै पक्ष टेबलमा आए, कुराकानी चल्यो ।

र, अन्ततः गृहयुद्धमा पूर्णविराम लाग्यो । यो त हलिउड र बलिउडलाई पनि माथ खुवाउने हदै नाटकीय कथा रह्यो । कुरा यत्तिकैमा सकिन्न । गृहयुद्ध त सकियो, तर आर्थिक सुधारका लागि समय त लाग्ने रहेछ । फेरि यस्तो कामका लागि एउटा मोड पनि चाहिने रहेछ । त्यसैले केही वर्ष अगाडि एउटा निर्णय भयो, आइभरीकोस्टले सन् २०२४ को अफ्रिका कप अफ नेसन्स आयोजना गर्ने । यो भयो, अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ।

केही नभए पनि चार दशकपछि आइभरीकोस्टमा यो प्रतियोगिता हुने क्रममा थियो । प्रतियोगिताकै लागि भनेर एक अरब डलर त भौतिक पूर्वाधार निर्माणकै लागि खर्च गरियो । यसले देशकै अर्थ चलायमान भयो । रोजगारीको अवसर बढे । अहिले यही प्रतियोगिता सकिने संघारमा छ, खालि दुई खेल बाँकी छन् । त्यसमध्ये एउटा खेल भयो, तेस्रो स्थानका लागि । तय छ, यसमा कसैलाई रूचि हुने छैन् । सबैको ध्यान खिच्ने भनेको त फाइनल नै हो ।

यसमै भिड्ने छन्, आइभरीकोस्ट र नाइजेरिया । प्रतियोगिता सुखद हुन्, आयोजक देशको प्रदर्शन पनि उत्तिकै राम्रो हुनुपर्छ, लगभग त्यस्तै भएको छ । तर, यो पनि उत्तिकै नाटकीय रह्यो । भाग्यले साथ नदिएको भए आइभरीकोस्ट नकआउट चरण पुग्ने नै थिएन् । बल्लतल्ल लिग चरण काटेको भन्दा हुन्छ । भयो के भन्दा लिग चरणमा आइभारीकोस्ट समूह ‘ए’ मा थियो । सुरुमा गिनी बिसाउलाई त हरायो, तर त्यसपछि आइभरीकोस्ट नाइजेरियासँग पनि हार्‍यो, इक्वेटोरियल गिनीसँग हार्‍यो । यस्तोमा समूहको तेस्रो स्थानमा रह्यो ।

प्रतियोगिताको नियम के थियो भने प्रत्येक समूहको तेस्रो स्थानमा रहनेमध्ये चार टिम पनि नकआउट चरण पुग्ने छन् । आइभरीकोस्ट यही सूचीको पनि चौथो स्थानमा रह्यो । खासमा आइभरीकोस्ट प्रतियोगिताबाट बाहिरिने स्थितिमै थियो । अर्को समूहको एउटा खेल घाना र मोजाम्बिकबीच थियो । त्यसमा एक समय घाना २–० ले अगाडि थियो । त्यो स्थितिमा आइभरीकोस्टको स्थानमा घाना नकआउट चरण पुग्थ्यो ।

तर, खेल सकिन केही सेकेन्ड मात्रै बाँकी छँदा मोजाम्बिकले दुई गोल फर्कायो । नतिजा खेल बराबरीमा टुंगियो । यस्तोमा घानालाई उछिनेर आइभरीकोस्ट अन्तिम १६ मा पुग्यो । त्यहाँ उसले सुरुमा सेनेगलको चुनौती काट्यो । यो खेलमा आइभरीकोस्ट टाइब्रेकरमा विजयी रहेको हो । सेनेगेल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियनका रूपमा प्रस्तुत भएको थियो । उसलाई घर फर्काउने काम आइभरीकोस्टले नै गर्‍यो । त्यसपछि क्वाटरफाइनलमा उसले मालीलाई अतिरिक्त समयको खेलमा हरायो ।

सेमिफाइनलमा भने आइभरीकोस्टले डीआर कन्गोलाई हरायो । यो भनेको चितुवाको टिममाथि हात्तीको टिमको जित रह्यो । संयोग कस्तो पनि रह्यो भने फाइनलमा उसको सामना त्यही नाइजेरियासँग हुनेछ, जसले उसलाई लिग चरणमा हराएको थियो । भनेपछि लिग चरणमा एउटै समूहका रहेका टिम फाइनल पुगे । त्यसैले अब हात्ती टिम उपाधिका चिल टिमसँग भिड्ने छ । फाइनलको नतिजा जस्तै रहे पनि आइभरीकोस्टलाई एक थोकमा सन्तुष्टि रहनेछ, जे गर्‍यो, फुटबलले नै गर्‍यो ।

प्रकाशित : माघ २७, २०८० ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?