कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

‘वन लभ’ भित्रको विद्रोही आवाज 

बब मार्ली एक पौराणिक कथा थिए, जसको संगीत आज पनि अर्थपूर्ण र लोकप्रिय छ । 
शैलीका छेत्री

जनचेतना, अधिकार र सामाजिक न्यायसम्बन्धी गीत गाएर विश्वचर्चित बनेका जमैकन मूलका संगीतकर्मी एवं रेगे विधाका प्रमुख प्रचारक बब मार्लीको जीवनीमा आधारित म्युजिकल ड्रामा फेब्रुअरी १४ मा रिलिज हुादै छ । रेइनाल्डो मार्कस ग्रिनले निर्देशन गरेको ‘बब मार्ली : वन लभ’ मा किंग्स्ली बेन–अदिरले मार्लीको भूमिका निर्वाह गरेका छन् ।

‘वन लभ’ भित्रको विद्रोही आवाज 

सो फिल्मका निर्माता मार्लीका छोरा जिग्गी हुन् भने अभिनेता ब्राड पिट कार्यकारी निर्माता । सन् १९४५ फेब्रुअरी ६ मा जन्मिएका मार्ली ‘बफेलो सोल्जर’, ‘गेट अप स्ट्यान्ड अप’, ‘नो वुमन नो क्राई’ जस्ता जागरण गीतका लागि कहलिएका छन् ।

गत वर्ष म भावनात्मक रूपमा एक्लोपनसित लडिरहेकी थिएँ । त्यो एक्लोपन आध्यात्मिक भोकजस्तै गहिरो थियो । त्यही गहिराइमा हो, मैले आफूलाई पुनःस्थापित गर्न सकेको । तर, त्यो एक्लोपनको शून्यता यस्तो पीडादायी अनुभूति रह्यो नि, त्यहाँ म एकक्षण मात्रैका निम्ति पनि कसैको संगत पाउने तृष्णामा छटपटिरहेकी हुन्थें । त्यो कष्टकर छटपटाइमै हो, मलाई संगीतसित प्रेम भएको र संगीतले पनि मलाई एक्लोपनको समस्याबाट टाढा राख्दै, त्यस्तो दृष्टि दिएको, जसलाई मबाट कसैले खोस्न सक्दैन ।

कतै पढेकी थिएँ, संगीतले दिमागमा गहिरो प्रभाव पार्छ । संगीतका विभिन्न शैलीले व्यक्तिको मुडमा चाँडै महत्त्वपूर्ण प्रभाव पार्न सक्छ र यसले व्यक्तिलाई आनन्ददेखि उत्साह, साथै उदासी, शान्त र विचारशील भावनाको विस्तृत शृंखला पनि अनुभव गराउँछ । त्यसैले त, संगीत बनाउनु पनि संगीत सुन्नुजत्तिकै लाभदायक हुँदो हो । त्यस्तो भए, संगीत पनि यौगिक कला रहेछ । तर, कला नाङ्गोपनको यथार्थदेखि सुरु भएको वरदान हो । प्रस्तर युगमा जतिखेर मान्छे नाङ्गा थिए, त्यो नाङ्गोपन ढाक्ने प्रचेष्टामा कला सुरु भएको थियो । त्यो जटिलतम परिस्थिति यस्तो बर्बरता प्रमुख थियो, त्यहाँ कलाले आफ्नो उपस्थिति चियाउने मौका पाउनु भनेको कोइलाको विराट् राशिभित्र हीरा भेटाए समानको जटिल कुरा थियो ।

त्यसैले पुरातन समाजमा जतिखेर कलाको सौन्दर्यमा परिमार्जित मानव सभ्यताले शान्तिको सास फेर्ने युग आयो, त्यतिबेलादेखि मात्रै हो– आदिम सभ्यतामा कलाले मस्तिष्कको आनन्द र गहिराइमा बास पाएको । र, कला मूर्तदेखि अमूर्ततर्फ पाइलो सार्दै गएको, बिस्तारै आदिम गुफाको ढुङ्गे भित्तामा संकेतहरू कोर्दै सभ्यताहरूले पहिलो पटक संगीत सुरु गरेको । त्यसपछि बालकले दूध चुस्नेबित्तिकै जसरी कलात्मक प्रवृत्तिलाई आफ्नो विचार–परिधिमा जोड्छ, संगीत उस्तै प्रमुख विषय बन्दै संस्कृतिम समावेश भयो ।

गत वर्षको त्यो भयंकर एकाकीपनमा मलाई म्युजिक–जिनियस, रेगे लेजेन्ड बब मार्लीको गीत र उनको रास्ताफेरियन जीवनले खुब प्रभाव पार्‍यो । हो, उही बब मार्ली, जसको अनुहार टी–सर्टहरूमा वा छात्रावास, होटल वा घरका कोठामा पोस्टर बन्छन् । एस्ट्रे, रोलिङ पेपर र बब मार्ली टोपी, जसले रास्ता रंगमा सबैभन्दा ठूलो रेगे सुपरको पोर्टेट फिचर गरिरहन्छ । त्यही स्टार, जो ‘स्टारहरू’ ले भरिएको दशकमा सबैभन्दा विश्वस्त र रोमाञ्चक स्टार बने । ठीक बुझ्नुभो, म त्यही बब मार्लीको कुरा गर्दै छु, जो ७० को दशकमा सबैभन्दा आकर्षक रकस्टार थिए, जसको संगीत–शैलीमा रेगे, स्का, रङ्क र रास्ताफेरियनवादजस्ता विभिन्न विधा मिसिएका थिए । हो, बब मार्लीको संगीतमा विशेष जादु छ ।

बब मार्लीले कतै भनेका थिए, ‘संगीतबारे एउटा राम्रो कुरा, जब यसले तपाईंलाई हिर्काउँछ, तपाईंलाई कुनै पीडा महसुस हुँदैन ।’ सायद संगीतप्रति बब मार्लीको त्यो इमानदार प्रेम थियो, जसले रेगे संगीतलाई लोकप्रिय बनायो र त्यही संगीतमार्फत बबले समस्याग्रस्त मातृभूमि जमैकाको सत्यतालाई जनश्रोतासम्म ल्याए । मार्लीको रेगे गीतले जमैका, अमेरिका, इङ्ल्यान्ड र युरोपबाहिरका मानिसबारे सत्यहरू बोल्ने तरिका खोजिरहेको थियो । बब परिचित सिमाना बाहिरको संसारका लागि पनि बोल्न चाहन्थे– एक संसार, जसबारे मार्लीका श्रोतालाई पर्याप्त थाहा छैन ।

त्यसैले सायद, गत वर्षदेखि म बब मार्लीका प्रत्येक गीतको पक्का फ्यान बनें । त्यस्तो फ्यान, जो मार्ली–गीत सुन्नेहरूसित पनि आत्मीय अनुभव गर्न थाल्यो । सायद त्यही कारण रास्ताफेरियनवादसित बाँचिरहेकी एलिनालाई दार्जिलिङमा लामा वर्षहरूपछि अचानक भेट्दा मेरो खुसीको सीमै थिएन ।

त्यो पुसको चिसो रात थियो । कोठाको अँध्यारो भित्तामा बाहिरको चन्द्रमाको उज्यालो प्रतिबिम्बित भइरहेको थियो भने सुनसान आकाशमा ताराहरू पुसको चिसोमा काँपिरहेका थिए । तर, त्यस्तो चिसोमा पनि मेरो कोठा बब मार्लीका चाखलाग्दो गफमा डम्म सल्किइरहेको थियो । एलिनाले बात गर्दागर्दै गाँजाको चुरोट झिकिन् । मलाई थाहा थियो, एलिना औधी गाँजा पिउँछिन् । म गैरी स्टिकलको किताब ‘बब मार्ली’ पढ्न थालेँ, पढ्दापढ्दै एक जग्गामा क्यालिफोर्नियामा बसोबास गर्ने, काठमाडौँका सञ्जीव देवको भनाइ पढेँ, ‘नेपालमा मानिसले बब मार्लीलाई मनमा बसाएका छन् भने कतिले बबको रास्ता विश्वासलाई आत्मामा छापेका छन्, वास्तवमा रास्ताको हिन्दी अर्थ हो बाटो, जसले अध्यात्मको यात्रातिर प्रेरित गर्छ । आजको दशकमा बब मार्ली, नेपालमा एक पवित्र तपस्वी मानिसका रूपमा पुजिन्छन् । त्यसैले बबको संगीत यस विश्व रहुन्जेल जीवित नै रहनेछ ।’ किताब पढिसक्दानसक्दै, एलिनाले सिंगो चुरोट आधा पारिन् र मेरो मुखभरि गाँजाको धूवाँ उडाउँदै अचानक मार्लीको गीत गाउन थालिन्–

म अन्धो रहुन्जेल म धूम्रपान गरी गाँजा खान्छु

गाँजा... गाँजा...

फेरि, चुरोट तानिन् र छेउमा खरानी उडाउँदै मार्लीका शब्द दोहोर्‍याउँदै भन्न थालिन्, ‘तिमीले गर्ने सबै दुष्टता, जडीबुटीले आफैंलाई र तिम्रो विवेकलाई प्रकट पार्छ । आफैंलाई स्पष्ट देखाऊ– किनकि जडीबुटीले तिम्रो ध्यान दिन्छ । यो प्राकृतिक रूप मात्रै हो र यो रूखजस्तै बढ्छ ।’

वास्तवमा बब मार्ली गाँजाबाहेक सबै धूमपानविरुद्ध थिए । त्यसैले भन्ने गर्थे, ‘जडीबुटी राष्ट्रको उपचार हो, रक्सी विनाश हो ।’ साथीको मुखको कुनामा निरन्तर बलिरहेको थियो चुरोट र जब ऊ एउटा चुरोट समाप्त पार्थी, अर्को बालिहाल्थ्यो । तर, खोइ मलाई चाहिँ गाँजामा उति चासो लागेन । बरु म यसको अमिलो धूवाँमा उकुसमुकुस निस्सासिँदै सोच्न बाध्य बने, के साँच्चै बब मार्ली गाँजाको गड फादर मात्र थिए होलान् ? पक्कै होइन । मार्लीको संगीतको मर्म धेरै कमले बुझेका छन् । प्रायःले उनको टी–सर्ट लगाएर अनुहारमा अनन्त मुस्कान बोक्दै, उनको नाममा गाँजा–चुरोट सल्काउँदै उनलाई विन्दासपनसित जोडेर हेर्छन् । तर, उनी गाँजाको धूवाँभन्दा पर, सबै समयको सबैभन्दा विश्वव्यापी प्रिय संगीतकार हुन् र धेरै अन्य कलाकारभन्दा मानवतासँग सम्बन्धित मानिस । २० वर्षे करिअरको प्रत्येक चरणमा संगीतको माध्यमबाट मानव जातिको ठूलो हिस्सालाई असर पारे उनले । उनको सन्देश सरल थियो– एक प्रेम ।

सन् १९७७ मा एल्बम ‘एक्सोडस’ रिलिज भएको, यो कालातीत ट्र्याक विश्वभर शान्ति र एकताको गीत बन्यो । सायद, यस्तै ‘एक प्रेमको’ अवधारणामा नेपाल पनि कायल बन्यो । नेपालमा अन्नपूर्ण सर्किट हुँदै पैदलमा र स्वयम्भूनाथमा एकजना व्यापारीले माला बेच्न राखेको ट्रेमा लेखेको भेटिँदोरहेछ– ‘बी मार्लीको नाममा रास्ताफरी !’ मन्दिरबाट अलिकति तल जाँदा मार्लीको फोटो भित्ताभरि सजिएको भेटिँदो हो । बसको सवारीमा पनि मार्लीको फोटो–साथ तीन रङ (हरियो, पहेँलो, रातो) पोतिएको र जिप सवारीमा पनि ‘एक प्रेम’ लेखिएको प्यानल झुन्डिएको । फेरि ठमेल, काठमाडौंको त्यो रेगे बार, जसको भित्ताभरि बब मार्लीको पोस्टरले बारकै सम्पूर्ण वातावरणमा जीवन थपिरहेको रमणीय दृश्य ! क्लासिक रक अनि रेगे संगीतमा रमिरहेको मादक वातावरण झन् अझ मनमोहक बन्दो हो ।

हो त्यही रेगे बारमा ‘चिकन कर्डन’ खाँदै एलिनाले गत वर्ष मलाई मेसेन्जरमा भिडियो कल गर्दै भनेकी थिइन्, ‘तिमीलाई थाहा छ ? अन्नपूर्ण सर्किट वरिपरि हिप्पी ट्रेलहरू पछ्याउँदै जिमी हेन्ड्रिक्स नेपाल आएका थिए । जिमी जोमसोमको एउटा होटलमा बसेका थिए, जसलाई हाल ‘ठक खोला लज एन्ड जिमी हेन्ड्रिक्स रेस्टुरेन्ट’ भनिन्छ । त्यहाँको रुम नम्बर ६ मा बस्ने आग्रहमा छेउको साइनबोर्डमा लेखिएको छ, ‘जिमी हेन्ड्रिक्सको रुममा, एउटै लजमा बस्ने मौका ।’ त्यसको छेउ ढुंगामा पनि लेखिएको रहेछ– यदि मैले तिमीलाई यस संसारमा नदेखे भने अर्कोमा देख्नेछु ढिलो नगर । – जिमी हेन्ड्रिक्स ।

उस्तै रेगे–राजा बब मार्ली मुक्तिनाथको भ्रमणमा ७० को दशकमा पुगेका थिए भनिन्छ । र, यस्तो पनि भनिन्छ– मुक्तिनाथमा एक होटलमा उनी बसेका थिए, जसलाई हाल, ‘बब मार्ली रेस्टुरेन्ट’ भनिँदोरहेछ । तर, यी विषयको पक्का तथ्य भेटिँदैन । त्यो किंवदन्ती मात्र पनि हुन सक्छ । तर, नेपालमा फ्रिक स्ट्रिट अर्थात् झोंछे टोल (काठमाडौं दरबार स्क्वायरको दक्षिणीतर्फ वसन्तपुरमा अवस्थित सडक) साठीको दशकमा विश्वभरि हिप्पीका लागि तीर्थस्थल समान थियो । त्यहाँ लगभग सबै पसललाई कानुनी रूपमै गाँजा बेच्ने सरकारी प्रमाणपत्र दिइएको थियो । साठी र सत्तरको दशकमा नेपाल पश्चिमी देशसित व्यापारका निम्ति खोलिँदै थियो । त्यसैले होला त्यहाँको वातावरणमा सांस्कृतिक सम्मिश्रणको प्रभाव पर्दै आएको । र, हुन सक्छ ७० र ८० को दशकको उत्तरार्द्धमा केही संगीतले पनि नेपाली युवामा बलियो असर छोडेको थियो, जतिखेर पश्चिमी संसारमा लेड जेप्पेलिन, डिप पर्पल, द बिटल्स, जिमी हेन्ड्रिक्स, बब डायलन, बब मार्ली इत्यादि ब्यान्ड र रकस्टारको बोलवाला थियो ।

नेपाल विश्वमा चलिरहेको हिप्पी संस्कृतिको साक्षी बनिरहेको थियो । ‘हिप्पी संस्कृतिको प्रभावलाई अहिले पनि मुक्तिनाथको बब मार्ली रेस्टुरेन्ट, त्यहाँ पाइने रेगे टोपी, झोला, बब–मार्ली टी–सर्ट, सयौं सवारीमा कोरिएका बबका अनुहारहरूले साँचेर राखेको छ,’ एलिनाले यति भनिसक्दा नसक्दै रेगे बारको पृष्ठभूमिमा बब मार्लीको चर्चित गीत ‘स्टिर इट अप’ बज्यो । यो गीत सकिनेबित्तिकै त्यहाँ बज्न थाल्यो, ‘नो वुमन नो क्राई’ । प्रायः यस गीतलाई प्रेमगीतका रूपमा गाउँछन्, तर यसको वास्तविक अर्थ गहिरो छ । यसले प्रेमभन्दा बढी आशाको विषयवस्तु छुन्छ । मुख्य रूपमा गरिबीसँग बाँचिरहेका व्यक्तिका संघर्ष र अनुभवको कथा यसको केन्द्रमा छ ।

यस गीतको प्रेरणा पक्कै बब मार्ली जमैकाको किङ्स्टनमा रहेको गरिबीले ग्रस्त क्षेत्र ट्रेन्चटाउनमा हुर्केको स्वयम्को अनुभव थियो । ‘नो वुमन, नो क्राई’ भनाइले पुरुष एक्लै हुँदा र उसको छेउ महिला नहुँदा उसले आँसु बगाउनुको कुनै अर्थ हुँदैन भन्दै आफूमा आत्मीय बल खोज्ने र प्रतिकूलताको सामना गर्ने विचार व्यक्त गर्छ । नियतिले भिसाका निम्ति रोबर्ट नेस्ता मार्लीको नाम बब मार्ली भएको थियो, जमैकन अध्यागमन अधिकारीको दबाबमा बदलिएको । बब मार्ली सन् १९६६ मा फिलडेल्फिज, संयुक्त राज्य अमेरिकामा आमा सेडेलालाई भेट्न गए । त्यो फिलडेल्फिजको अत्यन्त चिसो शुक्रबारको एक दिन थियो । त्यो चिसोमा बब मार्ली थोरै कपडामा आफ्नो गरिबी ढाक्दै एउटा स्थायी नोकरीको खोजीमा पुगेका थिए ।

आमा सेडेलाले विल्मिङ्टन वाटरफ्रन्टको पानीजहाजमा कुल्ली कामका निम्ति मिस्टर बुकरसँग मार्लीको कुरा गरिन् । त्यो कामका निम्ति बलियो व्यक्तिको खाँचो थियो, तर बब मार्ली थिए– फुटबल खेल्ने छरितो, दुब्लो २१ वर्षे केटा । छोरालाई बलियो देखाउन आमाले लुगाका परत शरीरभरि टाँसिदिइन्, तर त्यो तरिकाले काम गरेन । फिलडेल्फिजको चिसोमा साँझतिर बब मार्ली घर फिरे र भने, ‘म कुल्लीका निम्ति ठीक छैन भन्दै हाकिमले पानीजहाजबाट निकालिदियो ।’

त्यसपछि बब मार्लीले सन् १९६६ मा क्रिसलर कारखाना नेबार्क, संयुक्त राज्य अमेरिका र डुपोन्ट प्रयोगशालामा सहायकका रूपमा एक वर्षसम्म काम गरे । त्यो समय थियो– अमेरिकाको राजनीतिक उथलपुथल, ब्ल्याक प्यान्थर्सको उदय, माल्कम एक्स, मार्टिन लुथर किङको प्रभाव र जातीय स्वतन्त्रताका लागि बढ्दो आन्दोलनको । बब मार्लीले रंगभेदका कारण नस्लवादको सामना गरे । नस्लवादको चपेटामा उनको दार्शनिक–राजनीतिक आदर्शवादलाई धेरै प्रभाव पार्‍यो ।

त्यसपछि मार्लीको भिसा सकियो र संगीतका निम्ति जमैका फर्किए । त्यहाँ उनले आफूले भोगेको नस्लवाद दर्शाउँदै गीतहरू लेखे । यसैक्रममा मार्लीले ‘बफेलो सोल्जर’ लेखे । यस गीतले अश्वेतमाथिको उत्पीडन र असमानता, जातीय अन्याय र सामाजिक–आर्थिक असमानताको यथास्थितिविरुद्ध लड्दै अमेरिकामा स्वतन्त्रता प्राप्त गर्न र डायस्पोरामा बाँचिरहेका अफ्रिकी–अमेरिकी सैनिकको अनुभवको कथा बोलिरहेको थियो ।

सन् १९७८ मा जिम्बाब्वेको स्वतन्त्रताका लागि मनाइएको त्यो उत्सव मार्ली र वेलरका निम्ति धेरै यादगार बन्न पुग्यो । त्यो रंगभेदविरुद्धको गृहयुद्ध थियो । मार्लीलाई व्यक्तिगत रूपमा त्यस समारोहमा गीत प्रदर्शन गर्न निमन्त्रणा गरिएको थियो । समारोहमा बब मार्लीले ‘आई सट द शेरिफ’ गीत गाएका थिए, जुन सन् १९७३ को ‘बर्निन’ एल्बमको चर्चित ट्र्याक थियो । गीतले भन्थ्यो, ‘म भन्न चाहन्छु– मैले पुलिसलाई गोली हानेँ, तर सरकारले गडबड गर्‍यो, त्यसैले बरु मैले शेरिफलाई गोली हानेँ... त्यही न्यायको विचार थियो ।’

यो गीत गाएपछि जिम्बाब्वेको समारोहमा दंगा मच्चियो । धुन सकिएपछि सबै ठाउँबाट मानिसहरू सडकमा दौडिरहेका देखिन्थे । स्टेडियमका पर्खालहरूमा आँसु–ग्यास फ्याँकियो, त्यहाँ केही टाढा युद्ध शिविरका कैदी पनि थिए । तिनीहरूमध्ये ७ हजारले स्टेडियममा आउन जेल तोडे । मानिसको भीडले स्टेडियमको गेट भत्काए अनि सबैले बब मार्लीको गीत ‘आई सट द शेरिफ’ गाउन थाले । त्यसपछि, संसारले बब मार्लीलाई अझै चिन्यो । त्यतिबेलासम्म बब मार्ली सामयिक, व्यक्तिगत, स्थानीय, अन्तर्राष्ट्रिय, सामाजिक र राजनीतिक मद्दाहरूमा साहसपूर्वक टिप्पणी गर्ने सचेत एक मास्टर कम्युनिकेटर बनिसकेका थिए । मार्ली भन्ने गर्थे, ‘आफैंलाई न्याय नगरेसम्म न्याय खोजिबस, ‘म कालो मानिसको पक्षमा उभिन्न, म गोरा मानिसको पक्षमा पनि उभिन्न, म ईश्वरको पक्षमा उभिनेछु ।’

तर, बबको जीवन ईश्वरले छोटो निर्धारित गरे । बब मार्लीलाई घातक मेलानोमा (छालाको क्यान्सर) भएको निदान गरिएको थियो । डाक्टरले फुटबल खेलर घाइते भएको उनको औंलामा घाउ फेला पारेपछि त्यो औंला काट्न सिफारिस गरे । तर, बब मार्ली रास्ताफेरियन धर्मका सिद्धान्त दृढतापूर्वक पालन गर्ने विश्वासी थिए र शल्यक्रियाको विरोध गरे । त्यति नै बेला मार्लीले ‘रिडेम्पसन’ गीत गाए । मार्लीलाई निश्चित थाहा थियो– यो उनको अन्तिम रेकर्डेड गीत हुनेछ । त्यसैले ‘रिडेम्पसन’ उनको अन्य रेकर्डिङभन्दा बेग्लै छ– रेगे बिट्सको सट्टा उनले एक्लै ध्वनिक गितारसँगै यो गाएका छन् । दासत्वबाट स्वतन्त्र बन्ने गीत हो यो । यो गीतले बब मार्लीको भनाइ, ‘मानसिक दासत्वबाट मुक्त बन्न आफूबाहेक अरू कसैले पनि दिमाग मुक्त गर्न सक्दैन’ भन्ने सन्देश बारम्बार दोहोर्‍याइरहन्छ ।

बब मार्ली ड्रेडलक कपाल, नीलो जिन्स र टि–सर्ट वा रेट्रो खेलकुद वा डेनिमको साथ सलोच टोपी, ब्रिम्स र बिनी लगाएका सुन्दर रक स्टार थिए । बब एक पौराणिक कथा थिए, जसको संगीत आज पनि अर्थपूर्ण तथा लोकप्रिय छ ।

बब मार्ली वरपरका धेरै चिजबाट प्रेरित भए, त्यसैले उनले जीवनलाई अवलोकन गरे । बबलाई होप रोडमा राजनीतिक रूपमा प्रेरित हत्याको प्रयासमा आक्रमण गरियो, जसमा उनको छाती र हातमा गोली लाग्यो । दुई दिनपछि ‘स्माइल जमैका कन्सर्ट’ मा उनी स्टेजमा गए, ब्यान्डेज लगाएर उनले खुब गाए । एक वर्षपछि बब मार्लीले जमैकामा ‘वन लभ पिस कन्सर्ट’ गरे । कन्सर्टमा दुई प्रतिस्पर्धी पार्टीका नेतालाई स्टेजमा ल्याए, जतिखेर जमैका गृहयुद्धले तड्पिरहेको थियो । बबले शान्तिको अपिलमा ‘जैमिन’ गीत गाउँदै दुई पार्टीको हात मिलाइदिए । त्यो अत्यन्त प्रभावशाली घटना थियो । त्यस रात स्टेजमा बब मार्लीको ऊर्जा साँच्चै पौराणिक देखिन्थ्यो ।

गत वर्ष बब मार्ली मेरा निम्ति त्यो एक्लोपनको दासत्वबाट मुक्ति दिने, दार्शनिक कलाकार बनेका थिए । त्यसैले आज मेरो कोठाका भित्ताहरू उही बब मार्लीका पेन्टिङले सजिएका छन् । र, मेरो कोठामा बजिरहेको हुन्छ, बब मार्लीका गीतहरू– ‘तस्बिर’ ‘ट्रेन्च टाउन रक’, ‘गेट अप स्ट्यान्ड अप’, ‘कङ्क्रिट जंगल’, ‘क्याच ए फायर’, ‘रास्तामान भाइब्रेसन’, ‘नेचुरल मिस्टिक’, ‘लाइभली अप युरसेल्फ’, ‘नेटी डर’, ‘नो मोर ट्रबल’ !

यो आलेख लेख्दै गर्दा मेरोछेउ टेबलमा स्टेफेन्सको किताब ‘द ओरल हिस्ट्री अफ बब मार्ली’ छ, जहाँ रेगे किंवदन्तीको सुविधाजनक बिन्दुबाट पर ३६० डिग्री कोणमा लेखिएको बब मार्लीको जीवनी छ । किताबमा चार दशक अवधिमा बब मार्लीसँग नजिक भएका ७५ व्यक्ति (परिवार, साथी, छिमेकी, संगीतकार) सँग मार्लीबारे अन्तर्वार्ता छ । सोचिरहेको छु, यो किताब पढेपछि झन् छेउबाटै बुझ्नेछु– रेगे लेजेन्ड बब मार्लीलाई ।

प्रकाशित : माघ २७, २०८० ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?