कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

आधा नायक, आधा खलनायक ! 

आफूविरुद्ध फतवा जारी भइसकेपछि रुस्दीले विश्वभरका मुस्लिम समुदायसाग क्षमा मागे । तर, उनका किताब जलाइएनन् मात्रै, किताबसँग सम्बन्धित सबै जना सत्ता र समुदायको निसाना बने ।
रुस्दी त्यस्ता पात्र हुन्, जो झन्डै दुई तिहाइ विश्वका निम्ति ‘नायक’ बने, एक तिहाइ मुस्लिमका निम्ति ‘खलनायक’ । उनको जीवन सनसनीपूर्ण ‘थ्रिलर’ सिनेमाजस्तै हो । 

भारतीय मूलका बेलायती–अमेरिकी उपन्यासकार सलमान रुस्दी २०औं शताब्दीको उत्तरार्द्धदेखि आजसम्म विश्व साहित्यिक कित्तामा आफ्नो जब्बर उपस्थिति र प्राज्ञिक प्रभुत्व कायम राखिराख्न सफल एक हक्की लेखक हुन् । सन् २०२२ को अगस्टमा पछिल्लो पटक संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रुस्दीमाथि ज्यानै लिने उद्देश्यले एकजना लेवनानी–अमेरिकी मुस्लिम दुराग्रहीबाट सांघातिक हमला भयो ।

आधा नायक, आधा खलनायक ! 

उनले एउटा आँखाको दृष्टि नै गुमाउनुपरेको सो हमला सतहमा त एका ‘निडर’ लेखकमाथि गरिएको थियो, तर एकजना लेखकमाथिको हमलाको रूपमा मात्रै उक्त हमलालाई बुझियो वा व्याख्या गरियो भने आधुनिक विश्वको सांस्कृतिक विकास र सभ्यतामाथि अन्याय हुन जान्छ । आजको परिष्कृत र विद्वत् सामाजिक उच्चताको समयमा वैचारिक र प्राज्ञिक स्वतन्त्रतासहित हरकोही व्यक्तिले अभ्यास गर्न पाउने कतिपय आधारभूत नैसर्गिक अधिकारको सवाल पनि सँगै गाँसिएर आउने भइहाल्यो ।

उक्त हमलाको सतहमा देखिने प्रथम दृष्टियुक्त तथ्य भनेकै रुस्दीसितको ‘मुस्लिम सत्ता’को मानसिक त्रास र हतासपन हो । रुस्दीले मुस्लिम समुदायको पवित्र धर्मग्रन्थ ‘कुरान’माथि गर्दै आएको वा थप गर्न सक्ने औपन्यासिक व्याख्या वा निजी पुनर्बोध जसले पैगम्बर मोहम्मदलाई ‘मानवीकरण’ मात्रै नभई ‘दानवीकरण’ नै गरिदिने जगजगी बढाउँदै लगेको मुस्लिम धार्मिक सत्ता ठान्छ । यसका निम्ति मुस्लिम विश्व उनीसित कति त्राहीमाम छ भन्ने अन्दाज उनको ज्यानै लिने प्रयत्नसहितका हमला शृंखलाबाट पनि लगाउन सकियो ।

खासगरी, मुस्लिम विश्व रुस्दीले सोच्ने विचार, बोल्ने भाषा र लेख्ने ‘कन्टेन्ट’सित त्रस्त रहिरहनुको अन्तर्य के हो भने, रुस्दीलाई गैरमुस्लिम वा बाँकी विश्वले मज्जाले सुन्छ र पत्याउँछ जति मुस्लिम विश्वलाई गैरमुस्लिम वा पश्चिम विश्वले सुन्दैन र पत्याउँदैन पनि । हुन त, कुनै पनि धर्मप्रतिको अति आस्था एकखाले ‘सांस्कृतिक दुर्व्यसन’ नै हो । यसको तर्कशास्त्रीय वा निष्पक्ष प्राज्ञिक व्याख्या के हो भने समाजलाई बाँधेर राखेको सांस्कृतिक अनुबन्धनलाई धर्मान्धता वा धार्मिक कट्टरताको रापले खियाउँदै लैजान्छ र त्यसले अन्ततः समाजलाई जस्तो अवस्थामा रहिरहनुपर्ने हो, सो सामाजिक परिपथबाट सांस्कृतिक मनोमालिन्यउन्मुख तुल्याइदिन्छ ।

मुस्लिम परिचय बोकेको मुस्लिम वंशको खुन (रुस्दी) पश्चिमा राष्ट्रको शरणमा रहनु, तिनकै मानो खानु र तिनैको ‘गीत गाउनु’ मुस्लिम विश्वको निम्ति ‘अजीर्ण’ भए बराबर हो । यसबाट मुस्लिम विश्वले एकखाले मानमर्दनबोध गर्दै आएको स्पष्ट हुन्छ । पश्चिम विश्व त दशकौंदेखि ‘इस्लामोफोविया’को रन्किँदो भुंग्रोमा रापिँदै आएको छ । ९/११ मा भएको अमेरिकी ‘ट्वीन टावर’ हमलापछि पश्चिमी आँखाले हरकोही मुस्लिम अनुहारमा ‘आतंककारी’को कठोर र विद्रुप तस्बिर देख्दै आएको छ ! आजसम्म मुस्लिम विश्वलाई समष्टिगत रूपमा हेरिने पश्चिमा ‘नजरिया’ र गरिने ‘व्यवहार’ स्वयं उक्त तथ्यको पुस्ट्याइँ हो । यो त राजनीतिक सत्ताको कुरा भयो । पश्चिमा बौद्धिक–प्राज्ञिक सत्तासमेतले मुस्लिम साहित्य र संस्कृतिलाई अझै पनि सम्मानजनक दृष्टिले हेर्दैन । यी चिजप्रति उनीहरूको बनिबनाउ धारणा छ, जुन मूल्यमा आधारित छैन । त्यो मुस्लिम विश्वको निम्ति मान्य हुने कुरा भएन ।

यसैबीच, सन् १९८८ मा जब रुस्दीको ‘द स्याटनिक भर्सेस’ प्रकाशित भयो, यसले मुस्लिम धर्म र सांस्कृतिक मर्ममा प्रहार गर्दै उक्त समुदायमाथि गहिरो ठेस पुर्‍याएको ठानियो । उक्त किताब र रुस्दीमाथि विश्व मुस्लिम समुदायको आक्रोश खनिनुको पछाडिको मुख्य कारणमध्ये थियो, मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको ‘मानहानि’ ! रुस्दीले पैगम्बर मोहम्मदलाई ‘सैतानीकरण’ गरेको मुस्लिम समुदायको ठहर थियो । किनभने, मुस्लिम धर्मले पवित्र धर्मग्रन्थको निजी व्याख्या गर्ने छुट आफ्नै समुदायकै भए पनि कसैलाई दिँदैन । पाकिस्तानले ‘द स्याटनिक भर्सेस’मा तत्काल प्रतिबन्ध लगायो ।

बंगलादेश, सुडान, दक्षिण अफ्रिका, मलेसियालगायत अन्य मुस्लिम मुलुकहरू पनि यो सूचीमा सामेल भए । ‘इस्लामिक फाउन्डेसन अफ् लेइचेस्टर’ नामक एउटा संगठनको अगुवाइमा बेलायतमै पनि उक्त किताबमाथि प्रतिबन्ध लगाउने प्रयत्न भयो । त्यसो त गैरमुस्लिम मुलुक भारतमै पनि तत्कालीन राजीव गान्धी प्रशासनले ‘द स्याटनिक भर्सेस’माथि प्रतिबन्ध लगायो । इरानका तत्कालीन सर्वोच्च नेता आयातोल्लाह खोमेनीले त सन् १९८९ को फेब्रुअरी १४ मा ‘रुस्दीको टाउको छिनाल्नेलाई इनाम दिने’ फर्मानसहित उनीविरुद्ध ‘फतवा’ जारी गरे । ताकि उप्रान्त मुस्लिम धर्मलाई ‘अपमान’ गर्ने दुस्साहस कसैले गर्न नसकोस् !

रुस्दीले आफूविरुद्ध ‘फतवा’ जारी भइसकेपछि विश्वभर रहेका मुस्लिम समुदायप्रति क्षमायाचना पनि गरे । तर, क्षमायाचनाले रुस्दीले गरेको धार्मिक अपमानको शोधभर्ना हुन नसक्ने तर्क सर्वोच्च नेता खोमेनीको थियो । विश्वका कतिपय सहर र स्थानमा रुस्दीविरुद्ध हिंसात्मक प्रदर्शनहरू भड्किए । किताबहरू जलाइएनन् मात्रै, किताबसँग सम्बन्धित जोकोही पनि मुस्लिम सत्ता र समुदायको निसाना बन्यो । अमेरिकाको न्युयोर्कस्थित एउटा साप्ताहिक पत्रिका ‘द रिभरडेल प्रेस’ले पाठकले ‘द स्याटनिक भर्सेस’ पढ्न पाउनुपर्ने अभिमतसहितको सम्पादकीय लेखेकै कारण उक्त पत्रिकाको कार्यालय ध्वस्त पारियो ।

यसैबीच, पश्चिमा विश्व र मुस्लिम विश्वबीच वैश्विक राजनीतिक टकराव देखियो । सन् १९८९ को मेमा बेलायतले रुस्दीलाई दिएको शरण र संरक्षणको विरोध गर्दै लेबनानमा ज्याकी म्यान नामक एकजना बेलायती ‘रोयल एयरफोर्स’का पाइलटलाई अपहरण गरी साढे दुई वर्षसम्म नजरबन्दमा राखियो । सन् १९९१ मा जापानी अनुवादक हितोसी इगाराशीको हत्या भयो भने इटालियन अनुवादकलाई पनि छुरा प्रहार गरियो । रुस्दीका किताब बेच्ने विश्वभरका कतिपय ‘बुक स्टोर’मा पनि आगजनी र बम विस्फोट गराइयो ।

यति हुँदाहुँदै पनि रुस्दीमाथि लगाइएको ‘फतवा’को गैरमुस्लिम विश्वले चाहिँ कडा प्रतिवाद गरिरह्यो । रुस्दीको मानव अधिकारको हनन भएको सो कार्यको संसारभर चर्को विरोध भयो । पश्चिम विश्वले कुनै दोस्रो मुलुकको नागरिकको आधारभूत अधिकारको खिलापमा असम्बन्धित मुलुकले कुनै पनि कदम चाल्न नपाउने दलिलसहित वक्तव्य जारी गरे । रुस्दीको वाक् स्वतन्त्रतासहित धार्मिक स्वतन्त्रतासम्बन्धी विश्वव्यापी हकको हनन भएको टिप्पणीसहित विश्व प्राज्ञिक पंक्तिबाट रुस्दीको समर्थनमा बोल्न र लेख्न थालियो । सो विवादकै कारण बेलायत–इरान कूटनीतिक सम्बन्ध पनि टुट्यो । तत्कालीन ‘युरोपेली आर्थिक समुदाय’ले तेहरानबाट आफ्ना कूटनीतिक दूतहरू फिर्ता बोलाए । यसरी, इरानी सर्वोच्च नेता खोमेनीले जारी गरेको ‘फतवा’को दाम्लो झन्डै एक दशकसम्म रुस्दीको गलामा झुन्डिइरह्यो !

यसैबीच, सन् १९९८ मा फेरिएका ‘सुधारवादी’ इरानी राष्ट्रपति मोहम्मद खतामीले उक्त ‘फतवा’ नवीकरण र थप अनुमोदन नगर्ने फर्मान गरेसँगै रुस्दी सार्वजनिक जीवनमा फर्किए । तर, खतामी पछिका आयातोल्लाह अलि खामेनीले चाहिँ सन् २००५ मा पुनः ‘फतवा’को आशयको समर्थन गर्दै रुस्दी अद्यापि ‘एपोस्टेट’ नै रहेको दोहोर्‍याए । सन् २०१८ सम्म आइपुग्दा इरानका राज्य नियन्त्रित केही ‘हार्ड लाइन’ सञ्चार गृहसहित तीन दर्जन बढी संघसंस्थाले ‘फतवा’को अनौपचारिक ‘जनअनुमोदन’को घोषणा गर्दै रुस्दीको ‘सफाया’ गर्नेलाई पुरस्कृत गर्नका निम्ति निजीस्तरबाट ६ लाख अमेरिकी डलर संकलन गरेका थिए । तसर्थ, रुस्दी मामिलामा सिंगो मुस्लिम विश्व नै एकखाले ‘धार्मिक स्किजोफ्रेनिया’को रोगले ग्रसित हो कि जस्तो लाग्छ π अनि लाग्छ, रुस्दीले फेर्ने हरेक सास ‘डिटोनेटर फ्युज’ जडेर विस्फोट हुन ठिक्क परेको कुनै बमको ‘टिक्..टिक्’ सँगै चलिरहेको छ !

एक हिसाबले ‘फतवा’ आधुनिक लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गरेकै कारण रुस्दीले भोग्नुपरेको मानवताविरोधी कठोर दण्ड थियो । आफ्नै समुदायले उनीविरुद्ध ‘सांस्कृतिक युद्ध’ नै छेडेको थियो । ‘फतवा’ कालमै पनि उनीमाथि थुप्रै पटक हमलाका प्रयास भए । ज्यान लिने धम्कीको सूची पनि लामै भयो । त्यसो त, आजको २१ औं शताब्दीमै पनि विश्वका कतिपय मुस्लिम मुलुकमा अभ्यास गर्ने गरिएको मुस्लिम धर्मलाई तुलनात्मक रूपमा ‘अनुदार’ मानिने कथनकै बीच आजभन्दा झन्डै तीन दशकअघि त्यस्तो धर्मको औपन्यासीकरण मुस्लिम जगत्ले नरुचाउनुलाई त्यति अस्वाभाविक नमाने पनि हुन्छ होला । अनि, रुस्दीमाथि गरिएको हमला पनि अल्लाहको आदेश मुताबिक अल्लाहकै नाममा चालिएको सही कदम हुन सक्ला तर बाँकी विश्वका निम्ति चाहिँ यो एक किसिमले मानव सभ्यतामाथिकै हमला थियो र हो पनि । यसले के सवाल जन्माउँछ भने– आजको यत्तिको सुसंस्कृत, सभ्य र विकसित ठानिएको मानव सभ्यताले कहिलेसम्म आफूलाई धर्मान्धताको अचानोमा उत्तानो पारिराख्ने ताकत सञ्चय गरिराख्न सक्छ ?

रुस्दी लिखित दर्जनौं अब्बल किताबमध्ये ‘मिडनाइट्स चिल्ड्रेन’ले पाठकलाई एकखाले विशिष्ट राजनीतिक–सांस्कृतिक ‘फ्लेभर’ प्रदान गर्दछ । सन् १९८१ को प्रतिष्ठित बुकर पुरस्कारसमेत जित्न सफल यस उपन्यासमा बेलायती औपनिवेशिक पञ्जाबाट भारतले आजादी पाएको समयका राजनीतिक एवं सांस्कृतिक उत्तारचढावको चित्रात्मक औपन्यासीकरण गरिएको छ । यस उपन्यासमा सन् १९४७ मा भारतले बेलायती औपनिवेशिक चंगुलबाट उम्किँदै गर्दा ठीक त्यही समयमा ‘टेलिप्याथिक शक्ति’सहित जन्मिएको सलिम सिनाइको माध्यमबाट भारत विभाजनको कथा भनिएको छ । सँगै, सन् १९७५ देखि १९७७ सम्म तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको सत्ता र शक्तिप्रतिको आशक्तिका साथै भारतीय लोकतन्त्रको बदनाम गर्ने गरी लादेको संकटकालको आलोचनात्मक भाष्य पनि यस किताबको गुदो हो । एक हिसाबले इन्दिरा गान्धीका पति फेरोज गान्धीको मृत्युको अपजसी तीर स्वयं इन्दिरा गान्धीपट्टि नै सोझाइएको छ । यस उपन्यासको प्रकाशनपश्चात् इन्दिरा गान्धी क्रुद्ध बन्नु स्वाभाविक थियो, बनिन् ।

त्यसो त एकजना हक्की राजनीतिक विश्लेषक, विचारोत्तेजक वक्ता एवं तीक्ष्ण टिप्पणीकर्ताका रूपमा पनि रुस्दीको परिचय स्थापित छ । उनले ‘ह्वाइट हाउस’कै हस्तक्षेपकारी सामरिक–कूटनीति र विस्तारवादी विदेश नीतिको पनि खरो आलोचना गरेका छन् । जस्तो कि, उनले इराकमाथिको अमेरिकी हस्तक्षेपको कडा आलोचना गरेका थिए । उनी मूलतः वाक् स्वतन्त्रता, अल्पसंख्यकको अधिकार, आधारभूत मानव अधिकार र लोकतन्त्रको पैरवीकर्ता हुन् । रुस्दी एक्लै पनि सिंगो विश्वलाई वैचारिक सिर्जनशीलताले आश्वस्त पार्न सक्ने ताकत राख्छन् । त्यसका निम्ति उनलाई कुनै अस्त्र वा औजारको आवश्यकता पर्दैन । उनले जुन प्राज्ञिक–वैचारिक सत्ता निर्माण गरेका छन्, त्यो नै उनको सबैभन्दा ठूलो हतियार हो । मुम्बईको अल्पसंख्यक मुस्लिम समुदायमा हुर्किएका र मुस्लिम संस्कृतिसित अति सघन रूपमै परिचित सलमान रुस्दीले मुस्लिम धर्मको पुनःपरिभाषा र पुनरावलोकन गर्नुपर्ने तीखो टिप्पणी गर्ने गरेका छन् ।

मुस्लिम महिलाले पहिरिने बुर्कामाथिको उनको टिप्पणी चर्चित छ । उनले झन्डै दुई दशकअघि नै बुर्काको विषयमा सार्वजनिक टिप्पणी गरेका थिए– बुर्काले मुस्लिम महिलालाई धूलो र घामबाट त जोगायो तर उनीहरूको सशक्तीकरण हुनबाट भने रोक्यो । रुस्दीले मुस्लिम धर्मका परम्परावादी कठोर धार्मिक मान्यताको पुनर्विचार गरिनुपर्ने तर्क पनि गर्ने गरेका छन् । आफ्नो धर्मको पैरवी गर्नुपर्ने आफ्नै समुदायको व्यक्ति स्वयं आफ्नै धार्मिक अभ्यास र सांस्कृतिक मान्यताको खिलापमा उभिएको मुस्लिम विश्वले रुचाउँदैन । मुस्लिम धर्मभित्रको कतिपय कठोर अभ्यास, महिलालाई हेर्ने ‘नजर’, उनीहरूको अवस्था र ‘हैसियत’माथि निरन्तर प्रश्न गर्ने रुस्दीका प्रश्नहरूको वेग थाम्न मुस्लिम धार्मिक सत्तालाई हम्मेहम्मे पर्ने गरेको छ ।

त्यसो त उनले मुस्लिम धर्मको मात्रै होइन जुनसुकै धर्मभित्र अभ्यास गरिने कट्टर सांस्कृतिक मान्यताको पनि खरो आलोचना गर्दै आएका छन् । कतिपय आलोचकले चाहिँ उनलाई मुस्लिम आस्था र धार्मिक इतिहासलाई धुलिसात् पार्न आफ्नो वाक् स्वतन्त्रताको दुरुपयोग गरेको आरोप पनि लगाउने गरेका छन् । वैश्विक प्राज्ञिक–सत्तामा एकसाथ दुई चरित्र बाँच्ने कमै पात्रमध्ये उनी एक हुन् । खासमा, रुस्दी त्यस्ता पात्र हुन्, जो झन्डै दुई तिहाइ विश्वका निम्ति ‘नायक’ बने भने बाँकी झन्डै एक तिहाइ मुस्लिम विश्वका निम्ति चाहिँ ‘खलनायक’ ! र, उनले बाँचेको जीवनचाहिँ आफैंमा एउटा सनसनीपूर्ण ‘थ्रिलर’ सिनेमा हो !

प्रकाशित : माघ २७, २०८० ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?