कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

आओ ! प्यारा भाइ–बहिनी, रेडियो नजिक आओ !

रेडियो नेपालले मलाई के दियो ? कहिल्यै लेखाजोखा गरिनँ। रेडियोका दर्जनौं नाटक खेलो । कोर्सका किताबका अक्षरले झर्को लगाए पनि नाटक र कविताका शब्दले झर्को नलगाउने रैछन् । 
रेडियो नेपाल शिक्षक र गुरु हो, उदात्त घाममा कोसौं हिँडेपछि भेटिएको त्यो चौतारो, जहाँ मैले सन्तोषका अनगिन्ती सास फेरेको छु ।
सुबिन भट्टराई

जय नेपाल ! आओ मेरा प्यारा प्यारा भाइ–बहिनीहरू, रेडियो नजिक आओ,’ सुन्नासाथ पाँच–सात फिट पर बजिरहेको रेडियो नजिकै खुरर्र कुदेर यसरी जान्थेँ, मानौँ आवाज कानले होइन, सिङ्गो शरीरले सुन्ने हो । लाग्थ्यो, रेडियो सुन्नु, त्यहाँबाट प्रसारित हुने ध्वनिको आनन्द लिनु मात्रै होइन, त्यो यन्त्रलाई प्रेमपूर्वक सुमसुम्याउनु पनि हो । त्यसलाई आँखाको घडामा प्रस्टसित भर्नु पनि हो । अलिकति सामीप्य रेडियोलाई दिनू र अलिकति सामीप्य रेडियोबाट लिनू पनि हो ।

आओ ! प्यारा भाइ–बहिनी, रेडियो नजिक आओ !

बाआमालाई भन्दा रेडियोलाई ज्यादा टेर्थेँ । मानौँ रेडियोभित्रबाट वासुदेव मुनाल मलाई हेरिरहेका छन् । र, म रेडियो नजिक पुगेकामा उनी मलाई स्याबासी दिइरहेका छन् ।

अनि मुग्ध भएर सुन्थ्यो मेरो बाल मस्तिष्कले बडो उत्कण्ठित मुद्रामा, कल्पनाकाशमा आफ्नो स्वतन्त्र उडान भर्दै, कार्यक्रम ‘हातेमालो ।’

...

चालीसकै दशकको उत्तरार्द्धबाट स्मृति उधिन्छु । तिनताक हरेक शुक्रबार रेडियो नेपालमा कविता वाचन हुन्थ्यो । र म थिएँ, ती कविताका नियमित श्रोता । ‘आमाको माया,’ ‘आजका हामी कोपिला,’ ‘मेरो देश,’ ‘नेपाल आमा,’ वाचन गर्ने कलिला आवाजदेखि ‘जिन्दगीका यात्रा,’ ‘समयको पाइला,’ ‘बुद्ध र शान्ति,’ जस्ता कविता वाचन गर्ने हलुका धोद्रे आवाजसम्म हुन्थे रेडियोमा ।

‘रेडियो नेपालमा हामीले पनि कविता वाचन गर्न पाउँछौँ,’ यो सुनाउने मेरो दिदी । र, म लागेँ दिदीको पछिपछि । शुक्रबार स्कुल हाफछुट्टी । कविता सुनाउनभन्दा पनि सिंहदरबार कत्रो छ ? रेडियो नेपाल कस्तो छ ? त्यहाँभित्र मान्छे कसरी बोल्छन् ? बोल्ने मान्छे कस्ता हुन्छन् ? बोलेको कुरा रेडियोमा कसरी बज्छ ? यावत् कौतुक मभित्र थिए ।

कविता जेनतेन एउटा लेखियो । सायद ‘भानुभक्त,’ शीर्षकमा । त्यही कविता बोकेर दिदी र उसका साथीहरूको पछिपछि लागेँ । रेडियो नेपाल छिर्ने गेटबाहिर आठ दसवटा जति झुन्डमा केटाकेटी थिए । धेरै मभन्दा सिनियर । थोरै हमउमर ।

केही समय कुरिसकेपछि एक जना प्रतिनिधि गेटमा आइपुगे । केटाकेटी तिनका अघिल्तिर झुम्म भयौँ । उनले सबैसँग कविता मागे । प्रत्येकले आफूले ल्याएको कागजको पन्ना उनलाई परीक्षार्थीले परीक्षकलाई बुझाएसरी बुझाए । मैले पनि ऐजन गरेँ । एक मुठो कागजका पन्नाहरू च्यापेर तिनी फर्किए ।

कविता जाँच्ने गुरु भित्रतिर हुँदा हुन् । रिजल्ट नआउञ्जेल केटाकेटी जोक भन्ने, कुद्ने, खेल्ने आदि टायम पासका कामहरू गर्न थाले । परबाट कोही मान्छे रेडियो नेपालको गेटतिर आइरहेको देख्नासाथ कोही भुइँमा ‘सर्प’ फालिदिन्थे । गुँडुल्किएको ‘सर्प’ भुइँमा देख्नासाथ त्यो मान्छे एकछिनलाई तर्सिन्थ्यो । र, वास्तविकता थाहा पाएपछि हाँस्दै जान्थ्यो ।

निकैबेरपछि तिनै प्रतिनिधि एक मुठो कागज लिएर फेरि गेटमा आइपुगे । सबै केटाकेटी उनीद्वारा तानिए । उनले हर एकको नाउँ पढे र रिजल्ट बताए । जस्तो कि, फलाना ः पास । ढिस्काना ः अर्को शुक्रबार । आधाभन्दा बढीचाहिँ फेल भएका थिए । पास भएकाहरूले त्यसै दिन कविता वाचन गर्न पाउने भए ।

‘अर्को शुक्रबार’ भनिएकाहरूले एक हप्ता कुर्नुपर्ने भयो । पास हुनेमा म पनि परेँ । यसरी रेडियोभित्र छिर्ने प्रवेशाज्ञा पाइयो । मूल गेटबाट बाह्र–पन्ध्र कदम देब्रेतिर एउटा गेट

आयो । गेटबाट भित्र स्टुडियो । स्टुडियोको माइक अघिल्तिर उभिएर पहिलोपटक कविता वाचन गर्दा डर, नर्भस, लाज र गर्वका मिश्रित रंगहरू मेरो स्वभावमा एकै पटक चढेको थियो ।

अनि कविता प्रसारण हुने एउटा मिति र रेडियोमा रेकर्ड हुनुको सन्तुष्टि लिएर त्यहाँबाट निस्किएपछि टोल, छिमेक, नातोनालो, साथीभाइ, आफन्त सबैमाझ यसरी हल्ला गरियो, मानौँ सिनेमाको पर्दामा देखिने गरी हिरो भएको छु ।

...

रेडियो छिरेको केही पछि यो पनि पत्तो लगाइयो कि रेडियो नेपालमा हरेक आइतबार ‘हातेमालो’ कार्यक्रमको रेकर्डिङ हुँदोरैछ । कार्यक्रममा प्रायः नाटक हुन्थ्यो । एकपटक ठ्याक्कै संयोग पनि मिलिहाल्यो । वासुदेव मुनाल दाइलाई एक जना बाल कलाकार चाहिराखेको रैछ । मैले उहाँलाई र उहाँले मलाई मज्जाले फेला पार्‍यौँ ।

‘ल यो वाक्य अभिनयका साथ पढ,’ सेतो फुलस्केपमा डिक नदिई लेखिएको कालो अक्षर पढ्न उहाँले मलाई आदेश दिनुभो । मैले अभिनय गरेर पढेँ । दाइ प्रभावित हुनुभो । म बाल कलाकार भएँ ।

नाटक सकिएपछि दाइले भन्नुभो, ‘त्याँ भेटेर जानू ।’

मैले ‘हुन्छ,’ भन्ने संकेत टाउको हल्लाएर दिएँ ।

दाइले पुनः भन्नुभो, ‘अर्को आइतबार पनि आउनू ।’

दाइले भनेको ‘त्याँ’ बारे म पूरै अनभिज्ञ भए पनि अर्को साथी जानकार रैछ । ‘त्याँ’ नाटक खेलेबापत पारिश्रमिक पाइने रैछ । नगद होइन । जिन्सी, जसलाई टिलिक्क टल्कने र्‍यापिङ पेपरले र्‍याप गरिएको थियो । पहिले पनि नाटक खेलेको साथीले सबै बताइदियो । रु. ७५/– बराबरको सामान, जसमा, कापी, कलम, मसी, सिसाकलम, इरेजरजस्ता स्टेसनरी सामान थिए । मेरो जिन्दगीको पहिलो कमाइ त्यही थियो ।

...

आइतबार खाना खाएपछि म ‘ड्युटी’ मा निस्कन थालेँ । वासुदेव दाइले ‘आउनू’ जो भनेका थिए ।

‘कहाँ ?,’ घरबाट निस्कने बेला मलाई सोधियो ।

‘जागिर खान,’ कसैको अनुहार नहेरी बडो फूर्तिसाथ भनेँ । हातमा घडी भएको भए त्यो हेर्दै ‘ढिलो भइसक्यो आफूलाई’ मार्कामा हेरेर अझै फूर्ति झार्दो हुँ ।

‘कहाँको जागिर ?,’ हप्की र शंकामिश्रित प्रश्न ।

‘सिंहदरबार,’ मेरो फूर्तिमा लेस मात्र पनि कमी आएको होइन ।

‘केको जागिर ?’

‘रेडियो नेपालमा,’ बडो व्यस्त कर्मचारी झैँ हाउभाउ मेरो थियो । ‘धेरै लामो उत्तर दिन समय छैन’ भन्ने भावका साथ बोलिरहेको थिएँ ।

एउटा कविता वाचन गर्नु र एउटा नाटक खेल्नुसम्म त ठीकै थियो । ‘जागिरे भएँ’ भन्ने कुरा कसैलाई हजम भएन । यो स्वाभाविक पनि हुँदो हो । किनकि म उमेरभन्दा बढी छिप्पिएका धक्कु विभिन्न ठाउँ, माहोलमा बरोबर लगाउने गर्थेँ । एक पटक एक जना आफन्तले मलाई ‘कतिमा पढ्छौ बाबु ?’ भनेर सोध्दा, मैले बडो सिरियस हुँदै ‘आइएस्सी सेकेन्ड इयर,’ भनेर गफ ठोकिदिएको थिएँ ।

पछि घरमा तिनले पोल लाइदिएपछि मेरो रामधुलाई भएको थियो ।

...

रेडियो नेपालको ‘जागिरे’ भएको थिएँ । नियुक्तिपत्र थिएन, त्यो बेग्लै कुरा ।

कहिलेकाहीँ सिंहदरबारको गेटैमा आर्मीले रोकिदिन्थे । घरमा सिंहजस्तो मान्छे, सिंहदरबारमा आर्मीका अघिल्तिर परेपछि बिरालोजस्तो हुन्थेँ ।

‘भाइ कता ?’

‘रेडियो नेपाल दाइ,’ टाउको कन्याउँदै भन्थेँ ।

‘रेडियोमा केलाई ?’

‘कविता भन्न ।’

‘कस्तो कविता ?’

‘जुनकिरी,’ कविताको शीर्षक थियो । सुनेर आर्मी दाइका मुहार पिलिक्क बलेको देखेँ ।

‘लौ सुनाऊ ।’

एउटा कविता सधैँ गोजीमै हुन्थ्यो । कमसेकम सिंहदरबार जाँदा । मुडमा आएर, हात हल्लाई हल्लाई सुनाइदिएँ ।

उनको अनुहारमा पुलुक्क हेरेँ । उनी मुस्कुराउँदै थिए ।

मुस्कुराउँदै उनले भने, ‘ल जाऊ भाइ । तिमीले खुब प्रगति गर्नेछौ ।’

‘हस् दाइ ।’

यस्तो कहिलेकाहीँ हुन्थ्यो । हरेक आर्मीलाई कविता सुनाउनैपर्थ्यो भन्ने होइन । पछिपछि अलिक बाठो हुँदै गएँ । आर्मीको मुखै नहेरी कुनै कर्मचारी झैँ ‘वाँ आफूलाई हाजिर गर्न बितिसक्यो, हाकिमले कराउँछन्,’ अथवा ‘बोर्ड मिटिङलाई विलम्ब भइसक्यो,’ को भावभंगीमा फटाफट छिर्थेँ । सिंहदरबारमा पनि म ‘बिरालो’ बाट ‘सिंह’ बन्ने प्रक्रियामा थिएँ ।

रेडियो नेपालको गेटमा पनि यस्सै कहाँ छिर्न दिन्थे र ! भित्रबाट फोनमा ‘पठाइदेऊ’ भन्ने आदेश नआउञ्जेल छिर्न मुस्किल मात्र होइन नामुम्किन नै हुन्थ्यो । वासुदेव दाइलाई भेटिसकेपछि उहाँले त्यस दिनको रेकर्डिङ हुने नाटकको स्क्रिप्ट हामी तीन/चार केटाहरूलाई रोल छुट्याएर दिनुहुन्थ्यो ।

स्क्रिप्ट लिएर हामी केटाहरू क्यान्टिन अगाडिको चौरमा निस्कन्थ्यौँ । आधा घण्टासम्म वासुदेव दाइका नबुझिने अक्षर केलाउँदै अभ्यास गर्थ्यौँ । बूढाका अक्षर, सादा फुलस्केपमा कालो मसीले लेखिएका । डिक कहिल्यै नहुने । डिक किन नदिएको थाहा भएन, (मसी जोगाउन पक्कै होइन) । एउटा शब्द मेचीतिर तेर्सिएको हुन्थ्यो । अर्को महाकालीतिर सोझिएको हुन्थ्यो । बीचमा कुनै–कुनै शब्द धौलागिरि र अन्नपूर्णतिर उभिरहेका हुन्थे । कुनै शब्द भने दिशा अलमलिएर झोक्रिरहेका हुन सक्थे (यो यकिन होइन अनुमान मात्र हो ।)

आधा घण्टा अभ्यास गरिनसक्दै हामी बोर हुन्थ्यौँ । अनि जान्थ्यौँ, प्रधानमन्त्रीको कार्यालयतिर । त्यहाँ हामीलाई लिफ्ट र लिफ्टभित्र हुने फोन अनि लाइब्रेरीमा फोकटमा बाँडिने पत्रिका ‘टुकी’ ले खुब तानेको थियो ।

भुइँतलाबाट लिफ्ट चढ्थ्यौं र त्यहाँ भएको फोनबाट ‘ब्लफ कल’ हान्थ्यौँ । फोन भन्ने यन्त्र बडो रमाइलो र रहस्यमय लाग्थ्यो । सिंहदरबारको लिफ्टमा रहेको फोनका हरेक अंकमा औँला घुसारेर फनक्क दाहिनेतिर घुमाउनुपर्ने फोनको सेट थियो ।

एकपटक मेरो उपद्रव यहाँसम्म पनि पुग्यो । बडो कष्टपूर्वक छ वटा अंकलाई चोरी औँलाले छ पटक दाहिने घुमाइसकेपछि उताबाट भद्र पुरुष स्वर आयो, ‘हेलो ।’

नपत्याउँदो स्वरलाई पत्याउँदो बनाउन मैले स्वरलाई जबर्जस्ती धोद्रो बनाएँ, ‘हेलो ।’

‘को बोल्नुभयो ?,’ आवाजमा भद्रता मनसुनको हावामा हुने आर्द्रताजस्तै थियो ।

‘तेरो काल,’ स्वरलाई रौद्र बनाएँ ।

उताबाट भयानक आवाज आयो, ‘हिम्मत छ भने अगाडि आइज ।’

‘पख् दुई मिनेटमा आउँछु !’

पुलिसमा रिपोट गर्दिउँ ? धम्क्याउँछस् डाँका !’

‘पुलिस,’ शब्द कानमा पर्नासाथ डरले मेरो कठालो समातिहाल्यो । नाडीमा अदृश्य हतकडी बिझायो । हत्त न पत्त फोनको रिसिभर यसरी राखिदिएँ, मानौँ फोन नभएर अगुल्टो हातमा परेको होस् । अनि लिफ्टबाट निस्केर टाप !

...

लाइब्रेरीमा फोकटमा पाइने पत्रिका ‘टुकी’ हाम्रो रुचिभन्दा बाहिरको थियो । जनसंख्या, वातावरण, स्वास्थ्य यस्तै शीर्षकबारे विभिन्न डाटा, ग्राफ र चार्टसहितका लेख–रचना र अनुसन्धानका नतिजा छापिएका हुन्थे । तर, फोकटमा पाइने भएकाले यस्सै छाड्न मन नलाग्ने । एउटा लैजाँदा पनि काम चल्नेमा तीन चारवटा लैजान्थ्यौँ । कहाँ थन्क्याउनु, कहाँ बाँड्नु भएर हैरान भएका कर्मचारीले पनि ‘यति धेरै नलैजाओ’ कहिल्यै भनेनन् ।

घरमा ल्याएका ती ‘टुकी,’ हरू खुब काम लागे । बाल्न होइन, किताब र कापीलाई कभर हाल्न ।

...

अनि रेडियो फर्किन्थ्यौँ । रेकर्डिङ हुन्थ्यो । वासुदेव दाइ मान्छे मरीचजस्ता भए पनि आँखा अकबरेजस्ता थिए । आवाज चट्याङजस्तो । त्यो बज्रँदा थोरबहुत भएको कलाको गला घिटिक्क हुन्थ्यो । एक पटक नाटकमा मेरो एउटा संवाद यस्तो थियो– ‘बाफ रे बाफ, छाती पोलेको !’

बूढाका अक्षर, त्यो छातीको ‘छ’ ‘ह’ जस्तै थियो ।

अन एअर भो । मैले बोलेँ, ‘बाफ रे बाफ हात्ती पोलेको ।’

‘पढ्न जान्दैनौ !के लेख्या छ त्याँ हेर !’

म डराएँ । मनमनै छाती भन्ने शब्दलाई दोहोर्‍याएँ । फेरि अन एअर भो । डायलग भन्न थालेँ । ‘बाफ रे बाफ हाती पोलेको ।’

दुईपल्ट गल्ती भइसकेपछि बूढा झनै फिलिंगो झैँ राँक्किए । ‘के गरेको यो ? बाह्रखरी आउँदैन ?’ टेक्निकल रुमबाट सातो लिए मेरो । बूढाको यस्तो रूप देख्दा लाग्थ्यो, बूढा बिहान–बेलुका भात होइन तोप खान्छन् ।

मेरो गाला रातो भयो । मुख सुक्यो । कपाल दुख्यो । तर, गल्तीले सच्चिइनँ म । फेरि उही संवाद निस्क्यो, ‘बाफ रे बाफ हात्ती पोलेको !’

जिन्दगीमा हात्ती भन्ने जन्तु चिडियाखानामा र हजारको नोटमा भन्दा अन्त कतै देखेको थिइनँ । त्यो पनि दुई/तीन पल्टभन्दा बढी देखेको भए मार्दिनू । स्टुडियोमा त हात्तीले मेरो मस्तिष्क र जिब्रोमा घरजमै गरिसकेको थियो । पटकपटकको मेरो ‘हात्ती’ उच्चारणले बूढा उता चितुवाझैँ भइसकेका थिए ।

चौथो, पाँचौँ, छैटौँ......दसौँ पटकसम्म पनि ‘छाती’ को ठाउँमा ‘हात्ती’ नै निस्किरह्यो । पछिपछि बूढा रिसाउन छाडेर फकाउनतिर लागे । बूढा चट्याङबाट चरा भए ।

बूढाले फकाएपछि संवाद अटोकरेक्ट भएर मुखबाट निस्क्यो, ‘बाफ रे बाफ, छाती पोलेको ।’

वासुदेव दाइसित जोकोही डराउँथे । शरीर गोलीजत्रो भए पनि आवाज राइफलजत्रो थियो । कति पटक उहाँको त्यही आवाजको ओजमा परेर हाम्रो आत्मविश्वास थिचिन्थ्यो ।

एक पटक एक जना नयाँ कलाकार साथी बाल कार्यक्रममा प्रवेश गरे । हामी सबै ‘वासुदेव दाइ’ भन्थ्यौँ । किन भन्थ्यौँ थाहा थिएन । अथवा वासुदेव अंकल, वासुदेव सर किन भनेनौँ त्यो पनि हामीलाई थाहा थिएन । उमेरले वासुदेव दाइ ठूलाबा भन्नुपर्ने उमेरका हुँदा हुन् । तर, भनिन्थ्यो ‘दाइ’ नै । यता नयाँ साथीले चाहिँ सिधै ‘वासुदेव अंकल’ साइनो लायो ।

सुरुमा बूढाले केही भनेनन् । हामीले पनि ठान्यौँ, बूढाकै कोही नातेदार भतिज रैछ ।

तर, साथी एक पटक मज्जैले झपारियो । ‘मलाई अंकल भन्ने होइन, दाइ भन ।’

झपारिएको ऊ थियो, डरायौँ हामी ।

...

रेडियो नेपालमा यसरी केही वर्ष बिते । सुरुमा रु ७५/– बराबरको स्टेसनरी दिइन्थ्यो । अलिपछि लामै समयसम्म जम्मा भएको पारिश्रमिकको सामान दिइन्थ्यो, जस्तो कि क्यालकुलेटर, घडी, अलार्म क्लक आदि । हामी तीन जना साथी थियौँ, जो खुब मिल्थ्यौँ । हामीमध्येले कुरा उठायौँ, ‘रेडियोमा जम्मा हुने पैसाले केही गरौँ ।’

‘के गर्ने ?’

यो प्रश्नको जवाफ पनि तुरुन्त निस्किहाल्यो, ‘एउटा बाल साहित्यको पत्रिका निकालौँ । मुना र सुनकेस्राजस्तै ।’ सबैले सहमति जनायौँ । साहित्यिक पत्रिकाका लागि भटाभट सामग्रीहरू जुटाउन थाल्यौँ । पहिलो अंकका लागि चाहिने लेख–रचना साथीभाइ परिचितबाट बटुल्यौँ । केही अनुवाद गर्‍यौँ । आफू आफूले पनि लेख्यौँ । सम्पादक, उपसम्पादक भनेर एकआपसमा पदीय भागबन्डा पनि गर्‍यौँ ।

बागबजारतिरको एउटा प्रेसमा गएर कुरा पनि गर्‍यौँ । बजेट, बजार, वितरण आदिबारे ज्ञान पनि लियौँ । सबैथोक तयार भो । खाली रेडियोमा जम्मा भएको तीन जनाको पारिश्रमिक माग्नु थियो ।

वासुदेव दाइको कार्यकक्षमा गयौँ । पर्न त तीनजनै अघि परेका थियौँ । तर, चुइँक्क कोही बोलेको भए पो !

‘के हो भन,’ बूढाका शब्द चारै वटा भित्तामा ठक्कर खाएर प्रत्यावर्तन भई त्यही अघिल्तिर सामान्य विस्फोटजस्तो हुँदासम्म कसैका मुखबाट केही निस्केन । सबै ‘तँ भन् न’ को याचनाले एक अर्काको मुख ताक्न थाल्यौँ ।

अघि सरेर मै बोलेँ, ‘दाइ, हामीले बाल साहित्यको पत्रिका निकाल्न लागेका, हाम्रो पारिश्रमिक त्यतै लगानी गर्न खोजेको । योपटक नगदै पाए हुन्थ्यो कि !’ अर्को साथी ‘हो दाइ’ भन्दै हो मा हो मिलाउँदै अघि सर्‍यो । तेस्रो साथी अलिक पर बस्यो, केही बोलेन ।

वासुदेव दाइ पड्किए, ‘तिमीहरूले पैसा सदुपयोग गर्छौ कि दुरुपयोग कसरी थाहा हुन्छ मलाई ! हुँदै हुँदैन । जाओ यहाँबाट ।’

हामी लात्ती खाएको कुकुरझैँ कार्यकक्षबाट मनमनै ‘कुइँकुइँ’ गर्दै निस्कियौँ ।

त्यो योजना त्यहीँ तुहियो । योजना तुहिएको केही समयपछि भने हामीले रु ७५/– प्रति कार्यक्रमका हिसाबले समयसमयमा एकमुष्ट नगद पाउन थाल्यौँ । त्यतिबेला कक्षा आठमा थिएँ होला ।

पहिलोपटक, रु. १०५०/– नगद हात पर्दा खुट्टाले भुइँ छाडेको थियो । मनले आकाश ताकेको थियो । महत्त्वाकांक्षाले अभिमानको बुइँ चढेको थियो । हात परेको नगदले एउटा सर्ट र एकजोर ब्याटमिन्टन किनेँ । अनि घरमा एक छाक मासुभात ख्वाएँ ।

त्यो आफ्नो कमाइले किनेको सर्ट देखाउँदै केही साथीसँग फूर्ति गर्दै, आफूलाई बडो महान् ठान्दै भनेको थिएँ, ‘केटा हो, आफू कमाउन सिक । कति बाबुको पैसामा रजाइँ गर्छौ ? केही गर नालायक हो ।’

केटाहरू नबुझेको शैलीमा ट्वाँ परेर हेरिरहे । मैले आफैँले पनि के भनेको हुँ भनेर तुरुन्तै कहाँ बुझेको थिएँ र ?

...

वासुदेव दाइ केटाकेटीलाई माया त गर्ने, तर बोलीचाहिँ साह्रै छुच्चो ! कुनै–कुनै बेला मुड चले हामीसित हँसिमजाक, ठट्टा पनि गर्ने ।

त्यो दिन हामी स्टुडियोमा थियौँ । दाइ आइपुग्नुभएको थिएन । बाहिरपट्टि प्रभात विजयानन्द भन्ने टेक्निसयन दाइ र अर्का कोही थिए । हामी भित्र स्टुडियोमा मनपरी बोल्दै थियौँ– ‘वासुदेव बूढा यस्ता’, ‘वासुदेव बूढा उस्ता’ भनी भरमार कुरा काटिरहेका । हाँस्ने, इत्तरिने, हाहाहुहु सबै निस्फिक्री चल्दै थियो । हामीले ठान्यौं, हामी जे बोलिरहेका छौँ, त्यो हामीबीचमा नै सीमित छ ।

तर, त्यसो भएन । बूढा कतिखेर टेक्निकल रुममा आइवरी भित्र भएको हाम्रो वार्तालाप सब सुनिरहेका रैछन्, पत्तै भएन ।

बूढा बाहिरैबाट कराइहाले, ‘तिमीहरू त्यहाँभित्र बसेर जे–जे बोलिरहेका छौं, त्यो सब सुनिराछौँ हामी । तिमीहरूको स्कुलले यस्तै सिकाउँछ ? डिसिप्लिन भन्या के हो था छैन ?’

सुनेर हाम्रो सातोपुत्लो उड्यो । खाइपाइ आएको एउटा ‘जागिर’ पनि खोसिएला भन्ने लाग्यो । मुख छोपेर, स्टुडियोबाट कुलेलाम ठोकी घर भागूँ र कहिल्यै रेडियोमा मुख देखाउन नआउनु जस्तो भयो । धन्न ! तीन जना थियौँ, डर–लाजको भागबन्डा गर्‍यौँ र परिस्थिति झेल्यौँ । त्यो काण्डलाई लिएर एक–दुई हप्ता उहाँको डायलग खाइरहियो । पछिपछि हुँदै गएपछि उहाँले बिर्सिनुभो । उहाँको रौद्र रूप र कठोर व्यक्तित्वको जस्तो छाप हामीलाई परेको थियो, त्यति रौद्र र कठोर नभएको हामीलाई लाग्यो ।

केही समयपछि त वासुदेव दाइले हामीलाई नाटक मात्रै खेलाउनुभएन । एक दिन ‘हातेमालो’ कार्यक्रमको सम्पूर्ण जिम्मा लगाउँदै भन्नुभो, ‘यो कार्यक्रम अब तिमीहरूले नै चलाउने ।’

यसरी हामी ‘हातेमालो’ कार्यक्रमको ‘कार्यक्रम सञ्चालक’ पनि भयौँ । बाल कार्यक्रमभन्दा बाहिर गएर दुई/चारवटा सरकारी सन्देशमूलक विज्ञापनमा पनि अभिनय गर्‍यौँ । यो वासुदेव दाइकै देन थियो ।

...

रेडियोमा आइतबार बडो राम्रो बित्थ्यो । नाटकलाई फुच्चे कलाकार त हामी थियौँ, ठूला कलाकार पनि बरोबर चाहिरहन्थे । तर, वासुदेव दाइ भनेपछि उनीहरू पनि खुब डराउँथे । बेलाबखत गाली जो खान्थे ।

ठूला कलाकारहरू हामीलाई खुब माया गर्थे । कत्ति कुरा सिकाउँथे । चौरमा बसेर हामी बदाम खान्थ्यौँ । गफ गर्थ्यौँ । कुरा काट्थ्यौँ । दाइहरू नेताका क्यारिकेचर गरेर सुनाउँथे । हाम्रा ती कतिपय सिनियरहरू अहिलेका सेलिब्रिटी हास्य कलाकार छन् । बडो रमाइला दिन थिए ती ।

कुनै–कुनै दिन नाटक हुँदैनथ्यो । यस्तोमा हामी साथीहरू पैसा उठाएर सिनेमा हेर्न जान्थ्यौँ । नभए सिंहदरबार परिसरभित्रै कहाँ नासपाती फल्या छ ।

कहाँ अम्बा फल्या छ, खोज्दै हिँड्थ्यौँ । कतिपय मन्त्रालय बन्दै गरेका अवस्थामा थिए । त्यहाँ माथि चढ्थ्यौँ र पिसाब फेर्थ्यौँ । कहिले नेपाल टेलिभिजनतिर जान्थ्यौँ र टीभीमा अनुहार देखाउन मिल्ने केही कार्यक्रम छ कि भनी खोजी–खोजी हिँड्थ्यौँ । किशोर पहाडी दाइले बाल कार्यक्रम चलाउनुहुन्थ्यो । कथा भन्नुहुन्थ्यो । हामी कथा सुन्थ्यौँ । त्यसरी कुनै–कुनै इपिसोडमा अनुहार देखाउन पनि पाइयो । चाख नाटकबाट बढेर कथातिर पनि गयो ।

...

दस कक्षा पुगेपछि मेरो बालक स्वरमा केही धोध्रोपना आउन थाल्यो । नाटक खेल्नका लागि सायद आफ्नो आवाज न बालकको जस्तो रह्यो, न प्रौढको जस्तो । ओठ मास्तिर बसेका जुँगाका रेखीले टेलिभिजनको बाल कार्यक्रममा गएर कथा सुन्दै अनुहार देखाउन पनि लायक रहिनँ । मस्तिष्क पनि अब बाल कार्यक्रम सुन्न र हेर्न कहाँ मान्थ्यो र ? मेरा रुचिहरू फेरिए, जसरी प्रकृतिले याम फेर्दा रूखले पात फेर्छ ।

रेडियोसितको सम्बन्ध त्यसपछि सम्झनामा मात्र सीमित रह्यो ।

...

केही सालअघि वासुदेव दाइ बित्नुभयो । लामो समय बिरामी पर्नुभो । हेर्न जाने सल्लाह मिलाउँदा मिलाउँदै उहाँ नै बितेको खबर आयो ।

रेडियो नेपालमा ‘रत्न चौधरी’ ले मेरो अन्तर्वार्ता लिनु बोलाउनुभो । म दुई दशक नाघिसकेपछि रेडियो जाँदै थिए । भौतिक परिवर्तन केही थिएन । खाली हामीले खाजा खाने गरेको पुरानो क्यान्टिन बन्द थियो । अरू उस्तै, दुरुस्तै । हरेक ठाउँ नियालेँ । ‘यहाँनेर हामी बदाम खाँदै बस्थ्यौँ,’ ‘यहाँनेर नाटकको अभ्यास गर्थ्यौँ,’ ! पुराना परिचितहरू ओहोरदोहोर गरिरहेको, हाँसेको, गफ गरेको, कतिपय दृश्य आँखै अगाडि अस्पष्ट र धमिलो स्वरूपमा देखिरहेको थिएँ ।

वासुदेव दाइकै आवाजमा ‘आओ मेरा प्यारा भाइबहिनीहरू, रेडियो नजिक आओ,’ भनेको आवाज पनि कानमा गुञ्जियो । कालोपत्र पिचमा उभिएर रेडियो नेपालको सेतो गेटतिर हेरेँ र

आफ्नो रंगीन बालापनलाई अलिकति बाहिर र अलिकति भित्र खोज्न थालेँ । यही ठाउँमा, जहाँ प्रभात विजयानन्द दाइलाई घेरेर आफ्नो ‘पास’ भएको कविता लिन आतुर केटाकेटीहरूको झुन्डलाई मेरा वयस्क आँखाले परबाट नियालिरह्यो । त्यो भीडमा मैले आफैँलाई खोजेँ । आफ्ना साथीलाई खोजेँ । आफ्नो अतीतलाई खोजेँ । रहरका खुड्किला उक्लिँदै गरेको आफ्नो प्रद्दीप्त मुहारलाई खोजेँ । त्यही गेटबाहिर उदासी लिएर गइरहेको आफ्नो अनुहारलाई खोजेँ । त्यही गेटबाट गोजीभरि पैसा र आँखाभरि उत्साह सम्हालेर हिँडिरहेको आफ्नो चाञ्चल्यलाई सम्झें ।

मन बडो भावुक भएर आयो । अनि आँखा रसिलो । अन्तर्वार्ता जुन स्टुडियोमा भयो, त्यहाँ सायद केही नाटकहरू रेकर्ड भएको हुँदो हो । केही कार्यक्रमहरू चलाएका हुँदा हौँ । हो वा होइनको स्मृतिमा केही समय अलमलिएँ पनि ।

रेडियो नेपालले मलाई के दियो ? अथवा दिनुपर्थ्यो ? मैले कहिल्यै लेखाजोखा गरिनँ । दर्जनौँ नाटकमा खेलेँ । रेडियो नेपालमै बाल कार्यक्रमभन्दा बाहिरका कैयौँ नाटकहरू पनि खेलेँ । ती नाटक पढ्दापढ्दा, तिनमा अभिनय गर्दा गर्दा कम्तीमा साहित्यको कखरा सिकेको थिएँ । कोर्सका किताबमा भएका अक्षर र शब्दहरूले झर्को लगाए पनि, नाटक र कविताका शब्दहरूले झर्को नलगाउने रैछन् । मैले यो बुझेँ । जानी नजानी कैयौँ कविता लेखेँ । बुझेर, नबुझेर नाटक लेखेँ । आफूलाई झर्को नलाग्ने र खुब रमाएर गरिने कामबाट आर्जन पनि गर्न सकिन्छ भनेर त्यहीँ सिकेँ ।

नौ कक्षामा आफ्नो कक्षालाई प्रतिनिधित्व गर्दै स्कुलमा भएको नाटक प्रतियोगिताका लागि नाटक लेखेँ, खेलेँ र खेलाएँ । दस कक्षामा सरोज खनाललाई हिरो सम्झेर एउटा टेलिचलचित्रको पटकथा नै लेखेँ, जो कसैलाई देखाइँन, त्यो अलग कुरा । लेखेँ नि छोटा कथाहरू, अनि उपन्यास पनि ! अब म रेडियो नेपालबाट योभन्दा के खोजूँ ? आँकडा छैन, रेडियो नेपालले मेरो जेब कति भरिदियो, तर आँत भने तृप्त गरिदियो । कतिपय कुरा आँत तृप्त गरिदिनका लागि हुन्छन्, भोक मेटिदिनका लागि हुन्नन् । भोको पेटमा पनि कोही आफ्नो आँत तृप्त भएको महसुस गर्न सक्छ भने ऊ सच्चा कलाकार हो ।

रेडियो नेपाल मेरो स्कुल हो । मेरो शिक्षक र मेरो गुरु हो । मेरो विश्वविद्यालय हो । जिन्दगीको लामो यात्रामा बाटोमा भेटेको सुन्दर दृश्य हो । हिँड्दा हिँड्दै बाटोमा भेटेको कलकल बगिरहेको पानीको धारा हो । उदात्त घाममा माइलौं हिँडेपछि भेटिएको चौतारो हो, जहाँ मैले सन्तोषका अनगिन्ती सास फेरेको छु, सुस्केरा फ्याँकेको छु, थकाइ मारेको छु ।

रेडियो नेपालबाट पाएको मेरो सम्पूर्ण अनुभव एउटा मीठो पुँजी थियो । त्यसैको ब्याज अहिलेसम्म खाइरहेको छु ।

प्रकाशित : माघ २७, २०८० ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?