कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

रणभूमि लाइभ

आज गर्व गर्नलायक हुने गरी हिजोको युद्धमा के नेपाली साँच्चै विजयी भएको थियो ? नेपालीले त्यस युद्धमा के हार्‍यो ? के गुमायो ? यिनै प्रश्नको साङ्गोपाङ्ग उत्तर दिन्छ– ‘मुकाम रणमैदान’ ले ।
लामो युद्धपछि सुगौली सन्धि भइसक्दा पनि गोर्खाली पक्षले अनावश्यक हठ र खेलाँची गरेकै कारण थप क्षति बेहोर्नुपरेको थियो  ।
गुरुङ सुशान्त

नालापानी किल्ला कब्जा गरेपछि अंग्रेज कमान्डर मबी भोलिपल्ट सखारै किल्लामा पुगे । गोर्खाली फौजले छोडेको त्यस थलोमा उनले देखेको दृश्य हृदयविदारक थियो । घाइते महिला–पुरुष र लासहरू जताततै छरिएका थिए । खान नपाएका र थाकेकाहरू केही अर्धमृत अवस्थामा पुगेका थिए । उनीहरूको अति नै दयनीय अवस्था देख्दा कठोर हृदयसमेत पग्लिन्थ्यो । 

रणभूमि लाइभ

आख्यानका घटनाजस्ता यस्ता दृश्यवर्णनले भरिएको गैरआख्यान ‘मुकाम रणमैदान’ पढ्दा गोर्खाली वीरताको इतिहासमाथि एक खेप घोत्लिन मन लाग्छ । दन्त्यकथाजस्तो लाग्ने वीरताको गाथा गाएर/सुनेर आ–आफ्ना धारणा र वैचारिकी बनाउन विवश पुस्ता दरपुस्ता हुर्काएको छ, नेपाली समाजले । देशभित्रका राज्य–विस्तार र युद्धलाई स्वार्थअनुकूल व्याख्या गरिए पनि विशेषगरी अंग्रेजसँग गोर्खालीले लडेको युद्धवर्णन गर्दा भने वीर रस निष्पन्न हुने गरी उत्साह जगाइन्छ । नेपाल–अंग्रेज युद्धबारे प्रचलित अनेक व्याख्या र किंवदन्तीमा कति सत्यता होलान्, कति कल्पना पनि । आज गर्व गर्न लायक हुने गरी हिजोको युद्धमा के नेपाली साँच्चै विजयी भएको थियो ? नेपालीले त्यस युद्धमा के हार्‍यो ? के गुमायो ? यिनै प्रश्नको साङ्गोपाङ्ग उत्तर आउने युद्धलाई जिउँदो प्रस्तुति गरिएको ऐतिहासिक पुस्तक हो– ‘मुकाम रणमैदान’ । लेखकका रूपमा ख्यातिप्राप्त खोज–पत्रकार मोहन मैनालीको लेखकीय जीवनकै गहन उपलब्धि हुन सक्छ, यो किताब ।

विसं १८७१ कात्तिक १० गते नालापानीमा सुरु भएर १८७२ फागुन २५ मा मकवानपुरमा टुंगिएको नेपाल–अंग्रेज युद्धलाई आजसम्म नेपालीले विदेशीसँग लडेको सबैभन्दा लामो युद्ध मानिन्छ । यस युद्धबारे अंग्रेजीमा केही रचना पाइए पनि खस नेपाली भाषामा समग्र बयान गरिएको पुस्तकको अभाव थियो । युद्धमाथि बडेबडे पुराकथाद्वारा गौरव गाइए पनि त्यसका मानवीय क्षति र आघात वर्णनातीत हुन्छन् नै । तर पनि भावी पुस्तालाई सूचित गर्न, आफ्ना बहादुरीका कथा कहन, गल्तीहरूमाथि आत्मसमीक्षा गर्न या इतिहाससम्मत विश्लेषण गर्न पनि यस्ता कहानी प्रकाशमा ल्याइन्छन् । अंग्रेजको वर्णन मात्रै पढ्दा इतिहासको रेखा एक पक्षीय लाग्ने र गोर्खालीका तर्फबाट भनिएका कथा पनि आंशिक मात्रै रहेकाले लेखक मैनालीलिखित ‘मुकाम रणमैदान’ वास्तविकताको निकै नजिक प्रतीत हुन्छ ।

नेपाललाई अहिलेको अवस्थामा राख्ने ठूलो घटनामध्ये एक सुगौली सन्धिअघिको नेपाल–अंग्रेज युद्धको पूर्ण तस्बिर आउने लिखित इतिहासको रिक्तताबीच मैनालीले अंग्रेज र नेपाल दुवैतिरका कमान्डर र लडाकुहरूले लेखेका चिठी र दुवैतिरका विद्वान्लिखित किताब/लेख पढेर यो पुस्तक तयार गरेका छन् । यद्यपि, खस नेपाली भाषामा लिखित कतिपय महत्त्वपूर्ण सम्बन्धित पुस्तक ‘मुकाम रणमैदान’ को सन्दर्भसामग्रीमा देखिँदैनन् । आजभन्दा २ सय ९ वर्षअघिका उही घटनालाई अंग्रेज र गोर्खाली पक्षले कसरी वर्णन गरेका छन् भनी जान्न यो किताब नै एक मात्र सहज सामग्रीका रूपमा हाम्रोसामु उपलब्ध छ । सहज अप्राप्यप्रायः पुराना दस्तावेजहरू संकलन र अध्ययन गरी आजको पुस्तालाई समेत बोधगम्य पारी सिलेसिलेवार रूपमा पस्कन सक्नु मैनालीको अध्यवसायी सफलता मान्न सकिन्छ । सम्भवतः वृत्तचित्रकार मैनालीको सकारात्मक प्रभावले होला, कतिपय वर्णन यति रोचक छन् कि लाग्छ– यी पुस्तकका पाना होइनन्, सिनेमाका जीवन्त दृश्य हुन् ।

विसं १९१० मा मुलुकी ऐन आएपछि मात्रै लिखित रूपमा जात–व्यवस्था मुताविक दण्डविधानले वैधानिकता पाए पनि यस्तो प्रचलनचाहिँ पहिल्यैदेखि थियो भन्ने थप प्रमाण यस पुस्तकमा भेटिन्छ– ‘देशद्रोह गरेको आरोप लागेको र सोधपुछ गर्दा कायल भएका एक जना जम्दार र हवल्दारलाई श्रीनगरमा झुन्ड्याइएको थियो । त्यस्तो अपराध गर्ने मानिस मार्न्या जातको भए मारिदिनू र नमार्न्या जातको भए नेल हाल्नू भन्ने आदेश राजाले दिएका थिए ।’

लडाइँका बेलामा वैरीसँग मिल्नुलाई देशद्रोह मानिने हुँदा पाल्पाका अपदस्थ राजा शूरवीर सेनलाई चिठी पुर्‍याउने सिंह्या बराकोटी र काल्या रानालाई पाल्पामा सबैले देख्ने ठाउँमा झुन्ड्याई मारिएको थियो । गोर्खाली र अंग्रेज आ–आफ्नो राज्यविस्तारको सिलसिलामा जम्काभेट भए पनि नालापानी यी दुवै शक्तिको आफ्नै भूमि भने थिएन । अंग्रेजहरू बेलायतबाट व्यापारिक उद्देश्य बोकी इस्ट इन्डिया कम्पनी नामबाट प्रवेश गरेर अन्ततः भारतमा साम्राज्य कायम गर्न सफल भएका थिए । व्यापारिक प्रयोजनका कारण नेपाल हुँदै तिब्बतसम्म आफ्नो सम्पर्क र प्रभाव चाहेको अंग्रेजले गोर्खाली राजा पृथ्वीनारायण शाहकै पालामा पनि कूटनीतिक सम्बन्ध गाँस्न खोजेको थियो । यता पृथ्वीनारायणको गोर्खा राज्यविस्तार अभियानले कीर्तिपुर विजय गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले गोर्खाली सेनाविरुद्ध कम्पनी सरकारसँग सैनिक सहयोग माग्यो । कम्पनीले जयप्रकाशलाई सहयोग गर्न फौज पठाए पनि गोर्खाली फौजसँग पराजित भएको थियो ।

पृथ्वीनारायणको मृत्युपछि पनि गोर्खाली राज्य विस्तार अभियानले महाकाली नदी तरेर सन् १७९० मा कुमाऊँ र सन् १८०३ मा गढवाल राज्यमा आफ्नो आधिपत्य जमायो । पछि सन् १८०९ मा काँगडामा भएको युद्धमा हार खाएपछि गोर्खाली फौज सतलजवारि आई बस्नुपर्‍यो । उता कम्पनीले नेपालको तराई प्रदेशको सीमावर्ती क्षेत्रलाई अधीनमा लिँदै थियो । कुमाऊँ र गढवालको दक्षिणी सिमानासम्म अंग्रेजको आधिपत्य फैलिसकेको थियो । त्यसैले दुवैले परस्परलाई आफ्नो विस्तारवादी–साम्राज्यवादी अभियानविरुद्ध खतराका रूपमा हेर्नु स्वाभाविक थियो । ‘मुकाम रणमैदान’ मा भनिएको छ– ‘दक्षिण सिमानाका जग्गा नेपालले हालसालै जितेर लिएको थियो भने अंग्रेजले पनि त्यस क्षेत्रका जग्गा लडाइँ र सम्झौता गरेर हात पारेको थियो । यतिञ्जेलसम्म हिन्दुस्तान र नेपालमा नक्सा बनाउने र वैज्ञानिक ढंगले साँध–सिमाना बाँध्ने चलन थिएन । त्यसैले स्थायी प्राकृतिक सिमाना नभएको मधेशमा कुन जमिन पहिले कसको भोगचलन थियो भन्नेमा विवाद भयो । आफ्नो विजय अभियानमा लगभग अविजित यी दुई महत्त्वाकांक्षी शक्तिबीच अलिकति दम्भ पनि हुँदो हो ।’ मैनालीको विश्लेषण सही लाग्छ किनकि दुई विस्तारवादी शक्ति दम्भी नै देखिए ।

सीमा–विवाद कूटनीतिक पहलकदमीबाट टुंग्याइएको भए त्यति लामो र भयानक युद्ध लड्नु पर्दैनथ्यो, सायद । त्यति मात्रै होइन, लामो युद्धपछि सुगौली सन्धि भइसक्दा पनि गोर्खाली पक्षले अनावश्यक हठ र खेलाँची गरेकै कारण थप क्षति बेहोर्नुपरेको थियो । १८४७ सालमा सजिलै जितेको कुमाऊँ राज्य गोर्खालीले २५ वर्षपछि सजिलै गुमाउनुको मुख्य कारणमध्ये त्यस राज्यमा गोर्खाली शासकले गरेको अन्याय–अत्याचार र ज्यादती पनि एक थियो भन्ने बुझ्नका लागि ऐतिहासिक किताबहरू साक्ष्यका रूपमा छन् ।

अंग्रेजलाई जित्न नसक्ने मोड आएपछि गोर्खालीले चीनसँग गुहार माग्यो । अंग्रेजले ‘भोटका लागि बाटो छोडिदिन’ आफूसँग आग्रह गरेकाले सहयोग मागेको झूटो खबर गोर्खालीले चीनलाई पठायो । हुन त, अंग्रेजका तर्फबाट केही मानिस युद्धअघि नै छद्म भेषमा तिब्बततिर लागेका थिए । तर पनि चीन ‘तटस्थ’ बस्न चाहेको सन्देश प्रतिनिधिमार्फत पटक–पटक पठाइयो । झूटको बदला चीनले नेपालमाथि आक्रमण गर्ने धम्की दियो । साथै, पुरानो कुरा पनि उप्काउँदै पत्राचार गर्‍यो– ‘अघि मल्ल राजाहरू पनि चीन बादशाहका शरणमा बसेका थिए । उनीहरूको राज्य तिमीले बल गरेर लियौ । ती देश नेवारहरूलाई थामिदिनू भनी बादशाहले तिमीलाई भनेका छैनन् । जुम्लाको आधा भाग पनि तिमीले बल गरी लियौ । जुम्लाले बादशाहका हजुरमा बिन्ती गरी बादशाहले तिमीलाई पुरानै साँध थामिदिनू भनेका खण्डमा तिमी कहाँसम्म बसौला ?’ लाग्छ, गोर्खालीका लागि सबैभन्दा ठूलो संकट र लज्जास्पद समय यही थियो । प्रश्न उब्जिन्छ, यस घडीसम्म आइपुग्नुमा को जिम्मेवार थियो ? यसमा गोर्खाली पक्षको कूटनीतिक अदूरदर्शिता देखिँदैन ? तर, यसको अर्थ यो होइन कि वैरीसँग झुक्नुपर्थ्यो या नेपाली भूमि वैरीलाई सुम्पिनुपर्थ्यो । यत्ति हो, गोर्खाली शासकको विस्तारवादी अहंकारलाई भने पानीमाथिको ओभानु बन्ने छुट इतिहासले दिनेछैन ।

सामान्यतः युद्धमा दुवै पक्षद्वारा आफ्नोतर्फ कम क्षति र बढी उपलब्धि हासिल हुने गरी युद्ध–योजना तर्जुमा गर्ने गरिन्छ । तर, यस युद्धमा गोर्खाली पक्षमा लडाकु–हुटहुटीबाहेक कुनै बलियो योजना देखिँदैन । अंग्रेज पक्षले युद्ध लड्नुअघि उपयुक्त समय, हमला गर्न जाने बाटो, जंगल, नदी र सैनिकको स्वास्थ्य आदिबारे सोध गर्थ्यो भने गोर्खाली पक्षले प्रायः चिना/साइत हेरेर लड्ने गरेको देखिन्छ । युद्धको सुरुआती चरणमा अंग्रेजले गोर्खाली फौजलाई कम हातहतियारले पनि हराउन सकिन्छ भन्ने सोचेको थियो । तर, भौगोलिक कारणका साथै सहस्र दुःखका बाबजुद अन्तिमसम्म लड्ने गोर्खालीको लडाकु स्वभाव अंग्रेजले पछि मात्रै बुझ्यो । लड्नकै लागि नगए पनि गोर्खाली सेनाका परिवारले पनि बाध्यात्मक रूपमा अंग्रेज सेनाको प्रतिकार गर्नुपर्‍यो । गोर्खाली फौजले पानी पिउन नपाउँदा पनि निरन्तर लडेको दृश्य–वर्णन सकसपूर्ण छ । व्यवस्थित रूपमा आएको अंग्रेजसँग लड्न कतिपय बेला गोर्खाली पक्षसँग स्थायी सैनिकसमेत थिएन । गोर्खाली फौजमा एकवर्षे नियुक्ति पाउनेलाई पारिश्रमिकका रूपमा जग्गा र महिनावारी नगद दिइन्थ्यो । नियुक्ति नपाएका ‘ढाक्र्या’ सैनिक पछि कुनै बेला नियुक्ति पाइने आसमा आफ्नो घरभन्दा टाढाका गढी, गौंडामा नियुक्तिप्राप्त सैनिकसँगै लडाइँमा सामेल हुन्थे । लडाइँको मुखमा झारा लाउने आदेशबमोजिम गएकाहरू भने लड्नभन्दा होहल्ला गर्न र सामान बोक्न काम लाग्थे । यो प्रसंग नेपाली समाजको वर्ग–निर्माणको इतिहास–अध्ययनमा सहयोगी सन्दर्भ हुन सक्छ ।

यत्ति महत्त्वपूर्ण किताबका कतिपय पक्ष भने खड्किने खालका छन् । उदाहरणार्थ– कतैकतै घुस्ने ‘म’ पुरुष समाख्यानले चाहिँ पठन–प्रवाहमा बाधा पुगेको महसुस हुन्छ । नयाँ नाम चलाउनुको साटो पुरानै स्थाननाम दिएर पादटिप्प्णीबाट व्याख्या गर्नु र पुराना चिठीलाई पनि बिनासम्पादन जस्ताको तस्तै पस्केर लेखकले आवश्यक स्पष्टीकरण दिनु नै ऐतिहासिक पुस्तकका लागि सुहाउँदो हुन्थ्यो । अंग्रेजले गोरखा र नेपाल दुवै चलाए पनि पाठकका लागि सजिलो होस् भनेर लेखकले नेपाल चलाएको प्रस्टीकरण तर्कसम्मत लाग्दैन । बाइसी–चौबिसी राज्य र राजाहरूको अस्तित्व रहेको समयमा विस्तारवादी गोर्खाली सेनालाई जनताको तहबाट अहिले भनेजस्तो नेपाल राज्यकै प्रतिनिधित्व स्वीकार्य थियो/थिएन भन्ने प्रश्नले बृहत् विमर्शको माग गर्छ । साथै, अनुसूचीमा गोर्खाली सेनाको एउटा मात्रै चिठी राख्नु र अंग्रेज पक्षको नराख्नु उत्ति संगतिपूर्ण लाग्दैन । परिशिष्ट खण्डमा पाएसम्मका चिठीहरू हुबहु राख्न सकेको भए अझै विश्वसनीय हुन्थ्यो । एक पाठकका नाताले अपेक्षा राख्न सकिन्छ कि भविष्यमा ‘मुकाम रणमुकाम भाग–२’ का रूपमा नेपाल–अंग्रेजको सक्कली ऐतिहासिक चिठीपत्र सम्पूर्णतः प्रकाशित हुनेछ र ‘मुकाम रणमैदान’ लाई इतिहास दृष्टिको कसीबाट सत्यापन गर्न सकिनेछ ।

इतिहासमा कतिपय वीरताका पगरी फर्जी थिए भन्ने बोध भक्ति थापासम्बन्धी प्रसंगले बताउँछ । साथै, गोर्खाली पक्षलाई युद्धको तयारीका लागि यत्ति ठूलो समस्या थियो कि सिपाही पाल्नसमेत धौधौ थियो । तलब नपाएका गोर्खाली सेनाले वैरीको क्याम्पमा पुगेर कमान्डरसँग भनेका थिए कि प्रोत्साहन दिए आफूतिरका धेरै सेना अंग्रेज सेनामा आउनेछन् । रणनीतिक योजना, अत्याधुनिक हतियार र प्रशस्त विमर्शजस्ता महत्त्वपूर्ण युद्धतयारीबिना पनि गोर्खाली फौजले निरन्तर लडेको थियो । निकै उपल्लो साहस र आँट भएको गोर्खाली फौजले कतिसम्म तर्सायो भने खुकुरी देख्दा मात्रै पनि अंग्रेजका सिपाही डराउने भए । गोर्खाली फौजको त्यही अदम्य साहसको प्रभावले हुनुपर्छ, नेपाल–अंग्रेज युद्धपछि नेपालका लडाकु जातिलाई ‘गोर्खा सैनिक’ कै रूपमा ब्रिटिस र भारतीय सेनामा भर्ती गर्न थालियो ।

र, एउटा भनाइ पनि प्रसिद्ध भयो– ‘यदि कसैले मर्न डर लाग्दैन भन्छ भने या त उसले झूट बोलिरहेको छ वा ऊ गोर्खाली हो ।’ तर, युद्ध भनेको शारीरिक बल, अदम्य साहस र हमला गर्नु मात्रै होइन भन्ने कुराको बलियो उदाहरण नालापानी लडाइँ नै हो । लड्नुको उद्देश्य, प्रक्रिया र परिणामको लेखाजोखाबिना लडेको युद्धले हारको ‘हार’ पहिर्‍याएर जान्छ । जतिसुकै बखान गरे पनि नेपाल–अंग्रेज युद्धलाई नेपालीले निरपेक्ष गर्व गर्नुपर्ने अतिरिक्त कारण देखिँदैन । वास्तवमा यस युद्धलाई वीरताको गाथाभन्दा बढी कूटनीतिक असफलताको परिघटना मान्न सकिन्छ । कवि भूपी शेरचनले ‘हामी’ कवितामा भनेका छन्– ‘हामी वीर छौँ /तर बुद्धु छौँ /हामी बुद्धु छौँ/ र, त वीर छौँ /हामी बुद्धु नभईकन वीर कहिल्यै हुन सकेनौँ ।

भनिन्छ– इतिहासमा ‘यदि’ को कुनै स्थान हुँदैन, कि भयो कि भएन । धेरै कुरा गुमाउँदै सम्पन्न नेपाल–अंग्रेज युद्धको त्रासद इतिहासलाई निकै जीवन्त शैलीमा चित्रण गर्दै भावी पुस्ताका लागि समेत पठनीय दस्तावेज तयार पार्ने लेखक मोहन मैनालीको मिहिनेत प्रशंसनीय छ । र, ‘मुकाम रणमैदान’ आज मात्रै होइन, भविष्यमा समेत पढ्नै पर्ने पुस्तक–पंक्तिमा दर्ज भएको छ । यो नेपाली वाङ्मयका लागि खुसीको कुरा हो ।

प्रकाशित : माघ २७, २०८० ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?