कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

गुमनाम गोपीचा-वृत्तान्त

‘गोपीचा’ ले इतिहासमा प्रेम गरेकैले ‘अछुत’ भएका र ‘अछुत’ भएकैले सहिद–सूचीमा नपरेका एक पात्र गोपीको जीवन–कथा भन्छ  

गए साता नेपालमा सहिद दिवस मनाइयो । तर, एक सहिदलाई कसैले सम्झेन । लेखक विश्व कुइँकेलले तिनै बिर्सिएका, गुमनाम एक सहिदको वृत्तान्त लेखेका छन्, उपन्यास ‘गोपीचा’ मा । 

गुमनाम गोपीचा-वृत्तान्त

काठमाडौं खुसिबुँको एउटा ब्राह्मण परिवारमा सय वर्षअघि एक बालक जन्मिन्छ– गोपी शर्मा । ब्राह्मण कुलमा जन्मिए पनि मनमौजी स्वभावका गोपी न ब्राह्मणोचित कर्ममा रत्तिन्छ, न तत्कालीन जात व्यवस्थाको कठोर नियमलाई नै वास्ता गर्छ । तरुण वय टेक्दै गर्दा उसको नजर सुनमैचा (सुनकेशरी) च्यामेमा ठोकिन्छ । दुर्घटनाको शृङ्खला त्यहीँबाट सुरु हुन्छ । सुनकेशरीको प्रेममा निर्लिप्त गोपीलाई विजातसँग सम्बन्ध बनाएकै कारण उसको जात मात्रै खोसिँदैन, ६ वर्षको कैद पनि तोकिन्छ ।

उसलाई जेलमा चर्पी र नाली सफा गर्ने काममा लगाइन्छ । भद्रगोल जेलमा उसको भेट हीराकाजी (गणेशमान सिंह) सँग हुन्छ । राणाहरूको जहानियाँ शासन अन्त्य गर्न बगावत सुरु गरेका गणेशमानलगायतका राजबन्दीलाई जेलबाट भगाउन गोपी जेलको पर्खाल तोड्ने काम सुरु गर्छ । जात फालेका कारण एकातिर परिवारबाट निस्कासन, अर्कोतिर प्रेमिकासँगको विछोडको वेदनामा जलिरहेको गोपी राणाहरूलाई हटाउन सके आफ्नो जात फर्किने आशामा हुन्छ । नेताहरूलाई जेलबाट भगाउन सके यो सम्भव हुने विश्वास अन्ततः उसैका लागि अभिशापसिद्ध हुन्छ । कुनै कैदीको सुराकले जेलब्रेकको अन्तिम दिन उसको योजना तुहिन्छ । ऊ सुरक्षाकर्मीको कब्जामा पर्छ । र, चरम यातना दिएर उसलाई मारिन्छ । किताबले यही दर्दनाक–कथा भन्छ ।

प्रस्तुत आख्यान विसं ७० को दशकबाट सुरु भएर ९० को दशकको अन्त्यमा समाप्त भएको छ । कृषिकालीन काठमाडौंको विष्णुमती फाँटछेउको एक बाहुन परिवारको माइलो छोरो गोपी बिन्दास केटो हो । आमा–बुबा र दाजुको चाहनाविपरीत आफ्नै तालमा घुम्न रुचाउने ऊ कहिले काठमाडौंका फाँटमा बयेली खेल्दै गरेका धानका बाला हेर्दे हराउँछ, कहिले क्षेत्रपाटी र नरदेवीतिर बरालिन्छ । स्वयम्भूका बाँदरको प्रेमलीला होस् या सल्लाघारीको सुसाहट, उसका दिन काट्ने बहाना बनिदिन्छन् । अजिमा मन्दिरको जोगीसँग शिवबुटी तान्नु, विष्णुमतीमा सुनमैचासँग माछा मार्नु र बेफिकर पशुपतिका जंगल चहार्नु उसको दैनिकी हुन्छ ।

पण्डित पिताले जजमानी सिक्न गरेको आग्रह लत्याउने गोपी बाहुनविरोधी बेखामानको घरमा पुगेर राँगाको मासु खान भने किञ्चित अप्ठ्यारो मान्दैन । सुनकेशरीको प्रेममा पागलजस्तै बनेको ऊ एक रात उसको घरमै पुगेर हठात् उसलाई सिन्दुरपोते लगाइदिन्छ । त्यो हल्ला बिस्तारै एक कान, दुई कान मैदान हुँदै पिता विष्णुप्रसादसम्म पुग्छ । जजमानीको भरमा नौ जनाको परिवार धानेका विष्णुप्रसाद छाँगाबाट खसेझैं हुन्छन् । परिवार नै बिटुलो बनाउनुभन्दा उसलाई घरनिकाला गरिन्छ । राणाशाहीबाट विसं १९९४ मा ६ वर्षको जेल सजाय पाउँछ । अभक्ष वस्तु खाएको, शूद्रसँग विवाह गरेको अभियोगमा उसको कपाल मुडिन्छ, जनै झिकिन्छ, जात काडिन्छ, अंश हरण हुन्छ । प्रजातन्त्रका लागि लडेका नेताहरू भगाउने जेलविद्रोहकै दौरान विसं १९९९ सालको फागुन महिनातिर सेनाको क्रूर यातना थेग्न सक्दैन र ऊ अस्ताउँछ, सदा–सदाका लागि ।

‘गोपीचा’ मा यस्ता थुप्रै ऐतिहासिक तथ्य छन् । यति हुँदाहुँदै पनि यो इतिहासभन्दा बढी आख्यान नै हो, एउटा इतिहासको जगमा उभिएको अनुसन्धानमा आधारित उपन्यास ।

२००७ सालमा देशमा प्रजातन्त्र आउँदा जहानियाँ शासन अन्त्य गर्न योगदान दिनेहरूको खोजी भयो । उनीहरूलाई यथोचित राजकीय सम्मान दिइयो । तर, राजबन्दी भगाउन ज्यान दिएको गोपी च्यामे त्यसपछि कहिल्यै भेटिएको छैन । गणेशमान सिंह, धर्मरत्न यमी, सिद्धिचरण श्रेष्ठ, पुरुषोत्तमशमशेर जबरा, राजेश गौतम आदिले आफ्ना संस्मरणहरूमा कतै–कतै गोपी च्यामेको चर्चा गरेको भेटिन्छ । त्यही प्रसंग समातेर कुइँकेलले गोपीको समग्र जीवनकथा उतारेका छन् किताबमा, गुमनाम सहिद खोजेका छन् ।

यो चरित्रप्रधान आख्यान हो, अनुसन्धानसहितको । पुस्तकले इतिहासको गर्तमा कतै पुरिएको व्यक्तिको जीवनलाई जीवन्त रूपमा पुस्तकाकार दिने सुन्दर प्रयासले पाठकलाई त्यसबेलाको काठमाडौंमा पुर्‍याउँछ, जुन काठमाडौं अहिलेको पुस्ताको लागि कल्पनातीत छ । ‘गोपीचा’ इतिहास, प्रेम र मानवसम्बन्धको त्रिवेणी त हुँदै हो, त्यो बेलाको काठमाडौंको दृश्य बोकेको किताब पनि हो ।

पढ्दा कुनै चलचित्र हेरेजस्तै लाग्ने सरस लेखन, सुन्दर दृश्यवर्णन र लयात्मक शैलीले पाठकलाई तानिरहन्छ । ‘जब शक्तिको नजिक बस्नेहरूमा पनि कसले बढी शक्ति प्रयोग गर्ने भन्ने होड हुन्छ नि, त्यतिखेर विभाजनका रेखा खिच्न थालिन्छ,’ यस्ता वाक्यले राणाकालीन शक्तिसंघर्षको पनि झल्को दिन्छ । ‘गोपीचा’ ले मूल पात्रको परिवार र प्रेमिकालाई भने बीच बाटोमै छोडेको छ । यसले पाठकलाई अधुरोपनको आभास हुन सक्छ ।

प्रेम गरेकै कारण जातिच्युत भएर जेल हालिएका र प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूलाई जेलमुक्त गर्न खोज्दा चरम यातनासहित मारिएका एक गुमनाम सहिदबारे गरेको उत्खनन पढ्दा लाग्छ, राज्यले सम्झिने पनि ठूलैलाई रहेछ ।

इतिहासमा प्रेम गरेकै कारण अछुत भएका र अछुत भएकै कारण सहिदको सूचीमा नपरेका गोपीलाई खोजेर लेखकले प्रजातान्त्रिक आन्दोलनको छुटेको एउटा पाटो पूरा गरिदिएका छन् ।

प्रकाशित : माघ २७, २०८० ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?