कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

नर्मल डेलिभरी कि सी–सेक्सन ?

 बच्चा जन्माउने प्रक्रियालाई दुखाइसँग मात्रै जोडेर नर्मल डेलिभरी वा सी—सेक्सनप्रति धारणा बनाउनु उपयुक्त हुन्छ ?

पछिल्लो समय सी–सेक्सन अर्थात् अपरेसन गरी बच्चा जन्माउँदा आनन्दै हुन्छ भन्ने भाष्य सुन्न पाइन्छ । तर, अपरेसनपछि बच्चा जन्माउँदा साँच्चै आनन्द हुन्छ ?

नर्मल डेलिभरी कि सी–सेक्सन ?

केही साताअघि हामीले फेसबुकमा महिलामात्रै रहेका केही ग्रुपमा एउटा जिज्ञासा

राख्यौं– बच्चा जन्माउँदा नर्मल डेलिभरी राम्रो कि सी–सेक्सन ? पोस्टमा तिनका फाइदा–बेफाइदाका लस्कर कमेन्टका रूपमा आए, प्रतिनिधि

कमेन्ट यस्ता थिए–

– ‘एघार घण्टाभन्दा धेरै व्यथा लाग्यो । दुखाइ सम्झिँदा आज पनि शरीर शिथिल हुन्छ । त्यति लामो व्यथापछि अब त बच्चा जन्मिएला भनेको तुरुन्त अपरेसन गर्नुपर्छ भनियो । डाक्टरले पहिल्यै भनिदिएको भए त्यत्ति लामो व्यथा सहनै पर्दैनथ्यो ।’

– ‘लेबरपेनभन्दा त अपरेसन गर्‍यो आनन्द, म त डाक्टरले जे भने पनि अपरेसन नै गर्ने हो...कसले सहन्छ त्यस्तो दुखाइ, ओहो कति पो दुख्दो रैछ ।’

यस्ता कमेन्टबाट बुझ्न सकिन्थ्यो, आमा बनिसकेका धेरैजसो महिला सी–सेक्सनलाई प्रोत्साहन गर्छन् । गर्भवती र आमा बन्ने तयारी गरिरहेका महिला पनि सी–सेक्सनमार्फत बच्चा जन्माउन आकर्षित छन् । कमेन्टका अधिकांश विचार पढ्दा बुझ्न सकिन्थ्यो, स्वास्थ्य अवस्था हेरेर कुन प्रक्रियाले बच्चा जन्माउँदा ठीक भनेर डाक्टरले दिने सुझाव वा मेडिकल आवश्यकता उनीहरूको मुख्य चासो होइन । उनीहरू प्रसव व्यथाको दुखाइ नसहनकै लागि सी–सेक्सन रुचाउँछन् ।

तर, बच्चा जन्माउने प्रक्रियालाई दुखाइसँग मात्रै जोडेर नर्मल डेलिभरी वा सी—सेक्सनप्रति धारणा बनाउनु उपयुक्त होला त ? पक्कै हुँदैन । त्यसका लागि बच्चा जन्माउने यी दुवै तरिका, त्यसको आवश्यकता र प्रभावकारिता, चिकित्सकसँगको सल्लाह, स्वास्थ्यप्रतिको सजगता सबैको भूमिका विशेष हुन्छ ।

के हो नर्मल डेलिभरी र सी—सेक्सन ? गर्भवती महिलालाई प्राकृतिक रूपमा प्रसव व्यथा लागेर उनको योनीमार्ग हुँदै बच्चा जन्मिन्छ भने त्यसलाई ‘भजाइनल डेलिभरी’ अर्थात् ‘योनी मार्ग हुँदै बच्चा जन्माउनु’ भनिन्छ । सबैले बुझ्ने गरी भन्दा ‘नर्मल डेलिभरी’ । यो दुई भागमा विभाजित छ– कुनै औजार वा औषधिको सहायताबिना यौनाङ्गमार्फत बच्चा जन्माउने विधि र केही औजार वा औषधिको सहायताले यौनाङ्गमार्फत बच्चा जन्माउने विधि ।

कुनै पनि सहायता औजार/औषधिबिनै बच्चा जन्माउने विधिलाई प्राकृतिक तरिकाले बच्चा जन्माउने विधि अर्थात् ‘न्याचुरल चाइल्ड बर्थ’ भनिन्छ । यस विधिबाट बच्चा जन्माउँदा उक्त महिलालाई अतिरिक्त रगतको आवश्यकता हुन सक्ने, प्रसवपछि संक्रमणको जोखिम तथा भित्री पाठेघरमा दागहरू हुने, प्रजनन क्षमता र भविष्यमा जन्मिने बच्चालाई असर गर्ने सम्भावना कम हुने हुँदा यो महिलाका लागि सबैभन्दा सुरक्षित विधि मानिन्छ ।

यसैगरी कुनै औजारको सहायताले यौनाङ्गमार्फत बच्चा जन्माउने विधिमा भने ‘फोर्सेप्स डेलिभरी’ र ‘भ्याकुम एक्ट्रक्सन’ अर्थात् प्लास्टिक कपको सहायताले यौनाङ्गमार्फत बच्चा जन्माउने विधि हुन्छ । यीबाहेक यदि महिलाको यौनाङ्ग र मलद्वारबीच रहेको ‘पेरिनियम टिस्यु’ काटेर बच्चा जन्माइन्छ भने यसलाई ‘एपिसियोटोमी’ भनिन्छ । यस्तै, प्लास्टिकको सानो हुकको सहायताले पाठेघरको पानी अर्थात् ‘एम्नोइटिक फ्ल्युड’ फुटाएर यौनीमार्ग हुँदै बच्चा जन्माइन्छ भने यसलाई ‘एम्नियोटोमी’ भनिन्छ । अधिकांश अवस्थामा यो स्वतः हुन्छ वा स्वास्थ्यकर्मीले ‘एम्नोइटिक फ्ल्युड’ को रंग हेर्न वा बच्चा जन्मिने प्रक्रिया तीव्र बनाउन यो फुटाउने गर्छन् ।

योबाहेक प्रसव व्यथा सुरु हुने प्राकृतिक प्रक्रियाअगावै औषधि वा प्रसव व्यथा सुरु गराउने अन्य तरिका प्रयोग गरी यौनाङ्गमार्फत बच्चा जन्माउने अर्को विधि ‘इन्ड्युस लेवर’ हो । यदि त्यहाँ उपलब्ध चिकित्सक वा स्वास्थ्यकर्मीलाई यो प्रक्रिया आमा वा बच्चा अथवा दुवैका लागि आवश्यक लाग्छ भने उनीहरूको स्वास्थ्य अवस्था हेरी उनीहरूकै फाइदाका लागि अपनाइने गरिन्छ ।

तर, सबै बच्चाहरू योनीमार्ग हुँदै जन्मिन्छन् भन्ने हुँदैन । कोही बच्चाको जन्म शल्यक्रियामार्फत हुने गर्छ । यदि कोही गर्भवती महिलाको पेट र पाठेघर चिरेर शिशु निकालिन्छ भने त्यसलाई ‘सिजरियन डेलिभरी’ भनिन्छ अर्थात् सी–सेक्सनबाट बच्चा जन्माउनु । कतिपय अवस्थामा कहिले, कतिबेला अपरेसन गरेर बच्चा जन्माउने तय गर्न सकिने भए पनि केही अवस्थामा भने गर्भवती महिलाको प्रसव व्यथा वा शारीरिक अवस्था र आवश्यकता हेरेर सी–सेक्सन डेलिभरी गराउनुपर्ने हुन्छ । यो प्रक्रियालाई बच्चा जन्माउने अन्तिम प्रक्रियाका रूपमा पनि लिइन्छ ।

नर्मल डेलिभरीमार्फत बच्चा जन्माउन तयार भइसकेकी वा प्रसव व्यथा सहिरहेकी महिलाको अकस्मात् अपरेसन गरेर बच्चा जन्माउनुपर्ने अवस्था पनि आउन सक्छ । महिलालाई प्रसव व्यथाले च्यापेर, पाठेघरको मुख नखुलेमा वा पाँच/सात घर खुलिसक्दा कतिपय अवस्थामा दस वटै घर खुलिसक्दा पनि अचानक शल्यक्रियामार्फत बच्चा निकाल्नुपरेका थुप्रै घटना भएका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरू बताउँछन् । मुख्यतः बच्चाको मुटुको चाल सन्तुलित भएन भने अपर्झट शल्यक्रिया गर्नुपर्ने हुन्छ । त्यस्तै, बच्चाको साल बेरिएर मुटुको चाल तलमाथि हुँदा, बच्चाले आमाको पेटभित्र बाक्लो दिसा गरेर त्यसले मुटुको चाल असन्तुलित बनाएमा वा उक्त दिसा खाएमा, योनीमार्ग सानो भएमा वा बच्चा ठूलो भएमा, साल तल झरेको अवस्थामा, व्यथा लागेर पनि पाठेघरको मुख नखुलेको अवस्थामा शल्यक्रिया विधिबाट बच्चा जन्माउनुपर्ने हुन सक्छ ।

त्यसैले कुन प्रक्रियाले बच्चालाई जन्म दिने भन्ने ? यो व्यक्तिगत रोजाइ र परिवारको चाहनामा मात्रै भर पर्दैन । कतिपय अवस्थामा महिलाले चाहेर पनि नर्मल डेलिभरी गराउन सक्दिनन् । किनकि, आमा वा बच्चाको फाइदा वा कतिपय अवस्थामा दुवैको फाइदाका लागि केकस्ता अवस्थामा मात्रै सिजरियन नै गर्नुपर्छ भनेर चिकित्सकीय रूपमा प्रस्ट पारिएको छ । महिलाको गर्भावस्था, स्वास्थ्य अवस्था, शारीरिक बनावट, महिलामा भएका दीर्घरोग लगायत थुप्रै स्वास्थ्य अवस्थाले बच्चा जन्माउने प्रक्रिया निर्धारण गर्छ ।

तर, बच्चा जन्माउने यी विधिमध्ये सी–सेक्सन डेलिभरी रुचाउनेको संख्या भने बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, सन् १९९० को दशकमा ७ प्रतिशतले मात्रै शल्यक्रियामार्फत बच्चा जन्माउँथे भने त्यो दर सन् २०३० सम्म पुग्दा बढेर २९ प्रतिशत पुग्ने अनुमान छ । विश्व स्वास्थ्य संगठनका अनुसार, कुनै पनि देशमा एक सय जीवित जन्ममा १० देखि १५ भन्दा माथि शल्यक्रिया दर हुनुहुँदैन । तर, सी–सेक्सन डेलिभरी गराउनेको संख्या अहिले २१ प्रतिशत पुगेको विश्व स्वास्थ्य संगठनकै तथ्यांकले देखाउँछ ।

यो दरलाई न्यूनीकरण गर्न संगठनले सन् २०१८ देखि अनावश्यक सी–सेक्सन डेलिभरी कम गर्न सुझाएको छ । तर, सी–सेक्सन डेलिभरीप्रतिको बढ्दो आकर्षणले भने यो सुझावलाई नै चुनौती दिइरहेको छ । नेपालकै कुरा गर्दा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२’ अनुसार, नेपालमा पाँचमध्ये एक महिलाले शल्यक्रियाबाट बच्चा जन्माउने गरेका छन् । विश्व स्वास्थ्य संगठनले शल्यक्रियामार्फत हुने प्रसूति दर १० देखि १५ प्रतिशतभन्दा माथि हुनुहुँदैन भन्दै गर्दा नेपालमा भने उक्त दर १८ प्रतिशत छ । यस दरलाई न्यूनीकरण गर्न र विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र सन्तुलित रहिरहन नेपालले कस्ता रणनीति अपनाउने ? कसरी जनचेतना जगाउने जस्ता विषयमा बहसको आवश्यकता देखिन्छ ।

यति भन्दै गर्दा एउटा स्वाभाविक प्रश्न उठ्छ– किन सी–सेक्सन डेलिभरीको दर कम गर्न विश्व स्वास्थ्य संगठनले आह्वान गरिरहेको छ ? किनकि, शल्यक्रियामार्फत बच्चा जन्माउने यो प्रक्रियामा केही महिलालाई पेटमा चरम दुखाइ हुन सक्छ भने संक्रमण हुने, घाउ पाक्ने, पाठेघरमा समस्या देखिने, शल्यक्रियाका लागि चिरिएको ठाउँमा समस्या हुन सक्ने, लामो समयसम्म अस्पतालमा बस्नुपर्ने, बाँझोपन, एप्टोपिक प्रेग्नेन्सीलगायतका समस्याका जोखिम बढी हुन्छ । त्योबाहेक सी–सेक्सन डेलिभरी गराएका महिलाको दूध ढिला आउन सक्ने, दोस्रो बच्चा जन्माउँदा पाठेघरमा समस्या हुन सक्ने वा कतिपय अवस्थामा पाठेघर नै फाल्नुपर्नेजस्ता समस्या आउने हुन्छ । त्यसैगरी, नर्मल डेलिभरीको तुलनामा सिजरियनमा रगत धेरै बग्न सक्ने जोखिम तथा कतिपय अवस्थामा ज्यानै जान सक्ने जोखिम पनि उत्तिकै हुन्छ । आर्थिक दृष्टिले पनि सिजरियन डेलिभरी नर्मलको तुलनामा खर्चिलो हुने गर्छ ।

यसैगरी नर्मल डेलिभरीबाट जन्मिएका बच्चाको सी–सेक्सन डेलिभरीबाट जन्मिएका बच्चाको तुलनामा रोग प्रतिरोधात्मक क्षमता पनि धेरै हुन्छ । र, सी–सेक्सन डेलिभरीबाट जन्मिएका बच्चाहरूलाई श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन समस्या, मोटोपना, एलर्जी, मधुमेहजस्ता समस्या हुन सक्ने विश्व स्वास्थ्य संगठनको तथ्यांक बताउँछ । साथै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राध्यापक डाक्टर पवनकुमार शर्माको पनि यही अनुभव छ ।

सी–सेक्सन डेलिभरीका यति धेरै जोखिम भइरहँदा र विश्व स्वास्थ्य संगठनले यसको दर कम गराउन निरन्तर आह्वान गरिरहँदा पनि आम मान्छेको आकर्षण सी–सेक्सन डेलिभरीमै हुनु भने धेरैलाई आश्चार्य लाग्न सक्छ । प्रसव पीडा नसहनकै लागि सी–सेक्सन डेलिभरी गराउने वा रुचाउनेको जमात बढ्दो छ । तुलनात्मक रूपमा हेर्दा ग्रामीण भेगमा भन्दा सहरी भेगमा शल्यक्रियामार्फत बच्चा जन्माउने संख्या उल्लेख्य छ । सँगसँगै हामीले प्राप्त गर्ने सूचनाको स्रोत र आदर्श मान्दै आएका पब्लिक फिगरको देखासिखीले पनि बच्चा जन्माउने यो विधिलाई अपनाउन प्रोत्साहन गरिरहेको छ ।

डाक्टर पवनकुमार शर्माको तर्क छ– हाम्रो शिक्षा प्रणालीले नयाँ पुस्तालाई दिने ज्ञानका कारण पनि पछिल्लो समय शल्यक्रियामार्फत बच्चा जन्माउने क्रेज बढेको हो कि ? शर्मा भन्छन्, ‘सामान्य रूपमा प्राकृतिक तवरबाटै बच्चा जन्माउन सकिन्छ भने शल्यक्रियालाई पहिलो विकल्पका रूपमा लिनु गलत हो । त्यसको परिणाम कुनै पनि हालतमा एउटी महिला, जन्मिने बच्चा र स्वयम् सिंगो समाजलाई राम्रो गर्दैन ।’ यस आलेखको सुरुवातमा उल्लेख गरिएको सामाजिक सञ्जालको सर्वेक्षणमा पनि नर्मल डेलिभरीको तुलनामा सी–सेक्सन रुचाउनेको संख्या धेरै थियो । र, उक्त रोजाइको मुख्य कारण थियो– प्रसव पीडा सहनु पर्दैन । तर, सोही सर्वेक्षणमा सी–सेक्सन गरेर बच्चा जन्माइसकेका केही महिलाले भने सी–सेक्सन गर्दा आफूले वर्षौंदेखि शारीरिक समस्या भोगिरहेको अनुभव पनि सेयर गरेका थिए । उनीहरूको सुझाव थियो– केही समयको पीडा सहेर भए पनि नर्मल तरिकाबाट नै बच्चा जन्माउनू ।

६ वर्षअघि सी–सेक्सन गरेर बच्चा जन्माएकी किरण गौतमलाई आज पनि त्यो क्षण सम्झिँदा गाह्रो महसुस हुन्छ । उनलाई ‘सी–सेक्सन गर्नुपर्छ’ भनेर डाक्टरले सुझाएको दिनदेखि अपरेसनका लागि ‘मेन्टल्ली प्रिपेयर’ हुन निकै समय लाग्यो । ‘अपरेसन गरेपछिको दुखाइ र हरेक कुरामा अरूसँग ‘डिपेन्डेन्ट’ हुनुपर्दा आफूलाई कमजोर ठान्थें, ‘ब्रेस्टफिड’ गराउन पनि अप्ठेरो, त्यसैले बच्चासँग ‘अट्याचमेन्ट फिल’ हुन पनि समय लाग्यो, झन् हस्पिटल बसाइ त पट्यारैलाग्दो,’ उनको नमिठो अनुभव छ । त्यसमाथि सी–सेक्सन गरेका आमाहरूलाई धेरैवटा खानेकुरामा रोक लगाउने परम्परागत अभ्यासले गर्दा बच्चालाई दूध पुर्‍याउनै समस्या भएको उनी सम्झिन्छिन् ।

डाक्टर शर्मा पनि कुनै मेडिकल इमर्जेन्सी छैन भने नर्मल डेलिभरी नै गराउन सुझाउँछन् । उनका अनुसार, बच्चा जन्माउने प्रक्रियामा शारीरिक सकस र सहजता मात्रै हेरिँदैन, मानसिक स्वास्थ्य पनि योसँगै जोडिएर आउँछ । जब महिलाले योनीमार्ग हुँदै बच्चा जन्माउँछिन्, अपवादबाहेक उनले तुरुन्तै आफ्नो बच्चालाई काखमा लिन, स्तनपान गराउन सक्छिन् । शर्मा भन्छन्, ‘आफूले जन्म दिनेबित्तिकै बच्चालाई साथमा राख्न, स्तनपान गराउन पाउँदा महिलालाई मानसिक सन्तुष्टि प्राप्त हुन्छ । यो सन्तुष्टि शल्यक्रिया गरेका आमाले प्राप्त गर्न लामो समय पर्खिनुपर्छ ।’

सी–सेक्सनको इतिहास हेर्दा, १०० बी.सी. भन्दा अगाडि नै जुलियस सिजरको जन्म पेट चिरेर भएको विलियम्स अब्सट्रेटिक्स पुस्तकको २२ औं संस्करणमा उल्लेख छ । उनै जुलियस सिजरका नामबाट ‘सिजरियन’ शब्द बनाइएको मान्यता छ । डाक्टर पवनका अनुसार, करिब पौने दुई सय वर्षअगाडि महिलाले बच्चा जन्माउने क्रममा बच्चा अड्केको कारण आमाको मृत्यु भयो भने के गर्ने भन्ने कल्पना गर्दा पेट काटेर बच्चा निकाल्न सकिन्छ भन्ने वैकल्पिक विचार सोचियो ।

तर, काटेको पेट, घाउ के गर्ने ? यो अन्योल बाँकी नै थियो । पछि सन् १८८२ मा पाठेघर सिलाउन तारको प्रयोग सुरु भएपछि सी–सेक्सन डेलिभरीले नयाँ आकार लियो । उक्त कालखण्डमा जटिल प्रसव व्यथामा रहेकी महिलाको ज्यान सुरक्षित गर्न सकिन्छ कि भन्ने हिसाबले सी–सेक्सन डेलिभरी सुरुवात भएको थियो । सन् १९१२ सम्म आइपुग्दा यो प्रक्रियामा धेरै सुधार देखियो भने सन् १९२० तिर यो अवधारणा परिमार्जन हुँदै शल्यक्रियाबाट बच्चा जन्माउँदा अलि तलबाट र पाठेघरलाई तेर्सो गरी काट्दा महिलालाई सहज हुन सक्छ भन्ने निष्कर्ष निकालियो । तर, त्यतिबेलासम्म एनेस्थेसियाको विकास राम्रोसँग भइसकेको थिएन । शल्यक्रियाका लागि बेहोस गराउने औषधिको विकास र दक्ष चिकित्सकको संख्या बढ्दै गएपछि सी–सेक्सनको प्रक्रिया पनि सहज बन्यो । अहिले सी–सेक्सन डेलिभरी सहज र सरल भएको छ । यसरी आमा–बच्चाको जीवनरक्षा हुन्छ भन्ने अवधारणा सहित सुरु भएको सी–सेक्सनले आकार लिँदै आयो ।

सी–सेक्सन अहिले प्रसव पीडा छल्न अपनाइने प्रक्रिया बनेको छ । स्वास्थ्य अवस्था अनुकूल हुँदाहुँदै र चिकित्सकले नर्मल डेलिभरीको सिफारिस गर्दागर्दै ‘होइन, म सी–सेक्सन नै गराउँछु’ भनी कसैले रोज्छ भने त्यो व्यक्तिको अधिकारभित्र पर्छ । तर, निर्णय लिनुअघि त्यो आमा–बच्चा दुवैको अल्पकालीन, दीर्घकालीन स्वास्थ्यका हिसाबले उपयुक्त छ कि छैन ? यसका सहजता, जोखिम के–के छन् ? यी विषयमा विचार पुर्‍याउनुपर्छ । तथ्यांक भन्छ, नर्मल डेलिभरीको तुलनमा सी–सेक्सन गर्दा मातृ मृत्युदरको जोखिम ५ गुणा बढी छ । तर, यति भनिरहँदा, सी–सेक्सन गर्नै हुँदैन भन्न खोजिएको चाहिँ होइन । यदि महिलालाई लामो समयसम्म प्रसव व्यथा लाग्यो वा उक्त प्रक्रियामा कुनै अवरोध भयो, बच्चामा समस्या देखियो वा बच्चामा असामान्य स्थिति सृजना भयो भने सी–सेक्सन अत्यावश्यक हुन्छ । विश्व स्वास्थ्य संगठनको यौन तथा प्रजनन स्वास्थ्य तथा अनुसन्धान विभागका निर्देशक डा. आइयान आस्क्यु भन्छन्, ‘अनावश्यक वा अति जरुरी नपरेका सी–सेक्सन डेलिभरी आमा र बच्चा दुवैका लागि जोखिमपूर्ण हुन सक्छ ।’

(लेखकहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’ का निर्माता तथा प्रस्तोता हुन् ।)

प्रकाशित : माघ २०, २०८० १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?