कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

‘आर्ट फिल्ममा बलिउडभन्दा अघि नेपाल’

अन्तर्राष्ट्रिय बजार पुग्ने फिल्महरुमा यस वर्ष मीन भाम निर्देशित ‘शाम्बाला’ ले इतिहास रच्यो । विश्वकै शीर्ष तीनमध्ये बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा हस्तक्षेप जमाउन सफल यो नै पहिलो नेपाली फिल्म हो । डोल्पाको ४२ सयदेखि ६ हजार मिटर उचाइमा खिचिएको ‘शाम्बाला’ अन्तर्राष्ट्रिय विधामा छनोट भएसँगै फेस्टिभलकै उच्च अवार्ड गोल्डेन वेयरका लागि यसले प्रतिस्पर्धा गर्दै छ ।

‘आर्ट फिल्ममा बलिउडभन्दा अघि नेपाल’

भामले यसअघि लघुफिल्म ‘बाँसुल्ली’ लाई नेपालबाट पहिलो पटक भेनिस पुर्‍याएका थिए । उनकै अर्को फिल्म ‘कालोपोथी’ ले भेनिसमा अवार्डै जितेको थियो । दोस्रो फिचर–फिल्म ‘शाम्बाला’ ले विश्व बजारमै तरंग ल्याएको छ । निर्देशक भामसँग दीपक सापकोटारीना मोक्तानको वार्ता :

विसं २०५२ मा नवीन सुब्बा निर्देशित ‘खाङ्ग्री’ पहिलो पटक अन्तर्राष्ट्रिय बजार पुग्यो । त्यसपछि मात्रै नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पकड जमाउन थाल्यो, तीन दशकको यो फिल्म–यात्रालाई कसरी हेर्नुहुन्छ ?

हो, ‘खाङ्ग्री ’को थालनी गज्जब थियो, त्यो ठूलो प्रेरणा थियो । मेरो पुस्ता, मेरा समकालीनका लागि नवीन सुब्बा र छिरिङ रितार शेर्पा ठूलो प्रेरणा बन्नुभयो । ‘नुमाफुङ’, ‘उजेली’ हेर्दै हुर्कंदा दृश्य–भाषा, नेपाली फिल्मको स्वाद तिनै फिल्मले हामीलाई चखाए । ती फिल्म हेर्दै हुर्कन पाउनु सौभाग्य बन्यो । त्यो बेला लाग्थ्यो, फिल्म भनेकै यही रहेछ । अहिलेको अन्तर्राष्ट्रिय बजारको फड्को, यो राज्यले ‘आर्ट हाउस’ फिल्मलाई गरेको उपेक्षाको प्रतिफल हो । इरानमा मूलधारे भनेकै यस्ता आर्ट हाउस फिल्म हुन्छन् । हाम्रो देशकै नजिक छ बलिउड । त्यो ठूलो भीडमा हाम्रो उपस्थिति गौण भइदिनुको प्रतिफल पनि हो यो । जब मान्छेको आवाज सुनिँदैन, ऊ आफ्नो आवाज लिएर कहीं न कहीं प्रस्फुटित हुन खोज्छ । त्यसकै स्वरूप हो यो ।

‘चिसो वर्ष’ लाई परिवर्तन गरी फिल्मको नामै ‘शाम्बाला’ राख्नुभयो । ‘शाम्बाला’ को अर्थ के हुन्छ ?

‘चिसो वर्ष’ कै कथा छ– ‘शाम्बाला’ मा । तर, यार्सागुम्बु टिप्ने समय र सुटिङ गर्दाको समय नमिलेपछि त्यो नाम फेर्‍यौं । कथा उही हो । तीन सहायक निर्देशक छिरिङ, निपिल, किरणसँग स्क्रिप्टको अन्तिम दोस्रो ड्राफ्टमा काम गरिरहँदा ‘चिसो वर्ष’ ले फिल्मको कथा बोकेन भन्ने लाग्यो । अन्तर्राष्ट्रिय बजार र ल्याबमा त्यही नाम थियो । तर, कथासँग फिल्मको नाम जोडिएन भन्ने छटपटी भयो । फेरि कथा हेरें, शाम्बालाको यात्रा अध्यात्मतिर छ । यसले पुनर्जन्मलाई छुन्छ । झट्ट पढ्दा फिल्मको कथा हराएको पति खोज्दै हिँडेकी गर्भवती महिलाको जस्तो छ, तर, त्यही यात्रामा आफैंलाई ती महिलाले खोजेको कथा पनि हो यो । यो आध्यात्मिक पक्ष मुख्य हो भन्ने लागेपछि फिल्मको नाम ‘शाम्बाला’ राखें । ‘शाम्बाला’ बौद्ध र हिन्दु धर्मसँग जोडिने शब्द रहेछ । संस्कृत शब्द ‘शाम्भल’ हो । हिन्दु धर्मशास्त्रअनुसार, कल्कीको अन्तिम अवतार हुने ठाउँ शाम्बाला हो, जुन रामराज्य हो । बौद्ध धर्मअनुसार अन्तिम बुद्ध जन्मिने ठाउँ पनि शाम्बाला हो, त्यसपछि कलियुग सकिन्छ भन्ने विश्वास छ । शाम्बाला पुगिसकेपछि आत्मज्ञान पाइन्छ भन्ने मिथक छ । बौद्धधर्मका विद्वान् भन्छन्– यो ठाउँ अफगानिस्तान नजिक छ । हिन्दुहरू शाम्बाला कुरुक्षेत्र नजिक छ भन्छन् । धेरै विद्वान्ले भनेका छन्, अफगानिस्तान नजिक यस्तो ठाउँ छ, जहाँ शाम्बालाको जन्म हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा पुग्दा नेपाली फिल्महरू अन्य विधामै खुम्चिनुपर्थ्यो । बर्लिनको प्रतिस्पर्धात्मक मुख्य विधातर्फको यात्रा–कथा कस्तो छ ?

खास मेरो इच्छा ‘शाम्बाला’ छनोट नहोस् भन्ने थियो । फिल्म सकेपछि पनि त्यो थकान मेटिएकै थिएन । बर्लिन पुग्यो भने आराम गर्न पाउँदिनँ भन्ने लागेको थियो, त्यसैले । त्यसबीच रातारात काम गरियो । २ महिना छुट्टी लिने सोचेको थिएँ, तर बर्लिनमा फिल्म छानियो । फिल्मको ‘वानकट’ मै बर्लिन, कान, भेनिसको मुख्य प्रतिस्पर्धामै गइन्छ भन्नेमा ढुक्कै थिएँ । अचम्म, योपालि पहिलेझैं फेस्टिभलको हुटहुटी/लोभ भएन । फेस्टिभलमा गइएन भने हलमा चलाउँछु भन्ने लागेको थियो । सायद जुन विषयमा हामीले फिल्म बनायौं, ‘शाम्बाला’ ले मलाई पनि कतै प्रबुद्ध बनायो । यही फिल्मले भेजेटेरियन बनायो, नामुद जँड्याहा म, जाँडै खान छोडें । दिनमा ४/५ डब्बा चुरोट खाने मान्छे, त्यो पनि छोडें । सुटिङमै पनि म कोहीसँग बोल्दिनथें । ध्यान अभ्यास गर्न थालें । त्यस्तो हिमालको सुटिङमा पनि एक छाक मात्रै खान्थें । मेरो जिउने र सोच्ने शैली परिवर्तन भयो । टिमका साथीहरूको अपेक्षा थियो, फेस्टिभलमा छनोट हुन्छ । त्यसैले मनको कुनै कुनाले त्यतातिर सोच्नुपर्थ्यो होला । तर, मसँग आशक्ति नै थिएन । आवेदन खुलेको समय पनि फिल्मकै काममा थिएँ । आवेदनको अन्तिमतिर फिल्मको ध्वस्त भर्सन पठाएँ । मलाई बर्लिनले लिएन भने आरामले काम गरौंला भन्ने थियो । फिल्मकर्मीका लागि फुटबलको मैदानमा खेल्नु ठूलो हो, गोल हान्नु महत्त्वपूर्ण होइन ।

अब विश्व बजारमा पुग्ने फिल्मले मुख्य प्रतिस्पर्धाका लागि के विषयमा जोड दिनुपर्छ ? नेपाली फिल्म रचनात्मक हुन नसक्नुका कारण के रहेछन् ?

मुख्य प्रतिस्पर्धा महत्त्वपूर्ण विषय हो । लघु फिल्मतर्फ हामी मुख्य प्रतिस्पर्धामै छौं– ‘बाँसुल्ली’, ‘दद्या’, ‘लोरी’ त्यसका उदाहरण हुन् । हाम्रो रैथाने स्वाद, कथ्य–वाचन शैली र प्राविधिक पक्षमा हामी बलिउडभन्दा १० कदम अघि छौं । अरू पनि लघु फिल्म पुगे भने मुख्य प्रतिस्पर्धामै पुग्छन्, लघुको अन्य विधा हुँदैन । तर, फिचरको विधा थुप्रै हुन्छन् । फिचरको मुख्य विधामा संसारैभर त्यो वर्ष बनेका १० हजार फिल्मले आवेदन दिन्छन् । त्यसैबाट प्रतिस्पर्धामा २० वटा छानिन्छ । ‘कालोपोथी’ तिर फर्किहेर्दा लाग्छ, हामी फिल्म कम, रेडियो नाटक धेरै बनाउँछौं । फिल्म त श्रव्यदृश्यको माध्यम हो । हामी हेर्ने होइन, सुन्ने फिल्म बनाउँदा रहेछौं । दृश्य भाषा निर्माण गर्न र आफ्नो आवाज सुनाउन हामी चुक्यौं– के भयो भने त्यो हाम्रो आवाज हुन्छ ? त्यो भन्न सकेनौं । युरोपियन फिल्मकर्मीहरू फिल्ममा ओपेरा, क्लासिक संगीत मिसाउँछन् । चरित्र चित्रणदेखि संरचनामा त्यो घुसाउँछन् । नेपाली फिल्मको भाष्य कस्तो हुनुपर्छ ? ‘लोरी’ एक उदाहरण हो । खासमा कम्फर्टजोन नभएरै हामी यहाँ आइपुग्यौं । बलिउडको जस्तो मार्केट भएको भए हामीकहाँ यस्तो फिल्म बन्दैनथ्यो होला । हामी आर्ट हाउसको फिल्ममा बलिउडभन्दा अगाडि पुगिसक्यौं । बर्लिनको

ट्यालेन्टमा बलिउडबाट ५ सयदेखि हजारले आवेदन दिए, तर तीन जना छानिए । हामीकहाँ ट्यालेन्टबाट २०/३० जनाले आवेदन दिँदा यो वर्ष ५ छानिए र दुई फिल्म छानियो । हामीले सजिलै लगानीकर्ता पाएका थियौं वा ८/१० करोड रुपैयाँ नै पाएको भए पनि यो बजारतर्फ लाग्ने थिएनौं होला ।

दृश्य–भाषाकै कुरा गरौं न ! तपाईंको फिल्ममा थुप्रै लामा–लामा सटको प्रयोग छन् । ती सटका मौलिक भाष्य के हुन्छन् ?

हिमालको जीवन पद्धति धीमा गतिमा चल्छ । मान्छेहरू जुन घरमा जन्मिन्छन्, त्यही घरमा मर्छन् । अहिले हाम्रो मरण कहाँ हुने हो ? कहाँ कर्म गर्छौं ? कहाँ ठोक्किन्छौं ? पत्तो छैन । हाम्रो आयतन फैलिसक्यो । हाम्रो जीवन छिटो गतिमा चलिरहेको छ । सहरको जीवन त रेलको गति हो । मैले फिल्ममा सहरको कथा भनेको भए ‘फास्ट सट’ लिन्थें । तर, हिमालमा त

बाह्रै महिना त्यही घर, त्यही खेत, त्यही ओछ्यान ! उसको आमा–बुवाले जहाँ मृत्युवरण गरे, त्यहीं उसको पनि मृत्यु हुन्छ । खाना पनि, खाए सात्तु–नखाए पनि सात्तु ! उसको जीवनमा छनोट हुँदैन । त्यस्तो जीवन देखाउन हामीले किन क्लोज–अप र कटको छनोट गर्ने ? त्यहीमाथि हिमाल आफैंमा फराकिला हुन्छन् । डोल्पा नेपालको सबैभन्दा ठूलो जिल्ला, कर्णाली भूभागले ठूलो । त्यसैलाई देखाउन वाइड–सट राखें । त्यसमाथि यो शाम्बाला र अध्यात्मको कथा हो, अध्यात्मकले कहिल्यै ब्रेक गर्दैन ।

यो फिल्म बनाउन ८ वर्ष लाग्यो । म चाहन्छु, मेरा सबै पुराना काम बिर्सेर दर्शकले यो फिल्म हेरून् । मेरा पुराना अठोट–रहर–काम त जग हुन्, तर यो नयाँ घर–नयाँ माटो–नयाँ परिदृश्य हो । म ती कामको ब्याज खाएर नयाँ घर ठड्याउन चाहन्न, नयाँ माटोमा, नयाँ शैलीमै नयाँ घर बनाउन चाहन्छु । सायद हामीमध्ये धेरै पुरानो विरासतमा हरायौं । त्यसपछि आफ्नो भ्वाइस हरायो । म सपनामा धेरै रमाउँदो रहेछु । सिनेम्याटिक भिज्वल एक्सिपेरिमेन्ट मेरो नै भ्वाइस रहेछ । फिल्मको शैली नदोहोरिए पनि भ्वाइस दोहोरिँदैन । मेरा पात्रले अरूलाई नराम्रोसँग प्रहार नगर्दा रहेछन् । त्यो मेरै चरित्रको रिफ्लेक्सन होला ! मेरो पात्रले सधैं अरूलाई उपहार दिन्छन् र ती उपहार पानीमा बगाउँछन् । र, हराएका मान्छे खोजी गर्छन् । झट्ट हेर्दा मेरा जिन्दगीभर बन्ने फिल्मका विषय यिनै हुन् । पात्र र परिवेश परिवर्तन होलान् । ‘बाँसुल्ली’ मा घर छाडेर जाने र खोज्ने विषय छ । ‘कालोपोथी’ मा पनि खोज्ने यात्रा नै छ । म आफैं पनि आफैंभित्र आफैंलाई खोजिरहेको रहेछु । म–को हुँ भन्ने प्रश्नकै खोजीमा कुदिरहेछु । कहिले गुम्बा धाउँछु, कहिले हिमाल चहार्छु ! यो जीवनप्रतिको मेरो खोजै हो । जीवनबाट हराएका, उछिट्टिएका मेरा आफन्तजन खोज्दै छु । आमा–बुवा गुमाएँ, उहाँहरूको स्मृतिको खोजीमा छु । मेरा फिल्ममा पनि ती आउँदा रहेछन् । ‘कालोपोथी’ लाई फर्केर हेर्दा थुप्रै विषयमा चित्त नबुझ्ला, तर सोच्छु, त्यसमा मेरो भ्वाइस आएको छ । नाक पुछिरहने स्वभाव भएको मान्छेले, पाँच–तारे होटलमा पनि नाक पुछिरहेकै भेटिनु उसको मौलिकपन हो ।

यस्तो दृश्य–भाषा निर्माणका चुनौती के–के छन् ?

‘शाम्बाला’ को मूल उद्देश्य नै दृश्यको सौन्दर्य कसरी नदेखाउने भन्ने थियो । जता क्यामेरा राख्यो, डोल्पा त्यतै राम्रो देखिन्छ । सुन्दर दृश्य देखाउँदा त्यसको सन्तुलन हाम्रो कथा–सारसँग मिल्दैनथ्यो । तर, लङ सट पनि नेस्नल जियोग्राफी हेरेझैं नहोस् भन्ने थियो । हाम्रो फिल्म हेरिरहँदा दर्शक धेरै भावुक पनि नहुन् भन्ने पनि थियो । ‘बाँसुल्ली’, ‘कालोपोथी’ देखि नै मैले सुन्दर दृश्य र भावना कम देखाएँ । भावनात्मक यात्रामा मान्छेलाई अड्काइदिएर सम्मोहित गर्नु मेरो ध्येय होइन । मलाई ‘शाम्बाला’ को कथा लार्जर पिक्चरमा भन्नु छ । कोही पात्रको समस्याले ल्याएको पीडामा दर्शकलाई लामो समय लैजान चाहन्न । म त्यो भावना त्यहीं ब्रेक गर्न अर्को रमाइलो दृश्य प्रयोग गरिसक्छु । यो वास्तविक होइन भनेर पनि त्यस्ता दृश्य राख्छु ।

नवीन सुब्बाबारे भनिन्छ– उहाँलाई एउटै फिल्म बनाउन पनि १० औं वर्ष लाग्छ । तपाईंले पनि ‘शाम्बाला’ मा ८ वर्ष लगाउनुभयो । लेखनमै लामो समय लगाउनुको अर्थ ‘फन्ड’ को लोभ त होइन ?

यस्ता तर्कको म वास्तै गर्दिनँ । समय लाग्ने भन्ने पनि ठूलो कुरा हो र ? सबैले आफ्नो मानो खाने हो, आफ्नो बाटो हिँड्ने हो । सबैको गन्तव्य फरक छ । एउटै यात्रामा भइदिएको भए पो तुलना हुन्छ । यो तर्क त कस्तो भने, एउटाले २५ मा बिहे गर्‍यो, तैंले किन ३० मा गरिस् ? भनेजस्तो । यस्तो कुरा गर्नेहरूप्रति मेरो करुणाभाव छ । ‘शाम्बाला’ को ४० ड्राफ्ट एक्लै लेख्दा ६ वर्ष लाग्यो । त्यति समय लाग्नुको कारण हो– फिल्मको प्रमुख पात्र महिला थिइन् । उसको आध्यात्मिक यात्रा एन्थ्रोपोलोजिकल हिसाबले गलत नहोस् भन्ने थियो । फेरि मैले डोल्पाको भाषा पनि सिक्नुथियो । त्यहीबीच म एन्थ्रोपोलोजी पढ्दै थिएँ । त्यो फन्डिङको विषय होइन, ४१–४२ ड्राफ्ट अविनाशविक्रम शाहसँग बसेर लेखें । ४३ ड्राफ्ट सहायक निर्देशकसँग लेखें, अनि ४५ डोल्पामा एक्लै बसेर लेखें ।

महिला पात्र भएकैले तपाईंलाई फिल्म लेख्न निकै लामो समय लागेछ । तर, यहाँ ‘महिलाको कथालाई पुरुषले शतप्रतिशत न्याय गर्न सक्दैन’ भनिन्छ । तपाईंले कथामा न्याय गर्नुभयो त ?

पहिलो कुरा, महिलाले नै बनाएको फिल्मले पनि महिलामाथि न्याय गर्छन् भन्ने के ग्यारेन्टी ? हामीले गल्ती गरेका हौंला । तर, हामीले जे कथा भन्न खोज्यौं, त्यसमै खुसी छौं । अर्को त म महिला भएको महसुस गर्न सक्थें, महिला नै बन्न त सक्दिनथें ! मेरो प्रयास सगरमाथा चढ्नु हो, तर कसैले ‘सगरमाथा नै बोकेर ल्याऊ’ भन्न मिल्दैन, त्यो सकिँदैन पनि । महिलाको दृष्टिकोणभित्र जतिसक्दो गहिराइमा पसौं भन्ने अभ्यास थियो मेरो । सायद फिल्ममार्फत मैले मभित्रको फेमिनिन इनर्जी खोजेको छु, त्यसैले फिल्ममा भयानक मज्जा आयो ।

हामीले कस्तो फिल्मलाई मौलिक मान्ने ?

हामीकहाँ गाउँको सेटिङमा फिल्म खिचे त्यो मौलिक हुन्छ, भनिन्छ । गाउँकै लुगा लगाउँदा र त्यही भाषा बोल्दा त्यसलाई मौलिक फिल्म भनिन्छ । नेपालमा थ्री–डी फिल्म पनि मौलिक हुन सक्छ । देखिने कुराको मौलिकपना पछाडि धेरै दौडियो भने बिग्रिन्छ । हामी देखिने विषयलाई नै मौलिकपना भन्दै बहस मोड्दै छौं । तर, नदेखिने कुरा पो मौलिक हुन्छ त ! हामी आफू सम्पन्न भए पनि अरूको कुरा काट्न छोड्दैनौं, त्यसलाई कुरा काटेको रूपमा मात्रै नहेरौं ।

सामाजिक संयन्त्र चरित्र चित्रणमा यसरी देखिन्छ । हामी अरूसँग नजोडी, अरूको कुरा नगरी अपुरो हुन्छौं । ‘म एक्लै बाँच्छु’ भन्ने समाज होइन हाम्रो । मेरो घर छ, सम्पन्नता छ र पनि छिमेकीको घरमा कसको व्रतबन्ध हुँदै छ भन्ने चासो राख्नैपर्छ । नेपालीको मौलिकपन त यो हो ! हामीकहाँ ‘भोको बस्नु नपरोस्’ भन्नु, ‘एकअर्कासँग बाँडचुँड गर्नुपर्छ’ भन्नु मौलिकपन हो । म कहिल्यै एक्लै खाना खान सक्दिनँ, हाम्रो माटोको मौलिकपन त त्यो हो । दृश्य–भाषामा मौलिकपनलाई यसरी पनि मिसाउन सकिन्छ । खासमा ‘मौलिक’ भन्दा पनि ‘रैथाने’ शब्दले यसको वजन बोक्न सक्छ ।

प्रकाशित : माघ २०, २०८० १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?