कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

एकान्तमा एउटा अहम्

‘बकपत्र’ जोगीको आत्मानुभूति हो, विरक्त कविको हरफ ! प्रेमीको लाजमर्दो प्रेमपत्र, छोडपत्र र बिछोडपत्र ! 
नवीन अभिलाषी

संसारमा कुनै कुरा स्वतन्त्र अस्तित्वमा छैन । सापेक्षतावादबारे आइन्स्टाइन भन्छन्– एउटा सम्बन्धनबाट अर्को सम्बन्धनमा पुगेपछि कुनै पनि कुरा पहिलेकै रूप, आकार र अवस्थामा रहँदैन । यस्तै कर्मकाण्डी पण्डित निर्माणका लागि काभ्रेको भमरकोटमा हुक्सेलीको कोखबाट जन्मिएका नुनिन्द्र दुलाल सम्बन्धनका आपत्विपत्मा ठोक्किँदै र वैचारिक टेबलमा कलाबाजका पञ्जा लडाउँदै, कहिले रगत त कहिले पसिनामा पाइला राख्दै अन्ततः धर्मविरोधी (?) नरेन्द्रजंग पिटरमा कायाकल्प भए । 

एकान्तमा एउटा अहम्

पाँच रुपैयाँको साहसमा थानकोटबाट ओर्लिएर मधेशका फाँट हेर्दै विहार पुगे । पाटलीपुत्रबाट पटनामा परिवर्तित सहरमा उनले हिलारियन पिटर दासलाई छोए, ‘हेर नेपाली बाबु, क्रान्ति आयात–निर्यातको वस्तु होइन । उसका आफ्नै खुट्टाहरू हुन्छन् ।’ दासको दर्शनले ओतप्रोत भई मार्क्सवादी खुट्टा निर्माण गरेर भौतिकवादीको जुनी लिए । नक्सलवादका कठोर ज्वारभाटाबाट जीवन जोगाएर चितवनको भण्डारा टेक्दा तिनै खुट्टाहरू काम लाग्यो, जहाँ पिटरले ६ वटा वर्ष झोले डाक्टरको आवरणमा मान्छेको शरीरभन्दा विचारको उपचार गरे । उनलाई समयले पश्चिम लखेटिरह्यो । ज्वालामुखी छोपेर बसेको नेपालगन्ज सहरमा उनी एकाएक पशुको इलाज गर्ने अवस्थामा आइपुगे । व्यापारीको मुकुन्डोभित्र विद्रोहको तयारी गरे । साहित्य विमर्शको धुनी जगाए । देशमा बन्दुक उठ्यो, भूमिगत भए । छापामारका राताम्मे बाटो भएर दौडिए । विचारमा पाइन चढाउँदा–चढाउँदै आफ्नै लस्करबाट लल्कारिए ।

बाहिर साधारण, भित्र असाधारण जीवनको बहिखाताको अमिल्दो हिसाब उल्लेख गरिएको किताब ‘बकपत्र’ पिटरको आत्मकथा हो । बेहिसाब र अनुमानहीन जीवनको चरित्र हो । उनी बग्दो कर्णालीका विरूपतासँग आफैंलाई दाँज्छन् । कर्णाली नदी तिब्बतमा माप्चोनोङ्गो हिमनदीबाट निस्केर मानसरोवर नजिकैको राक्षस ताल हुँदै दक्षिण लागेको करण खोला, कर्णाली, घाघरा र सरयू हुँदै गंगा सागरमा समाहित हुन्छ । हुक्सेली परिवारको चिसो हिमनदी छोडेर दक्षिण झरेका पिटर पनि राजनीतिको धमिलो गंगामा पुगेर सकिए । राजनीतिक विश्लेषक तथा चिन्तकको छवि निर्माण गरेका पिटरलाई प्रश्न सोधिन्छ, लेखिनु र भनिनुपर्ने तमाम विषयक्षेत्र उछिनेर किन आत्मकथामा विश्राम लिए ?

एउटा विश्वासको मृत्युले हजार आशंकालाई जन्म दिन्छ, जसका लागि घारो र कात्रो बोकेर महासमरमा होमिए, त्यो सर्वोच्च अनुहार नै विचारहीन र दिशाहीन भएर ढुन्मुनिएपछि पिटर रोकिए । तर, अलपत्र भएनन् । युद्ध हाँक्ने कोर किचेनका पिटरसँग यतिबेला भलै प्रश्नहरू मात्रै होलान्, तर उनैलाई इतिहासले प्रश्न सोध्न छोडेको छैन– आत्मकुण्ठा र आत्मारोपको पत्र लेख्दैमा सर्वहारा, श्रमजीवी र मजदुरको रगतले भिजेको स्वप्निल यात्राबाट टाप कस्ने नैतिक छुट मिल्छ र ? आउट अफ एरिनामा उभिएर विचारको बागचाल खेल्दैमा सहिदको रगतले बाटो दिन्छ र ? त्यो केशर पहाडीको पहिचानलाई आदर्श ठानिरहेका रिक्सावालको जमातलाई लल्कार्न पाइन्छ र ? नायकले गरेका भूलको मूल्य सिंगो युगले चुकाउनुपर्छ । किताबले भन्छ, पिटर कुण्ठित छन्, नाफाको जिन्दगीमा लालच राखे होलान् । सक्दो चाकडी पनि गरे होलान्, तर उनी गद्दार भने निस्किएनन् । उनी स्वीकार गर्छन्, ‘मौन र निद्रामय समाजमा हस्तक्षेप त आवश्यक हुन्छ, तर कालान्तरमा औचित्य पुष्टि गर्न नसकिने घटना आन्दोलनका दाग बन्ने गर्छन् ।’ दसवर्षे महाभारतका एउटा कृष्ण हुन्– पिटर, उनलाई अर्जुन हुनुपरेन । तर, हातमा रगतको दाग छैन भन्दैमा उनको निधारमा लागेको दाग फिक्का मान्न सकिन्छ र ? उनलाई मनोयुद्धको एम्बुसबाट अब उम्किन सम्भव छैन ।

युद्ध आन्दोलनको लज्जास्पद् अवतरणपछि पिटरले कुनै कुनो भेटेनन् । त्यसपछि उनी सुन्जुकी नामकी छद्य प्रियतमलाई पत्र लेख्छन् । बालहठको चरम प्रस्तुति मञ्चन गर्छन् । घुर्की लगाउँछन् । आचरण, आदर्श, सपना, लक्ष्य र विश्वासका बाटाहरूको हिसाब गर्छन् । आत्मविश्वास दह्रो बनाउँछन्, जिते हस्तिनापुरको राज, हारे चपरीमुनिको बास भनेर अन्त्यमा छोडपत्र माग्छन् । तर भन्छन्, ‘मैले पार्टी छोडेको होइन, मलाई पार्टीले छोडेको हो ।’ वर्ग र विचारबाट पलायन भएको बुद्धिजीवी सबैभन्दा बिकाउ माल हुन्छ भन्ने पिटर जान्दछन्, ‘म सम्बन्धविच्छेद त गर्छु, तर म कुनै कुलङ्गारसँग अर्को बिहे गर्ने छैन ।’ पिटरले अर्को कुनै पार्टीको हात समाएका छैनन् । विचारबाट नाङ्गिएर पतझर भइसकेका छैनन् । चरम आदर्शवादीको जुत्ता लगाएर टाँगाको सहरदेखि प्रचण्डको सहर आउजाउ गरिरहन्छन् ।

माओवादी आन्दोलनको वैचारिकी अध्ययनका लागि ‘बकपत्र’ ले महत्त्वका सन्दर्भहरू उठान गरेको छ । नेपाली साहित्यले त्यो युद्धको हिसाब गरिरहेको बेला पिटरहरू आत्मकथा लेखेर किन सहयोग गरिरहेछन् ? भावनामा बग्ने छुट नभएको स्वीकार गर्दै किन रविन्सन क्रुसो बन्न खोजिरहेछन् ? प्रकाश सपूतजन्य ‘पीर’ का भाकामा हल्लिने माओवादीको अस्तित्व दस्ता पार्टीको नैतिकता नै धूलिसात बनाउँदै चिच्याएर लेखिएको ‘बकपत्र’ बारे किन चुइक्कसम्म बोल्दैनन् ? अतितको आफ्नै आन्दोलनलाई भनिदिनुपर्ने अन्तिम वाक्य पनि पिटरले भनिदिएका छन्, ‘क्रान्ति, जसलाई चेतनाले नेतृत्व गरेको हुँदैन, त्यो आतंकवादमा फेरिन्छ ।’

सम्हालिँदै, जोगिँदै लेखिएको किताब होइन– ‘बकपत्र’ । छताछुल्ल पोखिएको छ किताब । युद्ध मैदानका रुमानी साँझतिर निर्माण भएका सांस्कृतिक विचलन भनिने कमरेडका यौनकाण्डदेखि योद्धाको नाममा काटिएका चेकमा भएका झिटाझम्टीका प्रसंगहरू ‘बकपत्र’ मै ओकलिएका छन् । पिटरले साँझतिर रक्सी–भट्टीमा गुन्गुनाउने विद्रोही गीतका लप्का र मित्राणीका सुदूर सम्झनाहरू निर्धक्क लेखिदिएका छन् । आदिविद्रोहीको पदचाप पछ्याउँदै देशाटनमा देखेको देश लेखेका छन् । किसान विद्रोहको विस्फोटस्थल शृङ्गादेखि बर्दियाका सोह्र हजार बिघा जग्गाका मालिक महामना हरिहर गौतम उपाध्यायको जीवन औचित्यमाथि प्रश्न उठाएका छन् । पिटरले जिन्दगीभरको खोज किताबमा लगाएका छन् । ‘युद्धको सामना नगरेको, प्रेमको पीडा नसहेको, जेल नभोगेको र बेखर्ची भएर नभौंतारिएको मान्छेले जीवनलाई न समुचित भोग्न सक्छ, न खुसी र पीडाको मर्म अनुभूत नै गर्न सक्छ,’ जीवनको मूल्यबोध सापेक्षित हुन्छ । के बुद्ध, के हिटलर ? के राजा, के रैती ? दुःखको चरम सीमा र सुखानन्दको किनाराको मापन आ–आफ्नै तराजु, आ–आफ्नै ढकमा निर्भर हुन्छ । मानव जीवनको सीमाहीन चरित्र किताबमा कैद छ । आत्मकथाको लेखन ढाँचा सीमाहीन छ, शैलीविहीन छ । कतै दर्शनशास्त्र पढेजस्तो, कतै संस्मरण, कतै यात्रा–वृत्तान्त र कतै चिट्ठीजस्तो । कतै राजनीतिक दस्ताबेज त कतै अन्तर्वार्ताजस्तो पाठकलाई लाग्न सक्छ । विचारोत्तेजक दर्शनको गहनता र भावनाले भिजेका वाक्यले किताब बुनिएको छ ।

आत्मकथा भनेको आत्मप्रशंसा होइन । आत्मप्रचार र विज्ञापन पनि होइन । आफैंले आफैंलाई कठोर मूल्यांकनको कोलमा पेलेर निकालिने आत्मानुभूतिको फेहरिस्त हो । वस्त्रविहीन कायाको रूप हो, जहाँ गलत गल्लीहरूमा गुज्रेका अँध्यारा रातका कथाहरू लेखिन्छन्, वैध–अवैध प्रेमका लालपुर्जाहरू छापिन्छन् । स्वाभिमानको सल च्यातिएर असली औकात उदाङ्गिन सक्छ । यस्तो गर्ने हिम्मत नभएकाहरू दाँत बाँधेर कलम चलाउँछन् । तर, पिटरको किताब पढेपछि आफन्त नबोल्न सक्छन्, अतितका दुस्मनहरू ब्युँझिएर खोजि गर्न सक्छन् पिटरको । आफ्नै पार्टीपंक्तिका सहोदर कमरेडले लल्कार्न सक्छन् । कठोर जीवन दर्शन, कहालीलाग्दो संघर्षको शब्दानुवाद, आततायी अतितको निर्मम समीक्षा, विघटित राजनीति अस्तित्वमाथि प्रहार नै प्रहार ! र, एउटा वाम क्रान्तिकारीको आत्मावमूल्यन, विनिर्माण र विसर्जन नै ‘बकपत्र’ हो । यो किताब कुनै जोगीको आत्मानुभूति हो । एउटा विरक्त कविको हरफ हो । एक आदर्शवादीको जीवन व्याख्या हो । अलेक्जेन्डर महान्को विजय हुंकार हो । क्रिस्टोफ कोलम्बसको गोप्य पथदर्शक कागज हो । र, हो एउटा नकटी प्रेमीको लाजमर्दो प्रेमपत्र, छोडपत्र र बिछोडपत्र । उनी वर्तमान एकान्तमा छन्, तर वैचारिक अहम् त्यागेका छैनन् ।

अढाई सय पेजको ‘बकपत्र’ मा छापिएका पिटरको आत्मकथाभित्र ज्यां जाक रुसोको प्रतिच्छाया देख्छु । मेरो सीमान्त ज्ञानले मलाई भ्रमित बनाएको होइन । यो कुनै अनुपातमा आधारित तुलनात्मक विश्लेषण नहोला र मिल्दैन पनि । अठारौं सदीमा फेन्च राज्यक्रान्तिको जन्मदिने विचारक रुसोसँग नेपाली कम्युनिस्ट आन्दोलनका एक थकित पात्र पिटरलाई एउटै हलमा नार्न हुँदैन । तर, तीन सय वर्षपछि दुई मानिसले जीवन बाँच्ने भाकाहरू मिल्न पुग्ने रहेछन् ।

एउटा मान्छेलाई भाग परेको एक कचौरा समयमा भोग्नलाई के–केसम्म पर्न सक्छ ? गीता पढेर युद्ध नलडिएजस्तो तौलेर, नापेर, जोखेर आयुको भुक्तान गरिँदैन । माटोको भाँडो कतिबेला खसेर प्याट्ट फुट्छ, कसलाई अड्कल हुन्छ ? च्यातिएर जाने एकबारको बोरा जिन्दगीमा नौमुरी तीलजति घटनाहरू अटाउन सक्छ । नीलो ग्रहको यो भूतलले जिउँदा होमो सेपियन्सको संख्या आठ अरब उछिनेको छ । आउने–जानेहरूको मेलामय संसारमा कति कथा घटित भए होलान् ! तर, सबैको कथा आत्मकथा बन्दैनन् । जे भए पनि इलेक्ट्रोकार्डियोग्रामका रेखाहरू जस्तो हुनुपर्ने रहेछ, जीवनको डगर । यत्ति हो, नरेन्द्रजंग पिटरले बाँचेजस्तो जीवन अब कसैले बाँच्नु नपरोस् ।

प्रकाशित : माघ २०, २०८० ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?