कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

साहसी सामबहादुर

सामबहादुर गोर्खालीलाई सम्मान गर्थे । भन्थे– यदि कोही सैनिक मर्न डराउँदिनँ भन्छ भने कि त ऊ झूट बोलिरहेको छ, नभए ऊ गोर्खाली हो ।
सुशील पौडेल

भारतीयले नेपालीलाई दिएको उपनाम हो– बहादुर । खासगरी भारतीय सेनामा भर्ती भएका गोर्खाली सैनिकको युद्ध वीरताले कायल भारतीयहरू नेपालीलाई ‘बहादुर’ भन्छन् । सन् १९६९ जुलाईमा भारतीय सेनाध्यक्ष आफ्नो आठौं गोरखा राइफल्सको निरीक्षणका लागि पुग्छन् ।

साहसी सामबहादुर

बटालियनको सलामीपछि सेनाध्यक्ष एक सिपाहीलाई सोध्छन्, ‘तिम्रो नाम के हो ?’ सिपाहीलाई ‘हर्क गुरुङ’ भन्न गाह्रो थिएन, तर सेनाध्यक्षले आफ्नो नाम सोध्दा उनलाई गाह्रो पर्‍यो । नाम नै थियो त्यस्तै– साम होर्मुस्जी फ्रामजी जमशेद्जी मानेक्सा । तर, सिपाहीले अन्कनाउँदै सामपछि लगाइदिए बहादुर । अर्थात्, सामबहादुर ।

तिनै सेनाध्यक्षको जीवनीमा आधारित मेघना गुल्जार निर्देशित फिल्म यतिबेला प्रदर्शनरत छ, उही गोर्खाली सिपाही हर्कले जुराइदिएको उपनाम सामबहादुर शीर्षकमा । र, साम पनि भन्ने गर्थे, ‘मलाई सामबहादुर सबैभन्दा प्रिय बोलाहट लाग्छ ।’ तर, उनी भने अरूलाई स्विटी भन्न रुचाउँथे । रुचाउँथे होइन, भन्थे नै । यतिसम्म कि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई समेत उनले स्विटी भनेका थिए । इन्दिरासँग आँखामा आँखा जुधाएर स्विटी भन्न सक्ने सामको स्वच्छन्दता, आँट र सँगसँगै ठट्यौलीपना तब थाहा हुन्छ, जब उनको जीवनीमा आधारित फिल्म हेरिनेछ ।

जीवनीभन्दा पनि फिल्म मूलतः भारतीय सेनाका पहिलो फिल्ड मार्सल सामको चार दशक लामो सैन्य सेवामा आधारित छ । पहिलो विश्वयुद्धभन्दा चार महिनाले जेठा साम २० वर्षको उमेरमा भारतीय सैन्य एकेडेमीमा भर्ती भइसकेका थिए । उक्त एकेडेमीको पहिलो ब्याचका २२ जनामध्ये स्मित दून र मोहम्मद मुसा खान पनि थिए, जो पछि क्रमशः बर्मा र पाकिस्तानका कमान्डर चिफ भए ।

सुरुवातमा गोर्खा रेजिमेन्टमा रहेका साम गोर्खालीलाई सम्मान गर्थे । उनको एउटा चर्चित भनाइ नै छ, ‘यदि कोही सैनिक मर्न डराउँदिनँ भन्छ भने कि त उसले झूट बोलिरहेको छ, नभए ऊ गोर्खाली हो ।’ साम निडर थिए । दोस्रो विश्वयुद्धमा जापानिज सेनासँगको मुठभेडमा सात गोली लागेर पनि उनी बाँचेका थिए । गोली लागेर ढलेका सामलाई एक सैनिकले काँधमा हालेर साढे २२ किलोमिटर टाढा अस्पताल पुर्‍याउँदा डाक्टरले बाँच्दैन भनी अप्रेसन गर्न मानेका थिएनन् । पछि होसमा आएका सामलाई डाक्टरले सोधेका थिए, ‘के भयो तिमीलाई ?’ त्यस्तो नाजुक अवस्थामा पनि फिस्स हाँस्दै उनले भनेका थिए, ‘एउटा गधाले लात मार्‍यो ।’ त्यसपछि उनको ठट्यौली बानीले प्रभावित डाक्टर ‘उसो भए त कुनै पनि हालतमा बचाउनुपर्छ’ भनेर उपचारमा लागेका थिए । निको भएपछि उनी पुनः सैनिक जीवनमै फर्किए । त्यसपछि भारत–पाकिस्तान र पाकिस्तान–बंगलादेश विभाजनका बेला उनले भारतका लागि युद्ध लडेका थिए ।

‘जित्नका लागि लड्ने हो’ भन्ने मान्यता राख्ने सामबारे बनेको फिल्म ‘सामबहादुर’ अर्को फिल्म ‘एनिमल’ सँगको जुधाइमा पर्दा बक्सअफिसमा नराम्रोसँग पछारियो । भलै हार भने मानिसकेको छैन । सामको भूमिकामा विक्की कौशलको चित्रण सर्वाधिक सबल पक्ष हो । अथवा, विक्कीले नै फिल्मलाई एक्लै काँधमा बोकेर हिँडेका छन् भन्दा अत्योक्ति हुँदैन । सामको हिँडाइ, बोलाइ, हाउभाउ र गेटअपमा विक्की यति नजिक पुगेका छन् कि उनको चरित्रमाथिको अध्ययन झल्कन्छ । त्यसो त यही चरित्रका लागि झन्डै तीन वर्ष सेनाकै प्रशिक्षण लिएका उनले कतै भनेका पनि छन्, ‘सामबहादुरको चरित्र मेरो अहिलेसम्मको करिअरकै सबैभन्दा कठिन र चुनौतीपूर्ण रह्यो ।’

६ वर्षअघि नै फिल्म ‘राजी’ गर्दै निर्देशक मेघनाले सामबहादुरको कथा ‘पिच’ गर्न सुरु गरेकी थिइन् । मुख्य कलाकारबाहेकका सैनिक भूमिकाका लागि सेनाबाटै कास्टिङ गरिन् र विभिन्न १३ ठाउँ पुगेर झन्डै ८ महिनाको छायांकन अवधिमा सामबहादुरको चार दशक सैनिक सेवाको घटनाक्रम खिचिन् । जीवनीमा आधारित फिल्म बनाउनु सहज हुँदैन । इतिहास तोडमोड नगरी कथालाई फिल्मी शैलीमा ढालेर दर्शक रिझाउने सानो चर मात्रै निर्देशकको हातमा हुन्छ । त्यसो त ‘सामबहादुर’ मा मेघनाले मुख्य चरित्रका लागि जति मिहिनेत देखाएकी छन्, पटकथामा फिक्का लाग्छ । सन्तनु श्रीवास्तवसँग लेखन सहकार्य गरेकी मेघनाले फिल्ममा सामबहादुरका जीवनका घटनाक्रमलाई भिडियो एल्बमका रूपमा क्रमानुसार राखिदिएकी छन् । यस अर्थमा यो डकुड्रामा भन्दा माथि उठेको छैन ।

उनले सामबहादुरलाई त्यस्तो ‘हिरो’ पनि बनाएकी छैनन् । देशका लागि युद्ध लड्दा दर्शक उचाल्ने अन्धो देशभक्तिका मसला हालेकी छैनन् उनले । त्यसबाहेक अन्य सहायक चरित्र लेखन र अभिनय दुवैका हिसाबले फिल्म फिक्का छ । इन्दिरा गान्धीको चरित्रमा फतिमा मिसकास्टिङ्ग लाग्छिन् भने अन्य कलाकारले पनि छाप छोड्न सकेका छैनन् । तैपनि विक्की फिल्ममा यसरी छाएका छन्, दर्शकलाई खालीपना महसुस हुन दिँदैनन् ।

फिल्ममा सामबहादुरबारे नभनिएका, नलेखिएका वा नसुनिएका थप तथ्यमा जान चाहेकी छैनन् निर्देशक । उनले दस्तावेजमै दर्ज कहानीलाई भिडियो फर्म्याटमा बदल्ने काममै आफूलाई सीमित राखेकी छन् । सन् २००८ मा निधन भएका सामबहादुरको अन्त्येष्टिमा भारतीय प्रधानमन्त्री, राष्ट्रपति वा विशिष्ट व्यक्तिहरू कोही पुगेका थिएनन् ।

देशकै पहिलो सेना प्रमुखको निधनमा न त राष्ट्रिय शोककै घोषणा गरिएको थियो । यसबारे फिल्म बोल्नु त परको कुरा, सामबहादुरको जीवनको अन्तिमसम्मै नपुग्दै फिल्म टुंग्याइएको छ । वा भनौं, सेनाबाट उनको सेवा निवृत्तिलगत्तै फिल्मले बिट मार्छ । न त उनी डाक्टर पढ्न बेलायत जाने चाहना पूरा नगरिदिएका बुबासँगको रिसको झोकमा सेनामा भर्ती भएको तथ्य नै फिल्ममा उल्लेख छ । निर्देशकले फिल्ममा सामबहादुरको गौरवपूर्ण सैनिक गाथा मात्रै कहेकी छन् ।

प्रकाशित : मंसिर ३०, २०८० १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×