१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

जब देउचन कामीले किने राजाको घर

गोर्खाली राजाले गोतामकोटमा कब्जा गरे पनि त्यहाँ भुरेटाकुरे राजाकै शासन थियो ।  तिनै राजखलक शासक पछि जिम्मल, मुक्खे हुँदै पञ्चायतकालमा प्रधान बने । प्रधान जयबहादुर शाहीको राजा–घर किने देउचन कामीले । 
हिन्दु जात व्यवस्थाको सबैभन्दा पिँधमा पेलिएको दलित समुदायका देउचनले राजा–घर किन्नु ‘छलाङ’ हो । कति मोल ? त्यो गौण हो, तर एउटा संशय जिउँदै छ– घर किन्नुबाहेक देउचनको जिन्दगीमै छलाङ छ  कि छैन ? 
नवीन विभास

कसैले मकै भरिएको फुङ्ङा बोकेका छन् त अर्काले पानी भरिएको लोट्टे । कसैले बलेको बत्ती बोकेका छन्, अर्काले दुबो–पाती । बाँकी कसैको कुममा झोला छ त कसैको पिठ्युँमा कुम्लो । दर्जन हाराहारीका महिला/पुरुषका गोडा गुरुरुरु गुडेका छन्, जुन हूल ठूलीभेरीको बायाँ कोखामा थचक्क बसेको थुम्को गोतामकोट तिर्गाउँटोलबाट कालिकाटोल लाग्दै छ । हूलमा एकजना साँवला अनुहारे अधबैंसे कोट/पाइन्टमा ठाँट्टिएका छन् । बाँकी गच्छेअनुसारका नयाँ लुगामा छन् । 

जब देउचन कामीले किने राजाको घर

बिहान सात बज्दै छ । असार कि सार भन्दै चित्रेपाटन उक्लने किसानको लर्को लागेकै छ । ठूलीभेरीको ठारीभाका चित्रेपाटन, डाङ्चा, छाइरले पनि सुन्ने गरी हलक्क हल्केको छ । कालिकाटोल मन्दिरछेवै उभिएको हेन्सम घरनजिक पुगेपछि हूलको गोडा–जाम हुन्छ भने जीउ जिरिङ्ग ।

एक वयोवृद्ध सुसाउँछन्, ‘साइत घर्केला है !’

साइत सम्झेर हूल झल्यास्स हुन्छ । ढुंगेछाने तीनतले घरनेर पुग्दा गरुड छायामा परेको सर्पजसरी गुडुल्किएर राजालाई ‘जदौ’, ‘दर्शन’ गरेका यादले ऐँसेलु काँडाले जसरी हूलको दिलमा च्वास्स चोब्छ– ‘जाम् जाम् ।’

पाका आवाजले गोडा–जाम खुल्छ, त्यो जाम घरको भुइँतलाबाट पहिलो तलामा उक्लिने काठे भर्‍याङमा पाइला टेक्नेबित्तिकै दोहोरिन्छ ।

मन धक्क फुल्छ । ठीक त्यसैबेला ती अधबैंसेको बायाँ हात कोटको गोजीमा पस्छ– चाबी छ । हात गोजीमा र आँखा मूलढोकामा ठोकिन्छ, जुन ढोकाको सिरानीमा भोटे ताल्चा तुर्लुङ्ग झुन्डिएको छ ।

‘राजा–घर !,’ ती अधबैंसेको एकमनले सपना हो कि विपना भनेर अर्को मनलाई सोध्छ । लगत्तै दुबोपाती लिएकालाई हेर्छन् ।

‘सात बज्यो, अब पस्दा हुन्छ,’ साइत हेर्ने जैसीको भनाइ उद्धृत गर्छन् ।

ती अधबैंसेले मूलढोकामा टीका लगाउँछन् । दुबोपाती सिउरिन्छन् । त्यसपछि ? भोटेताल्चा खुल्छ । ढोका खुल्छ । ‘घरक्क’ आवाज आउँछ, जो सुन्न हूललाई यति हतार हुन्छ कि मानिसहरू जति हतारमा हुन्छन् ‘इन्क्लाब जिन्दावाद’ सुन्न ।

घरभित्र पस्नेबित्तिकै खामा, बला, दलेन, झ्याल, ढोका अनि भान्ना उभ्याउने ढुंगा र माटोले सञ्चोबिसञ्चो सोधेजसरी हेर्छन् । हूलका आँखाले हतार र चासोसाथ चिहाउँछन् यति खसखसले कि, कहाँनेर राजा बसे होलान् ? कहाँनेर खाए होलान् ? कहाँनेर के सपना देखे होलान् ?

तपार्इंलाई देखाएको दृश्य गौतमथलो गनिने रुकुम (पश्चिम) गोतामकोटको हो । तिर्गाउँबाट करिब पाँच मिनेट पैदल दूरीमा अवस्थित कालिकाटोल राजा–घर पस्न जुरेको साइत बिहान सात बजेको हो । मिति २०७४ असार २२ गते बिहान । कोटपाइन्ट लगाएका अधबैंसे देउचन कामी (५३) हुन्, वयोवृद्ध देउचनबा पुन्य (७६) ।

‘बहिनीज्वाइँ आए । सातआठ घरका परिवार आफन्तजति आए । इष्टमित्र आए,’ राजा–घर पस्दाखेरि दुईचार सिता बादल नभएको ६ वर्ष पुरानो त्यो बिहानपखको आकाशको सम्झनाडोरीमा देउचन सुरेली खेल्छन्, ‘दलितले राजाको घर किन्यो, यसको मनोबल बढाम् भनेर इष्टमित्रहरू आए ।’ त्यस दिन ‘निउतो’ दिएर भोजमा सामेल आफन्तका अनुहार सम्झन्छिन्, देउचनपत्नी देउरूपी ।

राजा–घरमा सरेपछि खसी काट्छन् । भोज चल्छ । बूढापाकाले तीतेपाती फुर्कासाथ ‘असीवाक्य’ पनि देउचन शिरमा सिउरिदिन्छन् । गतिलो काम गर्नेलाई शिरमा दुबो र तीतेपाती सिउरिदिने चलन नै हो ।

राजा–घर सरेको रात आफन्तमाझ देउचन परिवार आँखाको विष पनि नमारी गफिन्छ । ‘त्यस रात सुत्न कति सुतियो होला र ? ननिदाई देखेका सपना त कति कति । तर, त्यस रात देखेको सपना याद छैन,’ देउचन मन खोल्छन् ।

जेठो दाङ, कान्छो गोताम

मध्यकालको अछामको इतिबारे योगी नरहरिनाथ योगीले संकलन गरी तीनवटा वंशावलीहरू प्रकाशित गरेका छन् । तीमध्ये अछामी राजाहरू सोमवंशी र अत्रि गोत्रका हुन् । अत्रि ऋषिदेखि अनेक ऋषिका नामहरू सबै वंशावलीमा लेखिएका छन् । ती ऋषिमध्ये चार भाइहरू कन्नोजबाट नेपाल पस्छन् । जेठो भाष्कर भट्ट षत्याडा बस्छन् । त्यसैले तिनका सन्तान षत्याडा (षतिवडा) । माहिला भाइ प्रभाष्कर भट्ट लेषम (लेकम, दार्चुला) साहिँला भाइ लल्ल भाष्कर गोताममा गोताम र कान्छा भाइ विलल्ल भाष्कर आफ्ना मामा जाजा भट्टसँग जुम्ला जान्छन् (मेचीदेखि महाकाली, भाग ४, २०३१, पृ. ८३४) ।

रुकुमकोटे राजा जैतम बमले नब्बे वर्षको उमेरसम्म शासन चलाउँछन् । उनी मरेपछि जेठी रानी सती जान्छिन् । छोराहरू आपसमा नलडून् भनेर कान्छी रानीले जेठा छोरा नरी बमलाई रुकुमकोट, साइँला जस बमलाई मुसिकोट, कााइला जग्ती बमलाई बााफिकोट, रााइला चेत वमलाई गोतामकोट, ठाइला कालु बमलाई आठबिसकोट, ठुला कान्छालाई जहारीकोट र भिर्त्यानीपट्टिका छोरा (नाम थाहा नभएका) खगेनकोट भाग लगाइदिन्छिन् (पृ.४१–४२, रुकुमकोटे ठकुरीहरूको बंशावली, संकलक तथा लेखक नित्यध्वज शाही) । विसं १८४३ मा बहादुर शाहको गोर्खाली फौजले गोतामकोट पनि कब्जा गर्छ ।

गोर्खे राजाले राज कब्जा गरे पनि राइँदाइँ उनै भुरेटाकुरे राजाकै चल्छ । तिनै राजखलक जिम्मल बन्छन्, मुक्खे बन्छन्, प्रधान बन्छन् । उनै प्रधान हुन्, जयबहादुर शाही ।

आठबिसकोट नगरपालिका वडा नम्बर चारमा पर्ने खास गोतामकोटमा दलित र बिष्ट बाहुल्य छ । बाँकी ठकुरी, खत्री, बाहुन, हमाल छन् । गोतामकोटको उब्जाउ र सम्म जग्गामा राजा, बाहुन र बिष्ट बस्छन् । गोतामकोट कति सम्म परेको भूभाग र मलिलो छ भन्ने गोतामकोटतिर किस्सा नै कथिएको छ, ‘जेठो दाङ, कान्छो गोताम ।’

राजा पूजाआजा गर्ने बाहुन गोतामकोटबाट अन्यत्र लाखापाखा लागेपछि ‘गौतम’ थरका भए भन्छन् ।

कालिकाटोलमै कोतघर छ, जहाँ दसैंमा मेला लाग्छ । मौलामा राँगा र बोका काट्छन् । दमाई दमाहा बजाउँछन्, कामी सिङारु र लहरे नाच्छन् ।

कालिकाटोल कोतघरछेवैमा एउटा अग्लो घर छ, त्यही घर हो प्रधानको । तिरुवाटोल तिर्गाउँका पुन्य र देउचनहरूले उनै प्रधानको मल बोक्छन्, बारी जोत्छन् ।

‘दलित त दासको रूपमा राजा–घरमा काम गर्ने चलन छ । काम गरेबापत खानामात्र दिने हो,’ स्थानीय यज्ञबहादुर विक (३६) दलितका दयनीय दैनिकी दर्शाउँछन्, ‘गैरदलित बिहेमा दलितलाई पातमा टीका दिन्छन्, आआफैंले लगाउने हो । बिहेमा दाउरा ल्याउने र भाँडा माझ्ने काम पनि दलितकै हो । जति काम गरे पनि रिनको डोको कहिल्यै ढल्दैन, ब्याजमात्र तिर्ने हो ।’

गोतामकोटमा माओवादी

भुरेटाकुरे राजथलो गोतामकोटमा २०५३ मा बाफीकोटे कमरेड सिस्नेसँगै ‘जनयुद्ध’ पनि पुग्छ । छोट्टी बस्ने, जाँडरक्सी खाने र बालबिहे गर्नेलाई भाटे कारबाही हुन्छ । सामन्तको सम्पत्ति भनेर राजा–घर अर्थात् प्रधानको घर माओवादीले कब्जा गर्छ । राजखलकीय कतिपय काठमाडौं कतिपय नेपालगन्ज लाग्छन् । माओवादीले जनसरकार बनाउँछ । मोटे दमाई गोतामकोट गाउँ जनसरकार प्रमुख बन्छन् । माओवादी नेता बन्छन्– गंगा सुनार, वीरे कामी, छन्ने कामी ।

माओवादी जनमुक्ति सेनामा भर्ती हुन्छन्– गर्जन, मनरूप, सन्तोष आदि । २०७४ को स्थानीय चुनावमा टिकट बाँड्ने माओवादी तालुकदार भन्छन्, ‘दलित उम्मेदवारले जित्दैन ।’ माओवादी, कांग्रेस र एमालेबाट क्रमशः बाबुराम बिष्ट, दीपक बिष्ट र नर्सिंह बिष्ट उम्मेदवार बन्छन् । माओवादी बिष्टले चुनाव जित्छन् । यसपालि अर्थात् २०७९ को चुनावमा भने अघिल्लो चुनाव हारेका नर्सिंह बिष्टले वडाध्यक्ष जित्छन् । वडाध्यक्ष प्रत्यासी यज्ञबहादुर विकको आरोप छ, ‘वडाध्यक्ष जितेपछि दलितलाई नमस्कार गर्नुपर्छ भनेर विभेदकारी प्रचार गरे, मलाई हराए । दलितले जित्दैन भन्थिम् नि, हो जित्दैन भन्ने गराए ।’

देउचन किन्छन् राजा–घर

देउचन कालापार (भारत) र गोतामकोट गर्दागर्दै साउदी अरबको हावा चल्छ । ‘नागरिक बेच्ने हावा’ यति गतिमा चल्छ कि, देउचन पनि सस्तो मोलमा श्रम र रगत बेच्न अरब उड्छन् । दुई छोरा पनि उड्छन् । देउचनहरूका ‘रेमिट्यान्स अक्सिजन’ले नै नेपाल देशले सास फेर्छ ।

राजा हंस र राजा खलकमात्र होइन, वैदेशिक रोजगारबाट दुईचार पैसा कमाउने गैरदलित दाङ, नेपालगन्ज र काठमाडौंजस्ता सहर सर्ने मेसो लाग्छ । त्यही मेसोमा देउचनसहित कृष्णबहादुर शाहीको घर मैते कामी र हर्कबहादुर शाहीको घर राजु विकले किन्छन् ।

राजा–ओठमा फूल फुलाउन र राजाबारीमा बाली झुलाउन देउचन र उनका पूर्वजले रगत र पसिनाको भेरी बगाएका हुन् । त्यसैले होला, राजा घर र बारीमात्र होइन, राजा अनुहारमा पनि देउचनै देउचन देखिएको । सायद उनै देउचनहरू देखेर कवि यज्ञबहादुर डाँगीले ‘म माघे थारू’ लेखे होलान्–

उसको सानदार बंगलामा

मेरो आर्तनाद बोकेका इँटाहरू छन्

उसको पलाटका पलाट खेतहरूमा

मेरा पाइतलाबाट बगेका रगतका आहालहरू छन्

....उसको आफ्नो भन्नलायक

सानदार एकजोडा जुँगा छ

त्यो पनि मेरो आफ्नै ठानेको छु (तिम्रो हत्यापछि, पृ.४७) ।

माघे थारूले जसरी आफ्नै ठानेर हो कि, देउचन अरब र कालापारको जोरजाम गरेको रकमले प्रधानको घर किन्छन् । २०७६ वैशाख २७ को दोपहरमा अधबैंसे वागबहादुर मल्ल (५८) ले भैँसीको मल डोकोमा बोकेर बारीमा लगिरहेका हुन्छन् । घरमास्तिरको कामी बस्ती र तलतिर दमाई बस्ती नियाल्छन् । पहिले तिनले मल बोक्नेदेखि सम्पूर्ण काम गरिदिएको सम्झिन्छन््, ‘गोतामकोटमा मल बोक्ने राजामात्र बचेका छौं, अरू त लागिसके नेपालगन्ज, काठमाडौं ।’

माओवादी ‘जनयुद्ध’ ले हिन्दु जात व्यवस्थाको जगमा उभिएको नेपाली समाजको अंगप्रत्यंगलाई हल्लाउनु हल्लाएपछि गोतामकोटहरूमा पनि राजाभाउ तलबितल हुन्छ । राजाको लौरोलाई पनि जदौ भन्दै धनुषटंकारत गरिब र दलित त राजा सामुन्ने उभिएर प्रश्न पो सोध्न थाल्छन् ।

देउचन तिर्गाउँबाट कालिकास्थित राजा–घर सरेको गएको असार २२ गते ६ वर्ष लागेको छ । तर, लालपुर्जा देउचनको हात परेको छैन । पास नगर्दै राजा अर्थात् प्रधानको निधन भइसकेको छ ।

२०७६ वैशाख २७ गते बिहानपख वयोवृद्ध पुन्य भकारामा कोलो लगाएको भैँसीलाई दाम्लोले बाँध्न लागेका हुन्छन् भने बुहारी (देउचनपत्नी) देउरूपी गहुँको नल्ठा घाँस दिँदै । देउचन भने कालापार गएका हुन्छन् । ससुराबुहारीले एक वर्षअघि किनेको राजा–घरभित्र मलाई पनि लैजान्छन् । घरभित्र पस्नुअघि बायाँतिरको घर देखाउँदै देउरूपी भन्छिन्, ‘मेरा माइतीले किनेका । यो पनि राजा–घर हो । हाम्रो र यो घरको मोल बराबर हो ।’

पुन्य घरको भान्ना (गारो) र काठ देखाउँछन्, जुन काठ उनीसहित गाउँलेले कति गार र कति लेकबाट बोकेका हुन् । जो चालीस वर्षभन्दा अघि बनेका हुन् ।

राजाबारीमा आफ्नो र पूर्वजको पनि पसिना बगेको सम्झिन्छन् ।

पुन्य– राजाले हुकुम गर्थे । ‘आ डुम’ ‘जा डुम’ भन्थे । हामी त राजा घरमा काम गरेको हो । दुई माना मकै दिएपछि दिनभर मल बोक्यौँ ।

देउरूपी– ब्याजमा काम गर्थ्यौँ, डोको (साँवा) बसिरहन्थ्यो ।

म– घर किन्नअघि भित्र पसेर हेर्नुभयो ?

देउरूपी– अहा, कहाँ भित्र पस्न पाउनु ? ओँतामा आइम् । ढोका खोल्दिए । बाहिरैबाट हेरिम् ।

म– जसको घरमा काम गरेको हो, त्यही घर किन्दा धेरै खुसी लाग्यो होला है ?

पुन्य– (हाँस्छन्) पर्धान घर किनें भन्ने भयो ।

म– गाउँघरकाले कस्तो मानेका छन् ?

देउरूपी– कोइकोइले नाम्रो माने, कोइले मानेनन् ।

म– कसरी किन्नुभयो ?

पुन्य– राजाले भने– अरूले राख्नुभन्दा तैं राख् । त्यसपछि मुख जमान गरिम् ।

म– मुख जमान ?

पुन्य– असी हजार बाँकी छ । पास नदिए बुझाएको रकम राजाले दोब्बर तिर्ने, हामीले पूरा रकम बुझाउन नसके बुझाएको रकम पच हुने ।

देउरूपी– राजाले पास दिएपछि पो हाम्रो घर हुँनो हो । (हिमाचले, भारतको हिमाचल प्रदेशतिर लगाउने इष्टकोट र कपाले गुथ्दै) मनमा यो छ कि, कोइ दुश्मनीले कलिजुगका आद्मीका मन केइ गर्दिने हुन् कि ? राजाको मन बदलिने हो कि ? बहुत चिन्ता छ ।

राजा–घरको जम्मा मोल पाँच लाख पचास हजार हो । ८० हजार पास गर्दा बुझाउने कबोल छ ।

हिन्दु जात व्यवस्थाको सबभन्दा पिँधमा पेलिएको दलित समुदायका देउचनले राजा–घर किन्नु ‘छलाङ’ नै हो । कति मोल ? गौण कुरा हो । तर, एउटा संशय भने जिउँदै छ । त्यो हो, घर किन्नुबाहेक देउचन जिन्दगानीमै नै छलाङ छ त ? छैन ।

छलाङ छर्रिने एकछाङ्ङे छाङ्ङै छाङ्ङा छन् । छाङ्ङा नहुँदा हुन् त राजा–घर किन्नुअघि देउचन परिवारले घरभित्रको अनुहार हेर्न केले छेक्दो हो ? लिंगीय, क्षेत्रीय, जातीय, वर्गीय विभेद जिउँदै नहुँदो हो त गोतामकोट हुँदै बग्ने भेरीले जाजरकोटी नवराज विकलाई कसरी बगाउँदो हो ? बझाङी पुड्के ओखेडाको निर्माणाधीन नयाँ घर किन भत्काउँदा हुन् ? भलै ‘जनयुद्धका सुप्रिमो’ प्रचण्ड तथा प्रधानमन्त्री पुष्पकमल दाहालले ऐलान गरिसकेका छन्, ‘नेपालमा राजनीतिक क्रान्ति सकियो ।’

प्रकाशित : मंसिर २३, २०८० ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?