१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

सुपर लिग : वर्क इन प्रोग्रेस 

नेपाल सुपर लिगको उत्पादन प्रक्रिया सुरु भइसकेको छ, तर यसले पूर्ण आकार पाएको छैन । यसको सफलता–असफलताले नेपाली फुटबलको भविष्य निर्धारण गर्नेछ ।
हिमेश

कतै चिया पिउँदै गर्दा छेउबाट सुन्छु– काठमाडौं रेजर्सले राम्रो गरिरहेको छ रे त ! तरकारी किन्दा कसैले गफ दिइरहेको थियो– धनगढी एफसी त सुदूरपश्चिमको शान पो हो ! पम्पमा पेट्रोल भर्दै गर्दा कुरा चलिरहेको हुन्छ– ललितपुर सिटी एफसीले खेल्दा लाखेको नृत्य पो देख्न पाइन्छ, त्यो पनि पारम्परिक बाजागाजासँगै ! साता दिन बिराएर भेटिने साथीहरू सोध्छन्, ‘फुटबल चलिरहेको त छ नि ?’ यहाँनिर ‘अल्गोरिदम’ ले काम गरेको पनि हुन सक्छ, उस्तै उस्तै घटना ठोक्किन आएर ।

सुपर लिग : वर्क इन प्रोग्रेस 

तर, नेपाल सुपर लिग (एनएसएल) कम्तीमा गफको विषय त बनेकै छ । फ्रान्चाइज फुटबल लिग हो यो । कुल ९ टिम छन् । यी अरूजस्ता क्लब होइनन्, फरक छन् । यिनको मालिक हुन्छ । सक्नेले पैसा खन्यायो, टिम बनायो । भनेपछि यी टिममालिक स्वभाविक रूपमा अलि धनी हुने भए नै ! तर, तिनीहरूको धन मात्रै होइन्, खर्च गर्ने मन पनि हुनुपर्छ । खेलाडी छान्ने पनि लिलामीबाट हो । वर्ष ०७८ मा पहिलो संस्करण भएको थियो, अहिले दोस्रो संस्करण चलिरहेको छ ।

सहभागी ९ टिमले सुरुमा एकआपसमा एक–एकपल्ट खेल्छन् । प्रतियोगिता यत्तिकैमा सकिन्न, पारपम्परिक लिगजस्तो । अझै अर्को चरण बाँकी छ, तर यो सेमिफाइनल भने होइन । यसको स्थानमा क्वालिफायर र इलिमिनेटरहरू हुन्छन् । अनि आयोजक पनि न एन्फा हो, न कुनै क्लब । बरू चौधरी व्यापारिक घरानासँग जोडिएको नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानचेजमेन्ट हो । भनेपछि सहिद स्मारक लिग ‘ए’ डिभिजनभन्दा यो एनएसएल ठ्याक्कै फरक छ ।

यो त व्यापार नै हो, एकदिन यसैलाई उद्योगमा बदल्न सपना बोकेको । कोरोना संक्रमणको महामारीबीच पहिलो संस्करण हुँदा विजेता बनेको थियो, त्यही काठमाडौंको टिम । यसका मालिक हुन्– विष्णु अग्रवाल । उनीसँग यामाहा मोटरसाइकल र यसका अन्य उत्पादनको व्यापार छ । उनले यही टिमका लागि एक सिजनमा कम्तीमा दुई करोड हाराहारी लगानी गरेका छन् । यसले उनको व्यापारिक रूचिहरूको पनि प्रवर्द्धन गरेको त छ नै, सबैभन्दा ठूलो उनी साथीभाइसँग कुराकानीमा शानले भन्न सक्छन्, ‘मेरो त आफ्नै फुटबल टिम छ ।’

छिमेकी भारतमा पनि एनएसएल पाराकै इन्डियन सुपर लिग (आईएसएल) चल्छ । भनिरहनु पर्दैन, एनएसएलको आदर्श र प्रेरणा भनेकै यही आईएसएल हो । आईएसएल पछाडि अरू होइन, अम्बानीको औद्यौगिक घराना छ । यसबीच सबैभन्दा मूल प्रश्न हो, के नेपाली फुटबललाई एनएसएल चाहिन्छ ? यसको उत्तर भने वास्तवमै पेचिलो छ । सिधा–सिधा यस्तै हो भनेर उत्तर दिन गाह्रो छ । सैद्धान्तिक रूपमा ‘छ’ भन्न गाह्रो, व्यवहारिक रूपमा ‘छैन’ भन्न गाह्रो ।

व्यापारिक भाषामा भन्दा अहिले चलिरहेको एनएसएल ‘अ वर्क इन प्रोग्रेस’ प्रोडक्ट हो । यसको उत्पादन प्रक्रिया त सुरु भइसकेको छ, तर यसले पूर्ण आकार भने लिएको छैन । प्रगतिमै रहेको अर्धनिर्मित उत्पादन हो यो । यसको सफलता र असफलताले धेरै हदसम्म नेपाली फुटबलको भविष्य पनि निर्धारण गर्नेछ । सम्भवतः सहिद स्मारक लिग आफैँमा बलियो हुँदो हो र यसमा सहभागी हुने क्लब ढंगले चलेको भए एनएसएल आउन गाह्रै थियो । अहिले पनि क्लबहरूले एनएसएलको विरोध गरिरहेकै छन् । तर, तिनै क्लबले पनि विरोध मात्रै गर्न जानेका छन्, व्यवसायिक फुटबल पस्किन जानेका छैनन । तिनीहरूको कुरा सुन्ने हो भने फेरि तिनकै दुःख ठूलो लाग्न सक्छ । अनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मात्रै लगातार फुटबल गरिरहेको भए पनि एनएसएल नहुने थियो कि ? जब–जब केही हुन्न नि, कसैले केही गरेकै राम्रो । नेपाली फुटबलमा केही पनि भइरहेको थिएन, त्यसैले एनएसएल आयो, खासमा मूल कुरा यही हो ।

अनि यसका आयोजकले पनि ‘राम्रो गर्छु’ भनेर काम गर्ने हिम्मत गरेको छ । यो लिगका निर्देशक हुन्– श्रेयान्स कार्की । उनको आफ्नै व्यवसाय छ । तर, यही प्रतियोगिताका लागि उनी दुई महिनाभन्दा बढी समय आफ्नो काम–धन्दा छाडेर यता रमाउँछन् । अनेक हन्डर खान्छन्, धेरेको किचकिच सहन्छन्, तर प्रतियोगिता चलाउँछन् । फुटबल नभएर त हो, यसका खेलाडी हराउँदै गएको पनि । भएका पनि विदेश पलायन हुनुपरेको छ । खेलेर कमाउने बाटो सबै सुक्छ भने खेलाडी विदेश जाँदैमा किन टाउको दुखाई ?

एनएसएल आयोजना नहुँदा खेलाडीहरू रिसाएको त्यसैले त हो । ‘एनएसएल राम्रै छ’ भन्न बाध्य हुन पनि कारण तयार भइसकेको छ । प्रत्येक टिमसँग एक–एक जना मार्की प्लेयर छ । त्यो भनेको स्टार खेलाडी भनौं । यस्ता मार्की प्लेयरमध्ये केहीले १० लाख रुपैंया हाराहारीमा पारिश्रमिक बुझेका छन् । अरू खेलाडीले पनि कम–बढी पाएकै छन् । एनएसएल नहुँदो हो त भएका खेलाडीले पनि खेल्न छाडिसकेका हुन्थे ।

एकपछि अर्को नेपाली फुटबल खेलाडी अस्ट्रेलिया पलायन भए भनेर पनि होहल्ला धेरै भयो । तर, यही एनएसएलको कारण केही खेलाडी अस्ट्रेलियाबाटै यता आएका छन्, खेल्नकै लागि । प्रतियोगिता चलिरहँदा खेलाडीले राम्रो ठाउँमा बस्न पाएकै छन्, मीठो खाना खान पनि पाएकै छन् । जर्सी, जुत्ता, ज्याकेट सबै राम्रो, अब योभन्दा बढी के नै अपेक्षा गर्ने ? अनि प्रत्येक टिमले केही राम्रो भन्न मिल्ने विदेशी खेलाडी पनि अनुबन्ध गरेका छन् । एउटै टिमले पाँच जनासम्म विदेशी खेलाडी एकैपल्ट खेलाउन पाउँछ ।

यसपल्ट खेलिरहेका केही विदेशी खेलाडीमध्ये एकाधले विश्वकप खेलेका छन् भने केहीसँग युरोपका ठूला लिग खेलेको अनुभव पनि छ । नेपाली खेलाडीले सिक्ने भनेको यस्तै खेलाडीसँग घुलमिल भएर खेलेपछि नै त हो । नेपाली फुटबलको स्तर माथि उकास्ने हो भने यो जत्तिको अचुक उपाय अरू हुन्न । स्पोर्टिङ इलामका प्रशिक्षक हुन्– मेघराज केसी । उनलाई नेपाली फुटबलको नशा–नशा थाहा छ, नेपाली फुटबलको बानी व्यहोराबारे नजिकबाटै जानकारी राख्छन् । उनी भन्छन्, ‘अहिलेको एनएसएल खेल्न आएका केही विदेशी खेलाडी साँच्चै राम्रा छन् । तिनीहरूसँग खेल्न पाउनु हाम्रो लागि भाग्य हो । हामीले सिक्ने पनि यस्तै मौकाबाट हो ।’ एनएसएलको महत्त्वबारे सबैभन्दा ठीक भन्न सक्ने त एफसी चितवनका प्रशिक्षक हुन् । मेहराज उद्दिनले खेलाडीका रूपमा पनि आईएसएल खेले, उनको बायोडाटामा मोहन बगान र इस्ट बंगालबाट खेलेको अनुभव छ ।

भारतीय राष्ट्रिय टिमबाट पनि खेले । खेल्न छाडेपछि प्रशिक्षक बने, केही आई–लिग क्लब पनि सम्हालिसकेका छन् । अहिले उनकै काँधमा छ, चितवनको टिम । भद्र पाराले बोल्न रूचाउने उद्दिन भन्छन्, ‘नेपाली फुटबललाई चाहिने भनेकै एनएसएल हो । यसका लागि आईएसएल हेरे पुग्छ । भारतीय फुटबल अहिले जहाँ पुगेको छ, त्यसको कारण भनेकै आईएसएल हो । भारतीय फुटबलले प्रगति गरको छ, किनभने त्यहाँ आईएसएल हुन्छ ।’ अब थप एउटा प्रश्न, यसपल्टको एनएनएलमा पनि त दर्शक छैनन् नि ?

पहिलो संस्करणमा दर्शक भन्ने नै थिएनन् किनभने कोरोनाको प्रकोप चलिरहेको थियो । अहिले त्यस्तो केही छैन । तर दर्शक पर्याप्त छैनन् । किन त ? खासमा नेपाली फुटबलमा दर्शकको संख्या घटेकोबारे एक खाले भ्रम छ । गफ दिनेले भनेकै छन्, हाम्रो पालामा त दर्शक जति पनि थिए, दशरथ रंगशाला भरिएकै थियो । तर, त्यस्तो होइन । पहिले पनि खास–खास खेलमा दर्शक हुँदैनथे, खास–खास खेलमा दर्शक हुन्थे । सहिद स्मारक लिग ‘ए’ डिभिजनका केही निश्चित खेलमा दर्शक साँच्चै चार/पाँच जना हुन्थे, टिकट काटेरै हेर्नेहरू ।

तर, केही अन्य खेलमा दर्शकको घुँइचो लाग्थ्यो । जमानामा पनि दर्शक भएनन्, ‘खोही त फुटबल समर्थक ?’ भनेर समाचार बनेकै थियो । दर्शकहरू टिकेट किनेर त्यसै रंगशाला आउँदैनन्, आउन बहाना चाहिन्छ । प्रतियोगिता अगाडि बढ्दै जाँदा बहाना बन्दै जान्छ । अनि दर्शक थपिँदै जान्छन्, अहिले नेपाली फुटबल समर्थक केही सेलाएका भने पक्कै हुन् । एउटा प्रतियोगिता मस्तसँग बिक्न घटनाहरूको शृंखला चाहिन्छ, सनसनी चाहिन्छ, रोमाञ्चकता चाहिन्छ ।

स्तब्ध हुन बाध्य पार्ने मोड चाहिन्छ । दुई टिमबीच मैदानभित्र र बाहिर द्वन्द्व चलेको हुनुपर्छ । केही हदसम्म सत्रु भाव पनि चाहिन्छ । जित्नैपर्ने जिद्दी पनि चाहिन्छ । प्रतियोगितामा मसला मिसिएको हुनुपर्छ ।

एनएसएल अझै नयाँ छ । यस्ता आवश्यक तत्वहरू बन्दै जानेछन् । अनि दर्शक खेल हेर्न रंगशालामै पुग्नेछन् । मुख्य कुरा, प्रतियोगिता नियमति हुनुपर्‍यो । एनएसएलले त नारा पनि दिएकै छ, नेपाली फुटबल समर्थक दर्शकलाई रंगशालमा फर्काउने ।

दर्शकलाई फकाउन फुडकोर्ट राखेको छ उसले । एकजना दर्शकले त पुरस्कार पनि पाउँछन्, खेलैपिच्छे । अनि दर्शककै लागि सफा शौचालयहरू उपलब्ध छन् ।

विश्वास गरौं, जे हुन्छ राम्रोकै लागि हुन्छ । खालि केही डर मात्रै बाँकी छ । प्रतियोगिताको आकार बढ्न थाल्यो भने एनएसएलले ‘म नै हो नेपाली फुटबलको सबैभन्दा ठूलो’ भनेर घमण्ड नपालोस् । सहिद स्मारक लिग र यसमा खेल्ने क्लबलाई नै विस्थापित गर्नेछु भन्ने जिद्दी पनि नगरोस् । अरू के नै चाहियो र ?

प्रकाशित : मंसिर २३, २०८० ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?