१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

मेरा राम !

सशस्त्र द्वन्द्व चर्किंदै गएपछि रामलीला नाचको दुःखद अन्त्य भयो । रामलीलाका गीतहरू बन्दुकको कर्कश आवाजमा विलुप्त भए । नाचका पात्रहरू कोही पुलिस बने, कोही विद्रोही । कोही विद्रोहीको अपहरणमा परे । कोही राज्यको कहरमा मुग्लान भास्सिए ।
रामायण मेरो दिमागमा कुँदियो, मुटुमा धड्कियो, नसामा बग्यो, सासमा अड्क्यो । त्यो किताब पढ्दापढ्दै म निदाउँथें, निद्रामा रामै देख्थें । 
महेशविक्रम शाह

पहिलो पटक रामको नाम सुन्दा म यस्तै पाँच/छ वर्षको बालक थिएँ । त्यसबेला म बाजे, बज्यै र मुवासँग पहाड–घर अछाम, कालीमाटीमा बस्थें । बुबा काठमाडौंमा जागिरे हुनुहुन्थ्यो । एक दिन मुवाले मेरो हात समात्दै भन्नुभयो, ‘तँ राम हेर्न जान्या है कि लाटा ?’ यही ‘राम’ शब्द थियो, मैले पहिलो पटक सुनेको । 

मेरा राम !

‘काँ जान्या हो मुवा ?’ मैले ‘राम’ लाई नबुझेपछि कपाल कन्याउँदै मुवाका आँखामा हेरेको थिएँ ।

‘बैजनाथ मन्दिरमा आज मेला लाग्न्या छ । मन्दिरमा पर्गला चढाउँदा छन् आज । ठौर ठौरबाट मान्छे आउन्या हुन् राम हेर्न । तँपनि जान्या होई कि ?’ मुवाले ‘राम’ लाई अझ प्रस्ट पार्दै भन्नुभयो ।

म मुवासँग राम हेर्न गएँ । बैजनाथ मन्दिरमा मेला लागेको थियो । टुप्पोमा रंगविरंगी ध्वजापताकाहरू फहराइएको बाँसको लिंगोलाई पर्गलो भनिने रहेछ । मन्दिरको चारै दिशाबाट गाउँलेहरू बाजागाजासहित पर्गलाहरू उचालेर आउँदै थिए । मन्दिरमा पर्गलो चढाउँदा घम्साघम्सी हुनेरहेछ । कसले पहिला पर्गलो चढाउने भन्नेमा पाखुरा सुर्कासुर्की भइरहेको थियो । यही दृश्य हेर्न हजारौं नरनारी मन्दिर वरिपरि भेला भएका थिए । मन्दिरअगाडिको चौरमा बजार लागेको थियो । बजारमा पनि मान्छेहरूको घुइँचो उस्तै थियो । पाल टाँगेका पसलहरूमा थरीथरीका सामानहरू बेच्न राखिएका थिए । एउटा पसलमा मलाई मन पर्ने पिपरमेन्ट थियो ।

‘मुवा म पिपरमेंट खान्या हुँ,’ मुवाको सारीको फेरो समात्दै म कराएँ । मुवाले पिपरमेंट किनिदिनुभयो । दुइटा मुखभित्र हालें । बाँकी गोजीभित्र घुसारें । अर्को पसलमा मलाई मनपर्ने गोट्टी पनि रैछ ।

‘मुवा म गोट्टी पनि खान्या हुँ,’ म फेरि लाडिँदै मुवाको खुट्टामा बेरिएँ ।

‘तँलाई त जे देख्या पनि खान्या मन लाग्दो रैछ लाटा,’ मुवाले मेरो गाला चिमोट्नुभयो ।

मुवाले पाँच वटा गोट्टी किनिदिनुभयो । गोट्टीको पोको गोजीभित्र घुसारें । मलाई मख्ख परेर हेर्दै मुवा खिस्स हाँस्नुभयो । घर फर्केपछि मुवाले भन्नुभयो, ‘राम हेरिस् त लाटा ?’

जवाफमा म हाँसे कित् कित् ! मुवा पनि मैले ‘राम’ बुझेकोमा दंग पर्नुभयो । त्यसपछिका ‘रामहरू’ मैले कहिल्यै छुटाइन । मुवालाई म आफैं भन्न थालें, ‘मुवा म राम हेर्न जान्या हुँ ।’ मुवाले मलाई राम हेर्न कहिल्यै रोक्नुभएन ।

म बाजेलाई बिहानपख पुरानो कपडाले बाहिरपट्टि मढेको ध्वाँसो लागेजस्तो मोटो किताब वाचन गरिरहेको देख्थें । एक दिन मैले बाजे नभएका बखत त्यो किताबलाई हातले छोएर हेरें । जिल्दको अगाडिपट्टि ‘रामायण’ लेखिएको थियो । पाना पल्टाउँदै जाँदा ठाउँ–ठाउँमा ‘राम’ अक्षर लेखेको भेट्टाएँ । ‘किताबमा पनि राम रैछन् । मेरा बाजे किताबको राम हेर्दा रैछन्,’ मेरो बाल मस्तिष्कमा यही कुरा फुर्‍यो । बाजेलाई सोध्दा उहाँले हाँस्दै भन्नुभयो, ‘यो रामायण हो नाति । यो रामको कथा हो । हाम्रा आदिकवि भानुभक्तले लेखेको । मेलामा हेर्ने राम र किताबका राम फरक हुन् । मेलाको राम रमाइलो हो । किताबका राम भने भगवान् हुन् ।’ बाजेले मलाई बुझाउनुभयो । तर, मलाई किन हो किन बाजेले वाचन गर्ने रामायणका रामभन्दा जात्रा, मेलामा मैले खुसी अनुभूत गर्ने राम नै प्रिय लागे ।

सरकारी जागिरे मेरा पिताको धनगढीमा सरुवा भयो । मातालाई लिएर उहाँ धनगढी जानुभयो । केही महिनापछि म पनि मामाको पछि लाग्दै अछामबाट हिँडेर मलवारा पुगें । केही दिन मामाको घरमा बसेर भारतको तिकुनियाँ, पलिया र गौरीफन्टा हुँदै धनगढी पुगें । धनगढीको त्रिनगर स्कुलमा अध्ययनरत हुँदा दसैंको छेको पारेर ‘भानुभक्त’ एकांकी नाटक मञ्चन हुने भयो । म भानुभक्तको भूमिकाका लागि चयन भएँ । रिहर्सलका बेला शिक्षकले मेरा हातमा एउटा मोटो गाता भएको किताब थम्याउँदै भन्नुभयो, ‘यसलाई दाहिने हातले समातिराख ।’ मैले के किताब होला भनेर यसो हेरें, त्यो किताब रामायण रहेछ । मैले झलझली मेरा बाजेले सधैं जतन गरेर राख्ने मैलो न मैलो, ध्वाँसो लागेको रामायण किताब सम्झें । त्यसबेला बल्ल बुझें– मेरा बाजे त राम्रै किताब पढ्नुहुँदो रहेछ । मलाई बाजेको पुस्तक प्रेमप्रति गर्व लागेर आयो । मैले उत्साहित हुँदै शिक्षकलाई सुनाएँ, ‘मेरा बाजेसँग पनि यो किताब छ ।’

मेरा पिताको धनगढीबाट बैतडी, पाटनमा सरुवा भएपछि असमयमै त्रिनगर स्कुल छोड्नुपर्‍यो । बुबासँगै म पनि बैतडी हान्निएँ । बैतडीमा पुगेको दिन घटस्थापनाको दिन थियो । कार्यालयको निवासमा सरसामान राखेर थकाई मार्दै थियौं, एक जना अपरिचित मान्छे आएर ‘कार्यालय प्रमुख आइपुग्नुभयो ?’ भनेर सोधे । मेरा पिताले ‘म नै हुँ’ भनेपछि उनले निम्तो दिँदै भने, ’आजदेखि यहाँको टुँडिखेलमा रामलीला नाटक मञ्चन हुँदै छ । पाल्नुहोला । रामायणका सात काण्ड, सातै दिन मञ्चन गरिनेछ हजुर ।’

म पितासँग रामलीला नाटक हेर्न गएँ । नाटक खेल्ने कलाकारहरूले अचम्मका रंगीविरंगी कपडा लगाएका थिए । तिनीहरूले लगाएका आभूषणमध्ये मलाई सबैभन्दा मन परेको आभूषण शिरमा पहिरेको मुकुट थियो । राति मेन्टलको उज्यालोमा त्यो मुकुट चम्किरहेको थियो । म घरीघरी टलटल टल्किरहेको मुकुटमा आफ्ना आँखाहरू लैजान्थें । मेरा आँखाहरू तिरमिर–तिरमिर भएका थिए । जीउमा लगाएका लुगाहरू पनि सुनचाँदीले जडेजस्तो देखिन्थ्यो । ती चमचम चम्किरहेका थिए ।

रामायण नाटकका कलाकारहरूको वेशभूषा देखेर म अवाक भएको थिएँ । प्रायः सबै कलाकारको कपाल लामो थियो । मलाई त्यसबेला नक्कली कपाल हो भन्ने थाहा थिएन । सबैले लामो कपाल पालेका रैछन् भन्ने ठानें । कलाकारहरूले संवादमा राम शब्द उच्चारण गरेको सुनेर म पुलकित हुन्थें । मातालाई सम्झिन्थें । मलाई सर्वप्रथम यो नामसँग परिचित गराउने मेरी माता नै थिइन् । राम नाम सुन्नेबित्तिकै म माताको हातको औंला समातेर बैजनाथ बाबाको मन्दिरको राम हेर्न गएको सम्झिन्थें । नाटकमा मैले रामलाई मान्छेको स्वरूपमा देखें । उनको मोहनीलाग्दो रूप देखेर झन् रोमाञ्चित भएँ । रामायणका सात काण्ड सातै दिन मञ्चन हुँदै गए । नाटकका बच्चा राम हुर्कंदै मेरो उमेरको भए । उनी धनुषवाण चलाउन थाले । मैले कहिल्यै देखेको थिइनँ धनुषवाण । धनुषवाण काँधमा भिरेका राम मलाई राम्रा लाग्न थाले । प्रिय लाग्न थाले ।

अर्को दिन मैले पितासामु माग राखें, ‘बुबा म धनुवाण खेल्न्या हुँ । रामले खेल्याजसो ।’ बुबाले बाँसको धनुष र दुई–चार वटा वाण बनाइदिनुभयो । मैले अरू खेलहरू खेल्न छोडें । रातदिन धनुषसँगै खेल्न थालें । म बैतडी, पाटनका बासिन्दाका हाँस, कुखुराहरूमाथि धनुष चलाएर अभ्यास गर्न थालें । अलिअलि धनुको ताँदो खिच्न र वाणलाई पर हुत्याउन जानेपछि गाईगोरु र बाख्राहरूमाथि धनुष चलाउन थालें । नाटकका बालक राम जटाधारी गुरु विश्वामित्रको रेखदेखमा राक्षसहरूमाथि वाण चलाउन थालेका थिए । रामको वाण लागेर राक्षसहरू ठाउँको ठाउँ ढल्थे । कोही घाइते भएर भाग्थे । मेरो वाण लागेर बाख्राको पाठो यसो फर्केर मतिर हेर्दै पुच्छर हल्लाउँथ्यो र म्याम्या गर्थ्यो । न मर्थ्यो न त भाग्थ्यो । मैले चलाएको वाणलाई बाख्राको पाठोले समेत टेरपुच्छर नलगाएको देखेर मलाई रुन मन लाग्थ्यो ।

रामलीला नाटकका राम वाण हान्दै युवा भए । मभन्दा अग्ला भए । ठूला भए । युवा रामको घुँगुरिएको लामो कपाल थियो । उनी देख्दैमा सुन्दर र मनोहारी थिए । युवा रामले युद्धमा ठूल्ठूला भयंकर राक्षहरूलाई धूलो चटाउँदा म खुसीले ताली पिट्थें । उनको निसाना अमेध र अचूक थियो । मैले पनि बुबालाई भनेर अलि ठूलो धनुषवाण बनाउन लगाएँ । मलाई किन–किन यो धनुषवाण मान्छेमाथि चलाउन मन लाग्यो । घरको माथिल्लो तलामा बुबाको निवास थियो । भुइँतलामा अफिस । बुबा अफिस गएका बेला कोठाभित्र बसेर झ्यालको कापबाट घरमुनि बाटोमा हिँडिरहेका मान्छेहरूलाई मौका छोपेर वाण हान्न थालें । एउटा वाण हुर्रिंदै गयो र हिँडिरहेको मान्छेको टाउकामा लाग्यो । टोपी भुइँमा खस्यो । उसले दुई हातले आफ्नो टाउको समात्यो र भुइँमा थचक्क बस्यो । म खुसीले गदगद भएँ । उफ्रिँदै चिच्याएँ । म ताली पिट्दै चिच्याइरहेको सायद त्यो मान्छेले सुन्यो, झ्यालतिर हेर्दै करायो, ‘तेरो वाण मेरा आँखामा लागेको भए मेरो आँखा फुट्थ्यो । कहाँबाट ल्याइदिन्थिस् मेरो आँखा ?’ ऊ रिसले आगो भएको थियो । मचाहिँ धनुवाण झ्यालनिर छोडेर सिरकभित्र गुटमुटिएको थिएँ । मेरो यो पुरुषार्थको गुनासो पितासम्मुख पुगेछ । पिताले मेरा दुई कान समातेर उठ–बस गराउँदै बेस्सरी गाली गरेपछि मैले त्यसपछि फेरि धनुवाण चलाउने हिम्मत गरिनँ ।

रामले धनुमा ताँदो चढाएर सीतासँग विवाह गरे । ताँदो चढाउँदा धनुष भाँच्चियो । मैले मेरा पिताले मेरो धनुष भाँचेर सिस्नोको झाडीमा मिल्काएको दृश्य सम्झें । आखिर रामले पनि धनुष भाँच्ने नै रैछन् । आफ्नो धनुष भाँच्चिएकामा मलाई पीर लाग्न छोड्यो । म हर्कले चिच्याएँ । रामले राजपाठ छोडेर चौध वर्ष वनवासमा जाने बेला भने म घुँकघुँक गर्दै रोएँ । अपहरणमा परेकी सीतालाई खोज्दै रामले बिलौना गरेको देखेर म पिताको छातीमा शिर राख्दै बरर आँसु झारेर फेरि रोएँ । बुबाले भन्नुभयो, ‘तँ त कस्तो रुन्चे रैछस् छोरा ! यो त नाटक मात्र हो नि लाटा । किन रुन्छस् ? नरो ।’ नाटक हेरेर राति घरमा फर्किन्थ्यौं । तर, मलाई निद्रा लाग्दैनथ्यो । मेरा आँखामा झलझली रामको अनुहार आउँथ्यो । मुस्कुराइरहेका राम ! चिन्तित राम ! रिसाइरहेका राम ! क्रोधित राम ! बिलौना गरिरहेका राम ! रामका विभिन्न अनुहारहरूले मलाई रातभर झस्काउँथे । म राम्ररी सुत्न सक्दिन थिएँ । कोल्टे फेरिरहन्थें ।

लंकामा अशोकको बोटमुनि विरहिणी सीता रामको नाम जप्दै तड्पिरहेकी थिइन् । मेरा पिताको सम्झनामा मेरी माता सुदूर गाउँमा सालको बोटको सियालमा बसेर गालामा हात लगाउँदै वियोगी गीत गाउँदै थिइन् । रामले रावण मारेर सीतालाई भेटेको दिन म औधी खुसी थिएँ । म यसपटक खुसीले क्वाँ क्वाँ रोएको थिएँ । राम र सीताको मिलनले मलाई मेरा पिता र माताको बिछोडको दुःख बल्झाइदिएको थियो । हाम्रा साथमा मेरी मुवा थिइनन् । मेरा जागिरे पिता पहाडमा । मेरी मुवा मलवारामा कर्णालीको तिरमा रहेको पाताभार नाउँको एक बस्तीमा रहेको झुपडी रुँगेर लालाबालाको भविष्य सुनिश्चित गर्न हातका नंग्राले जमिन खोर्संदै थिइन् । धारिलो आँसीले जंगलका बुट्यानहरू फाँड्दै थिइन् । कुन रावणले मेरी मातालाई पिताबाट बिछोड गराइदिएको थियो ? मेरा पिताले पनि रामले झैं रावण मारेर मातालाई सुदूर गाउँबाट मुक्त गरेर आफूसँगै राख्न पाए कति जाती हुन्थ्यो ? म यस्तै रुमानी कल्पनाहरूमा मग्न भइरहन्थें ।

रामायण नाटक मञ्चन भएको केही दिनमा नै बडादसैं आयो । दशमीको दिन थाहा पाएँ, आजको दिन रामले रावणमाथि विजय गरेको दिन रहेछ । सबैले मलाई टीका लगाइदिएर कड्कडाउँदा नयाँ नोट दक्षिणा दिए । बुबाले सबैभन्दा बढी नोटहरू दिनुभयो । गोजीमा राखेका नोटहरू हातका औंलाले मुसार्दै म दिनभर मख्ख परिरहें । गोजीभित्र हात घुसारेर साना औंलाले नोटलाई मुसार्दै म कित् कित् हाँस्थें । रामले रावणको वध गरेको दिन मेरो गोजी नयाँ नोटहरूले खाँदिएको थियो ।

दसैंपश्चात् मेरा पिता एकमहिने विभागीय तालिममा पर्नुभयो । नेपालगन्ज जानुपर्ने भयो बुबालाई । उहाँले मलाई पनि साथै लिएर नेपालगन्ज जानुभयो । बुबालाई बाहिर बस्न नमिल्ने । तालिम केन्द्रमै बस्नुपर्ने । मलाई त्यसबेलाका बैतडी जिल्लाका सीडीओ रूपबहादुर स्वाँरको घरमा रहने बन्दोबस्त गर्नुभयो । उहाँको घरमा उहाँका छोरा, छोरी र अन्य नातेदार पनि रहन्थे । त्यहाँ बस्न थालेको एक हप्ता भएको थियो । मलाई झाडापखाला लाग्यो । बिरामी भएपछि मलाई छुट्टै कोठामा सारियो । त्यो अतिथि कक्ष थियो । भित्तामा काठका दराज थिए र दराजभरि किताबै किताब । म केही दिन इन्तु न चिन्तु भएर सुतें । झाडापखाला कम हुन थालेपछि म बिछ्यौनाबाट उठें र सुस्तरी पाइला चाल्दै दराजमा मिलाएर राखेका किताबहरू हातले मुसार्दै हेर्न थालें ।

अचानक मेरा आँखा मोटो गाता भएको किताबमा परे । किताबमा ‘रामायण’ लेखिएको थियो । मेरो स्मृतिपटलमा बैतडी पाटनको रामलीला नाटक चित्रित हुन थाल्यो । मैले एक–एक गरी नाटकका पात्रहरू सम्झें– राम, सीता, लक्ष्मण, हनुमान, रावण आदि । बिस्तारै अरू पात्रका अनुहारहरू धुमिल हुँदै गए । मेरो मानसपटलमा रामको अनुहार झन् उज्यालो, झन् तेजिलो र टड्कारो देखिन थाल्यो । बैतडी, पाटनको रामलीला नाटकले मलाई रामको अनुहारसँग परिचय गराइदिएको थियो । म रामलाई सम्झिँदा त्यही रामलीलाका राम मेरा आँखाअगाडि आउँथे । श्याम वर्ण, लामा केशराशि, ललाटमा लामो चन्दनको टीका, शिरमा मुकुट, गलामा पुष्पहार, कानमा कुण्डल, हातमा धनुष, पाखुरामा कवच, पिठ्युँमा वाण राखेको तरकस, पाउमा खराउ र सेतो धोतीमा सजिएको रामको देदिप्यमान आकृतिको स्मरणले मात्र पनि म पुलकित हुन्थें ।

मैले रामायणलाई ओल्टाइपल्टाइ हेरें । रामायणको अग्रभागमा मेरो स्मृतिमा रहेका रामको आकृतिसँग काटीकुटी मिल्ने रामको चित्र थियो । म हर्षले अभिभूत भएँ । मलाई त झाडापखालाको दबाई नै फेला परेजस्तो लाग्यो । म बिछ्यौनामा पल्टेर मनोयोगले रामायण पढ्न थालें । यो रामायण भानुभक्तको रामायण थिएन । गद्य शैलीमा लेखिएको थियो । मलाई पढ्न र बुझ्न झन् सजिलो भयो । म रातदिन नभनी रामायण पढ्न थालें । मलाई हेर्न मेरो कोठामा जो जतिबेला आए पनि म रामायण पढिरहेको हुन्थें । रामायण पढ्दै गर्दा मेरो दिमागमा रामलीला नाटकका दृश्यहरू सजीव भएर आउँथे । रामायण किताबमा रामलीला नाटकका राम पुनर्जीवित भएका थिए । रामायण पढ्दै गर्दा मैले आफू बिरामी भएको बिर्सेको थिएँ । पखाला चलेर जीउमा लगाएको कट्टु र जाँघ्या भिज्थ्यो, तन्ना फोहोर हुन्थ्यो । तर, म त्यसको समेत पर्वाह नगरी रामायणका रामको लीलामा डुबिरहेको हुन्थें ।

रामायण पढेर म कैयौं पटक हाँसे, मुस्कुराएँ, खुसी भएँ । कैयौं पटक चिन्तित भएँ, डराएँ, काँपे । र, कति पटक सुकसुकाएँ, रोएँ, चिच्याएँ । रामायण मेरो दिमागमा कुँदियो । रामायण मेरो मुटुमा धड्कियो । रामायण मेरो रगतमा घुल्यो । रामायण मेरा नसामा बग्यो । रामायण मेरो सासमा अड्क्यो । रामायण मेरा आँखामा चम्क्यो । अन्ततः रामायण मेरो सिरानी भयो । रामायण मेरो सिरक बन्यो । रामायण पढ्दापढ्दै म निदाउँथें । निद्रामा म राम देख्थें । म तकियामुनि हात घुसार्थें । सिरकलाई जीउ वरिपरि बेरेर गुटुमुटु पार्थें । मेरा राम कतै नजाऊन् । मेरै शरीरमा टाँस्सिएर बसून् । रामको सपना देख्दादेख्दै म बिउँझन्थें । करिब एक हप्तामा मैले रामायण पढेर सिध्याएँ । रामायण पढेर सक्नु र म बिरामीबाट उठ्नु लगभग सँगसँगै भयो ।

डाक्टरले भने, ’मेरो औषधिले काम गर्‍यो ।’ झाँक्रीले भने, ‘मसाने भूत लागेको थियो, झारफुक गरेर भगाइदिएँ ।’ मेरो मनले भन्यो, ‘मलाई त रामले निको बनाएका हुन् ।’ चार कक्षा पढ्दै गरेको सानो फुच्चेले बिरामी हुँदा पनि रातदिन नभनेर रामायण पढेर सिध्याएकामा म बसेको घरका आमा, दाजु र दिदीहरू छक्क पर्नुभयो । घरमा आउने जोसुकैलाई पनि उहाँहरू भन्नुहुन्थ्यो, ‘यो सानो फुच्चेले पनि रामायण पढेर सिध्यायो ! हामीले त अहिलेसम्म पल्टाएर हेरेका पनि छैनौं ।’ टोलभरि मेरो नयाँ परिचय स्थापित भयो– रामायण पढ्ने ठिटो ।

हाम्रो नयाँ बसोबास भएको ठाउँ थारू गाउँ थियो– भगरैया । नयाँ घर बनिसकेपछि मात्र म गाउँ आएको थिएँ । दसैं संघारमा थियो । मेरा लागि ठाउँ मात्र नयाँ थिएन, त्यस गाउँका मान्छे पनि नयाँ थिए । मान्छेहरूको पहिरन र बोलीचाली पनि नयाँ थियो । नयाँ गाउँको नयाँ घरमा राति म सुत्न खोज्दै थिएँ, एक्कासि मादलको स्वरले झसंग भएँ । मादलको स्वर झन् प्रखर हुँदै गयो । मादलसँगै कारा, खैंजडा, झ्याली र मुरलीको आवाज पनि तिख्खर हुँदै गयो । सँगसँगै पुरुषका सामूहिक स्वरहरू पनि लहरिँदै आएर मेरा कानमा साउँती गर्न थाले ।

‘राम, राम कहिके पुकर्णु, नही सुने राम हमारे

जोगिया भेष धरी ऐनै हो रावन, सीता हरन लैइ गैनैइ...’

थारू गीत सुनेर म दंग परें । एकछिन त आश्चर्यले अक्क न बक्क भएँ । थारू गीत नबुझे पनि गीतका पंक्तिबीच आइरहेका राम, सीता, रावण नामहरूले मलाई चकित बनाइरहेको थियो । ओहो यहाँ पनि

राम !! म खुसीले पुलकित भएँ । मलाई कता जाऊँ ? के गरूँ ? जस्तो भयो । शरीरभरि फैलिरहेको खुसीको तीव्र लहरले मलाई बिछ्यौनामा पस्रिरहन दिएन । म उठें र झ्यालबाट आवाज आएको दिशातर्फ हेर्न थालें । गाउँको बीचोबीच मेन्टलको प्रकाश फैलिरहेको थियो । आवाज त्यहींबाट आइरहेको थियो । ‘ओहो, मेरा राम यहाँ पनि रैछन् !’ मलाई झ्यालबाट हामफालेर जान मन लाग्यो । ओछ्यानबाटै मेरी मुवा कराउनुभयो, ‘सुत्न छोडेर झ्यालमा बसी के हेर्दै छस् ? खुरुक्क ओछ्यानमा गएर सुत् ।’ प्यारा रामलाई छातीभित्र समाहित गरेर म ओछ्यानमा घुस्रिएँ ।

भोलिपल्ट भने अचम्मै भयो । मुवाले भन्नुभयो, ‘आज हाम्रो घरमा रामलीला नाच आउँछ ।’ मलाई विश्वास लागेन । म नबोली बसिरहें । मुवाले फेरि मलाई हकार्दै भन्नुभयो, ‘सुनिनस् आज हाम्रो घरमा रामलीला नाच आउँदै छ । राति झ्यालमा बसेर हेर्थिस् नि, हो त्यै नाच ! बुझिस् ?’ मैले चकित पर्दै मुवाको अनुहार हेरें । मेरो अनुहार खुसीले गुलाबी भयो । म खुसी लुकाउन खोज्दै थिएँ, सकिन । मेरा आँखाबाट आँसु छचल्किए । म हाँस्दै रुन थालें– क्वाँ क्वाँ ! मेरी मुवाले मेरो टाउको मुसार्दै भन्नुभयो, ‘तेरा लागि नै हो आज घरमा रामलीला नाच मगाएको । तेरा बुबा भन्दै हुनुहुन्थ्यो– तैले त रामायण पढिसकिस् रे ! आज रातभर नाच हेर । म केई भन्दिन लाटा !’ मुवाको मायाले मेरो रुवाई झन् तेज भयो । रुँदारुँदै म जमिनमा घोप्टिएँ ।

साँझपख घरमा रामलीला नाच टोली आइपुग्यो । मेरो घरको आँगन संगीतमय भएको थियो । म मुवासँग बसेर नाच हेरिरहेको थिएँ । तर, मन रामतिरै थियो । कुन बेला राम आउँछन् र आफ्नो लीला प्रदर्शन गर्छन्, म व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको थिएँ । मोह्रियाले गीतबाटै देवीदेवताको पुकारा गर्दै रामलीला नाच सुरु भएको जनाउ दियो,

‘अब हरू साजन हे पूर्व मै सुम्मिरहु सुरज देवता के थान नरे हो,

अब हरू साजन हे उत्तर मै सुम्मिरहु वीर हनुमान के थान नरे हो,

अब हरू साजन हे पश्चिम मै सुम्मिरहु हरिकविलास के थान नरे हो,

अब हरू साजन हे दक्षिण मै सुम्मिरहु गंगा जी के थान नरे हो !!’

ऊसँगै बसिरहेका अन्य वाद्यवादकहरूले बाजा बजाउँदै गीतको बोल दोहोर्‍याए । आँगनको एक छेउबाट अचानक राम प्रकट भए । रामको पछिपछि सीता र लक्ष्मण ! रामको शिरमा मुकुट थियो र काँधमा धनुष । ‘राम ! राम !’ म चिच्याएँ । मलाई चुप बस भन्ने इसारा गर्दै मुवा मुस्कुराउनुभयो ।

राम मेरै अगाडि आएर उभिए । मेरो मुटुको धड्कन बढ्न थाल्यो । शरीरमा खुसीको तीव्र लहर प्रवाहित भयो । म रोमाञ्चित भएर रामलाई हेर्न थालें शिरदेखि पैतालासम्म । शिरको मुकुट सधैंझैं आज पनि चमचम चम्किरहेको थियो । उनले सेतो धोती पहिरेका थिए । कम्मरमाथिको आङ भने नांगो थियो । पहाडका रामको पाउमा थियो खराउ ! अहिलेका रामले भने चप्पल लगाएका थिए । खराउ लगाउन् वा चप्पल ! उनी मेरा प्रिय राम नै थिए । मेरा राम बोल्न थाले । राम बोल्दाबोल्दै कहिले मुस्कुराउँथे, कहिले हाँस्थे त कहिले क्रोधित हुन्थे । तर, म केही बुझिरहेको थिइनँ । उनी हिन्दी मिश्रित थारू भाषामा बोलिरहेका थिए । मैले उनले बोलेको कुरामा ध्यान दिन छोडें । म उनको हाउभाउ र मुद्रामा मात्र ध्यान दिन थालें । मैले रामायण पढिसकेकाले उनले के बोल्दै छन् र अब के हुँदै छ भन्ने कुराको आफैं अनुमान गर्न सक्थें ।

रामले संवाद भनिसकेपछि मोह्रियाले गीतको बोल टिप्थ्यो । सबैले उसको अनुसरण गर्थे । गीतको बोलमा अब हुने घटनाबारे जानकारी हुन्थ्यो । गीतको बोलसँगै बाजाको मधुर धुन गुन्जिन थालेपछि मृदंगिया मादल बजाउँदै आँगनमा आउँथ्यो र उसको पछिपछि नचनियाले आफ्नो रंगविरंगी लेहंगालाई मादलको तालसँगै फिरिरिरी ओर्काइफर्काइ गर्थी । नाच चलिरहेसम्म नाटकका कलाकारहरू आँगनको एक छेउमा गएर टुक्रुक्क बस्थे । रामलीला नाच कुखुरा भालेको पहिलो डाकसम्म चलिरह्यो । मुवाको काखमा बसेर झप्की लिँदै मैले मिर्मिरेसम्म रामलीला नाच हेरिरहें । राम र सीताको बिछोडका बेला मेरी माता सुकसुकाउनुभयो । घुँक्कघुँक्क गर्दै बरबरी आँसु झार्नुभयो । सायद आफ्ना पतिको सम्झनाले मुवालाई भावविह्वल बनाएको थियो ।

भोलिपल्ट दुई युवक हाम्रो घरमा आए । उनीहरू रामलीला नाच देखाएबापतको पैसा लिन आएका थिए । उनीहरूले मुवासँग भेटको बेला भने–

‘रामराम हजुर ।’

‘रामराम !,’ मुवाले जवाफ दिनुभयो ।

‘रामराम बाबु !,’ अर्कोले मतिर हेर्दै भन्यो । म चुप लागिरहें ।

‘रामराम भन् ! तँलाई नमस्कार भन्दै छन्,’ मेरी मुवाले मलाई रामरामको अर्थ बुझाउनुभयो ।

‘रामराम !,’ मैले खुसी हुँदै भनें । थारू भाषामा ‘रामराम’ शब्दको अर्थ बुझेर म आश्चर्यचकित भएँ । म सानो छँदा मेरी मुवाले मलाई ‘राम’ हेर्न जान्छस् लाटा ?’ भन्नुभएको थियो । ‘राम’ को अर्थ थियो– जात्रा, मेलाको रमाइलो ! अहिले मुवाले नै बुझाइरहनु

भएको थियो– ‘रामराम’ भनेको अभिवादन हो । ओहो ! राम नाम हाम्रो जीवन र संस्कृतिको कति अभिन्न अंग रहेछ ! राम नामप्रति म झन् मोहित भएँ ।

गाउँमा रामलीला नाच लाग्न छोडेको दशकौं भयो । सशस्त्र द्वन्द्व चर्किंदै गएपछि रामलीला नाचको पनि दुःखद अन्त्य भयो । गाउँमा रामलीलाका गीतहरू गुन्जिन छोडे । गीतहरू बन्दुकको कर्कश आवाजमा विलुप्त भए । रामलीलाको मृदंगियाले खरी झारेर मादललाई घरको एक कुनामा फाल्यो । लेहंगा फरफराउँदै नाच्ने नचनियाले आफ्नो लेहंगाले धान राख्ने डेहरीको प्वाल टाल्यो । रामलीलाका पात्रहरू कोही पुलिस बने, कोही विद्रोही । कोही विद्रोहीको अपहरणमा परे । कोही राज्यको कहरमा मुग्लान भास्सिए । त्यसपछि गाउँबाट मेरो राम पनि हरायो, गुमनाम भयो ।

‘राम सिया राम

सिया राम जय जय राम !!’

गाउँका बरघरको आँगनमा राखेको साउन्ड बक्सबाट हिन्दी सिनेमाको गीत घन्किरहेको थियो । आँगनमा युवायुवतीहरू कम्मर हल्लाएर झुमीझुमी नाचिरहेका थिए । म हेर्दै थिएँ, दुई युवाले बूढा बरघरलाई हातले डोर्‍याएर ल्याए । आफ्ना नाति उमेरका युवाहरूसँग बरघर पनि मच्चीमच्ची नाच्न थाले । मैले चिनेका राम र वर्तमान पुस्ताका राम एउटै थिए तर रामलाई चिन्ने माध्यम र शैली फरक थियो । अहिलेका राम विद्युतीय माध्यमका अनेक थरीका चक्का, चिप्स र फ्ल्यास प्लेयरमा अनूदित भएका थिए । उनी जहाँतहीँ छ्यापछ्याप्ती थिए । उनलाई पाउन र देख्न अनुकूल समय पर्खिनुपर्ने र रातभर जाग्नुपर्ने आवश्यकता थिएन । राम सर्वसुलभ भए । तर, मलाई दुःख यसमा थियो कि मेरा गाउँले राम, मेरा मनका राम र मेरा अनुभूतिका राम मेरो स्मृतिमा सीमित भएका थिए ।

प्रकाशित : मंसिर २३, २०८० ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?