१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

किसिन्जरको त्यो ‘विश्राम कूटनीति’

हेनरी किसिन्जरले दशकौंसम्म अमेरिकी कूटनीतिको मियो सम्हाले । आलोचना र प्रसिद्धिको चुचुरोमा बसिरहेका किसिन्जरको महाप्रस्थानले फेरि एक पटक उनलाई विश्वभरि नै सम्झनाको मझधारमा उभ्याइदिएको छ ।
किसिन्जर भन्थे– एक महान् कूटनीतिज्ञ एक महान् ढँटुवा पनि हो । प्रशंसकहरू किसिन्जरलाई महान् कूटनीतिज्ञ मान्छन् भने आलोचकहरू शान्तिको आवरणमा युद्ध अपराध गर्ने महान् ढँटुवा । 
घनश्याम खड्का

कूटनीतिमा अक्सर बौद्धिक, ठट्यौलो र चलाखीपूर्ण भाषाको प्रयोग हुन्छ । आफ्नो उद्देश्यसिद्ध गर्न जसको लवजमा यस्तो भाषा पत्यारलाग्ने गरी बग्छ उही नै असल कूटनीतिज्ञ हो । त्यसैले हुँदो हो, यसो गर्न जान्ने उम्दा पेसालाई बुझाउन बेलायती प्रधानमन्त्री विन्सटन चर्चिलले भनेका थिए, ‘कूटनीति भनेको मानिसहरूलाई यस्तो तरिकाले नर्क जाऊ भन्ने कला हो कि उनीहरू कताबाट जाने भनेर बाटो नै सोध्न पुग्छन् ।’ 

किसिन्जरको त्यो ‘विश्राम कूटनीति’

महान् कूटनीतिज्ञ भनेर चिनिएका अमेरिकी पूर्वविदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरसँग चर्चिलले भनेझैं उम्दा कला थियो । उनले यही कलाको प्रयोग गरी एक्काइसौं शताब्दीको अमेरिकी कूटनीतिको मियो सम्हाले दशकौंसम्म ।

वाक्पटुता र कुटिल चालका लागि माहिर मानिएका किसिन्जर आफैं आफ्नो पेसाको निर्वैयक्तिक रूपले हँसिमजाक गर्थे र भन्थे, ‘एक महान् कूटनीतिज्ञ एक महान् ढँटुवा पनि हो ।’ रमाइलो के भने, एकथरी मानिस किसिन्जरलाई महान् कूटनीतिज्ञ मान्छन् भने एकथरी चाहिँ उनलाई महान् ढँटुवा पनि ठान्छन्, जसले शान्तिको आवरणमा युद्ध अपराधसमेत गर्न पुगे ।

आलोचना र प्रसिद्धि दुवैको चुचुरोमा नित्यनिरन्तर बसिरहेका उनै हेनरी सय वर्षको उमेरमा नोभेम्बरको अन्ततिर संसारबाट बिदा भए । उनको देहान्तले फेरि एकपटक उनलाई विश्वभर सम्झनाको मझधारमा उभ्याइदिएको छ ।

जर्मनीको फर्थमा २७ मे १९२३ मा जन्मेका र पछि अंगीकृत अमेरिकी नागरिक बनेका हेनरी किसिन्जर कूटनीतिको दुनियाँमा यसरी जम्न पुगे कि, शताब्दीकै विश्वसम्बन्ध उनको वरिपरि घुम्यो । उनी दिवंगत हुनेबित्तिकै ‘दी न्युयोर्क टाइम्स’ का पत्रकार डेभिड ई स्याङ्गरले एउटा लामो स्मृतिपत्र प्रकाशित गर्दै किसिन्जर उपल्लो तहको प्रशंसा र निन्दा दुवै पाउने इतिहासका दुर्लभ कूटनीतिज्ञ भएको विश्लेषण गरे । हुन पनि हालसम्म ४६ राष्ट्रपतीय कार्यकाल चलिरहेको अमेरिकामा किसिन्जर एक्लैले १२ राष्ट्रपतिलाई सल्लाह दिन भ्याए, जो आफैंमा एउटा कीर्तिमान थियो । उनले आफ्नो बहुआयामिक व्यक्तित्व, गहिरो अध्ययन, उच्च सरकारी ओहदा र प्रभावशाली लेखन सबै नै कूटनीतिक चातुर्यका लागि प्रयोगमा ल्याए ।

किसिन्जरको प्रारम्भिक जीवन दोस्रो विश्वयुद्ध र नाजी बर्बरताले ल्याएको उथलपुथलका घटनाहरूले गहिरो गरी प्रभावित थियो । उनको परिवारले हिटलरशाहीको बढ्दो धम्की र अत्याचारको सामना गर्‍यो । हिटलरको यहुदीविरोधी नीतिहरू तीव्र हुँदै गएपछि अरूहरूले झैं अन्ततः किसिन्जर परिवारले पनि अमेरिकामा शरण लिन मातृभूमिबाट भाग्ने कठिन निर्णय गर्‍यो ।

किसिन्जरको यो कथा अर्का प्रभावशाली यहुदी शरणार्थी अल्बर्ट आइन्स्टाइनको जीवनसँग मिल्दोजुल्दो छ । नोबेल पुरस्कार पाइसकेका र विश्व हल्लाउने खोजहरूले जल्दोबल्दो भौतिकशास्त्रीको ख्याति कमाइसकेका आइन्सटाइनले सन् १९३३ मै जर्मनी छाडेर अमेरिकामा शरण लिएका थिए । आइन्सटाइन आइपुगेपछि अमेरिकाले अणु विस्फोट गरेर अथाह ऊर्जा निकाल्न सकिने उनकै सिद्धान्तबाट परमाणु बम बनायो । पछि, त्यही बम जापानमा खसालेर अमेरिका विश्वको पहिलो शक्ति बन्यो ।

किसिन्जरचाहिँ विश्वशक्ति भएको अमेरिकालाई पहिलो बनाइराख्न कूटनीतिक चातुर्यताको प्रयोगमा जुटिरहे । जापानमा भएको नरसंहारकारी हमलापछि आइन्सटाइन विनाशक बमको प्रयोगविरुद्ध शान्तिवादको आन्दोलनमा होमिए । किसिन्जरचाहिँ परेको बेला जे पनि गर्नुपर्छ भन्ने सिद्धान्तमा कहिले गोप्य रूपमा शत्रु मुलुकहरूमा बमबारी गर्ने र कहिले तिनैसँग शान्ति सम्बन्ध कायम गर्ने दोहोरो चरित्र निर्वाहमा डटिरहे । यसरी अलग उमेर, विशेषज्ञताको भिन्न क्षेत्र र फरक अडानका बाबजुद आइन्स्टाइन र किसिन्जर दुवैको जीवनमा साझा अनुभव एउटै थियो– दमनकारी राजनीतिक वातावरणका कारण आफ्नो देश छोड्नुपरेको बाध्यता ।

४४ वर्षले जेठा–कान्छा आइन्सटाइन र किसिन्जरबीच समयको अन्तरालले प्रत्यक्ष भेटघाट हुन सकेन । किनभने, आइन्सटाइन प्रसिद्धिको शिखरमा हुँदा किसिन्जर जन्मेकै थिएनन् । किसिन्जर शक्तिको केन्द्रमा पुग्दा आइन्सटाइन संसारबाट हिँडिसका थिए । एकअर्कालाई नभेटेका दुई शरणार्थी यहुदीले आफ्नै तरिकाले अमेरिकालाई गुण लगाए भने इतिहासमा आ–आफ्नै अनौठो तरिकाले दिगो विरासतहरू छोडे । नाजी शासनले एक देशबाट अर्को देशमा पुर्‍याइएका यी दुईको जीवनमा समयले छाडेको छाप र तिनले समयको धार बदल्न निर्वाह गरेको भूमिकाबारे इतिहासकार र विश्लेषकहरूबीच चाखलाग्दो छलफल र विमर्श हुने गरेको छ ।

किसिन्जरले आफ्ना कूटनीतिक अनुभवका बारेमा दुई भागमा एक पुस्तक लेखेका छन्– इयर्स अफ अपहिभल्स । ‘उत्पातका वर्षहरू’ भन्ने अर्थ लाग्ने उनको पहिलो संस्मरण सन् १९८२ र दोस्रो २०११ मा प्रकाशित थिए । पहिलो भागले प्रारम्भिक वर्षहरूमा उनको जीवनको व्यक्तिगत यात्राको अन्तरदृष्टि प्रदान गर्छ । नाजी शासनमा उनको परिवारले सामना गरेका चुनौतीहरू र जर्मनीबाट भाग्दाको गहिरो प्रभावको वर्णनले के दर्साउँछ भने शरणार्थी जीवनले उनलाई गहिरो गरी अत्याएको थियो । उनको त्यस भावनात्मक दशाको आलोकबाट हेर्दा एउटा लयबाट बिथोलिएर फेरि जीवन सुरु गर्दा आइलाग्ने अनिश्चिततालाई पर्गेल्न र त्यसले कसरी उनको चरित्रलाई आकार दिएको छ भन्ने खुट्याउन सजिलो हुन्छ । मानिसका व्यवहारहरूप्रति सदा जिज्ञासु एक किशोर देश छाडेर अमेरिका पुग्दा सुरु भएको दोस्रो विश्वयुद्धताका जवान सैनिक हुन पुग्यो ।

तस्बिर : रोयटर्स

तर, गहिरो बौद्धिक चेतनाले उसलाई केवल बन्दुकहरू चलाउने सिपाहीमा सीमित रहन दिएन । बरु, बन्दुक चलाउन बाध्य पार्ने शासन सत्ता र विश्व सम्बन्धलाई प्रभाव पार्ने विधा कूटनीतिको बाटोमा रफ्तारका साथ दौडने अथक धावक बनाइदियो । दोस्रो विश्वयुद्धको संक्षिप्त सैनिक सेवापछि किसिन्जरले हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धको जटिलता र त्यसको आयाम पक्रने गरी राजनीतिशास्त्रमा विद्यावारिधि गरे । उनको शैक्षिक उपलब्धिले एक विशिष्ट कूटनीतिज्ञका लागि चाहिने जग खडा गरिदियो ।

किसिन्जरलाई राष्ट्रपति रिचर्ड निक्सनले सन् १९६९ मा राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरे । यो नियुक्ति नै दोस्रो विश्वयुद्धपछि सुरु भएको शीतयुद्धको तनावपूर्ण विश्व सम्बन्धलाई आकार दिने सुरुवात बन्न पुग्यो । विषयमा पकड, बोलीमा चातुर्यता र काममा अन्तहिन लगावका कारण उनलाई सन् १९७३ मा राष्ट्रपति जेराल्ड फोर्डले विदेशमन्त्रीमा नियुक्त गरे । त्यसै वर्ष उनले नोबल शान्ति पुरस्कार पाएका थिए, जसको चर्चा अलि पछि गरिनेछ । व्यावहारिक शक्तिमा आधारित कूटनीतिको विशेषता भएको उनको राजनीतिक दृष्टिकोणले अमेरिका र विश्व सम्बन्धलाई डोर्‍याएको देखिन्छ । उनले लिएको यो एक यस्तो राजनीतिक दर्शन थियो, जसले वैचारिक वा आदर्शको नैतिक चिन्ताहरूभन्दा व्यावहारिक विचारहरूलाई प्राथमिकता दिन्छ ।

शीतयुद्धको उचाइमा दुई विपरीत ध्रुवका महाशक्तिबीचको बढ्दो तनाव कम गर्न उनको यो रणनीतिक दृष्टिकोणले अन्तर्राष्ट्रिय सम्बन्धको जटिलतालाई हल गर्न वा बढ्न नदिन प्रभावशाली भूमिका निर्वाह गर्‍यो । खासगरी, सोभियत संघसँग अमेरिकाको तनाव कम गर्ने खालको सम्बन्ध निर्माणमा उनको कूटनीतिक कौशलले अमिट छाप छोड्यो, जसले गर्दा सम्भावित युद्धहरू टर्न पुगेको उनका प्रशंसकहरूको निचोड छ । ‘दी स्ट्राटेजिक आर्म्स लिमिटेसन टक्स्’ (साल्ट) भनिने रणनीतिक हतियारमा सीमितता ल्याउन अमेरिका र सोभियत संघबीच गरिएका शीतयुद्धकालीन शृंखलाबद्ध वार्ताको योजनाकार किसिन्जर थिए । विशेषगरी आणविक हतियारहरूको प्रसारलाई सीमित गर्ने उद्देश्यका साथ भएका यी वार्ताले दुई महाशक्तिहरू बीचको अस्त्र–शस्त्रको दौड रोक्न धेरै सम्झौताहरू गरायो । साल्ट– वार्तामा किसिन्जरलाई उनको रणनीतिक र कूटनीतिक कुशलताका लागि इतिहासकारहरू चिरस्मरण गर्छन् ।

कूटनीतिक वृत्तमा प्रयोग हुने एक फ्रान्सेली शब्द छ– दितँत्, जसको शाब्दिक अर्थ हुन्छ– विश्राम । साल्ट–वार्तामा किसिन्जरले रुससँग ‘दितँत् डिप्लोमेसी’ अर्थात् तनावरहित कूटनीतिको रणनीति अघि सारे । सीमा सम्बन्ध र कूटनीतिको सन्दर्भमा ‘दितँत् रणनीति’ भनेको दुई देशका गुटहरूबीचको तनाव कम गर्नु या उत्तम समय कायम गर्नु हो । शीतयुद्धको दौरान अमेरिका र सोभियत संघबीच बढेको तनावपूर्ण सम्बन्धलाई कम गर्न उनको ‘दितँत् कूटनीति’ ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । साल्ट–वार्ताको सबैभन्दा प्रभावकारी र महत्त्वपूर्ण नतिजा हो– अमेरिकी राष्ट्रपति निक्सन र सोभियत संघका महासचिव लियोनिद ब्रेज्नेभद्वारा मे २६, १९७२ मा हस्ताक्षर गरिएको साल्ट सन्धि ।

गत जुलाईमा बेइजिङमा चिनियाँ राष्ट्रपतिसँग भेटघाटका क्रममा हेनरी किसिन्जर । तस्बिर : रोयटर्स

शीतयुद्धको सुरुवातपछि पहिलोपल्ट दुई महाशक्तिका बीच भएको यो सन्धिले आफ्ना सेनामा आणविक अस्त्रको संख्या कटौती गर्न दुवै देशलाई राजी बनाएको थियो । बढ्दो आणविक युद्धको सन्त्रास फैलिरहेका बेला भएको यो सम्झौताले यसका योजनाकार किसिन्जरलाई विश्व कूटनीतिमा नामी खेलाडीका रूपमा स्थापित गरिदियो । यो उनको ‘दितँत् कूटनीति’ को परिणाम थियो, जसको प्रभावकारिता र दिगोपनबारे सयौं ऐतिहासिक बहस भएका छन् । जे होस्, त्यस समय ‘दितँत् रणनीति’ ले शीतयुद्धका दुई जानी दुश्मनलाई युद्धको मोर्चामा जाने बाटोबाट फर्काएर एकै टेबलमा बस्ने वातावरण खडा गरिदिएको थियो, जो सानो विषय थिएन र होइन पनि ।

संसारलाई चकित पार्ने कूटनीतिक चालमा किसिन्जरले सन् १९७२ मा संयुक्तराज्य अमेरिका र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने योजना बनाए । त्यस बेलासम्म बाहिरी विश्वसँग अलगथलग रहेको चीन आफैंभित्र सीमित एक कम्युनिस्ट देश थियो । सोभियत संघलाई एक्लो पार्न चीनसँगको मित्रता कायम राख्न जरुरी छ भन्ने बुझ्न चतुर खेलाडी किसिन्जरलाई समय लाग्ने कुरै भएन । एकातिर सोभियत संघसँग साल्ट–वार्ता गरेर तनाव मत्थर पार्नु र अर्कातिर चीनलाई आफ्नो पोल्टामा ल्याउने चाल चल्नु किसिन्जरको दैनिकी थियो ।

चीनसँग नजिकिन उनले अपनाएको रणनीतिलाई विश्व मामिलाका पण्डितहरू ‘पिङ–पोङ कूटनीति’ भन्छन् । यो यस्तो गोप्य चाल हो, जसमा अनगिन्ती गुप्त बैठकहरूको शृंखला समावेश थियो । यिनै बैठकहरूले चीनलाई अमेरिकासँग सम्बन्ध बढाउन राजी गरायो । र, सम्भव भयो– राष्ट्रपति निक्सनको चीन भ्रमण । चीन र सोभियत संघबीचको छद्म दरारलाई रणनीतिक रूपमा प्रयोग गरेर किसिन्जरले भूराजनीतिक परिदृश्य मात्रै नभई अमेरिका र चीनबीचको सम्बन्धलाई अन्तिम रूपले सामान्य बनाए । यस कामका लागि पनि उनको प्रशंसा हुने गर्छ ।

हरेक सिक्काको दुई पाटो हुन्छ भनेजस्तो किसिन्जरको यो बढ्दो सफलताले उनको आलोचना पनि उत्तिकै जन्मायो । सोभियत संघ र चीन त छँदै थियो, चिलीदेखि मध्यपूर्वसम्मका तानाशाहहरूसँग गुप्त रूपले हात मिलाएपछि सिद्धान्त र आदर्शको दायरालाई धमिलो पारी व्यावहारिकताका नाममा उनले चालेका कदमहरूले मानवअधिकार र विधिको शासनको हुर्मत लियो भन्नेहरूलाई प्रशस्त बल मिल्यो । त्यसमाथि, भियतनाम युद्धमा उनको भूमिकाले हजारौं हजारको ज्यान गयो । यसले बढ्दो चन्द्रमासरी उनको ख्यातिमा आलोचनाको कालो बादल लगायो ।

राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा किसिन्जर भियतनाम युद्धमा गहिरोसँग संलग्न थिए । उनले उत्तरी भियतनामी प्रतिनिधिहरूसँग गोप्य वार्ताहरू सञ्चालन गरे । यसैको परिणाम थियो सन् १९७३ को पेरिस शान्ति सम्झौता । किसिन्जरको कार्यकालको सबैभन्दा विवादास्पद पक्षहरूमध्ये एक भियतनाम युद्धको समयमा कम्बोडियामा गोप्य बमबारी थियो । आलोचकहरू तर्क गर्छन्– ती बम विस्फोटहरू अमेरिकी कंग्रेस (प्रतिनिधिसभा, जसमा तल्लो र माथिल्लो दुवै सदन हुने गर्छ) को स्वीकृतिबिना गरिएको थियो । आततायी रूपमा गरिएको त्यो गोप्य बमबारीले धेरै आम नागरिक मारिए भने कम्बोडियामा अस्थिरता बढायो ।

भियतनाम युद्धको दौरान कम्बोडियामा सन् १९७९ मा भएको त्यो गोप्य बम विस्फोटलाई किसिन्जरले नाम दिएका थिए– ‘अपरेसन मेनु’ । राष्ट्रपति निक्सनलाई हात लिएर उनले कार्यान्वयन गराएको यो गुप्त सैन्य अभियानले दक्षिणपूर्व एसियाको भूराजनीतिक परिदृश्यमा ठूलो प्रभाव पार्‍यो । विस्फोटले दक्षिणपूर्वी एसियामा पहिलेदेखि नै तनावपूर्ण अवस्थालाई बढायो । अमेरिकाले उत्तर भियतनामी आपूर्ति मार्गहरू र कम्बोडियामा भियतनामी गुरिल्ला लुक्ने ठाउँहरू अवरुद्ध गर्न खोज्दा भियतनाम युद्धको दायरा फराकिलो बनायो भने छिमेकी देशहरूलाई युद्धको चपेटामा ल्यायो ।

अपरेसन मेनुले भियतनामको सिमाना बाहिर अमेरिकी सैन्य कारबाही बढाएको थियो । यसले भियतनाम र कम्बोडियामा मात्रै नभएर, विश्वभरमै अमेरिकाविरोधी भावनालाई उकास्यो । अमेरिकाको ज्यादतीविरुद्ध पोलपोटको नेतृत्वमा रहेको कम्युनिस्ट विद्रोही समूह खमेर रुजको विकासका लागि यसले ऊर्वर भूमि प्रदान गर्‍यो, जसको उदयले अन्ततः सन् १९७५ मा कम्बोडियाको सत्ता कब्जा गर्‍यो । पोलपोटको शासनले कट्टरपन्थी सामाजिक र कृषि सुधारहरू लागू गर्दा विनाशकारी नरसंहारको नेतृत्व गर्‍यो । खमेर रुजको क्रूर शासनले अनुमानित १७ लाख मानिसको मृत्यु भएको थियो । यो सबैको जिम्मेवार किसिन्जरको गोप्य सैन्य कारबाही नै थियो । मुख्यतः भियतनाम, कम्बोडिया र चिलीमा अमेरिकी संलग्नतासँग जोडिएका अवर्गीकृत कागजातहरू र अभिलेखहरूले किसिन्जरलाई युद्धअपराधमा दोषी थिए भन्ने संकेत गर्छ । यसरी ‘अपरेसन मेनु’ अमेरिकी इतिहासमा गहिरो विवादास्पद अध्याय भएको थियो, छ र यो रही नै रहनेछ ।

प्रशंसा र विवादको समानान्तर प्रसिद्धिका बीच किसिन्जरले मध्यपूर्वको कूटनीतिमा पनि दूरगामी प्रभाव पारेका थिए । इजरायल र मुख्य रूपमा इजिप्ट–सिरियाको नेतृत्वमा अरब राज्यहरूको गठबन्धनबीच सन् १९७३ अक्टोबरमा १९ दिनसम्म चलेको योम किप्पुर युद्धले त्यस क्षेत्रमा मानवीय संकट निम्त्याएको थियो । हालै मात्र हमासको आश्चर्यजनक रकेट आक्रमणझैं यहुदीहरूको पवित्र दिन ‘योम किप्पुर’ को समयमा इजिप्ट र सिरियाले इजरायलमा आक्रमण सुरु गरेका थिए । राष्ट्रपति अनवर सदातको नेतृत्वमा इजरायलबाट सिनाई प्रायद्वीपलाई इजिप्टले पुनः प्राप्त गर्न चाहन्थ्यो भने सिरियाका राष्ट्रपति हाफेज अल–असद इजरायलबाट गोलान हाइट्स फिर्ता लिने ताकमा थियो । यी दुवै ठाउँ इजरायलले सन् १९६७ मा कब्जा गरेको थियो ।

तत्कालीन इजरायली प्रधानमन्त्री गोल्डा मेयरले प्रत्याक्रमणका लागि सेना परिचालन गरे । त्यसै वर्ष विदेशमन्त्रीमा नियुक्त भएका किसिन्जर यहुदी हुनुको नाताले इजरायलका पक्षमा थिए । योम किप्पुर युद्धले महाशक्तिहरू सम्मिलित फराकिलो द्वन्द्व बढ्ने अवस्था निम्त्यायो । किनभने अमेरिकाले इजरायललाई समर्थन गर्‍यो भने सोभियत संघले इजिप्ट र सिरियालाई । यस्तोमा किसिन्जरले प्रत्यक्ष रूपमा अमेरिका र सोभियत–टकराव रोक्न काम गरे र कूटनीतिक समाधान खोज्न सोभियत नेताहरूसँग हात मिलाए । उनको यो रणनीति ‘सटल डिप्लोमेसी’ अर्थात सूक्ष्म कूटनीतिको नामले चिनिन्छ ।

अर्कातिर, इजरायलको कमजोर हालतलाई आकलन गरी उनले युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको संयन्त्र परिचालन गरे । योम किप्पुर युद्ध अरब–इजरायली द्वन्द्वको इतिहासमा एक निर्णायक घटना हो र यसले मध्यपूर्वको भूराजनीतिक परिदृश्यमा गहिरो प्रभाव पारेको थियो । किनभने यो युद्ध रोक्न भएका प्रयासले अरब–इजरायल शान्ति प्रक्रियाको मार्गमा दिगो प्रभाव पारेको थियो । किसिन्जरको प्रयासले सन् १९७८ मा क्याम्प डेभिड सम्झौतासहित पछिल्ला कूटनीतिक पहलहरूका लागि आधार तयार पार्‍यो, जसले इजरायल र इजिप्टबीचको शान्ति सन्धिको नेतृत्व गर्‍यो ।

यति काम फत्ते गर्न किसिन्जरले युद्धरत पक्षबीच वार्ता र मध्यस्थता गर्न मध्यपूर्वका विभिन्न राजधानीहरूमा व्यापक यात्रा गरेका थिए । यता, सन् १९५६ देखि चल्दै आएको भियतनाम युद्धमा अमेरिकी संलग्नताले कुनै परिणाम हात नपारेपछि त्यसलाई टुंग्याउन कारगर मानिएको पेरिस शान्ति सम्झौता सन् १९७३ को सुरुवातमै गरिसकेका थिए किसिन्जरले । भियतनाम र अरब–इजरायलको द्वन्द्वमा मध्यस्थताको भूमिका निर्वाह गरेबापत उनलाई भियतनामी सैन्यविद् तथा कूटनीतिज्ञ ले डुक थोसँगै त्यस वर्षको नोबेल शान्ति पुरस्कार दिइयो, जसको व्यापक आलोचना भयो ।

कम्बोडियामा नरसंहार मच्चाएको, चिलीमा सत्ता अपदस्थ गराएको, अर्जेन्टिनामा जुन्ता विद्रोहीलाई सघाएको, इस्ट टिमोरमा आक्रमण गर्न इन्डोनेसियालाई उक्साएको र स्वतन्त्रता आन्दोलनको दौरान बंगलादेशीको नरसंहार गर्दा पाकिस्तानको पक्ष लिएको तात्तातो पृष्ठभूमिमा किसिन्जरलाई मिलेको शान्ति पुरस्कारको आलोचना अमेरिकाभित्रै पनि चरम रूपमा हुन पुग्यो । यसलाई 'शान्ति पुरस्कार होइन, युद्ध पुरस्कार' भनेर न्युयोर्क टाइम्सले त उनको विदेश नीतिको आलोचना नै गरेको थियो । कतिसम्म भने किसिन्जरलाई नोबल पुरस्कार दिइएकामा चित्त नबुझेर त्यस पुरस्कार समितिका दुई सदस्यले समितिबाट राजीनामा नै दिएका थिए । यता ले डुक थोले पुरस्कार अस्वीकार गरेको घोषणा गरे । चरम विवादित नोबल पुरस्कारबारे प्रसिद्ध अमेरिकी इतिहासकार बर्टन फेल्डम्यानले ‘दी नोबल प्राइजः अ हिस्ट्री अफ जिनियस, कन्ट्रोभर्सी एन्ड प्रेस्टिज’ भन्ने पुस्तक नै लेखेका छन्, जो सन् २००० मा प्रकाशित छ ।

किसिन्जरको प्रतिभा कूटनीतिमा मात्रै नभएर लेखनकलामा पनि उत्तिकै मुखरित छ । प्रख्यात पत्रकार तथा आलोचक क्रिस्टोफर हिचेन्सले आफ्नो पुस्तक ‘द ट्रायल अफ हेनरी किसिन्जर’ मा किसिन्जरलाई युद्धअपराध र नैतिक उल्लंघनमा संलग्न भएको आरोप लगाएका छन् । हिचेन्सको तर्क के छ भने, किसिन्जरको खोटपूर्ण राजनीतिक दृष्टिकोणले मानवअधिकारको व्यापक उल्लंघन हुन पुग्यो ।

त्यस्तै लेखक तथा खोज पत्रकार विलियम साक्रसको पुस्तक ‘साइड शो : किसिन्जर, निक्सन एन्ड डिस्ट्रक्सन अफ कम्बोडिया’ मा उनले कम्बोडिया र भियतनाममा लाखौंको ज्यान जाने गरी किसिन्जरले निर्वाह गरेको भूमिकाको कटुआलोचना गरेका छन् ।

यसरी कूटनीति र राजनीतिमा प्रशंसा र निन्दा दुवै कमाएका किसिन्जर लेखनकार्यका लागि भने बढी प्रशंसित छन् । उनका १८ पुस्तक छन्, जो विश्वव्यापी राजनीतिको सूक्ष्म विश्लेषणले भरिएका छन् । ‘ए वर्ल्ड रिस्टोर्ड’ उनको पहिलो पुस्तक हो, जो सन् १९५७ मा प्रकाशित भएको थियो । नेपोलियन युगमा प्रयोग गरिएको कूटनीतिक रणनीतिहरूको अन्वेषणले भरिएको यो पुस्तकले किसिन्जरको ख्याति एक इतिहासकार र कूटनीतिक विश्लेषकका रूपमा ह्वात्तै बढाइदिएको थियो । ‘लिडरसिप : सिक्स स्टडिज इन वर्ल्ड स्ट्राटेजी’ किसिन्जरको अन्तिम पुस्तक हो, जसलाई ९९ वर्षको उमेरमा उनले २०२२ अप्रिल २८ मा प्रकाशित गरेका थिए ।

लेखन र कूटनीतिमा चम्केका किसिन्जरको व्यक्तिगत जीवन गोप्य र रंगिला प्रसंगहरूले भरिएका थिए, जो उनलाई अप्ठेरोमा पार्ने गरी कहिल्यै बाहिर आएनन् । खासगरी, हलिउडका सुन्दरी अभिनेत्रीहरूसँग डेटिङ गर्ने मामिलामा किसिन्जर माहिर थिए । ‘वासिङ्टन पोस्ट’ का स्टाफ राइटर टिमोथी बेलाका अनुसार, सिद्धहस्त कूटनीतिज्ञका साथै किसिन्जर एक प्ले–ब्वाई पनि थिए, जो आफ्नो प्रेमिल स्वभावलाई एक जासुसलेझैं छुपाउने गर्थे । किसिन्जरको निधन भएको भोलिपल्ट ‘वासिङ्टन पोस्ट’ मा ‘दी सरप्राइजिङ डेटिङ लाइफ अफ हेनरी किसिन्जर, दी वेस्ट विङ प्ले ब्वाई’ शीर्षकमा टिमोथीले उनको जीवनको रंगिलो पाटोको उजागर गरेका छन् ।

अभिनेत्री सा ज्सा गाबोरको आत्मकथा ‘वन लाइफटाइम इज नट इनफ’ मा उनले किसिन्जरसँगको अन्तरंग सम्बन्धको खुलासा गरेकी छन् । उनलाई नजिकबाट चिन्नेहरूको विश्लेषणमा सांसारिक वृत्तिहरूले भरिएका र बौद्धिक रूपले ठट्यौलो स्वभावका किसिन्जर महिलाहरूप्रति बेपरवाह थिए भने महिलाहरू पनि उनीप्रति आसक्त थिए । टिमोथीका अनुसार, अमेरिकी पत्रकार गेरिया स्टेनेम किसिन्जरलाई ‘निक्सन प्रशासनमा चाख लाग्दो एउटै मान्छे’ भन्ने गर्थिन् भने किसिन्जर ‘जेम्स बन्ड फिल्म फ्रेन्चाइज’ की अभिनेत्री जिल सेन्ट जोनसँग हुरुक्कै हुन्थे । कतिसम्म भने, एकपटक उनीहरूले गोप्य रूपले विवाह गरेको हल्लासमेत चलेको थियो । अर्की अभिनेत्री मार्सा मेट्रिन्कोले किसिन्जरसँग दर्जनौं पटक रंगिलो भेट गरेको खुलासा सन् १९७४ मै एक पत्रिकामा गरेकी थिइन् । दुईपटक विवाह गरेका र दर्जनौं सुन्दरी अभिनेत्रीसँग ‘मिसन मेनु’ गोप्य सम्बन्धहरूमा रमेका किसिन्जरको रंगिलो जीवन

वृद्धवयमा सायद टुट्यो, शारीरिक अक्षमताका कारण । तर, कूटनीति र लेखनमा भने जीवनका आखिरी दिनसम्म पनि उत्तिकै सक्रिय नै देखिए । ९९ वर्षको उमेरमा उनले पुस्तक निकाले, १०० वर्षको छँदा गत जुलाईमा उनले चीनको ‘सरप्राइज भिजिट’ गरेर त्यहाँका रक्षामन्त्रीसँग भेटघाट गरे । पुरानो दुई देशको सम्बन्धमा तनाव कम गर्न उनी १०० वर्षको हुँदासमेत कूटनीतिमै सक्रिय रहे । गत जुलाईमा उनले चीन पुगी त्यहाँका रक्षामन्त्रीसँग भेटेर उही पुरानो दितँत् कूटनीतिको मन्त्र सुनाए, ‘अमेरिका र चीन मिल्नुपर्छ, तनाव बढाएर हुँदैन ।’

प्रकाशित : मंसिर २३, २०८० ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?