१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

सम्झनामा बिनाबर्दीको सिपाही

बिनाबर्दीको त्यो सिपाही, जो सीमान्तीकृत समुदायका लागि बोल्यो र उनीहरूकै लागि बाँच्यो ।
‘बासबहादुर जीसी : संस्मरण सङ्गालो’ मा तत्कालीन परिवेशको सामाजिक, आर्थिक, धार्मिक एवं राजनीतिक पक्षलाई गजबसँग उजागर गरिएको छ  ।
ईश्वरी ज्ञवाली

गुल्मी, धुर्कोटका बासबहादुर जीसीले भुइँमान्छे भएरै जीवन बिताए । जिल्लावासीमाझ उनको यही परिचय कायम छ । माओवादी द्वन्द्वका क्रममा २०५९ सालमा घर जलाइएपछि उनी जीवनको उत्तरार्द्धमा भक्तपुरमा बसाइँ सरे । आफ्नो पुरानो छविलाई उनले यहाँ पनि धर्मराउन दिएनन् ।

सम्झनामा बिनाबर्दीको सिपाही

विसं. १९८० मा जन्मिएका उनी ८५ वर्षसम्म बाँचे । राणा शासनका २७ वर्ष, राजा महेन्द्रले शासनसत्ता हत्याउनुपूर्वका ९ वर्ष, पञ्चायतकालीन ३० वर्ष र प्रजातन्त्र आगमनपश्चात्का १९ वर्षमध्ये अधिकांश समय उनको समाजसेवामै बित्यो ।

राणा शासनका २७ वर्ष भोगिरहँदा जनताको आवाज बोले जिब्रो काटिने, राम्रो सीप देखाए हात काटिने र राष्ट्रको सम्पत्ति शासकको निजी सम्पत्ति हुने अन्धकार युगको उनले अनुभव मात्रै गरेनन्, त्यस युगविरुद्ध आवाज उठाउने साहस पनि गरे । २००४ सालमा राजधानीमा चलेको जयतु संस्कृतम् आन्दोलनबारे उनैले समकक्षीहरू युवराज पन्थी, गुणनिधि पन्थी, गोपालप्रसाद श्रेष्ठ, इन्द्रलाल श्रेष्ठ, चन्द्रकान्त भण्डारी, पं. शोभाकर पन्थीजस्ता व्यक्तिलाई जानकारी दिए । जीसीकै प्रेरणाले उनीहरू राणाविरुद्ध कांग्रेस राजनीतिमा संलग्न भई लडेको इतिहास छ । तर, जीसी भने राजनीतिक पार्टीमा आबद्ध नभईकनै राणाविरुद्ध आवाज उठाइरहे ।

समाजको पिँधमा रहेका, राज्य र अन्य कसैको ध्यान नपुगेका वर्ग–समुदायलाई उनले सरसहयोग मात्रै गरेनन्, आपत्विपत्मा समाजले खोजिरहने जनसाधारण व्यक्तिका रूपमा पनि आफूलाई उभ्याए । उनको निधन भएको १५ वर्षपछि प्रकाशित ‘बासबहादुर जीसी : संस्मरण सङ्गालो’ जीवनयात्रा पढिरहँदा यस्तै अनुभव हुन्छ । उनले बाँचेको समय र उनका योगदानबारे विभिन्न स्रष्टा, पारिवारिक सदस्य गरी ६७ जनाका आलेख यसमा संकलित छन् । तत्कालीन परिवेशको सामाजिक, आर्थिक, धार्मिक एवं राजनीतिक पक्षलाई यी संस्मरणात्मक आलेखमा गजबसँग उजागर गरिएको छ ।

बासबहादुरले आफ्नो परिवार र आफूबारे कोरेका वास्तविकता र केही कल्पनालाई पनि पुस्तकमा स्थान दिइएको छ । उनका देनबारे चर्चा गरिरहँदा समाजमा व्याप्त विकृति र विसंगतिलाई पनि लेखकहरूले मिहीन ढंगले केलाएका छन् । जुन समुदायका लागि उनी दिन–रात खटिएका थिए, तिनै समुदायको प्रतिनिधित्व गर्छु भन्ने बिनाबर्दीको नेपाल आमाको त्यस्तो सिपाहीलाई माओवादीले धुर्कोटबाटै लखेटेको सम्झना पुस्तकमा छ । बासबहादुर जीसीलाई धेरै लेखकले ‘रात दिन भोक, तिर्खा केही नभनी समाज सेवामा खटिने बिनाबर्दीको सिपाही’ को दर्जा पनि दिएका छन् । पश्चिम पर्रोहा माविका प्रधानाध्यापक ईश्वरी घिमिरेले लेखेका छन्, ‘उहाँको सबैभन्दा ठूलो धर्म भनेकै कसैले शरण माग्यो भने शरणको मरण कहिल्यै गर्नुभएन । समाजसेवामा खटिइरहने उहाँलाई बिनाबर्दीको सिपाहीको उपमा दिँदा फरक पर्दैन ।’

पीडा सहने र पीडा दिने व्यक्तिहरूप्रति दयाभाव देखाउने जीसीको अनौठो बानी थियो । गाउँघरका सानातिना समस्यामा मात्र होइन, आफ्नै घर जलाएर उनीप्रति आक्रोश ओकलेको तत्कालीन स्थानीय माओवादी नेतृत्वप्रति उनले देखाएको सहिष्णुता र सहनशीलता काबिले तारिफयोग्य छ । उनले माओवादीलाई बदलाभाव र आक्रोश पोख्नुभन्दा शाब्दिक व्यंग्यवाण हानेका छन् । ‘मर्त्यलोकको अन्तिम रात र माओवादीको कुकृत्यले राजधानी पुगेको म’ यसै संग्रहमा संकलित आलेखमा उनले आफ्नो घर माओवादीले जलाइदिएपछिको निराशालाई सहिष्णुतापूर्वक उल्लेख गरेका छन् । लेखेका छन्, ‘मलाई मेरो भन्दा पनि गोठमा बाँधिएको ब्याउने भैंसीको धेरै माया लाग्यो ।

कतै जिउँदै गर्भवती भैंसीलाई जलाउने हुन् कि ? पछि थाहा पाएँ त्यो गर्भवती भैंसी पनि काटेर खान भ्याएछन् । धन्न तिनीहरूको पेट ! पखाला चलेनछ । ब्याउने भैंसीको श्राप लागेनछ । मैले ती सबैलाई आशीर्वाद दिएँ । ती सबैको घरमा एउटा भैंसी जीवनपर्यन्त रहिरहोस् । गर्भभित्रको पाडीसमेत पचाउन सक्ने बहादुर योद्धाहरूको घरमा सदैव पाडीसहितको लैनो भैंसी अटुट रूपमा रहिरहोस् । तर, कसैको पनि आमाको गर्भभित्रै निद्राबाट नब्युँझिँदै अथवा बाल्यकालमा अनाहकमा, बिनाकारण हत्या नहोस् । नखाएको विष नलागोस् ।’

यसै घटनासँग सम्बन्धित रहेर जीसीका छोरा सहायक रथी कृष्णबहादुरले लेखेका छन्, ‘मेरो बुबा सधैं आजका लागि बाँच्नुभयो र त्यही जीवनदर्शन मलाई सिकाएर जानुभयो ।...कहिल्यै पनि घर जलाउने व्यक्तिहरूको कुरा काटेको वा ती व्यक्तिहरूप्रति पूर्वाग्रही भएको मैले पाइनँ । आफूलाई दुःख दिनेहरूप्रति पनि त्यस्तो सद्भाव राख्न कति ठूलो हृदय चाहिन्छ होला ? मानिस कति क्षमाशील हुनुपर्छ होला ? मैले कल्पना पनि गर्न सक्दिनँ ।’

राजनीतिक दलमा आवद्ध नभईकन पनि सामाजिक काम गर्न सकिन्छ भन्ने एक उदाहरण थिए बासबहादुर । जिल्लाका तम्घास, धुर्कोट बस्तु, भार्से, अर्घारजस्थल र खाँचीकोटजस्ता ठाउँमा हाई स्कुल स्थापनाका निम्ति राजासँग माग गर्न तम्घासमा अघोषित रूपमा धर्ना बस्नेमा उनी पनि एक थिए । आफ्नो निजी सम्पत्ति र आयआर्जन खर्च गरेर समाज सेवा गर्ने कमै हुन्छन् । आफ्नो चौरासी फाँटको खेत बेचेर समाज सेवामा सक्रिय जीसी समाजमा कम बोल्ने, तर तर्कसंगत कुरा राख्नेमा अब्बल रहेको उनीबारेका संस्मरणात्मक आलेखहरूले बोलेका छन् । उनीबारेको संस्मरणात्मक सङ्गालो पढिरहँदा घर परिवारभन्दा सामाजिक उत्तरदायित्वमा जीवन समर्पित गरेका उनले पद, प्रतिष्ठा र सम्मानको कहिल्यै अपेक्षा गरेको देखिन्न ।

जहिले पनि अरूको उपकार र सहयोगमै उनको जीवन र पसिना बगेको देखिन्छ । यो संस्मरणात्मक सङ्गालो जीसीले कल्पना गरेको खुसी, सुखी समाज र परिवार, यसका लागि उनले चालेका प्रयत्नबारेको अभिलेखालय हो भन्दा फरक पर्दैन । तत्कालीन समाज र परिवेशमा जीसीले निर्वाह गरेको भूमिका र भावनात्मक एवं भौतिक रूपमा समाज सेवामा पुर्‍याएको योगदानको पुष्पगुच्छा पनि हो ।

प्रकाशित : मंसिर २३, २०८० १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?