२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

एक शताब्दीका साक्षी 

गुणदेव भट्टराईलाई इतिहासकार, प्राध्यापक मात्रै सम्बोधन गर्नु न्याय हुँदैन । उनी तत्कालीन शिक्षा जगत्,इतिहासका एक अगुवा हुन् ।
जयदेव भट्टराई

दिन गन्ती गर्ने हो भने आजैको दिन १०१ वर्षमा टेक्नुहुन्थ्यो उहाँ । ८६ वर्षको उमेरसम्ममा मुस्किलले पाँच–सात वर्षबाहेक जीवन अध्यापनमै, कलम चलाएरै बित्यो । लेखन–अध्यापन, अध्ययन–लेखन उहाँको व्यक्तित्वको विशिष्ट पहिचान । काठमाडौं बटु गुच्चा टोलमा, ललितपुर कोपुन्डोलमा मास्टर बाजे, उच्चे बाजे, गुणदेव सर भनेर जसले जसरी चिने पनि शिक्षा क्षेत्रमा उहाँ गुणदेव भट्टराई भनेरै चिनिनुभयो ।

एक शताब्दीका साक्षी 

त्यही व्यक्तित्वलाई पहिले मैले बुबा भनेर चिनें र अलि पछि मात्रै उहाँका व्यक्तित्वका अनेक पाटालाई । घरैमा ट्युसन पढेको, त्रिचन्द्र क्याम्पसमा उहाँकै विद्यार्थी बनेर इतिहास पढेको गौरवपूर्ण इतिहासको साक्षी छु म ।

बटु गुच्चा टोलमा उहाँको कोठाबाहिर थुप्रिएका जुत्ता–चप्पल देखेर मान्छेहरू अभिप्रेरित हुन्थे रे, पढ्न आउनेहरूको भीडमा मिसिन्थे । डाक्टर, नेता, प्राध्यापक, साहित्यकार, राजदूत आदि त कति भए भए उहाँका चेला । उहाँकै विद्यार्थी ऐश्वर्य राज्यलक्ष्मी पछि देशको बडामहारानीसमेत बन्नुभयो । बटु टुँडिखेल आउजाउ गर्दा देख्नेहरूले उहाँलाई औंल्याउँदै भन्थे रे– गुणदेव बाजेजस्तो हुनुपर्छ जीवनमा ।

कतिपयका लागि रोलमोडल पनि । हुन पनि त्यस्तै हुनुहुन्थ्यो उहाँ, देश–विदेशका इतिहासका कुरा–घटना फरर भनिदिँदा सुन्नेहरू मक्ख पर्थे, सोध्न आउनेहरू पनि त्यत्तिकै हुन्थे । बरालिएर हिँडेकालाई हात समाएर घरमै लगेर पढाएकाहरू पनि अझै गुन सम्झन्छन् । एउटा समारोहमा शिक्षासेवी लक्ष्मण राजवंशीले भन्नुभएको थियो, ‘टोल टोलमा खेल्दै हिँड्ने मलाई गुणदेव सरले हप्काउँदै ल हिँड पढ्न भन्दै लगेर पढाएको हो ।’

यो एउटा उदाहरण मात्रै हो । कोपुन्डोल सरेको पाँच दशकसम्म पनि यो क्रम रोकिएन । बरु थपिँदै गए खेलकुदका कुरा, चलचित्रका कुरा, समसामयिक राजनीतिका कुरा । खेलकुदका सौखिन उहाँ फुटबल हेर्न टुँडिखेल, रंगशाला मात्रै होइन, कहिले भैरहवा, कहिले वीरगन्ज पनि पुग्नुहुन्थ्यो । घोडा दौड हेर्न कलकत्ता पुगेको घटना नै एकमात्र विदेश यात्राको देश बनिदियो भारत । टुँडिखेलमा बसेर बदाम खाँदै क्रिकेट हेर्नु त दिनचर्याजस्तै । साथमा हुन्थे त्रिचन्द्रका डा. सौभाग्यजंग कार्की, डा. राजेश गौतम, वसन्तलाल श्रेष्ठ, वसन्त गौतम, विमल शर्मा आदि ।

वासुदेव भट्टराई अर्का विद्वान्, इतिहास र साहित्यका नाम कहलिएका व्यक्तित्व, राणा परिवारलाई पनि सात सालअघि हप्काउन सक्ने दरबार हाईस्कुलका प्रभावशाली शिक्षक । उनै वासुदेव र भुवनेश्वरी भट्टराईका चार छोरामध्ये कान्छो छोराका रूपमा जन्मिनुभयो गुणदेव भट्टराई बटुमा विसं १९८० मंसिर १६ गते । दाजु केशवदेव पनि गणितका नामुद प्राध्यापक, अर्का दाजुहरू तारादेव, नन्ददेव प्रशासनमा नाम कमाएका ।

बुबा, दाजुकै मार्ग पछ्याएर आफैंले पढेको दरबार हाईस्कुलमा विसं २००३ मा टेकिएका पाइला २२ वर्षसम्म त्यही अडिए आदर्श शिक्षक बनेर । अझै टिक्थे होलान् पाइला, तर आफ्नै साथीको हाकिमी रवाफ असह्य भएपछि बिदा लिएर एमए गर्न अघि सर्नुभयो । स्नातक भएको १७ वर्षपछि इतिहासमा एमए गरेर लोकसेवामा पहिलो नम्बरमा नाम निकालेर २०२४ सालमा त्रिचन्द्रको ढोका खुल्यो उहाँका लागि । इख, दम्भ त्यही एकपटक देखिएको हो रे उहाँको । आफैंले पढाएको विद्यार्थी डा. साफल्य अमात्यसँगै जाँच दिएर एमए पास हुनुभयो, आफैंले पढाएकाहरू अघि जाँदा पनि उहाँ कलेजमै अडिनुभयो । पठनपाठनको क्षेत्र नै उहाँका लागि प्रिय बन्यो ।

विसं २००३ मा तर्कशास्त्र र इतिहासमा स्नातक भएपछि दरबार स्कुलको जागिरे शिक्षक हुनुभयो । त्यही अवधिमा लेख्नुभयो– भारतको इतिहास, इंग्ल्यान्डको इतिहास, ब्रिटिस भारतको इतिहास, भारत वर्षको इतिहास (बैकुण्ठलाल श्रेष्ठसँग मिलेर लेखेको) नेपालको इतिहास, अंकगणित, बीजगणितका अनेकौं पुस्तक गरी २७ वटा कृति प्रकाशमा आए, त्रिचन्द्र पुगेपछि फुटकर लेखन मात्रै भए, ‘द राइजिङ नेपाल’ मा ‘ए पेज फ्रम हिस्ट्री’ स्तम्भ, साहित्यकार, शिक्षासेवीका जीवनी–संस्मरण पनि लेख्नुभयो । आफ्नै लेखन पछि कम भए पनि कैयौं इतिहासका कृति लेखनमा उहाँले साथ सहयोग गरेको सम्झनेहरू पनि छन्, उल्लेख पनि गरेका छन् ।

त्रिचन्द्र कलेज होस्, चाहे दरबार हाईस्कुल, जहाँ अध्यापन गर्दा पनि समय र अनुशासनमा उहाँ पक्का । आँखा चिम्लेर विद्यार्थीसँगैको डेस्कमा बसेर धारा प्रवाह पढाउनुहुन्थ्यो । नोट लेखाउने कुरा धेरै कम मात्र । अलि उरेन्ठेउला विद्यार्थीले ठट्टा मजाक गर्न लाग्दा वा थाहा पाए पनि थाहा नपाएजस्तो गरी त्यस्ता विद्यार्थीलाई उपेक्षा गरेको आफू स्वयं उहाँको विद्यार्थी बनेर त्रिचन्द्रमा पढ्दा देखेको हुँ, अनुभूत गरेको हुँ । त्यतिबेला विद्यार्थीलाई पिट्ने, सजाय दिने समयमा पनि दरबार हाईस्कुलमा उहाँले पढाउँदाको बखत कसैलाई हात हालेको कसैले देखेनन् । न त कसैले उहाँको हातबाट पिटाइ खाएको अनुभव नै गर्नुपर्‍यो । अध्यापनका क्रममा केही दिन ग्यालेक्सीमा दस जोड दुईका विद्यार्थीलाई पनि पढाउनुभयो । स्वभावले सरल र सहज भए पनि अनुशासनमा अलि कडा स्वभावको उहाँ विद्यार्थी अनुशासित नदेखेपछि उहाँलाई कलेजमा पढाउन आग्रह गर्ने विमल शर्मा सरलाई नै भनेर जान छोड्नुभयो ।

इतिहास उहाँको मुख्य विषय । पढाउनेचाहिँ जुनसुकै विषय पनि । अंग्रेजी, भूगोल जुनसुकै विषयमा पनि पढाउन सक्ने उहाँ इतिहास विषयको लेखनमा पनि शुद्ध लेखन चाहनुहुन्थ्यो । ठिक्कको कद, गोरो अनुहार, रातो तेर्सो परेको टीका लगाएर प्रायः दौरा सुरुवालमा हिँड्ने उहाँको बाहिरी व्यक्तित्व । सरल र जुनसुकै उमेरकासँग पनि घुलमिल गर्न सक्ने, जानेका कुरा अरूलाई बाँड्न र पढ्न प्रेरित गर्ने स्वभावले पनि होला धेरैका प्रिय हुनुहुन्थ्यो र त्यत्तिकै आदरणीय पनि । यिनै व्यक्तिको जीवन बित्यो पढाउनमै ।

चाहेको भए प्रशासनिक उच्च पद पाउने ल्याकत र हैसियत पनि, तर यतातिर कहिल्यै ध्यान नै गएन । त्रिचन्द्रमा जागिर अवधि थप्न उहाँले नै पढाएको तत्कालीन बडामहारानी ऐश्वर्यलाई निवेदन लेख्न धेरै प्राध्यापकले आग्रह गर्दा पनि मान्नुभएन बरु भनिदिनुभयो– त्यसरी निवेदन लेखीलेखी जागिर खानु छैन मलाई । पुरस्कार, सम्मानका प्रसंगमा पनि उस्तै धारणा थियो उहाँको । पत्रकार एवं लेखक गोकर्ण अर्यालले यही कुरालाई लेख्नुभएको छ– एक त म यस्ता कुरामा (पद, पुरस्कार) विश्वास नै गर्दिनँ । मलाई प्रचारमा आउन मन पनि पर्दैन । यो भनेको चाकडी गरेर पाइने कुरा हो, म त्यसको पछाडि लागेर हिँड्ने व्यक्ति होइन । यदि पाउने नै आशा राखेर हिँडेको भए म बडामहारानी सरकारलाई भनेर लिन सक्थें, त्यसैले त्यो भन्दा पनि भनिनँ । मैले उहाँलाई पढाएकाले अहिले पनि उहाँ मलाई गुरुका रूपमा आदर गरिबक्सिन्छ । उहाँद्वारा आयोजना गरिने कार्यक्रमहरूमा अहिले पनि निमन्त्रणा पठाइबक्सिन्छ । कतिपय समयमा क्याम्पसबाट समेत पुरस्कारका लागि मेरो नाम सिफारिस गर्न लाग्दा म आफ्नो नाम हटाउन लगाउँथें । (एक सय एक व्यक्तित्व, २०६५)

अप्रिय थिए उहाँका लागि लोभ र झूट । प्रचार र आत्मप्रशंसा पटक्कै नरुचाउने । स्वभावले नै होला पाँच दशकको अध्यापन, २७ वटा पाठ्यपुस्तकका लेखक, हुनेखाने परिवारमा जन्मिएर पनि उहाँको जीवन साधारण अवस्थामै बित्यो । गुणदेव भट्टराईलाई इतिहासकार, प्राध्यापक मात्रै सम्बोधन गर्नु उहाँप्रति न्याय हुँदैन, उहाँलाई नेपाली शिक्षा जगत्को, इतिहासको, तत्कालीन समयको साक्षी, उदाहरणीय र सम्मानयोग्य व्यक्तिका रूपमा हेरिनुपर्छ भन्नेहरू पनि छन् । झन्डै सात दशकसम्म सँगै यात्रा गरेकी उहाँकी जीवनसंगिनी, जसलाई मैले बुबाको सारथि भनेर पनि चिनें, आमा भनेर सम्बोधन गरें । उहाँसँगको सहयात्रा कहिल्यै टुटेन, सधैं सँगै हिँड्न रुचाउने । संयोग पनि कस्तो भने जीवनसंगिनी बनु भट्टराईको देहावसान भएको (२०६४ माघ १६) सात महिना पनि नबित्दै उहाँ पनि जानुभयो २०६५ भदौ ११ गते । उहाँहरूका लागि त संयोग भयो, हामी परिवारका लागि वियोग ।

इतिहासका, शिक्षा क्षेत्रका लागि एक शताब्दी समयका साक्षीको अवसान पक्कै पनि दुःखद भयो होला । समयलाई सधैं सम्मान गरेर आफ्नो पेसाप्रति इमानदार प्रतिबद्ध भएर लाग्नु नै उहाँको अर्को विशेषता । ठीक समयमा समयले नचिने पनि समयलाई चिनेर आफ्नो समयमा उहाँले दिएको योगदान अझै पनि सम्झिरहेका छौं हामी, उहाँसँगका स्मृतिहरू साँचेर ।

प्रकाशित : मंसिर १६, २०८० १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?