९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

ईश्वरको छोरो, मान्छेको भाइ

यहाँ पाइलापाइलामा स्वर्गको आभास छ । तर, यो ‘स्वर्ग’ दलितको होइन । ‘ मान्छे ’ का मन्दिरहरूमा ‘मान्छेको भाइ’ ले बस्ने कोठा पाउँदैन ।
मनकुमार रहपाल

०७१ साल । स्नातक प्रथम वर्ष अध्ययनरत सुकुनाको क्याम्पस हापेर म कोठा खोज्दै छु । धेरै घर चहार्छु । सुकुना बहुमुखी क्याम्पसको हरैंचा मोडमा अवस्थित स्वागतद्वार समीपै गएर सोध्दा कोठा खाली भएको सूचनाले ढाडबाट एउटा पहाड बिसाएको महसुस हुन्छ ।

ईश्वरको छोरो, मान्छेको भाइ

कोठा पाएको हर्षमा घरमालिकसँग कुराकानी हुँदा एक जुग बितेको हेक्का हुँदैन । कोठामा बस्न पूर्वसर्त छन्— एक जना मात्रै बस्नुपर्ने, होहल्ला गर्न नपाइने, साँझ छिट्टै गृहप्रवेश गरिसकेको हुनुपर्ने, आदि–इत्यादि ।

त्यसपछि अवलोकनका लागि कोठाको ढोका खुल्छ । कोठातिर आँखा लगाउँदा बस्नलायक लाग्छ । घाम उदाउने दिशामा झ्याल छ । झ्यालनजिकै सुपारीका बोटहरू छन् । पूर्वपश्चिम लोकमार्ग छेवैको कोठा अवलोकनपछि बाहिर निस्कन्छु । घरबेटी दम्पती खुसुरफुसुर गरिरहेका छन् । भरे झिन्टीझ्याम्टा बोकेर आउँछु भनेर म बाटो तताउँछु ।

सूर्य पश्चिमी आकाशमा ढल्दै गरेको मिर्मिरे साँझमा झिटीझ्याम्टा बोकेर हटियाबाट आउने बाटाको डेराको घरमा हाजिर भएको छु । गृहस्वामी इन्द्रप्रसाद खतिवडा बाहिरी द्वारको एकातर्फ बेन्चमा विराजमान छन् । म आफूले ल्याएका सामग्री एकएक गर्दै कोठामा भित्र्याउन थाल्छु । केही समय घरबेटी मेरो ओहोरदोहोर नियाल्छन् ।

कोठाबाट बाहिरिएको एक बखतमा घरबेटी कुरा कोट्याउँछन्, ‘बिहान त केही नसोधी कोठा भाडामा दिने निर्णय गरिहालें । घर ताप्लेजुङ ढुंगेसाँघु भन्नुभएको होइन ? सुकुनामा पढ्ने भन्नुभयो । तर भाइ, के थरी नि ?’

‘रहपाल ।’ घरपतिको स्वर उत्सुकताको वृत्तमा नाच्न थाल्छ, ‘यस्तो थर त मैले कहिल्यै सुनेको थिइनँ । रहपाल रे ? यो भनेको के हो ?’

म सहज भएर भन्छु, ‘विश्वकर्मा ।’ वातावरणमा एकछिन सन्नाटा छाउँछ । घरमालिक मेरो शब्दवाणले घायल हुन्छन् । मुर्मुरिएको चर्को आवाजमा एक्कासि घोषणा गर्छन्— ‘कोठा छैन, भाइ !’ म उनलाई सचेत गराउँछु— ‘बिहान मात्रै पक्का गरेको होइन र ?’ उनी भन्छन्, ‘त्यो कोठामा अर्कै मान्छे आउने भो, भाइ ।’ उनी पाँच सय रुपैयाँ मलाई दिन्छन्, जुन मैले बिहान बैनास्वरूप उनलाई दिएर गएको थिएँ । म सरासर कोठामा प्रवेश गरेर झिटिझ्याम्टा उठाएर ठूलोबुवाको घरतर्फ लाग्छु । एकएक गर्दै सरसामान निकाल्न थाल्छु । मैले बुझें– एक अछूत ईश्वरको छोरो हुन सक्छ, मान्छेको भाइ पनि हुन सक्छ, तर पनि ‘मान्छे’ हुन सक्दैन । के म मान्छे होइन ?

विश्वकर्मा ‘भाइ’ बस्न नमिल्ने, ‘अर्कै मान्छे’ मात्रै बस्न मिल्ने कोठाबाट मलाई नछोएरै घोक्रेठ्याक लगाइएको छ । गायक रत्नदास प्रकाशको स्वरमा सुसज्जित एक गीत छ : भाइ कसरी अछूत कहिन्छ ? ऊ पनि बोल्छ, ऊ पनि बुझ्छ, उसमा पनि त लाल रगत छ । अरूझैं उसको ईश्वर पनि छ, भाइ कसरी अछूत कहिन्छ ? उही पृथ्वीको दलानमा, जाडो गर्मीको वर्षात्मा । सुख–दुःखका उही गीत गुनी, एउटै आकाशको छानामुनि ऊ पनि बाँच्छ, ऊ पनि मर्छ, भाइ कसरी अछूत कहिन्छ ?

उपरोक्त गीतमा उल्लेखनीय हरफ छ— ‘भाइ कसरी अछूत कहिन्छ ?’ वास्तवमा हुनुपर्ने यस्तो होइन र— ‘मान्छे कसरी अछूत कहिन्छ ?’ जात व्यवस्थामा एक अछूत मान्छेभन्दा पहिले मान्छेको भाइ हुँदोरहेछ । गीतमा अभिव्यक्त अर्को हरफ ‘अरूझैं उसको ईश्वर पनि छ’ ले भारतीय सन्तहरूमाथि अम्बेडकरको भनाइस्मरण गराउँछ— ‘उनीहरू मनुष्य र ईश्वरको सम्बन्धलाई लिएर चिन्तित थिए । उनीहरूले के शिक्षा पाएनन् भने सबै मनुष्य बराबर हुन् ।’

जात व्यवस्थामा एउटा दलित गैरदलितको भाइ हुन सक्छ, तर ‘मान्छे’ हुन सक्दैन । यो देश ‘मन्दिरहरूको सहरको देश’ त्यसै भएको छैन । जहाँ ढुंगाढुंगामा देवताको बास छ, जहाँ पाइलापाइलामा स्वर्गको आभास छ । तर यो स्वर्ग दलितको भने होइन । यो देशका ‘मान्छे’ का मन्दिरहरूमा ‘मान्छेको भाइ’ ले बस्ने कोठा पाउँदैन ।

म स्नातकोत्तर अध्ययन गर्न ‘मन्दिरहरूको सहर’ आइपुगेको छु । २०७५ साल भदौमा सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचा विराटचोक मोरङका एक शिक्षक बालकुमार कालाखेती दर्शनाचार्य अध्ययन गर्न त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आएका छन् । संगम दाजुले मलाई सुसूचित गर्छन्— ‘सरलाई कोठा चाहिएको छ । तिम्रो कोठा ठूलो पनि छ । तिमी एक्लै बसेका पनि छौ । रुम शेयर गरेर बस्दा कसो होला ?’

मैले खुसी व्यक्त गर्छु— ‘अहो किन नमिल्नु ?’

संगम दाइ ‘मान्छेको भाइ’ मलाई ‘मान्छे’ बालकुमार सरसँग भेटघाट गराउँछन् । ‘मान्छे’ को खुलदुली छ— ‘कोठा कस्तो छ ? कत्रो छ ? भोलि कोठा हेर्न आउँदा हुन्छ ?’ ‘मान्छेको भाइ’ सहमति जनाउँछ । अर्को दिन ‘मान्छेको भाइ’ लाई ‘मान्छे’ को फोन आउँछ । मान्छेको भाइले मान्छे कोठामा आउँदै गरेको जानकारी पाउँछ । करिब पाँच–दस मिनेटपछि मान्छेको भाइले मान्छेलाई कोठामा ल्याउँछ, सरको साथमा एकजना म्याडम पनि आएकी छन् । लोग्नेमान्छे र स्वास्नीमान्छे मान्छे भाइलाई स्वर मिलाईकन भन्छन्— ‘कोठा राम्रो रहेछ, फराकिलो, बेलुकीसम्म नै घाम प्रवेश गर्ने । दुई जना मज्जैले बस्न मिल्छ । भाडा पो कति छ ? बिजुलीपानीको व्यवस्था कस्तो छ ? होहल्ला पो हुन्छ कि ?’ मान्छेभाइ मान्छेको जिज्ञासा शान्त गराउँछ । धेरै कुरा आदानप्रदानपछि मान्छे प्रश्न गर्छ— ‘भाइ, के थरी ?’

मान्छेभाइ जवाफ फर्काउँछ— ‘रहपाल ।’

मान्छे जान्नलाई उत्सुक हुन्छ— ‘रहपाल भनेको के हो ?’

मान्छेभाइ— ‘विश्वकर्मा ।’ मान्छेहरूको एकछिनसम्म बोली फुट्दैन ।

केहीबेरको सन्नाटालाई पाखा लगाउँदै लोग्नेमान्छे स्वास्नीमान्छेतर्फ फर्कन्छ— ‘यति सानो कोठामा दुई जना बस्न अलि नसकिएला कि ?’ स्वास्नीमान्छे हो–मा–हो मिलाउँछिन्— ‘यति सानो कोठामा दुई जना बस्नु अलि गाह्रो नै हुन्छ । पानी पनि त्यति छैन भन्नुभयो ।’ मान्छेहरू ‘अर्को कोठा खोज्छौं’ भन्दै कोठाबाट बाहिरिन्छन् ।

प्रकाशित : मंसिर १६, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?