१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

फ्ल्यासब्याकमा मीतज्यू नाइट 

नारायणगोपालमाथि उनका समकालीनका स्मृति निकै रोचक छन् । नारायणगोपालको ३३ औं स्मृति दिवसमा एक कविले दार्जिलिङमा भएको सांगीतिक कार्यक्रमका पुराना दिन सम्झेका छन् :
कलाकार अभागी हुन्छ । जाडोले कक्रिएकालाई तताउन खोज्छ, तर आफैं सल्किएको हुन्छ ।
मनप्रसाद सुब्बा

ई.१९७१ । महिना बिर्सें । कालेबुङमा थिएँ डेढ महिनाका निम्ति, गाईको कृत्रिम प्रजनन प्रशिक्षणमा एक प्रशिक्षार्थी म । सुनें एक दिन– ‘मीतज्यू नाइट’ सांगीतिक कार्यक्रम हुँदै छ अरे, नारायणगोपाल र गोपाल योञ्जनको । 

फ्ल्यासब्याकमा मीतज्यू नाइट 

आफू सातौं–आठौं कक्षामा पढ्दादेखि नै नारायणगोपालको स्वरसँग परिचित । कुखुरे बैंस पार गर्ने बेलासम्म त नारायणगोपाल मेरा आइडोल नै भइसकेका । यस्तै समय आफ्नो आइडोल काठमाडौंबाट दार्जिलिङ हुँदै कालेबुङ आइपुगेका छन् भन्ने थाहा पाएपछि जसरी भए पनि उनलाई हेर्ने–सुन्ने अठोटबाट उनको त्यो एक अल्लारे फ्यानलाई कसले रोक्ने ?

कुमुदिनी होम्स स्कुलको प्रेक्षालयमा आयोजित थियो मीतज्यू नाइट । साँझमा आफू पुग्दा मानिसहरूको खचाखच थियो टिकट काउन्टर अघिल्तिर । बल्लतल्ल एउटा टिकेट फेला पारें थर्ड क्लासको । त्यसभन्दा अघिल्लो श्रेणीको टिकट लिन सक्ने ल्याकत थिएन आफूसँग त्यसबेला । हल टम्माटम्मी भरिएको । अलिक अग्लो उठाइएको प्लेटफर्मजस्तो थर्ड क्लासमा त बस्ने सिट नै छैन रहेछ । सबले उभिएरै हेर्नुपर्ने । अग्लाहरूले छेल्ने हामी होचाहरूलाई । तर, अग्लाहरूको काखीमुनिबाट छिर्दैछिर्दै अघिल्तिर केहीले नछेलिने गरी उभिन पुगेको थिएँ म ।

मञ्चको मूल पर्दा दुईतिर फारिएर खुलेपछि देखिए विविध वाद्यसाजहरू विशेष–विशेष ठाउँमा राखिएका (मञ्चमाझ एक जोडी हार्मोनियम अनि दुईतर्फ दुक्की–तबला, मादल, कोङ्गो, गितार, भ्वाइलिनहरू, बाँसुरी इत्यादि) । मञ्चको देब्रे छेउमा माइक्रोफोनसहितको पोडियममा शरीरको माथिल्लो भाग मात्रै देखिने गरी उभिएका एक व्यक्ति– दौरामाथि कोट अनि शिरमा ढाका टोपी । हलुको मुस्कानले उज्यालिएका ह्यान्डसम उद्घोषक । हल चकमन्न । बढो आकर्षक शैलीमा उद्घोषकले आफू नगेन्द्र थापा भनेर

चिनाए । मीतज्यू नाइट सांगीतिक कार्यक्रमको छोटो परिचयात्मक टिप्पणी राखेपछि मञ्चमा एकएक गर्दै वाद्यवादकको परिचय अनि अभिवादनमा दुवै हात उचाल्दै वादक आफ्नो साज भए ठाउँमा गई बसे । वादकहरू, सहगायक–गायिकाहरू सबै एकएक गर्दै मञ्चमा प्रवेश भइसकेपछि मञ्च प्राणवत् देखियो ।

एक जोडी हार्मोनियम भएका ठाउँ तर अझ खाली थियो । अनि उद्घोषक थापाको मुखबाट संगीतजस्तै शब्द–शृंखला लहरिँदै आउँछ त्यो गरिमामय नाम– गोपाल योञ्जन । नेपथ्यबाटै नमस्तेमा दुवै हात अग्लो उचालेर आउँछन् गोपाल योञ्जन । त्यसबेलाको फ्यासनेबल सुट–टाईमा ह्यान्डसम, हँसिलो, सानो कदको, जसको मोहनीमय संगीत–तरंगले सारा नेपाली संगीत–श्रोताहरू लट्ठ परिसकेका थिए अघिबाटै । उनी एउटा हार्मोनियम पक्रेर बसेपछि अब सुनिरहुँ लाग्ने उद्घोषणको तरंगले ल्याउँछ त्यो दीर्घ प्रतीक्षित नाम– नारायणगोपाल । खाइलाग्दो ज्यानको नारायणगोपाल दुई हात उचाल्दै मञ्चमा देखा पर्दा लामो करतल ध्वनि र थर्ड क्लासबाट सुइसुइ सिटी पनि । अनि मैले साक्षात् देख्न पाएको मेरा आइडोल, सुट–टाईमै प्रस्तुत, नारायणगोपाल बसे त्यो अधीरतापूर्वक प्रतीक्षारत हार्मोनियम समातेर ।

ती दुइटै हार्मोनियमको संयुक्त स्वरतरंग बिस्तारै तरंगिन थालेको थियो... दुक्की–तबलाको धा..धिन..तार–वाद्यहरूको आ–आफ्नै झंकारिँदो आवाज । अनि तीसँगै लहरिँदै आइरहेको थियो मक्ख पारिरहने थापाको नौलो निजी शैलीको उद्घोषकीय शब्दलहर यसरी, ‘कलाकार साह्रै संवेदनशील हुन्छ र साह्रै अभागी पनि... सबलाई रिझाउन खोज्दा पसलमा बेचिन्छ ऊ... अनि गाउँछ– मेरा कोही भएनन्, सबैको म भएछु... भत्केको गोरेटोमा लाखौं अभागी हिँडेको देख्छ ऊ र ती सबैलाई बाटो दिँदा ऊ आफैं पो टेकिइन्छ... जाडोले कक्रिएका सबलाई तताउन खोज्छ तर ऊ आफैं पो सल्किएको हुन्छ .... ।’

यसरी, अनि संगीत बजिरहेकै अवस्थामा कार्यक्रमको प्रारम्भिक गीतको मनमुग्धकारी भूमिका सुस्तरी मधुरिँदै गइरहेको । संगीतको आवाज उठ्दै अझ उठ्दै हाम्रो संवेदना सुमसुम्याइरहेको । अनि त्यसपछि यता नारायणगोपालको आवाज गुन्जिन थालेको हुन्छ– सबलाई रिझाऊँ भन्दा पसलमा बेचिएछु... । बीचबीचमा नारी स्वरहरूको हमिङ । यो उद्घाटन गीतले नै समग्र श्रोताहरू मन्त्रमुग्ध ।

यसपछि नारायणगोपालले त्यही बसाइमा अरू तीन वटा जति गाए– तिम्रोजस्तो मुटु मेरो पनि, बिर्सेर फेरि मलाई नहेर... । उनलाई विश्राम दिन आए गायक कुमार सुब्बा, दावा ग्याल्मो आदि । नवोदित गायिका दावा ग्याल्मोको परिचय दिँदै गोपाल योञ्जनले भने, ‘दावा ग्याल्मोलाई हामीले नयाँ नाम दिएका छौं– उपमा योञ्जन । र, अब गाउँछिन् उपमा योञ्जनले... ।’

यताको सांगीतिक भ्रमण सकेर मीतज्यू नाइट काठमाडौं फर्केपछि उपमा योञ्जन फेरि दावा ग्याल्मोमै फर्केर आइन् । उद्घोषकले फेरि नारायणगोपालको नाम उच्चारण गरे– कुनै एउटा गीतका दुई–तीन पंक्तिसहित । नारायणगोपाल फेरि मञ्चमा आए, अघिकै आफ्नो ठाउँमा बसे, हार्मोनियम समाते अनि उद्घोषणमा भनिएको गीत होइन, तर उनले गाए– गल्ती हजार हुन्छ यहाँ होस हराएको बेला, एक्लै तिमी नआऊ म मातिएको बेला... ।

त्यो गीत सकिनासाथ उद्घोषकको आवाज, ‘यस्तै हुन्छ मातिएको बेला । के गर्न खोज्दा के गरिन्छ होस हुँदैन ।’ श्रोताहरूको मुखमा हल्का मुस्कान खेल्छ ।

सायद बीचको अन्तरालमा ग्रीन रुममा गायक ‘म मातिएको बेला...’ मा पुगिसकेका थिए । गोपाल योञ्जन प्लस नारायणगोपालको अपूर्व जोडीका सांगीतिक सिर्जनाहरू दस–बाह्र वटा अरू सुन्न पाएर त्यो साँझ साइकेडेलिक भइराखेको थियो । गायन कार्यक्रमलाई माझमा विश्राम दिँदै उद्घोषक बोल्छन्, ‘अब आउनुहुन्छ चतुर्भुज आशावादी । उहाँ चट्टानजस्तो शरीर लिएर फूलजस्तो नाच्नु हुन्छ ।’

नर्तकको लहंगामा साँच्चै विराट भारी शरीर उभिएको हुन्छ मञ्चमा– चतुर्भुज आशावादी । तर, नाच उनको साँच्चै फूलको थुँगा उफ्रिएजस्तो । मीतज्यू नाइटको प्रस्तुति शिल्प, नगेन्द्र थापाको उद्घोषण कला– यी कुरा दार्जिलिङ–कालेबुङ पहाडमा त्यसबेला साह्रै रमाइलो किसिमको नौलो लागेको थियो हामीलाई ।

मीतज्यू नाइट पहिलोपल्ट सायद काठमाडौंमा भएको थियो । दोस्रो प्रस्तुति दार्जिलिङमा भएपछि तेस्रोचाहिँ कालेबुङमा । दन्त्य कथाजस्तै सुन्छौं अझै कि एक साँझ दार्जिलिङको महाकाल डाँडा मन्दिरमा, बाहिर मकलमा आगो ताप्दै, कवि ईश्वरवल्लभले गोपाल योञ्जन र नारायणगोपाललाई मितेरी साइनोको वाचाबन्धनमा बाँधिदिएका थिए । नगेन्द्र थापा त्यस ऐतिहासिक क्षणका साक्षी थिए जो केहीपछि मीतज्यू नाइट सांगीतिक प्रस्तुतिका अभियन्ता बने । नेपाली संगीत जगत्का यी दुई अतीव प्रज्वल प्रतिभाको सिर्जनशील संयुक्ति समग्र नेपाली संगीतमै एक अविस्मरणीय सुखद घटना थियो । यस्तो लाग्थ्यो कि गोपाल योञ्जनको अनन्य संगीत–सिर्जनले पूर्णता प्राप्त गरिरहेको थियो नारायणगोपालको अद्वितीय कण्ठमा । अर्थात् नारायणगोपालको प्रभावशाली कण्ठनादले पूर्णता पाइरहेको थियो गोपाल योञ्जनको अनुपम संगीत–रचनामा । दीर्घकालसम्म प्रभाव पारिरहने कालजयी गीति कृतिहरू रेकर्ड भए दुई अभूतपूर्व प्रतिभाहरूको संयोजनबाट । नेपाली गीत–संगीतमा विशेष चासो राख्नेहरूको टिप्पणी सुन्न पाइन्थ्यो १. नारायणगोपालको गायनले नै गोपाल योञ्जनको संगीत रचनालाई उँभो उचालेको हो २. गोपाल योञ्जनको संगीत सिर्जनले नै नारायणगोपाललाई माथि उठाएको हो ।

अनि केही वर्षपछि त्यो मीत जोडीको संयुक्त सिर्जन कार्य नदीको दुई भँगालो भई छुट्टियो । नारायणगोपालले स्वरचित तथा अरू संगीतकारका रचनाहरू गाउँदै तर कत्ति पनि नखस्की उँभै उठिरहे भने गोपाल योञ्जनले पनि आफ्ना रचनाहरू अरू गायक–गायिकालाई गाउन दिएर तर चर्चाको चुचुरो उक्लिरहे । नारायणगोपालले जसजसका संगीतलाई आफ्नो स्वरमाधुर्य दिए ती संगीतकार विशेष चर्चामा चिनिए । उता गोपाल योञ्जनले जसजसलाई आफ्नो रचना गाउन दिए ती गायक–गायिकाहरूको निमित्त तिनै गीत नै उनीहरूका परिचय बने । यसरी अघिका जोडी अब एक्लाएक्लै आ–आफ्नै उज्ज्वल आलोकमा उत्तिकै प्रदीप्त भइरहे । त्यसो त, गोपाल योञ्जनसित भेट हुनुभन्दा पहिल्यै आफ्नै आकर्षक संगीत रचनाहरू रेडियो नेपालमा गाएर विशिष्ट गायन कौशल चिनाइसकेका थिए नारायणगोपालले ।

मीत जोडी छुट्टिएपछि पनि उनीहरूलाई कतिपय चलचित्रका निम्ति भने सहकार्य गर्न आवश्यक परेको थियो । ‘कान्छी’ फिल्मका निम्ति अरुणा लामासँग गाए युगल गीत– ‘हिमालसरि म अग्लिरहेछु...’ अनि ‘छोरीको जन्म हारेको कर्म... ।’ एकल गीत गोपाल योञ्जनको संगीत निर्देशनमा । अघिल्लो गीत नेपाली संगीतमा एक उपल्लो तहको युगल गीत हो भने पछिल्लो गीतको प्रसंगमा भने एउटा किस्सा नै छ : निकै जटिल किसिमको यो गीतको स्वरलिपि पठाइदिएछन् गोपाल योञ्जनले नारायणगोपाललाई । एकैपल्ट पनि रिहर्सल गर्न नगएका गायक एकैचोटि रेकर्डिङ गर्ने दिनमा स्टुडियो पुगेछन् ।

‘एकपल्ट रिहर्सल गर्नुपर्ला कि मीतज्यू,’ सुझाव विनम्र संगीतकारको । ‘पर्दैन । रेकर्ड गरौं न सोझै,’ उत्तर, ती स्वाभिमानी र हठी गायकको, अडिग आत्मविश्वाससाथ । अन्तिम सुर रेकर्डिङ भइसकेपछि गोपाल योञ्जन अवाक बनेका थिए मीतज्यूले स्वरलिपिकै भरमा त्यस्तो अविजेय गायन कौशल प्रदर्शन गरेको देखेर । त्यसरी भएको थियो अरे त्यस गीतको रेकर्डिङ । (यो त्यसकालको कुरा हो, जुन समय रेकर्डिङ प्रविधिमा आजको जस्तो मल्टी–ट्र्याक सिस्टम आएको थिएन । मञ्चमा समग्र वाद्यवादकहरूसहित लाइभ प्रोग्राम प्रस्तुत गरेजस्तो हुन्थ्यो रेकर्डिङ ।) यस सन्दर्भमा नारायणगोपालको त्यो रेकर्डिङ पनि दन्त्यकथा नै छ एक । ‘बदलिँदो आकाश’ फिल्मको गीत ‘जन्मिनुपर्छ हरेक मानिस लिएर नौलो आस...’ नै गोपाल योञ्जन प्लस नारायणगोपाल जोडीको अन्तिम सहकार्य हो भन्छन् प्रकाश सायमी ।

***

पछिल्लोपल्ट सांगीतिक कार्यक्रम लिई नारायणगोपाल दार्जिलिङ आएका थिए दिव्य खालिङ र प्रकाश श्रेष्ठसित । मीतज्यू नाइट भएको दस वर्षपछि हो सायद ।

(सम्भवतः यही नै उनको अन्तिम दार्जिलिङ भ्रमण थियो ।) तत्कालीन भानु भवनमा आयोजित त्यस कार्यक्रममा स्वभावतः उनले दिव्य खालिङका रचनाहरू नै धेरै गाएका थिए– ‘विपना नभई बाँचिदिने मभित्रका प्यारा सपना’, ‘मायाको आधारमा’, ‘म त लालीगुराँस’, ‘तिमी जुन रहरले’ इत्यादि । केही आफ्नै संगीत–रचना पनि सुनाएका थिए । तीमध्ये एउटा थियो– ‘माया गर्नेको चोखो माया पनि देखियो ।’ भूमिकामा उनले भनेका थिए– कवि कालीप्रसाद रिजालको त्यो गीतलाई उनले केही समयअघि मात्र संगीतबद्ध गरी पहिलोपल्ट त्यहाँ प्रस्तुत गरिरहेका थिए । गीतको स्थायी पश्चिमे लोकभाकाको शैलीमा अनि अन्तरा सुगम संगीतकै शैलीमा रहेको त्यो गीत हामीले पहिलोपल्ट त्यहाँ त्यसरी सुन्न पाएका थियौं । पछि, नारायणगोपालको नश्वररूप नरहेपछि रामकृष्ण ढकालले त्यस गीतलाई निकै लोकप्रिय तुल्याए ।

उच्च सांगीतिक सिर्जन–प्रतिभा भएकैले उनलाई कुनै संगीतकारमाथि निर्भरित रहनुपर्ने विवशता थिएन । बरु संगीतकारहरू अर्थात् सबैजसो नेपाली संगीतकारहरू चाहन्थे– उनीहरूका रचना नारायणगोपालले गाइदिऊन् । उनी थिए– संगीत रचना–सौन्दर्यको अतीव संवेदनशील पारखी । कुनै रचनाले स्पर्शित भए एकदम अचर्चित संगीतकारको सिर्जना पनि उनले आफ्नो कण्ठले उचालेर चर्चामा चुल्याइदिन्थे । संगीत रचनाको प्रसंगमा कतिपल्ट कतिपय संगीतकार उनीद्वारा निर्देशित हुनुपर्थ्यो भन्ने कुरा पनि उस्तो अविदित होइन ।

दिव्य खालिङपछि अर्थात् ब्लु नोट्स एल्बमपछि त्यसताकाका युवा संगीतकार दीपक जंगमसँग भएको सहकार्यबाट सिर्जित भयो गीतियात्रा (भाग– १) जसका प्रत्येक गीतले नै श्रोताहरू गज्जबले समातिए । आज पनि ती गीत लोकप्रियताको ग्राफमा उक्लिएकै बिन्दुमा अडिएका छन् । त्यस समूहको पहिलो गीत ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ’ ले त झनै शब्द–संगीत–गायन तीनै पक्षको उच्च संयोजनले अत्यन्त उच्च वैशिष्ट्यको शिखर उक्लेको छ ।

गोपाल योञ्जनसँग सिर्जन कार्य भइरहेको समयको एक गीत– ‘मलाई माफ गरिदेऊ’, ब्लु नोट्समा रहेको उनको आफ्नै संगीत–सिर्जन ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ अनि गीतियात्राको ‘केही मीठो बात गर...’ यी गीतहरू नारायणगोपालले गाएकाहरूमध्ये बेग्लै धारका गीत हुन् । ‘मलाई माफ गरिदेऊ...’ गोपाल योञ्जनको समग्र संगीत सिर्जनहरूमध्ये नै पनि एक नितान्त बेग्लै सांगीतिक प्याटर्नको गीत छ ।

सुगम संगीत नै, तर एकदमै पृथक् सिर्जन र गायन छ– ‘कहिलेकाहीँ म हाँस्छु... धेरैबेर हाँस्छु ।’ नितान्त छुट्टै परिपाटीको यो गीत नारायणगोपालको एक गम्भीर अनि विशिष्ट गायन–सिर्जन हो । आधुनिक सुगम संगीत मात्र गाएनन् उनले तर उत्तिकै प्रभावकारी स्वरमाधुर्यमा लोकगीत, अर्धशास्त्रीय अनि पाश्चात्य शैलीका गीतहरू पनि गाएर आफ्नो बहुआयामी गायकीको अविस्मरणीय प्रभाव छोडिराखे । धर्मराज थापाको ‘सुन मेरो नीरमाया’ जब नारायणगोपालको स्वरतरंगमा लहरियो, त्यो गीत अर्कै बन्यो । माधव घिमिरेको ‘मालती मंगले’ गीतिनाटक अम्बर गुरुङको संगीत रचनामा नारायणगोपालको स्वरले छपछप भिजेर आँखै रसाउने मार्मिकतापूर्ण बनेको छ । त्यसलाई अरू स्वरले नारायणगोपालकै मार्मिकता दिन सक्थ्यो–सक्थेन, यसै भन्न सकिन्न ।

कथा नै छ ‘मालती–मंगले’ को संगीत र गायन प्रसंगमा पनि । कवि माधव घिमिरेले आफ्नो गीतिनाटकका निम्ति अम्बर गुरुङलाई संगीतको जिम्मा लगाइसकेपछि मूल पात्रका निम्ति मुख्य घिमिरे स्वयंले गायक चुनेछन्– नारायणगोपाल । गायकको सम्बन्ध संगीतकार गुरुङसित सुमधुर नरहेकाले गायकलाई राजी गराउने काम कविजीले नै लिएछन् । त्यसपछि उताको कुरा त इतिहास भइसकेको छ ।

संख्यात्मक हिसाबले धेरै गीत गाएनन् नारायणगोपालले । मदन पुरस्कार गुठीद्वारा सम्मानित भएको अवसरमा लिइएको एक अन्तर्वार्तामा भनेका थिए उनले, ‘मैले धेरै गीत गाएको छैन । दुई–तीन सय होलान् । ओपेरा, गीतिनाटकहरूमा गाएको जोड्दा चार सय जति पुग्लान् ।’ तर, प्रकाश सायमी भन्छन्, ‘नारायणगोपालका रेकर्ड गरिएका जम्माजम्मी गीत १३७ वटा हुन् । तीबाहेक चार वटा नेवारी गीत गाएका छन् ।’ व्यावसायिकताले नै मात्र बाँधिएर गाएनन् उनले । जे–जति गाए, कलाको अन्तरदृष्टिले आलोकित भएर तथा अन्तरतहको गहरबाट स्पन्दित भएरै गाए । थोरै गीत गाएर प्रसिद्धिको सगरमाथा उक्लने गायक नेपाली संगीतमा नारायणगोपाल नै हुन् । गीत आफैंले लेखेनन् तर आफूलाई चित्त नपरेको गीत कहिल्यै गाएनन् ।

असाध्यै माधुर्यपूर्ण उनको स्वर एकदमै नैसर्गिक लचकताले त्यो अझ बढी स्वाभाविक ढंगमा आभूषित भएको अनुभूत हुन्थ्यो । त्यसमाथि थप उनको गायकीको शैल्पिक सौन्दर्य ! उनका स्वर अनि गायकीका ती सूक्ष्म गुणहरू अनुकरणीय (अनुकरणातीत) छन् । व्यवहार अनुकरण हुन सक्छ तर स्वभाव अनुकृत हुँदैन । आज उनका गीतहरू अरू धेरै स्वरमा सुनिन्छन्– गायनका अनेक टेक्निकले सिँगार्न खोजिएका अनि स्वर पनि उस्तै मीठो, श्रुतिमधुर । तर, नारायणगोपालको गायकीभित्रको त्यो ढुकढुकी, त्यो प्राण अनि अन्तरतहको कुन कुनाबाट उठिआएको त्यो तातो उच्छवासचाहिँ उही नारायणगोपालमै मात्र पाइने तत्त्व हुन् । यस्ता अद्वितीय गवैया फेरि हामीमाझ आउन अझ कति युग पर्खिनुपर्ला !

***

मिथकजस्तै बनिसकेको नारायणगोपालको प्रेमकथालाई एक गीतिनाटकमा जीवन्त बुनिएको छ । दार्जिलिङका प्रख्यात समकालीन गीतकार पुरण गिरीको उर्वर कल्पनामा फुलेको गीतिनाटक ‘मर्मको मिठास’ (ई. २०२२) मा अत्यन्त मार्मिकतापूर्वक पुनर्जीवित भई उठेको देख्न सकिन्छ नारायणगोपाल र उनकी ‘बेबी’ को प्रेमको उहापोह ।

जीवित छँदै लेजन्ड बनिसकेका अप्रतिम गायक नारायणगोपाल एक यथार्थ मिथक थिए/एक मिथकीय यथार्थ थिए ।

प्रकाशित : मंसिर १६, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?