९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

हाय राजमती !

नेपालभाषामा लोकप्रिय गीत (पहिलो राष्ट्र–गान ?) ‘राजमती’ को लिखित प्रति भेटिएको छैन । तर, राजमती आफैं तत्कालीन नेपाली समाजको सौन्दर्यचेत, प्रेमको अभिव्यक्ति र सामाजिक विडम्बनापूर्ण जीवनको जीवित दस्ताबेज हुन् । जब गीत नै एउटा इतिहास बन्छ भने त्यसको प्रमाण किन चाहियो ?
सुरेश किरण

काठमाडौँ — राजमती कुमति
जिके वःसा पिरति
हाय बाबा राजमतीचा
राजमती मबिल धाःसा काशी वने त्यल बुबा
हयाब्यु राजमतीचा ।
(राजमती कुमति/मसँग आए पिरति/हाय बाबा राजमतीचा/राजमती नदिए म त काशी जान लागेँ बुबा/ल्याइदेऊ न राजमतीचा ।)

हाय राजमती !

संगीत यदि कालजयी हुन्छ भन्ने मान्ने हो भने त्यो मान्यता ‘राजमती’ गीतलाई जति अरूका लागि सायद उपयुक्त हुँदैन । नेपालमा, नेपालमा मात्रै होइन विश्वमै के त्यस्तो कुनै गीत होला, जो गएको दुई सय वर्षदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने गरिन्छ ?

‘राजमती’ नेपालभाषामा लेखिएको गीत हो, तर नेपालका अन्य समुदायबीच पनि यो उत्तिकै लोकप्रिय छ । लोकप्रिय नभए परिचित त अवश्यै छ । नेपालभाषामा अत्यन्तै लोकप्रिय यो गीत कहिले लेखियो ? थाहा छैन । कसले लेख्यो ? त्यो त झनै थाहा छैन । यसको लिखित प्रति आजसम्मै भेटिएको छैन । लोकमा जसले पनि गाउन मिल्ने एक सजिलो लोकगीतका रूपमा यो अस्तित्वमा छ । यो कुनै अभिलेख वा पुस्तकमा होइन, मानिसको जिब्रोमा दस्ताबेजीकृत गीति–रचना हो ।

सबैभन्दा अनौठो विषय त के भने एकताका ‘राजमती’ नेपालको राष्ट्रिय गानसमेत बनेको थियो भन्ने कथन पाइन्छ । वि.सं. १९०६ मा जब प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणमा गए, उनको सम्मानार्थ सलामी अर्पण गर्न त्यहाँ यही ‘राजमती’ गीतको धुनलाई राष्ट्र–गान भनी प्रस्तुत गरिएको थियो । बेलायत जाँदा जंगबहादुरले आफूलाई एक स्वतन्त्र राष्ट्रको सरकार प्रमुखका हैसियतमा सम्मान दिइनुपर्ने माग राखेका थिए, उनको मागलाई तत्कालीन ब्रिटिस सरकारले स्वीकार गरेको थियो । त्यसैले भारतको कलकत्तादेखि नै जंगबहादुरलाई स्वतन्त्र मुलुकको सरकार प्रमुखसरह सम्मान प्रदान गरिएको थियो । तसर्थ बेलायत (र, फ्रान्स पनि) पुग्दा उनलाई दुवै देशको राष्ट्र–गान बजाएर सम्मान गरिएको हुनुपर्छ ।

तर, त्यतिबेलासम्म नेपालको राष्ट्र–गान ‘श्रीमान गम्भीर...’ बनिसकेको थिएन । यो राष्ट्र–गान त चक्रपाणि चालिसे (वि.सं. १९४०–२०१५) ले धेरैपछि मात्रै रचना गरेका थिए । त्यस्तो अवस्थामा बेलायतले नेपालको राष्ट्र–गान माग्दा नेपालबाट त्यतिबेला अत्यन्तै लोकप्रिय रहेको ‘राजमती कुमति..’ कै धुन पठाइएको हुन सक्छ भन्छन् लेखक भिक्टर प्रधान (‘राजमती लोकगीतबाट ध्वनित इतिहास र साहित्य’, कार्यपत्र) । त्यसैले अहिले केही नेपाली सामान्यज्ञान पुस्तकहरूमा नेपालको पहिलो राष्ट्र–गान भनेर राजमती गीत नै उल्लेख गरिएको छ । यदि जंगबहादुरको बेलायत यात्रामा यही गीतलाई राष्ट्र–गानका रूपमा बजाइएको हो भने ‘राजमती’ को आयु लगभग दुई सय वर्ष पुगिसकेको अनुमान सहजै लगाउन सकिन्छ ।

काठमाडौं उपत्यकामा त्यस्ता धेरै लोकगीत प्रचलित छन्, जसको न लेखकको पता छ, न गायकको । जस्तो कि ‘सिलुम्ये’, ‘शितला माजु म्ये’, ‘जि वया ला लछि मदुनि म्ये’ (जसको आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ रचना गरेका थिए) आदि आदि । यस्ता गीतहरू केवल गीत होइनन् ‘गीतिकथा (बाखंम्ये)’ कै रूपमा प्रचलित छन् । ती गीति–कथामा तत्कालीन समाजमा घटित कुनै घटनाको कारुणिक वर्णन गरिएको हुन्छ । प्राचीन नेपालभाषा काव्यका अन्वेषक डा. जनकलाल वैद्यका अनुसार, आफूले भोगेको कुनै घटना वा कालखण्डको वर्णन गरी गीति–कथा लेख्ने र त्यसलाई गाउँदै हिँड्ने नेवाः जातिको सिर्जनात्मक कर्म नै हो ।

‘राजमती’ पनि मूलतः त्यस्तै एउटा गीतिकथा हो । यसमा जम्मा आठ श्लोक छन् । त्यो आठ श्लोकमा एउटा कथा उनिएको छ, राजमतीको कथा । कथा लेख्ने अज्ञात कविले राजमतीप्रति आफ्नो अथाह प्रेम दर्शाउँदै उनीसँग विवाह गर्ने र विवाह गर्न नपाए काशी जाने ‘घुर्की’ लगाएका छन् । गीतले कहेअनुसार, काठमाडौंको इतुम्बहालभित्र अवस्थित ताःननी भन्ने ठाउँमा राजमती बस्ने गर्छिन् । उनी अत्यन्तै सुन्दर एवं रूपवान छिन् । उनको आँखा बाला–बाला परेको छ, कपाल घुम्रिएको छ, मुहारमा दुईवटा कोठी पनि छन् । उनको सुन्दरता हेर्दा उनी सक्वमि (साँखुले) की छोरी हुन् कि जस्तो लाग्छ । उनी बिजकली नामक गहना लगाउने गर्छिन् । तर, दुर्भाग्य ! एक चण्डाल लमीका कारण जबर्जस्ती उनको बिहे गराइयो । बिहे पनि यस्तो घरमा भयो, जहाँ एउटा सँझ्यालसम्म छैन । बिहे भए पनि आफ्नो बैंस छँदै लोग्नेको मृत्यु भयो । राजमतीको जन्म धिक्कार भएछ !

गीतको पूर्ण वर्णन सुनिसकेपछि थाहा पाउन सकिन्छ, यो राजमतीको दुःखान्त वर्णित गीतिकथा हो । यसमा तत्कालीन काठमाडौंली समाजमा प्रचलित सामाजिक, सांस्कृतिक रूपरेखाको चित्रण पाइन्छ । गीतमा केही विशिष्ट स्थानको नाम दिइएको छ । घरमा सँझ्याल हुनु र नहुनुको भेद खुट्याइएको छ । केही विशिष्ट गहनाको वर्णन गरिएको छ । अतः गीतले कथा मात्रै होइन, इतिहास पनि बोलिरहेको छ ।

तत्कालीन समाजमा २ सय वर्षअघि नै यो गीत लोकप्रिय भइसकेको भए पनि यसलाई पहिलो पटक रेकर्ड गरी सुरक्षित गर्ने काम भने आदिगायक उस्ताद सेतुराम श्रेष्ठले गरेका थिए । वि.सं. १९४८ मा असन भोटाहिटीमा जन्मिएका सेतुराम श्रेष्ठ तत्कालीन काठमाडौंली समाजका नामुद गायक, संगीतकार एवं कुशल वाद्यवादक थिए । उनले उबेलै भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए । नेपालका कुनै पनि गीतहरू ग्रामोफोन डिस्कमा रेकर्ड भएको पहिलो घटना यही हो । उनले रेकर्ड गरेका १४ गीतमध्ये एउटा राजमतीको गीत पनि थियो । त्यसैले राजमतीलाई आजभन्दा सय वर्षअघि नै ग्रामोफोन डिस्कमा रेकर्ड भई इतिहास रच्न सफल गीतका रूपमा पनि लिन सकिन्छ ।

पछिल्लो समय भने यसलाई प्रेमध्वज प्रधानको सुमधुर स्वरमा पुनः रेकर्ड गरिएको छ । सेतुराम र प्रेमध्वजले गाएको गीतको लय उही भए पनि यसको सुर र तालमा भने थोरै फरक देखिन्छ । गीतमा प्रयुक्त भाषा र शब्द दुई सय वर्षअघिको जस्तो देखिँदैन, नयाँ शब्दहरू मिसाइएका छन् । सय वर्षअघिको नेपालभाषा–काव्य संकलन गरेका अन्वेषक भूषणप्रसाद श्रेष्ठका अनुसार, राजमती जुन–जुन कालखण्डका गायकहरूले गाए, त्यही त्यही कालखण्डमा प्रचलित भाषा र शब्दहरू यसमा थपिएको वा फेरिएको छ । लेखनमा होइन, गायनमा बाँचेको गीत भएकाले यसमा यो परिवर्तन आउनु स्वाभाविक पनि हो ।

गीतबारे यति भनिसकेपछि अब प्रश्न उठ्छ– गीतमा बखान गरिएकी सुन्दरी रूपवती राजमती साँच्चै अस्तित्वमै थिइन् ? वा उनी कुनै अज्ञात कविको काल्पनिक पात्र मात्रै हुन् ? यो विषयमा अझै बहस चलिरहन्छ । गीतको तेस्रो श्लोकमा भनिएको छ –

ख्यो खोला ध्याक्वय् दं, पसः बजि धू दं

राजमती भुलुसुलु दं

राजमती गन दु इतुंबहालय् छम्ह दु

हया ब्यु राजमतीचा ।

(फूलको बोक्रा थुप्रो छ, पसलको चिउरा धूलो छ/राजमती फुङ्ग उडेकी छ /राजमती कहाँ छ, इतुंबहालमा एउटी छ/ल्याइदेऊ न राजमतीचा)

यो पंक्तिबाट थाहा हुन्छ, राजमती काठमाडौंको इतुम्बहाल भन्ने ठाउँमा बस्ने गर्थिन् । इतुम्बहाल काठमाडौंको अत्यन्त महत्त्वपूर्ण बहालहरूमध्ये एक हो । यहाँ शाक्य र वज्राचार्य दुवै जातका मानिस बस्छन् । प्राचीनकालमै बहालको पूर्ण अंग पुग्ने गरी यो बहाल निर्माण भइसकेको थियो । त्यतिबेला यसलाई ‘यातुंबहाः’ भनिन्थ्यो (भुवनलाल प्रधान, ‘काठमाडौं उपत्यकाका सांस्कृतिक छिर्कामिर्का’) । यो अत्यन्त लामो र फराकिलो बहाल हो । पञ्चायतकालमा तत्कालीन कांग्रेस, कम्युनिस्ट पार्टीहरूले यही बहालमा आमसभाहरू गर्ने गर्थे । हरेक वर्ष होली पूर्णेका दिन यही विहारका गुथियारहरूले टुँडिखेलमा गुरुमापालाई एक मुरी चामलको भात र एउटा सिङ्गै राँगोको मासु पकाएर भोजन गराउने गर्छन् । यो चलन अहिले पनि यथावत् छ ।

काठमाडौंमा अत्यन्तै लोकप्रिय केशचन्द्रको किंवदन्ती यही विहारसँग सम्बन्धित छ । यो विहार वरिपरि ७ वटा इनार थियो भनिन्छ । तर, अहिले एउटा मात्र बाँकी छ । इनारलाई नेपालभाषामा ‘तुं’ भनिन्छ । यही ‘तुं’ शब्दबाट यो विहारको नाम ‘इतुं’ बहाः बन्न गएको हो । विहारमा बाँकी रहेको यो इनारमा पारो (मर्करी) को मात्रा धेरै भएकाले कुनै बेला यसको पानी सेतै थियो भनिन्छ । पारोको मात्रा धेरै भएकाले अहिले पनि यो इनारको पानी झिक्न फलामको बाल्टिन प्रयोग गरिँदैन, माटोको भाँडो प्रयोग गरिन्छ । तर, माटोको भाँडो प्रयोग गर्दा फुटिरहने भएकाले अहिले तामाको बाल्टिन प्रयोग गर्न थालिएको छ । पाटनमा रातो मत्स्येन्द्रनाथको महास्नान गर्न यहींकै पानी लैजाने चलन छ । शरीरमा जनै खटिरा आउँदा जहाँ खटिरा आएको हो त्यहाँ सिंह लेखाएर उपचार गर्ने चलन अहिले पनि छ । तर, शरीरमा सिंह लेखाउनुअघि यो इनारमा पूजा गर्नैपर्छ । अनि मात्रै निको हुन्छ भन्ने विश्वास छ ।

यो बहालभित्र साना–ठूला पाँचवटा ननीहरू (लामो आकारको फराकिलो चोक) पनि छन् । ती ननीमध्ये सबैभन्दा ठूलो ननीको नाम हो– ‘ताहाननी’ । राजमती यही ताहाननीकी बासिन्दा हुन् । ‘राजमती’ गीतको दोस्रो श्लोकमा ताहाननीको नाम उल्लेख छ ।

ताहाननीभित्र पनि अरू विभिन्न साना–साना चोक छन् । त्यसैमध्ये एउटा चोकको सामुन्ने राजमतीको घर छ । अहिले पनि स्थानीयवासी र इतिहासकारहरू यो घरलाई राजमतीकै घर भन्छन् । यो कुनै विशिष्ट खालको घर भने होइन । सामान्य स्वरूपकै घर हो । केही वर्षअघि ताहाननीमा ठूलो आगलागी हुँदा यो घर पनि क्षति भएको थियो । अहिले त्यहाँ नयाँ घर बनाइएको छ । यो घरमा हाल एक महर्जन परिवार बसोबास गर्छन् । यो अहिले किसान नेता स्व. सानुभाइ महर्जनको घर हो । उनका पुर्खाले राजमतीका सन्तानसँग यो घर किनेका थिए भन्ने कथन छ ।

इतिहासकारका अनुसार यो घर बेचेर राजमतीका सन्तानहरू केही समय इतुम्बहालमै अर्को कुनै घरमा बसेका थिए । पछि इतुम्बहालकै बाहिरपट्टि रहेको यट्खा टोलमा अर्को घर किनेर बस्न थाले । इतिहासकार र स्थानीयलाई पछ्याउँदै जाँदा यट्खा टोलमा राजमतीका सन्तानहरू अहिले पनि भेटिए । राजमती पछिको पाँचौं पुस्ताका सन्तान पुण्यरत्न शाक्यसँग राजमतीबारे कुरा गर्ने अवसर पनि प्राप्त भयो ।

५८ वर्षे शाक्य यट्खा टोलमै बस्छन् । काठमाडौंदेखि सिधा वसन्तपुर जाँदा बीचको बाटोमा यट्खा टोल आउँछ । टोलको आफ्नै घरमा शाक्यको सानो स्टेसनरी पसल छ । उनले बताए अनुसार, उनी राजमतीका पाँचौं पुस्ताका सन्तान हुन् । उनका बुबा जोगरत्न शाक्य हुन् । जोगरत्नका बुबा लतमान शाक्य र लतमानका बुबा विष्णुमान (हर्क) शाक्य । यिनै विष्णुमानकी फुपू हुन्– राजमती । शाक्यलाई अरू पुस्ताको त जानकारी छैन, उनका आफ्नै बुबा जोगरत्न शाक्य भने अहिले जीवित रहेका भए १०८ वर्ष पुगेका हुन्थे । जोगरत्नका बुबा लतमान शाक्यसम्म पनि ताहाननीकै घरमा बसेका थिए । तर, अल्पायुमै लतमानको मृत्यु भयो । लतमानको मृत्युपछि उक्त घर उनकी श्रीमती जोगलानी शाक्यको नाममा आयो । पछि जोगलानी शाक्यले नै उक्त घर किसान नेता सानुभाइ महर्जनको पुस्तालाई बेचेकी थिइन् ।

जोगलानीका नाति पुण्यरत्न शाक्यलाई राजमती र आफ्नो सम्बन्धबारे यति मात्रै थाहा छ । तर, राजमती कस्ती थिइन् ? के गर्थिन् ? उनको जीवनकथा कस्तो थियो ? निधन कसरी भयो ? यी विषयमा भने केही थाहा छैन । उनको कुनै पनि अवशेष आफूसँग नभएको उनी बताउँछन् । शाक्य भन्छन्, ‘यसबारे हामीलाई केही बताइएको छैन । मैले मेरा बुबाबाट हामी राजमतीका सन्तान हौं भन्ने मात्रै सुनेको थिएँ । त्यति हो ।’

यति चर्चित र ऐतिहासिक पात्रको सन्तान भन्न पाउनु आफ्ना लागि भने गर्वको विषय भएको उनी बताउँछन् । केही इच्छुकहरू अहिले पनि आफूसँग राजमतीबारे सोध्न आउँछन्, तर आफूले केही बताउन नसकेकोमा उनी दुःख पोख्छन् । उनलाई सम्झना भए अनुसार, केही दशकअघि ‘राजमती’ फिल्म बनाउँदा निर्माता समूहका केही सदस्य यसबारे उनीसँग सोध्न आएका थिए ।

इतुम्बहालकै लिपि विशेषज्ञ प्रतापमान शाक्यका अनुसार, विभिन्न हाँगाबिँगामा छरिएका राजमतीका सन्तानहरू विभिन्न समयमा जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरव पनि भएका छन् । काठमाडौंमा इन्द्रजात्राका बेला यी जीवित देवीदेवताहरूको रथयात्रा गरिन्छ । जोगरत्न शाक्यका भतिजा हुन्– सिद्धिमुनि शाक्य । सिद्धिमुनि नेपालका प्रख्यात पौभाः कलाकार हुन् । उनकी नातिनी प्रिती शाक्य वि.सं. २०५८ देखि २०६५ सम्म जीवित देवी श्री कुमारीका रूपमा कुमारी घरमा विराजमान भएकी थिइन् । प्रितीपछि प्रतापमानकै छोरी मतिना शाक्य कुमारी बनेकी थिइन् ।

इतुम्बहालभित्र राजमतीबारे कुनै अभिलेख, दस्ताबेज, पुस्तक भेटिएको छैन । उनी कुनै ठूला राजा, महाराजाकी चेली वा रानी होइनन् । तर, उनको माइती भने खानदानी नै थिए भन्ने तथ्य उनले लगाउने ‘बिजकली’ नामक गहनाले बताउँछ । यो गहना अहिले लोप भइसकेको छ । तर, त्यतिबेला धनीमानीका सन्तानले लगाउने ‘तायो’ र ‘पायो’ नामक गहनाभन्दा यो उच्चस्तरको गहना हो भन्ने कुरा गीतले बताउँछ – ‘तःधीथकुंया तायो दु, चीधीथकुंया पायो दु, राजमतीया बिजकली दु ।’ यसको अर्थ हुन्छ– ठूलीसँग तायो छ, सानीसँग पायो छ, राजमतीसँग बिजकली छ ।

गीतको दोस्रो श्लोकमा राजमतीको सुन्दरताको वर्णन गर्दै भनिएको छ– कतै उनी सक्वमि (साँखुले) की छोरी त होइनन् ? इतम्बहालकी छोरीलाई सक्व (साँखु) सँग जोडेकाले यी दुईबीच के सम्बन्ध छ भन्ने प्रश्न पनि उठेको छ । कोही भन्छन्, राजमतीका बुबा इतुम्बहालवासी भए पनि आमा चाहिँ साँखुकी थिइन् । त्यसैले उनी साँखुलेकी छोरी भइन् । तर, इतिहास अध्येताहरू भन्छन्– इतुम्बहालका शाक्य वज्राचार्यहरू सबै साँखुबाटै काठमाडौं आएका हुन् । काठमाडौंमा अहिले जति पनि बहाःबहीहरू छन्, ती सबैको उद्गमस्थल साँखुको गुँ विहारलाई मान्ने गरिन्छ । यसरी गीतले राजमतीको सुन्दरता मात्रै होइन, काठमाडौंका शाक्य–वज्राचार्य समुदायको इतिहासलाई पनि उत्खनन खोजेको छ ।

तर, यति विलक्षण सुन्दरी र सम्पन्न परिवारकी चेली भएर पनि उनको बिहे भने ‘सँझ्याः नभएको घरमा’ हुन पुग्यो । त्यतिबेला काठमाडौंमा सँझ्याः सम्पन्न र पहुँचवाला घरले मात्रै राख्न पाउँथे । आफ्नो घरको झ्यालमा सिसा राख्ने अधिकारसमेत जनताले जुद्धशमशेरको पालामा पात्रै पाएका थिए । सँझ्याल नभएको घरमा बिहे हुनुको अर्थ उनीभन्दा तल्लोस्तरका मान्छेसँग उनको बिहे भयो भन्ने हो, त्यो पनि उनले नचाहँदा नचाहँदै । उनलाई मनपराउने केटाहरूको ताँती नै त्योबेला लाग्दो हो । कसै कसैले त उनी स्वयम् जंगबहादुरकै प्रेमिका हुन् पनि भनेका छन् । किनभने जंगबहादुर आफैँ एक स्त्रीलम्पट शासक थिए । तर, लेखक भिक्टर प्रधानले राजमती जंगबहादुरकी प्रेमिका हुन सक्ने सम्भावनालाई नकारेका छन् । किनभने ४० वटी श्रीमती भएका जंगबहादुरले चाहेको भए राजमतीलाई घरबाट उठाएरै पनि दरवार पुर्‍याउन सक्थे । राजमतीको नाममा ‘भजन’ गाइरहनुपर्ने आवश्यकता जंगबहादुरलाई थिएन ।

तथापि राजमतीप्रतिको आशक्ति युवाहरूमा कति डरलाग्दो किसिमको थियो ? गीतका लेखकले भनेकै छन्– यदि राजमतीसँग बिहे गर्न नपाए युवाहरू काशी जाने इच्छा राख्थे । तर, त्यसको उल्टो दरबारमा वा ठूलो घरानामा बिहे हुने प्रशस्त सम्भावना हुँदाहुँदै राजमतीको बिहे सँझ्याल नभएको एउटा सामान्य घरमा हुन पुग्यो । अझ त्यसमाथि बिहे भएको केही समयपछि नै लोग्नेको मृत्यु भयो । त्यतिबेलाको समाजमा विधवा भएर बाँच्नु ज्यादै कठिन थियो । राजमतीले ती सबै कठिनाइ सहेकै हुनुपर्छ । अतः बिहेपछि राजमतीको जीवन नर्कतुल्य हुन पुगेको अनुमान सहजै लगाउन सकिन्छ । सायद राजमती जस्ती अति रूपवान स्त्रीको जीवनमा यति विडम्बनापूर्ण उतारचढाव आएकै कारण पनि उनको जीवनीमाथि यो गीतिकथा रचना भएको हुनुपर्छ । किनभने राजमतीको ओजपूर्ण रूप र त्योसँग मेल नखाने उनको हृदयविदारक जीवनी वास्तवमै त्यतिबेलाको परम्परा अनुसार गीतिकथा लेख्न योग्य ‘प्लट’ थियो ।

राजमतीको गीतले सुनाइरहेको यो विषाद्पूर्ण जीवनीलाई आधार बनाएर जनकवि दुर्गालाल श्रेष्ठ र उपन्यासकार रामशेखरले तीन दशकअघि ‘राजमती’ फिल्म बनाएका थिए, जसको निर्देशन गरेको थिए– नीर शाहले । यो नेपालभाषाको दोस्रो सेलुलाइड फिल्म हो । पहिलो फिल्म ‘सिलु’ पनि यस्तै एउटा लोकगीतमा आधारित थियो । फिल्म बनाएपछि त्यसका लागि गीत लेख्नु एउटा कुरा, तर गीत सुनेर त्यसका लागि फिल्म बनाउनु अर्कै कुरो । ‘राजमती’ त्यस्तै गीतका लागि बनाइएको फिल्म थियो ।

वि.सं. २०५२ को फागुनतिर यो फिल्म रिलिज भयो, रिलिज हुनेबित्तिकै हिट पनि भयो । केही राष्ट्रियस्तरको अवार्ड पनि पायो । फिल्ममा दुई नायक र एक नायिका थिइन् । नायिका राजमती बनेकी थिइन् कलाकार– हिसिला महर्जन । अर्का कलाकार थिए– श्रीकृष्ण श्रेष्ठ र मणि राजलवट । फिल्ममा राजमतीले कसैसँग विवाह गर्न पाउँदिनन् । तर, यथार्थमा भने यही फिल्ममा खेल्दाखेल्दै हिसिला र मणिको प्रेमविवाह हुन पुगेको थियो ।

राजमती गीतका आधारमा नेपालभाषामा फिल्म मात्रै बनेन, अरु विभिन्न म्युजिक भिडियोहरू पनि बने, कथा लेखिए, कविता लेखिए, नाटक देखाइए, चित्रहरू कोरिए । राम्री बान्की परेकी छोरी–चेली देख्यो कि ‘ओहो, कस्तो राजमती जस्तै हिसी परेकी’ भन्ने चलन बस्यो समाजमा । कतिले आफ्नी छोरीको नाम राजमती राखे त, कतिले राजमतीलाई आफ्नो उपनाम बनाए ।

इतुम्बहालवासीहरू अहिले आफ्नो बहाललाई त्यहाँको सांस्कृतिक वैभवले मात्रै होइन, राजमतीको नामले पनि चिनाउन चाहन्छन् । त्यसैले राजमतीको घर जाने बाटोतिर अहिले गीतको पहिलो अन्तरा र राजमतीको चित्रसमेत सजाइएको छ भित्तामा लेखेर । राजमतीबारे यति धेरै सिर्जना, चर्चा र बहस भइरहे पनि उनीसम्बन्धी कुनै ठोस दसी भने अहिले हामीसँग उपलब्ध छैन ।

जति छ, यही एउटा गीत छ । मात्र एउटा गीत, जसले गएको दुई सय वर्षदेखि नेपाली समाजमा प्रेम, रूप, सुन्दरता र विडम्बनाको एउटा विराट विम्ब प्रस्तुत गरिरहेको छ । यो दुई सय वर्षमा नेपाली समाजको धेरैपटक कायापलट भएको छ । गीतहरू कति लेखिए, कति गाइए, कति हराइए ! तर, राजमतीको न कहिल्यै कायापलट भयो, न गुमनाम ।

‘राजमती’ गीतको लिखित दस्ताबेज कतै भेटिएको छैन, तर नभेटिएर के भयो ? राजमती आफैँ तत्कालीन नेपाली समाजको सौन्दर्यचेत, प्रेमको अभिव्यक्ति र एक महिलाको सामाजिक विडम्बनापूर्ण जीवनको जीवित दस्ताबेज हुन् । जब एउटा गीत नै दस्ताबेज बन्छ भने गीतको प्रमाण किन चाहियो ?

प्रकाशित : मंसिर १६, २०८० १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?