१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

बगडी : अद्वितीय संगीत सम्मेलन

बगडी संगीत सम्मेलनमा उत्कृष्ट ठहरिएका भारतका उस्ताद रहमत खानलाई वीरशमशेरले सुनका तीन हजार सिक्का (६० किलो सुन) उपहार दिएका थिए

श्री ३ रणेद्दीपको हत्या भएपछि जंगबहादुरका भाइ धीरशमशेरका जेठा छोरा वीरशमशेर नेपालको प्रधानमन्त्री भए, जो आफ्नो जीवनको युवावस्थाबाटै संगीतका विशेष सौखिन थिए । जंगबहादुरको प्रधानमन्त्रीत्वकालमा उनी कोलकातामा वाणिज्यदूत (वकिल) का रूपमा खटिएका थिए, जसको थोरै मात्र काम हुने र अत्यधिक समय फुर्सदिलो हुने कारण उनी संगीत रसस्वादनका लागि बराबर बाइजी तथा कस्वीहरूकहाँ जाने गर्थे ।

बगडी : अद्वितीय संगीत सम्मेलन

यस्तै पृष्ठभूमिकै कारण वीरशमशेरले आफू प्रधानमन्त्री भएपछि नेपाल दरबारमा हिन्दुस्तानी संगीतज्ञहरूलाई विशेष प्रश्रय दिएका थिए भन्ने इतिहासकारको मान्यता छ ।

नेपालको इतिहाससम्बन्धी अधिकतर सबै लेख वा ग्रन्थमा वीरशमशेरको राज्यकाललाई संगीतकलाको स्वर्णयुग भनेर उल्लेख गरिएको पाइन्छ । इतिहासकार सूर्यविक्रम ज्ञवालीले वीरशमशेरले आफ्नो दरबारमा उत्तरी भारतका अनेक उस्तादलाई आश्रय दिएपछि नेपालमा हिन्दुस्तानी संगीतका गजल, खेमटा, ठुमरी, टप्पा, दादरा, होरी, कजरीजस्ता गीतका शैली अत्यन्तै लोकप्रिय भएका थिए भन्ने उल्लेख गरेका छन् । त्यसैगरी, अर्का भारतीय विद्वान् दिलीपचन्द्र मुखोपाध्यायले उनलाई संगीतज्ञहरूलाई अत्यन्तै उच्च सम्मान दिने बादशाह अकबर समानका शासक र सांगीतिक गतिविधिका सन्दर्भमा लखनऊका नबाब बाजिद अली शाहभन्दा पनि माथिका भनेर तारिफ गरेको पाइन्छ ।

वीरशमशेर संगीतप्रेमी भएका र उनको दरबारमा पश्चिमी र भारतीय दुवै संगीतको राम्रो संरक्षण भएको थियो भन्ने विचार लर्ड रोबर्ट्सलाई उद्धृत गर्दै इतिहासकार पर्सिभल ल्यान्डनले पनि उल्लेख गरेका छन् । उनले श्री ३ महाराजा वीरशमशेर असाध्यै संगीतप्रेमी भएको, जसको दरबारमा अंग्रेज ब्यान्डमास्टरबाट तालिम प्राप्त धेरै दक्ष ब्यान्ड थिए भन्ने उल्लेख गरेका छन् । साथै उनी भारतीय संगीतका पनि अत्यन्तै प्रेमी थिए भन्ने तथ्यलाई वीरशमशेरले आयोजना गरेको बगडी संगीत सम्मेलनबारे सन् १९०० को फेब्रुअरी ७ को अमृतबजार पत्रिकामा प्रकाशित प्रतिवेदनबाट प्रमाणित हुने हुँदा त्यो पढ्नका लागि समेत पाठकहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री वीरशमशेरले विसं १९५६ पुस–माघमा शास्त्रीय संगीतको यस्तो एउटा अविस्मरणीय विशिष्ट प्रकृतिको सम्मेलन आयोजना गरेका थिए, जुन इतिहासमा बगडीको जल्सा नामबाट प्रख्यात छ । उनी पूर्वीय संगीतका अत्यन्तै पारखी थिए, जसले नेपाल तथा भारतका अत्यन्तै चर्चित संगीतज्ञको जमघट गराई सांगीतिक गोष्ठी आयोजना गरेका थिए । श्री ३ वीरकै दरबारी संगीतज्ञ ताज खानको संयोजकत्वमा आयोजित यो सम्मेलनमा भारतका विख्यात कलाकारहरूले समेत सहभागिता जनाएका थिए । सम्मेलनको अवधि, सहभागीहरूको स्तर तथा सम्मेलनमा खर्चिएको रकमका आधारमा त्यो सम्मेलन नेपाली संगीतको इतिहासमा अद्वितीय देखिन्छ । यसले वीरशमशेरलाई ऐतिहासिक रूपमै संगीतको वास्तविक संरक्षक भएको कुरा प्रमाणित गरिदिएको छ ।

उल्लिखित सम्मेलनबाट विशेष लाभान्वित भएका भारतीय संगीतज्ञ तथा त्यसका प्रशंसकले आयोजक वीरशमशेरको ज्यादै प्रशंसा गरेको पाइन्छ । बगडी सम्मेलनका सम्बन्धमा भारतको कोलकाताबाट प्रकाशन हुने पत्रिका अमृत बजारको फेब्रुअरी ७ सन् १९०० को अंक (३३) मा प्रकाशित सम्पादकका नाममा एक प्रत्यक्षदर्शीको नामबाट पठाइएको एउटा पत्रमा सो सम्मेलनको मुक्तकण्ठले तारिफ गरिएको पाइन्छ । तत्कालीन भारतमा अबधका नबाब वाजिद अली शाहको पतनपछि शास्त्रीय संगीतको संरक्षकको अभाव भएको परिप्रेक्ष्यमा भएको सम्मेलन अत्यन्तै महत्त्वपूर्ण भएको हुँदा आयोजक वीरशमशेरलाई सारा संगीतज्ञका तर्फबाट बधाई दिँदै भारतका राजा रजौटाहरूले पनि त्यसको अनुकरण गर्नुपर्ने आशय उक्त पत्रमा व्यक्त गरिएको छ ।

बगडी संगीत सम्मेलनमा नेपाल तथा भारतका प्रसिद्ध संगीतज्ञलाई भाग लिन निमन्त्रणा पठाइएको थियो, जसमा दक्षिण भारतबाट सामगान गर्ने पण्डितहरूसमेत आएका थिए । सम्मेलनस्थलमा मुस्लिम धर्मावलम्बीहरू भएका कारण उनीहरूले वीरशमशेरलगायत श्रोतालाई सम्मेलनस्थलभन्दा बाहिर जंगलमा गई आफ्नो प्रस्तुति दिएका थिए । यो सम्मेलनमा सहभागी कलाकारहरूको संख्या पुरुषोत्तमशमशेरले ६९, ‘अमृत बजार’ पत्रिकाले १९ र दिलीप मुखोपाध्यायले १५ तथा अन्य विभिन्न स्रोतमा फरकफरक ढंगबाट उल्लेख भएको पाइन्छ । तथापि नेपाल तथा भारतबाट प्रकाशित विभिन्न लेख, पत्रिका, पुस्तक, संगीतज्ञहरूको जीवनीका साथै विद्वान् तथा कलाकारहरूको अन्तर्वार्ताहरूको विश्लेषणका आधारमा सम्मेलनमा थुप्रै संगीतज्ञको सहभागिता रहेको देखिन्छ ।

सम्मेलनमा भएको सम्पूर्ण खर्चबारे कुनै त्यस्तो आधिकारिक स्रोत प्राप्त हुन सकेको छैन । तथापि यो सम्मेलनमा वीरशमशेरले दिल खोलेर लाखौं रुपैयाँ खर्च गरेका थिए भन्ने जानकारी विभिन्न स्रोतको अध्ययनबाट ज्ञात हुन्छ । यो सम्मेलनमा सहभागी कलाकारहरूको श्रेणी हेरी न्यूनतम तीन सय र अधिकतम तीन हजार रुपैयाँ नगद इनाम र पुरस्कार गरी झन्डै ६० हजार खर्च गरिएको पनि उल्लेख पाइन्छ । सम्मेलनमा हैदर खानलाई ‘संगीतरत्न’ को उपाधि, ग्वालियरका संगीतज्ञ रहमत खानलाई सर्वोत्कृष्ट कलाकार ठहर गरिएको तथा सरोदवादक न्यामतुल्लाह खानसँग गरेको उत्कृष्ट संगीतबाट अत्यन्तै खुसी भई महाराजाले तबलावादक भैरव सहायलाई नगदका साथै बन्दुक र तरबार पनि उपहार दिएका थिए भन्ने पाइन्छ ।

यो संगीत सम्मेलन भएको स्थानका सम्बन्धमा कसैले उत्तर–पश्चिम रेलवेको मोतीहारी जिल्लाको चम्पारन भन्ने स्टेसनबाट १५ माइल दूरीमा रामवनको नजिकै बनगढी भन्ने स्थानमा भएको मानेका छन् भने कसैले वीरगन्ज नजिक नारायणी अञ्चलको बनगढी र कसैले बगडी उपत्यका भनेर उल्लेख गरेका छन् । ठाउँको नाम जेजस्तो भए तापनि यो तराई क्षेत्रमा भएको भन्ने पक्का छ । यत्रो विशेष संगीत सम्मेलन राजधानी काठमाडौंमा नभएर किन तराईमा भएको होला भन्ने सम्बन्धमा पनि धेरैको जिज्ञासा पाइन्छ । सम्भवतः हिउँदको समयमा काठमाडौंको मौसम अत्यन्तै जाडो हुने र यो समयमा राणाहरू पनि सिकारका लागि तराई जाने परम्परा रहेको हुँदा आफूहरू तथा भारतबाट आएका संगीतज्ञहरूको सुविधालाई ख्याल गरी सम्मेलन आयोजना तराईमा भएको विद्वान्हरूको अनुमान छ ।

बगडी सम्मेलनको अवधि र तिथिमितिका सम्बन्धमा पनि विभिन्न मत पाइन्छन् । कसैले यो सम्मेलन सन् १९०० को जनवरी (विसं १९५६ को पुस–माघ) मा रात र दिन गरी आठ दिन, कसैले पाँच दिन कसैले एक महिना चलेको थियो भन्ने उल्लेख गरेका छन् । सम्मेलनका आयोजक प्रधानमन्त्री वीरशमशेरका नाति धनशमशेरले आफू सानै भए पनि बाजेसँगै रही हेर्न पाएको यो सम्मेलन विसं १९५६ मा भएको उल्लेख गरेका छन् । त्यसैगरी ‘संगीत’ पत्रिकाको घराना विशेषांकमा छापिएको सम्मेलनको फोटोमा यसको मिति ई. १८८० (विसं १९३७) भएको उल्लेख छ, जुन समयमा नेपालमा रणोद्दीप प्रधानमन्त्री भएको हुँदा यो मतसँग सहमत हुने कुनै आधार पाइँदैन ।

नेपाली इतिहासमा सम्मेलनको मिति विसं १९५६ को पुस र माघ भएकामा कुनै मतान्तर छैन । तर, भारतबाट प्रकाशित पत्रपत्रिका तथा पुस्तकमा सम्मेलनको मितिमा कतै ई. १८९९ तथा कतै ई. १९०० भन्ने उल्लेख भएका कारण दुविधा उत्पन्न हुन गएको देखिन्छ । सम्मेलन एक महिना चलेको भन्ने मतलाई मान्दै यो सम्मेलन विसं १९५६ को पुसबाट सुरु भई माघमा अन्त्य भएको हुँदा अंग्रेजी पात्रोअनुसार ई. १८९९ को अन्त्य तथा ई. १९०० को प्रारम्भिक महिनामा भएको मान्न सकिन्छ । श्री ३ वीरशमशेरको संरक्षकत्वमा भारत तथा नेपालका प्रसिद्ध कलाकारहरूको जमघट गराई भएको सम्मेलनलाई नेपालको संगीतको इतिहासमा मात्र नभई भारतीय पत्रपत्रिका, लेख, जीवनी, ग्रन्थहरूमा पनि विशेष तथा अविस्मरणीय मानिएको छ ।

यो सम्मेलनको उद्देश्य सामवेदको मर्मज्ञको खोजी गर्ने र गैरहिन्दुको हातमा परिसकेको सामवेदीय परम्पराको संगीत विद्यालाई पुनः आफ्नो हातमा लिनु पनि थियो भन्ने केही विद्वान्को मत छ । यो सम्मेलनमा दिनभर प्राचीन संगीतका अनेकौं ग्रन्थका साथै शास्त्रका विविध पक्षमा चर्चा हुन्थ्यो भने रातभर सांगीतिक कार्यक्रम आयोजना हुन्थ्यो । सम्मेलनले भारतीय संगीतको राग तथा थाट पद्धतिमा भएका कतिपय विषयमा आलोचना गर्दै सर्वसम्मतिले रागरीतिको मेल बन्धनको प्रयास गर्दै वर्तमान रागहरूलाई कल्याण, भैरव, बिलावल, तोडी, सारंग, कान्हणा, मल्लार, कोष, साख तथा श्री गरी १० भागमा वर्गीकरण गरेका थिए ।

सम्मेलनमा आएका सबै विचारलाई समन्वय गरी शास्त्रीय संगीतको एउटा ग्रन्थ तयार गर्ने लक्ष्य राखिएको र त्यसको सम्पूर्ण प्रतिवेदन तयार पार्ने जिम्मेवारी श्री ३ वीरशमशेरले त्यस कालका प्रसिद्ध विद्वान् पं. वीरेन्द्रकेशरी अर्ज्याललाई दिएका थिए । उनले प्रतिवेदन तयार पारेर बुझाएका पनि थिए । तर, यो प्रकाशन हुनुअघि नै वीरशमशेरको असामयिक निधन भएपछि यो जनसमक्ष आउन सकेन ।

यस्तो ऐतिहासिक महत्त्व बोकेको प्रतिवेदन खोजी गर्ने क्रममा यो प्रतिवेदन वीरशमशेरका सन्तानहरूमध्ये दामोदरशमशेरसँग रहेको जानकारी प्राप्त भयो । तर, हेर्न पाइएन । यो प्रतिवेदनको ऐतिहासिक महत्त्वका सम्बन्धमा विभिन्न माध्यमबाट बोध गराउने धेरै लामो प्रयासपछि प्रतिवेदन आफूहरूसँग कुनै समयमा भएको तर अहिले त्यो कहाँ छ भन्ने विषयमा आफूहरू पनि अनभिज्ञ भएको भन्ने अनुत्तरदायी जवाफ प्राप्त भयो । नेपाली शास्त्रीय संगीतको इतिहासलाई नै प्रभाव पार्न सक्ने अनुमान गरिएको त्यस्तो महत्त्वपूर्ण दस्ताबेज नभेटिँदा नेपाली संगीतको इतिहासको एउटा पाटो नै ओझेलमा पर्न गयो ।

बगडी सम्मेलनलाई स्वदेशी तथा विदेशी संगीतप्रेमी तथा कलाकारले ज्यादै महत्त्व दिएका छन् । अद्यापि भारतका कतिपय कलाकार नेपालका महाराजाले गरेको संगीत सम्मेलनमा मेरा बुबा, काका, बाजे, गुरु, उस्ताद आदिले पनि भाग लिएको र यति उपहार पाएको भन्ने कुराहरू सगौरव व्यक्त गर्ने गर्छन् । तर, सम्मेलनसम्बन्धी यथार्थ प्रतिवेदन नपाइएकाले उक्त घटनाको उपलब्धि र महत्त्वबारे जति विश्लेषण गर्नुपर्ने हो, त्यति हुन सकेको छैन ।

प्राप्त प्रमाणबाट बगडी सम्मेलनको घटना सिद्ध भएको भए पनि सम्मेलनको प्रतिवेदन हालसम्म नपाइनुलाई रहस्यमय मानिएको छ । इतिहासमा कहिल्यै नभएको त्यत्रो विशाल सम्मेलन नेपालमा हुनु र त्यो सम्मेलनले शास्त्रीय संगीतको वर्तमान पद्धतिलाई नै चुनौती दिएका कारण शास्त्रीय संगीतलाई आफ्नो मात्र पेवा ठान्ने कतिपय राष्ट्र र त्यसका विद्वान्लाई चोट पुगेको हुन सक्छ । त्यही कारणले पनि त्यो प्रतिवेदन गायब भएको हुन सक्ने पनि कतिपय विद्वान्को अनुमान छ ।

उपहार सुनको सिक्का

तत्कालीन समयमा नेपालमा पुण्य आर्जन गर्ने उद्देश्यले धार्मिक अवसरमा वा खुसीयाली प्रकट गर्न मानिसलाई तौली सो बराबरको सिक्का दान गर्ने प्रचलन रहेको पाइन्छ । सोही प्रचलनअनुसार सम्मेलनमा उत्कृष्ट ठहरिएका उस्ताद रहमत खानसँग अत्यन्तै खुसी भई वीरशमशेरले उनलाई सुनका सिक्काले तौलेर मोतीका मालाका साथै अन्य विशेष उपहार प्रदान गरेका थिए ।

त्यति बेलाको एउटा सिक्काको तौल लगभग २० ग्रामको मान्दा पनि उनलाई प्रदान गरिएको ३ हजार सिक्काको तौल ६० हजार ग्राम अर्थात् ६० किलो हुने जुन एउटा सामान्य व्यक्तिको तौल हुन सक्ने हुँदा सुनको सिक्काले तौलिएको यो प्रसंगलाई सजिलै पत्याउन सकिन्छ ।

(डा. ध्रुवेशचन्द्र रेग्मीको हालै प्रकाशित किताब ‘नेपाली संगीत दरबार : आदिकालदेखि आधुनिककालसम्म’ को अंश)

प्रकाशित : मंसिर १६, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?