कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘पाठकको रुचिमा लेख्नु सांस्कृतिक निरक्षरता’

'नपढ्ने समाजले चिन्तन गर्दैन । चिन्तन नगर्ने समाज सतही हुन्छ, अहिले नेपालमा भइरहेजस्तो । मेरा लागि, सुन्दर कला–साहित्य जीवनका त्यस्ता गहिराइ र उचाइमा पुग्न सक्छ, जहाँ कोरा विद्वता पुग्न सक्दैन ।'
दीपक सापकोटा

नेपाली राजनीति र साहित्यमा ओजिलो विमर्श गरिरहेका विष्णु सापकोटा त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी एमएका गोल्ड मेडलिस्ट हुन् । क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका उनी एक अमेरिकी विश्वविद्यालयमा भिजिटिङ फेलो रहेका छन् ।

‘पाठकको रुचिमा लेख्नु सांस्कृतिक निरक्षरता’

अखबारमा नियमित स्तम्भ लेख्छन्, राजनीतिक विश्लेषकका रूपमा चिनिन्छन् । उनको नयाँ उपन्यास ‘अडिएका पाइला’ हालै प्रकाशित छ । नेपाली आख्यान, पठन र साहित्यिक–बौद्धिकमाथि उनीसँग दीपक सापकोटाको संवाद :

तपाईंले पढ्नुभयो साहित्य, लेख्नुभयो राजनीतिक विश्लेषण । उपन्यास लेखेर बल्ल तपाईं आफ्नै लाइनमा आउनुभयो, यत्ति ढिलो किन ?

मैले अब यसो गर्नुपर्‍यो भन्ने कुनै सचेत निर्णय गरेर, योजना बनाएर नेपालको राजनीतिमाथि लेख्न थालेको थिइनँ । यो स्वस्फुर्त सुरु भएको यात्रा थियो । ‘कान्तिपुर’ भन्दा पहिले, ‘दी काठमान्डु पोस्ट’ र ‘रिपब्लिका’ मा धेरै वर्ष नियमित स्तम्भ लेख्दा मेरा विषय साहित्य, संस्कृति र बौद्धिक इतिहाससँग नै जोडिएका हुन्थे । कहिलेकाहीं विषय राजनीतिक भए पनि ती दैनन्दिनका नीरस घटनाक्रममाथि नभई राजनीतिका प्रवृत्ति र ‘अन्डरकरेन्ट्स’ माथि हुन्थे । ‘अब पनि नेताहरूले बुद्धि नपुर्‍याउने हो भने देशको भविष्य झनै संकटपूर्ण हुने देखिन्छ’ वा ‘नेपाल भूराजनीतिक रूपमा अहिले जति संवेदनशील स्थितिमा कहिल्यै थिएन’ भन्ने जस्ता ‘रिसाइकल’ विश्लेषण लेख्ने रहर मलाई कहिल्यै भएन ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

पछि एक समयमा नेपालको शीर्ष भनिएको राजनीतिक वर्गको बौद्धिक खोक्रोपनसँग म यसरी प्रत्यक्ष साक्षात्कार हुन पुगें कि मलाई त्यो विषय नेपालीमा र ‘कान्तिपुर’ मै लेख्नुपर्छ जस्तो लाग्यो । त्यसरी एक पटक एउटा लेख भनेर सुरु भएको एक घटनाले लामै यात्राको रूप लियो र मेरो सार्वजनिक परिचय त्यसमै बढी जोडिन पुगेको मात्र हो । तर, तपाईंको प्रश्नको ठ्याक्कै उत्तर के हो भने त्यसरी राजनीतिक रूपमा लेख्न थालेपछि मेरा विश्वविद्यालयका विद्यार्थीहरू मसँग खुसी थिएनन् । साहित्य र दर्शनमा त्यतिसारो क्लासमै डुब्ने र कहिलेकाहीं त तैरिनै नजान्ने आफ्नो सरले यस्ता अकर्मण्य राजनीतिकर्मीका सतही कामकुराप्रति कत्ति मन लगाएर लेख्न सकेका होलान् भनेर उनीहरू भित्रभित्र मसँग रिसाए । किनकि हामीले विश्वविद्यालयका क्लासमा यी राजनीति गर्नेहरूका सत्ता–केन्द्रित कामकुरालाई न कहिल्यै सुन्दर देख्यौं, न ठूलो नै ठान्यौं ।

जीवनका अर्थ र अनर्थमा घोत्लिने, कहिलेकाहीं त कल्पनालाई यथार्थभन्दा पनि सत्यको बढी नजिक देख्दै काव्यिक सौन्दर्य परख गर्ने विश्वविद्यालयका हाम्रा क्लासका विमर्शहरू मैले मूलधारमा लेख्ने राजनीतिक सन्दर्भभन्दा गहन थिए । लेख्ने विषय राजनीतिक भए पनि मेरा विश्लेषणका कोणहरू त साहित्य–संस्कृति र बौद्धिक इतिहासका विधाद्वारा नै निःसृत हुन् ।

तैपनि म आजै तपाईंमार्फत मसँग रिसाएका ती विद्यार्थी र साथीहरूलाई भक्तराज आचार्यले गाएका ईश्वर बल्लभका ‘हजार सपनाहरूको’ शब्द उधारो माग्दै भन्छु– ‘अल्झें कहीं त के भो, बाटो भुलेको छैन ।’ तसर्थ, अडिएका पाइला मैले ती पढाएका मात्र होइन, कीर्तिपुर अंग्रेजी विभागलाई मैले धोका दिएर हिँडेपछि पढाउन नपाएका ती हजारौं मानस–विद्यार्थीप्रति पनि मेरो एक श्रद्धाञ्जली हो । ‘अडिएका पाइला’ आउन ढिलो भएको म स्विकार्छु, तर आफ्नो घर न हो, जहिले फर्के पनि के भो त, होइन र ?

तपाईंलाई एउटा प्रश्न– समकालीन नेपाली साहित्यको लेखन धार र पठन संस्कृतिबारे है ! साहित्यका पुस्तकहरू (खासगरी आख्यान) पाठकका रुचिअनुसार लेखिनुपर्छ, तब मात्रै तिनले बजार पाउँछन् भनिन्छ नि ! तपाईंको विचार के छ ?

जानेरै हो कि अन्जानवश नेपालका कतिपय राम्रै लेखकले पनि आफ्नै असम्मान गरिरहेको देख्छु म । एक हिसाबले उनीहरूले साहित्य र कलाकै अपमान गरेजस्तो लाग्छ । उनीहरूले भनेको सुन्छु, लेखकले पाठकको रुचिअनुसार लेख्नुपर्छ, नेपालमा साहित्य धेरै फस्टाउन नसकेको पाठकका रुचिअनुसार धेरै नलेखिएर हो । यसो भन्नु साहित्यको मात्रै होइन पाठक स्वयम्को अपमान हो ।

किनकि साहित्यले पाठकको रुचि जन्माउने हो । पहिले पाठकको रुचि तय भएर त्यसै मुताबिक साहित्य सिर्जना गरिने होइन । दुनियाँको इतिहासमा जति पनि मास्टरपिसहरू छन्, ती पाठकले के चाहेका होलान् भनेर लेखिएका होइनन् । राम्रो साहित्य होस् वा संगीत, त्यसको सिर्जना भएपछि पाठक र श्रोता आफैं बन्ने हुन् । पाठकले त त्यसपछि थाहा पाउने हुन्, मेरो रुचि यो रहेछ भनेर । पाठकले आफूलाई कृतिमार्फत भेट्टाउने हुन्, न कि पाठकको पूर्वनिर्धारित रुचिअनुसार लेखकले आफूलाई भेट्टाउने ।

म यो सबै आफू पनि एक पाठक भएको नाताले भन्दै छु । मेरो रुचिअनुसार मात्रै लेखिएको हुन्थ्यो भने यो दुनियाँका महान् कृति कति नै लेखिएका हुन्थे होला र ? ती मास्टरपिसहरू पढेर–देखेर मैले आफ्नो रुचिको ‘डिस्कभर’ गर्ने हो । त्यसमाथि, सबै कृति संसारका सबै पाठकलाई मनपर्ने हुँदै हुँदैन । हरेक कृतिका आफ्नै विशिष्ट पाठक हुन्छन् । मैले पाठकका रुचिअनुसार लेख्न चाहें भने सबैभन्दा पहिले मैले कस–कसलाई ‘मेरा’ पाठक मान्ने र लेख्न सुरु गर्ने ? खास भन्ने हो, कुनै पेन्टिङ होस् वा कविता वा उपन्यास, प्रायः सबै सिर्जनाको पहिलो अपेक्षित पाठक सर्जक आफैं हो ।

यदि पाठक र दर्शकको रुचिअनुसार कलाको सिर्जना हुनुपर्ने हो भने लियोनार्दो दा भिन्चीले ‘मोनालिसा’ बनाउँथे होलान् र ? कुन चाहिँ दर्शकको रुचिअनुसार बनेको हो त्यो ? अर्को कुरा, गतिलो सिर्जनाले पाठकका संवेदनालाई गहिराइमा पुर्‍याउने हो । मानौं कुनै पाठक एकदम सतही छन् रे, अनि मैले पनि सतही कृति लेखिदिनु ? उनीहरूले जीवनमा सुन्दर ठान्ने विषय मलाई कुरूप लाग्न सक्छ । मैले आफूलाई यान्त्रिक बनाएर, जे बिक्छ त्यही लेख्छु भनेर केबल लेख्नका लागि लेख्ने त ? त्यसरी लेख्नेहरू पनि होलान्, तिनीहरूका आफ्नै बाध्यता होलान् । तर, मेरो विचारमा पाठकको रुचिअनुसार लेख्नुपर्छ भन्नु आफैंमा एक सांस्कृतिक निरक्षरता हो ।

कुनै विषयलाई हेर्न, जीवनको सौन्दर्य र अरूअरू रस परख गर्न जुन गहिराइसम्म म पहिल्यै पुगेको हुन सक्छु, मैले साहित्यमा त त्योभन्दा बढी खोज्छु नि ! त्यसैले न म त्यहाँ जान्छु । साहित्यले आफूलाई अलिकति हल्लाओस्, थोरै रन्थन्याओस् । तब न पढ्नुको मज्जा ! कति बिक्री हुन्छ वा हुँदैन त्यो हेर्नु प्रकाशकको काम होला । कस्तो लेखिए त्यसले बजार पाउँछ त्यो हेर्नु प्रकाशकलाई आवश्यक पनि होला ।

तर, त्यो काम सर्जकको होइन । राम्रो कृति भयो भने त्यसले पाठकसँग आफैं संवाद गर्छ र उसलाई भन्छ– तिम्रो रुचि यो हो । म सिर्जनाले पाठक–श्रोता जन्माउनेमा विश्वास गर्छु । सर्जकले पाठकलाई हेपेर, उसैको रुचिअनुसार लेखिदिनु हुँदैन । पाठकलाई सम्मान गर्ने हो भने उसमा अन्तर्निहित संवेदना छन् भनेर मान्नुपर्छ, जसबारे ऊ अहिलेसम्म अचेत हुन सक्छ, जसलाई कलाले जगाउनेवाला छ ।

सरसर्ती हेर्दा पछिल्ला वर्ष नेपाली साहित्यमा समावेशिताको आग्रह देखिन्छ– कुनै वर्ग–समुदायका विशेष मुद्दालाई प्रतिनिधित्व गर्नुपर्नेजस्तो, मानौं साहित्यको त्यस्तै एक उद्देश्य हुनैपर्छ । यो राम्रै भइराखेको हो ?

होइन । नेपाली बौद्धिक–साहित्यिक विमर्शको वृत्त विगत तीन दशकमा जति फैलिन सक्थ्यो, त्यस्तो नभएकोमा मेरो असन्तुष्टि छ । साहित्यिक सिर्जना जति उन्मत्त र स्वच्छन्द हुन सक्थे, त्यस्तो भएन मात्रै होइन कि त्यस्तो हुनु हुँदैन भन्ने आग्रह हावी भयो । मेरो विचारमा साहित्यले समाजको यथार्थलाई मात्रै प्रतिनिधित्व गरेको हुनुपर्छ भन्नु बरु असमावेशी तर्क हो । सुन्दर कलाचेत भन्नु

स्वयम्मा एक मानवीय आदर्श तहको समावेशिता हो । समावेशी हुने उद्देश्यद्वारा प्रेरित साहित्य आफैंमा असमावेशी हो । ‘सामाजिक यथार्थ’ लाई मात्रै चित्रित गर्ने उद्देश्य राख्दा सौन्दर्यचेत र बौद्धिक स्वायत्तता संकुचनमा पर्छन् । मेरा लागि साहित्य त्यस्तो निश्चित उद्देश्यभन्दा अलि माथिल्लो तहको आदर्श चिज हो । नेपालमा त अहिले जेम्स जोएस नै आएर ‘युलिसस’ उपन्यास लेख्थे भने यस्तो उपन्यासले समाजलाई तत्काल के दिन्छ भनेर सोच्नेहरू प्रशस्तै छन् । किनकि उनीहरूको कलाचेत नै स्वतन्त्र छैन ।

मानौं मार्क्सले नै कल्पना गरेजस्तो साम्यवाद यो संसारमा स्थापित भयो रे ! के त्यसपछि मान्छेले चित्रकला बनाउन छाड्छ ? कविता लेख्न छाड्छ ? उपन्यासमार्फत अर्को संसार सिर्जना गर्न बन्द गर्छ ? मलाई लाग्छ, गर्दैन । मेरा लागि समावेशिता त्यो उच्चतम तहमा हुनुपर्छ, जसले मानिसका सार्वकालिक संवेदनालाई छुन्छ, परिस्कृत गर्छ, झक्झक्याउँछ । हो, कुनै सिर्जनाका लागि देश, काल, परिस्थिति भने पक्कै हुन सक्छ । कलाको परिवेशमा कुनै समुदाय वा वर्ग हुन त सकिहाल्छ । तर, मूल उद्देश्य नै त्यही हुनुपर्छ भन्नु जीवनको सिर्जनासँगको सम्बन्धको आयामलाई नबुझ्नु हो । नेपाली साहित्यमा कताकता त्यो संकुचनको प्रभाव देखिन्छ ।

तपाईंले विदेशी साहित्यका थुप्रै किताब पढ्नुभयो, पुस्तकमा आधारित भएर ‘कोसेली’ मै लामा–लामा समीक्षा–लेखहरू पनि लेख्नुभयो । तपाईंलाई खासगरी कस्ता किताब मन पर्छन् ?

मलाई बाहिरी संसारका घटनामा बुनेर भनिने आख्यानभन्दा मान्छेका मनका पत्र–पत्रमा भएका ‘यथार्थ’ का कथा मन पर्छन् । आमरूपमा बाहिर देखिने तपाईं–हाम्रो जुन सामाजिक व्यक्तित्व छ, मलाई त्यो कम वास्तविक लाग्छ । मानिस वास्तवमा जस्तो हुन्छ, ऊ भित्रभित्र हुन्छ । त्यसैले मलाई अरुन्धती रोय, सल्मान रुस्दी, ग्याब्रिएल गार्सिया मार्खेज, जेम्स जोएस, भर्जिनिया उल्फजस्ता आख्यानकार मन पर्छन् ।

उदाहरणका लागि, तपाईंसँग अहिले यो जे भनिरहेको छु, त्यो पनि एउटा यथार्थ त हो, तर अहिले यो कुरा भन्दाभन्दै मेरो मनमा अरू कति अनगिन्ती कुरा खेलिरहेका छन्, जुन म तपाईंलाई सायद भन्दिनँ, भन्न सक्दिनँ । मेरा लागि सामाजिक रूपमा व्यक्त नहुने मान्छेका मनका संसारका ती कथाहरू बढी वास्तविक, सुन्दर र काव्यिक लाग्छन् । हामी सबै आफ्ना–आफ्ना भित्री संसारहरूमा बाँचिरहेका हुन्छौं जुन बाहिर आउने भनेको कलामार्फत हो । त्यसैले भनिएको होला, ‘यथार्थपरक’ लेखनभन्दा ‘काल्पनिक’ कला–साहित्य सत्यको बढी नजिक हुन्छ ।

म भएभरका किताब जति सबै पढ्नुपर्छ भन्ने पनि ठान्दिनँ । मलाई सुन्दर काव्यचेत भएका र बौद्धिक झिल्काले उज्यालिएका पुस्तक मन पर्छन्, जसले मेरा बौद्धिक पूर्वाग्रहलाई चुनौती दिन्छन्, जसले मलाई थप प्रश्न गर्न कुत्कुत्याउँछन् ।

नेपाली साहित्यिक–बौद्धिक र पढैया वर्गबारे तपाईं के सोच्नुहुन्छ ?

साहित्य कम पढ्ने र गैरआख्यानलाई मात्रै ज्ञान मान्ने नेपाली पढैया वर्गप्रति मेरो एउटा छुच्चो टिप्पणी छ । नेपाली समाजमा जुन पेसागत वर्ग छ, निजी क्षेत्र लगायतको, आम रूपमा उनीहरूको जीवन नै मलाई सौन्दर्यविमुख झैं लाग्छ । म उनीहरूले सोचेको देख्छु– आख्यान वा काव्य पढ्ने भनेको साहित्यिक वृत्तका मानिसले मात्रै हो वा त्यो पढ्ने भनेको कलेज र विश्वविद्यालय पढ्ने बेला मात्रै हो । गैरआख्यान मात्रै पढ्नेको जीवन मलाई शुष्क लाग्छ । जुन पदमा पुगे पनि, जे– जे पेसा अपनाए पनि, जीवनले खोज्ने भनेको सौन्दर्यानुभूति हो, जसको परख गर्ने प्रमुख माध्यम साहित्य र कला हो ।

उदाहरणका लागि, अमेरिकाजस्तो शक्तिशाली देशको दुई पटक राष्ट्रपति भइसके पनि बराक ओबामाले अहिले पनि धेरै पढ्ने आख्यान हो । उनले आनन्द लिने, जीवनबारे घोत्लिने उपन्यास पढेरै हो । धेरै वर्षसम्म संसारको सबैभन्दा धनी मानिस भनेर चिनिएका, माइक्रोसफ्टका संस्थापक बिल गेट्स प्रत्येक वर्षजसो आफ्ना प्रिय पुस्तकको सूची सार्वजनिक गर्छन्, जसमा आख्यान प्रशस्त हुन्छन् ।

जीवनको गहिराइ भनौं कि आफूले बाँचेको समयको चेत, त्यो अभिव्यक्त हुने नै कलामार्फत हो । प्रसिद्ध अर्थशास्त्री अर्मत्य सेन आफ्ना किताबमा कवि, साहित्यकारलाई उद्धृत गरिराखेका हुन्छन् ठाउँठाउँमा । कतिपय प्रसिद्ध वैज्ञानिकहरूले आफ्ना पुस्तकमा ब्रह्मान्ड वा मानव मस्तिष्ककै बारे कुरा बुझाउँदासमेत कविहरूलाई ‘कोट’ गरेका हुन्छन्, उपन्यासकारलाई उद्धृत गरेका हुन्छन् । किनकि त्यहाँ विषयको गहिराइ हुन्छ ।

नपढ्ने समाजले चिन्तन गर्दैन । चिन्तन नगर्ने समाज सतही हुन्छ, अहिले नेपालमा भइरहेजस्तो । मेरा लागि, सुन्दर कला–साहित्य जीवनका त्यस्ता गहिराइ र उचाइमा पुग्न सक्छ, जहाँ कोरा विद्वता पुग्न सक्दैन । गैरआख्यान मात्रै पढ्नेहरू त न मलाई विद्वान् लाग्छन् न त तिनीहरूको जीवनप्रति नै म कुनै ईर्ष्या गर्छु ।

प्रकाशित : मंसिर ९, २०८० १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?