२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

त्रिपालहरूको बस्तीमा

टेलिभिजनको प्रत्यक्ष प्रसारणमा बोल्दै थिएँ, मैदानमा राष्ट्रपतिको हेलिकोप्टर अवतरण भयो । त्यसपछि भूकम्पले तहसनहस बस्ती धुलाम्मे भयो, त्रिपालहरू हावाले उडाइदियो । यो सामान्य दृश्य थिएन । 
रमेश धमला

कात्तिक १७ को राति जाजरकोटमा गएको भूकम्पको खबर छिनभरमै व्यापक फैलिसकेको थियो । १८ गते बिहान मृतक–घाइतेको संख्या आइरहेको थियो । क्यामेराम्यान श्याम श्रेष्ठ र म कान्तिपुर टेलिभिजनका लागि रिपोर्टिङ गर्न जाजरकोट जान तयार भयौं । 

त्रिपालहरूको बस्तीमा

काठमाडौंबाट उडानमा नेपालगन्ज पुग्यौं र त्यहाँबाट ६ घण्टाको गाडी यात्रापछि जाजरकोट । जाजरकोट सदरमुकाम खलंगा पुग्दा रातको ८ः३० बजिसकेको थियो, झमक्कै अँध्यारो भएको थियो ।

भूकम्प–प्रभावित अधिकांश सडकमै रात बिताउने तयारीमा थिए । राति ११ बजेको ‘कान्तिपुर’ समाचारमा प्रत्यक्ष प्रसारणको तयारी भयो । भूकम्पको पीडासँगै बारम्बारको परकम्पले त्रास थपिरहेकै थियो । चिसो सिरेटोमा कोही आगो ताप्दै थिए ।

१९ गते बिहान, ६ बजे । भेरी नदीको चिसो सिरोटो । १ सय ३० घर भएको रावत गाउँको बस्ती उजाड थियो । घरहरूको कुनै पनि अस्तित्व बाँकी थिएन । बाटोछेउको त्रिपालमा रुवाबासी थियो । उर्मिला राउतको आँसु थामिएको थिएन । भूकम्पले परिवारकै ६ जनाको ज्यान लियो । ९ र २ वर्षका दुई छोरा भूकम्पले लग्यो । न घर, न काख । घर चलाउन खाडी पुगेका श्रीमान् आउने टुंगो थिएन । घरमै बहिनीका ७ वर्षका छोरा र ५ वर्षकी छोरीको मृत्युले अब सकिन बाँकी केही थिएन । बहिनी चन्द्रकलाका श्रीमान् पनि विदेशै थिए । रुकुमबाट घरमा पाहुना लाग्न आएका अन्य दुईको पनि त्यहीं ज्यान गयो । सशस्त्र प्रहरीको टोली घरको भग्नावशेष हटाउँदै थियो ।

अधिकांश पुरुष घरमा थिएनन् । गरिबीले थिचिएको जीवन चलाउन कोही भारत, कोही मलेसिया र कोही दुबई थिए । कालीबहादुर रावत र खिउरी रावत (आमा–छोरा) को देहलीला एकैठाउँ समाप्त भयो । कसैको घर सग्लो थिएन । भूकम्पको दुई दिनपछि सुन्तली विक र ४ वर्षीय मनबहादुर लोहारको शव उठाउने तयारी भइरहेको थियो, बिहान ९ बजे । कसैले कसैलाई सम्झाउन सक्ने अवस्थै थिएन । एकातिर हजुरआमाको शव, अर्कोतिर छिमेकी नातिको । पीडाले भावविह्वल रावत गाउँको त्यो पीडा क्यामेरामा कैद गर्नुपर्ने बाध्यात्मक अवस्थाले हाम्रो मन अमिलो भइरहेको थियो । जब चन्द्रबहादुर लोहारले नातिको शव हातमा उठाएर घाटतिर लगे हाम्रो आँसु थामिएन । सम्हाल्ने सबै विदेश भएपछि महिला र वृद्धहरू आँसुको पोखरीमा थिए ।

राउत गाउँमाथि अर्को बस्ती छ– कुलचौर । बाहिरबाट घरहरू सग्लै देखिन्थे, तर बस्नलायक कुनै थिएनन् । गाउँभरि नै शोक व्याप्त थियो । पुरै टोल सुनसान, शव जलाउन गएकाहरू घाटमा थिए । घरको धुरी भत्किएर मोहन विकको घरमा ६ जनाको ज्यान गएको थियो ।

मलेसियामा रहेका दाइको परिवारमा कोही बाँकी थिएनन् । भाउजू र छोराछोरी सबैको मृत्युको खबर पाएका दाइले अन्तिम पटक उनीहरूको अनुहार हेर्छु भनेपछि शव जिल्ला अस्पतालमै थियो । आफ्नै छोरी पनि गुमाएका मोहनले बहिनीलाई पनि बचाउन सकेनन् । ‘गाउँमा युवाहरू कोही छैनन् । मेरै दाइ पनि परिवारका लागि विदेश गएका अब घर परिवार केही नै नरहेपछि कसरी बाँच्ने ?’ मोहनले भनेका थिए । सबै नातिनातिना गुमाएकी हजुरआमा आँगनको छेउमा बसेर रोइरहेकी थिइन् ।

टोलमा बालबाालिकाको अनुहारले भविष्य खोजिरहेको छ, तर निश्चित छैन । सबै पीडामा छन्, साथ दिने कोही छैन । ओत लाग्ने कुनै छानो बाँकी छैन । कसैले त्रिपाल ल्याइ पो दिन्छन् कि ? सबैका आँखा बाटोतिरै छ । कठ्यांग्रिँदो चिसोमा बालबालिकालाई कसरी जोगाउने ? के खान दिने ?

२० गते बिहानै लागियो रुकुम पश्चिमको आठबिसकोटतिर । भेरी नदीले जाजरकोट र रुकुमलाई त छुट्याएको छ, तर भूकम्पले छुट्याएन । भेरीको पारि छ रुकुम पश्चिमको आठसबिसकोट । हामी पुग्यौं छेपारे टोल । घरहरूको कुनै अस्तित्व छैन । पुरिएको भग्नावशेषभित्र पैसा र आवश्यक कागजात खोज्दै थिए महेश्वर जैसी, श्रीमती टीका नागरिकता । समयमा उद्धार टोली आइपुगेकाले बाँचे । तर, अब घर कहिले बन्छ ? भूकम्पको एक धक्काले तहसनहस भएको जीवन कहिले लयमा फर्किन्छ ? टुंगो छैन ।

छेउमै निर्मला शर्माको अवस्था पनि उस्तै थियो । रोजगारीका लागि श्रीमान् दुबईमा छन् । भुइँचालोले घरमा केही बाँकी राखेन । घरबासै नभएपछि छोरा र छोरीलाई कहाँ राख्ने ? उनीसँग विकल्प नै छैन । बिना विक डोजरले घरको भग्नावशेष पन्छाउँदै गर्दा एउटा बाकस भेटिएला कि भन्दै खोज्दै थिइन् । छेपारे टोलमा २१ लहरै थिए, अहिले ती घरको कुनै अस्तित्व छैन ।

देब्रेतिर सरस्वती जैसीको जीवन पनि एक्लो भएको छ । सँगै सुतेका २ नातिनी र एक नातिलाई भूकम्पले खोस्यो । रोजगारीकै लागि भारत गएका माइलो छोराको कोही बाँकी छैन । २ छोरी र एक छोरासहित श्रीमती पनि गुमाए । तर, घरमा काजकिरिया गरिदिने कोही नभएपछि साइलो बुवा पृथ्वी जैसीले कर्म गरिदिएका छन् । टोलमा कसैको घर बाँकी छैन । कहाँ गएर रात बिताउने ? जीवन कसरी चलाउने ?

रुकुम पश्चिमबाट भेरीको पुल तरेपछि आउँछ जाजरकोटकै नलगाड नगरपालिका । सबैभन्दा बढी क्षति यहीं भएको छ । वडा नम्बर १ स्थित चिउरी गाउँ जहाँ एकै टोलका १३ जनाको इहलीला समाप्त भयो । कच्ची बाटो अत्यन्तै जोखिमपूर्ण छ । पुग्नै कठिन । केही संस्थाले लगेको राहतमा पनि राजनीति चलिरहेको थियो । १ सय ८६ घर रहेको चिउरी गाउँमा कुनै सग्लो छैन । हस्तबहादुर विकको परिवारमा छोरा भीमसेनसहित ३ जनाको ज्यान गएको थियो । हिरे विकको घरमा चार जनाको ज्यान गयो ।

सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भने पनि तीन दिनसम्म न्यूनतम त्रिपालसमेत पठाउन सकेको थिएन । नेपाल प्रहरीका ५ सय २०, सशस्त्र प्रहरी बलका २ सय ६३ र नेपाली सेनाका ३ सय ४५ जनशक्ति उद्धार र राहत वितरणमा परिचालन गरिएका थिए । विभिन्न संघसंस्थाहरूले राहत ल्याएर दिए पनि कुन ठाउँमा बढी पीडित छन्, कहाँ मृतकहरूको परिवार, बालबालिका र सुत्केरी जोखिममा छन् त्यसको यकिन तथ्यांक थिएन । स्थानीय तहसँगको समन्वय गर्नु थियो । तर हरेक घरले राज्यको साथ खोजिरहेका बेला पनि राजनीतिक पार्टीको असली स्वरूप त्यहाँ पनि देखियो ।

ऊर्जामन्त्री शक्ति बस्नेत राहत वितरण स्थलमै बस्थे । पीडित भनिएका गाउँहरूबाट वडाध्यक्षहरू राहतका लागि जम्मा पनि भएका थिए । भूकम्प गएको चार दिनपछि राष्ट्रपति जाने दिन हामीले मन्त्री बस्नेतलाई कति राहत पुग्यो भनेर सोध्यौं । जिल्ला व्यवस्थापन समितिबाट वितरण भएको राहतको सूची हामीले प्राप्त गरिसकेका थियौं, जसमा जिल्लाभरि ६६ सय थान मात्रै त्रिपाल वितरण भएको तथ्यांक थियो । तर, मन्त्री बस्नेत ५० देखि ६० प्रतिशतमा राहत पुगिसकेको झूटो जवाफ दिँदै थिए । ठूला नेताले छानीछानी आफ्ना कार्यकर्तालाई मात्रै राहत वितरण गरेको पीडितहरूको आक्रोश छताछुल्ल थियो ।

जब राष्ट्रपतिको हेलिकोप्टर आयो

राष्ट्रपति रामचन्द्र पौडेल आउने भनेपछि अघिल्लो साँझदेखि नै जिल्लाका सुरक्षा प्रमुखहरूको बैठक चलिरहेको थियो । चिसोमा पीडितलाई त्रिपालसमेत दिन नसकिरहेका बेला राष्ट्रप्रमुखको भ्रमणले भूकम्प पीडितहरूका लागि गर्नुपर्ने काम लगभग सबै ठप्प जस्तै भयो । सुरुमा राष्ट्रपति पौडेल ९ बजे आउने भनिएको थियो । सुरक्षाकर्मीहरूले त्यही अनुसार तयारी गरे । राष्ट्रपतिको हेलिकोप्टर त्यही अवरतण गर्दै थियो, जहाँ जिल्लाभरका लागि राहत वितरण केन्द्र स्थापना गरिएको थियो । पीडितहरूका लागि टेन्टको व्यवस्था मिलाइएको थियो । अब ती सबै हटाउनुपर्ने भयो ।

भूकम्प गएको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल पुगेकै थिए । ऊर्जामन्त्री शक्ति बस्नेत त्यहीं थिए भने उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्का, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासम्मको लर्को लागेकै थियो । राहत ओसार्नुपर्ने सेनाको हेलिकोप्टरलाई मन्त्री र नेता ओसार्नै भ्याइनभ्याई थियो । राष्ट्रपति आउने भएपछि कर्मचारीदेखि सबै सुरक्षाकर्मी सदरमुकाममै केन्द्रित भए । पौडेलको सुरक्षा तयारीमा लागेका नेपाली सेना र प्रहरीका केही अधिकृतलाई अनौपचारिक सोधें– के अहिले राष्ट्रपतिको भ्रमण जरुरी थियो ? अलि पछि भएको भए राम्रो हुने उनीहरूको जवाफ थियो । राष्ट्रपतिको भ्रमणमा सेनाका २ हेलिकोप्टर प्रयोग भए । सेनाको एमआई १७ हेलिकोप्टर, जुन हेलिकोप्टरले एक पटकमा ३ हजार किलोसम्म सामान बोक्न सक्छ ।

२१ गते मध्याह्न १२ बजे राष्ट्रपति पुग्दा चउरमा राखिएका सबै टेन्ट हटाइए । राहत वितरणमा जानुपर्नेहरू मैदानमा पानी हाल्न थाले । प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी र सेनासहित सुरक्षा निकायका प्रदेश प्रमुखहरूसमेत सबै राष्ट्रपतिकै स्वागतमा तैनाथ भए । टेलिभिजनमा समाचारका लागि १२ बजे नै प्रत्यक्ष प्रसारणका लागि बोल्ने तयारी गर्दै थिएँ । मैदानबाट जब बोल्न थालें, राष्ट्रपतिको हेलिकोप्टर पछाडि आयो । सबै बस्ती धुलाम्मे भयो, त्रिपाल हावाले उडाइदियो । त्यो सामान्य दृश्य थिएन ।

राष्ट्रप्रमुखले विपद्मा परेका नागरिकको अवस्था बुझ्नु स्वाभाविकै हो । तर, अवस्था जुन थियो, त्यसले बोझ थपिरहेको प्रस्ट हुन्थ्यो । त्यो विकट क्षेत्रमा हेलिकोप्टरबिना अर्को विकल्प थिएन । केही दिन सरकारले तत्काल आवश्यक राहत दियो कि दिएन त्यसको जानकारी लिएर अभिभावकका रूपमा २ सातापछि राष्ट्रपति सरकारकै काम हेर्न र पीडितलाई सहानुभूति दिन जान सक्थे ।

सुर्खेतमा सेनाले आफ्नो हवाई बेस बनाएको थियो, जहाँबाट कर्णालीका जिल्लामा उडान भर्ने गर्छ । १७ गते गएको भूकम्पमा पनि सेनाका पाँचवटै हेलिकोप्टर सुर्खेतबाट जाजरकोट र रुकुम पश्चिमै उद्धारका लागि केन्द्रित थिए । तर, भौगोलिक विकटताका कारण सडकबाट तत्काल राहत लैजान सम्भव थिएन । गाउँहरू टाढाटाढा छन् । एउटा गाउँबाट अर्को गाउँमा पुग्न ७ घण्टासम्म लाग्न सक्छ । त्यो क्षेत्र भूकम्पको जोखिममा छ भन्ने विज्ञहरूले भनिरहेकै थिए । तर, केन्द्रदेखि प्रदेश सरकारसम्मले तत्काल एक लाख थान त्रिपालसम्म पुर्‍याउन सक्ने हैसियत किन भएन ?

सुरक्षा निकायले तत्काल आफ्नो जनशक्ति परिचालन गरेर उद्धारको काम त गरे । त्यसपछि चाहिने साधन उनीहरूसँग थिएन । उद्धारमा खटिने सुरक्षाकर्मीहरूको हातमा सामान्य पञ्जासमेत थिएन ।

भूकम्पले ढलायो, अब कसरी उठाउने ?

जाजरकोट लगभग ढलेको छ, सदरमुकामका एकाध पक्की घरबाहेक । जाजरकोटमा २४ हजार ७ सय ७ घर पूर्ण रूपमा क्षतिग्रस्त छन् भने ९ हजार ७ सय ९४ मा आंशिक क्षति पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार, रुकुम पश्चिममा १६ हजार ७ सय ७० घर पूर्ण रूपमा र १० हजार घरमा आंशिक क्षति पुगेको छ । ढलेका यी बस्ती उठाउन सजिलो छैन । गाउँमा आवश्यक जनशक्ति छैन । विकट स्थानसम्म निर्माण सामग्री कसरी लैजाने ? सरकारले दिएको रकमले मात्रै ती स्थानमा पुनर्निर्माण सम्भव छ ? यी सबै कुराले जाजरकोट र रुकुम पश्चिमको आगामी दिन देखाउनेछ ।

(लेखक कान्तिपुर टेलिभिजनका सुरक्षा संवाददाता हुन्)

प्रकाशित : मंसिर ९, २०८० १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?