ओ, जेरुसलेम !

ओ, जेरुसलेम !
तिम्रै माटोमा मान्छेले
सुनेको हो मानवताका आद्य पदचापहरू
रचेको हो सभ्यताका प्राचीन आलेख
जिउँदै टाँगिएर रक्तरञ्जित क्रसका किलाहरूमा
रोपेको हो आस्थाका अजम्मरी बीउहरू
बिस्तारै बिस्तारै अग्लिँदै गएका हुन्
धार्मिक विश्वासका पवित्र र प्रेरक स्तम्भहरू,
आस्थाहरूका जीवनदायी वृक्षहरू !

हज्जारौँ वर्षको भर्भराउँदो इतिहासमा
पटक-पटक
युद्धको हिंस्रक विभिषिका झेल्न अभिशप्त
तर किवदन्तीको अग्निपन्छी फिनिक्सझैँ
प्रत्येक ध्वंपछि पुन: जीवित हुँदै
नयाँ रूप, यौवन र ऊर्जाले प्रदीप्त ।
ओ, जेरुसलेम !
आज फेरि निस्सासिरहेको छ मानवता
यिनै स्तम्भहरूले घेरिएको पर्खालभित्र
स्वच्छ हावा हैन
फैलिइरहेको छ यी वृक्षहरूबाट
वायुमण्डलमा विषाक्त बारुदको आतंक !
र तिम्रो वरिपरि धरतीमा बगिरहेछ
पानीको सट्टा रगत !
तिमीभन्दा अलि पर रहेको गाजा बस्तीमा
गोलाबारीले क्षतविक्षत भएर
भग्नावशेषको थुप्रोले थिचिएको,
यो बालकको आँखामा गहिरिएर हेर,
र भन,
यो यहुदी हो? यो इसाई हो ? कि मुस्लिम हो ?
भन, उसको अपराध के थियो?
यो माटोमा जन्मिनासाथ उसलाई
आतंकको सास लिनुपर्ने स्थिति
कसले सिर्जना गर्यो ?
आफ्नै देशमा शरणार्थी बन्न
कसले बाध्य बनायो ?
कसले उसमाथि युद्ध थोपर्यो ?
र उसका निर्दोष सपनाहरूको हत्या गर्यो ?
औषधि, पानी, खाना र इन्धन
जानाजान र खुलेआम
ब्लकेड गरेर वर्तमानमा कसले लेखिरहेको छ,
यो अकल्पनीय क्रुरताको नवीन आलेख
आदिम बर्बरताको यो आधुनिक अभिलेख ?
ओ, जेरुसलेम!
नाजी कन्सन्ट्रेसन क्याम्पको
क्रुरतम अत्याचार झेलेका यहुदीहरू ,
यो भूमण्डलमा कतै पनि, कुनै पनि,
जमिनको टुक्रालाई देश भन्न नपाएका तिनै यहुदीहरू
यही ममतामयी माटोमा आश्रय खोज्न आएका होइनन् ?
यही करुणामयी भूमिमा आश्रय पाएका होइनन् ?
तर आश्रितहरूले टुक्रा-टुक्रा चपाउँदै
आश्रयदाताहरूको माटो निले,
हातमा अत्याधुनिक हतियार थियो
पिठ्युँमा महाशक्तिको धाप थियो
त्यसैको आडमा,धर्मग्रन्थको हकदाबीको आधारमा
जबर्जस्ती संगिनको टुप्पोले सीमारेखा कोरे ।
बिर्सेर आफ्नै अतीत
मेटामर्फोसिस हुँदै, बन्दै उत्पीडक राज्य
हिजोको उत्पीडित जाति, कोरिरहेको छ आज
उत्पीडनको एउटा अर्को क्रुरतम इतिहास !
हो, निन्दनीय छ हिंसात्मक हमास
तर विश्व साक्षी छ, ओ, जेरुसलेम !
त्यही क्रुरताको गर्भबाट बारम्बार जन्मिरहन्छ
नयाँ-नयाँ अवतारमा हमास।
तिमी भन्दा धेरै टाढा रहेको यो देशमा
तिम्रो पीडाको नदी बग्दैबग्दै हाम्रो समीप आउँछ,
हामीलाई लफ्रक्कै भिजाउँछ,
र हाम्रो आसपास हावामा सुसाउँछ
गाजाको बालकको आँखाबाट खसेको आँसु
हाम्रो अनुहारमा आँसुका डोब भएर बग्छ
तिम्रो सुस्केरामा मिसिएको छ हाम्रो पनि वेदना
युद्धोन्मादका बमवर्षाबीच
तिमीसँगै उभिएर गरिरहेका छौँ हामी पनि
सद्भाव र शान्तिको प्रार्थना ।
फिलिस्तिनीहरूको न्यायोचित मागको पक्षमा
सगरमाथाझैँ अविचल छ हाम्रो पक्षधरता,
तर यो पनि सत्य हो कि
देख्तैनौ हामी इज्रायली र फिलिस्तिनी आँखाहरूबाट बग्ने
नुनिला आँसुहरूबीच कुनै भिन्नता ।
विश्वका अन्य देशहरूझैँ यो देशका मान्छेहरू
तिमीतिर निर्निमेष हेरिरहेछन्
र तिमीलाई गर्ने प्रश्न
आफैंसित पनि गरिरहेछन्
कैयौं शताब्दीअघि अँगालेर सद्भाव र सहअस्तित्व
तिम्रै माटोले गरेको हो बर्बरयुगको उपहास
यो कहाली लाग्दो समयमा
ओ, जेरुसलेम !
सक्दैनौ र तिमीले दोहोर्याउन
अतीतको आफ्नो त्यो गौरवशाली इतिहास ??
प्रकाशित : कार्तिक २५, २०८० ०९:००