कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

लेन्स @ रणभूमि

बालबालिकाका खेलौना भुइँभरि छरपस्ट देखिन्थे । मेरा निम्ति यो एकदमै दुर्लभ र दु:खद अनुभूति थियो । म यता हमासले मान्छे मारेको गाउँको तस्बिर खिचिरहेको थिएँ, उता बेलाबेला गाजामा इजरायलले हानेको बमको आवाज आइरहन्थ्यो– डड्याम्म डड्याम्म ।
तस्बिर/शब्द: प्रकाशचन्द्र तिमिल्सेना

एउटा खबरले मथिङ्गल हल्लायो । अक्टोबर ७ को त्यो घटना वास्तवमा दु:स्वप्नै थियो । र, म त्यो दु:स्वप्नको साक्षी बन्दै थिएँ । दुई दिनअघि मात्रै हमासका लडाकुले हत्या गरेका थिए– १० नेपालीसहित हजारभन्दा बढीको । एक नेपालीसहित दुई सयभन्दा बढी बेपत्ता थिए । 

लेन्स @ रणभूमि


मारिएका नेपालीका परिवारको तातो आँसु बगिरहेकै बेला, नेपाली युवालाई उद्धार गरेर सरकारले स्वदेश ल्याइरहेका बेला हामी जाँदै थियौं– युद्ध क्षेत्रतर्फ । हामी थियौं– होम कार्की, श्याम श्रेष्ठ र म ।

कान्तिपुर नेतृत्व हामीलाई हौस्याउँदै थियो, ‘नेपालीजनको ठूलो क्षति भएको छ, यस्तो बेला उनीहरू बसेको ठाउँबाट रिपोर्टिङ गर्नु हाम्रो आधारभूत कर्तव्य हुन्छ ।’ यसअघि नेपालीहरू ‘वार–रिपोर्टिङ’ का लागि विदेशी भूमि पुगेको सुनेको थिइनँ र यो हाम्रा लागि एउटा चुनौती थियो ।

प्रस्ताव आएपछि मैले धेरै नसोचीकनै इजरायल जाने निर्णय गरें । एक फोटो पत्रकारका लागि जोखिमयुक्त र द्वन्द्वग्रस्त क्षेत्रमा पुगेर रिपोर्टिङ गर्नु एउटा कठोरतम अवसर थियो ।

तर हाम्रो यात्रा सुरु नहुँदै कठिन मोडमा पुग्यो । किनकि इजरायली दूतावासले भिसाका लागि बिमाको कागज माग्यो । एउटा बिमा कम्पनीले इन्कार गर्‍यो, अर्कोले, अनि अर्कोले । सुरुमा ख्यालख्याल गर्दागर्दै कुनै पनि बिमा कम्पनीले इजरायलका लागि ‘ट्राभल इन्स्योरेन्स’ गर्न मानेनन् ।

बिमाबिना यात्रामा निस्कनु हाम्रा लागि पनि मूर्खता थियो । त्यस्तो मूर्खता हामीले गर्न सक्थ्यौं, तर इजरायली दूतावासले भिसा दिने कुरै थिएन । निकै मिहिनेत गर्दा पनि पहिलो दिनको कार्यालय समय सकियो ।

दोस्रो दिन एउटा कम्पनीले बिमा गरिदिने भनेको थियो, तर उसको रि–इस्योरेन्स कम्पनीले अस्वीकृत गरेको खबर आयो । अर्को दिन पनि कार्यालय बन्द हुने बेलासम्म अनिश्चित थियो । अन्तिममा कसैले जोखिम मोलेर हाम्रो बिमा गरिदियो ।

बिमा भयो, भिसा पनि भयो । तर व्यापार गर्ने बिमा कम्पनी पनि डराएको देख्दा हाम्रो डर पनि बढ्यो । तर यो डर न ‘अफिस’ मा देखाउन मिलेको थियो, न घरमा भन्न मिलेको थियो । बुवाआमालाई भन्नै सकिनँ । सबै सामान प्याक गरेपछि श्रीमतीलाई भनें, ‘इजरायल जाँदै छु ।’ न उनी बोल्न सकिन, न म । घरबाट निस्कँदा भावुक श्रीमतीले भनिन्, ‘आफ्नो ख्याल राख्नु । यू आर ए ब्रेभ म्यान !’

घरको भन्दा कडा ‘अध्यागमन’ विमानस्थलमा थियो । अध्यागमनले हामीलाई रोक्यो । सरकारले जारी गरेको ‘एड्भाइजरी’ देखाउँदै अधिकारीहरूले भने– यो बेला इजरायल जान निषेध गरिएको छ ।’

त्यो हामीलाई थाहा नहुने विषय भएन, समाचार हामीले नै लेखेका थियौं । ‘तर इजरालयमा द्वन्द्व छ, जोखिम छ भनेर कसरी थाहा पाउनुभयो ?’ अब प्रश्न गर्ने पालो हाम्रो थियो । अधिकारीले सहजै जवाफ दिए, ‘त्यो त मिडियामा समाचार आइरहेको छ नि ।’

अनि हामीले पनि भन्यौं, ‘तपाईंले जस्तै सबै अध्यागमनले पत्रकारहरूलाई भ्रमणमा निषेध गरे भने समाचार कहाँबाट आउँछ ? ती पत्रकारको पनि देश छ, परिवार छ, अध्यागमन र सरकार छ, तर पनि रिपोर्टिङमा छन् ।’

यति भनेपछि मौखिक विवाद गर्नुपरेन । उनीहरूले हाम्रा अगाडि कागज तेर्स्याए । विषय अब लिखितममा पुग्यो । ‘आइपर्ने जस्तोसुकै परिस्थितिको जिम्मेवार म स्वयम् र मेरो संस्था हुनेछ ।’ हस्ताक्षर गरेपछि बाटो खुल्यो, तर मन भारी भयो ।

...

अक्टोबर १४ । तेलअभिभ याफोको, बेन गुरियन अन्तर्रास्ट्रिय विमानस्थल । सुनसान थियो । मनमा फेरि विचारका अनेक बादल तँछाडमछाड गर्न थाले । विमानस्थलबाट ट्याक्सीमा योफास्थित रेसिडेन्सी २६ होटेल जाँदै गर्दा केवल देखिन्थ्यो– पुलिस र इमर्जेन्सी गाडी । बाटो थियो सुनसान । सडकमा फाट्टफुट्ट मात्रै गुडिरहेका थिए प्राइभेट गाडी ।

आधा बाटो पुगेपछि अचानक साइरान बज्न थाल्यो । ट्याक्सी ड्राइभरले गाडीबाट ओर्लेर सुरक्षित स्थलतिर जान भने । मान्छेहरू गाडीबाट ओर्लेर सडकमा भयभीत कुदिरहेका थिए । के गर्ने ? के नगर्ने ? एकैछिनमा कानको जाली र मुटु फुट्लाझैं गरी ड्याम्म पड्कियो । बाटोको पर्खालछेउमा उभिइरह्यौं– साइरन बजिन्जेल । होटेल पुगेपछि बल्ल मन हल्का भयो किनकि नेपाली साथी भेटिए– टंक तिमिल्सिना, त्यहीँ काम गर्दारहेछन् । टंकले सुझाए– साइरन बजेपछि बंकरभित्र छिर्न । तर बंकर हामीलाई थाहा हुने कुरै भएन ।

धेरैलाई पनि लाग्छ, लडाइँ त गाजामा हो, इजरायल सुरक्षित छ । हो, हमासका लडाकुले हानेका धेरैजसो रकेट इजरायली ‘आइरन डोम’ ले निस्तेज बनाउने हुनाले क्षति कम हुने रहेछ । तर एकै पटक धेरै रकेट आएपछि प्रतिरक्षा प्रणाली पनि असफल हुँदो रहेछ, जसरी ७ अक्टोबरको दिन भएको थियो । एकै बिहान १४ जना मारिएका थिए ।

हामी तेलअभिभ पुगेकै दिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि त्यहीं थिए । उनी इजरालयका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग एउटा कार्यक्रममा थिए । सुरक्षाकर्मीलाई खबर आयो, ‘गाजापट्टीबाट रकेट आइरहेका छन्, निसाना यतै छ ।’ उनीहरूलाई तुरुन्तै बंकरमा लगियो । यो भिडियो संसारभर प्रसारण भयो, हामीले पनि समाचार हेरेरै थाहा पायौं ।

अफिसबाट निरन्तर भनिएको थियो, ‘जसरी पनि बुलेट प्रुफ ज्याकेट र हेल्मेट किन्नू, सुरक्षा प्रोटोकलमा कुनै सम्झौता नगर्नू ।’ त्यसो त यी ‘सेफ्टी गेयर’ हामीले काठमाडौं र दुबईमा पनि किन्न खोजेका थियौं तर पाएनौं । इजरायलमा पनि ती सुरक्षा कवच पाउन सकस भयो । अहिले इजरायलमा द्वन्द्वले यी सामानको खपत निकै बढेको रहेछ । एकातिर सुरक्षा कवचको व्यवस्था गर्ने, अर्को ‘गभर्मेन्ट प्रेस अफिस’ को प्रेस कार्ड लिनैपर्ने । यी दुवै काममा हाम्रो महत्त्वपूर्ण समय खपत भइरहेको थियो । युद्धमा भएको समाजले सबै विषयमा सहयोग गर्न सक्ने कुरा पनि भएन ।

अक्टोबर १७ मा कार्ड बनेपछि हामी अन्तर्राष्ट्रिय पत्रकारहरूको समूहमा मिसिन पाउने भयौं । अब, पुग्नु थियो– नेपाली मारिएको ठाउँ अलुमिम किबुज । तर, हामीलाई त्यहाँ पुर्‍याउने कुनै माध्यम भेटिएको थिएन । नेपाली दूतावासबाट भनियो– यस्तो बेला नआएको भए हुने ! मेरो फेसबुकका साथी जित तामाङमार्फत इजरायली साथी माओर भर्निकसँग सम्पर्क भयो । उनले ट्याक्सी चालक योरम अजरदसँग सम्पर्क गराइदिए र हामीलाई अलुमिम किबुजतर्फ लग्न तयार भए ।

त्यही दिन (अक्टोबर १८) अमेरिकी राष्ट्रपति जोन बाइडेनको इजरायल भ्रमण थियो । ‘जीओपी’ को कार्ड भएकाले हामीलाई खबर आयो– राष्ट्रपति बाइडेनको पत्रकार सम्मेलनमा तपाईंहरूलाई पनि आमन्त्रण छ ।

अब हामीसँग दुई विकल्प थिए, अमेरिकी राष्ट्रपतिको कार्यक्रम कभरेज गर्ने कि नेपाली मारिएको ठाउँ अलुमिम किबुज जाने ? हामीले दोस्रो विकल्प रोज्यौं ।

राष्ट्रपतिको भ्रमणले बाटो जाम थियो । हामी नेटिभोत, शुभ पुग्यौं, जुन गाजा नजिकै पर्छ । यही ठाउँ रहेछ, जहाँ अक्टोबर ७ को हमास आक्रमणबाट घाइते भएका नेपालीलगायत अरूलाई राखिएको थियो ।

७ अक्टोबरमा जसरी वारि आक्रमण भयो, त्यसपछि लगातार पारि गाजापट्टीमा बम खसिरहेका थिए । प्यालेस्टाइन सीमापार जान सम्भव थिएन । तर इजरायलले प्रहार गरेको हवाई हमलाबाट उठेको धूवाँ उडिरहेको थियो, विस्फोटको निरन्तर आवाज र त्यसले मानवजीवनमा गराएको क्षतिको अनुभूतिले मन विरक्त भइरहेको छ ।

अक्टोबर १९ मा इजरायल सरकारका प्रतिनिधि र नेपाली राजदूतले हमासद्वारा मारिएका ४ नेपालीको अन्तिम श्र्रद्धाञ्जली कार्यक्रम राखिएको रहेछ । नेपालीका शव राखिएका कफिन बाहिर ल्याइयो, अधिकारीहरूले श्रद्धाञ्जली दिए । हामीले समाचार बनायौं, कान्तिपुर दैनिकमा अर्को दिन तस्बिरसहित अर्को मुख्य समाचार छापियो ।

त्यसपछि हामी किबुजको अर्को क्षेत्रतिर गयौं । एक घण्टाको यात्रापछि पूरै सुनसान बाटोमा पुगियो, जहाँ फौजी गाडी मात्रै देखिन्थे । नजिकै कुनै बस्ती थिएन, वरिपरि मरुभूमिजस्तो अनकन्टार ! लगभग दुई घण्टाको यात्रापछि ‘आर्मी जक्सन’ पुगियो । त्यहाँ अन्तर्राष्ट्रिय पत्रकार निकै थिए । डरैडरमा हामी किबुजतिर लाग्यौं, जहाँ हमासले १०० जनाको हत्या गरेको थियो ।

हामी अन्तर्राष्ट्रिय पत्रकारहरू सँगै मिसियौं । फोटो खिच्दै बस्तीभित्र छिरें । प्राय:जसो सबै घर जलेका थिए । केही घर फुटाइएको थियो । घरका सबै समान असरल्ल थिए । बालबालिकाका खेलौना भुइँभरि छरपस्ट देखिन्थे । मेरा निम्ति यो एकदमै दुर्लभ र दु:खद अनुभूति थियो । म यता हमासले मान्छे मारेको गाउँको तस्बिर खिचिरहेको थिएँ, उता बेलाबेला गाजामा इजरायलले हानेको बमको आवाज आइरहन्थ्यो– डड्याम्म डड्याम्म ।

फोटो खिच्दै गर्दा रोबर्ट कापाको सम्झना आयो । उनले कुन हिम्मत जुटाएर खिचेका थिए होलान् फलिङ सोर्ल्जस (गोली लागेर ढल्दै गरेका सिपाही) को तस्बिर ! रोबर्ट कापाले सन् १९३६ मा ‘स्पेनिस सिभिल वार’मा खिचेको फलिङ सोल्जर्सको फोटो बहुचर्चित बनेको थियो ।

अक्टोबर २० मा नेपाल फर्किने तयारी गर्‍यौं । बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई नपुगुन्जेल एक किसिमको भय भइरह्यो । मन एकतमासको भइरह्यो । अक्टोबर २१ को मध्यराति नेपाल आइपुग्यौं । तर, अहिले पनि एम्बुलेन्सको साइरन सुन्छु, इजरायलको द्वन्द्वमा बजेको साइरनको सम्झनाले झसंग हुन्छु । म त आफ्नो देशमा सुरक्षित छु, तर नोभेम्बर २ सम्म इजरायल–हमास वारमा ३५ जना पत्रकारले ज्यान गुमाइसकेका छन् ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना

प्रकाशित : कार्तिक १८, २०८० १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?