कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

इतिहासकारको इतिहास

भीमसेन थापामाथि चित्तरञ्जन नेपालीको खोजमा टेकेर इतिहासमा फरक कोणबाट बहस भइरहन्छ
हिमेश

शुभकामना !

चित्तरञ्जन मेरो प्यारो दाई

तपाईको तेस्रो यस भीमरथारोहणका बेला

आज तपाईलाई देख्नेबित्तिकै मलाई लाग्यो,

देखें मैले बाँचिरहेका भगवान

इतिहासकारको इतिहास

अहो ! बाँच्न सक्नुपर्छ मान्छे भएर

भगवान पनि हुँदोरहेछ

दाई, तपाईको देवत्व हेर्दा हेर्दै

सफा गर्न दिनु मेरो खराबी !

यो नेपाल भाषामा लेखिएको एउटा कविताको नेपालीमा स्वतन्त्र अनुवाद हो । कवि दुर्गालाल श्रेष्ठलाई मन मात्रै पर्नुपर्छ, उनी कविता नै उपहार दिँदारहेछन् । चित्तरञ्जन नेपालीको तेस्रो भीमरथारोहणका बेला उनले यही कविता लेखे अनि दिए– उपहार । त्यो पनि फ्रेममा हालेर । अब यसलाई जो कसैले पनि खुबै गर्वले सजाउने त भयो नै । चित्तरञ्जनको अध्ययन–लेखन कोठामा यसलाई सबैले देख्नेगरि सजाइएको छ ।

दसैंले छोपिसक्दा उनै चित्तरञ्जन नेपालीको निधन भयो, ९३ वर्षका थिए । ‘आजै जस्तो हो, यो कोठा खोलेको पनि,’ छोरा मनोजप्रसाद राजभण्डारीले भने । बुबालाई उनका किताब र कागजात कसैले यताउता गरेको मन पर्दैनथ्यो । त्यसैले त्यो कोठा पनि उस्तै थियो, जस्तो उनले छाडेका थिए, परिवारले चलाउने आँटै गरेनन् । महाराजगञ्जको नारायणगोपाल मार्गभन्दा केही अगाडि उनको घर छ । त्यहीं बिते उनी । त्यही घर पुग्दा १३ दिनको काम लगभग भर्खरै सकिएको थियो ।

साँच्चै कोठा अझै जीवन्त थियो, लाग्छ, यहाँ अझै कोही छ । कोठामा छिरे लगत्तै नेपालीका एक्ला छोरा मनोज भावविह्वल भइहाले । उनका पनि एक्ला छोरा मनीष एकछिन चुपचाप रहे । पछिल्लो समय महाराजगञ्जको त्यो घरमा नेपालीसँगै चार पुस्ताको बसोबास थियो । मनीषको पनि एक्लो छोरो छ । नेपालीले तिनीहरूलाई मात्रै होइन, आफ्नी ९२ वर्षीया धर्मपत्नीलाई पनि छाडेर गए । उनकी श्रीमती हुन्, मेरीबाबा, जो स्तब्ध छिन् ।

नेपालीलाई श्रीमती खुबै प्रिय थिइन्, त्यसैले उनको नाममा नेपाल भाषामा कविता–किताबै लेखे । सायद उनको जीवनमा आमाको पनि उत्तिकै प्रभाव थियो, त्यसैले उनले जन्मदिनमा आमाको नाममा पनि कवितासंग्रह छापे नेपाल भाषामा । नेपाली नेपाल भाषाका राम्रै साहित्यकार पनि थिए । पछि नेपाल भाषा एकेडेमीको चान्सलर पनि भए । नेपाल भाषा साहित्यका जानकार रमेशकाजी स्थापितका अनुसार, ‘मेरीबाबा’ साँच्चै साह्रै सुन्दर कविताको संग्रह हो ।

त्यही पुस्तकमा नेपालीले एक ठाउँमा मीठो सम्झना लेखेका छन् । त्यस अनुसार, विवाहकै बेला मेरीबाबालाई क्षयरोग लागेको रहेछ । स्वभाविक थियो, उनीसँग नेपालीलाई विवाह नगर्न दबाब आयो । तर, नेपालीका बुबा मेदिनीप्रसाद राजभण्डारीले एउटा गज्जब निर्णय गरे, बुहारीका रूपमा भित्र्याउँदा तिनको छेल्लीमै मृत्यु हुन्छ भने पनि विवाह छोरासँगै गर्ने । तिनै मेरीबाबाले नेपालीलाई पूरै जीवन साथ दिइन्, उनीहरू आदर्श जोडी थिए ।

यो रह्यो, चित्तरञ्जन नेपालीको जीवनको एक पक्ष । खासमा उनलाई सम्झनुपर्ने सबैभन्दा ठूलो कारण भने इतिहासकारका रूपमा हो । खास कुरो उनले बैज्ञानिक ढंगले इतिहास लेखे । आफ्नो जीवनमा लगभग २९ किताब लेखे । त्यसमध्ये दुई कृतिका लागि उनलाई सधैं सम्झिनेछ–०१३ सालको ‘भीमसेन थापा र तात्कालीन नेपाल’ र ०२० सालको ‘श्री ५ रणबहादुर शाह’ । दुवै ‘क्लासिक’ पुस्तक सावित भए । भीमसेन थापामाथि लेखिएको पुस्तकका लागि उनले मदन पुरस्कार जिते । यी दुई पुस्तकमा उनले भीमसेन थापाको पनि समर्थन गरेर लेखेका छन्, अनि रणबहादुरको पनि । त्यसैले यसबारे केही न केही आलोचना भइरहन्छ नै । तर, यी यस्ता दुई पुस्तक हुन्, जसलाई एकपल्ट नपढी सुखै हुन्न । ‘वास्तवमै यी दुई नेपाली इतिहासमा असाध्यै महत्त्वपूर्ण पुस्तक हुन्, यसकै लागि चित्तरञ्जन नेपालीलाई सम्झे पनि हुन्छ,’ इतिहासकार त्रिरत्न मानन्धर भन्छन् ।

मुख्य प्रश्न हो, नेपालीले किन इतिहास लेखे ? अनि यिनै दुई पात्र (भीमसेन थापा र रणबहादुर शाह) लाई नै किन रोजे ? यसको पृष्ठभूमि यसरी तयार हुन्छ । भित्री काठमाडौंको न्ह्यायकं टोलका खास वासिन्दा हो, यो राजभण्डारी परिवार । नेपालीका पनि बाजे जुजुमान राजभण्डारीबाट कुरा सुरु हुन्छ । उनको बेला परराष्ट्र मन्त्रालय भन्नु नै मुन्सीखाना थियो । यो अन्यत्र कतै होइन्, हनुमानढोका भित्र थियो । त्यससँग जुजुमान सुरुदेखि आवद्ध थिए । पछि उनका छोरा मेदिनीप्रसाद राजभण्डारी पनि जोडिए । पछि नाति नेपाली पनि जोडिए । उनले मुन्सीखानामाा खुब मिहिनेत गरेर काम गरे । त्यहाँ रहेका महत्त्वपूर्ण एक एक कागजातको गहन अध्ययन गरे । अनि सम्भव भयो, भीमसेन थापा र रणबहादुर शाहबारे पुस्तक । फेरि यसअघि यी दुई महत्त्वपूर्ण पात्रबारे लेखिएकै थिएन् । नेपालीलाई लागेको रहेछ, कतै भीमसेन थापा र रणबहादुर शाहलाई अन्याय त भएको छैन् ? यी पुस्तकमा नेपालीले प्रस्तुत गरेको तर्कमा विमती राख्ने पनि छन्, त्यसैले यसको आलोचना भइरहन्छ ।

तर, यी दुवै पुस्तक कति तथ्यमा आधारित छ र तिनमा कति धेरै महत्त्वपूर्ण स्रोत राखिएको छ भने तिनै आलोचक पनि त्यससँग नतमस्तक भइहाल्छन् । अब प्रशंसा गर्नेहरूलाई त झन् के चाहियो ? नेपालीलाई पनि थाहा थियो, यी आलोचनाबारे । तर, उनलाई यी आलोचनाको कत्ति पनि डर भएन । उनी मान्थे– जे थियो, जस्तो थियो, त्यही हो, त्यही लेखिएको हो । फेरि बाबुराम आचार्य मेदिनीप्रसादका साथी थिए, त्यसैले छोरा नेपालीले पनि उनीसँग हेलमेलको मौका पाए ।

पछि नेपालीले (८० वर्ष पुगेपछि हुनुपर्छ) जंगबहादुरबारे पनि महत्त्वपूर्ण किताब लेखे । यो जंगबहादुरबारे लेखको संग्रह हो । ‘यो पनि असाध्यै महत्त्वपूर्ण छ, अनुसन्धात्मक छ,’ मानन्धर भन्छन् । नेपालीले पाँच वर्ष जति प्रज्ञाप्रतिष्ठानमा पनि बिताए, त्यहाँको इतिहास विभाग सम्हाले । मानन्धर के पनि मान्छन् भने त्यतिबेला नेपालीको सम्पादनमा दुई उत्तिकै महत्त्वपूर्ण पुस्तक निस्केको छ र यी पनि नेपाली इतिहास बुझ्न पढ्नैपर्छ । त्यसमध्ये पहिलो पुस्तक हो, ‘नेपालको इतिहासका विविध पक्ष’ । यसमा २५ गहन लेख संग्रह गरिएका छन् । अर्को पुस्तक हो, ‘तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरू’ । यो खासमा इटालीकै लुसियानो पेटेकले लेखेको किताब हो, त्यसलाई नेपालीमा अनुवाद गरिएको हो । खासमा नेपाली परराष्ट्र क्षेत्रका विज्ञ त थिए नै, उनलाई नेपाल र तिब्बतबीचको सम्बन्धमा महारथ प्राप्त थियो । तिब्बतबारे धेरै जानकारी राख्थे । धेरै अगाडि उनले नेपाल र तिब्बतबीच एउटा लामो लेख लेखेका थिए । अहिलेसम्म पनि नेपाल र तिब्बतबारे लेख्ने हो भने त्यो लेख पढ्नैपर्छ, त्यसमा यस्तो लेखिएको थियो भनेर उद्धरण गर्नैपर्छ । तिब्बतसँगै जोडिएको अर्को पक्ष छ, सन् सत्तरीको खम्पा विद्रोह दबाउने क्रममा यसका नाइके गे वाङ्दी मारिए, नेपाली सेना नै परिचालन गरिएको थियो, यसका छुट्टै इतिहास छ । यो हो, स्वतन्त्र तिब्बतका लागि नेपाली भूमिबाट भएको शसस्त्र विद्रोह । नेपाली भूमि प्रयोग गरेर चिनिया सैनिकविरुद्ध भएको युद्ध ।

त्रिरत्न मानन्धरले के पनि सुनेका छन् भने ती मारिएका वाङ्दी साँच्चै तिनै नाइके हुन अथवा अरू नै केही हुन्, त्यसको ठ्याक्कै पहिचानका लागि नेपालीलाई नै घटनास्थल लगिएको थियो, सम्भवत: कर्णालीतिर । नेपालीले मारिएका यिनै वाङ्दी हुन भनेपछि मात्र नेपाल सरकार ढुक्क हुन सकेको थियो । यसले पनि देखाउँछ, तिब्बत विषयमा उनी कति धेरै जानकार थिए भन्ने । नेपाली र मानन्धरको चिनजान भएको धेरै पछि मात्रै हो, तर एकपल्ट चिनेपछि उनीहरू धेरै नजिक भए ।

जीवनको अन्तिम क्षणसम्म पनि उनी अध्ययन र अनुसन्धानमा भने खुबै ब्यस्त रहे । इतिहासका तिथिमितिबारे सटिक जानकारी राख्थे, सम्झन सक्ने क्षमता वास्तवकै कडा थियो । केही समय अघिसम्म पनि नेपाली मानन्धरलाई फोन गरेर सोध्थे, ‘बजारमा राम्रो पुस्तक के आएको छ हँ ?’ सोधेर मात्र नपुगेर उनले सुझाएका पुस्तक किनेर पढ्थे पनि ।

उनको खास नाम हो, नारायणप्रसाद राजभण्डारी । तर, उनलाई सबैले चिने, चित्तरञ्जन नेपाली भनेरै । उनले किन यो नाम लेखे ? यसबारे एक– दुई अनुमान छन् । जस्तो, उनको समयमा अर्कै साहित्यिक नाम राखेर लेख्ने चलन थियो । अनि आफू सरकारी जागिरे भएकाले उनी फरक नामले लेख्न चाहन्थे । यसको ठ्याक्कै उत्तर मानन्धरसँग छ । भन्छन्, ‘मलाई उहाँ आफैले भन्नुभएको हो, खासमा उनी भारतीय स्वतन्त्र सेनानी चित्तरञ्जन दासबारे खुबै प्रभावित थिए । उनी भारतीय राजनीतिक, वकिल, कविदेखि इतिहासकार पनि थिए । उनको जीवनीबारे कति धेरै प्रभावित भए छन् भने नारायणप्रसाद राजभण्डारीले आफ्नो लेख्ने नाम नै राखे, चित्तरञ्जन नेपाली ।’ साँच्चै उनको परिवारलाई यसबारे केही पनि थाहा छैन । अझ छोरा मनोज र नाति मनीष के भन्छन् भने परिवारमा इतिहास, साहित्यबारे कुरै भएन ।

नाति मनीषकै अनुसार, आफ्ना बाले निकै सहज मृत्यु आत्मसात् गरे, केही पनि दु:ख भएन । पूरा जीवनमै विरलै विरामी परे, औषधि भन्नु नै खानु परेन । निधनको एकै क्षण अघिसम्म पनि परिवारसँग हाँसीखुसी कुरा गरिरहकै थिए ।

यही परिवारलाई एउटा विषयमा भने असाध्यै गर्व छ । चित्तरञ्जन नेपालीले जे जस्तो विधामा हात हाले, सबैमा अब्बल भए । त्यो चाहे, सरकारी जागिरे होस अथवा इतिहास लेखन । अथवा साहित्यकारकै रूपमा पनि । उनको निधनपछि एकथोक काम भने बाँकी छ । एउटा इतिहासकार र साहित्यकारका रूपमा उनले जे जस्तो गरे, उनको योगदान के कस्तो रह्यो ? त्यसबारे लेखिन बाँकी छ । किनभने उनकै परिवारलाई बुबाबारे धेरै सुन्न– बुझ्न इच्छा छ ।

प्रकाशित : कार्तिक १८, २०८० १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x