२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

पर्दाभित्र एउटा ‘पागल’ 

नाटकमा यथार्थ र कवितामा गद्यताको क्रान्ति ल्याउने गोपालप्रसाद रिमाल प्रजातान्त्रिक क्रान्तिका पनि एक अगुवा आन्दोलनकारी हुन् । मसिना तीन किताब मात्रैले पनि मोटो छाप छोडेका रिमालको जिन्दगी भने एक्ल्याइ, धोका र दर्दको संग्रहालय बन्यो । यहाँ जिन्दगीमा ‘नाटक’ गर्न नचाहेका नाटककारको नेपथ्यको पीडा–गीत उधिन्ने प्रयास गरिएको छ ।
विमल आचार्य

काठमाडौँ — बीपीले आफ्नो ‘आत्मवृत्तान्त’ मा भने, ‘रिमाल जो कवि थिए र पछि पागल पनि भएका थिए ।’ 
रिमालबारे सबैभन्दा विस्तृत शोध गरेका केशवप्रसाद उपाध्यायले आफ्नो किताब ‘रिमाल : व्यक्ति र कृति’ को पहिलो अनुच्छेदमै लेखे, ‘साहित्य र राजनीति दुवै क्षेत्रमा युद्ध गर्न तम्सने रिमाल बत्तीसै वर्षका उमेरमा पागल भए ।’ 

पर्दाभित्र एउटा ‘पागल’ 

हामीकहाँ सार्नु मात्रै पनि ‘अनुसन्धान’–लेखन हुने हुँदा थप उदाहरण दिनु कागज र तपाईंको समयको नाश मात्र हुन जान्छ । सबैजसोले लेख्ने–भन्ने यही हो, ‘पागल थिए/पागल भए ।’

हामीले देवकोटा पागल, रिमाल पागल भनेर त पढ्यौँ, डा. गोविन्द केसीलाई जिम्मेवार संवैधानिक संस्थाले पागलै लेख्यो । हो, यो समाजमा हर विद्रोही पागल कहलाइन्छ, पागल बनाइन्छ । फरक यत्ति हो, देवकोटाले जसरी सबैले ‘पागल’–प्रतिवाद गर्न सक्दैनन्/चाहँदैनन् ।

फलानो यस्तो–उस्तो सुनिसकेपछि हामीमा स्वाभाविक जिज्ञासा हुनुपर्ने हो— ऊ किन त्यस्तो भयो त ? हामी प्रश्नतिर खासै लाग्दैनौँ । मनलाई जवाफ दिइहाल्छौँ— पागल हुनु (नभए पनि) उसकै दोष, उसकै कमजोरी, उसकै भाग्य, उसमै खराबी !

‘रिमाल पागल नै थिए त ?’

‘थिए भने कसरी भए त ?’

जिज्ञासा लिएर म रिमालकी धर्मपत्नी हरिदेवीकहाँ पुगेँ । रिमाल पुत्र मदनले ९० वर्षीया आमासँग मेरो भेट गराइदिए । ५० वर्षअघि यही कात्तिक महिनामा बिदा भएका पति सम्झिनु हरिदेवीका लागि गाह्रो छैन । ‘हो, खुकुरी सधैं बोक्नुहुन्थ्यो, तर कसैलाई प्रहार गरेको मैले थाहा पाइनँ’, हरिदेवीले भनिन्, ‘उहाँलाई राजनीतिले बसिखान दिएन । उहाँले सबैबाट धोका पाउनुभएको हो ।’

‘कहिलेदेखि उहाँको व्यवहार बदलियो ?’ हरिदेवीको अनुहार उज्यालो, पतिबारे बोल्दा ओठमा हरदम प्रेमिका–सुलभ मुस्कान ! सुदूर अतीतको सम्झना पनि छेउको भित्ता जति टाढा छैनजसरी हरिदेवीले भनिन्, ‘उहाँलाई थुनामा हुँदा खानामा विष खुवाइएको रहेछ । यो कुरा त्यहाँका जम्दारले आएर हाम्रो घरमा सुनाएका थिए । त्यही विषको असरले हुनुपर्छ, उहाँ अलि अर्कै हुँदै जानुभयो ।’

आमाको स्मृतिलाई सहजीकरण गरिदिइरहेका छोरा मदनले प्रसंगमा थपे, ‘त्यसपछि बुवालाई पक्डिन भनेर चन्द्रबहादुर थापाको नेतृत्वमा मध्यरातमा हाम्रो घरमा आएका पुलिसलाई आमालगायत सबै महिलाले लखेट्नुभएछ । खाली हात फर्केको टोलीले मोहनशमशेरलाई भने रे– रिमालको घरका महिला त झन् उग्र रहेछन्, त्यो घरका ढुंगामाटो नै कम्युनिस्ट भइसकेछन् ।’

श्री ३ लाई हाकाहाकी अपमानजनक सम्बोधन ‘तपाईं’ भनेर ‘अब क्रान्ति गर्छु’ भन्दै बाहिर निस्केका रिमाल पक्रिइए । उनलाई कालिकास्थानमा एक्लै नजरबन्दमा राखियो । एकान्तवासमा उनलाई चरम यातना दिइयो । रिमाल २१ दिनसम्म अनशन बसे । ब्राह्मण मरे ब्रह्महत्याको पाप लाग्ने डरले मोहनशमशेरले अनशन टुटाउन खोजे । त्यही क्रममा मोहनशमशेरले मन्दविष हालेको भोजन खुवाएको रिमालपत्नीको भनाइ छ ।

रिमाललाई दुईपल्ट राँची लगियो । रिमाल किन त्यस्ता भए त ? केहीबेर उनको जीवनका चोटपटक हेरौँ । नाटक लेखेर जीवनमा इत्ति पनि ‘नाटक’ गर्न नमान्नुको परिणाम नै बिरामीको कारण बनिदियो कि ?

रिमाल सानै उमेरदेखि पढैया भए । यसको प्रमाण त एसएलसीमा बोर्ड फस्ट भएबाटै पनि भइगयो । ‘रिमाल : व्यक्ति र कृति’ मा उल्लेख भएअनुसार एसएलसीको उत्तरपुस्तिका जाँच्ने पिनाकीप्रसाद आचार्यले ‘असाधारण जवाफ’ देखेर ९० अंक दिएका थिए । यसलाई त्रिचन्द्र कलेजका तत्कालीन प्रिन्सिपल नरेन्द्रमणि आचार्य दीक्षितले पनि सदर गरे ।

प्रतिभाशाली रिमालको नाम एसएलसी दिनुअघि नै क्लास बंक गर्नेमा, परीक्षै हापेर प्रकृतितिर डुलिहिँड्नेमा चढिसकेको थियो । रिमाल फरक सोच्ने भइसकेका थिए । एकातिर राणातन्त्रको थिचोमिचो, अर्कोतिर चाकडीबाज समाज, उनी एकोहोरिन थालिसकेका थिए ।

एसएलसी दिनुअघि नै बालखैमा उनको कविता ‘शारदा’ मा छापिइसकेको थियो । बोर्ड फस्ट भएका रिमाललाई त्रिचन्द्रमा आईए पढ्दा मासिक १५ रुपैयाँ आउँथ्यो । तर, रिमालको मन कक्षाकोठामा रमाएन । पढाइ छोडिदिए । बोर्ड फस्ट विद्यार्थी यति चाँडै पढाइबाट विरक्तिनु सामान्य अवस्था थिएन । तर, समय नै त्यस्तो, ठूल्ठूला ट्वीस्टले पनि नोटिसै नहुने गरी फुटनोटमा पनि ठाउँ नपाउने । अन्धकार समाजको विशेषता के रहेछ भने त्यहाँ अति असामान्य काम–कुरो पनि बडो सामान्य जसरी बित्दोरहेछ, जसरी अन्धकार कोठाहरूमा बडो सामान्य तरिकाले असामान्य काम–कला घटित भइरहन्छन् ।

एसएलसी दिनुअघि नै १५ वर्षको उमेरमा घर भित्र्याएकी दुलहीसित रिमालको जमेन । बिहे गरेको सात वर्षमै श्रीमतीको निधन भयो । पत्नीको निधन हुँदा रिमाल बर्दियामा जागिरे थिए । त्यसले उनलाई विक्षिप्त बनायो । अनि त्यही साल आफ्ना चार साथीलाई गोली ठोकेर मारियो । रिमाल झनै विक्षिप्त भए । उनको मुड बिग्रियो । बाबुको दबाबमा राणाजीको ‘सेवक’ भई बर्दिया गएका उनलाई आफ्ना साथीहरूको हत्याराको नोकरी गरिराख्न मनले मानेन । उनी त्यतैबाट चुपचाप भारततिर लागे ।

कुनै खबर नगरी, राजीनामा नदिई रिमाल गायब भएपछि खैलाबैला भयो । नेपालगन्जसम्मका रिमालका सहयात्रीलाई पक्राउ गरियो । पछि घरमा कसैले उनी कलकत्तामा छन् भनिदियो । पण्डिचेरीस्थित अरविन्द आश्रममा बसेर गीताको अध्ययन गरेका छोरालाई हरिसनरोडको एक घरमा गीता पाठ गर्दै बसेको अवस्थामा बाबुले भेट्टाए र नेपाल लिएर आए ।

रिमाल राणाविरोधी आन्दोलनमा निरन्तर सक्रिय हुन्छन् । दमनराज तुलाधरको आत्मकथामा रिमालको सक्रियता विस्तृतमा लेखिएको छ । पुस्तकअनुसार, रिमालले ‘मैले एउटा पर्चा लेखिसकेको छु लौ पढ’ भनेर दिए, जहाँ रिमालले नेपाल नेशनल लिग खोल्ने भएका छौँ, जय नेपाल भनेर अभिवादन गर्नेर्छौं लेखेका छन् । अछूत हटाउने, सेनामा जातिभेद हटाउने, नारी शिक्षा बढाउने, गढीमा नेपालीलाई राहदानी नचाहिने बनाउने जस्ता कार्यक्रम राणाकालमै अघि सार्ने रिमाल ‘पागल’ हुन् ।

पशुपति–शोभाभगवतीतिर रिमालले विद्रोही भेला गर्न थाले । त्यहाँ उन्मुक्त भाषण गर्न थाले । रिमालको रचना क्षमता कति तेज रहेछ भने दमनराजका अनुसार ‘मलाई मुड आयो’ भन्दै रिमाल विजयेश्वरी मन्दिरको बहालभित्रको काठको फलैँचामा आधा घण्टा जति बसे । केही लेखे । कागजको खास्टो दिएर ‘लौ पढ’ भने, जहाँ कुनै केरमेट नगरी शोभा–गान लेखिएको थियो— रातो र चन्द्र सूर्य...।

बीपीहरू भारतमा आन्दोलित भइरहँदा स्वदेशमै आन्दोलन गरेर प्रजातन्त्र ल्याउने कसम खाएका रिमाल एक वर्ष थुनिए । दुई पल्ट थुनिए । नेपाल प्रजा पञ्चायत (एनपीपी) खोले । नेपाल प्रजापरिषद्का संस्थापक गोविन्दप्रसाद उपाध्यायको पुस्तक ‘नेपालको प्रजातान्त्रिक इतिहास–सन्दर्भ’ अनुसार एनपीपीको पर्चाका कारण २००५ भदौ १ मा भूगोलपार्कमा धेरै मानिस जम्मा भए । हप्ता दिनभित्रमा काठमाडौँमा १५ सय, पाटनमा सात सय, भक्तपुरमा नौ सयले रिमालको एनपीपीको सदस्यता लिए । रिमाल रोकिएनन् ।

रिमाल २५ वर्षको हुँदा आजभन्दा ठीक ८० वर्षअघि यही कात्तिक महिनामा ‘शारदा’ मा ‘आमाको सपना’ कविता छापिएको हो । ‘हो, बा त्यो आउँछ, ऊ अधर्मसित लड्नेछ, आगोभन्दा पनि छोइने भएर, हुरी भएर आउनेछ’ भनेको ‘त्यो’, यी ८० वर्षमा आयो कि आएन ?

अक्षरमा अराजक त कति कति, तर व्यवहारमा स्वाभिमानी ? कविलाई शासक मात्रै होइन, विद्रोही भनिने साथीहरूबाट समेत गरिएको व्यवहारका केही घटना यहाँ उल्लेख गरौं ।

२००३ चैतमा रिमाललगायत केही लेखकले नेपाली साहित्य परिषद् नामक संस्था खोल्न पाऊँ भन्दै तुलनात्मक उदार मानिने श्री ३ पद्मशमशेरसमक्ष निवदेन पुर्‍याए । लोकरञ्जन पराजुलीको लेखअनुसार, २००४ जेठ १५ देखि १७ सम्म तीन दिन सरस्वती सदनमा साहित्य सम्मेलन चल्यो, जहाँ ७०/७५ जनाले रचना सुनाए । शंकर लामिछानेले ‘विम्ब–प्रतिविम्ब’ मा लेखेअनुसार रिमालको कविता ‘एक जुगमा एक दिन एकचोटि आउँछ’ ले सम्मेलनमा भूकम्प नै ल्यायो । यो कविता वाचन गर्दा रिमालले भाषानुवाद परिषद्बाट आफूलाई निकालेका मृगेन्द्रशमशेरतिर हेरेर गिज्याएझैँ गरी औँला ठड्याएको देखिजान्नेहरूलाई उद्धृत गर्दै केशवप्रसाद उपाध्यायले लेखेका छन् ।

पराजुलीका अनुसार, २००५ सालमा भएको अर्को सम्मेलनमा रिमालले सुनाएको कविता सिंहदरबार पुर्‍याइयो । अरूका कविता छ महिनापछि फिर्ता भए, तर रिमाललगायत चार जनाका कविता जफत गरिए । प्रतीक घिमिरेले ‘मधुपर्क’ मा लेखेअनुसार साहित्य सम्मेलनमा वाचन गरिएका रचना समेटी हृदयचन्द्रसिंह प्रधानको सम्पादनमा ‘साहित्य स्रोत’ (कवि सम्मेलन अंक) निस्कियो । तर, पत्रिकामा सम्पूर्ण कविको नाम र कविता भए पनि रिमालको भने कतै पनि केही उल्लेख छैन ।

विद्रोही रिमालको जीवनतिर अपमान र एक्ल्याइका शृंखलाहरू सोहोरिइरहन्छन् । उनलाई कसरी तनाव दिइन्थ्यो ? अरविन्द रिमालको पुस्तक ‘डिल्लीबजारको लप्टनको होटेल’ मा छिरौँ । प्रजातन्त्र आइसकेपछिको विसं २०१२ को सहिद सप्ताहका अवसरमा सरस्वती सदनमा आयोजित साहित्य सम्मेलनमा गोपालप्रसादको अपमान गरियो । सारा कविको पालो आयो, तर रिमालको पालो आएन । रिमालले मेरो पालो कहिले आउँछ भनेर सोधिरहे । ‘चाकरी मनोवृत्तिका आयोजक’ ले झुलाइरहे । श्यामप्रसाद शर्माअनुसार, बहुलाहा भनेर उनलाई मञ्चमा उक्लिनै दिइएन । तर, रिमाल अटेर गर्दै मञ्चमा उक्ले र ‘गुनासो’ शीर्षकको कविता सुनाइदिए । श्यामप्रसादलाई उद्धृत गर्दै अरविन्द लेख्छन्, ‘कविता सुन्नेहरूले थपडी बजाएथे । यस घटनाले रिमालज्यूको बहुलठ्ठीपन त सिद्ध गर्न सक्तैन, तर यहाँनेर हाम्रो समाजकै हावा खुस्केको हो भनी शंका गर्ने ठाउँ भने अवश्य छ ।’

रिमाललाई ‘पागल’ बनाउने यस्ता हर्कत अनेक छन् ।

साहित्यकारहरूले जागिर खाने थलो भाषानुवाद परिषद् भन्ने थियो । रिमाल ९ महिनामै त्यहाँबाट बिदा भए । औसतभन्दा औसत झुर साहित्य लेख्नेहरूले भने त्यहाँबाट तलब बुझिरहे, वृत्ति पाइरहे । २००२, माघ ७ गतेको मिति राखेर ‘मसान’ नाटकमा रिमालले ‘दुई कुरा’ शीर्षकमा सानो भूमिका लेखेका छन् । बुझ्नेलाई त्यो डेढ सय शब्दको जागिर–महाभारत हो । रिमालले ‘यो प्रेम !’ २००० सालमै लेखिसकेको भए पनि त्यति सानो नाटक छापिदिन नेपाली भाषा प्रकाशिनी समितिलाई ०१७ साल आउनुपर्‍यो ।

मान्छेलाई कसरी गलाइन्छ ? कसरी कमजोर पार्दै र कुनामा धकेल्दै लगिन्छ ? रिमालको जीवनका पर्दा उघार्दा थाहा हुन्छ ।

‘आमाको सपना’ को पहिलो संस्करणमा छापिएका कविता हेर्दा एउटा कविता मात्रै सरकारी अखबार ‘गोरखापत्र’ मा छापिएको देखिन्छ । तारानाथ शर्माले ‘भानुभक्तदेखि तेस्रो आयामसम्म’ पुस्तकमा लेखेअनुसार नेपाली कवितामध्ये पहिलो गद्य कविता रिमालको ‘कविको गान’ हो । १९९२ फागुन १६ गते ‘गोरखापत्र’ मा छापिएको यो कविता रिमालको जीवनको दोस्रो प्रकाशित कविता हो ।

‘गोरखापत्र’ सरकारी मुखपत्र भएकाले हुन सक्छ, राणाविरोधी रिमालका कविता धेरैजसो ‘शारदा’ मा छापिए । आन्दोलनकारीलाई लाञ्छित गर्ने ‘खबर’ छाप्ने ‘गोरखापत्र’ को खण्डनमा रिमालले पर्चा बाँड्दै हिँड्नुपरेको थियो । तर, कालान्तरमा आफ्ना कविता छाप्ने ‘शारदा’ स्वयं रिमालको हुन सकेन । रिमाल २००२ सालको मंसिर र पुस गरी दुई अंकपछि ‘शारदा’ को सम्पादकबाट हटाइए ।

कारण रहेछ रिमालको सम्पादकीयको विषयवस्तु !

रिमाल कति खत्रा सम्पादक भने उनले पहिलो सम्पादकीयमा लेखिदिए– राजनीतिक, आर्थिक स्वतन्त्रता चाहिन्छ, औद्योगिकीकरण र शिक्षाको बढावा हुनुपर्छ । अनि अर्को सम्पादकीय लेखिदिए– लेखकहरूलाई अभिव्यक्ति स्वतन्त्रता चाहिन्छ । यही सम्पादकीयमा लेखकहरूको दयनीय अवस्था पनि जोडे ।

यस्ता क्रान्तिकारी ‘पागल’ सम्पादक ‘शारदा’ मा दुई महिना पनि टिकेनन् । ‘शारदा’ मा छोटो समय काम गरेका रिमाल २०१७ सालमा ‘दर्पण’ को सम्पादक बन्छन् । ‘दर्पण’ मा पनि जेठ र असार गरी दुई अंक मात्रै टिक्छन् । यता पनि आफ्नो पहिलो अंकमा गीत गद्यमा पनि लेख्न सकिन्छ, लेख्नुपर्छ भनी सम्पादकीय लेखिदिए । दोस्रो सम्पादकीयमा नेपाली साहित्य धेरैजसो कमजोर भएको हुँदा प्रशस्त अनुवाद हुनुपर्ने भनेर लेखिदिए । घिसापिटा विषयमा जिब्रो चपाईचपाई सम्पादकीय लेख्नुपर्नेमा रिमालको ‘पागलपन’ सर्कलबीच चर्को पर्न गयो ।

नेपाली साहित्यका प्राडा–‘समालोचक’ हरूको मात्रै भर परियो भने कुरो आधाआधी पनि बुझिँदैन । रिमाल राजनीतिज्ञ हुन्, तिनीहरू भन्दैनन् । ‘तिमी को’ कविताबारे एक घण्टा बोल्छन्, २० पेज लेख्छन्, तर त्यो रिमालले मातृकाप्रसादलाई हाकाहाकी गरेको प्रश्न हो, उनीहरू रचनाको सन्दर्भ भनिदिँदैनन् । सिद्धिचरणको जीवनीमा सिद्धिका जेल संस्मरणले कतै ठाउँ पाउँदैन । व्यथित कवि भनेर भन्छन्, तर राणाविरोधी, कांग्रेस संस्थापकमध्ये हुन् भन्दैनन् । लेखनाथ, सम, माधव घिमिरे, सत्यमोहनहरूको कवित्व–कृतित्वको हजार पृष्ठ चर्चा गर्छन् तर ती अलिकति चाकडीबाज, धोकेबाज, औसरवादी पनि हुन् भन्ने एक वाक्य पनि लेखिदिँदैनन् । ‘विश्वेश्वर राजनीतिज्ञ भएर पनि उनको साहित्यमा कतै राजनीति छैन’, यस्तो भनेर पो पढाउँछन् त बा ! इन्द्रबहादुर राईको साहित्य पढाउँदै गर्दा उनको राजनीति–क्षतिबारे फिटिक्क एक शब्द बोल्दैनन् । सर्जकको जीवनीका विविध आयाम नबुझी, वैचारिकी नबुझी, कन्टेक्स्ट नबुझी कन्टेन्ट नबुझिने रहेछ । त्रिविको नेपाली विभाग र एकेडेमीतिर त कि शब्द गन्ने कि त फलानो कृतिमा फलानो वाद भन्ने । अर्थ न बर्थका ‘समकालीन’ नाम जोडिएका ‘समालोचना’ का किताब कति हुन् के, समकालीन प्रगतिवादी कथामा सामन्तवादजस्ता फलानो/ढिस्कानो ! नेपालमा हिमालहरूको कुनै कमी छैन, एकेडेमीले छद्म/बासी शब्द थुपारेर विवरणहरूको सगरमाथा ठड्याउनु नागरिकको करको दुरुपयोग हो ।

रिमाल जति साहित्यकार हुन्, त्योभन्दा कम राजनीतिज्ञ होइनन् । रिमालका हर कविता राजनीतिक सन्दर्भमा रचित छन् । तर, गुरुहरूले शब्द र अर्थ, विम्ब र प्रतीक, प्रगतिवाद र स्वच्छन्दतावाद भनेर कविताको सुगारटाइ व्याख्या गरिरहे । नाट्य–डाक्टरहरूले उनी ‘नाटक’ गर्न नजान्ने–नचाहने नाटककार हुन् भनिदिएनन् । (हो, स्कुले जीवनमा रिमालले केही नाटक खेले, तर यथार्थ जीवनमा खेलेनन् ।) रिमालले राजनीति गरे तर ‘राजनीति’ गरेनन् । रिमाललाई एक शब्दमा ‘पागल’ भनिदिन सजिलो छ । तर, पागलपनको पृष्ठभूमिमा छिर्न उत्तिकै सकस ।

रिमालका भाइ पर्ने शंकर लामिछानेले लेखेका छन्, ‘अन्तरंग भनी अपनाएका राजनीतिक साथीहरूबाट पाएका धोका, छलकपट र बेइमानीबाट ऊ यस्तरी तर्सेको रहेछ, उसको कसैमाथि विश्वास रहन गएन ।’ काठमाडौँको घिनलाग्दो चाकरिया समाजले रिमाललाई खुकुरी भिरी हिँड्ने बनाएको शंकरको बुझाइ छ । रिमाल शंकरलाई पढाउन बिहान १०–११ बजेतिर शंकरको घर जान्थे । एकछिन पढेर १२ बजेतिर दाजुभाइ गल्लीगल्ली, गाउँगाउँ निस्फिक्री डुलिहिँड्थे साँझैसम्म । रोजैजसो हिँड्दैहिँड्दै सीतापाइला, स्वयम्भू, हलचोक, नैकाप, कीर्तिपुर, मच्छेगाउँतिर पुग्ने गरेको शंकर लेख्छन् । शंकरको लेखनअनुसार रिमालमा भावुकता र बौद्धिकता, विद्रोह र मानवता प्रचुर थियो ।

राणाविरोधी आन्दोलनमा त्यसरी लागेका रिमाल आफ्नो तन्त्र आएपछि पनि उस्तै एक्लिए । परिवार पाल्न, छोराछोरी पढाउन उनलाई गाह्रो पर्दै थियो । उनका राजनीतिक सहकर्मीहरू अनेक पदमा पुगे । ठाउँठाउँको बिसौनीबाट प्रजातन्त्र नाउँको बसमा साथीहरू उक्लिए । सडक किनारामा रिमाल एक्लै किनारीकृत भए । सवारी र सडकको धुवाँ र धुलोमा रिमाल छोपिँदै छोपिँदै गए ।

राजा त्रिभुवनले आफ्नो स्वकीय सचिव (सरदार हंसमान सिंहले पाइरहेको पद) बनाउन खोज्दा ‘सरकारको नोकर हुन इन्कार गरेको आमाको स्मृति’ भन्दै छोरा मदनले सुनाए । बा त्रिभुवनलाई नटेरेका रिमालले छोरा महेन्द्रलाई झन् के टेर्थे ? मदनले भने, ‘२०२७ सालतिरको कुरा हो । बुवा र म घरको बार्दलीमा घाम तापेर बसिरहेका थियौँ । राजाले पठाएको भनेर सैनिकले केही किताब र पत्र दिए । ती किताब राजाले गरेका भाषणका थिए । पत्रमा ती किताबको विश्लेषण, समीक्षा गर्नुपर्ने र त्यसबापत केही पैसा पाउने भनिएको थियो । पत्र हेर्नेबित्तिकै बुवाले ती किताब नपल्टाइकनै बार्दलीबाट तल झारिदिँदै भन्नुभयो, सरकारलाई भनिदिनू– यो काम मबाट हुँदैन ।’

महेन्द्रले नेपाल एकेडेमी खोले, तर उनलाई प्राज्ञ बनाएनन् । त्यतिबेलाका सबैजसो लेखक प्राज्ञ बनिरहँदा उनी बाहेक गरिए । पछि महेन्द्रले त्यस्तो काम दिन खोज्दा रिमालले आफ्नो आत्मसम्मानमा चोट पुगेको महसुस गरे ।

मदनले आफ्नी फुपू जोसँग बाबु धेरै मिल्थे, फुपूको भनाइ सम्झिए । २००७ सालपछि रिमालका साथीहरू धर्मरत्न, त्रिपुरवरसिंहहरू मन्त्री भए । दमनराज जागिरे भए । रिमाललाई पनि स्वाभाविक रूपमा मन्त्री हुने आशा थियो । तर, आफ्नै साथीहरूले भिलेनको रोल खेले । मदन भन्छन्, ‘बुवाले ‘पचलीको घ्याम्पो’ कविता लेख्नुभएको थियो । त्यो घ्याम्पोमा जात्राका क्रममा जाँड भरिएको हुन्छ । त्रिभुवन पनि धेरै जाँड खान्थे । त्यो कविता राजाविरुद्ध हो भन्ने व्यर्थ अर्थ साथीहरूले लगाइदिए ।’

बीपी प्रधानमन्त्री बने, रिमाल केही बनेनन् । राणाविरुद्ध त्यसरी लागेका रिमाललाई ‘राणाको मान्छे हो’ भनिदिएको बीपीले पत्याए । बीपीलाई रिमालसित भड्काउने काम रिमालकै साथीहरू त्रिपुरवरसिंह र पूर्णबहादुरले गरे । यो कुरा बीपीले आफ्नो वृत्तान्तमा स्विकारेका छन् ।

महेन्द्रले जननिर्वाचित बीपी सरकारलाई ‘कू’ गरेपछि रिमाल राजासित अति नै क्रोधित बनेको मदन सम्झिन्छन् । फुपूले आफूलाई बताएको भन्दै मदनले भने, ‘फुपू भन्नुहुन्थ्यो, एक दिन तेरो बुवाले कोठामा आएर खुकुरी नचाउँदै भन्यो, म त्यो महेन्द्रलाई एक दिन यही खुकुरीले काटिदिन्छु । त्यसले जनताको हत्या गर्‍यो । अधिकारबाट वञ्चित गर्‍यो ।’ तिनताका खुकुरी बोकेर रिमाल घरि न्युरोड, घरि नारायणहिटी गरिरहन्थे ।

सरकारी प्राज्ञ–पुरस्कार केही नपाएका रिमाल महेन्द्र बितेको दुई वर्षपछि र आफू बित्नुभन्दा चार महिनाअघि बल्ल एउटा सरकारी पुरस्कार पाउँछन्, त्रिभुवन पुरस्कार । मदन पुरस्कार लिन नगएका रिमाल त्रिभुवन पुरस्कार लिन भने एकेडेमी पुग्छन् ।

श्रीमान् बेपर्वाह भएपछि हरिदेवीलाई छोराछोरी हुर्काउन गाह्रो भएको बुझिन्छ । मदन पुरस्कारबापतको पाँच हजार रुपैयाँ आमाले माइँला बालाई बुझाएको मदन बताउँछन् । पुरस्कार घोषणा भएको, तर नपाइसकेको दिनमा पैसा लिएर चुपचाप खाई भनेर आमालाई परिवार–आफन्तले धरधरी रुवाएको दृश्य मदनको मनमा अझै ताजा छ ।

रिमालको जीवनमा अनेक दु:ख र असफलता मात्र आइलागे । दुईपल्ट राँची जानुपर्‍यो । काका भैरवप्रसाद १३ महिनापछि राँची गएर बुवालाई घर लिएर आउँदा झनै बिरामी परेको मदन बताउँछन् । बुवा झनै शिथिल, झनै एकान्तप्रेमी, हिँड्दा सधैँ खोच्याउने । राँचीमा उपचारका क्रममा घुँडाको गेडी खुस्काइएको केशवप्रसाद उपाध्यायले रिमालका भाइलाई उद्धृत गर्दै लेखेका छन् ।

‘आमाको सपना’ पाण्डुलिपिले २०१९ को मदन पुरस्कार पायो (हिजोआज मदन पुरस्कार पाएका किताबको कभरमा जस्तो तात्तातै ‘मदन पुरस्कार विजेता’ भनेर हालसम्म छाप नलागे पनि ‘आमाको सपना’ ले मदन पुरस्कार पाएको साँचो हो) । अध्येता केशवप्रसाद उपाध्याय लेख्छन्, ‘संग्रहको पहिलो संस्करणमा भएको ‘सहिदहरूसित’ कविता दोस्रो संस्करण (२०२५) मा झिकियो ।’ पंक्तिकारसँग भएको पछिल्लो संग्रहमा ‘सहिदहरूसित’ कवितासँगै शिव रेग्मीले संकलन गरिदिएका थप १३ वटा कविता पनि थपिएको छ ।

कविको अनुमतिबिनै कविता सुटुक्कै झिकेको किन होला ? २०१८ सालमा ‘फूल, पात, पत्कर’ मा प्रकाशित ‘सहिदहरूसितै’ कवितामा साझा फूलबारी–वंशज महेन्द्र शाहजीलाई प्रहार गरिएको भन्दै पञ्चायती दास प्रशासकको सातो उडेको हुन सक्छ । नौ हरफे छोटो कवितांश यस्तो छ :

यो साझा फूलबारीको हरेक फूल चुस्नैपर्‍यो

माटो खाए माटो होइन्छ, मानिस खाए मानिस

त्यसैले मान्छेलाई मान्छेले टोक्नैपर्‍यो

मानिसहरू यो साझा फूलबारीमा निकै हुनैपर्‍यो ।

रिमाल परिवारसँग कविको भौतिक निसानी बाँकी छैन । कविको फोटोधरी दोस्रो छैन । कविले प्रयोग गरेका दुई तीनवटा पुस्तक छन् । कुनै डायरी, पाण्डुलिपि ? अहँ कुनै भेटिएनन् । परिवारका अनुसार रिमाल सधैं छालाको रातो झोला बोकी हिँड्थे । परिवारका सदस्यलाई पनि छुन दिँदैनथे । रिमालका भाइ/विद्यार्थी/साथी लेखक शंकर लामिछानेले सबै कागजपत्र लिएर गएको हरिदेवीलाई स्पष्ट सम्झना छ ।

दाइ रिमाल गएको दुई वर्षमै भाइ लामिछाने पनि एकतर्फी यात्रामा गैगए । लामिछानेबारे ‘एब्स्ट्रयाक्ट पोट्रेट : प्याज’ शीर्षकमा उहिल्यै एउटा निबन्ध लेखेको र छोरा दीप लामिछानेसित पनि कुरा गरेको यो पंक्तिकार निराश छ । रिमालको घरमा जसरी केही छैन, लामिछाने परिवारमा पनि त्यसरी नै केही छैन । आफैं बेठेगान भएका प्रिय लेखक शंकरले अर्का प्रिय लेखक रिमालका पाण्डुलिपि कहाँ कसलाई बुझाए होलान् ? नेपाल एकेडेमीबाहेक अन्त बुझाएको भए त फर्केलान् पनि कि कहिल्यै ? (मनु ब्राजाकीको कथा–पाण्डुलिपि ‘आमालाई बेच्नुहुँदैन लाटा’ कहाँ दमपच पार्‍यौ ए प्राज्ञ महोदय हो ?)

मदन साराले ‘पागल’ भन्ने बाबुसँगै सुत्थे । बाबुलाई सानैमा गुमाउनुपरेको हुँदा, राम्ररी चिन्न र बुझ्न नपाएकामा मदनलाई थकथकी लाग्छ । मदन आँखा चिम्लेर बाबुसँगै सुतेका हुन्थे । बाबु राति जुरुक्क उठ्थे अनि सेतो चुनाले पोतेको भित्तामा सिसाकलमले अंग्रेजीमा लेख्थे । के लेख्थे ? कसले बुझ्ने ? गलत ठेगानामा आइपुगेको खामझैँ ती अस्पष्ट किरिङमिरिङ अक्षरको स्पष्ट सम्झनाले छोरालाई सताउँछ, ‘बुवालाई बाँचुन्जेल चिनिएन, जब जानुभयो, बल्ल ठूलो लेखक हुनुहुँदोरहेछ भन्ने थाहा भयो ।’

कुराकानीको अन्त्यमा मदनको कुराले पंक्तिकारका आँखा रसाए । सँगै गएका लेखक सुबिन भट्टराई पनि भावुक भए । तपाईंहरूको परिवारमा यो लाइनमा कोही हुनुहुन्छ कि भन्ने प्रश्नमा मदनले जे सुनाए, त्यो भावातीत छ । ‘स्कुल पढ्दा म कविता लेख्ने, रेडियो नेपालको बाल कार्यक्रममा भाग लिने गर्थें । मैले कविता लेखेर बुवालाई देखाउँदा उहाँले कहिल्यै मेरो कपी हेरिदिनुभएन, कुनै प्रतिक्रिया दिनुभएन’, कोठाबाट बाहिर हेर्दै मदनले भने, ‘बुवा साहित्यकार र राजनीति गर्नेको व्यवहारबाट वाक्क भइसक्नुभएको थियो, सायद ।’

कविले बिहान ९ बजेतिर छाती दुखेजस्तो छ भने । मदन तत्कालै डाक्टरको खोजीमा निस्के । गाडी पाएनन्, डाक्टर पनि भेटेनन् । मदन घर फर्के । बाले घरमा बान्ता गरेको देखेपछि मदन आफ्नो दाइ मोहनसित फेरि डाक्टरको खोजीमा निस्के । बाटोमा डा. फत्तेबहादुर मल्ललाई भेटेपछि घर आए । डा. मल्लले रिमालको निधन भइसकेको भने ।

यसरी लक्ष्मीपूजाको अघिल्लो दिन बिहानै आजीवन विद्रोही, स्वप्नजीवी रिमाल स्वयं ‘सपना’ भए । टेकुको ‘मसान’ घाट लगिइए । एउटा कोमल आत्माले कठोर भुक्तमानबाट मुक्ति पायो, र भन्यो— ‘यो प्रेम !’

प्रकाशित : कार्तिक १८, २०८० १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?