१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

‘विश्वबजारमा हामी छौं, छैनौं पनि’

‘हाम्रोमा समस्या छ, अभिनय र लेखनमै । हामीसँग लेखक कति छन् ? अभिनयमा कलाकारको भर्स्ट्यालिटी के छ ?’
‘नेपालबाट रुयुस्के हामागुची, हिरोकाजु कोरेइदाजस्तो निर्देशक आए भन्ने दिन आउनुपर्‍यो ।’
रीना मोक्तान

‘नुमाफुङ’ र ‘मुकुण्डो’ पछि एक दशक नेपाली फिल्म विश्व बजारमा किन पुगेन ? निर्देशक नवीन सुब्बासँग यसको जवाफ छ, ‘हामी निष्क्रिय भयौं । हामीलाई प्राप्त ज्ञान अपुग भयो र काम गर्न जुन सहयोग आवश्यक थियो, त्यो भएन ।’ उनी निर्देशित ‘खाङ्ग्री’ मार्फत पहिलो पटक नेपाली फिल्मले विश्वबजार देख्यो ।

‘विश्वबजारमा हामी छौं, छैनौं पनि’

अहिले बर्सेनि कुनै न कुनै फिल्म अन्तर्राष्ट्रिय बजार पुग्छ । नवीनको फिल्मसँगै यसै वर्ष आधा दर्जन नेपाली फिल्म बाहिर जाँदै छन् । अन्तर्राष्ट्रिय प्लाटफर्ममा नेपाली फिल्मको पहुँच, बजार व्यवस्थापन, चुनौती र उपलब्धिबारे नवीन सुब्बासँग रीना मोक्तानको वार्ता :

‘गाउँ आएको बाटो’ को टोरोन्टो प्रिमियर कस्तो भयो ?

टोरोन्टोमा सकरात्मक प्रतिक्रिया पाइयो । नेपाली फिल्महरूले त्यो तहको मिडिया कभरेज विरलै पाउँछन् । त्यहाँ झन्डै दुई सयभन्दा बढी फिल्म, अढाई लाख दर्शक थिए । हाम्रो जस्तो देशको फिल्म छ/छैनजस्तो पनि हुँदो रहेछ । छैन भन्दा हाम्रो फिल्म छ, दुई पब्लिक स्क्रिनिङ नै हाउसफुल । तर, नेपाली फिल्म छ भनौं जुन अस्तित्व अन्य देशले पाइरहेको थियो, त्यो हेर्दा हामी त्यहाँ छैनौंजस्तो । कोरिया, हङकङ, उत्तर अमेरिकाका ठूल्ठूला एक्टर/निर्देशक थिए, हामी त हराउँदा रहेछौं ।

यो अनुभवले भन्छ– फेस्टिभलमा पनि वर्ग छुट्टिँदो रहेछ । स्टार शक्ति भएको, ठूला उद्योगका फिल्मलाई फरक–फरक हल थियो, रेड कार्पेट दिइन्थ्यो । हामीजस्तालाई सानो रेड कार्पेट र ‘फोटो कल’ । हामीले पनि नेपालका राम्रै कलाकारलाई लिएर गएका थियौं । तर, त्यहाँ हाम्रो उपस्थिति छैनजस्तो भयो ।

तपाईंको फिल्मले त्यहाँ राम्रै समीक्षा पायो ?

समीक्षकको मात्रै होइन, आम दर्शकको पनि समीक्षा लिइँदो रहेछ त्यहाँ । सकारात्मक समीक्षा पायौं हामीले । मलाई के अनुभव भयो भने हामी नेपाली दर्शकलाई लक्षित गरेर मात्रै बोलिरहेका हुँदारहेछौं । जस्तो, यस्तो प्लाटफर्ममा पुग्नेहरूले स्ट्यान्डिङ यति मिनेट, हाउसफुल दर्शक भन्ने गफ सुनाउँछन् । तर, साँचो अर्थमा हाम्रो फिल्म त्यहाँको भीडमा चिनिन्छ कि चिनिँदैन ? यो प्रश्नको सायद सकारात्मक जवाफ आउँदैन ।

पेरु, पोर्चुगिज, इटालियन समीक्षकले फिल्मलाई जसरी विभिन्न दृष्टिकोणबाट हेरेर लेखिदिए त्यसले नेपाली फिल्मको विषयमा छलफल हुने स्थिति सिर्जना भयो । अहिले नै त्यसको प्रतिफल भने नदेखिएला । अब समीक्षात्मक रूपले जर्नलहरूमा नेपाली फिल्ममाथि लेखिनुपर्छ । त्यसपछि मात्रै नेपाली फिल्मले बजार पाउँछ । चीनमा पनि त्यसरी नै अध्ययन भएको थियो । हाम्रा फिल्महरू त गइरहेका छन्, तर गम्भीर अध्येताले त्यो अध्ययन गरेको छैन । हामी एकदमै सुरुवातको चरणमा छौं ।

केही भारतीय समीक्षकले दक्षिण एसियामै नेपाली फिल्म अगाडि रहेको विषय सार्वजनिक रूपमै भनिदिए । भारतजस्तो ठूलो उद्योगले पनि यस्तो प्लाटफर्ममा उपस्थिति जनाउन नसकिरहेका बेला नेपालले समानान्तर रूपमा ठूल्ठूला महोत्सवमा फिल्म पठाउँदा ‘भिजिबिलिटी’ बढेको छ । तर, यत्तिले मात्रै पुग्दैन । अन्तर्राष्ट्रिय बजार व्यवस्थापनका लागि उद्योगका रूपमा नेपालीहरूले आफ्नो आवाज निर्माण गर्नुपर्छ, जसरी कोरिया, हङकङले गरे । हाम्रा घरेलु फिल्म कहाँ छन् ? यी सबै काम हुँदै गए हामीले बजार व्यवस्थापन, पहुँच र स्वीकार्यता पाउँछौं । त्यसैले यथार्थलाई आत्मसात् गर्नुपर्छ भन्ने लाग्छ ।

तपाईंकै फिल्म ‘खाङ्ग्र्री’ पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो । त्यतिबेला तपाईंले देखेको सम्भावना र चुनौतीले अहिले कस्तो रूप लिएको छ ?

यो बीच धेरै परिवर्तन भएछ । राष्ट्रिय फिल्मको स्वरूप नै परिवर्तन भयो । पहिले निश्चित देशका निर्देशकले त्यहीँकै जनशक्ति/लगानी प्रयोग गरेर बनाइएका फिल्म राष्ट्रिय हुन्थे । यो पटक पाकिस्तानका केही फिल्म थिए, ती फिल्मलाई पाकिस्तानी मूलका क्यानिडियनले बनाएका थिए । अब देशलाई प्रतिनिधित्व गर्न निर्देशक नै नभए हुने भयो, विषयले काम पुग्ने भयो ।

अन्तर्राष्ट्रिय बजार घुमिसकेका फिल्मले घरेलु बजारमा भने अपेक्षित दर्शक पाउँदैनन् । यस्तो हुनुमा दर्शकको लिट्रेसी कम हो कि फिल्म प्रचारकै कमी ?

‘गाउँ आएको बाटो’ को दोस्रो स्क्रिनिङ हेर्न नेपालीहरू टन्नै उपस्थित थिए । पहिलो सोमा त्यहीँका स्थानीय (विदेशी) थिए । दोस्रोमा ३० प्रतिशत नेपाली थिए । गम्भीर किसिमका भन्दा पनि चमकधमकपूर्ण फिल्मका दर्शक टोरोन्टो महोत्सवमा बढी हुन्छ । क्यान्स र भेनिसमा गम्भीर फिल्मका दर्शक आउँछन् । नेपालको घरेलु बजारमा ‘कालो पोथी’ चल्यो, ‘सेतो सूर्य’ चलेन । त्यसपछि त टेस्ट हुनै बाँकी छ । अन्तर्राष्ट्रिय प्लाटफर्ममा पुगेका फिल्म चल्दैनन् भन्ने गलत भाष्य नेपालमा निर्माण भएको छ ।

‘कालो पोथी’ पछि फेस्टिभल घुम्ने कुन फिल्म आयो त ? ‘ऐना झ्यालको पुतली’ लाई दर्शक मिलेकै हो । घरेलु बजारमा यस्तो फिल्मको प्रचारप्रसार र बजार व्यवस्थापन–प्रकियाको तालमेल मिलाउन नसक्दा पनि जुन स्वीकार्यता चाहिने हो, त्यो भइरहेको छैन । ‘कमर्सियल’ फिल्मले गर्ने मार्केटिङ पच्छ्याउँदैमा दुई दिनमै लगानी उठाउँछ भन्ने हुँदैन । वितरण र प्रचारको प्रणाली फरक हुनुपर्छ । ग्लोबलमा पुगेका फिल्महरूले यस्तो विषयमा ध्यान पुर्‍याउनुपर्छ । अर्को कुरा, गम्भीर भनिएका फिल्मले विषय मात्रै गम्भीर उठाए कि फिल्म पनि बनाए ? प्रश्न आउँछ । फेरि महोत्सव घुमेको फिल्मले ‘पन्चलाइन’ फिल्मका दर्शक अपेक्षा गरेर पनि हुँदैन ।

अहिले डायस्पोरामा फिल्म देखाउनुमै फिल्मकर्मी दंग छन् । त्यसैलाई अन्तर्राष्ट्रिय बजारका रूपमा व्याख्या पनि गर्छन् । नेपाली फिल्मकर्मी यत्तिमै रमाए के हुन्छ ?

अहिले विदेश गएका नेपालीको दोस्रो पुस्ता तयार हुँदै छ । ती पुस्ता फिल्मदेखि अभिनयसम्म पढ्दै छन् । नेट्फ्लिक्समै काम गरिरहेका नेपाली पनि छन् । उनीहरूले फिल्म बनाउन थाले के हन्छ ? त्यो देखिन बाँकी नै छ । डायस्पोरालाई अन्तर्राष्ट्रिय बजार मान्नु आत्मरति मात्र हो, त्यसले कहीँ पुर्‍याउँदैन ।

‘आरआरआर’ ले १६ करोड डलर व्यापार गर्‍यो । १३ करोड त उनीहरूको घरेलु बजारबाट उठेको हो, ३ करोड डायस्पोराबाट । डायस्पोराबाट हाम्रो कति उठ्छ ? एक/डेढ करोड ! तर, घरेलु बजार त बढिरहेको छ । हाम्रोजस्तो सानो फिल्म क्षेत्र पनि ग्लोबलमा पुग्नैपर्छ भन्ने चर्चा हालै भयो । हामी ग्लोबलमा पुगेनौं भने उनीहरू आउनेछन् । उनीहरू आए भने हामी लड्न सक्दैनौं ।

अहिले हामीलाई त्यस्तै भइरहेको छ । शाहरूख खानको ‘जवान’ आउँदा हामीले हाम्रो फिल्मको रिलिज मिति नै फेर्नुपर्ने हुन्छ । यस्तै ठूला फिल्म आउँछ कि आउँदै भनेर मात्रै फिल्मको प्रदर्शन मिति तय गर्नुपर्छ । ग्लोबलमा जाँदा हामी हाम्रो आवाज लिएर जान्छौं । त्यसपछि अरूसँग हाम्रो आवाज मिल्दैन । त्यस्तो हुँदा प्रतिस्पर्धात्मक क्षमता बढ्छ ।

यस वर्ष टोरोन्टोसँगै भेनिस, बुसानलगायत संसारका प्रतिष्ठित महोत्सवमा प्रवेश गर्ने नेपाली फिल्मको संख्या बढ्दै छ । अन्तर्राष्ट्रिय बजारमा पाएको यस्तो सुखद प्रवेश महोत्सवको प्रमुख प्रतिस्पर्धाहरूसम्म चाहिँ किन पुग्दैन ?

हाम्रोमा समस्या छ, अभिनय र लेखनमै । हामीसँग लेखक कति छन् ? अभिनयमा कलाकारको भर्स्ट्यालिटी के छ ? अहिले दयाहाङ राई धेरै प्लाटफर्ममा पुगिरहेका छन् । त्यसपछि सौगात मल्ल र विपिन कार्की फाट्टफुट्ट देखिइरहेका छन् । त्यसरी हेर्दा हामीले हाम्रो अभिनयको बजार पनि स्थापित गर्न सकिरहेका छैनौं । बजारले नेपालबाट ओहो ! गज्जबको अभिनय आयो भन्ने दिन आउनुपर्‍यो । हाम्रो अभिनय, फिल्ममेकिङ नै विश्वस्तरको छैन ।

नेपालबाट रुयुस्के हामागुची, हिरोकाजु कोरेइदाजस्तो निर्देशक आए भन्ने दिन आउनुपर्‍यो । हिजो हामीले बलिउडले जस्तै पाँच गीत/पाँच फाइट, जमिनदार भिलेन हुने फिल्म बनाइरहेका थियौं । अहिले त जाने पनि नजाने पनि आफ्नो कथा लेख्ने, आफ्नो उत्साह, उमंगलाई लिएर फिल्म बनाउने काम सुरु भएको छ । यो त ग्लोबल जानेहरूले पाएको एक्स्पोजरले ल्याएको रूपान्तरण हो । ग्लोबलमा गइरहेका फिल्मकर्मीको काम हेर्दा रूपान्तरण, परिवर्तन र गुणानात्मकता बढ्दै गएको देखिन्छ । अबको ५/७ वर्षमा हामी प्रमुख प्रतिस्पर्धातिर पनि अवश्य पुग्नेछौं ।

फिचरको दाँजोमा धेरै लघु फिल्म फेस्टिभल घुम्दै छ । यो फिचर फिल्म नेपाली बजारमै खुम्चिँदाको नतिजा हो या हामी मेकिङमै चुकिरहेका छौं ?

हाम्रो फिल्म क्षेत्रलाई म उद्योग भन्दिनँ । अहिले २/४ फिल्मकर्मी आफूलाई व्याावसायिक रूपले सफल भनिरहेका छन् । के आधारमा ? पैसा कमाएको हिसाबमा ? ‘प्रेमगीत’ जस्तै एउटा फिल्म भोलि भारतीय बजारमा चल्दियो भने घरेलु फिल्म स्वात्तै रूपान्तरण हुन्छ । त्यसपछि बलिउडजस्तै फिल्म बनाउन थालिन्छ । नेपाली फिल्म क्षेत्र सकिने खतरा त्यहाँनिर छ । कोरियाको फिल्म अहिले खत्तम भएको छ । नेट्फ्लिक्सले कोरियन ड्रामामा लगानी गर्न थाल्यो । अहिले कोरियन फिल्म संकटमा छ भनिन्छ ।

ग्लोबल जाने पक्षले हेर्दा भोलि नेट्फ्लिक्स, हुलु, मल्टिप्रोडक्सनमा फिल्म बनाउँदा पैसा त थुप्रो आउनेवाला छ । अहिले नै १५ करोडमा फिल्म बनाउन थालेका छौं हामीले । भोलि नेट्फ्लिक्सले उनीहरूलाई लगानी गर्न थाल्यो भने कतिमा गर्छ । त्यसबेला अर्को संकट आउँछ । घरेलु बजारमा सफल फिल्मकर्मीले कतिमा फिल्म बनाइरहेका छन् ? ग्लोबल जानेहरूले १२/१५ करोड भन्न थालेका छन् । भोलि उनीहरूकै एक्स्पोजर र कनेक्सन बढ्दै जाने हो । नेपालको नाममा कोही अमेरिकन निर्देशक ओस्कारमा गयो भने के हुन्छ ? त्यसैले अब हामीले हतारोमा हाम्रो आवाजलाई ग्लोबलमा बुलन्द बनाउनैपर्छ ।

यसरी फिल्महरू फेस्टिभल पुग्दा चलचित्र विकास बोर्डले बाटो खर्च दिन्छ । त्यो खर्च ‘हात्तीको मुखमा जिरा’ हुने गरेको चर्चा सुनिन्छ नि ?

उनीहरूका सर्तहरू छन् । अहिले हामी त्यो सर्तमा बाँधिएका छैनौं । त्यसैले विकास बोर्डको केही सहयोग छैन हामीलाई । लगानी गर्ने भएपछि सर्तहरू राख्ने नै भए । त्यता गहिरिएर अध्ययन गरेको छैन । तर, छिमेकी राष्ट्र भारतलाई नै हेर्ने हो भने पनि थाहा हुन्छ– कुनै फिल्मले अवार्ड जितेर आयो भने २५/३० लाख दिने गरिन्छ । हङकङ अभिनेता एन्डी लाओले टोरोन्टोमा स्‍पेसल ‘टिफ ट्रिब्युट अवार्ड’ जित्दा त्यहाँका प्रशासकीय अधिकृतले सुभकामना दिए । यहाँ त प्रधानमन्त्रीको कुरा छोडौं, विकास बोर्डलाई नै थाहा हुँदैन । हामीकहाँ त ग्लोबल जाने फिल्मले नेपाली फिल्म बिगारिरहेका छन् भन्ने पो बुझाइ छ त । जब कि यसले घरेलु फिल्मलाई विकास गर्न मद्दत गर्छ ।

हालै बलिउडको मसालेदार फिल्म ‘थ्यांक्स फर कमिङ’ टिफको अफिसियल छनोटमा पर्‍यो । हाम्रा मूलधारका फिल्मले यस्तो उपलब्धि पाउन सक्छ कि सक्दैन ?

अहिले बुसानमा करण जोहरको फिल्म पनि छ । त्यो प्रकारको फिल्मको पनि दर्शक छ है भन्दै ठाउँ दिइरहेका छन् उनीहरूले । यस्तो पनि ठाउँ हुन्छ है भन्नेखाले आत्मविश्वास हाम्रा फिल्मकर्मीमा आउनुपर्‍यो ।

तपाईं पहिल्यैदेखि भन्नुहुन्थ्यो– अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको संख्या थपिँदै जाँदा त्यसले नेपाली फिल्म उद्योगको निर्माण गर्छ । तर, त्यो कसरी उद्योग बन्छ त ?

यस्तो प्लाटफर्ममा पुग्दा फिल्मकर्मीले धेरै एक्स्पोजर र अनुभव लिएर आउँछन् । त्यही अनुभवलाई अभ्यास गर्छन् । अहिले त विदेशी प्राविधिक ल्याउने चलन छ । विदेशी प्राविधिक आउँदा नेपालीले उनीहरूबाट सिक्ने भए । ज्ञान पनि हस्तान्तरण भइरहेको छ । यसरी नै रूपान्तरण ल्याउने हो ।

अन्तर्राष्ट्रिय बजारमा हाम्रो अस्तित्व बनाउन हामीले आफ्नो भाष्य निर्माण गर्नुपर्‍यो, होइन ?

फिल्मको आफ्नो भाष्य निर्माण हुनुपर्छ । हाम्रो ‘गाउँ आएको बाटो’ ले पनि विदेशीलाई भिन्न महसुस गरायो । हामीले प्रयास त गरिरहेकै छौं । तर, के हो त नेपाली फिल्म ? त्यो आउनै बाँकी छ । ‘गाउँ आएको बाटो’ सोसल रियलिज्ममै आधारित हो । दीपक रौनियारले अहिले थ्रिलर विधामा काम गरिरहेका छन् । अहिले कथा भन्ने शैलीमा पनि विविधता छ । यो बाहिरबाट प्राप्त ज्ञान हो । हरर, लभस्टोरी र कमेडी विधामा घरेलु फिल्म बनिरहेकै छन् । अहिले कमेडीको वर्चस्व छ ।

यसरी फरक विधामा काम गरिरहँदा हाम्रो आफ्नो विधा कसरी बन्छ त ? हाम्रो विधा त बरु माउन्टेनेरिङ/एडभेन्चर हुन सक्ला, गोर्खा र युद्ध होला । समुद्र भएको देशका फिल्ममा कहीँकतै समुद्रको वर्णन हुन्छ नै । तर, हामीकहाँ हिमालको वर्णन नै हुँदैन । हिमाल हेर्न जाऊँ कसैले भन्छ ? हिमाल हेर्न जाऊँ भन्ने कुरा सायद कसैले गर्छ भने त्यो त नेपाली फिल्मले नै गर्नुपर्छ । यसरी मिहिन रूपमा भाषा निर्माण गर्नुपर्छ । हाम्रोतिर ग्लोबल जानेहरू आफ्नै भाषा निर्माण गर्नुभन्दा फिल्ममा प्रयोग गर्दै आइरहेको आइडियालाई नै कसरी प्रयोग गर्ने भन्ने सोच्छन् । त्यो अर्को समस्या हो कि भन्ने लाग्छ । तर, हामीले स्थानीय भाष्यको फिल्म निर्माणमा काम गर्नुपर्छ ।

प्रकाशित : आश्विन १३, २०८० १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?