जो मुग्ध भयो, त्यो मुक्त भयो

दिव्यजी, तपाईंका लागि एउटा नाटक लेख्दै छु,’ गएको वर्ष तिहारतिर फोनमा कुमार नगरकोटी बोल्नुभो । त्यतिबेला स्वयम्भूको डाँडामा थिएँ । त्यसको एक/डेढ महिनापछि ड्राफ्ट पूरा गर्नुभएछ । ‘ट्रान्जिट’ को स्क्रिप्ट छिट्टै हात पर्यो । डायलगसमेत याद गर्न थालें, तर बीचमा केही कारणले नाटक हुन सकेन ।

चाँडै स्क्रिप्ट हात परिसकेकाले मैले त्यो चरित्रलाई पहिल्यै बुझिसकेको थिएँ । मैले अहिलेसम्म रियलिस्टिक नाटकहरू गरें । ‘ट्रान्जिट’ मेरो पहिलो ‘एब्सर्ड’ नाटक हो । टेक्स्ट पढ्दा मैले जसरी पात्रलाई प्रस्तुत गर्छु भन्ने कल्पना गरेको थिएँ, अभ्यास गर्दा त्यो पूरै भत्काउनुपर्यो । निर्देशक घिमिरे युवराजले भत्काइदिनुभयो ।
चरित्रलाई रियलिस्टिक बनाउनुपर्छ भन्ने मेरो सोच ! चरित्र रियलिस्टिक शैलीमा नलेखिएकाले त्यसरी नजाऊँ भन्ने निर्देशकको सल्लाह ! त्यसपछि हामीले त्यो चरित्रलाई शारीरिक हाउभाउ (फिजिकालिटी) बाट कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने खोज्न थाल्यौं । अभ्यासकै क्रममा केही मुभमेन्टमा मैले मानव शास्त्रीलाई भेट्न थालें । उसको मानसिक अवस्थालाई मेरो शारीरिक हाउभाउले कसरी सम्मिलित गर्ने भन्दै अघि बढ्यौं । पछि रमाइलो हुन थाल्यो । रिहर्सलको अन्तिम अवस्थातिर स–साना कुराले ‘ए मानव शास्त्री यस्तो पो हो’ भन्ने भान हुँदै गयो । मञ्चनको ३/४ दिनअघि मात्रै त्यो चरित्र मेरो नियन्त्रणमा आयो । चरित्र निर्माणमा समय त लागेन तर, गाह्रोचाहिँ भयो ।
कलाकारका हिसाबले हेर्दा म ‘फिजिकालिटी’ मा कमजोर छु । ‘फिजिकालिटी’ को तालिम पहिल्यै पाएको भए अझै मज्जाले यो चरित्रलाई पस्किन सकिन्थ्यो भन्ने भइरह्यो । अहिले फर्केर हेर्दा मेरो काम अपुगै थियो भन्ने लाग्छ । आफूले पहिले गरेको चरित्रलाई एक हप्तापछि फर्केर हेर्दा बल्ल निद्राबाट ब्युँझेझैं लाग्छ । ह्या के गरिएछ ? भन्ने पनि । मानव शास्त्रीको चरित्र गरुन्जेल एक किसिमको ऊर्जा भइरह्यो । तर, नाटक सकिएपछि त्यो कुरालाई यसरी गर्न सकिन्थ्यो भन्ने अनुभूति भइरह्यो । सायद त्यो मेरो आत्मालोचनाको समय पनि होला । शारीरिक हाउभाउमार्फत चरित्रलाई कसरी गहिराइमा लैजान सकिन्छ भन्ने ‘ट्रान्जिट’ बाट बुझ्न पाएँ ।
रियलिस्टिकमा आफूभित्र चरित्रलाई खोज्नुपर्ने हुन्छ । सर्रियल चरित्रलाई एकदम जटिल बनाउँदा बेमेल पनि हुँदो रहेछ । त्यसैले त्यसमा शारीरिक हाउभाउ चाहिन्छ । ‘रियलिजम’ मा जे हो त्यस्तै गर्न खोज्छौं । तर, यस्तो विधाका नाटकका लागि त्यो चरित्रलाई कसरी रोचक/ठूलो बनाउन भन्ने हुन्छ । रियलिस्टिकमा कफी पिउँदा म वास्तविक बन्न खोज्छु होला । तर, ‘एब्सर्ड’ मा त्यसरी नभई अर्कै तरिकाले पिउनुपर्यो । अलि फरक खोज्न थालिँदो रहेछ, त्यसको सिर्जनात्मक मज्जा पनि अर्कै हुन्छ । रियलिस्टिक गर्दा एउटा फ्रेमवर्क प्रस्ट हुन्छ ।
तर, यसमा त्यस्तो फ्रेमवर्क थिएन, जता लैजाँदा पनि भयो । त्यस्तोबेला अलि धेरै गरें कि ? अलि बढी भयो कि ? भन्ने अन्योल हुनेरहेछ । शब्दले भनेको कुरालाई मेरो शारीरिक भाषा, स्वरले समाउनुपर्यो । त्यस्तो कार्य अजिब पनि देखिनुभएन, अनि रियलिस्टिक पनि । रिहर्सलताका यो चरित्रबारे जे–जे कुरा भेटियो, त्यसमा शतप्रतिशत विश्वास गरेर काम गर्नुको विकल्प थिएन । यदि मैले नै विश्वास गरिन भने दर्शकलाई पनि चरित्र लाउड लाग्न सक्थ्यो, त्यो चरित्रप्रति विश्वास पनि हुँदैनथ्यो । कतिपय समय लेखकले यो यसरी सोचेर लेखेको हो/होइन भन्ने शंका हुन्थ्यो । त्यहीमाथि नगरकोटीलाई बुझ्न गाह्रो । कुनै प्रस्तुतिमा बेजोड मज्जा आउँथ्यो, त्यतिबेलाको ऊर्जा नै बेग्लै हुन्थ्यो । कुनै प्रस्तुति ६० प्रतिशतले राम्रो हुन्थ्यो, ४० मा चित्त बुझ्दैनथ्यो । कुमार नगरकोटी त मस्तमगन हुनुहुन्थ्यो ।
‘एब्सर्ड’ शैलीलाई सम्पूर्णतामा बुझ्न सकिँदैन । लेखक/कलाकारले के प्रस्तुत गर्न खोजेको हो त्यसको ठ्याक्कै अर्थ पत्ता लाग्दैन । तर, त्यसलाई दर्शकले कसरी बुझे भन्ने महत्त्वपूर्ण हो । ‘एब्स्ट्र्याक’ कलालाई पनि पछाडिबाट हेर्दा अर्कै कुरा त्यसले दिइरहेको हुन्छ । अगाडिबाट हेर्दा त्यसभित्र कतै जीवनको टुक्रा भेटिइरहेको हुन्छ । यो नाटकमा पनि त्यस्तै तत्त्वहरू थिए । बीच्च–बीच्चमा दर्शक रोए । एक जनाले त ‘चिच्च्याइदिन मन लाग्यो’ भन्ने प्रतिक्रिया दिनुभयो, त्यो सुन्दा अचम्म लाग्यो । सायद, ‘एब्स्ट्र्याक’ को सौन्दर्य त्यो पनि हो ।
रियलिस्टिक नाटकको विषय सिधै दर्शकमा पुग्छ । तर, यस्तो नाटकमा दर्शक पनि आफैं खुला हुनुपर्छ, आफूलाई प्रभाव पार्न दिनुपर्छ । फेरि कला पनि त्यही हिसाबले मजबुत हुनुपर्यो । यदि कला शक्तिशाली छ भने त्यसभित्र जीवनका टुक्रा भेटिन्छ नै । खासमा त्यो कविताजस्तै हो । जीवनमा व्यक्तै गर्न नसकिएका कुरालाई कविताका २ लाइनले नै भनिदिन्छ । घण्टौं बखान गर्न नसकिने विषयलाई ‘एब्स्ट्र्याक’ शैलीले एकैक्षणमा अनुभव गराउन सक्छजस्तो लाग्छ । ‘ट्रान्जिट’ मा त्यो पक्ष कति देखियो/देखिएन भन्ने हो । तर, दर्शकलाई पारेको प्रभाव गज्जबकै थियो । धेरै जनाले यो नाटकलाई एक पटक हेर्दा बुझ्नुभएन । ‘मैले केही बुझिनँ, तर, धेरै बेरसम्म यो नाटकले हिर्काइरह्यो’ भन्ने प्रतिक्रिया आए ।
मेरी पत्नीले ‘ट्रान्जिट’ ६ चोटि हेरिन् । उनी मेरो नाटक ५/६ चोटि नै हेर्ने गर्छिन् । उनले दिने प्रतिक्रिया रमाइलो थियो । कुनै दिन नाटकलाई फरक पाएको प्रतिक्रिया दिन्थिन् । ‘चरित्रहरू उस्तै देख्थें । तर, अस्ति किन धेरै रमाइलो अनुभव भयो र आज किन ? भन्थिन्– त्यसमा मेरो मुडले पनि असर पार्दो रहेछ । मुड खराब हुँदा नाटकमा मज्जा नै नआएको कुरा सुनाउँथिन् । जब कि त्यो दिन मेरो प्रस्तुतिमध्येमै राम्रो काम हुन्थ्यो । हामी कुन मुडमा नाटक हेर्दै छौं भन्ने कुराले पनि प्रभाव पार्दो रहेछ ।
कलाकारको पनि त्यस्तै हुन्छ, त्यसैले एक/डेढ घण्टाअगावै हामी थिएटर पुगेर मानसिक रूपले तयार बस्छौं । ताकि बाहिरको मुडभित्र मञ्चमा नदेखियोस् । कस्ट्युम लगाएदेखि नै हामी त्यो चरित्रलाई अनुभव गरिसक्छौं । आर्मीले बर्दी लगाउँदा जे अनुभव गर्छ, हाम्रो पनि कस्ट्युममा त्यस्तो ऊर्जा हुन्छ । त्यो कस्ट्युमले चरित्रलाई फर्काउन मद्दत गर्छ । कुनै–कुनै दिनचाहिँ जति कोसिस गर्दा पनि राम्रो हुँदैन थियो ।
‘ट्रान्जिट’ को पहिलो मञ्चनमा त्यस्तै भयो । त्यो दिन कसैको अनुहारै हेर्न मन नलाग्ने, मजस्तो झुर अभिनय गर्ने कोही छैन होला भन्ने अनुभव भयो । सायद नाटकको सौन्दर्य यो पनि होला । जीवन कुनै दिन गज्जब लाग्न सक्छ, कुनै दिन बेकार । नाटकले भावनालाई सन्तुलनमा राख्न सिकाउँछ । नाटक त साधनाजस्तै हो । यदि यो साधनामा लीन हुन सक्यौं भने सक्यौं । ग्ल्यामर/पैसाले बढी तान्यो भने अभिनय गर्नका लागि गरियो भन्ने मात्र हुन्छ ।
नाटकभित्रको रियलिस्टिक पाटोको अर्कै कथा छ । विगतमा काम गर्दै आएका अभिनेत्रीहरूलाई मानव शास्त्रीले गरेको दुर्व्यवहारका कुरालाई लेखकले बेजोड शैलीमा लेखिदिनुभएको छ । रंगमञ्चकै कति कथा यस्तो छन् नि । ती कुराहरूलाई सर्रियल ढंगबाट पनि त भन्न सकिन्छ भन्ने नगरकोटीले प्रस्तुत गर्नुभयो । उहाँले जसरी दृश्यको परिचय लेख्नुहुन्थ्यो, त्यो पढ्दा पनि मज्जा आउँथ्यो ।
प्रप्सलाई पनि चरित्रकै हिसाबले लेख्नुहुन्थ्यो । यो नाटकको लेखाइ नै अर्कै छ । लुगाकै व्याख्या मज्जाको थियो । सबै कुरालाई मिहिन रूपमा लेखिएको थियो, त्यसैले चरित्रलाई मैले अर्कै रूपले बुझेको थिएँ । तर, घिमिरे युवराजले त्यसलाई आफ्नै तरिकाले निर्देशन गर्नुभयो । अर्कै तरिकाले नाटक रोचक बन्यो । यो नाटकमाथि फिल्म बनाउने हो भने कुमार नगरकोटीले जसरी लेख्नुभएको छ त्यसरी नै निर्देशन गर्दा मज्जा आउँछ ।
सुरुमा ‘मानव शास्त्री’ लाई पढ्दा त नगरकोटीकै एउटा पर्सनालिटी हो यो चरित्र भन्ने लाग्यो । विगतमा काम गरेका अभिनेत्रीलाई टाइम ट्राभल गराउँदै आफ्नो अघि उभ्याउन सक्ने चरित्र । झट्ट यो चरित्रलाई हेर्दा कुमार नगरकोटी बबाल हुन् कि मानव शास्त्री भन्ने लाग्छ । तर, कुमार नगरकोटीको क्षमतालाई हाम्रो पुस्ताले अझै सेलिब्रेट गर्नुपर्छ । उहाँ आफ्नो समयभन्दा अगाडिकै लेखक हुनुहुन्छ । ‘मानव शास्त्री’ कुमार नगरकोटीले मलाई सोचेर लेखेको चरित्र हो भन्दा एकदम गर्विलो अनुभव गर्छु । ‘जो मुग्ध भयो त्यो मुक्त भयो’ भन्ने खालका दर्शन मलाई निकै रोचक थिए । मानव शास्त्रीसँग आफूलाई दाँज्दा म पनि एकोहोरो हुन्छु, कलाप्रतिको मोहले ।
अहिले नाटक सकिइसकेपछि ६/७ पुस्तक पढिसकें । यतिन्जेलमा मानव शास्त्री मबाट कता–कता टाढिँदै छ । अन्य नाटक गर्दा पनि चरित्रको ह्याङ अलि छिटो उतार्ने गर्छु । यो चरित्रको प्रस्तुति अलिकति बेग्लै थियो । त्यसैले होला यो चरित्र भित्रै गढेर त बसेन, तर कहिलेकाहीँ स्कुटर चलाउँदै गर्दा लाग्छ– शिल्पीको मञ्चमा लगातार एक महिना भविष्यबाट आफ्नी प्रेमिकालाई वर्तमानमा भेटेको कल्पना गर्ने एक जना पात्र थियो, त्यो मानव शास्त्रीको के भयो होला ? अहिलेलाई हाइबरनेसनमा पुगिसक्यो होला, कुनै बेला फेरि मञ्चन भयो भने त्यो पात्र ब्युँतिन्छ होला ।
