दुःखान्तका आलापहरू

‘डम्फुको आत्मालाप’ का सांस्कृतिक कथा नौला स्वादका छन्, तिनले तामाङका संस्कृति, पात्र, रीतिरिवाज सुनाउँछन्
केन सुवेदी

कथाकार भक्त स्याङतानको नयाँ कथा–किताब ‘डम्फुको आत्मालाप’ ले तामाङ संस्कृति–पात्रहरू, रीतिरिवाज र तामाङ पृष्ठभूमिको कथा भन्छ ।

दुःखान्तका आलापहरू

प्राध्यापक अरुण गुप्तोले भनेझैं यो किताब तामाङ जातिको एकखाले दस्तावेज बन्न सक्छ किनभने यसका पात्रहरू तामाङ भाषा बोल्छन्, तामाङ संस्कृतिमा बाँच्छन् र तामाङका आम कथा सुनाउँछन् । तामाङहरूमा मात्रै सीमित छैन यो, किताबभित्र छ एउटा ‘दलुचा’ कथा, जसले नेवार संस्कृतिलाई पृष्ठभूमि बनाएको छ । ‘दलुचा’ ले नेवार पात्रहरूमार्फत पश्चिमी आधुनिकता र विश्वव्यापीकरणको कुरूप पक्ष उजागर गरेको छ ।

किताबमा प्रचुर मात्रामा तामाङ भाषा प्रयोग गरिएको छ । र, प्रत्येक कथाको अन्त्यमा शब्दार्थ दिइएको छ । शब्दार्थले नेपाली मात्रै बुझ्ने पाठकलाई तामाङ भाषासँग नजिक तुल्याउँछ ।

किताबका केही कथाहरू नाटक बनाउन सकिनेखालका छन् । किनकि तिनमा उद्घाटन, द्वन्द्वको सुरुवात, उत्कर्ष र द्वन्द्व समाप्तिजस्ता केही पक्ष छन्, जो एरिस्टोटलका नाटकका तत्त्वहरूमा पनि पाइन्छन् । प्रायः कथाको अन्त्य दुःख, वियोग, पीडा, कष्ट, रोदनजस्ता कठिन मर्मसहित भएका छन्, जसले पाठकलाई मर्माहत बनाउने सामर्थ्य राख्छन् । लेखकले ‘वास्तविक दुनियाँ कष्टप्रद छ है’ भन्ने देखाउन त्यस्ता पीडा र वियोगका पक्ष लेखेका हुन् कि ? समाजमा दुःख छ, तर यहाँ केवल दुःख छैन ।

केही कथान्तका दुःख र पीडा हेरौं । ‘लुङ्दर’ कथामा प्रेमिकाले प्रेमीलाई लामो अन्तरालमा विदेशबाट भेट्न आउँदा उपहार किन्नेक्रममा नजिकैको दुर्घटनामा परेर प्रेमीको मृत्यु हुन्छ । बल्ल भेट्न आएकी प्रेमिका डोल्मुको अचानकको मृत्युले दावालाई भावविह्वल बनाउँछ र दावाले पाठकको पनि सहानुभूति पाउँछ । ‘छ्योर्तेन’ कथामा बाबुलाई छोराले मोटरसाइकल दुर्घटनामा घाइते बनाउँछ । जापान जान्छु भनी लुकेरै सहरमा बसेको छोराले झुक्किएरै पनि बाबुलाई नै मोटरसाइकलले घाइते बनाउनु यो भयानक दुःखान्त हो कथाको । ‘न्होरला’ कथामा छोरी र बाबुको असीम माया देखिन्छ– बाबुले लेखेका पत्रहरूमार्फत । र, छोरी पनि बाबुका लागि ‘सरप्राइज’ भनि अमेरिकादेखि नेपालसम्मको यात्रा गर्छे । जसरी बाबु र छोरी केही कारण अलग हुनुपरेको थियो, पछि त्यही स्नेहले जोडिन खोज्छन्, कथाको अन्त्य दुःखद छ । लामो यात्रा तय गरेर आएकी छोरी र पूर्व–प्रेमीसँग माफी माग्छु भनी आएकी आमा सोनिया बाबु रामबहादुरलाई भेट्न पाउँदैनन् । रामबहादुरले काम गरेको स्कुल हुँदै गुम्बा पुगेर थाहा पाउँछन्– उनी लामो ध्यान–साधनामा केही दिन अघि मात्रै गएका छन् । यसरी जोडिनै लागेको सम्बन्धको ट्र्याजेडी कथामा छ र यो भाव सशक्त भएर आएको छ ।

‘छेदिङमो’ कथामा छेदिङमो दोर्जेको प्रेमिका हुन्छिन्, जो सिकिस्त बिरामी भएर समय नपुगी संसार छाड्छिन् । ल्योछारमा टुँडिखेलमा पहिलो पटक भेटेका उनीहरूको माया नमोबुद्धमा प्रगाढ हुन्छ । जीवनको अन्तिम घडीमा छेदिङमोले दोर्जेलाई लेखेको चिठीले सकस अनुभूति दिन्छ । कथामा गुम्बामा गई छ्युमे बाल्नुले कथालाई मर्मस्पर्शी र कारुणिक बनाएको छ । ‘जलजला’ कथामा जलजला अमरको निकटको साथी हुन्छिन् । अमर डीभी परेर अमेरिका भासिएको हुन्छ । धेरै पछि ऊ पहिलेको जलजलाको डेरा खोज्दै उही ठाउँ पुग्छ । जलजलाकी सानिमा भन्छिन्– जलजला हराएको दुई वर्ष भयो । अमर र पाठक दुवै दुःखी बन्नुको विकल्प छैन । ‘म्लाङगैको आपा’ कथामा मजदुर बाबु र उसको छोराको दुःखद कथा छ । संघर्ष गरेर छोरालाई अंग्रेजी माध्यमको स्कुलमा भर्ना गराउने बाबुको धोकोलाई वास्तविक बनाउन सुर्जेमान गाडामा मरिकुच्चे भारी बोकेर मजदुरी गर्थ्यो । एक दिन दुर्घटनामा परेर अकस्मात ज्यान गुमाउँदा म्लाङगै टुहुरो बन्छ र बाबुको सपनाबमोजिम घरबेटी आमैले उसलाई स्कुल भर्ना गरिदिन्छिन् । अनेक दुःख र दैनिक मजदुरीका बावजुद बाबु–छोरा बीचको आत्मीय सम्बन्ध भैपरी आउने दुर्घटनाबाट टुंगिन्छ । लाग्छ, कथामा अचानक भैपरी हुने दुर्घटना लेखकले जानेरै बुनेका हुन् ।

‘पेम्बाको कथा’ मा ९ वर्षे पेम्बाले घरमा समयमा खाना नपाकेका कारण कलिलो जाँड खाएर स्कुल जान्छ र सरले हाजिरी गर्ने बेला बान्ता गरेर कोठा दुर्गन्धित बनाउँछ । साथीहरू उसलाई जिस्क्याएर ‘जँड्याहा पेम्बा’ भन्छन्, जुन ऊ पचाउन सक्दैन र त्यसैले केही साथीहरूलाई कुटपिट गर्छ । बाध्यताले खाएको जाँडको कारण अपमानित हुन चाहँदैन पेम्बा, साथीलाई कुट्न पनि छोड्दैन । कुटाइ खानेका आमाबाबु बैठक डाकेर पेम्बालाई स्कुलबाट निकालियोस् भन्छन्, तर उसलाई स्कुलले एक पटकका लागि माफ दिन्छ । जिस्क्याउने क्रम जारी रहन्छ र शिक्षकको हेला पनि । एक दिन पेम्बा गाउँ छोडेर सहर भाग्छ । र, यो सुनेर शिक्षक र साथीहरूको मन अमिलो हुन्छ ।

अर्को सशक्त कथा हो– ‘दलुचा’ । वसन्तपुरको एक नेवार समुदायको परिवारको कथा हो यो । नेवारी परम्परा र जात्राबारे पनि गहिरो जानकारी दिन्छ यसले । विदेश जाने र आधुनिक जीवन बिताउने होडमा मतिना र न्हुच्छेमानका छोरा–छोरी विदेश भास्सिन्छन् । १०–१२ वर्ष घर फर्किंदैनन् । यता आमा मतिना डिप्रेसनसम्मको अवस्था खेप्छिन् । मातातीर्थ औंसीमा आउने वाचा गर्छन् छोराछोरी । बाबुआमाको खुसी असीमित हुन्छ । मतिनाको डिप्रेसन त निको भएझैं हुन्छ, तर औंसीको दिनसम्म उनीहरू आइपुग्दैनन् । त्यही साँझ डेलिभरी ब्वाईले सामान छोडेर जान्छ, जसमा छोराछोरीले पठाइदिएको केक देखेर मतिना दम्पती नराम्ररी रुन्छन् । यस्तै पीडा र मन भारी बनाउने अन्तिम दृश्य छन् कथाहरूमा, जसले पाठकलाई गम्भीर र भावुक बनाउँछ ।

‘डम्फुको आत्मालाप’ ले डम्फुलाई सिम्बोलको रूपमा प्रस्तुत गरेको छ । र, कथाले प्रश्न गर्छ– डम्फुको मानमा गिरावट आएको त छैन ? कथा पूर्ण रूपमा पृथक् छ । तामाङ जातिको हरेक पर्वमा आवश्यक संगीतको माध्यमले जोडिएको डम्फुको मूल्य बुझ्न आवश्यक छ । डम्फुलाई प्रतिनिधित्व गरी तामाङ भाषा, वेशभूषा, कला, संस्कृति, रीतिरिवाज र रहनसहनको जगेर्ना आवश्यक छ भन्ने अन्तर्दृष्टिले डम्फुमाथि कलात्मक ढंगले काव्यिक वर्णन गरिएको छ ।

‘याम्बुमा लाक्पाको संघर्ष’ र ‘बुट्टे गलबन्दी’ कथाले राजनीतिक–सांस्कृतिक मुद्दामा केन्द्रित रहेर तामाङ जातिको कथा सुनाउँछ । सदियौंदेखि राज्यबाट भएको उपेक्षा र स्वार्थ साँध्न राजनीतिक दलले तामाङलाई गरेको प्रयोग सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ यी कथामा ।

कथाहरूमा वातावरणसँगको सामीप्य, वनस्पतिबाट बन्ने विष प्रयोग गरी सामूहिक रूपमा पूजा आराधना गर्दै माछा मार्ने चाडको रोमाञ्चक वर्णन छ । तर, कथाहरूको अन्तिममा दुःख ल्याइन्छ नै । चाडकै दिन पनि माछा मार्ने क्रममा कारसाङ ज्योज्योको ज्यान जान्छ, ठूलो ढुंगाले थिचेर । कथाहरू नयाँ कन्टेन्टसहित उपस्थित छन् । यी सांस्कृतिक कथाहरू नेपाली कथा–साहित्यमा नितान्त नौला र नयाँ स्वादका छन् । तर, तिनमा दुःखान्त घटनाहरूको अतिरञ्जना बढी भएको आभास हुन्छ ।

प्रकाशित : भाद्र ३०, २०८० ११:४७
प्रतिक्रिया
पठाउनुहोस्