

हावामा पर्खाल उभ्याउनु छ
बन्द गरेर व्यापार हामीबीचको, मलाई
मेरो मात्र संसार बचाउनु छ,
मुखमा मोहोला बाँधेर,
बन्द ढोकाभित्र
बन्द कोठभित्र,
मलाई, मेरो मात्रै हावा चाहिएको छ
आजलाई सास फेर्न
मेरो, मात्रै आयतन – ६ फिटको
मात्रै, आजको दिन चाहिएको छ –
मरेकाहरूको हारमा थपिने अर्को नाम हुनबाट बच्नु छ
नजाने भोलि, दैनिक गन्ती हुने नम्बरमा नाम थपिन सक्छ


मान्छेहरुका सागर उर्लने सुपरमार्केट,
नदीजस्तै हाइवे,
पार्कमा डुलिहिँड्ने कुकुर गोठाला र जम्परोपमा उफ्रिहिँड्ने भुराभुरी,
सुनसान छ– फलैंचा, मंकीबार, जिमहल र सडकपेटी
मान्छेहरू छन् र अहिले मान्छेहरु छैनन्
घाम उदाउँछ – उज्यालो हुन्न
रात पर्छ – चैनको नीद आउन्न
संक्रमणको साउती भरेको हावा बहन्छ जोड जोडले
सत्ता छ, सुस्ताएको छ
त्रास छ, डरको महल छ –
आफैंसित, छिमेकीसित, साथीभाइसित, आफन्तसित,
बार र होटलको टेबल ढलेको छ
स्कुलको हलवे, प्रोफेसरको भिजिटिङ क्लास
बन्द छ –
भेन्टिलेटरको ढोका,
भेटेर बात मार्ने क्षण र सास फर्ने हावा ।
खुला छ – त भर्चुअल संसार, जुम मिटिङ र मेटाभर्स
सडकको साइरन, खोपकेन्द्रको ढोका
मृत्युशैया र चिहानघारी !
आज छु, भोलि नहुन सक्छु
सास फेर्दै छु, केहीबेरमा रोकिन सक्छु
आईसीयूका कोठाहरूमा
इमर्जेन्सीरुजस्ता अपार्टमेन्टहरुमा
ढलिहालें भने नि, कोही हुनेछैन सम्झना गर्नलाई,
एकमुठी माटोले पुर्नुअघि, सेतो फूल चढाउनलाई,
देख्दै नदेखिने ख्याकहरूले घेरेको छ,
कीटाणुहरुले बेरेको छ – बन्दीजस्तो,
इतिहासको सबसे कुख्यात नार्कोटिक
एउटा कारागारको अपराधीजस्तो ।
प्वाँख उखेलिएको घामजस्तो
अन्धकारको घुम्तीमा बन्द छ घर
उभिएका छौं आफ्नो समयलाई रोकेर,
सायद मृत्युलाई रोकेर !
प्रकाशित : भाद्र ३०, २०८० १०:३५