

बझाङका पत्रकार वसन्तप्रताप सिंहको नयाँ फोटो–किताब ‘साइपाल’ ले हामीलाई हिमाल बुझाउँछ । किताबले साइपाल हिमाललाई एक फन्को लगाएको छ ।


लेखक वसन्तप्रतापलाई ०६५ साल मंसिरको एक दिन काँडा गाउँ घुम्न जाने सोच एक्कासि आउँछ । कस्सिएर पाँच दिन हिँड्दा बल्ल पुगिने यो ठाउँ उनी पहिले कहिल्यै पुगेका थिएनन् । जाने खर्चबर्चको जोहो पनि भएको थिएन । न त जानुपर्ने कुनै काम नै थियो । तर, नातिको घुम्ने मन बरालिएर हजुरआमासम्म पुग्छ । ‘बिनाकाम किन जाने ? यस्तो जाडो मौसम छ,’ हजुरआमा भन्छिन् । नातिको जिद्दीसामु हजुरआमाको केही सीप चलेन । एक बिहान हजुरआमा र आमाले उनलाई बाटो खर्च दिन्छन्– एक/एक हजारका दुइटा नोट र बाटामा खान केही रोटी अनि नुन, खुर्सानी, लसुन, टिम्मुर पिँधेको अचारको पोको । एक्लै बाटोमा अप्ठेरो होला भनी एक जना छिमेकी काका पनि साथै जान्छन् ।
काँडा गाउँ अहिलेको साइपाल गाउँपालिकामा पर्छ । र, साइपाल हिमालचाहिँ काँडाको ठीक दक्षिण—पश्चिमतिर । सुन्दर तस्बिर समेटिएको ‘फोटोबुक’ हेर्दा–पढ्दा लाग्छ, १५ वर्षअघि वसन्त बिनाकारणै आफ्नो घर (बझाङको जयपृथ्वी नगरपालिकाको कैलाश गाउँ) देखि उत्तरी बझाङको काँडा नपुगेको भए सायदै यो ‘फोटोबुक’ जन्मिन्थ्यो ।
पहिलो यात्राभरि नै उनले नितान्त नौला दृश्य देखे । जस्तो एकाबिहानै चामल र नुन बोकेका भेडाका ताँती, भेडाका घाँटीमा लगाइएका घण्टीहरूको र्याइँझ्याइँ । बाटैभरि भेडाका बथान धपाउँदै हिँडेका भेडी ग्वालाका परिवार र बालबच्चा । आँखैमा टाँस्सिन आउलान्जस्ता हिमाल । साइपाल हिमालले त्यही बेलै त हो उनलाई मोहनी लगाएको र रोमाञ्चित बनाएको । तर, काँडा पुगेपछि उनको खर्च सकियो । साइपाल हिमाल नजिक पुग्ने रहर अधुरै भयो । पहिलो यात्रा अधुरो भयो, तर त्यही यात्राले उनलाई साइपाल चिन्ने र चिनाउने हुटहुटी अझै बढाइदियो । त्यसयता उनी २२ पटक साइपाल हिमाल पुगे । सातदेखि १६ दिनसम्मका पैदलयात्रा गरेर साइपाल हिमालको फन्को लगाए । त्यही बाटो चीनको तिब्बत, कैलाश मानसरोवरसम्म पनि पुगे । हिमाली जनजीवनमा भिज्ने, हिमाल बुझ्ने, हिमाल पढ्ने उनको यही लतको परिणाम हो यो– फोटोबुक ।
संयोगवश, उनी डेढ दशकयता पत्रकारितामा आबद्ध छन् । साइपाल, समग्र सुदूरपश्चिमको पर्यटन सम्भावना, चुनौती र अवसरबारे थुप्रै समाचार र आलेख लेखेका छन् । लेखनभन्दा बलियो माध्यम तस्बिर हुन् भन्ने जब उनले महसुस गरे, त्यसपछि तस्बिरमा आकर्षित भए । अहिलेसम्मको यात्राका दौरान संकलन भएका उनका तस्बिरहरूले साइपालको जनजीवन, संस्कृति, भूदृश्य र पर्वतारोहणका अनेक पक्ष भन्छन् । यो ‘फोटोबुक’ ले पाठकलाई पनि साइपालमाथि सोच्न हौस्याउँछ ।
साइपाल गाउँपालिकाले बझाङ जिल्लाको कुल क्षेत्रफलको लगभग ४३ प्रतिशत (१,४६७.२७ वर्ग किमि) भूभाग ओगटेको छ । क्षेत्रफलका आधारमा सम्भवतः यो नेपालकै ठूलो पालिका पनि हो । समुद्री सतहदेखि ७,०३१ मिटर उचाइमा रहेको साइपाल हिमाल सुदूरपश्चिम प्रदेशमा अपी हिमालपछिको दोस्रो अग्लो हिमाल हो ।
१३२ पृष्ठको यो ‘फोटोबुक’ मा साइपाल क्षेत्रको जनजीवन, संस्कृति, चाडपर्व, खानपान, रहनसहन, भूदृश्य, हिमाली पर्यावरण र पर्वतारोहण समेटिएको छ । यसमा भेडी ग्वाला छन् । महिलाहरू ऊन कातिरहेका छन्, ऊन बुनिरहेका छन् । देउडा खेलिरहेका मान्छे छन् । अजंगको पहाडका काखमा झुरुप्प परेका दुर्गम गाउँहरूमा केटाकेटीदेखि बूढा–बूढीसम्म लोभ लाग्ने गरी हिमालसँगै मुस्काएका छन् । रंगीचंगी जंगली फूल फुलेका छन् गाउँमा । लेकमा चौंरी डुलेका छन् । कतै झरना, कतै खोला, हिमनदी र सेती नदी बगेका छन् । कतै छन्– हिमताल । यार्सागुम्बाजस्तो बहुमूल्य जडीबुटी टिप्न जानेहरूको संघर्षका कथा उनका शब्द र तस्बिरले भन्छन् । पत्रकार वसन्तलाई साइपालले नबोलाएको भए, उनी स्वयम् त्यहाँका बासिन्दासँग घुलमिल नभएका भए र ती हरेक क्षणलाई तस्बिरमा कैद नगरेका भए ती दृश्य उनका आँखामै मात्र सीमित हुन्थे । र, सायद धूमिल भएर जान्थे । त्यसैले यो ‘फोटोबुक’ उनले यात्रामा सँगालेका सम्झना देखाउने, साइपाल चिनाउने संग्रह मात्रै होइन, मान्छेका कथा पनि हो ।
भलै फोटोको यो संग्रहले मात्रै उनको यात्रालाई पूर्णता दिएको छैन । यो किताब साइपाललाई जीवन्त राख्ने दस्तावेज पनि हो । किताबको तस्बिरसँगैका ‘म्याप’ र ‘आइटिनेरी’ ले साइपाल बेसक्याम्प र उरै पास पुग्न गाइडको पनि काम गर्छन् । पुस्तकमा उनले सुदूरपश्चिमका हिमालहरूको विवरण लेखेका छन् । चढिएका र नचढिएका हिमालहरू खुट्याएका छन् । सुदूरपश्चिमका थुप्रै हिमालहरूबारे सरकार र सरोकारवाला कसैसँग पनि पर्याप्त जानकारी नभएका बेला उनले यो क्षेत्र पनि पर्वतीय पर्यटनको ‘हब’ हुन सक्छ भन्ने उजागर गरेका छन्– ‘फोटोबुक’ मार्फत ।
हिमाल आरोहणमा रुचि राख्नेहरूलाई साइपाल चिनाउन लक्षित उनको ‘फोटोबुक’ मा साइपाल क्षेत्रको समग्र परिचय दिइएको भए पनि यसमा तस्बिर खिच्दाका प्राविधिक पाटालाई कतै—कतै बेवास्ता गरिएको छ । यद्यपि साइपाल र सुदूरका हिमालप्रति जिज्ञासा राख्ने र जानकारी चाहनेका लागि यो ‘फोटोबुक’ संग्रहणीय छ । किताब अंग्रेजी भाषामा लेखिएको छ । यहाँ लेखिएका यी विवरणलाई नेपाली भाषामा पनि समावेश गरिएको भए त्यो सुनमा सुगन्ध हुने थियो ।