सबभन्दा बलियो


गुरुप्रसाद मैनाली — कुलेखानी होटलमा पुग्न पाए अर्थोक नभए पनि तताएको भात–तिउन खाएर अलि सुबिस्तासँग सुतौंला भन्ने आशाले लम्केर हिँडिरहेका थियौं । गडीको भञ्ज्याङमा पुगेपछि चिया पसलको डिलमा भारी बिसाएर खुइय गर्दै भरियाले भन्यो, ‘अबा मार्छा हाच्चुर बास खोच ।’


मैले अलि खुसामदको भाव देखाएर भनें, ‘एक घडी दुःख गरिदेऊ दाइ ! लालटिन बालेर पनि जाऊँ । बरु तिमीलाई पनि होटलमा पेटभरि भात ख्वाइदिउँला ।’
भरियाले अलि बाँगोबाँगो जीउ पारेर दुवै हातका चोर औंला मेरा मुखपट्टि फर्काउँदै भन्यो, ‘ओरोलोमा खुट्टा भाजिएर मार्यो भाने अनि कुक्कुरको कान्टामा हाल भाद, हात्तेरी कास्तो मया नभाको मन्छे रेच्छ खाँट्ठे आम्बै, आम्बै ।’ यति भनेर भरिया पसलको डिलमा भाङ्रो ओछ्याएर पल्ट्यो र ऐया, ऐया गर्न थाल्यो ।
साउनको महिना, आकाश बादलले ढाकिराखेको थियो । चारैतिर चूक पोखिएजस्तो अँध्यारो देखिन्थ्यो । अब बास बस्नुबाहेक अर्को उपाय केही नदेखेर मैले पनि चियापसलको एउटा धूलैधूलो भरिएको र कतै–कतै कुखुराको सुली कटकटिएको सुकुल तानेर ओछ्यान पल्टाएँ, अनि उत्तानो परेर चुरोट तान्न थालें । मेरा साथीले चाहिँ टाँडमा सुतिराखेको कुकुरलाई धपाएर त्यसैमा लमतन्न परेर ओढ्नेले मुख ढाके । आँखा अलि झकाउन लागेको थियो, तलतिरबाट मलाई कसैले पयठ लाएर उचालेजस्तो लाग्यो । के रहेछ भनेर लाइट बालेर हेरेको त, त्यस्तो ठूलो जीवात, जन्तु केही देखिएन । धपेडी गरेर हिँडेकाले नसाससा तन्केर असजिलो भएको होला भन्ने ठानेर आँखा चिम्लेको त फेरि उचाल्न र अलिअलि चिलाउन पनि लाग्यो । दुईचारवटा जन्तुचाहिँ मेरा सुरुवालभित्र दगुर्न थालेजस्तो लाग्यो । फेरि टर्च बालेर हेरेको त मेरा तन्नामाथि, चाँगे फूलका बियाँजस्ता कालाकाला पोटिला तर अत्यन्तै साना जन्तुहरू कोही दब्किएर बसेका, कोही उफ्रन लागेका देखें । त्यो देखेपछि सुरुवालभित्र दगुर्ने पनि यिनैमध्येका केही जवान रहेछन् भन्ने अनुमान गर्न मलाई बेर लागेन ।
अब यिनीहरू कुन खालका जन्तु रहेछन् ? यस कुराको खोजीनिती नगरी भएन भन्ने लागेर त्यसमध्येको एउटा जन्तुलाई समात्नका निम्ति हात लम्काएको त मेरा औंला त्यहाँ पुग्दा नपुग्दा बुरुक्क उफ्रेर एक बित्ता पर बस्यो । फेरि झट्ट त्यहाँ औंला पुर्याएको त फेरि उफ्रेर मेरा घुँडामा आएर बस्यो । फेरि त्यहाँ औंला लम्काएको त उफ्रेर फेरि अघिल्लै ठाउँमा पुग्यो । उसको त्यो विद्युत् नृत्य सिर्फ एक वर्ग फिटमा भइरहेको थियो, तर पक्रन मेरो क्यै सीप चलेन । लगार्दा लगार्दै आखिर सबै सुकुलभित्र पसे । तिनको बठ्याइँ र फुर्ती देखेर म दङदास परिरहेको थिएँ । ती तीलभन्दा पनि साना जन्तु आफूभन्दा हजार गुना बर्ता उफ्रन्थे ।
अब मलाई उनको तागत विचार गर्न मन लाग्यो । त्यति सानो आकारका दस, बीस जीवले मजस्तो अग्लोमा छ फिट, वजनमा पूरा अढाई मनको मानिसलाई पयठ लाएर जुरुक्क उचाल्छन् भने निर्बल भनेर त म कुन मुखले भनौं ? तैपनि उनीहरू प्रत्येक कति ‘हर्स पावर’ का रहेछन्, त्यो कुरा जान्न अत्यावश्यक थियो र त्यसको जाँचका निम्ति, कमसेकम एउटा जवानसम्मलाई पक्रनु पनि उत्तिकै जरुरी थियो । त्यसो हुनाले टर्च बालेर खोजेको छ, ओछ्यानमा भए जतिचाहिँ वजिरिस्तानका अफरिदीहरू लुकेझैं, फड्केर सबै सुकुलका गुफागुफामा पसिसकेछन् । आफूले लगाइराखेको लुगामा कोई–कोई अल्मलिएर बसेका छन् कि भनेर नियालेर हेरेको त सिकार झम्टनुभन्दा पहिले बाघ जसरी हातगोडा समेटेर दप्किएर बस्छ, ठीक त्यै पोजसँग एउटा वीर मेरा सुरुवालका मुजामा दप्किएर बसेको रहेछ । उफ्रेर सुइँकुच्चा ठोक्ला भन्ने डरले कत्ति चल्नु चटपटाउनु नगरी, कुम्भक प्राणायाम साधी, मनमनले हनुमानजीको नाउँ जपेर चोर औंला र बूढी औंलाका चुट्किलो बलका जोडसँग पक्रेर गर्वका साथ भनें, ‘लौ उफ्री जेठा अब !’
तर, त्यो वीर उम्कनका निम्ति जोडसँग पयठ लाउन लाग्यो । उम्कला भन्ने डरका मारे चुटकीले सातचोटि माडेर सुटकेशमाथि राखें, अनि किच्न भनेर बुढीऔंलाको नङ के घोप्ट्याएको थिएँ, अन्दाजी बीस इन्च जति उफ्रेर सुकुलमा पस्यो । झस्केर म झन्डै उत्तानो परेथें ! अनि मैले मनमनले भनें, ‘स्याबास वीर, चिरञ्जीवी रहेस् ।’
आखिर जिल्ल परेर यी वीरहरू वास्तवमा कुन पार्टीका होलान् भन्ने विचार गर्न लागेँ । मान्छे निदाएर चकमन्न भएपछि हूल बाँधेर टोक्न आउने, बत्ती सल्काएर हेर्यो भने सुइँकुच्चा ठोकेर गुफा गुफामा पस्ने हुनाले भने कम्युनिस्ट हुन् कि भन्ने लाग्यो । तर, फेरि मनमनले भनें– कम्युनिस्ट भए यिनले धनीको मात्रै रगत चुस्नुपर्थ्यो, यी त धनी–गरिब सबैको रगत समान रूपले चुस्छन् । फेरि टाउकामा रातो टोपी र पाखुरामा हँसिया–हथौडाको बिल्ला पनि छैन । त्यसो हुनाले कम्युनिस्ट भन्न पनि भएन । हूल बाँधेर उफ्रँदै हिँड्ने र अघाएर मजासँग सुतिरहेका मानिसलाई पयठ फ्याँकिदिने हुनाले कांग्रेस पार्टीका हुन् कि भनूँ भने, कांग्रेसी भए कट्टर अहिंसावादी हुनुपर्थ्यो, यी त लुकेर मान्छेलाई टोक्दै हिँड्छन् । फेरि खाँडीको चेप्टे टोपी र धोत्रे सुरुवाल लगाएको पनि देखिएन । त्यसो हुनाले कांग्रेस पार्टीका भन्न पनि धर्मरै लाग्यो । पार्टी छुट्याउन सकिनँ !
म सदैव बलियाको पक्षपाती छु । निर्धो, निमुखा मानिसले आफ्नो दीनत्व प्रकट गरेर कन्सिरी कन्याएको देख्दा मलाई असाध्यै घृणा लाग्छ । कतिजना मानिस– फलानु बलियाले फलाना निर्धालाई मार्यो भन्छन् । बलियालाई पापी असत्ति भनेर सराप्छन् । म भन्छु– बलियो पापी होइन कि, निर्धो पाजीको पक्ष लिएर बलियालाई सराप्ने तिमी मूलाहरू नै पापी हौ ।
बखतबखतमा तिमीहरूले चुटाइ खानु पर्या पनि यही पापले हो । निर्धोले बलवान् हुने चेष्टा किन गरेन ? निर्धो भएपछि बलवान्ले अवश्य मार्छ, यो त अनादिकालदेखि भइआएको कुरा हो । बलियाले निर्धालाई नमारे नीति–विरुद्ध हुन्छ । मुसोलिनीले हब्सी राजा ‘हेल सेलासी’ लाई पिटेर युरोपतिर धपाउँदा मैले मुसोलिनीको खुब तारिफ गरेथेँ । अहिले पनि कोरियालाई अमेरिकाले, ट्युनिसियालाई फ्रान्सले, तिब्बतलाई चीनले ग्रास गर्न खोजेको देख्दा, म तिनीहरूको प्रशंसा गरिरहेको छु । अघि निर्धो छँदासम्म चीनलाई अरू बलिया देशहरूले कसरी हेपेका थिए– अहिले चीन बलियो भएपछि खोइ उनीहरूले ठाडो मुन्टो लाएर हेर्न सक्या ?
फेरि मलाई सधैं बलियाको मात्र दर्शन गर्न मन लाग्छ । एक पटक युरोप गएर जर्मन पहलमान ‘क्रेमर’ र रसियन पहलमान ‘जिविस्को’ सँग भेट गरुँ भन्ने इच्छाले बम्बई पुगेथें, पासपोर्ट नपाउँदा फर्केर आएँ । पछि जिविस्कोलाई गामाले एघार सेकेन्डमा पछार्यो भन्ने सुनेर गामालाई हेर्न पञ्जाब पुगें । अहिले पनि संसारका जीव मात्रमा सबैभन्दा बलियो को ? भन्ने कुराकै खोजीनीतिमा हिँडिराखेको छु ।
स्थल जीवमा सबभन्दा बलियो हात्ती, हात्तीभन्दा पनि बलियो सिंह भन्छन् । कसैकसैले गोरिल्लाका बलको पनि निकै प्रशंसा गरेको सुनिन्छ । हो, यी जन्तुहरू बलिया भन्ने कुरामा म पनि उति नाइँ–नास्ति गर्न सक्दिनँ । तर, यी चाँगेका बियाँजस्ता जन्तुका अगाडि हात्ती र बाघलाई के बलवान् भन्नु ?
तपाईंहरू मेरा कुरालाई गँजेडी गफ भन्नुहोला, तर यो प्रश्नलाई गणितद्वारा हल गर्नु भो भने मेरा कुरामा सोह्रै आना विश्वास गर्नुहुनेछ । किनकि यी वीरहरू चाँगेका बियाँजत्रा छँदा त पूरा डेढ फिट उफ्रन्छन् भने हात्ती र बाघजत्रा भए कति उफ्रँदा हुन् ? हात्तीको कुरै छोडिदिऊँ, बाघले १५, १६ फिटभन्दा बढी उफ्रेको थाहा छैन । परन्तु यी वीरहरू हात्ती वा सिंहजत्रा भए, चिसापानी गडीबाट उफ्रेर कराची, कराचीबाट उफ्रेर पोर्टसाइद, पोर्टसाइदबाट उफ्रेर लन्डन पुग्ने थिए । अनि विचार गर्नुहोस् त को बलियो ? म त भन्छु, यी वीरहरू हात्ती वा बाघजत्रा भए संसार एक महिनामा ध्वस्त पार्ने थिए । त्यसबेला हवाईजहाज र अणुबम बनाउने सारा कारखानाहरू फेल हुने थिए !
मानिसहरू रुससँग एक करोड, चीनसँग ५० लाख, अमेरिकासँग ४० लाख, तालिमी फौज छ भन्छन् । त्यतिका फौज राख्ने ती देशहरू लाछी हुन् । ती देशका मानिसहरू बलिया र फुर्तिला भए त्यति धेरै फौज किन राख्नुपर्थ्यो ? कुनै कुनै मानिसहरू नेपालका राष्ट्रिय सेनाको संख्या थोरै भनेर ओठ लेब्र्याउँछन् । म ठोकुवा गरेर भन्छु कि धेरथोरको क्यै सवाल छैन । यी चाँगेका बियाँजस्ता जन्तु मान्छेजत्रा भइदिएर यिनलाई हाम्रो राष्ट्रिय सेनामा भर्ना गर्न पाइयो भने सिर्फ दस हजार लिएर, समस्त एसिया महाद्वीपमा छ महिनाभित्र चन्द्रसूर्याङ्कित झन्डा फहराइदिने अैभार मेरो भो, नसके लम्फु भन्नु !
तपाईंहरू भन्नुहोला– हत् चाँगेका बियाँजत्रा यति साना कीरा पनि कहीं मान्छेजत्रा हुन सक्छन् ? म भन्छु, किन नसक्नु ? मानिसको विकास यस्तै सानो सूक्ष्माति सूक्ष्म ‘प्रोटोप्लाजम्’ भन्ने किटाणुबाट भएको हो भनी विकासवादका आचार्य डार्विनले लेखेका छन् । त्यसो हुनाले यिनको विकास हुँदै जाँदा कालान्तरमा यिनको आकार मानिसको जत्रो हुन के बेर ? यिनीहरू मान्छे जत्रा भएर हाम्रो राष्ट्रिय सेनामा भर्ना भएपछि– परमेश्वरले थुकिछोडी त्यस बेलासम्म म पनि बाँचिरहें भने अनि हेर्नुहोला नेपालको तमास ।
आखिर मैले मनमनले भनें– यी जन्तुहरू यति बलिया भएका के खाएर होलान् ? दिनदिनै आलो नररक्त चुस्नाले पो यति बलिया भएका हुन् कि, तर फेरि विचार गरें मान्छेको रगत चुस्ने त लामखुट्टे, उडुस, जुम्रा, जुगा इत्यादि धेरै छन् । उनीहरूको जीवन नररक्तमै निर्भर छ । फेरि मानिसमै पनि निर्धाको रगत चुसेर मोटाउने निकै छन्, तर तिनीहरूमा खोइ त्यो फुर्ती र बल ? नररक्त चुस्ने मानिसहरू त झन् अटेसमटेस भएर भुँडी पल्टाएर लडिरहन्छन् । कतै जानुपर्यो भने घाट उठाएको मदौरुझैं आठ–दस जना निर्धा मानिसका काँधमा झुन्डिएर हिँड्छन् । उडुस र जुम्राको कुरा त झन् के गर्नु ? छुनासाथ मर्छन् । उनीहरूमा यिनका झैं बलका जोडसँग सातचोटि माडेर ढुंगामा राख्दा पनि उफ्रेर भाग्ने तागत कहाँ पाउनु ? वास्तवमा यिनीहरू नररक्त चुस्नाले मात्रै बलिया र फुर्तिला, भविष्यमा नेपालको मुख उज्यालो तुल्याउने कुनै विलक्षण जीव हुन् भनेजस्तो लाग्यो ।
म सुकुलमा झोक्रिएर यिनै कुराहरूको तर्कना गरिरहेको थिएँ, बिहानीपख टाँडबाट चुरोट सल्काउँदै मेरा साथीले भने, ‘के हरायो र रातभरि लाइट बालेर खोजिरहेको मैनाली ?’
मैले हाँसेर भनें– ‘आजको रात अमूल्य छ भाइ, मेरो १२ वर्षको परिश्रम बल्ल सफल भो ।’
‘अर्थात् ?’
मैले एउटा जन्तुलाई चिम्टीले समातेर साथीलाई देखाउँदै भनें, ‘आज मैले संसारको सबैभन्दा बलियो जन्तु फेला पारें ।’
साथीले आश्चर्यको भाव देखाएर भने, ‘भैंमा राख त हेरूँ के रहेछ ।’
‘अहँ, उफ्रेर बेपत्ता हुन्छ ।’
साथीले आग्रह गरेर भने, ‘राख न राख फटाहा हेरूँ ।’
‘लौ त, नहेरी नछोड्ने भए तिमी बलका जोडसँग घोचो उजाएर सतर्क, एकदम सतर्क, भएर बस । मैले एक–दुई भनिसकेर तीन भन्नासाथ बजाइहाल्नू ।’
‘हुन्छ’ भनेर बारबाट एउटा मुठीभरिको घोंचो थुतेर ल्याएर उजाएर साथी उभिए । अनि मैले साथीका मुखपट्टि हेरेर भनें–
‘हेर नि, उम्क्यो भने त तिम्रा गाला नचड्काई छोड्दिनँ नि ।’
‘तिमी राख्न त राख, उम्क्यो भने अनि चड्काउनू ।’
मैले चुट्की भैंमा छुवाएर एक... दुई... भनें अनि साथीका मुखपट्टि हेरेर ‘तीन’ भन्नासाथ आफू तीन हात पर पुगें, साथसाथै जन्तु पनि उफ्रेर बेपत्ता भो । साथीले पसलै थर्कने गरेर लाठो बजारेर अट्टहास गर्दै भने, ‘यो त उपियाँ हो लाटा, उपियाँ ! उपियाँ छुसी समातेर संसारको सबैभन्दा बलियो जन्तु फेला पारें भन्ने ? साँच्चै तिमी पनि असाध्य गफी छौ बा ।’
मैले ओछ्यान गुन्टा पार्दै भनें, ‘खोइ त, दिशा आउन्जेल ठटाउँदा पनि एउटा रौं झार्न सकेनौ ! के ‘उपियाँ छुसी’ भनेर खिसी गर्छौ ? बरु यता आएर गाला थाप ।’ टाँडमा टुकरुक्क बसेर उनले चुरोटको धूवाँ आकाशतिर फ्याँक्दै भने, ‘के गर्नु, लाठो अलि एक अमल यतातिर लाग्यो । नत्र साले उपियाँको हाड–खुँड धूलो हुने थियो ।’
(गुरुप्रसादको किताबमा संगृहीत नभएको एक निबन्ध । ‘भारती’, वर्ष ३, अंक १२, २००९ मा प्रकाशित । ‘गुरुप्रसाद मैनाली : व्यक्ति र कृति’ बाट साभार ।)
प्रकाशित : भाद्र २३, २०८० १०:४०