म क्रान्तिकारी होइन, विद्रोही हुँ


फेब्रुअरी १ (१९ माघ, २०२३)
जब म मेरा राजनीतिक गतिविधिलाई मभित्रको उत्प्रेरणा हेर्नका लागि पुनरवलोकन गर्छु, त्यतिखेर म एउटा अचम्मको निचोडमा पुग्छु । म एक क्रान्तिकारी (रिभोल्युसनरी) होइन, तर विद्रोही (रिबेल) हुँ । कुनै तरिका वा संस्थाप्रतिको अधैर्यलाई मनस्थितिमा स्थापित गरेको मेरो चरित्रमा विद्यमान आलस्यले हो । मैले व्यवस्थित तरिकाले काम गर्न नसक्नुको कारण यही हो भन्ने आफैं स्वीकार गरिसकेको छु ।


तर, पछिल्लो समय म आफूले आफैंलाई अलि सुध्रिएको अवस्थामा पुर्याउने कोसिस गरिरहेको छु । म कठोर परिश्रम गर्न सक्छु । त्यसलाई कठोर र अविचलित दृढताका साथ मेरो लक्ष्यमा पछ्याउँछु । नत्र त म राजनीतिमै हुने थिइनँ, जसले ममा लामो समयदेखि निराशाजनक अनुभवबाहेक केही पनि दिएको छैन । मेरो हृदयभित्र जुन इच्छा छ, म त्यसको रक्षा गर्नेबारे बेवास्ता गर्दिनँ । आफूलाई चासो भएका कार्यमा मैले कठोर मिहिनेत गर्ने गरेको छु । २९ दिनसम्म चलेको भोक हडतालले पुष्टि गर्छ कि मभित्र दृढ इच्छाशक्तिको अभाव छैन ।
विगतका दस दिनमा एक घण्टा एउटा युगजस्तो लाग्थ्यो । र, यसैमा टिकिरहन एक महामानवको जस्तो प्रतिबद्धता र दृढता चाहिन्थ्यो । यस्ता परीक्षामा म प्रायः सफल भएरै निस्कन्छु । १९५८–५९ को निर्वाचनमा मैले अरू सबैको भन्दा बढी मिहिनेत गरेँ । काङ्ग्रेसकै पुनर्गठनमा पनि म सफल भएर निस्किएँ भन्ने कुरामा न्यायसंगत गर्व गर्न सक्छु ।
काङ्ग्रेस मेरै कल्पना हो, अरू कसैको भन्दा बढी । त्यसैले म छिट्टै विचलित हुन्छु अथवा ममा दृढता छैन भन्ने म स्वीकार गर्दिनँ ।
अचेल म यो बोध गर्न थालेको छु कि ममा अस्थिर चरित्र छ भन्नुको कारण के हो भने म स्थिर कार्यशैली वा व्यवस्थित सङ्गठन निर्माणमा त्यति ध्यान दिन्नँ । यो म स्वीकार गर्छु । व्यवस्थित राजनीतिप्रति मलाई अरुचि छ । किनभने यसले दक्षिणपन्थीहरूको जस्तो कट्टर फाँसीवाद अथवा वामपन्थीहरूको जस्तो कट्टर साम्यवादतिर लैजान सक्छ । सायद म स्वाभाविक शैलीमा सङ्गठनका विरुद्ध प्रतिक्रिया दिन्छु । किनकि त्यसैबाट तानाशाही जन्मिने हो । म जुन हदमा तानाशाहीको विरोध गर्छु, त्यस अनुसार बरु म चरम अराजकताको समर्थन गर्छु । तर, आफ्नो गर्भमा तानाशाहीको बीउ बोकेको कुनै पनि संस्थाको पक्षमा उभिन सक्दिनँ ।
यस दृष्टिले हेर्दा क्रान्ति एउटा संगठित अभ्यास हो । त्यसैले सायद म स्वाभाविक रूपले यसको विपक्षमा छु । मैले यहाँनिर प्रगति (प्रोग्रेस) को अर्थ बुझाउने परिवर्तन (चेन्ज) को कुरा गरेको होइन । यहाँ मैले क्रान्ति भन्नुको अर्थ त्यो आकस्मिक परिवर्तन हो, जसमा एउटा सानो अल्पसङ्ख्यक समूहले त्यस प्रकारको परिवर्तन गर्न सक्ने गरी आफूलाई संगठित गरेको हुन्छ । त्यो सानो समूह सुरुमा उच्च र श्रेष्ठ आदर्शबाट प्रेरित भएको पनि हुन सक्छ । तर, यदि त्यो सङ्गठन सफल हुँदै गयो भने त्यसले आफैंलाई पनि परास्त गर्छ र तिनको आदर्शका ठाउँमा आफैंलाई आफ्नै नियमअनुसार स्थापित गर्छ ।
इतिहासमा कुनै पनि क्रान्ति यो अर्थमा सफल छैनन् कि कुनैले पनि यसका परिकल्पनाकार अथवा सुरुवातकर्ताले यसका लागि स्थापित गरेका आदर्शलाई प्राप्त गर्न सकेका होऊन् । त्यस्ता क्रान्तिबाट प्रजातन्त्र हासिल गर्न सकिन्छ भन्नेमा मलाई विश्वास छैन ।
सँगसँगै के पनि हो भने म यथास्थितिबाट खुसी हुन्नँ । जस्तो होस्, मसँग पनि एउटा आदर्श छ, जसलाई मैले प्राप्त गर्नुपर्छ । त्यस आदर्शले मलाई आफूतिर बोलाउँछ र अधीर बनाइदिन्छ । यसले मलाई भविष्यको पनि बोध गराउँछ, जसको सापेक्षतामा मैले आफ्नो वर्तमानलाई सुन्दर बनाउनुपर्छ । क्रान्तिका लागि पूर्वसर्त हाम्रो
सङ्गठनलाई मैले अस्वीकार गरेँ भने यससँगै मैले विद्यमान स्थितिलाई पनि तिरस्कार गरेको ठहर्छ ।
फेब्रुअरी ३ (२१ माघ, २०२३)
म आफैंलाई एउटा विद्रोही हुनबाट रोक्न सक्दिनँ । सन् १९५१ पछि मैले मुक्ति सेनामाथिको नियन्त्रण छोड्नुको एउटा कारण यही हो (डिजलासले त्यसो गर्नु मूर्खता थियो भने) । १९५१ को नोभेम्बरमा मलाई बिनाकारण सरकारबाट अपदस्त गरिँदा मैले त्यसको प्रयोग किन गरिनँ ? (नरेन्द्रदेवले त्यसो नगरेकोमा मलाई मूर्ख भने ।) मलाई राजनीतिको सैन्य पक्षले किन कहिल्यै आकर्षित गरेन ? मौका हुँदाहुँदै (प्रधानमन्त्री भएको बेला) पनि मैले नेपाली सेनाभित्र आफ्ना लागि धरातल बनाउने प्रयास किन गरिनँ ? मैले कुनै गोप्य सङ्गठन किन बनाइनँ ? यी पक्षमा म असफल भएको भए पनि म खुला राजनीतिमा बिलकुल सफल छु, जसको प्रमाण निर्वाचनको परिणाम र अन्य कुराहरू हुन् । सायद म यति धेरै प्रजातन्त्रवादी छु कि म क्रान्तिकारी हुनै सक्दिनँ । र, म यति विद्रोही छु, प्रजातन्त्रवादीभन्दा अन्य केही हुन सक्दिनँ । मैले आफूलाई गान्धीभन्दा बढी मार्क्सले प्रभावित पारेको भन्ने गरेको भए तापनि व्यवहारमा म मार्क्सबाट होइन, गान्धीबाट नै प्रभावित छु । कहिलेकाहीँ त लाग्छ, ममित्र एउटा सफल राजनेता हुनै नदिने हदसम्मको दार्शनिक रुचि छ । म आफैंलाई भनिरहको थिएँ कि म सङ्गठनभन्दा व्यक्तिको रुचिप्रति बढी संवेदनशील छु, जुन कुरा गलत हो ।
म कामुमा एउटा प्रज्ञावान् व्यक्ति पाउँछु ।
के मेरो नजरबन्दीले अहिलेसम्म मलाई कुनै पाठ सिकाएको छैन ? म एउटा विद्रोहीबाट अब एउटा क्रान्तिकारीमा परिणत हुन्न ? मलाई लाग्छ, म सक्दिनँ । हो, म मेरो ठाउँ फेर्न सक्दिनँ ।
फेब्रुअरी ४ (२२ माघ, २०२३)
आजै मेरो रिहाइ भयो भने मलाई कारागारबाहिर रहँदा कस्तो महसुस हुँदो हो ? म बाहिर जाँदा मेरो मस्तिष्कमा कुन विचार हावी रहला ? राजाप्रतिको द्वेष ? राजाभन्दा पनि प्रणालीको विरोध ? प्रणालीभन्दा राजा खराब हुन् कि राजाभन्दा प्रणाली खराब हो ? यो एउटा छुट्टै प्रश्न हो ।
व्यक्ति र व्यवस्था दुवैका प्रति मभित्र घृणाभाव हुँदैनथ्यो भने म अहिले जो छु त्योभन्दा धेरै निम्नस्तरको मानिस हुने थिएँ । त्यस्तो कुटिल, संवेदनाशून्य, क्रूर, पाखण्डी र प्रतिशोधी व्यक्ति तथा आफ्नो शासनको अधीनमा रहेका जनताप्रति सुस्त र असंवेदनशील व्यवस्थाप्रति, त्यसैले ममा घृणाभाव छ । तर, फेरि मभित्रको घृणाभाव मेरो निर्णय क्षमतामाथि हाबी भइदियो भने पनि म एउटा कुशल राजनेताभन्दा न्यूनस्तरको मानिस हुनेछु ।
सार्डौले सिर्जनशील घृणाको कुरा गरेका छन्, आफ्नो नाटक ‘ला ऐन क्रियटिभ’ मा ।
सिर्जनात्मक घृणा सामान्य घृणाभन्दा निकै फरक हुन्छ । सामान्य घृणा अन्धो हुन्छ र यसमा प्रतिशोधभन्दा अर्को कुनै ठूलो उद्देश्य हुँदैन । तर, सिर्जनशील घृणा त्यो तिक्तता हो, जसले मानिसलाई त्यस्तो एक प्रतिशोधतिर मात्रै डोर्याओस्, जसको सान्दर्भिकता बदला लिइसकेपछि सकियोस् । यसले एउटा यस्तो उद्देश्यपूर्ण आदर्शतिर डोर्याउँछ, जसको प्राप्ति पनि एक प्रकारको प्रतिशोध त हो, तर बिलकुलै अर्कै स्तरको, जसमा यस्तो एउटा अवस्थाको निर्माण हुन्छ, जहाँ घृणाले पुनः कहिल्यै जन्म लिँदैन । घृणा व्यक्तिगत हुन्छ । जब यो व्यक्तिगत हुनुको स्तरबाट माथि उठ्छ र एउटा आदर्शसँग जोडिन पुग्छ, यो एउटा तिक्ततामा परिणत हुन्छ ।
तिक्तता बनाम घृणाः मदलसा मलाई भन्ने गर्थिन्, राजनीति गर्ने मानिसले आफ्नो चोट बिर्सनु हुन्न । म बल्ल बुझ्दै छु, उसले के भन्न खोजेकी भनेर ।
फेब्रुअरी ५ (२३ माघ, २०२३)
के मेरो हातमा प्रजातन्त्र सुरक्षित छ ? व्यक्तिबाट प्रजातन्त्रका लागि हुने खतरा भनेको जनमत अथवा बन्दुकको बलमा सत्तामा पुगेका मानिसहरूले शक्तिसँग जोडिनु र शक्तिलाई छोड्न हिच्किचाउनुको कारण हो (चाहे प्रजातन्त्र होस् वा क्रान्ति) । म दुईपल्ट सत्तामा पुगेँ (क्रान्तिबाट र निर्वाचनबाट) ।
मेरो हकमा मैले प्राप्त गरेको शक्तिलाई मैले आफैंमा केन्द्रित गरेको थिइनँ । त्यसैले त्यसलाई प्रभावशाली शक्ति आर्जन गरेको भन्न मिल्दैन । तर, पनि म शक्तिप्रति संवेदनशील हुँदो हुँ वा शक्तिप्रति मेरो आसक्ति हुँदो हो त मलाई लाग्छ, १९५१ को नोभेम्बरमा मेरो हक अधिकार रहँदारहँदै राजाले मलाई मन्त्रिपरिषद्बाट अपदस्त गरेका बखत मैले उक्त शक्तिको प्रयोग गर्न सक्थेँ ।
प्रभावशाली सशस्त्र सेना (मुक्ति सेना) मप्रति वफादार थियो । र, मेरो सेवामा त्यो तयार रहेको कुरा पनि मलाई भनेका थिए । त्यसैबेला मैले ९ वर्षपछि राजाले गरेको जस्तो कू गर्न सक्थेँ । निर्वाचनपछि जब म प्रधानमन्त्री भएँ, म मेरो व्यक्तिगत शक्तिको बढोत्तरीतिर लागिनँ । यद्यपि उक्त पदले मलाई त्यसो गर्न चाहेको भए भरपूर मौका दिएको थियो ।
के म साँच्चिकै मूर्ख हुँ र ऐन मौकामा होस गुमाउँछु ? अथवा यो हिंसाका माध्यमबाट व्यक्तिगत शक्तिको दुरुपयोग गर्न नचाहनुको परिणाम हो ? जनताको लागि शक्ति हो भने ठीक छ । तर, नितान्त व्यक्तिगत शक्तिको पक्षमा म कदापि छैन । त्यसैले म भन्छु, म कहिल्यै तानाशाह हुन सक्दिनँ । राजा भने तानाशाहबाहेक अरू केही हुन सक्दैनन् । यसैकारण राजा मेरोसामु लघुताभास बोध गर्दछन् ।
फेब्रुअरी ६ (२४ माघ, २०२३)
आजको विश्वको विशेष समस्या के हो ?
बहुसङ्ख्यक मानिसहरूको गरिबी ? र यसको मूल कारण — बढ्दो जनसङ्ख्या ? पुँजीवादी शोषण ? साम्यवाद ? तेस्रो विश्वयुद्धको सम्भावना ? नस्लीय द्वन्द्व ? गरिब र धनी राष्ट्रबीच संसारको विभाजन ?
मेरो दृष्टिमा सबैभन्दा ठूलो समस्या भनेको विश्व नेतृत्वले राष्ट्रिय चिन्तनको भासबाट माथि उठ्न नसक्नु हो । सबैभन्दा ठूलो बाधक भनेको राष्ट्रवादको जडता हो, जसले राष्ट्रिय जडताबाट मुक्त हुन अपेक्षित बौद्धिकहरूलाई पनि एउटा तटस्थ अन्तर्राष्ट्रिय दृष्टिकोण बनाउनबाट रोक्छ । संसारलाई एउटा सग्लो एकाइका रूपमा लिएर सम्पूर्ण जनसङ्ख्यालाई एउटै समुदाय मान्दा अधिकांश समस्या यति भयावह रूपमा समाधानहीन देखिन छोड्नेछन् ।
गरिबी कुनै अन्तर्राष्ट्रिय समस्या होइन । किनभने अन्तर्राष्ट्रिय संसाधनहरूलाई यसरी विकसित गरिएको छ कि एउटै आर्थिक एकाइ मानेर तिनलाई योजनाबद्ध रूपमा प्रयोग गर्ने हो भने गरिबी भन्ने नै रहँदैन । गरिबी अविकसित राष्ट्रहरूको समस्या हो । यो वैश्विक समस्या होइन । हाल विकसित राष्ट्रले अविकसित राष्ट्रहरूलाई दिइरहेको सहयोग साह्रै न्यून, खण्डित, योजनाविहीन र अपर्याप्त छ कि यसले विश्वबाट गरिबी उन्मूलन गर्ने दिशामा कुनै उल्लेखनीय प्रभाव पार्नै सकेको छैन । विश्वमा विद्यमान सबै संसाधनलाई एकै ठाउँ एकत्रित गरिएन भने संसारबाट गरिबी हटाउन सकिँदैन ।
फेब्रुअरी ७ (२५ माघ, २०२३)
पुँजीवादी शोषण अथवा साम्यवादलाई आधारभूत समस्या मान्नु पनि युक्तिसंगत हुँदैन । आधुनिक पुँजीवादको सर्वश्रेष्ठ उदाहरण मानिएको अमेरिका एक अति विकसित देश हो, जहाँको एउटा आम नागरिक पनि सम्पन्न छ (रुसमा भन्दा कम शोषणमा छ जब कि रुस साम्यवादको श्रेष्ठ उदाहरण हो ।)
साम्यवाद के हो ? यसका विविध केन्द्र तथा संस्कृति र अर्थतन्त्रमा फरकफरक परिभाषाका साथ साम्यवाद एउटा प्रस्ट रूपमा परिभाषित सिद्धान्त रहेन । यी विविध परिभाषाहरूमा रहेको एउटा समानता के भने यी सबै सिद्धान्तले एक दल (वा थोरै मानिसहरूको एउटा सानो समूह) को तानाशाहीमा विश्वास राख्छन् । युद्ध भनेको अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएको एउटा असहजताको सङ्केत हो, जुन राष्ट्रवादमा आधारित छ । र, यी प्रत्येक राष्ट्रका निजी स्वार्थका विषय हुन् ।
आधुनिक युद्ध हामीले आ–आफ्ना राष्ट्रका निजी हितमाथि बढी जोड दिएका कारण आएको परिणति हो । नस्लीय द्वन्द्वको कारक पनि लगभग यस्तै हो । हामीले राष्ट्रहरूबीचका पर्खाल भत्कायौं भने यीमध्ये धेरैजसो समस्या आफैं सल्टिएर जान्छन् ।
संयुक्त राष्ट्र संघले गर्नुपर्ने काम भनेको देशका सिमानाहरूको रक्षा गर्ने होइन । बरु बिस्तारै तिनलाई मेटाउनुपर्ने हो । अचेल देखिने राष्ट्रवादको अप्राकृतिक स्वरूपको कारक राष्ट्र संघ हो, जसले केवल केही हजार जनसङ्ख्याका साना राज्यलाई सार्वभौम र स्वतन्त्र राष्ट्रको रूपमा निर्माण गर्छ ।
(विश्वेश्वरप्रसाद कोइरालाको प्रकाशोन्मुख अप्रकाशित डायरीको किताब ‘जेल डायरी’ (सन् १९६२–१९६८) बाट । किताब लेखक शंकर तिवारीले सम्पादन गरेका हुन् ।)