१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जीवनको भुमरीमा ओ हेनरी

ओ हेनरीको कथा ‘द गिफ्ट अफ मेजाई’ विश्वसाहित्यमा प्रेमको महान् दस्तावेज बन्यो । कथाका यिनै महान् शिल्पीको ११३ औं स्मृति (जुन ५) मा एक आलेख :
अभय श्रेष्ठ

प्रेमको महानता
मोपासाँको ‘द नेकलेस’ वा ‘द बल अफ फ्याट’, चेखबको ‘अ केमलिन’ वा ‘वार्ड नं सिक्स’ जस्तै ओ हेनरीको सबैभन्दा प्रख्यात कथा हो, ‘द गिफ्ट अफ मेजाई ।’ कहिलेकाहीँ सामान्य पृष्ठभूमिमै असाधारण कृति जन्मिन्छ । हेनरीका एक जना गरिब साथीको दम्पतीबीच अद्भुत प्रेम थियो । कथाको प्लटबारे घोरिँदै गर्दा तिनै साथी आइपुगे र उनलाई त्यो प्लट फुर्‍यो । तीन घण्टाभित्रै उनले लेखेको त्यो अद्भुत कथा विश्वसाहित्यमा प्रेमको महान् दस्तावेज बन्न पुग्यो ।

जीवनको भुमरीमा ओ हेनरी

डेला र जिम दम्पती अत्यन्त गरिब हुन्छन् । भोलिपल्ट क्रिसमस हुन्छ । डेला आफ्नो प्रिय पतिलाई क्रिसमसमा उपहार दिन चाहन्छे । ऊसँग महिनौँदेखि पसलेहरूसँग मोलतोल गरेर एक एक पेनी गरी जोगाएको एक डलर सतासी सेन्ट मात्र छ । गरिबीले सबै भताभुंग भइसकेको हुन्छ ।

परिवारमा गौरव गर्नलायक दुई कुरा बाँकी हुन्छन्, जिमको पुर्खादेखिको सुनको घडी र डेलाको सुन्दर कपाल । उपाय केही नलागेपछि श्रीमती सोफोनीको कपाल पसलमा गएर डेला आफ्नो अमूल्य कपाल बेच्छे । कपाल दिएबापत बीस डलर लिएर ऊ जिमका लागि उपहार खोज्न दुई घण्टा बजारको फेरो लगाउँछे । बल्ल घडी राख्ने बट्टासमेत भएको दामी बाइन्ड भेटिन्छ । छालाको कमसल बाइन्ड हुनाले जिमलाई किमती भए पनि घडी देखाएर लगाउनै संकोच हुन्थ्यो । उपहार पाएर अब उसले गर्वपूर्वक घडी देखाएर लाउन सक्नेछ ।

तर, डेलाको कपालविहीन केटौले टाउको देख्दा जिम स्तब्ध हुन्छ । डेला भन्छे, ‘मलाई यसरी नहेर जिम । कपाल नभए पनि आखिर म तिम्रै मायालु हुँ । कपाल त फेरि पलाइहाल्छ, त्यसैले बेचिदिएँ र तिम्रा लागि उपहार ल्याएँ ।’ जवाफमा जिम भन्छ, ‘कपाल नहुँदैमा तिमीप्रति मेरो प्रेम कम हुने होइन डेला । तर, तिम्रो सुन्दर कपालकै लागि मैले यो किमती काइँयोको सेट ल्याएको थिएँ ।’

बिचरी डेला ! अब उपहार दिने पालो उसको थियो । बाइन्ड बाँधिदिन ऊ जिमसँग घडी माग्छे । जिमले पनि डेलाका लागि काइँयोको सेट किन्न आफ्नो पुर्खाको चिनो घडी नै बेचेको रहेछ । प्रेम र समर्पणको चरम चुलीमा पुर्‍याएर पाठकलाई स्तब्ध पार्दै यसरी कथा सकिन्छ ।

सिनेमाको पारखी हो भने तपाईंले प्रसिद्ध भारतीय निर्देशक ऋतुपार्णो घोषको फिल्म ‘रेनकोट’ अवश्य हेर्नुभएको होला । उनले यसमा मन्नु (अजय देवगण) र निरु (ऐश्वर्या राय) बीचको यस्तै महान् प्रेमकथा रचेका छन् । परिस्थितिले छुट्टिएका यी दुई प्रेमी आफू सम्पन्न भएको झूटो नाटक गर्छन् । तर, दुवैले गोप्य रूपमा एक अर्काको कहालीलाग्दो गरिबीबारे पत्तो पाउँछन् ।

व्यवसाय गर्न ऋण खोजेर जम्मा गरेको पैसा गोप्य रूपले घरभाडामा तिरिदिएर प्रेमी आफ्नी प्रेमिकालाई घर निकाला हुनबाट बचाउँछ । प्रेमी व्यवसाय सुरु गर्न ऋण खोज्दै हिँडेको थाहा पाएर प्रेमिका बिहेको चिनो स्वरूप बाँकी रहेको एक मात्र गहना प्रेमीको खल्तीमा सुटुक्क राखिदिन्छे । हेनरीको कथा र यस फिल्मका सन्दर्भहरू धेरै फरक छन् । तर, घोषले इमानदारीपूर्वक यही कथाबाट प्रेरित भनेर उनलाई जस दिएका छन् ।

हेनरीको त्यतिकै उत्कृष्ट अर्को कथा हो, ‘द रोमान्स अफ अ बिजी ब्रोकर’ । कथामा उनले पुँजीवादको प्रथम जवानी भोग गरिरहेको अमेरिकी यान्त्रिक जीवनको अत्यन्त सटीक चित्रण गरेका छन् । व्यस्त दलाल हार्भे म्याक्सवेल आफ्नी तरुनी स्टेनोग्राफर लेस्लीसँगै कार्यालय छिर्छ । ऊ चिठीको चाङअगाडि बस्छ र केलाउन थाल्छ । स्टेनोग्राफरको गालामा भने गुलाफी लज्जा पोतिएको हुन्छ । ऊ आफ्नो कोठामा नछिरी हार्भेको कोठाअगाडि उभिन्छे ।

हार्भे ‘केही थियो कि’ भनेर सोध्छ । ऊ केही छैन भनेर फर्किन्छे । सचिव पिचरले नयाँ स्टेनोग्राफरका लागि अन्तर्वार्ता दिन कोही आएको जनाउ दिँदा हार्भे लेस्लीले नै सबै काम राम्ररी गरिरहेको भन्दै त्यस युवतीलाई फर्काइदिन्छ । तर, अघिल्लो दिन मात्र उसले पिचरलाई नयाँ स्टेनोग्राफरका लागि भ्याकेन्सी खुलाउन भनेको हुन्छ । यही व्यस्तताबीच पनि लेस्लीको प्रेमिल उपस्थितिमा ऊ मोहित हुन्छ र अन्ततः सोध्छ, ‘लेस्ली, म तिमीलाई असाध्यै प्रेम गर्छु । तिमी मेरी पत्नी बन्न राजी छ्यौ ?’

आश्चर्यचकित हुँदै लेस्ली भन्छे, ‘तपाईँ त कस्तो हुस्सु ! हिजो बेलुकी ८ बजे चर्चमा हाम्रो बिहे भएको बिर्सनुभो ?’ चरम चुलीमा पुगेर मात्रै यसरी कथाको सबै रहस्य खुल्छ । त्यसबीच दृश्य चित्रणबाट उनले यसको संकेत भने दिइरहेका हुन्छन् र पाठकलाई अब के हुन्छ भन्ने खुलदुली जगाइराख्छन् ।

पोर्टरको जेल जर्नल

हेनरीको खास नाम थियो– विलियम सिड्नी पोर्टर (सन् १८६०–१९१०) । बैंकमा काम गर्दा पैसा हिनामिना गरेको आरोपमा सन् १८८९ अप्रिल ५ बाट पाँच वर्षसम्म उनी जेल परे । यही जेल जीवन विश्व साहित्यलाई वरदान साबित भयो । समय कटाउन उनले कथा लेखे र छाप्न पठाए । जेलबाट निस्कँदा उनी विख्यात कथाकार भइसकेका थिए । कसैले कथा लेखनको सूत्र सोध्दा ढुक्कले उनी भन्थे, ‘कथाको अन्त्य सोच्नुस् र लेख्न बस्नुस् ।’ हुन पनि उनका अधिकांश कथामा एउटा दृश्यात्मक वर्णन हुन्छ । कथा अन्त्य हुँदा परिस्थिति ठ्याक्कै उल्टो भइदिन्छ ।

मानवीय संवेदना, करुणा, प्रेरणा, प्रेम र विडम्बनाका विविध आयामलाई उनी जसरी प्रस्तुत गर्छन्, त्यो अरुका कथामा दुर्लभ छ । कथाका लागि उनको मगज साह्रै मलिलो थियो, जहाँ अनेक तरंगका कथा उम्रन्थे । तर, त्यसलाई कागजमा उतार्न उनी हदै अल्छी थिए । उनको कथा पाउन सम्पादकहरू ओइरो लाग्थे । पहलमान्झैँ चौडा छाती र साँढेको झैँ मोटो गर्धन भएका यी कथाकार लेखनमा जति वाचाल थिए, बोल्नमा त्यतिकै घुसघुसे । प्रस्टीकरण दिइरहन गाह्रो लाग्दा कथा लिन आएका एक जना सम्पादकलाई भने, ‘लेखी सकाएँ ।’ उत्साहित हुँदै सम्पादकले कथा मागे । उनले भने, ‘दिमागमा पो सकाएको, कागजमा त उतार्नै बाँकी छ !’

जीवनको भुमरी

कथा लेख्नुअघि नै सम्पादकहरूले पैसा दिइसकेका हुन्थे र त्यो पैसा उनी छिनमै उडाइहाल्थे । वाचा गरेर लेखेको कथा नगद लिएर आउने अर्कै सम्पादकलाई थमाउँथे । यसरी सम्पादकहरू आजित हुन्थे । मुद्दा हाल्ने धम्की दिन्थे । मुद्दा, जेल भन्नेबित्तिकै एकपल्ट थुना परिसकेका उनको सातो जान्थ्यो र तनावमा रक्सी खाएर सुतेको सुत्यै गर्थे । तैपनि उनका कथाका लागि सम्पादकहरू धर्ना दिन छाड्दैनथे । अखबारहरूमा उनका कथाको अत्यधिक माग हुन्थ्यो । टुक्का, स्थानीय रंग भरिएको मनोरञ्जक भाषा, मर्मभेदी व्यंग्य र मनोलोकको सयर गर्ने ती कथामा गहिरो मानवीय संवेदना हुन्थ्यो ।

सन्दर्भ न्युयोर्क र अमेरिकाको कुनै गाउँठाउँको हुन्थ्यो, तर तिनले दिने सन्देश सार्वभौम हुन्थ्यो । कथाका यी महान् शिल्पीलाई आज ‘अमेरिकी मोपासाँ’ भनिन्छ । उनको कथा ‘ह्वीर्लिगिग अफ लाइफ’ ले दाम्पत्य जीवनको मार्मिक सन्देश दिन्छ । अमेरिकी किसान दम्पती रेन्सी बिलब्रो र एरियाला पारपाचुके गर्छन् । वर्षौं सँगै बस्दा उनीहरू एक प्रकारको जीवनमा अभ्यस्त भइसकेका थिए । बाहिर निस्केपछि दुवै जना बिलखबन्द पर्छन् ।

‘तिमी त गाडा लिएर फर्कन्छौ होला । बिहानको रोटी टिफिन बक्समा छ । कुकुरले नभेटोस् भनेर उसिनेको मासु डेक्चीमा राखिदिएकी छु । तिमी पकाउन अल्छी छौ, त्यही भए पनि खानू है ! अँ, अनि राति घडीलाई दम दिन नबिर्सनू !’ एरियाला भन्छे ।

‘तिमी अब एड दाजुकहाँ जाने होला, होइन ?’ रेन्सी सोध्छ ।

‘म रात पर्नुअघि त्यहाँ पुग्छु होला । मलाई स्वागत गर्न उनीहरू पक्कै तयार हुँदैनन् तर, मेरो जाने ठाउँ अन्त कहाँ छ र ! लौ त, बिदा रेन्सी ! एक्लै परे पनि दुःखी नहुनू ! घरलाई माया गर्नू !’

‘एक्लै हुनुमा मलाई कुनै आपत्ति छैन । बहुलाएर पारपाचुके माग्नेलाई जबर्जस्ती म कसरी रोक्न सक्थेँ र ?’

‘मैले होइन, मात लागेका मान्छेले पारपाचुके चाहेका थिए । मैले त घर छाड्ने कुरै गरेको थिइनँ ।’ उनीहरूबीच यस्ता मार्मिक कुराकानी निकै बेर चल्छ । अन्ततः एकअर्काबिना बाँच्नै नसक्ने निष्कर्षमा पुगेपछि पुनर्विवाह गर्ने निर्णयमा पुग्छन् । पारपाचुके गर्न श्रीमान्ले न्यायाशीशलाई पाँच डलर बुझाएको थियो । श्रीमतीलाई क्षतिपूर्ति दिन फेरि पाँच डलर चाहिन्छ ।

केही उपाय नलागेपछि गरिब रेन्सी डाँकु बनेर पानी परिरहेको निष्पट अन्धकार रातमा न्यायाधीशको खल्तीबाट पाँच डलर जफत गर्छ । भोलिपल्ट न्यायाधीशकै अगाडि ऊ श्रीमतीलाई त्यो नोट दिन्छ । तर, पुनर्विवाहका लागि फेरि पाँच डलर चाहिन्छ । एरियाला न्यायाधीशलाई त्यही नोट दिन्छे जुन अघिल्लो रातको पानीले भिज्दा अझै चिसो हुन्छ । चौबीस घण्टामै पारपाचुके र फेरि विवाह । समान गन्तव्य हुनेहरू कुनै समय छुट्टिए पनि अन्ततः मिल्न बाध्य हुन्छन् भन्ने कथाको सन्देश अत्यन्त मार्मिक छ ।

‘द कप एन्ड नेसनल एन्थेम’ अमेरिकी जीवनको विडम्बना व्यक्त गर्ने बेजोडको व्यंग्यात्मक कथा हो । सोपी नामको आवारा जेलमा गई निःशुल्क गाँस, बास पाउने लोभले अनेक फट्ट्याइँ गर्छ । रेस्टुराँमा मनलागी खाएर पैसा नतिरी हिँड्छ, छाता चोर्छ, झ्याल फोड्छ । प्रहरी उसको बदमासी नदेखेझैँ गर्छ । गिर्जाघरमा बजेको भावपूर्ण संगीतले उसको मनमा हलचल मच्चाउँछ । आफ्ना सारा बदमासी त्यागेर अब ऊ सज्जन बन्ने र मिहिनेतको फल मात्र खाने प्रण गर्छ । त्यसै बेला ऊ पक्राउ पर्छ । अमेरिकी प्रहरीसँग कसैको केही लाग्छ ? भोलिपल्ट मजिस्ट्रेटले उसलाई तीन महिनाको जेल सजाय सुनाउँछ ।

हेनरीले जम्माजम्मी दुई सय कथा लेखे । मानवीय संवेदनाले भरिपूर्ण यी कथा अत्यन्त प्रेरणादायी थिए । उनी विश्वव्यापी लोकप्रियता कमाएका ती थोरै लेखकमा पर्छन्, जसलाई नोबेल पुरस्कार दिइएन । त्यसलाई नोबेल पुरस्कारकै दुर्भाग्य मानियो ।

प्रकाशित : जेष्ठ २७, २०८० १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?