कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

मुन्छेको जिन्दगी हाटे–यात्रा

संसार एक हाट, हामीचाहिं हटारु
अनिता न्यौपाने

लेखक ओम रिजालको पहिलो उपन्यास ‘हटारु’ हाट जानेको कथा होइन, हाटजस्तै जीवन भोगेका महिलाको कथा हो । यो संसारै एउटा हाट हो, बजार हो र हामी मानिसचाहिँ हटारु । मान्छेको जीवन हटारुका झैं दुःखहरूले निर्माण भएको छ ।

मुन्छेको जिन्दगी हाटे–यात्रा

‘मुन्छेको जिन्दगी हाटे यात्राजस्तै हो’ भनेर कथा सुरु हुन्छ । नारी चरित्रलाई केन्द्रमा राखिएको उपन्यासले लैङ्गिक विभेद चित्रण गर्छ । सानो छोरा आफ्नी आमालाई कथा सुनाउन आग्रह गर्छ । आमा आमाको पनि आमाको कथा सुनाउन सुरु गर्छिन् । किताबमा मौलिक परम्पराले महत्त्वपूर्ण स्थान पाएको छ । भाषाले श्रुति परम्परालाई चित्रण गर्छ । उपन्यास आमाहरू र हजुरआमाहरू बाँचेको समाजवरिपरि नै घुमेको छ । पितृसत्ताले निर्माण गरेको समाजमा नारी–विभेदका अनेकौं रूप छन् । पितृसत्ताले कसरी नारीमाथि शासन गरेको थियो ? त्यो शासन आज कुन रुपमा छ ? किताबले त्यो चित्र देखाउँछ ।

घर–व्यवहारमा बोलिने संवादकै शैली ‘हटारु’ मा प्रयोग गरिएको छ । लोकोक्तिहरू बिम्बका रूपमा यथेष्ट आएका छन् । खस दैलेखी भाषामा नारी अवचेतना, चेतना, अन्याय, इज्जत, जिम्मेवारी र बोध क्षमताको ऐतिहासिक परिवेश किताबमा आएको छ । बीस वर्ष जेठो लोग्नेसँग जबर्जस्त सहवासमा बगेको रगतको दर्दनाक कथाले पाठक दव्रीभूत हुन्छन् । समाजको वास्तविक, तर दर्दनाक कहानीको सँगालो हो– हटारु । मान्छेको जीवनमा आरोह छ, अवरोह छ । त्यसैले नायिका भन्छिन्, ‘साइका जति भोज आँसुले भात मिची खाया ।’ सन्तानको लिंग हेरेर दुःखी अनि खुसी हुने समाजको प्रतिविम्ब हटारुमा सूक्ष्म ढंगले लेखिएको छ । लेखकले सामाजिक इतिहासलाई औपन्यासिक भाषामा अनूदित गरेका छन् । दैलेख ब्राह्मण, क्षत्रीहरूको आदिम बसोबासको थलो हो । एकै सभ्यताको वैचारिकीबाट विकसित भएका मानिस पनि भूगोल र अन्य जातिसँगको सान्निध्यले कति फरक संस्कृति अवलम्बन गर्छन् ? किताब पढे थाहा लाग्छ । किताबले खस र आर्य समाजको जन्मदेखि मृत्युसम्मको घटना–परिघटनाको नाममा, संस्कारको नाममा, चाडपर्व–मेलापातको नाममा, घरधन्दा र रमाइलोको नाममा महिलामाथि कसरी शोषण भइरहेको छ ? त्यो चित्रण गर्छ । सुर्जामाथि उसको ससुराले गरेको बलात्कार, कालीले माङ्ल्यारीबाट भोग्नुपरेको सामाजिक यौन–बन्धनको तनाव र त्यो समाजको बैचैनीको कथा हो– किताब । तर, सुर्जाजस्ता पात्र बाँचेकै छन् समाजमा– हिम्मत र विद्रोहको आवाज ओकलेर । यहीँ छन्– आमाहरू, जो संघर्ष गरेर बाँचेकै छन्, यहीँ छन्– कालीहरू, जो बाँच्ने विकल्प नदेखेपछि पासो लगाएर मृत्यु रोजेका छन् ।

पूर्वीय समाज र पश्चिमेलीमा के–के समानता, के–के भिन्नता छन् ? उपन्यासले देखाउँछ । पश्चिममा बोलिने भाषामा कस्ता–कस्ता शब्द प्रयोग गरिन्छ ? उपन्यासले देखाएको छ । रोगले खाएको परिवारको आँसु, अन्धविश्वासले गुमाउनुपरेको आफन्तको कथाबीच पनि बाँचेका मान्छेहरू छन् किताबमा । न्याय माग्ने ठाउँ नहुँदा, कानुनीराज नहुँदा स्थानीय ठालुले निमुखालाई कसरी चुस्थे ? जारी विवाहको न्यायको समाधान कसरी गरिन्थ्यो ? बहुविवाह कस्तो थियो ? प्रेमका कुरूप अनुहार कस्ता थिए ? श्रीमती किनेर लैजाने पहिलो श्रीमान्, मेलापर्वको अवसरमा छोपेर, अपहरण गरेर अर्काकै श्रीमती लैजाने दोस्रो श्रीमान् र प्रेमलाई पुज्ने, बुझ्ने र सम्बन्ध बनाउने तेस्रो श्रीमान् । यिनै कथाले उपन्यासलाई रोचक बनाएको छ ।

पुरुष र तिनका प्रवृत्ति देखाउन उपन्यास सफल छ । उपन्यासले हाम्रा आमा, हजुरआमा र हाम्रै कथा भन्छ । ‘ठूला’ कथाहरूको ठेली होइन यो किताब– सुनकेस्रा, काली र सुर्जाहरूको जीवन–कथा हो । कथाभित्र प्रत्येक नारीले आफैंलाई भेट्छन् । कथाले आमाहरूको समाज र समय प्र्रस्तुत गर्न खोजेको छ ।

किताबले नारी सधैं रोएकै कथा मात्रै भन्छ । ‘नारी कमजोर छिन्’ भन्छ । किताबकै कमजोर पक्ष हो यो । कथा एकै विषयवस्तुमा उसैगरि जेरीजस्तै घुमिरहनुले पनि किताब कमजोर बनेको छ र पाठकलाई लाग्छ– यी सिकारु लेखक हुन् । त्यो लम्बेतान घुमाइले कथालाई दिक्कलाग्दो बनाएको छ । ‘समाज परिवर्तनशील हुनुपर्छ’ भन्ने सवालमा पनि लेखक चुकेका छन् । अबको लेखनले भन्नैपर्छ– महिला सक्षम, सवल छन् । कथा पुरानै होस्, तर त्यसले आजको समाजलाई प्रतिनिधित्व गर्नैपर्छ । जिन्दगी हाटजस्तै भए पनि त्यो हाटमा सबैथरिको सामल पाइए त्यही सुन्दर पक्ष हो । त्यो सुन्दरता पस्किन लेखक चुकेकै हुन् । रूनु मात्रै जिन्दगी होइन, आँसुको पर्खाल नाघेर बाहिर निस्कनुपर्छ र लेखकले अबको समाजलाई सशक्त प्रस्तुत गर्न सक्नुपर्छ ।

पश्चिमका पाठकले किताबको भाषा मज्जैले बुझ्छन्, अन्यतिरका पाठकले भाषा बुझ्न शब्दकोशै पल्टाउनुपर्छ । त्यो झन्झटले पाठक किताबै छाडेर हिँडिदिन सक्छन् । तर, नेपाली साहित्यको अर्ग्यानिक उपन्यास हो– हटारु ।

प्रकाशित : जेष्ठ २७, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?