१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

त्यसबखतको नेपाल–वृत्तान्त

किताब भन्छ– त्यसबखत काठमाडौंमा २५ माइल मात्रै मोटर गुड्ने बाटो थियो ! जुद्ध रोड आधुनिक थियो, तर पसलहरू निकै फोहोर !
जनकराज सापकोटा

सन् १९४४ देखि १९५२ अवधिको नेपाली राजनीति, अर्थनीति, वैदेशिक सहायता र कूटनीतिबारे अमेरिकीहरूले कस्तो व्यवहार गरे ? कस्तो बुझाइ राखे ? कस्तो दृष्टिकोणका साथ सम्बन्धको विस्तार गरे ? यो बझ्न सघाउँछ– अमेरिकी अध्येता ड्यान इडवार्डस लिखित ‘अमेरिका मिटस नेपाल : प्रोब्लम्स, पर्सनालिटिज एन्ड पोलिटिकल चेन्ज’ किताबले । नेपाली राजनीतिका छिनाझपटीदेखि राणा दरबारभित्रको छलफलका विषय, तत्कालीन नेपाली समाजको सामर्थ्यदेखि २००७ सालको क्रान्तिमा भएको नेपाली कांग्रेसले गरेको गतिविधिमाथि अमेरिकी बुझाइ, काठमाडौंस्थित ब्रिटिस दूतावासको बुझाइ, भारतीयहरूको व्यवहार–बुझाइबारे पनि किताबले प्रकाश पार्छ ।

त्यसबखतको नेपाल–वृत्तान्त

किताब नेपालमा अमेरिकी दूतावास नखुलिसकेको अवस्थामा दिल्लीस्थित अमेरिकी दूतावास र कलकत्तास्थित कन्सुलेटले नेपालको आन्तरिक राजनीति, छटपटी र परिवर्तनका यात्राबारे वासिङ्टन डीसीमा गरेको केवलहरूको संगालो हो । लेखक ड्यानले अनेकन् विषयमा छरिएर केवलका विषयलाई सिलसिलेवार गर्ने प्रयत्न गरेका छन्, जसले त्यतिबेलाका नेपाली समाजका नखुलेका अनेकन् पाटा खुलाउँछ । किताबले नेपाली राजनीतिको सीमा र सार्मथ्य मात्रै नभई हाम्रो जटिलता खासगरी भारतीय राजनीति, ब्रिटिस र स्वयं अमेरिकनहरूले कसरी बुझिरहेका छन् भन्ने पनि बुझाउँछ ।

पिसकोर स्वयंसेवकका रूपमा नेपाल आएर बसेका र त्यसपछिका वर्षहरूमा पनि नेपालका अनेकन् विषयमा अध्ययन अनुसन्धान गर्दै आएकाले होला ड्यान नेपाली समाजको भूराजनीतिक संवेदनशीलताबारे जानकार छन् । केवलहरूको व्याख्या गर्ने र त्यसलाई अन्य प्रसंगमा जोड्ने मामिलामा सचेत देखिन्छन् ।

काठमाडौं उपत्यकाबारे पुस्तकमा अनेकन् रोचक विवरण छन् । जस्तो काठमाडौंमा २५ माइल मात्रै मोटर गुड्ने बाटो थियो । किताबमा जुद्ध रोड आधुनिक भए पनि सर्वसाधारण जाने पसल सारै फोहोर हुने गरेको विवरण मात्रै छैन, यहाँ पाइने भारतीय कपडा, चुरोट, टिनबन्द खानेकुरा भारतमा भन्दा आधादेखि तीन गुणासम्म महँगोमा बेचिने तथ्य पनि उल्लेख छ । स्थानीय बस्ने घरहरूमा सरसफाइको सुविधा नभएको, तिनले धाराबाट पानी बोकर ल्याइरहेको दृश्य लेखिएको छ किताबमा । अधिकांश सर्वसाधरण स–साना कोठामा ६ देखि १० जनासम्म कोच्चिएर बस्ने, तर ३० देखि ४० राणा परिवार भने भिक्टोरियन शैलीका दरबारमा बस्ने गरेको उल्लेख छ । त्यस्ता घरमा भने आयातित घडी, सिसा र झुमर देखिने पनि उनले लेखेका छन् ।

अमेरिकीले नेपालसँग अन्तर्राष्ट्रिय वित्तीय कारोबारहरू गर्न सकिन्छ कि भनेर बुझ्न १९४७ मा एक जना अमेरिकी बैंकरलाई काठमाडौं पठाएको देखिन्छ । ती बैंकरले नेपालमा अनुमानित ७५ लाख रुपैयाँ नगद मात्रै बजारमा चल्तीमा रहेको र बहुसंख्यक सर्वसाधारण भारतीय रुपैयाँमा निर्भर रहेको रिपोर्ट पेस गरेका थिए । यो तथ्यले त्यतिबेलाको नेपाली समाजको आर्थिक मुहार बुझाउँछ ।

कलकत्तास्थित अमेरिकी कन्सुलेटमा कार्यरत हेलेन सेक्सटोन जुन १९४५ मा काठमाडौंस्थित ब्रिटिस लिगेसनको निम्तामा काठमाडौं आएका थिए । हेलेनले त्यतिबेला देखेको काठमाडौंको विवरण रोचक छ । जस्तो, उनी आएको बखत सिंगो नेपालमा जम्मा ९ जना गोरा युरोपियन थिए । उनले काठमाडौं सिंगो विश्वबाट एक्लिएर बसेको, बाहिरी दुनियासँग यसलाई कुनै मतलब नरहेको लेखकी छन् । तर, काठमाडौंमा सपिङ गर्दाको उनको रोचक अनुभव छ– फ्रेन्चदेखि इंग्लिस पर्फ्युम, साबुन र कस्मेटिक सामान, अंग्रेजीदेखि जापानी उलन र सिल्क, अमेरिकन हातेघडीदेखि भित्तेघडी, जर्मन उत्पादित घडी, चिनियाँ सिसाका सामान र अमेरिकी ब्रान्डेड चुरोटसम्म काठमाडौंमा पाइन्थ्यो ।

राणा खान्दानहरूले देशबाट उठ्ने सारा राजस्व आफैं राख्ने गरेको, देशैभरि उनीहरूका मौजाहरू भएको, छोटो दूरीको रोपवेदेखि रेलसेवाबाट उठ्ने रकम सोझै उनीहरूकहाँ नै पुग्ने गरेको र त्यही रकमबाट उनीहरूले विलासी जीवन जिउने गरेको तथ्य किताबमा छ । पुस्तकमा राणाजीहरूले आम्दानीको ठूलो हिस्सा भारत र इन्ग्ल्यान्डजस्ता देशमा राख्ने गरेको लेखिएको छ । जनरल केशरशमशेरले त हल्यान्डको सुगर प्रशोधन कम्पनीमा १ लाख पाउन्ड लगानी गरेको तथ्य पनि थाहा पाइन्छ ।

पुस्तकमा दिल्लीस्थित अमेरिकी दूतावासले पठाएका नेपालसम्बद्ध कैयन विवरणमा एउटा सामग्री काठमाडौंका दरबारभित्रका गतिविधिबारे पनि छ । उक्त विवरण भने दूतावासले पाक्षिक नेपाली पत्रिका ‘नेपाल टुडे’ ले छापेको भन्दै स्रोत उद्धृत गरेको छ । समाचारमा दरबारमा कामदार र सुसारेका रूपमा महिला राखिने र तिनीहरू यौनका निम्तिसमेत प्रयोग गरेकोदेखि पूर्व राणा प्रधानमन्त्री जुद्धशमशेर यौन क्षमता बढाउन दुई सय भंगेराको गिदीको सुप बनाएर दैनिक खान्थे भन्नेसम्मका विषय छन् । पुस्तकमा रोचक र अपत्यारिलोजस्ता लाग्ने विवरणको बाढी नै छ । यस्ता विवरण केलाउँदा त्यतिबेलाको राजनीति र नेपालको हैसियतबारे आकलन गर्न सकिन्छ ।

दिल्लीस्थित अमेरिकी राजदूत ह्यारी बिटसहितको टिम सन् १९४५ मा काठमाडौं आएर पैदलै धादिङबाट गोरखाको आरुघाट निस्केर लमजुङ पोखरा हुँदै कालीगण्डकीको तीरैतीर घुमेका थिए । तिनै ह्यारीले वासिङ्टन डीसीमा पठाएको केवलमा आफू अमेरिकामा राष्ट्रपति कार्यलयमा हुँदा एक नेपाली भेटेको प्रसंग उल्लेख गरेका छन्– चन्द्रशमशेरका छोरा सिंहशमशेर कूटनीतिक हैसियतमा अमेरिकाको ह्वाइटहाउस पुग्ने पहिलो नेपाली थिए । सिंहले अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानसहितको प्रतिनिधिमण्डललाई भेटेर नेपालमा आएर विस्तृत भौगर्भिक सर्भे गरेर खानीजन्य स्रोतहरू पत्ता लगाइदिन भनेका थिए । तिनै ह्यारीले लेखेको डायरीमा त्यतिबेलाका राणा प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानलाई नेपाल सरकारको सबैभन्दा ठूलो ओजस्वी राज्य भन्ने पदक दिन प्रस्ताव गरेको पनि लेखेका छन् ।

भारत स्वतन्त्र भइसक्दा पनि ब्रिटिसहरूले नेपाललाई आफ्नै अधीनको राज्यजस्तो गर्ने गरेको ब्यवहार पनि पुस्तकमा छ । काठमाडौं घुमेर फर्केका अमेरिकी मिसनहरूले वासिङ्टनमा पठाएको केवलहरूमा पनि नेपालबाट बेलायतीको एक मात्र स्वार्थ ब्रिटिस सेनामा नेपाली तन्नेरीहरू पठाउनु हो र त्यस अलावा नेपाली समाजभित्र चलिरहेको राजनीतिक विद्रोह वा अन्य कुराप्रति उनीहरूको कुनै चासो छैन भन्ने नै छ ।

नेपालमा कम्युनिस्टहरूको संख्या बढेकामा अमेरिका किन सशंकित बन्थ्यो भन्नेदेखि नेपालको आन्तरिक राजनीतिमा भारतीयहरूको चासो कुन हदसम्म थियो भन्ने बुझाउन पनि पुस्तक उपयोगी छ । अमेरिकीलाई नेपाली राजनीति, कूटनीति र यहाँभित्र भइरहेका राजनीतिक विद्रोहमाथि चासो देखिन्छ ।

तर, दिल्ली र कलकत्तास्थित कूटनीतिक निकायले भने काठमाडौंमा भित्रभित्रै हुर्किरहेको राणाविरोधी गतिविधि र आन्दोलनबारे समयमै पत्तो नपाएको देखिन्छ । कतिसम्म भने अमेरिकी मिसन काठमाडौं आएर फर्केको चार दिनपछि काठमाडौंमा नेपाली काग्रेसले सत्याग्रह सुरु गरेको थियो । तर, मिसनले त्यस्तो आन्दोलनको छनक पाएको विवरण वासिङ्टनमा पठाएको केवलहरूमा भेटिन्न ।

नोभेम्बर १९४६ मा अमेरिकन चार्ज डी अफेयर्स जर्न आर मिरिलले काठमाडौं आएर पदमशमशेर राणालाई भेटेको देखिन्छ । उक्त यात्रापछि उनले पठाएको केवलमा जनरल विजयशमशेरसँगको कुराकानीबाट आफूहरूले नेपालमा साक्षरता दर जम्मा साढे सात प्रतिशत रहेको, साढे १ प्रतिशत मात्रै अंग्रेजी बोल्न सक्ने रहेको उल्लेख छ । काठमाडौंवासीलाई पश्चिमा संसार जानकार भएको चलचित्रबारे केही थाहा नभएको, यहाँ कुनै सिनेमाहल खुल्ने तयारी पनि नभएको, तर केही राणा जर्नेलहरूको घरमा निजी सिनेमाघर रहेको आफूले थाहा पाएको उल्लेख गरेका छन् । त्रिचन्द्र कलेजमा आठ प्रोफेसर र एक दर्जनजति प्रशिक्षक रहेको र ती सबै भारतीय रहेको लेखिएको छ । साथै यही केवलमा अमेरिकामा दुई नेपाली छात्रवृत्तिमा पढिरहेको र तीमध्ये एक मुकुन्दशमशेर थापा भने जनरल मृगेन्द्रशमशेरको सिफारिसमा २ हजार डलरको छात्रवृत्तिसहित पढिरहेको उल्लेख छ ।

पुस्तकमा केही यस्ता रोचक विवरण छन्, जसले नेपाली बजारमा सामानको मूल्य कति थियो भन्ने थाहा हुन्छ । सन् १९४८ मा भारतस्थित अमेरिकी राजदूत हेनेरी एफ ग्रेडेसहितको टोलीले नेपालबाट घुमेर फर्केपछि अमेरिका पठाएको केवलमा यहाँको बजारमूल्यको विवरण छ । एक किलो सेतो राम्रो चामलको ६९ पैसा, एक केजी खसीको मासुको ५१ पैसा, एउटा लामो सेतो मुलाको ४ पैसादेखि टमाटर सस एक लिटरको बोतलको २ रुपैयाँदेखि टेनिस बलको २ रुपैयाँ, बाटा जुत्ता एक जोरको १४ रुपैयाँ र ६ ट्युब हुने ५ ब्यान्डको मर्फे रेडियोको ५ सय ५० रुपैयाँ पर्ने विवरण छ । कामदारहरू दैनिक साढे पाँच घण्टा काम गरेर १ रुपैयाँ र सिकर्मीहरू साढे ५ घण्टा काम गरेर डेढ रुपैयाँ ज्याला बुझ्थे ।

२००७ सालको क्रान्तिमा भारतीय भूमिकादेखि लैनचौरस्थित भारतीय दूतावासको सक्रियतासम्बन्धी रोचक विवरण पनि पुस्तकमा छन् । १६ जनवरी १९५१ मा दिल्लीस्थित अमेरिकी दूतावासले वासिङ्टनमा पठाएको केवलमा नेपालभित्र भइरहेको आन्दोलन चर्काउन भारतीय दूतावास सक्रिय रहेको थाहा हुन्छ ।

परिचय खण्डसहित १४ भागमा बाँडिएको किताब नेपाल–अमेरिका सम्बन्धको सुरुवाती कालखण्डको अभिलेख मात्रै होइन । यसले नेपालको भूराजनीतिक अवस्थिति पनि बुझाउँछ ।

प्रकाशित : जेष्ठ २०, २०८० १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?