२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

‘म एक फकिर, एक गृहस्थ’

दीपक सापकोटा

कवि रमेश क्षितिज कहिले आफूलाई सरल ठान्छन्, कहिले जटिल । भन्छन्, ‘पहिलेको समाजमा मानिसका दुःख साना र सरल हुन्थे, अहिलेका दुःख जटिल र बढी गुजुल्टिएका छन् ।’

‘म एक फकिर, एक गृहस्थ’

यही बेला क्षितिजको नयाँ कविता–किताब ‘पर्वत पर्वतमा बटुवा घाम’ प्रकाशित छ । उनीसँग दीपक सापकोटाले गरेको वार्ता :

प्रत्येक कवि आफ्नो आरम्भिक अवस्थामा कोही अग्रज कविको सिको गर्दै बामे सर्छ । नढाँटीकन भन्नुस् त, तपाईंको आरम्भिक कविता–लेखनमा कुन कविको प्रभाव बढी पर्‍यो ?

मानिसको व्यक्तित्व निर्माणमा ऊ जोडिएको समाज, उसले भोगेको वातावरण, देख्ने प्राकृतिक दृश्यहरू र अध्ययन, चिन्तनले भूमिका खेल्छ । म गाउँमा हुर्किएँ, जहाँ बाल्यकालमा साहित्यिक पुस्तक वा पुस्तकालयको सहज उपलब्धता थिएन । लेखनयात्रा योजनाबद्ध वा सचेतनापूर्वक सुरु गरिएको पनि होइन । यो त आफूसँगै जन्मेको एक स्वभाव थियो । यसैले कुनै एक कवि वा पुस्तकबाट अभिप्रेरित भएर वा कुनै घटना विशेषले म साहित्यमा आएको होइन ।

सानो उमेरमा ‘रामायण’, ‘मुनामदन’, ‘गौरी’ पढेको सम्झिन्छु । ‘रूपमती’ उपन्यास पढेको सम्झिन्छु । ‘पिँजडाको सुगा’ पनि सम्झिन्छु । उमेर र परिस्थितिअनुसार अध्ययनको दायरा परिवर्तन हुँदै जाने रहेछ । काठमाडौंमा कलेज पढ्न आएपछि त्यसबेलाको सोभियत रुसका सुपथ मूल्यका नेपाली अनुवाददेखि सबै किसिमका पुस्तक अध्ययन गर्ने अवसर प्राप्त भयो । मेरो लेखक व्यक्तित्व निर्माण हुनुमा पूर्वजहरूको पनि देन छ । अग्रजहरूले बनाएको बाटोमा हिँड्दै यहाँसम्म आएको हुँ म । त्यसैले मभन्दा अगाडिका धेरै कविको प्रभाव र उत्प्रेरणाले म कवि बने हुँला । उहाँहरू सबैप्रति मेरो कृतज्ञता भाव छ त्यसैले ।

कविता सिर्जनमा संसारैभरि कठोर र कोमल धारका कविताहरू लेखिने/पढिने गरिन्छन् । तपाईं आफूलाई कुन धारको प्रतिनिधित्व गर्छुजस्तो लाग्छ ?

एकपल्ट विदेशबाट फर्किंदै गर्दा बैंककको लामो ट्रान्जिटपछि काठमाडौंतर्फ उडेँ म । संयोगले म बसेको छेउको सिट खाली थियो । जहाज उडेको एकैछिनपछि पछाडिबाट उठेर एक युवती त्यहाँ बसिन् । बस्दाबस्दैको छोटो परिचयपछि पहिलो प्रश्न सोधिन्– तपाईं आफूलाई सुखी मानिस ठान्नुहुन्छ कि दुःखी ?

म एकछिन अल्मलिएँ– ओहो यो प्रश्न त मैले आफूलाई कहिल्यै गरेको रहेनछु– साँच्ची म दुःखी मानिस हो कि सुखी ? एकछिन सोचेर भनेँ, ‘खासमा कुनै पनि मानिस सम्पूर्ण रूपमा दुःखी वा सुखी हुँदैन होला । म कहिलेकाहीं सुखी मानिस हो र कहिलेकाहीं दुःखी मानिस । सुखदुःख भावनात्मक कुरा हो । यसैले जसले जे सम्झिन्छ ऊ त्यही नै हो । तर, अहिलेको कुरा गर्ने हो भने म हुँ परदेशमा केही समय बसेर घर फर्किरहेको खुसी मानिस ।’

खासमा म कुनै फ्रेम वा सिद्धान्तमा बसेर कविता लेख्दिनँ । म आफैं कहिले फकिरजस्तो हुन्छु, कहिले गृहस्थ । कहिले सरल त कहिले जटिल । अनि मैले लेखेको कविता कसरी एकै हुन सक्छ !

कविताको गुण त कोमलता नै हो । यहाँले विद्रोह, संघर्ष वा सामाजिक विषयवस्तुको कविता अथवा जीवनका मूल्यहरूका विषयको कविता भनेर दुई धार भन्न खोज्नुभएको हो भने ती दुवै रङहरू मेरो कवितामा छन् भन्ठान्छु ।

कवि समाजसँग निरपेक्ष भएर बस्न सक्दैन । त्यसैले उसको सामाजिक परिवेश कवितामा जोडिएर आउँछ नै । त्यसैगरी एउटा सचेत कविले जीवनबारे पनि प्रश्न गर्छ, गर्नुपर्छ । त्यसैले प्रेम, अध्यात्म, दर्शन र विचारका कुराहरू पनि आउँछन् नै । जीवनबोधी कविताहरू लामो समय जिउने कविता हुन् । ती सर्वकालिक पनि हुन्छन्, कहिल्यै पुरानो नहुने । यसैले मलाई ती कविताप्रति विशेष आकर्षण छ ।

कविताहरू जसको भाषा काव्यिक हुन्छ जसमा दर्शन र चिन्तनको सुगन्ध हुन्छ, जसले अन्तरहृदयमा एक ऊर्जा र अभिप्रेरणा दिन्छ– त्यस्ता कविता म बढी लेख्न चाहन्छु, त्यो अर्कै कुरा ।

विषयवस्तु वा धार जेसुकै भए पनि मूल प्रश्नचाहिँ कविता भनेर जसलाई भन्छौँ, त्यो असली कविता हो कि होइन भन्ने नै हो ।

‘पर्वत पर्वतमा बटुवा घाम’ तपाईंको तेस्रो कवितासंग्रह हो । यस संग्रहसम्म आइपुग्दा तपाईंको प्रस्तुतिशैली र शिल्प साथै कथ्यसमेत दोहरिन थालेको अर्थात् तपाईंको काव्यसिर्जन एउटै पद्धतिको लिकमा गुड्न थालेको आभास तपाईं आफैंलाई कत्तिको हुने गरेको छ ?

अहिलेसम्म त्यस्तो आभास नभएकैले यो संग्रह आएको हो । इमानदारीपूर्वक भन्छु– जुन दिन म दोहरिन थालेँ भन्ने लाग्छ, त्यो दिनदेखि म कविता लेख्न छाड्नेछु । यसै पनि तीनवटा कवितासंग्रह आइसकेपछि मैले आफू हिँडेको लेखनको बाटाको गम्भीर समीक्षा गर्नु जरुरी छ–गरिरहेकै छु । प्रतिक्रियाहरू लिइरहेको छु । अब कसरी जाने भनेर सोचिरहेको छु ।

यो विषयमा सचेत भएर लेख्ने यत्नको कारणले पनि म थोरै लेख्छु । मेरा प्रत्येक संग्रहहरू कम्तीमा दस वर्षको अवधिपछि मात्र प्रकाशन हुने गरेका छन् । दस वर्षको अवधिमा सामाजिक जीवन र व्यक्तिगत जीवनमा धेरै भिन्नताहरू आएका हुने रहेछन् । अनुभव, अनुभूति र अध्ययनका कारणले सोच र चिन्तन पनि फरक हुँदोरहेछ । कति फरक उमेरजन्य पनि हुन्छ होला ।

तर, कविको आफ्नो शैली, पन वा रङ त रहन्छ नै । उसले लेखेका कविताहरूको एक आधारभूत गुण र मौलिक मूल्य रहेन भने उसको परिचय कसरी स्थापित हुन्छ ? ‘रमेश क्षितिजका कविता यस्ता हुन्छन्’ भन्ने चिनारी स्थापित गर्ने कविताको आफ्नो प्रकारको अनुहार त हुन्छ नै । तर, कविले आफ्नै परिचय र सुगन्धभित्र आफैंलाई नयाँ आविष्कार गर्दै जानुपर्छ । एक ताजापन, नवीनता र प्रयोगसाथ पाठकसम्म पुग्नुपर्छ भन्ने मैले मनन गरेको छु ।

तपाईं सरकारी सेवामा ज्यादै कठोर बनेर प्रस्तुत हुनुपर्ने भूमिका (प्रमुख जिल्ला अधिकारी) काँधमा बोकेको मान्छे । कविताजस्तो कोमलतम अनुभूतिको अपेक्षा गरिने विधामा सिर्जनारत हुन आफूलाई कसरी अनुकूलित गर्नुहुन्छ ?

मभित्र दुइटा मानिस छन् । एउटा, जो कार्यालय जान्छ, नियम कानुनका पाना पल्टाउँछ । शान्ति सुरक्षा हेर्छ वा मुद्दा हेर्छ, फैसला गर्छ । त्यो अनुशासनमा बस्छ, नीति नियम पालना गर्छ/गराउँछ । ऊ व्यवहारवादी छ । अर्को मानिस छ मभित्र, जो करुणा, प्रेम, मानवता र संवेदनाका कुरा गर्छ । पर्वत, नदी, जूनतारा र साँझको आकाश हेरेर रमाउँछ । एकबारको जुनीमा सिर्जनात्मक हुनुपर्छ भन्छ । स्वतन्त्रता, विद्रोह, कला वा जीवनको सार्थकताबारे चिन्तन गर्छ । ऊ आदर्शवादी छ । कल्पनाशील र चिन्तक छ । यी दुईको प्रायः मेलमिलाप हुन्छ । एकअर्कालाई सहयोग गर्छन् । सँगसँगै रमाउँछन् । तर, बेलाबेलामा यिनीहरूबीच द्वन्द्व हुन्छ । एउटाले म ठीक हुँ भन्छ, अर्कोले म । यस्तोबेला मलाई यिनीहरूको झगडा मिलाउँदै बस्नुपर्ने हुन्छ । सायद यही नै जिन्दगी हो ! तथापि जीवनको सौन्दर्य के हो भने संघर्ष र अप्ठ्याराहरूबीचमा कहीं न कहीं सरल बाटो पनि छ, त्यो आफैंले खोज्नुपर्छ !

कोमल पद–पदावली र कथ्य आफ्ना कविता–सिर्जनमा भित्र्याउने मोहमा तपाईं कतै नेपाली समाज र राजनीतिको कटुयथार्थ अनि भुइँमान्छेको क्रूर भोगाइको चित्रण गर्नुपर्ने दायित्वबाट पलायन त भइरहनुभएको छैन ?

मेरा तीनवटै संग्रह पढेको पाठकबाट यस्तो कुरा आउँछजस्तो लाग्दैन । विषयवस्तुको हिसाबले ‘अर्को साँझ पर्खेर साँझमा’ कवितासंग्रहमा विद्रोही चेतका कविता बढी छन् । विम्बहरू पनि प्राकृतिक र ग्रामीण बढी छन् । ‘घर फर्किरहेको मानिस’ मा रहेका ‘लडाकुको रुमाल’, ‘नयाँ सपना’ लगायत धेरै कवितामा त्यो दशकको समाजको मनोदशा, आम मानिसका आवाज र अनूभूति साथै विविध यात्राका संवेगहरू चित्रित छन् । यसैगरी ‘पर्वत पर्वतमा बटुवा घाम’ मा रहेका पाँच खण्डमध्ये ‘अग्निउत्सव’ को पूरै खण्डमा र अन्यमा पनि सामाजिक, राजनीतिक विषयका कविताहरू छन् । तर, जीवनका विविध आयाम, रङ र पाटोहरूलाई कविताले बिर्सनु हुँदैन । मानिस राजनीतिक पनि हुन्छ, तर जीवनमा राजनीति मात्र पनि त छैन ।

हो कविताको भाषा, संरचना र शैलीबारे मेरो आफ्नो मान्यता छ । वैचारिक र राजनीतिक विषयलाई पनि कविताले काव्यिक भाषामा बोल्नुपर्छ, भन्छु म । यो मेरो आफ्नो मान्यता हो । अर्को कविको अर्कै मान्यता हुन सक्छ, त्यसलाई पनि म सम्मान गर्छु ।

म कुन भूगोलबाट, कुन समाजबाट आएँ ? मेरो इतिहास, मेरो जरा के हो ? भनेर त्यसको खोजी गर्नु राम्रो कुरा हो । तर, म मानिस भएर किन जन्मिएँ ? मेरो जन्मको सार्थकता के हो ? म को हुँ ? भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । सीधै नारा वा पर्चाको भाषामा भनिनु कविताको आधारभूत परिचय र सौन्दर्यको क्षयीकरण हो । मेरो कविताको बोल्ने शैली पृथक् हुन सक्छ, तर त्यसले न्याय, समानता, मानवता र उज्यालोबारे बोल्छ भन्ने सत्य हो ।

सामाजिक तथा राजनीतिक विडम्बनाहरूलाई बदल्न कविताको भूमिका कत्तिको प्रभावकारी हुन्छ ?

समाजको इकोलोजी वा पर्यावरणमा बिभिन्न तत्त्वको भूमिका रहन्छ । त्यसमध्ये कविता पनि एक हो । तर, यसमा दुई पक्ष महत्त्वपूर्ण हुन्छ । एउटा पक्ष– समाज कस्तो समाज हो ? शिक्षित, विचार, सिद्धान्त वा आदर्शले डोर्‍याएको समाज । यस्तो समाजमा कविता, कला वा दर्शनले हलचल ल्याउँछ । परिवर्तनका लागि ठूलो प्रभाव दिन सक्छ । यसको विपरीत व्यवहारले चलेको समाजमा विचार र कलाको तरंग वा प्रभावको दायरा सानो हुन्छ ।

दोस्रो पक्ष– कवि र कविताप्रति समाजको स्वीकारोक्ति वा विश्वास छ कि छैन ? भन्ने हो । समाजले कति मर्यादा दिएको छ ? चिन्तक वा सर्जकलाई कति आत्मसाथ गरेको छ ? उनीहरूको बोलीलाई समाजले कति गम्भीरतापूर्वक सुन्छ ? समाजले भरोसा गरेको छ भने कविताको प्रभावको दायरा पनि फराकिलो हुन्छ ।

तर, जुनसुकै रूपमा भए पनि कविता सोच र अन्तस्करणको परिवर्तनको स्रोत हो । संसारको इतिहास हेर्ने हो भने परिवर्तनको लहरमा कविताको उद्घोष र आवाजले मद्दत गरेका प्रशस्त उदाहरण छन् ।

विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भमा कविताको भविष्य कस्तो होला ? के यो मानिससँगै बाँचिरहला ?

हो, प्रविधिले आउँदो समयमा कवितालाई पनि प्रभाव पार्नेछ । हुन सक्छ, कवितालाई बढी दृश्यमा वा पर्दामा हेरिएला अब । प्रकाशन र सम्प्रेषणको नयाँ रूप पनि आउला । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले मेसिनले कविता लेख्नेछ, चित्र बनाउनेछ, जो सुरु भई नै सकेको छ । कुनै चिप्सको प्रयोगले सोच्न सक्ने कृत्रिम मानवहरू बनाइनेछन् । यस्तोमा कोही यन्त्र–मानव कविता लेख्नकै लागि पनि तयार गरिएला– कवि यन्त्र–मानव । कोही– चित्रकार रोबर्ट ।

म पश्चिमका केही देशहरूमा पुगेँ । त्यहाँ अनिद्रा र एक्लोपन भयावह छ । हाम्रोमा पनि अहिले बूढाबूढी एक्लिँदै गएको देख्न सकिन्छ । संयुक्तबाट न्युक्लियर फेमिलीतिर गइरहेको छ समाज । पहिलेको समाजमा मानिसका दुःखहरू साना र सरल हुन्थे अब मानिसका दुःखहरू जटिल र बढी गुजुल्टिएका हुनेछन् । यस्तोमा कविताको उपादेयता झन् बढिरहेको देख्छु म । किनकि यो मन र मस्तिष्कसँग जोडिएको विषय हो । यसले आत्मिक शान्ति र अन्तस्करणमा जीवन्त ऊर्जा प्रवाह गर्नेछ मानिसलाई । र, जिउने अभिप्रेरणा दिनेछ ।

जस्तो कि ध्यानका हजारौं विधि छन् । ओशोदेखि रविशंकरले ध्यानका आ–आफ्ना शैली विकास गरेका छन् । तर, बुद्धको विपश्यना अहिले पनि प्रचलित छ । मानिसले लेखेका कविता फेरि पनि सर्वकालिक होलान्, त्यसरी नै ।

प्रकाशित : जेष्ठ २०, २०८० १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?