कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६
सभ्यता–विमर्श

‘कायाकल्प’ को साँघुमाथि मानव समाज

आजको मान्छे युगान्तकारी–कालजयी इतिहास रचनाको घडीमा उभिएको छ । वर्तमान स्वरूपबाट फड्को हानेर रूपान्तरणको साँघु तर्दै कायाकल्पको अर्को किनारामा पुग्ने यात्रा आरम्भ गरेको छ– मानव समाजले ।
यादव देवकोटा

जोखिमको भट्टी
नदीको एक किनारामा उभिएको जीवलाई अर्को किनारामा पुग्न या पौडन सक्ने खुबी चाहिन्छ या साँघुको । आज त्यो साँघु परम्परागत साँघुमै सीमित रहेन । जहाज, पानीजहाज नै किन नहोस्, तिनले गर्ने काम फेरि पनि साँघुकै हो– मानिसलाई एक किनाराबाट अर्को किनारामा पुर्‍याउनु ! 

‘कायाकल्प’ को साँघुमाथि मानव समाज

लाखौंलाख, हजारौंहजार वर्षको इतिहासमा मानव वंशका सदस्य समेतले नदी मात्रै होइन, समुद्र पनि पार गरेका छन्– बिनासाँघु, बिनाडुंगा, बिनाजहाज । हिउँदे ठण्डी–याममा समुद्रको पानी जमेर बरफ भएको बखत तिनले कसरी समुद्र पार गरेर अर्को भूगोलमा पाइला टेक्न पुगे ? ती विवरण हामीले प्राककालका इतिहासमार्फत पढ्यौं । ती विवरणमा त्यसरी एक किनारा छाडेर अर्को किनारातिर अघि बढ्ने क्रममा मानव वंशका अकल्पनीय संख्याका सदस्यको जीवन निख्रिएको छ । त्यसरी जीवन निखारेका आफ्ना वंशका सदस्यहरूको लास अनि अस्थिमाथि टेकेर बाँकी सदस्यका पाइतालाले अर्को किनारातिरको भूगोल चुमेको असफलता, त्रासदी र आखिरी सफलताको लोमहर्षक विवरणले हामीलाई रोमाञ्चित बनाउने गर्छ ।

एउटा किनाराबाट अर्को किनारातिर फड्को हान्ने क्रिया केवल परम्परागत भूगोलको आरपारमा सीमित छैन । एउटा परम्परागत स्वरुपबाट अर्को स्वरूपमा, एउटा अवस्थाबाट अर्को अवस्थामा, एउटा युगबाट अर्को युगमा जसरी यात्रा अघि बढेको छ, ती सबै जोखिम र सम्भावनाले भरिएका परीक्षणको साँघु तरेरै सम्भव भएको हो ।

अफ्रिकामा उद्विकास भएको होमो इरेक्टसले जोखिमको बरफमाथि पाइताला टेकेर अफ्रिका छाडी बाहिर ननिस्केको भए त्यसउप्रान्तका मानव वंशका सदस्यहरूको बाँकी विश्वको यात्रा त्यही स्वरूपमा रहन्थ्यो होला कि भिन्न हुन्थ्यो ? यो कोरा अनुमानको मात्रै विषय होइन । मानिसका अज्ञेय अग्रजहरूले जोखिममा होमिएर बाँकी समयका उत्तराधिकारीहरूका लागि पदचापको गोरेटो कोरिदिए बाँकी यात्राको सहजताका लागि । जोखिमसँग खेल्न डराएको भए न तीन लाख पन्ध्र हजार वर्षजति अघि मारेक्कोको जबेल इरहौदमा उद्विकास भएको होमो सापिएन्स ‘गेट अफ टियर्स’ (आँसुको द्वार) भनिने बब–एल–मन्डेब पार गर्दै अफ्रिकाबाहिरको बाँकी भूगोलमा विस्तारित हुने थियो, न आजको स्वरूपमा होमो सापिएन्सको जीवनका आन्तरिक कायाकल्प सम्भव हुने थियो (ओडेड गालर– द जर्नी अफ ह्युम्यानिटी : द ओरिजिन्स अफ वेल्थ एन्ड इनइक्वालिटी, २०२२) ।

परम्परागत फिरन्ते सिकारी जीवनबाट पशुपालन, खेतीपाती र अलि स्थिर शैलीको जीवनयात्रातिर अभिसारित हुने जोखिम नलिएको भए न त आज मंगलग्रहमा बस्ती बसाउने सपनाको व्यापार गर्न सक्ने बन्ने नै थियो मानिस । यी सबै साँघुले मानिसलाई इतिहासभरि एक चरणबाट अर्को चरणसम्म तानेर पुर्‍याएको छ । परिवर्तनबाहेक बाँकी सबै विषय असत्य साबित भएका छन् ।

यो इतिहासको कुरा भयो । आजको घटना भोलिका लागि इतिहास हुन्छ । कतिपय आजहरू सामान्य इतिहास बन्नेछन् भोलिका लागि । कतिपय आजका घटना युगीन परिघटनाका पत्रहरू बोकेको विशेष इतिहास बन्नेछ भोलिका लागि । आजको मानव समाज भोलिका लागि एउटा युगान्तकारी र कालजयी इतिहास रचनाको घडीमा उभिएको छ । समाजको वर्तमान स्वरूपबाट फड्को हानेर रूपान्तरणको साँघु तर्दै कायाकल्पको अर्को किनारामा पुग्ने यात्रा आरम्भ गरेको छ– आजको मानव समाजले ।

बढीमा पाँच दशकभित्रै, अन्यथा तीन दशकमा मानव समाज मानवको हाते श्रममा आधारित चरणबाट शारीरिक श्रमलाई विस्थापित गर्दै स्वचालनमा आधारित यान्त्रिक श्रमको युगमा पुग्नेछ । त्यसको यात्रा आरम्भ भइसकेको छ । यान्त्रिक मानव, यान्त्रिक बौद्धिकताले भौतिक मानवमाथि आधिपत्य जमाउनेछ । श्रमको विशालतम क्षेत्रबाट मानिस विस्थापित हुनेछ र विचार/सोच/विमर्श/नवप्रवर्द्धन/आविष्कारका क्षेत्रसमेत यान्त्रिक मानव/यान्त्रिक बौद्धिकताको पकडमा पुग्नेछ । अन्ततोगत्वा यान्त्रिक बौद्धिकता कसरी मानव समाजका लागि जोखिमको भट्टी बन्दै छ र त्यसले मानव जातिलाई नै अस्तित्वरक्षाको संगीन मोडमा उभ्याउनेछ भन्ने विवरण पनि यथाक्रममा तल आउने नै छ ।

उसो त मानव वंशले आफैंसमेतलाई परीक्षण र आविष्कारको जोखिमपूर्ण भट्टीमा नहोमेको भए आज हामी जुन स्वरूपमा छौं त्यस्तो हुने थिएनौं भन्ने सवाललाई पनि यहाँनेर उच्च सचेतनाका साथ स्मरण गर्न जरुरी छ । नयाँ खोज/परीक्षण र नवीन आविष्कार भन्नु पनि आफैंलाई समेत जोखिमको त्यस्तो लप्कोमा होम्नु रहेछ, जसमा हरघडी आफ्नै परीक्षणको लप्कोले आफैंलाई खरानी बनाइदिने जोखिम हुने रहेछ ।

आगोको उज्यालो

परम्परागत तवरले शिकार गरिखाने, काँचै खाना खाने मानवले कसरी आगोसँग खेल्न जान्यो र आफूलाई अभूतपूर्व परिवर्तनको बाटामा होम्यो भन्ने विवरण मानवमा आएको कायाकल्पको अर्को लोमहर्षक दृष्टान्त हो ।

इन्धन, अक्सिजन र तापको सम्मिलनले आगो बाल्न सकिन्छ भन्ने तहमा त्यसबखतका ‘प्रोटो मानव’ को चेतना सक्रिय थियो नै भनेर किटान गर्न सकिन्न । तर, कडा चट्टानमा घर्षण दिएर ताप बढाउने र आगो बाल्ने ज्ञानले डोरिएपछि त्यसले मानव वंशको उप्रान्तको जीवन कायाकल्प गरिदियो । उसको शारिरीक, आनुवंशिक स्वरूपहरूमा समेत उलटफेर भयो । त्यसैले आगोमाथिको पहुँच मानव वंशको इतिहासको एउटा भव्यतम कायाकल्प थियो । आजको स्वरूपको, चेतनाको मानव बन्नुमा पकाएर खान चाहिने आगो प्रयोगको सीप मानिसले जान्नु थियो ।

कृषिको करेसो

मानिससहित पृथ्वीका सारा जीवजन्तु जंगली जनावर हुन् । बितेका बाह्र हजार वर्षमा मानिसले आफूलाई नियन्त्रित कृषि उत्पादन प्रणाली र जनावरलाई बलपूर्वक कज्याउने पशुपालनको बाटोमा अभिसारित गरायो । त्यसलाई यताका दिनमा हामीले घरेलुकरण भन्ने नाम दिएका छौं । जुन वनस्पतिलाई मानिसले नियन्त्रित खेतीप्रणालीको दायरामा ल्यायो, त्यसलाई हामीले घरेलुकृत वनस्पति (डोमेस्टिकेटेड प्लान्ट) र जुन जनावरलाई आफ्नो नियन्त्रण र रेखदेखको दायराभित्र बस्नेगरी कज्यायौं, त्यसलाई घरेलुकृत जनावर (डोमेस्टिकेटेड एनिमल) भन्ने भाष्य प्रयोग गरिरहेका छौं ।

कृषि–आविष्कारतर्फको मानव–यात्राले अन्य कैयन वनस्पति, जीवजन्तु र प्रकृतिमाथि विनाशलीला मच्चाएर आफूलाई सर्वश्रेष्ठ प्राणीको स्व–विभूषण पहिर्‍याउने गल्ती गरे पनि कृषि प्रणालीमा आधुनिक मानवको प्रवेश आफैंमाथिको भव्यतम कायाकल्प थियो । सिकारी युगको एउटा किनाराबाट खेतीपाती र पशुपालनतिरको जुन साँघु हुँदै मानिसले रूपान्तरणको नदी तरेर अर्को किनारातिरको यात्रा तय गर्‍यो, त्यसले फिरन्ते सिकारी अवस्थाको मानिसलाई आज मंगलग्रहमा बस्ती बसाउने सपनाको जालो बुन्न सक्ने अवस्थासम्म ल्याइपुर्‍यायो ।

अर्को कायाकल्प

फिरन्ते सिकारी अवस्थामै सिकार गर्ने औजारको विकास, आगोको उपयोग, भाषाको विकास, आपसी संवादको विकास, जगंली मानवले आफैंलाई जंगली अवस्थाबाट घरेलुकरण गरेर कृषि र पशुपालन अभ्यासको विकास, यान्त्रिकीकरणजस्ता परिघटना मानव समाज– विकासको इतिहासमा निर्णायक र महत्त्वपूर्ण परिघटनाहरू बने । यो मानव समाजको भव्यतम कायाकल्प थियो ।

बितेका बाह्र हजार वर्षयताको समयमा अनेकन् आविष्कार भए । खेतीपाती र पशुपालनपछि अक्षर लेखनको जुन आविष्कार मानिसले आफ्ना लागि गर्‍यो, त्यसले मानिसलाई कायाकल्पको अर्को चरणमा प्रवेश गरायो । उत्कर्षमा संकेत, वाणीहीनता, लोसे सञ्चार पद्धतिको एक किनाराबाट सूचना, प्रविधि, स्वचालनको अर्को किनारातिर लगिदिँदै छ । सहर, उद्योग, रोजगारी, संस्कृति, धर्म, नीति, राज्य, शासक, शोषक, शोषित, दास, सिपाही, युद्ध, उपचार, धन, सम्पत्ति, पैसा आदि यसैको काँध चढेर अघि आए । विज्ञान, प्रविधिको विकासले मानव समाजलाई प्रलयकारी रूपान्तरको साँघु तराएन मात्रै सम्भावित प्रलयको नयाँ साँघुमाथि ठिंग उभ्याएको समेत छ । यो नयाँ साँघुमाथिको यात्रा मानव जातिले आरम्भ गरिसकेको छ । साँघुमाथिको अलिकति यात्रा सम्पन्न भइवरि अघि बढिसकेको पनि छ । यो साँघु तरिसक्दा ऊ आफैं भने कस्तो किनारामा उभिनेछ भन्ने विषयमा आजका दिनमा विश्वभर नै तीव्र र चर्का विमर्श चलायमान भएका छन् पक्ष र विपक्षमा ।

यो विमर्श आधारित छ, यान्त्रिकीकरणको उत्कर्षमा विकसित यान्त्रिक बौद्धिकतामाथि । यसले मानव समाजको इतिहासमा एउटा निर्णायक कोसेढुंगाको काम गर्नेछ भन्दै यसका पक्ष–विपक्षमा गम्भीर विमर्श विश्वभरका सार्वजनिक मञ्चहरूमा बाक्लिइरहेको छ । सन् २०५० सम्म विश्वको श्रमबजार पूर्णरूपेण स्वचालनमा जाने, समाजमा नयाँ अन्तर्विरोधहरू खडा हुने, मानव समाज अस्तित्व रक्षाको तारेभीरको डिलमा पुग्ने आकलन र चेतावनी यस्ता विमर्शको केन्द्रमा छन् ।

नहोस् पनि किन, आज मानव समाजका लागि यो एउटा जल्दोबल्दो विषय हो, जुन सम्भावित ‘प्रलय’ का रूपमा उपस्थित छ । यसै सन्दर्भमा समकालीन नेपाली समाजका एक बौद्धिक विष्णु सापकोटाले गत साता कान्तिपुर ‘कोसेली’ मा ‘एक निर्माणाधीन ‘भगवान्’ को भविष्य’ (शनिबार, १३ जेठ २०८०) शीर्षक आलेखमार्फत आज मानव समाज उभिइरहेको अनिवार्य कायाकल्पको नयाँ साँघु–यात्रा अर्थात् यान्त्रिक बौद्धिकतातिर अभिसारित मानव समाजलाई आधार बनाएर विमर्श अघि सारेका थिए । त्यहि विमर्शलाई निरन्तरता दिन यो आलेख लेख्ने धृष्टता गरिएको हो ।

नयाँ साँघु

आफूमाथि आइलाग्ने अप्रत्याशित परिघटनालाई परिभारिषत गर्ने नाम–विशेषण निर्माण गर्‍यो मानिसले– प्रलयका रूपमा । अधिकतर प्राकृतिक विपद् या आफ्नो सामर्थ्यभन्दा बाहिरबाट आफूमाथि बज्रिने घटना जनाउन ‘प्रलय’ शब्द प्रयोग गरिरहिन्छ मान्छे । तर, सधैंभरि त्यस्तो मात्रै हुँदैन । मानिस आफैं आफैंमाथि प्रलयको आरोपण गर्छ र आफैंलाई बित्यासको दहमा चोबल्छ । आजसम्मको मानव समाजको इतिहासमा जे–जति खोज, अनुसन्धान र आविष्कार भए, ती सबै मानिसको जीवनलाई सहज र सरल बनाउने उद्योगअन्तर्गत भए ।

त्यसउपर पनि त्यसबखतका समयमा अनेकन पक्ष–विपक्षका विमर्श शृंखला चलायमान नभएका होइनन् । समाज विकासको जग नै यही हो । नयाँ विचार, खोज र आविष्कारहरू सम्भव हुने नै समाजमा चलायमान सार्वजनिक विमर्शहरूको जमिनमाथि उभिएरै हो । कलकारखानाहरू आउँदा सुरुमा त्यसले परम्परागत हाते श्रममा आधारित रोजगारी संकटमा पर्ने विमर्शहरू भए । गाडी आयो, त्यसले भरियाको श्रम आधार खोस्ने विमर्शहरू चले ।

नयाँ प्रवर्द्धनात्मक र आविष्कारात्मक परिणामहरूले केही न केही नकारात्मक असर हमेसा आजसम्मको आविष्कारको इतिहासमा छोडिआएकै छ । कतिसम्म भने औषधिले समेत साइडइफेक्टको जोखिम सँगै बोकेर आएकै छ ।

आजसम्मको मानव समाजको खोज र आविष्कारले नकारात्मक भन्दा सकारात्मक असरको योगदान दिएको विमर्श मूलधारले अधिग्रहण गरिरहेको छ । तर, ठीक हाम्रो सामुन्ने आइसकेको नयाँ आविष्कार भने मानव समाजमाथिकै ‘प्रलय’ हुन सक्ने भन्दै विश्वविख्यात बौद्धिक र भौतिक विज्ञानका अग्रणी ‘थिंक ट्यांक’ हरू समेतले चेतावनी दिएका छन् ।

लेखक विष्णु सापकोटाले आफ्नो लेखमा इंगित गरेको ‘निर्माणाधीन भगवान्’ यिनै संसारभरका अग्रणी सामाजिक चिन्तक र वैज्ञानिकहरूले भयग्रस्त भएर नियालिरहेको नयाँ साँघुमाथि उभिएको सम्भावित ‘प्रलय’ नै हो । अर्थात् नयाँ भगवान (आजको धार्मिक रुढीमा लपेटिएको भगवान् होइन) का रूपमा उल्लिखित विषय यताका दिनमा नेपाली लेखनमा ‘कृत्रिम बौद्धिकता’ को रूपमा प्रचलित, तर पंक्तिकारलाई भने ‘यान्त्रिक बौद्धिकता’ को रूपमा प्रयोग गर्न उचित लाग्ने (यो आलेखमा यान्त्रिक बौद्धिकता शब्द नै प्रयोग गरिएको छ) ‘आर्टिफिसियल इन्टिलिजेन्स’ हो । र, त्यसको पनि उत्कर्ष ‘च्याटजिपिटी’ हो ।

निश्चय पनि यान्त्रिक बौद्धिकताको विकास मानिसको कामलाई सजिलो बनाउन र ‘म्यानुअल वर्क’ लाई पूर्ण स्वचालनमा (फुल अटोमेसन) लैजाने अभिप्रायले प्रेरित रहेको भन्ने गरिन्छ । खासगरी मानिसको स्वास्थ्य उपचारको आम पहुँच र सृष्टिको अज्ञेय विषयको खोज, मानव र प्राणीहरूको उद्विकासको थप ज्ञान प्राप्ति, मानवीय श्रम शोषणको उन्मूलन, विश्व सुरक्षा, उत्पादन वृद्धिमार्फत आर्थिक विकास शीर्षकमा यसले मद्दत गर्ने विषयमा असहमत हुन अहिले नै थप बल लगाइरहनु आवश्यक छैन । तर, यसले मानव समाजमाथि पुर्‍याउन सक्ने प्रलयका जुन आधारहरू देखिन्छन्, त्यसले यान्त्रिक बौद्धिकता एउटा ‘निर्माणाधीन भगवान्’ भन्दा बढी ‘निर्माणाधीन दैत्य’ (चल्तीको धार्मिक बर्को ओढेको दैत्य होइन, अधिचेतनाको दैत्य) को रूपमा उदाउने आधारहरू बलियो देखिन्छ ।

त्रासको काठे साँघु

गत मार्च २२ मा विश्वभरका एक हजारभन्दा बढी प्रविधिका अगुवा, प्राध्यापक, सार्वजनिक बौद्धिकले अनियन्त्रित र सीमाहीन यान्त्रिक बौद्धिकताको विकास समाज र मानवताका लागि गम्भीर जोखिमको विषय भएकामा विमर्श गरेका थिए । र, यान्त्रिक बौद्धिकताको विकास खासगरी च्याटजिपिटीको थप उन्नयनको स्वरूपको काम कम्तीमा ६ महिना रोक्न उनीहरूले अपिल गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ– झन्पछि झन् शक्तिशाली यान्त्रिक दिमागको विकास यसरी भइरहेको छ, जो यसको निर्माणकर्ता या मालिकले समेत बुझ्न, आकलन गर्न र नियन्त्रण गर्न सक्ने सामर्थ्यभन्दा बाहिर पुगेको छ । त्यस विज्ञप्तिमा आर्टिफिसियल न्युरल नेटवर्क र डिप लर्निङका लागि विख्यात कम्प्युटर वैज्ञानिक/प्राध्यापक योसुआ बेंगियो, ब्रुकलीका कम्प्युटर विज्ञानका चर्चित प्राध्यापक तथा एआई विज्ञ (आर्टिफिसियल इन्टिलिजेन्स : ए मोर्डन एप्रोचका लेखक) स्टुअर्ट जोनाथन रसेल, कर्नेल विश्वविद्यालयका कम्प्युटर विज्ञानका प्राध्यापक तथा एसोसिएसन फर द एड्वासन्समेन्ट अफ आर्टिफिसियल इन्टिलिजेन्सका पूर्वअध्यक्ष बार्ट सेल्मन, हिब्रु विश्वविद्यालयका विख्यात प्राध्यापक तथा लेखक युवल नोआ हरारीले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी स्पेस एक्स/टेस्ला/ट्वीटरका प्रमुख एलन मस्क, एप्पलका सह–संस्थापक स्टिव वोजिन्याक, बुलेटिन अफ द एटोमिक साइन्टिस्टमा अध्यक्ष राहेल ब्रोनसन, स्टाबलिटी एआईका प्रमुख इमद मोस्ताकी, स्काइपका सह–संस्थापक जान टालिन, गेट्टी इमेजका प्रमुख क्रेग पिटर्स, एमआईटीका आर्टिफिसियल इन्टिलिजेन्सका भौतिकशास्त्रका प्राध्यापक म्याक्स टेगमार्क, हार्वडका प्राध्यापक डँलियन अँलनजस्ता विख्यात प्रविधि विज्ञानका शोधकर्ता, प्राध्यापकसहितका विश्वभरका सार्वजनिक बौद्धिकहरूले विज्ञप्तिमा हस्ताक्षर छन् ।

उसो त च्याटजिपिटी सार्वजनिक प्रयोगमा आउनुभन्दा पहिल्यै सन् २०१८ मा निधन भएका भौतिक विज्ञानका ख्यातानाम वैज्ञानिक स्टेफन हकिङले आर्टिफिसियल इन्टिलिजेन्स (यान्त्रिक बौद्धिकता) ले मानव जातिकै अन्त्य गर्न सक्ने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘यान्त्रिक बौद्धिकता मानिसका काममा धेरै नै उपयोगी साबित भए पनि यसले आफैंलाई स्वचालित तवरले पुनःसंरचना गर्नसक्ने र पुनर्ताजगीकरण गर्न सक्ने कारण निश्चित सीमासहितको जैविक विकासको गतिमा रहेको मानव जातिले यान्त्रिक बौद्धिकतासँग प्रतिस्पर्धा गर्न सक्दैन ।’ यही प्रतिस्पर्धामा नटिक्ने कारण मानव जातिको विशालतम हिस्सा असार्न्दभिक बन्ने र अधिक्रमणमा पर्न सक्छ भन्ने उनको चिन्ता छ (‘आर्टिफिसियल इन्टेलिजेन्स् कुड इन्ड म्यानकाइन्ड’: स्टेफन हकिङ, २ डिसेम्बर, २०१४, बीबीसी) ।

आतंकवाद, अनियन्त्रित युद्ध निम्त्याउन सक्ने र एआईको उदय मानव सभ्यताको इतिहासकै सबैभन्दा खराब घटना हुन सक्ने चेतावनी दिँदै हकिङले भनेका छन्– यान्त्रिक बौद्धिकता बनाउने सफलता मानव सभ्यताको इतिहासकै सबैभन्दा ठूलो उन्नत घटना बन्न सक्छ । यसविपरीत इतिहासकै सबैभन्दा खराब घटना पनि हुन सक्छ । यसबारे हामीलाई प्रस्ट थाहा छैन । त्यसकारण अहिले नै हामी थाहा पाउन सक्दैनौं कि यान्त्रिक बौद्धिकताले हामीलाई अपरिमित मात्रामा मद्दत गर्छ कि यसैले मानव जातिलाई उपेक्षा, विस्थापन र किनारीकृत गराइदिनेछ (‘एआई कुड बी वस्ट इभेन्ट इन द हिस्ट्री अफ आवर सिभिलाइजेसन’: स्टेफन हकिङ, नोभेम्बर ६, २०१७, सीएनबीसी) ।

उच्च र आधुनिक प्रविधिमा आधारित सिर्जनात्मक व्यावसायका अग्रणी तथा स्पेस एक्स र टेस्लाजस्ता विख्यात कम्पनीका मालिक तथा आफैं पनि च्याटजिपिटीको वैकल्पिक आर्टिफिसियल इन्टिलिजेन्स निर्माणमा लागेका एलन मस्कले यान्त्रिक बौद्धिकतालाई मानव जातिको अस्तित्वकै सबैभन्दा ठूलो खतराको रूपमा व्याख्या गरेका छन् (बीबीसी, उही) । च्याटजिपिटी सञ्चालन गर्ने ओपन एआईका आरम्भिक संस्थापक समेत रहेका मस्कले त एआईकै कारण तेस्रो विश्वयुद्ध हुन सक्ने चेतावनी पनि दिएका छन् ।

आलोचनाको आधार

संसारैभर यान्त्रिक बौद्धिकतामाथि भयपूर्ण विमर्श चल्नुपछाडिका खास कारण छन् । यान्त्रिक बौद्धिकताले नयाँखालको उच्च प्रविधिमा आधारित रोजगारीको बाटो खोले पनि मानिसले गर्ने काम यो आफैंले गर्न सक्ने भएकाले विशालतम जनसंख्यालाई रोजगारीबाट विमुख गराउनेछ । परम्परागत तवरका कार्यमा श्रमशक्ति बेचेर त्यसको भरमा गुजारा गर्नुपर्ने वर्गले यान्त्रिक बौद्धिकताकै कारण रोजगारी गुमाउँदै छ ।

यसअघिसम्म विज्ञान, प्रविधिले या यान्त्रिकीकरणले परम्परागत शारीरिक श्रमलाई विस्थापित गरेर रोजगारीको नयाँ अवसर सिर्जना गरेको थियो । जस्तो कि भरियालाई विस्थापित गरेर गाडी बनाउने कलकारखानामा मजदुरीको अवसर सिर्जना गरेको थियो । ड्राइभरको रोजगारी सिर्जना गरेको थियो । गोरुले जोत्ने खेत ट्याक्टरले जोतेर ट्याक्टर बनाउने कारखानामा मानिसलाई रोजगारी सिर्जना गरेको थियो । उत्पादनमा भारी वृद्धि गराएर कम श्रममा सजिलो जीवन बाँच्ने आधार प्रदान गरिरहेकै छ । त्यसले पनि परम्परागत तवरले श्रमशक्ति बेचेर गुजारा चलाउनुपर्ने वर्गलाई त विस्थापित गरेकै थियो, तर ऊसलाई नयाँ अवसरको बाटामा तानेको पनि थियो ।

तर, यान्त्रिक बौद्धिकताले भने मानव समाजको यो लयलाई तलबितलमा पारिदिने देखिन्छ । कतिसम्म भने मृत्यु भइसकेका गायकको स्वरलाई संकलन गरेर एआईले उनकै स्वरमा गीत गाइदिएको छ । केही वर्षमै एआईले चलचित्र निर्देशन गर्ने समाचार सार्वजनिक भएका छन् । अब पढाउन कक्षाकोठामा मानव शिक्षक चाहिनेछैन । समाचार लेख्न मानव पत्रकार, गाडी चलाउन गाडीचालक, विमान चलाउन विमानचालक, कसैको पनि जरुरत पर्नेछैन । ग्यास स्टेसनमा अब एआईले तेल भर्नेछ ।

अब रेस्टुरेन्टमा रोबर्टले खाना बनाएर तपाईंलाई ‘सर्व’ गर्नेछ । खेती प्रणाली ‘अटोमेसन’ मा जानेछ । राज्यको सुरक्षा र सिमाना नियमन गर्न अब मानवरूपी सिपाहीको जरुरत पर्नेछैन । त्यो काम ‘यान्त्रिक बोर्डरफोर्स’ले गर्नेछ । चीनले ‘एअर बोर्डर’ सेक्युरिटीको रूपमा स्वचालित प्रविधि प्रयोग गरिहेको सार्वजनिक गरिसकेको छ । बैंक तथा वित्तीय संस्थाको स्वरूप आजको जस्तो हुनेछैन । आजैको दिनमा केही वर्षअघिको तुलनामा बैंकमा काम गर्ने मानवीय शक्ति कम भएको छ । त्यसको स्थान एटीएम, अनलाइन पेमेन्ट प्लाटफर्मले लिएको छ । अब बिस्तारै एटीएम मेसिनहरू पनि विस्थापित हुनेछन् । त्यसको स्थान पूर्ण डिजिटल भुक्तानीले लिनेछ । नगदको प्रयोग पूर्ण शून्यमा झर्नेछ । यसो भएपछि अब आजको जस्तो धेरै बैंक, तिनका शाखा, एटीएम मेसिन र तिनमा कार्यरत मानवीय श्रमशक्तिको आवश्यकता पर्नेछैन ।

यी सबै काममा एकदमै सीमित मानव जनशक्तिले मात्रै श्रमको अवसर पाउनेछन्, यान्त्रिक मानव र यान्त्रिक बौद्धिकताका लागि सहजकर्ता या सहयोगीका रूपमा । बिस्तारै त्यो पनि एआईले खोस्नेछ । खासगरी त्यो जनसंख्या, जसको स्वामित्वमा कुनै पनि खाले सम्पत्ति छैन, त्यसले मानव समाजको इतिहासकै सबैभन्दा कठोर र निर्दयी घडीको सामना गर्नुपर्नेछ । एकातिर कुनै पनि प्रकारको भौतिक सम्पत्तिमाथि स्वामित्व नहुने र अर्कातिर भएको श्रमशक्ति पनि श्रम बजारमा बेच्न नपाउने अवस्थाले श्रमबजारको विशालतम जनसंख्या प्रभावित बन्दै छ । यान्त्रिक बौद्धिकता र रोबर्ट प्रविधिको स्वामित्व निश्चित मानिसहरूको हातमा संकेन्द्रित भइसकेकै छ । यसले अझ उत्कर्ष समात्नेछ । विशालतम जनसंख्याले न सम्पत्तिमाथिको स्वामित्व न श्रमशक्ति बेच्ने अवसरको साँघुमाथि संकटको पाइला टेकिसकेको छ ।

यसले मानव समाजमा रहेको गम्भीर सामाजिक असमानतालाई अनियन्त्रित तवरले विस्तार गर्नेछ । अब बिस्तारै समाजमा नयाँ जातको उदय हुनेछ । ‘म्यानुअल’ कामदारहरूको जात र ‘अटोमेसन’ मा सामेल मानिसहरूको जात । एआईको घोडा चढ्ने या त्यसमाथि कजाइँ गर्नेहरू आजका दिनमा घरेलुकरण भएका मानिसजस्तो बेग्लै सामाजिक अभ्यासमा सामेल मानिसजस्ता हुनेछन् भने एआईको घोडा चढ्न नसकी परम्परागत ‘म्यानुअन वर्क’ मा झुन्डिरहेकाहरू या एआईमाथि पहुँच र स्वामित्व नभएकाहरू आजका दिनमा पनि फिरन्ते सिकारी युगको जीवन बाँचिरहेका मानव समूहजस्ता हुनेछन्– पूर्णतया आइसोलेटेड, अस्तित्वरक्षाको आखिरी चुनौतीसामु उभिएका फिरन्ते मानव समूहजस्ता । विचार, चेतना, विमर्श, सूचनाका सारा मञ्चहरू एआईले कब्जा गरेर मिथ्या–भ्रमपूर्ण या दागी सूचनाले समाजलाई डाम्नेछ भन्ने विवरण माथि नै उल्लेख गरिसकिएको छ ।

यो अवस्थाले सिँगो मानव समाजमा दुर्घटना निम्त्याउने पक्कापक्की छ । निश्चित मानिसका हातमा यस्ता संसाधनमाथिको स्वामित्व कायम रहने र विशालतम जनसंख्या भने बेरोजगार बन्नुपर्ने अवस्थाले विश्वमा नयाँ युद्ध वा विश्वव्यापी सामाजिक विद्रोहको अनिवार्य बाटामा मानव समाजलाई होम्नेछ । आतंकवादका लागि आजसम्म मानव जनशक्तिको दुरुपयोग भइरहेकामा अब यान्त्रिक मानव र यान्त्रिक बौद्धिकताको दुरुपयोग गरी विध्वंस मच्चिने खतरा हुनेछ । अहिले नै ड्रोन र मानवरहित विमानहरू युद्धमा प्रयोग हुन थालिसकेका छन् । आत्मघाती हमलाका स्थानमा यान्त्रिक मानव प्रयोग गरेर विस्फोट गराउने हमलाका आयामहरू अघि आउनेछ ।

यान्त्रिक मानव र यान्त्रिक बौद्धिकता प्रधान रहेको समाजमा मानवीय भावनाहरूको स्थान रहनेछैन । सरसहयोग र मद्दतजस्ता मानवीय भावना बिस्तारै विलुप्त हुनेछ । यस्तो मानवीय भावनाहीन यान्त्रिकताको आधिपत्यले शरणार्थी, गरिब र समाजका तल्लो वर्गका मानिसहरू सबैभन्दा चर्को चपेटामा पर्नेछन् ।

यान्त्रिक बौद्धिकता नयाँ निर्माणाधीन साँघुको अर्को किनारातिरको मुखमा उभिएको ‘नयाँ दैत्य’ का रूपमा विकास भइरहेको छ, जुन आजको दिनमा नियन्त्रित विज्ञान–प्रविधिको किनाराबाट पूर्ण स्वचालनको यान्त्रिक बौद्धिकताको साँघु तर्दै आफूतिर आइरहेका मानिसको विशाल हिस्सालाई निल्न मुख खोलेर बसेको छ । यान्त्रिक बौद्धिकता कति अनियन्त्रित र भ्रामक सूचनासहित मानव समाजमा ढलीमली गर्न अग्रसर छ भन्ने च्याटजिपिटीको आजको क्रिया हेरेर पनि आकलन गर्न सकिन्छ । अन्तिम र सत्य सूचनामाथि पकड नभएका मानिसमा कति गलत र भ्रमपूर्ण सूचना यसले प्रवाहित गरिरहेको छ भन्ने हामीले देखिसकेकै छौं ।

तसर्थ च्याटजिपिटीजस्ता यान्त्रिक बौद्धिकतामा आधारित स्वचालित संरचनाहरूको अन्तिम नियन्त्रण मानिसको विवेक–दायराको सीमामा सीमित गरिनुपर्छ, जसरी विध्वंसकारी बमहरू स्वचालनमा नछाडी मानिसले आफ्नो विवेकको घेराभित्रै राखिरहेको छ । यसो भयो भने यान्त्रिक बौद्धिकताले मानव समाजको भलो नै गर्नेछ । भएन भने यो अफ्रिकाबाट एसिया छिर्ने होमो सापिएन्सको विशालतम जनसंख्यालाई निलिदिने बब–एल–मन्डेबरूपी आँसुको द्वार पनि बन्न सक्छ । बब–एल–मन्डेबले सबै आधुनिक मानव निल्न सकेन र अफ्रिकाबाहिर आधुनिक मानवको विस्तार सम्भव भयो । त्यसले होमो सापिएन्समाथि कायाकल्प सिर्जना गर्‍यो । नजाने आर्टिफिसियल इन्टिलिजेन्स रूपी नयाँ बब एल–मन्डेबले कति मानिसलाई नयाँ साँघु तरेर अर्को किनारातिर पुग्न दिने हो या कतिलाई अर्को किनारातिरको मुखमा बसेको विध्वंसकारी दैत्यको सिकार बनाउने हो !

हामी नछुटौं

यान्त्रिक बौद्धिकताको विकासले मानव समाजमाथि नयाँ कायाकल्प आरोपित गराउने विषयमा कुनै विवाद छैन । नेपाली समाजले कति छिटो यो वायुपंखी वेगमा बत्तिएको घोडामाथि सवार भएर यो घोडालाई आफ्नो योग्यताको तबेलामा बाँध्न सक्छ भन्ने विषयमा काम गर्न ढिला हुन थालिसकेको छ । तर, हामी छुटिसकेका छैनौं । समयमै मानव समाजको विश्वव्यवस्था बदल्ने दिशातिर अग्रसर यो नयाँ साँघुमाथिको जोखिमपूर्ण यात्रामा होसियारीपूर्वक सामेल भएनौं भने हामी पुलपारिको किनारबाट धेरै टाढा छाडिनेछौं ।

प्रकाशित : जेष्ठ २०, २०८० १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?