१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
कविता

अब हिसाब हुनेछ

विप्लव प्रतीक

यहाँ सबको हिसाब हुनेछ
पाप गरेर प्रार्थनागृह बनाउनेहरुको
निरीहको गला निमोठ्ने अट्टाहासीहरुको
हिसाब हुनेछ, सबको हिसाब हुनेछ ।

अब हिसाब हुनेछ

जसले रूवाइरहे निरन्तर निर्बललाई

जसले लुटिरहे नित्य निर्धनलाई,

आवाज बक्सिएझैं गरी,

जसले खोसे वाणी निमुखाको,

घरिघरि जसले निष्पापको आँखामा छारो हाले,

सबको हिसाब हुनेछ ।


कसैको हक निर्धक्क खोसेर

जसले आफ्नो दुनो सोझ्याए

अर्काको घर हत्याएको खुशीमा

आफ्नो आँगनमा जो–जो नाचे

त्यसको हिसाब हुनेछ ।


जसले आजादीको सपना देखाए

र, सब स्वतन्त्रहरुलाई फकाउँदै

आफ्नो झूठवचनमा कैद गरे,

निश्छललाई छलपूर्वक

जसले गहिरो गर्तमा गिराए, डुबाए

जो–जो आजादीको नाउँमा

आफू मात्रै उन्मादी–आजाद भए

त्यसको हिसाब हुनेछ ।


यो हिसाब गर्न कोही देवदूत आउने छैन

पापको घैला फोड्न कोही धर्माधिकारी आउने छैन

न ती निमुखा, निर्बल र पददलितहरुका निम्ति

मुक्ति लिएर कुनै अर्को बहुरुपिया अगुवा बनी आउनेछ ।


यौटा समय आएको थियो दैत्यहरुका लागि

अर्को समय आउनेछ निहत्थाहरुका लागि पनि

सब चक्र हो, चक्रमै चलिरहेछ समय

र, यदि त्यो समय अब आएन भने

त्यसको पनि हिसाब हुनेछ,


सबको हिसाब हुनेछ ।

प्रकाशित : जेष्ठ २०, २०८० १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?